ख्याक र कंकाल

ख्याक र कंकाल

७५६ दिन अगाडि

|

१२ फागुन २०७९

प्रज्ञा प्रतिष्ठानमा नियुक्तिः आफू नपर्दैमा बाँकी सबै वाहियात   !

प्रज्ञा प्रतिष्ठानमा नियुक्तिः आफू नपर्दैमा बाँकी सबै वाहियात !

७५७ दिन अगाडि

|

१० फागुन २०७९

धीरेन्द्र प्रेमर्षि कुरा गरौँ प्रज्ञा-प्रतिष्ठानहरूमा भएका नियुक्तिहरूको।  यसपालि छानिएका प्राज्ञहरूबारे पनि नाँनाभाँति टिप्पणीहरू आइरहेका छन्— "एकै समुदायका धेरै परे... नामै नसुनिएकाहरू परे... प्रज्ञा-प्रतिष्ठान पार्टीको भर्तीकेन्द्र बन्यो... आदि-इत्यादि।" तर यसमा 'हाय-तौबा' मच्चाउनुपर्ने त्यस्तो के कारण छ, मैले बुझ्न सकिन। राजनीतिक पार्टीहरूले आफ्नो विचार तथा दर्शन अनुरूपको साहित्य-कला-संस्कृति निर्माण तथा प्रवर्धन गर्न खोज्ने हुन्। यसका लागि आफू अनुकूलका व्यक्ति त्यस्ता निकायमा पुर्‍याउनु स्वाभाविक कुरा हो। राष्ट्रियताको सर्वव्यापी र सर्वस्वीकार्य आधार तथा मापदण्ड तयार भई नसकेको परिप्रेक्ष्यमा यस परिपाटीलाई अन्यथा भन्नै मिल्दैन। प्राज्ञ-परिषद् साधक-सर्जकहरूको शास्त्रार्थ गर्ने थलो होइन, उन्नत सिर्जना र साधनाका निम्ति वातावरण बनाउने र सोको समुचित व्यवस्थापन गर्ने समूह हो। तसर्थ प्राज्ञहरू साहित्यिक/सांस्कृतिक/साङ्गीतिक/रङ्गमञ्चीय/कलाकारीय दृष्टिले स्वयम् कहलिएका व्यक्ति हुनुपर्छ भन्ने छैन, विधागत रूपले आधारभूत बुझाइ र प्रतिबद्धता भएका व्यवस्थापकीय कौशलयुक्त व्यक्ति भए पुग्छ। प्रज्ञाहरूमा गएका व्यक्तिहरूलाई यदि मैले चिन्दिन भने यो स्वयम् मेरो अज्ञानता वा अल्पज्ञता हो, उनीहरूको कमजोरी होइन। मूलधारका सञ्चार, समारोह, सङ्घ-संस्थाहरूद्वारा आलोकित व्यक्तिहरू मात्र अब्बल र अरू दोयम हुन् भन्ने मानसिकताबाट हामी मुक्त हुनु बढी जरूरी छ। जिम्मेवारीमा जो पुगेका छन् तिनीहरूप्रति हामीले आशापूर्ण औत्सुक्य राख्नुपर्छ, पूर्वाग्रही नैराश्यले नयाँ सम्भावनाको ढोका थुन्ने काम मात्र गर्दछ। फलानो समुदायका धेरै परे भन्ने रोइलो देखिए पनि समुचित समावेशिता हुन नसकेको दिशामा कसैको दृष्टि गएको देखिएन। यदि सम्यक भावबाट हामीले  क्रियाकलाप र समीक्षा गर्‍यौँ भने भविष्यमा यो स्वतः अनुकूलनमा आउँदै जाने प्रक्रिया हो। हालका लागि के मात्र भन्न सकिन्छ भने जसरी पहिले एकै समुदायका सुयोग्य व्यक्तिहरू अधिसङ्ख्य रहने गर्थे त्यसैगरी अहिले अर्को कुनै समुदायको  सुयोग्य नै व्यक्तिहरू अपेक्षाकृत बढी सङ्ख्यामा आएका छन्।  विगतमा अनेकौँ व्यक्तिलाई प्रज्ञा-प्रतिष्ठानका नियुक्तिहरूको निरन्तर आलोचना गरिरहेको देखिन्थ्यो। तर सोही प्रक्रियाबाट आफू प्रज्ञामा पुगेपछि तिनले हाम्रा कवि लक्ष्मण गाम्नागेको 'सिंहदरबार पसेपछि देशै झलल' कवितांश झैँ सबै राम्रैराम्रो भन्ने खालको अभिव्यक्ति दिन थाल्थे। तर आफू नपर्दैमा बाँकी सबै वाहियात भए भन्नु जस्तो अनर्गल केही हुँदैन।  म पनि आकांक्षी थिएँ। युवापन बाँकी रहँदैमा विशेष केही गर्न सकिन्छ भन्ने खालको अलि हतार पनि थियो। तर म परिन। यसो भन्दैमा बाँकी सबै काम नलाग्ने भन्ने हुँदैन। ... अहिले जो-जो आएका छन्, अधिकांश राम्रा आएका छन्। बाँकी भविष्यले देखाइहाल्छ- उनीहरू कस्ता छन्। बरू समग्रमा प्रज्ञाको उन्नयन चाहनेले अहिले गएकै साथीहरूका माध्यमबाट आफ्ना रचनात्मक सोचहरूलाई पनि कार्यान्वयन गराई योगदान दिन अग्रसर हुनुपर्छ।  म तीनवटै प्रज्ञा-प्रतिष्ठानका सम्पूर्ण प्राज्ञ-पदाधिकारीहरूलाई अनेकानेक बधाई तथा उल्लेख्य कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।  

रातोघर फाउण्डेशनले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

रातोघर फाउण्डेशनले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

७५७ दिन अगाडि

|

१० फागुन २०७९

नेपाल  प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ लक्ष्मी माली एवं बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा बुढानीलकण्ठको एक कोठामा आ आफ्ना परम्परागत जातिगत लुगा र गहना बोकेर आइसकेका थिए । एउटा पोकामा हाकु पटासी र तायो थियो भने अर्को पोकामा  थियो आङ्ग्रे र हारी । त्यही बेला दुबैको फोन तारन्तार बजिरहेको थियो । फोन गर्नेहरुले सोधिरहेका थिए दिदी हामी कहाँ आउने ? दुबै जनाले जवाफ दिइरहेका थिए,  ‘बुढानीलकण्ठ मन्दिरको  चौतारा ।’ –त्यहाँ पनि चौतार छ र ? –छ छ । यसरी कवि कलाकारहरु जम्मा भइरहेका थिए । सन्दर्भ थियो फागुन ९ को अन्तर्राष्ट्रिय मातृभाषा दिवस । रातोघर फाउण्डेसनले यही अवसर पारेर नेपालका बिविध भाषाका कविहरुलाई कविता वाचनका लागि निम्तो दिइसकेको थियो । बुढानीलकण्ठ मन्दिर परिसर पुगेपछि  कवि कलाकारहरुलाई जम्मा गरी त्यो भन्दा माथि तौलुङ चौतारा लानु थियो । एक बजे जम्मा भएर तौलुङ पुग्दा डेढ बजिसकेको थियो । त्यहाँ पुग्दा स्थानीय कलाकारहरु आफ्नो परम्परागत भेषमा बाहिर चौतारामा माइक सिस्टमसहित तुङ्ना बजाएर स्वागत गरिरहेको थिए । अगाडि तामाङ्ग सांस्कृतिक परम्परा अनुसार फूल फलफुल, पानी भरेको माटोको घैला छयुमी बालेर राखिएको थियो । अतिथि एक समूहले कवि कलाकारहरुलाई टोटलाको फूल निधारमा टाँसेर खादा ओढाएर स्वागत गरिरहेका थिए भने अर्को समूह टुङ्ना र डम्फु बजाएर स्वागत धून बजाइरहेका थिए । न्यानो घाम, सरसरी हावा चलेको रमणीय प्राकृतिक वातावरणमा एकछिन स्वागत कार्यक्रम सकिसकेपछि माथि हलमा कविता वाचनको औपचारिक कार्यकम शुरु भयो । काठमाडौं उपत्यकाको उत्तरी भेग बुढानीलकण्ठ नगरपालिका–१ स्थित तौलुंग चौतारा र स्थानीय सामुदायिक भवनमा सञ्चालित कार्यक्रम सोही वडाका वडाध्यक्ष सुरेन्द्र लामाको व्यवस्थापन तथा स्थानीय जनताको सहभागितामा भएको थियो । उक्त कार्यक्रममा खारुमी राईले बान्तवा भाषामा, भूमिका थारूले थारू भाषामा, बुङातुङ चाम्लिङले चाम्लिङ भाषामा, राकेश बुढा मगरले मगर भाषामा, हेमन्ती केवरतले केवरत भाषामा, शोभा सुनुवारले सुनुवार भाषामा, कवि अनिता लामा र फुल कुमार बम्जनले तामाङ भाषामा कविता वाचन गरे । कविता वाचनपछि विभिन्न भाषाका सांस्कतिक गायन, वाद्यवादन, नृत्य समेत प्रस्तुत भएको थियो । त्यस्तै, इन्द्रमान महर्जन, प्रशान्त डंगोल र लक्ष्मी माली, स्नेह सायमीले नेपाल भाषामा, विना थिङ तामाङ, गीता त्रिपाठी र आरएम डंगोलले खस नेपाली भाषामा कविता वाचन गरे । अनौपचारिक रुपमा संचालन गरिएको  कार्यक्रममा  वडाध्यक्ष सुरेन्द्र लामाले स्वागत गरे ।    

मातृभाषा दिवसको अवसरमा १६ भाषामा कविता वाचन

मातृभाषा दिवसको अवसरमा १६ भाषामा कविता वाचन

७५८ दिन अगाडि

|

९ फागुन २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा दिवसको अवसरमा मातृभाषामा कविता वाचन कार्यक्रम राखेको छ ।  प्रतिष्ठानको हलमा मंगलबार भएको कविता वाचन कार्यक्रममा मगर, नेवार, माझी, शेर्पा, ताजपुरिया, जिरेल, थामी, कुमाल, सुनुवार, तामाङ, राई, उराँव, अवधी, भोजपुरीलगायत १६ भाषामा विभिन्न कविहरुले कविता वाचन गरेका थिए ।  कार्यक्रममा नेपालमा बोलिने संकटापन्न मातृभाषाहरुको अवस्था शीर्षकमा डा तारामणि राईले कार्यपत्र प्रस्तुत गर्दै लोपोन्मुख भाषाको संरक्षणमा प्रतिष्ठानको ठूलो भूमिका रहेको जिकिर गरे । प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले प्रतिष्ठानमा नयाँ पदाधिकारीहरुको आगमन यसै साता मात्रै भएकाले यस वर्ष मातृभाषा दिवस भव्य रुपमा मनाउन नसकिएको जानकारी दिए ।  सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भने, पञ्चायतकालमा अन्य भाषाले फल्नेफुल्ने मौका पाएनन् । अबको लोकतन्त्रमा सबै भाषाको संरक्षणमा सरकार लागी पर्नेछ । सोही कार्यक्रममा मन्त्री किरातीले डा गोपाल ठाकुरको भोजपुरी भाषाको ब्याकरणीय पुस्तक ‘सहज बर्तनी’ पनि विमोचन गरेका थिए ।  कार्यक्रममा मातृभाषा विभागका प्रमुख राजन मुकारुङ तथा कुलपति भूपाल राईले प्रतिष्ठिानको अहिलेको टीमले मातृभाषाको संरक्षणलाई अभियानकै रुपमा लैजाने बताए । 

पुरुष साथी

पुरुष साथी

७६१ दिन अगाडि

|

६ फागुन २०७९

देवीप्रसाद अधिकारी भनिन्छ, साथी सबैभन्दा माथि । म आफैँ चन्चले स्वभावको । सानैदेखि खिसिक्क नहाँसी बोल्नै आउँदैनथ्यो । बाल्यकालदेखि नै मेरा वरिपरि थुप्रै साथी हुन्थे । विपरीत लिङ्गी भन्ने के हो थाहै थिएन । त्यति बेलादेखि नै मेरा केटीभन्दा केटा साथी नै धेरै हुन्थे ।  खै किन हो, मसँग केटी भन्दा पनि केटा साथीहरू बढी झुम्मिन्थे । न उनीहरूमा बैँसालु आकर्षण थियो, न मसँग लजालु मादकता । तर पनि किन त्यसो हुन्थ्यो, आज पनि जिज्ञासाकै विषय छ ।  हामीसँग उ बेलामा प्रशस्त खेल्ने समय हुन्थ्यो । न मोबाइल, न फेसबुक, न टिकटक, न फ्रि फायर । अधिक समय साथीहरूसँग नै बित्थ्यो ।  उमेर बढ्दै गयो या समय अगाडि बढ्यो । जे भए पनि लाउँदै गएको घाँघर धेरै फेरिए । शरीरको उचाइ र गोलाइ बढेर नै होला, एक पटक ठीक भएको कपडा मुस्किलले एक वर्ष थेग्थ्यो ।  अब त शरीरले हाँगाबिँगा पनि हाल्न थालेछ भन्ने थाहा पाउँदा नपाउँदै “तँ त तरुनी भइस् नानी अब त । हेर, जिउ हलक्क बढेको । ख्याल गर है केटी । अब त केटाहरूले आँखा लगाउँछन् नि,” भनेर हजुरआमाले भन्नु भएको ताजै छ दिमागमा ।  आँखा लाउँछन् भनेको के हो भनेर त्यसबेला सोध्न मन थियो, सोधिनँ । समय कालले सिकायो, आँखा अरूले मात्र होइन, आपूmले पनि लाउन मिल्ने रहेछ ।  सँगै कक्षामा पढ्ने साथीहरूसँग निकै उठबस हुन्थ्यो । तीन जनासँग मेरो राम्रो मित्रता थियो । जात्रासात्रा जता गए पनि प्रायः सँगै हुन्थ्यौँ । कक्षाका मात्र होइन, स्कुलका अन्य साथीहरूले मेरो इष्र्या गर्थे । मेरा केटा साथीहरूलाई जिस्क्याउँथे ।  “तिमीहरूका त साझा साथी छिन् क्यारे । एउटाले एउटा एउटा पाएनन् होला, अनि के गरून् ।” भन्ने धेरै पटक सुनेकी छु ।  हो, हामी एउटै प्लेटमा चटपटे खान्थ्यौँ । एउटै गिलासको चिया पिउँथ्यौ । एउटै बोतलमा कोक घुट्क्याउँथ्यौ । एउटा चकलेट टोकेर बाँड्थ्यौँ ।  गाउँघरमा हुँदा सँगै गोठालो जान्थ्यौँ । नाँगैभुतुंगै पोखरीमा पौडी खेलेको पनि याद छ । कुनै अनौठो क्रियाकलाप त्यस्तो केही हँुदैनथ्यो । तै पनि गाँउलेहरू हाम्रो खुब निगरानी गर्थे । हाम्रा बुबा आमालाई अनेक कुरा लगाउँथे ।  सायद, त्यसै भएर होला, म कक्षा सातको अन्तिम परीक्षा तयारीमा जुट्दै गर्दा मेरा बाले एक्कासि मेरो बिहेको छिनोफानो गरिदिनु भएछ । घरमा बिहेको ठूलो माहौल बन्दै गयो । परीक्षा सकिएको भोलिपल्टै लिङ्गाचौका गरियो ।  मलाई खासमा बिहे गरेर के हुन्छ ? भन्ने नै थाहा नभएर होला खासै उत्साह पनि थिएन । निराशा पनि थिएन । चञ्चले स्वभावको मान्छे त्यसमाथि टिनएज । घरभरि आउने पाहुना रमझम । म खासै विचलित थिइनँ ।  बिहेको कर्मकाण्ड भयो । घर सम्हाल्न सुरु भयो । बिरानो ठाउँमा एकलास घरमा एकमात्र छोराको बुहारी । भालेको डाँकमा उठेर धन्दाधन्दामा फस्न थालेँ । ती साथीहरूको याद झल्झली आउन थाल्यो ।  जब घरमा श्रीमान्ले हेपेर बोल्थे, तब ती साथीको माया जागेर आउँथ्यो । जहिले श्रीमान्को थालमा छोडेको गाँस सुम्सुम्याउँथे अनि साथीहरूसँगै एउटै प्लेटमा खाएको यादले चिमोट्थ्यो ।  एक पटक घरमा कोक आयो । सबैलाई एक एक बोतल भाग पुग्यो । तर मेरो भाग रहेन । सासू आमाले “ओइ बाबु तँ खाएर अलिकति बुहारीलाई राख्दे है ।” भन्नु भयो । उनले त्यसै गरे ।  बोतलको पिँधमा थोरै बाँकी थियो । उनले भने, “ला एक घुट्को पी । घाँटी भिजा ।” त्यतिखेर त साथीहरूको यादले नमिठो गरी मन निमोठ्यो । एक मुख चिसो घुटुक्क पारेँ ।  घरकै थिचोमिचोमा हुर्किँदै गएँ । किशोरी अवस्थामै एउटी छोरी जन्मिई । छोरी साथमा भएपछि भने साथीहरूको याद मेटिँदै गयो । छोरी नै बिस्तारै साथी बन्दै गइन् । उनीसँग समय बिताउन पाउँदा म संसार बिर्सन सक्थेँ । चाहन्थेँ मैले जिन्दगी जस्तो मेरी छोरीले भोग्न नपरोस् ।  छोरी हुर्कँदै गइन् । मेरो जस्तो उनको बाल्यकाल साथीहरूसँग बितेन । उनीसँग मोबाइल थियो । स्मार्ट फोन । मेरो जस्तो केटा साथीहरू साथमा थिएनन् । तर सामाजिक सञ्जालमा थिए होलान् । छन् होलान् । मलाई कुनै वास्ता छैन ।  उमेर बढेसँगै छोरी हुर्किएर छुट्टै कोठामा सुत्न थालेदेखि भने पुनः म एक्लो महसुस गर्दै गएँ । फेरि मलाई ती पुराना साथीहरूको याद आउन थाल्यो । तिनीहरूका गर्दै होलान्, बुझ्न मन लाग्यो । साथीहरूसँग बिहे पछि आक्कल झुक्कल तिहारमा माइती जाँदा मात्र भेट हुन्थ्यो तर खासै राम्रो बोलचाल हुन्थेन । खोज्दै जाँदा एउटा साथी फेसबुकमा जोडियो । ऊसँग बिस्तारै कुरा हुन थाल्यो । त्यति बेलासम्म श्रीमान्सँग मेरो आत्मीय सम्बन्ध टुटिसकेको थियो । उनी छोरो नपाएकोमा निकै आक्रोशमा थिए । मैले कसैको आग्रह पनि नसुनी एउटा सन्तान मात्रै जन्माउने निधो गरेँ । त्यसैअनुसार अनेक बहानामा सम्भावित गर्भ रोक्दै गएँ, टार्दै गएँ ।  त्यसैले, उनी मसँग झन्झन् चिढिँदै गए । हामी एउटै कोठामा सुत्थ्यौँ तर वास्तविक दम्पत्तीको क्रियाकलापमा शून्य थियौँ । उनी मस्त घुरेर निदाउँथे । म मध्यरातसम्म टिकटक, फेसबुक र च्याटमा व्यस्त हुन्थेँ ।  म पहिलेझैँ गोठालो जाँदा, जात्रा जाँदा, पौडी खेल्न जाँदाको जस्तो साथी त भेट्दिनँ थिएँ । सञ्जालमा रमाउने क्रममा पहिले जस्तै मेरा जान अन्जानका केटा साथीहरूसँग भलाकुसारी हुन थाल्यो । केही अलिक नजिक भएकासँग आक्कल झुक्कल भेट हुन थाल्यो ।  यसै क्रममा एउटा एनजियोमा डाटा कलेक्सनको छोटो समयको काम मिल्यो । टाढाबाट आएका साथी मेरा स्टाफ मित्र भए । सँगै फिल्ड जाने काम गर्ने गर्दै जाँदा छोटो समयमा गहिरो मित्रता बस्यो । उनी निकै सहयोगी थिए । छोटो समय काम गरेर फर्किने बेलामा उनले जोडेका केही सामग्रीसमेत मलाई दिएर अर्कै जिल्ला सरुवा भए ।  म भने उनको छोटो समयको साथ, प्यार सम्हालेर बस्न बाध्य भएँ । उनी टाढा गए पनि सामाजिक सञ्जालले हामीलाई हर मिनेट जोडेको थियो । म उनीसँग यति नजिक भएँछु कि मैले अरू कसैलाई साथी देखिनँ ।  यसै बीचमा कोही एक मित्र नजिक ठान्थेँ । उनलाई म सोलमेट भन्थेँ । अहिले उनलाई पनि बाल दिन मन लाग्दैन । मलाई थाहा छैन, किन ती साथी खास लागेका थिए । एउटा संयोग भने परेको थियो । ती सोलमेट भनिएका र उनको एउटै थर थियो ।  सायद छोटो समयको हिमचिमले होला । कता कता रहर नमेटिएको जस्तो मात्र भई रहन्छ । एकपटक श्रीमान् घर नहुँदा छोरीलाई सम्झाएर सँगै काम गर्ने सर हो भनी एक रात बिताउन पाएका थियौँ । सायद त्यसै दिनदेखि होला, म उनलाई भुल्न सकेकी छैन । म यसै तरुनी छोरीकी आमा । उनी दुई छोराको बाबु । हाम्रो सम्बन्ध किन यति नजिक छ, मलाई थाहा छैन । म त यसै श्रीमान्सँग औपचारिकतामा टाँसिएको मात्र छु । उनी त श्रीमतीसँग राम्रो सम्बन्ध छ भन्थे । तर अचेल म पनि तिमीजस्तै एक्लै छु भन्न थालेका छन् । किन हो थाहा छैन ।  हुन पनि हर रात हर क्षण मसँग नै गफ गरिरहेका हुन्छन्, कसरी श्रीमतीलाई समय दिउन् । कुन समय उनलाई छुट्याऊन् । म पूर्ण जानकार छु ।  लाग्छ, मलाई उनले दिएको एक छेउ समय पनि उनको श्रीमतीलाई दिने हो भने उनीहरूको सम्बन्ध टिकाउ हुने थियो होला । उनी कति खुसी होलिन् । तर म नै उनको श्रीमान्को हर समयको पहरेदारी गरिरहेको हुन्छु ।  सुरु सुरुमा त टायम दिइनस् वास्ता गरिनस् भनेर निकै निहुँ खोज्थिन् रे उनकी श्रीमती । तर अहिले उनलाई ढुक्क छ रे । श्रीमती एउटा कोठामा, श्रीमान् अर्को कोठामा बसेर रातभर जस्तो मोबाइलमा व्यस्त । एउटाको अर्कोलाई मतलब हुदैन रे ।  भन्छन् “अहिले त ढुक्क छ प्यारी, तिमीले जुनसुकै बेला कल म्यासेज गरे पनि हुन्छ । म प्रायः एक्लै हुन्छु । एक्लै सुत्छु । उनको आफ्नै सुर छ । मेरो आफ्नै ।”  हामी दिन प्रतिदिन हाम्रो उमेर, जिम्मेवारीलाई बिर्सिँदै एक अर्कोमा हराउँदै गयौँ । अवसर मिलाएर बेला बेलामा भेट गर्न थाल्यौँ । हामी जीवनकै अनमोल क्षणमा छौँ भन्ने महसुस हुन थालेको थियो । दुनियाँ हाम्रो लागि गौण हुँदै गयो । हामी दुवैका छोराछोरी हुर्किँदै गए । अहिले कलेज पढ्ने भैसकेका छन् ।    हाम्रो भेट अलिक बाक्लिन थाल्यो । उनी छिमेकी जिल्ला आएका थिए । एक दिन मैले उनलाई फरक ठाउँमा भेटुँ भने । उनले सहर्ष स्वीकार गरे । त्रिभुवन पार्कको उत्तरी कुनामा हाम्रो जोडी मस्त गफिँदै थियो । मेरो दायाँ हातमा उनको बायाँ हात मज्जाले कसिएको थियो । खित्का छोडेर हाँस्दै थियौँ ।  झाडीबाट एक्कासि एउटा जोडी फुत्त निस्कियो । मेरो साथी थुचुक्क बसे ।  किन के भो ? सोध्न नपाउँदै त्यो जोडी कक्रक्क पर्‍यो । हामी चारैजना अवाक भयौँ ।  “यी हेर त, सबै यतै रहेछन् । कस्तो लाज पचाउन सकेका” । एउटी केटीको आवाज चिरिँदो भएर कानमा पर्‍यो ।  पछाडि फर्केर हेरेँ । आफ्नै छोरी । मेरो दिमाग रोकियो । आँखा तिलमिलाए । सास अडियो । म पनि थुचुक्क बसेछु । होस हराएछ ।  बेलुकी घरमा छोरीले सात्तो खाई । म निःशब्द भएँ । खासमा मेरी छोरी र उनको छोरा एउटै कलेजमा पढ्ने रहेछन् । दुवैले आआफ्नो घरको समस्या पोख्ने क्रममा हाम्रो फलो गर्दै गएछन् ।  मेरी छोरीले एक दिन म्यासेज आएको देखेकी थिइन् । म्यासेजमा वास्ता गरिनन् । तर एक रात घरमा बिताएको मान्छेको म्यासेज हो भन्ने पत्तो पाइन् । दुवै आइटीका विद्यार्थी । हाम्रो फेसबुक निगरानी गरेर हामीलाई पछ्याउदै पार्कसम्म पुगेछन् । आफ्नो आमा, साथीको बाबुसँग, अनि साथीकै आमा अर्कै पुरूषसँग । हुन पनि अचम्मकै संयोग ।  त्यस दिनदेखि छोरीले उसको साथीको बाबुलाई ब्लक गरिदिई । म भने छोरीसँगको लाज र साथीसँगको वियोगले भतुुक्कै भएँ । कति दिन त खान मन लागेन । निद हरायो । बेचैन भयो । छटपटी भैरह्यो ।  घटना भएको पनि छ महिना भैसक्यो । दिनमा एक दुई पटक अझै पनि झसङ्ग हुन्छु । छोरीको आवाज सुन्नासाथ मन थरथर हुन छोडेको छैन । मैले जीवनको चार दशक नहुँदै बेहोरेको यो घटनालाई कति वर्ष सम्हालेर राख्न पर्ने हो थाहा छैन ।  सम्झन्छु म किन चञ्चले भए हुँला ? किन हाँसेर बोलेँ ? किन ग्यालग्याल्ती छोरा छोरी नजन्माइ बसेँ ? किन त्यो छोटो अवधिको जागिर खाएँ ? किन उनको याद सम्हाले ? आखिर हामी विवाहित महिला पुरुष किन नजिकिन परेको होला ? मनमा इच्छा र शरीरमा ऊर्जा किन आयो होला ?  अझ सम्झन्छु, बरु बेलैमा यो उन्माद सेलाएको भए, शरीरमा शिथिलता आएको भए, मन मरेको भए, शरीरले आवश्यकता नदेखाको भए परपुरुषप्रति राग पलाउँदैन थियो होला ? आखिर यी तमाम मानवीय गुणका बाबजुद हाम्रो दुई आत्माको सम्बन्धलाई परिवार, समाजले किन स्वीकार गर्दैन ? आज यो उमेरमा कसरी एक्लो रित्तो मन लिएर बाँचु ? हर दिन सोच्न बाध्य हुन्छु । के अब म कहिल्यै पुरुष साथी बनाउन पाउँदिन ? के म आधा उमेरमै पुरुषको आत्मीय माया, प्यार र साथबाट वञ्चित हुनुपर्ने हो त ? के घरमा लोग्ने छ भन्दैमा उसैसँग जस्तोसुकै सम्बन्ध पनि स्वीकार्नै पर्ने हो त ?  हामी विवाहित महिलाको यस्ता वास्तविक पीडा कसले कहिले बुझ्ने होला ? मसँग कुनै उत्तर छैन । र, पनि प्रश्न गर्न छाडेकी छैन । 

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई, उपकुलपतिमा विमल निभा 

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई, उपकुलपतिमा विमल निभा 

७६४ दिन अगाडि

|

३ फागुन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । संस्कृति मन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकुलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । भोलि बिहान कूलपतिको सपथ ग्रहण हुनेछ । त्यस्तै, सदस्य सचिवमा डा धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ । प्राज्ञहरूमा मधुसूदन गिरी, डा कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै डा कृष्णराज सर्वहारी लगायत २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

रातो गुलाफ

रातो गुलाफ

७६५ दिन अगाडि

|

३ फागुन २०७९

मन्दिरा मधुश्री डाइनिङ्ग टेबलमा बस्दाबस्दै सिसाको ग्लासमा राखेको रातो गुलाफमा आँखा पर्यो । त्यही फुलको रङ र सुगन्ध जत्तिकै आल्हादित भयो मन । रातो गुलाफ ! तुरुन्तै छैटौ इन्द्रियले सावधान् गरायो । अनिता चुल्होमा पकाउँदै हुनाले मेरो गुलाफजस्तै फक्रेको अनुहार देखिन । अहिले मुर्झाए पछि मात्रै आँखा पर्‍यो उसको । "के भयो हजुर ? निन्याउरो देख्छु, सन्चो भएन कि ? भोक लागेको छ ??" बोलीसँगै हात आइपुगे निधारमा । "लौ न तातो छ त !" चेब्र्याइँ पारी । "जिउदो मान्छेको तातो त हुन्छ नि ।" अलिक झर्किएँ । गुलाफमै थियो सम्पूर्ण ध्यान । कौतुहल र एक ग्लास पानी सँगसँगै थमाई उसले । "यो खाँदै गर्नु न है ।" प्लेटमा रंगिन लव आकारका चकलेट राखिदिई । झन् कन्पारो तात्यो चकलेट देखेर । "कहाँबाट आयो यो ?" वाक्य घाँटिमै गाँठो पर्यो बाहिर निस्केन । म गुत्थ परिरहेकै थिएँ । मन छट्किरहेको थियो । "हो ! पक्कै हो ... । हैन ! यस्ति होलाजस्तो त लाग्दैनथ्यो कहिल्यै... ।" उसको सँधै निर्दोष देखिने अनुहारमा आँखा फुकालेर हेरेँ । उसमा कुनै पश्चातापको भाव पितिक्क नि थिएन । "हैन के भो हजुरलाई आज ? भने पो हलुका हुन्छ त मन ।" कफीको कप र टोस्ट राखिदिँदै भनी । "के नै पो हुन बाँकी छ र अब ..!" भनेँ तर मनमनै मात्र । "बाबा..।" सात वर्षकी छोरी दौडँदै आई । उसको अङ्गालोमा लगभग उही जत्रै टेडि बियर देखेर त झन सुकेको गुलाफ भएँ । मलाई दुई मत भएन । दिउँसोको दृश्यलाई यी सबै कुराले प्रमाणित गराएको थियो । "यो गुलाफ, चकलेट, टेडि सबै उसैले एकैदिनमा टक्र्याएछ ।" निस्कर्ष निकाल्यो मनले । "बाबा हेर्नू त मिसले मलाइ देको रोज । आज प्रेम दिवसको दिनमा । यो भालु त झन् कति राम्रो है....! कस्ले देको थाहा छ ?" छोरी खुसी हुँदै टाँसिई । "छ्या यस्तो नराम्रो ...।" आमाको रिस र घृणा टेडिमाथि पोखेर ढोकातिर हुत्याइदिएँ । कोकोहोलो गर्दै टेडि टिप्न दौडिई छोरी । "ओहो ! किन फ्याँकेको नि यसलाई ? मन परेन मैले ल्याइदेको ?" दिउँसो अनितासँग अङ्गालो मारेर क्याफेमा छिर्दै देखेको गगल्स क्याप र रातो सर्टवाला मान्छेले पो भालु टिपेर छोरीलाई दियो । "नमस्ते भिनाजु..! ल है हजुरलाई पनि प्रेम दिवसको शुभकामना ।" गगल्स र क्याप खोलेर टेबलमा राख्दै अस्ट्रेलियाबाट दस वर्ष पछि आएको सालोले भन्यो ।