थारू साहित्य राष्ट्रिय सम्मेलनको कठिन यात्रा
२२ दिन अगाडि
|
१४ फागुन २०८१
१. विषयप्रवेश
मेरा घनिष्ट मित्र सुशील चौधरी इन्सेकको जागिरको सिलसिलामा २०७१ सालमा काठमाडौं उक्लिए । उनलाई स्वागत गर्ने क्रमसँगै थारू कविता वाचन कार्यक्रम २०७१ माघ २३ गते मेरो डेरा कीर्तिपुरमा राखियो, जुन डेरामा म २४ वर्ष बसें । यसरी कविताको बौछारबाट मित्र सुशीलको स्वागतपछि थारू कविता वाचन कार्यक्रमले मासिक रूपमा निरन्तरता पायो । कोरोना कालमा श्रृंखलाले निरन्तरता नपाए पनि ऐतिहासिक एक सय श्रृंखला पार गरिसक्यो ।
हरेक महिनाको अन्तिम शनिवार कीर्तिपुर, पाँगाको बरघर रेस्टुरेन्टमा भैरहेको श्रृंखलालाई ठुम्रार साहित्यिक बखेरी नाम दिइएको छ । बखेरीबाट थारू साहित्यको सामयिक संकलन ‘परगा’ प्रकाशन गरिएको छ । यो आलेख भने थारू साहित्य राष्ट्रिय सम्मेलनको यात्रा वृत्तान्तमा केन्द्रित छ, जसको सुरुवाती आधार कीर्तिपुरको ठुम्रार साहित्यिक बखेरी थियो, जसको पिलर थिए मित्र सुशील ।
२. पहिचानको लडाईंमा भाषाको कुरा
२०७२ भदौ ७ गते टीकापुरमा भएको थारू आन्दोलनकारी र प्रहरी बीचको भीडन्तमा ८ प्रहरी र एक नाबालकको मृत्यु तथा अर्को दिन कफ्र्यूका बीच थारू समुदायका व्यक्तिहरूको घरमा छानी छानी आगजनीको घटनाले मित्र सुशील र मलाई नराम्ररी हल्लायो । टीकापुरमा भएको थारू आन्दोलनकारीको एउटै उद्धेश्य थियो, टीकापुर नगरपालिकाको कार्यालयमा थरुहट स्वायत्त प्रदेशको ब्यानर टाँग्नु र कोणसभा गर्नु । तर, अनावश्यक हस्तक्षेपपछि नसोचेको स्थिति उत्पन्न भयो ।
भाषा हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान । हामीलाई लाग्यो, थारू भाषा, संस्कृतिको संरक्षण नहुँदासम्म आन्दोलनकारीहरूले माग गरेको नाम मात्रको ‘थरुहट प्रदेश’को औचित्य रहन्न । मित्र सुशीलसँग बिहान, बेलुकाको कैयौ कफी गफको निश्कर्षमा दसैंको छेको पारेर काठमाडौंबाट कञ्चनपुरसम्म जनमत बुझ्न थारू साहित्यिक गोरपासु (अभियान) लिएर जाने योजना बन्यो । र, हामी दौडियो गोरपासुमा ।
३. थारू साहित्यिक मेलाको परिकल्पना
२०७२ दसैंको छेकोमा काठमाडौंबाट कञ्चनपुरसम्म थारू साहित्यिक गोरपासु (अभियान) ले दाङदेउखुरी, बाँके, बर्दियासम्म पाइला टेक्दै ५ स्थानको साहित्यिक कार्यक्रममा सहभागिता जनायो । कैलाली, कञ्चनपुरको यात्रा अपुरो रह्यो । तर, यस अभियानको ठूलो उपलब्धिको रूपमा थारू साहित्यिक मेलाको परिकल्पनाले मलजल पायो । फाइन प्रिन्ट लगायतले ‘एनसेल लिटरेचर फेस्टिभल’को परम्परा बसालिसकेका थिए । त्यस्तो सुरुवात थारू साहित्यकेन्द्रीत किन नगर्ने भन्ने सवालमा सबैले गर्नैपर्ने सुझाए । सोहीअनुरूप राजधानी फर्किएलगत्तै हामीले २०७२ सालबाटै प्रत्येक वर्ष थरुहट क्षेत्रको जिल्लामा थारू साहित्यिक मेला आयोजना गर्ने गृहकार्य थाल्यौं ।
४. थारू साहित्यिक मेलाको सुरुवात
२०७२ चैतको अन्तिम साता दाङको घोराहीमा पहिलो थारू साहित्यिक मेला तय गरियो । तर, विविध कारणवश २०७३ वैशाख ३ र ४ मा कार्यक्रम सार्नु पर्यो । उद्घाटन घोराही तथा सेसन सत्र राजपुर गाउँमा गरिएको पहिलो थारू साहित्यिक मेलामा थारू कविता, आख्यानदेखि दाङ र कैलालीको थारू साहित्यको अवस्थाबारे पनि कार्यपत्र प्रस्तुत गरिएको थियो ।
त्यस्तै, लावा डग्गर थारू साहित्यिक त्रैमासिकको यात्रा र जंग्रार साहित्यिक बखेरीको साहित्यिक अभियान, थारू भाषामा मानकताको प्रश्न गरी ६ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा थारू भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक महेश चौधरी, भगवती चौधरी लगायत चारजनालाई सम्मान गरियो । यसै कार्यक्रममा थारू लेखकहरू संगठित हुनुपर्ने महसुस गरी यसै पंक्तिकारको संयोजकत्वमा थारू लेखक संघ नेपाल पनि गठन गरियो । अहिले जिल्ला प्रशासन कार्यालय, कैलालीमा थारू लेखक संघ नेपाल दर्ता गरिएको छ । यसका ४ दर्जन संस्थापक सदस्यहरुसँगै आजीवन सदस्यता लिनेहरूको चासो बढेको छ ।
थारू लेखक संघमा अक्षय कोष खडा गरी थारु साहित्य पुरस्कार तथा थारु महिला प्रतिभा सशक्तिकरण पुरस्कार स्थापना गरिएको छ, जसको राशी क्रमशः ५० हजार र २५ रुपैया रहेको छ । प्रत्येक वर्ष पुरस्कारको राशी बढाउँदै लैजाने योजना रहेको छ ।
थारू साहित्यिक मेलाको दोश्रो भाग कैलालीको पटेला (धनगढीबाट ५ किमी पूर्व) मा २०७३ चैत १९ र २० गते गरियो । दोस्रो कार्यक्रमबाट हामीले कार्यपत्र प्रस्तुतिको फर्मेट हटाएर अन्तरसंवाद कार्यक्रमलाई जोड दियौँ । बोझिलो कार्यपत्रभन्दा अन्तरसंवाद कार्यक्रमले सहभागीलाई बढी जाँगरिलो बनाएको हामीलाई महसुस भयो ।
थारू पृष्ठभूमिमा निकै कथा लेखिसकेका रामलाल जोशी दोस्रो थारू साहित्यको मेलाको प्रमुख आकर्षण भए । ‘ऐना’ कथा संग्रहमा थारू चेलीहरूको हुर्मत लिइएकोबारे धेरै थारू स्रष्टाहरूले प्रश्नको बौछार गरेर उनलाई र्याखर्याख्ती पारेका थिए । जोशीले भनेका थिए,‘आख्यानमा अधिक यथार्थ, थोरै कल्पना हुन्छ । मेरो कल्पनाशीलताले थारू समुदायको चित्त दुःखेको छ भने माफी चाहन्छु । तर, तपाईं थारू स्रष्टाहरू पनि हामी पहाडेहरूका बारेमा आख्यान लेख्न स्वतन्त्र हुनुहुन्छ । हामी सबैको लेखनीको उद्येश्य साहित्य लेखनमार्फत् समाज जोड्ने हुनुपर्छ ।’
१० वर्षे जनयुद्धमा सबैभन्दा बढी थारू समुदायका व्यक्ति मारिए । तर, युद्ध साहित्यले थारू साहित्यमा प्रवेश पाएकै छैन भन्दा हुन्छ । समयको वेगलाई पक्रिन नसक्ने हो भने त्यो साहित्य मक्किन्छ, कोरा कल्पनामा बग्छ । त्यसैले किन जन्मिएन त युद्ध साहित्य थारू भाषामा ? यसबारे जनयुद्धमा होमिएका नेताहरूलाई नै अन्तरसंवादमा उभ्याउने योजना सफल भएन । बक्ताहरू आइदिएनन् ।
लेखनमा भर्खर पाइला चालेको थारू भाषामा मानकताको प्रश्न ज्वलन्त छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले डंगौरा थारू भाषाको मानकताको प्रश्नबारे २०७३ साउमा घोराहीमा गोष्ठी गराएको थियो । सोही गोष्ठीमा सहजकर्ता रहेका भाषाविद् पदम राई थारू भाषाको मानकताबारे गोष्ठी प्रस्तुतिको सार राखे साहित्यिक मेलामा ।
सत्तरीको दशकमा थारू भाषाको लेखन शैलीबारे निकै सार्थक बहस अघि बढेको छ । अनि विद्यालय तहमा नेपाल (नेवार) भाषा लागु गर्नुपर्ने अभियानका अभियन्ता दीपक तुलाधरले भाषा जोगाउन थरुहट क्षेत्रको विद्यालयमा पनि थारू भाषाको अनिवार्यतामा जोड दिएर कार्यक्रमको माहोलमा उत्साह थपे । अहिले काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा नेवार भाषालाई अभियानकै रूपमा अगाडि बढाइसकेको अवस्था छ । उता थरुहट क्षेत्रको विद्यालयअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकाले २०८१ सालदेखि सरकारी मात्रै होइन, निजी विद्यालयमा समेत थारू भाषाको पढाई सुरु गरेको छ । यस्तो योजना अरु पालिकाले पनि ल्याऊन् भनेर आयोजकले एकै स्थानमा मात्र कार्यक्रम नगरी घुम्ती शैलीमा विभिन्न जिल्लामा साहित्य सम्मेलन आयोजना गरिरहेको छ ।
पहिलो वर्षको साहित्यिक मेलामा करिब एक दर्जन स्रष्टाले वर्ष दिनभित्र पुस्तक प्रकाशन गर्ने वाचा गरेका थिए । त्यो वाचाले दोस्रो वर्षमै सार्थकता पायो, ६ जना स्रष्टाको पुस्तक संयुक्त विमोचन भयो । साहित्यिक मेलामा कविता वाचन र वाचित कविताउपर समीक्षाले पनि विशेष स्थान पायो । दोस्रो थारू साहित्यिक मेलाका लागि सरकारी, गैरसरकारी कुनै निकायबाट एक रूपैया पनि सहयोग नलिई स्थानीय शुभेच्छुकहरूको सहयोगबाट कार्यक्रम सफल भएको थियो । यो निकै उदाहरणीय अभियान थियो ।
तेस्रो कार्यक्रम २०७४ माघको पहिलो साता बर्दियाको बढैयाताल किनारमा निकै भब्यताका साथ सम्पन्न भएको थियो । हरि तिमिल्सिना, किरण आचार्यलगायत गैरथारू साहित्यकारले थारू भाषामै थारू लोकसंस्कृति संरक्षणको बहसमा भाग लिए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसचिव सनत रेग्मीले थारू समुदाय भाषागत हिसाबले देशको चौथो ठूलो संख्या रहे पनि साहित्य जुन गतिमा बग्नुपर्ने हो, त्यो नभएकोमा चिन्ता ब्यक्त गरेका थिए । तेस्रो कार्यक्रमबाट हामीले थारू साहित्य मेलालाई थारू साहित्य राष्ट्रिय सम्मेलन नामकरण गरेका थियौं ।
लेखनमा थारू महिला, थारू लोककथामा समालोचनात्मक दृष्टि, थारू रंगमञ्चका चुनौती, रेडियोमा थारू भाषा, स्थानीय विकासमा बरघरलगायत विषयमा तेस्रो कार्यक्रममा गहन छलफल भयो ।
सम्मेलनको पूर्व सन्ध्यामा प्रतियोगिताका लागि थारू भाषामै नाटक पठाउन आह्वान गरिएको थियो, जसमा प्रणव आकाशको ‘करोट’ शीर्षकको नाटक उत्कृष्ट भएको थियो । त्यस्तै, तेस्रो कार्यक्रममा १२ जना स्रष्टाको १३ वटा पुस्तक विमोचन हुनु आफ्नै मातृभाषामा लेखन अभियानको एउटा कोशेढुंगा थियो ।
पहिलो कार्यक्रमको सबै कार्यपत्र नेपाल प्रज्ञा प्रतिष्ठानले ‘सयपत्री’मा नेपाली र थारू भाषामा तथा ‘लावा डग्गर’ पत्रिकाले थारू भाषामा प्रकाशित गरेका छन् । थारू साहित्य सम्मेलनको पहिलोदेखि तेस्रो कार्यक्रम सम्मको दस्तावेजकीरणस्वरूप बिहान (२०७५, कार्तिक) वार्षिक पत्रिकाले विशेषांक प्रकाशित गरेर गुन लगाएको छ ।
तेस्रो कार्यक्रममा रूपन्देहीबाट दुई दर्जन सहभागी आएका थिए, जसले आगामी वर्षको कार्यक्रम रूपन्देहीमा गर्ने वचनबद्धता गरे । यसरी चौथो थारू साहित्य राष्ट्रिय सम्मेलन २०७५ चैतको २२ र २३ गते रूपन्देहीको सैनामैनामा सम्पन्न भयो ।
गैरसाहित्यकारको नजरमा थारू साहित्य सेसनमा डा मुकुन्द शर्माले थारूहरू जाँड रक्सी खाएर पछि परेको अभिव्यक्ति दिएपछि अर्का बक्ता पत्रकार चन्द्रकिशोरले कडा प्रतिवाद गरे, ‘जुन समाजको आमन्त्रणमा तपाईं अतिथि भएर बोल्ने अवसर पाउनु भएको छ, त्यसको वदनाम गर्ने हक छैन तपाईंलाई । जाँड रक्सी खाएर बाहुन, क्षेत्री पनि बिग्रिएका छन्, त्यसमा खै कुरा उठेको ?’
थारू मानक भाषा बहसमा महेश चौधरी, डा कृष्णप्रसाद पौड्याल, रामबहादुर चौधरीले बहस गरेका थिए । २०२८ सालमा प्रकाशित थारू भाषाको पहिलो पत्रिका ‘गोचाली’का प्रधान सम्पादक महेश चौधरीले आफूहरूले २०२८ सालमा प्रकाशन गरेको पत्रिकाको भाषा परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको जिकिर गरेका थिए । उनले समयअनुसार थारू भाषीले बोलाईमा नेपालीकरण गर्दै गएकाले लेखाइमा नेपाली ब्याकरणअनुसार थारू लेखन शैली बनाउनुपर्ने धारणा राखेका थिए । तर डा कृष्णप्रसाद पौड्याल, रामबहादुर चौधरीले थारू भाषा मात्रै होइन, जुनसुकै भाषा पनि बोलाईअनुसार लेख्नुपर्ने अभिब्यक्ति दिएका थिए । ती दुबैले डंगौरा थारू भाषामा त, थ, द, ध को उच्चारण नभएकाले आगन्तुक शब्द तथा व्यक्तिको नाउँ, गाउँबाहेक अरुमा प्रयोग नगरे पनि हुने धारणा राखेका थिए ।
२०७६ सालमा सुनसरीमा गर्ने तय भएको थारू साहित्य सम्मेलन कोरोनाले स्थगित भयो । यो वर्ष प्रनव आकाशको ख्याल बगाल टिमले टीकापुर ट्रमा शीर्षकमा कविता संकलन गरी सामाजिक सञ्जालमा शेयर गर्यो, जुन निकै प्रभावकारी रह्यो । त्यसपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नयाँगाउँस्थित कर्णाली थारू होमस्टेमा पाँचौँ थारू साहित्य राष्ट्रिय सम्मेलन २०७७ चैत २१ र २२ गते सम्पन्न गरियो ।
चौथो र पाँचौ कार्यक्रममा सहभागी नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीले थारू समुदायले यसखाले साहित्य सम्मेलन गरेर थारू साहित्यको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताएकी थिइन् ।
थारू साहित्य सम्मेलनको संयोजकको नाताले आख्यानकारद्वय महेशविक्रम शाह र नयनराज पाण्डेलाई कार्यक्रमको पहिलो श्रृंखलादेखि नै मैले निम्त्याइरहेको थिएँ । पाँचौ कार्यक्रममा उहाँहरूको यादगार उपस्थिति रह्यो । उहाँहरूसँग अर्का आख्यानकार शेखर दहितले आख्यानको ओज शीर्षकमा छलफल चलाएका थिए । सो क्रममा महेशले लामो समय आफ्नो बसाइँ कैलाली, टीकापुर छेउको थारू गाउँ भगरैयामा भएकाले आफ्ना कथामा थारू पात्र जीवन्त भएर आएको बताएका थिए ।
नयनले आफ्नो आख्यानमा मधेसी पात्र बढी आउनुमा ती पात्रहरूसंगको संगत नै कारक रहेको बताएका थिए । टीकापुर घटनामा कतिपय निर्दोष थारू फँसेका तर तिनका बारे कुनै आख्यान नआएको प्रसंग उठ्दा महेशले त्यसबारे आख्यान लेख्ने बताएका थिए । नयनले भनेका थिए, ‘थारू समुदायको लेखनको विषयबस्तु तपाईंहरू भित्रै छ, कस्तुरी तपाईंहरू भित्रै छ । यसको सुगन्ध थाहा पाउनोस् ।’
थारू गीतको बाटो कता शीर्षकमा सुशील चौधरी, राज कुश्मी र सानु चौधरीसंग अनिल कुश्मीले संवाद चलाएका थिए । सो अवसरमा थारू लोकलय हराउँदै गएकाले थारू गायकहरूले आधुनिक गीतसंगै लोकगीतको संरक्षणमा ध्यान दिनुपर्ने निचोड रहेको थियो । थारू भाषाको मानकीकरण विषयमा थारू व्याकरण लेखक भोलाराम चौधरी तथा पंक्तिकार कृष्णराज सर्वहारीले प्रस्तुति दिएका थिए । थारू वर्णको पहिचान भइसकेकाले थारू लवजबाट जस्तो उच्चारण हुन्छ, त्यस्तै लेखनशैली अपनाउनुपर्ने दुवैको राय थियो ।
सुर्खेतमा पाँचौ थारू राष्ट्रिय साहित्य सम्मेलन भएपछि लगत्तै त्यहाँ साहित्यकार मानबहादुर पन्नाको संयोजकत्वमा लखागिन थारू साहित्य उत्थान मञ्च गठन भयो, जसले सख्या गीतको दस्तावेजीकरण, बृत्तचित्र निर्माणदेखि थारू पुस्तकालयको सुरुवात गरिसक्यो । पाँचौ थारू राष्ट्रिय साहित्य सम्मेलनको गतिविधिसमेत समेटेर लखागिन जर्नल प्रकाशन गर्यो । विडम्वना छैटौदेखि हालसम्मको सम्मेलनको दस्तावेजकीरण गर्न सकिएको छैन ।
कञ्चनपुरको कृष्णपुर–६, सिंहपुर गाउँमा २०७८ फागुन १२ देखि १४ सम्म भएको छैटौं थारू साहित्य राष्ट्रिय सम्मेलन सुदूरपश्चिम विशेष थारू साहित्यबारे बहस गरियो । त्यहाँको थारू गीत संगीत, थारू साहित्यिक पत्रकारिता, बरघर प्रणाली, थारू यौद्धाहरूको खोजी, नारी सशक्तिकरणको अवस्था, कार्यक्रममा विमोचित ४ वटा पुस्तकको चर्चा, कञ्चनपुरमा राजनीति गर्ने थारूहरूको अवस्था, सामाजिक सञ्जालमा थारू स्रष्टाहरू लगायतबारे सेसन भयो ।
कार्यक्रममा आकर्षणका केन्द्र साहित्यकारद्वय शिवानीसिंह थारू र रामलाल जोशी थिए, जसले आख्यान यात्रा विषयमा आ–आफ्ना अनुभव साटेका थिए । शिवानीले ‘काठमाडौंमा एक दिन’ आफ्नो उपन्यास पूर्वी मधेसको विषयमा रहेकोमा आउने उपन्यास नेपालगंज क्षेत्रलाई केन्द्रित गरी पश्चिम मधेसको विषयमा रहने जानकारी दिएकी थिइन् । उनले आफू थारू जाति भए पनि थारू भाषा नआउने स्वीकार्दै थारू भाषा सिकेर मातृभाषामा पनि कलम चलाउन सम्मेलनले उत्प्रेरित गरेको बताइन् । उता जोशीले पश्चिम क्षेत्रको विषयमा धेरै आख्यान लेखिसकेकोले अब आफ्नो ध्यान पूर्वी क्षेत्रको विषयमा रहने जानकारी दिएका थिए ।
यसै क्रममा सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन २०७९ माघ २० देखि २२ सम्म गोचाली समाज नेपाल, बाँकेको सहकार्यमा बाँकेको राप्तीसोनारी गाँउपालिका–६ सिधनवामा सम्पन्न भयो । सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो ।
आख्यानमा थारू जीवन सेसनमा लेखक महानन्द ढकालले राज्यको केन्द्रीय भूमिकामा थारूको उपस्थिति अहिले पनि कमजोर भएको धारणा राख्दै थारूहरूको मेहनत, परिश्रम र संघर्ष अनुसारको प्रतिफल यो समुदायले नपाएको गुनासो उनको थियो । भूमिका थारूले सञ्चालन गरेको थारू साहित्यमा युवा शीर्षकको प्यानलमा नाटककर्मी प्रणव आकाश, साहित्यकारद्वय सागर कुश्मी तथा गीताञ्जली पछल्डंग्या लगायतले अग्रजहरूले युवाहरूलाई लेखनमा प्रेरणा दिनुपर्ने सेसनको निचोड थियो ।
यस्तै सम्मेलनको कि–नोट स्पीकरको रुपमा अनुसन्धानकर्ता डा गोविन्द आचार्यले थारू साहित्यकारहरू सतही रचनामा रमाउनु भन्दा अध्ययन, अनुसन्धान गरेर कलम चलाउनु पर्ने धारणा राखेका थिए । सातौं थारू साहित्य राष्ट्रिय सम्मेलनमा मात्र दुइ वटा पुस्तक विमोचन हुन सक्यो ।
हौलीका संस्थापक सचिव रामसागर चौधरीको सुनसरी, खनारबाट लामो यात्रा तय गर्दै प्रत्येकजसो थारू साहित्य राष्ट्रिय सम्मेलनमा सहभागिता हुँदै आएका छन् । उनले कडी जोड्दै आएकैले हौली परिवारको मूल संयोजनमा आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सुनसरीको गढी–२, गढदेव थानमा २०८० माघ २६ देखि २७ गतेसम्म सम्पन्न गरियो । पूर्वी क्षेत्रमा बृहत् रुपमा गरिएको यो पहिलो कार्यक्रम थियो । सम्मेलनको बहानामा हौलीले आजीवन सदस्यता बिस्तार गर्यो । पुस्तकको स्टल पनि रहेकोमा पश्चिम क्षेत्रबाट धेरै पुस्तक, पत्रिका प्रकाशन गरिएको देखियो, पूर्व पनि जाग्नु पर्यो भन्ने अनुभूति गराइयो ।
आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनमा थारु मानक लेखन, थारु साहित्यमा अनुवाद परम्परा, सुनसरी, मोरङमा थारू साहित्यको अवस्था, थारू साहित्यको संरक्षणमा संस्थागत प्रयासलगायत सेसनमा गहन छलफल भयो । त्यस्तै, करिब दर्जन पुस्तक, पत्रिका विमोचन गरियो । पुस्तकका स्रस्टाहरुलाई पुस्तकको चिनारी पनि दिन लगाइयो । तर मनभरि कुरा राख्न पाइएन भनेर स्रस्टाहरुले चित्त दुःखाए । हामीले गृह विमोचन गर्न सुझायौं । आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनपछि खासगरी युवाहरुले कार्यक्रम झाराटराइ भो भनेर आरोप लगाए । लौ न त, अर्को वर्ष तपाईहरुले नै सेसनको छिनोफानो गरौ, स्रोत पनि खोजौं भन्दा कोही अघि सरेनन् ।
२०८१ फागुन १५ देखि १७ सम्म बर्दिया, राजापुर–२, जोतपुरमा ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । तयारीमै रहेको बेला सेसन समावेशी भएन, गरिएन भनेर सम्मेलनअगावै असन्तुष्टिको स्वर गुन्जिएको छ । कार्यक्रमको प्रारम्भिक तयारीको चरणमा समयमा नसुझाउने मित्रहरुले कार्यक्रममै सहभागी भएर दिल खोलेर मनका कुरा राखीदिए आभारी हुने थियौं । प्रश्न थोपर्न सहज छ, सबैजना आआफ्नो ढंगले तयारीमा जुटौ भन्दा जिम्मेवारीबाट भाग्न सहज छ । जसले थारु साहित्यको प्रवद्र्धनका लागि आधार खडा गर्दैछ उसलाई हिलो छ्याप्न सहज छ । तर, प्रत्येक वर्ष स्रोत खोज्न कठिन छ । यस वर्ष फलाना जिल्लाले कार्यक्रममा सहकार्य गरिदिनु पर्यो भनेर मनाउन कठिन छ । अक्षयकोषको रकममा बढोत्तरी असहज छ ।
५. पुरस्कार तथा सम्मान
थारू लेखक संघ नेपालले थारू भाषा, साहित्यको श्रीबृद्धिमा योगदान गर्ने स्रष्टाहरूलाई हरेक वर्ष थारू साहित्य पुरस्कार दिने कामको सुरुवात २०७७ सालबाट गरेको छ । २०७७ मा ठाँह्रा कथासंग्रहका लागि कथाकार शेखर दहितलाई, २०७८ सालमा दाङदेउखुरीका गीतकार, गायक दोषहरण चौधरीलाई, २०७९ सालमा लक्ष्मी राना थारूलाई उनको राना थारूको लोककथा सोरठका लागि थारू साहित्य पुरस्कार प्रदान गरियो ।
२०७९ सालदेखि धनगढीका चन्द्रसिंह चौधरीले थारू लेखक संघका लागि आफ्नी स्वर्गीय धर्मपत्नी प्रतिभा चौधरीको नाममा स्थापना गरिदिएको थारू महिला प्रतिभा संघर्ष पुरस्कार मुक्त कमलहरी दाङकी मन्जिता चौधरीलाई दिइयो । यसैगरी, खासगरी पूर्वी थारू साहित्यको सम्वद्र्धनमा लागेका स्रष्टा सुनसरीका रामसागर चौधरीलाई २०८० सालको थारू साहित्य पुरस्कार तथा थारू महिला प्रतिभा संघर्ष पुरस्कार बाराकी शान्ति चौधरीलाई प्रदान गरियो । २०८१ सालको थारु साहित्य पुरस्कार बर्दिया, मयूरबस्तीका स्रस्टा सुशील चौधरीलाई तथा महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कार बेलौरी–७, कञ्चनपुरकी अभियन्ता सुनिता चौधरीलाई प्रदान गरिने भएको छ ।
४७ जना संघको संस्थापक सदस्य तथा आजीवन सदस्यबाट पनि रु ५ हजार तथा कार्यक्रमबाट जोगाएर साढे ८ लाख पुरस्कारको अक्षयकोष जम्मा गरिएको छ । यसलाई बढाउँदै लैजाने योजना छ ।
६. र, अन्तमा
थारू पुस्तक, पत्रिका प्रवद्र्धनको पाटो थारू साहित्यिक सम्मेलनको सबैभन्दा ठूलो इभेन्ट हो । स्टेशनरी पसलमा कहिल्यै नझुन्डिने थारू पुस्तक, पत्रिका सम्मेलनको स्टलमा झुन्डिन्छ । थारू साहित्यको कुम्भ मेलामा गैरथारू साहित्यकारहरूको पनि सार्थक उपस्थिति हुन थालेको छ ।
खुशीको कुरा थारु साहित्य राष्ट्रिय सम्मेलनको ज्वारभाटाले थारू भसा साहित्य केन्द्रले काठमाडौमा नियमित मासिक रुपमा साहित्यिक बसघरा कार्यक्रम गर्दै बसघरा वार्षिक पत्रिका पनि सुरु गरेको छ । उता २०४२ सालमै स्थापना भएको हौली परिवार, सुनसरी, मोरङले हौली पत्रिकालाई पुनः निरन्तरता दिन थालेको छ ।
थारू लेखक संघ नेपालको केन्द्रीय अध्यक्षको नाताले थारू साहित्य राष्ट्रिय सम्मेलनको यात्रा बडो कठिन महसुस गरेको छु । धेरै शुभेच्छुकहरुले तपाईले थारु साहित्यलाई संस्थागत गर्ने यात्रामा खुट्टा कमाउन पाउनु हुन्न भनेर खबरदारी पनि गर्छन् । तर, दुई दशकको यात्राले मेरा गोडा लुला हुँदै गएका छन् ।
सुशील चौधरी, जो यो पंक्तिकारसँगै थारू साहित्य राष्ट्रिय सम्मेलनको सुत्राधार हुन् । उनी विगत २ वर्ष दिनदेखि ब्रेन ह्याम्रेज भएर बर्दियाको, मयूरबस्ती गाउँमा प्यारालाइसिस अवस्थामा संघर्ष गरिरहेका छन् । जसले थारू साहित्य सम्मेलन निरन्तरता दिनुपर्छ है भन्दै हौस्याइ रहन्छन् । यस वर्ष उनलाई निर्णायक समितिले थारु साहित्य पुरस्कारको ५० हजार प्रदान गर्दैछ । मित्र सुशीललाई मात्रै होइन, अघिल्ला वर्षहरुमा पनि जो जति पुरस्कार दिइदै छ, थोरैतिनो सहयोगको वातावरण बनाउन सकिएकोमा म आफै पुरस्कृत भएको महसुस गर्दछु ।
थारू साहित्य राष्ट्रिय सम्मेलनलाई हालसम्म कुनै व्यापारिक घराना खोज्न सकिएको छैन । सातौं सम्मेलनको ७४ हजार रिन यस वर्ष बडो सकसले तिरियो । थारू लेखक संघ नेपालको केन्द्रीय अध्यक्षको नाताले थारू साहित्य राष्ट्रिय सम्मेलनको यात्रा बडो कठिन महसुस गरेको छु । धेरै शुभेच्छुकहरुले तपाईले थारु साहित्यलाई संस्थागत गर्ने यात्रामा खुट्टा कमाउन पाउनु हुन्न भनेर खबरदारी पनि गर्छन् । तर, दुई दशकको यात्राले मेरा गोडा लुला हुँदै गएका छन् ।
माघ २६, २०८० मा हिमालखबरमा प्रकाशित आलेखको संशोधित रुप ।
https://www.himalkhabar.com/news/140049