सोरठ

सोरठ

७८६ दिन अगाडि

|

११ माघ २०७९

भुरभुरा रहर थारू सिनेमाकी प्रमुख कलाकार लहिया थारूको निधन

भुरभुरा रहर थारू सिनेमाकी प्रमुख कलाकार लहिया थारूको निधन

७९३ दिन अगाडि

|

३ माघ २०७९

भुरभुरा रहर थारु सिनेमाकी प्रमुख कलाकारमध्ये एक लहिया थारूको ७० वर्षको उमेरमा निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–१०, गैरी गाउँ दाङकी लहियाको माघ २ गते राती सवा ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी ख्याल बगालका महासचिव प्रणव आकाशका हजुरआमा थिइन् । सुशील चौधरीको लेखन रहेको भुरभुरा रहरका क्रियटिभ डाइरेक्टर हुन् प्रणव ।  भुरभुरा रहरमा त्यस फिल्मका प्रमुख पात्र छविलाल कोपिलाको आमा भएर अभिनय गरेकी लहियाको अभिनय जीवन्त थियो ।                                                                                                                                   दाँयाबाट पहिलो लहिया थारू 

थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न

थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न

७९६ दिन अगाडि

|

३० पुष २०७९

चितवनमा भैरहेको आठौं खिचरा महोत्सवमा विभिन्न सिर्जनात्मक क्रियाकलाप पनि भैरहेको छ । यसै क्रममा तेस्रो दिन शनिबार थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा स्काइराइडर आवासीय माविका समर्पण खनाल प्रथम, होली गार्डेन मोडर्न स्कुलका निरज चौधरी द्वितीय, डेजी आमाविका सुगम गौतम तृतीय भएका छन् ।  त्यस्तै, सैनिक आवासीय माविका तृशन आले मगरले सान्तवना स्थान हासिल गरेका छन् ।  चित्रकार दिनेश्वर महतो र साहित्यकार तथा चित्रकार मनोज चौधरीले प्रतियोगी चित्रकलाका मूल्याङ्कन गरेका थिए ।

पर्सिहवाको माघी

पर्सिहवाको माघी

७९६ दिन अगाडि

|

३० पुष २०७९

सुरेन्द्र चौधरी  नजिकैको बाँसको घारीमा बस्ने चराहरुको चिर्विराहट शान्त भैसकेको थियो । गाउँका गोठमा बाँधिएका गाई, भैसी घाँस, पराल खाएर उग्राइरहेका थिए । जाँडरक्सीको रमझममा रमाउनेहरु बाहेक बेलुकीको खाना सबैले खाइसकेको थिए । केही घरबाट मादल र डफको सुमधुर आवाज आइरहेको थियो । यसको साथै सामूहिक धमार गीतको आवाज पनि गुन्जिन सुरु भैसकेको थियो–  डफला रे टै मन बहलैबे ढनिया ...ऽ   खोरियक डारु मोरे आगे बावै टिनि टिना गिनोरे   पियट पियट मै कहाँ सम पिऊँ ....ऽ ।     (डफको आवाजले तँ मन भुलाउदैछस् अर्थात् मेरो अगि कचौराको रक्सी, वरिपरि छ तरकारी पिउँदा पिउँदै कहाँसम्म पिऊँ ? ...  माइलो पर्सिहवा भरखर गाई गोरु बाँधी, कोन्टी (कोठा) मा आएर केही नखाइ खाटमा पल्टिरहेको थियो । तर थाहा छैन खै कुन्नी किन डफको आवाज पनि आज उसलाई मन परिरहेको थिएन । नाच गर्न, गीत गाउनमा सौखिन थियो उ ।  डाँई सकाएर रातभरी धमार गाएर विताउने मान्छे । उसको सुरिलो स्वरले भरिएको धमारलगायत गीत सुन्न सबै लालयित हुन्थे र मन्त्रमुग्ध भएर सुन्ने गर्थे  ।  तर आज उ साँच्चिकै केही गम्भीर र उदास देखिन्छ । उसलाई थाहा छ, आज अहिले उसको मालिक बोलाउन आउँछ । अघिपछि उसको झुपडीतिर अनुहार पनि नदेखाउने, सधंैभरी मुन्टो बटारी हिंड्ने मालिक पक्कै पनि नक्कली चिनी हाली गुलियो कुरा लिई खोज्नी–बोज्नी (माघीको सरसल्लाह) गर्न बोलाउँछ ।  माइलो पर्सिहवा तीन चार दिनदेखि विचार गर्दैछ, आफ्नो मालिकको व्यवहार । सुर्ती खाँदा समेत हर्जा भयो भनेर गाली गर्ने उसको मालिक । कहिलेकाहीँ त थकाइ लाग्यो होला एकछिन बिसाउनुपर्छ भन्दैछ । आखिर पशु त होइनौं, तिमीहरु भन्दै तेल लाउन सुरु गरिसकेको थियो ।  हुन त पर्सिहवालाई पनि थाहा थियो, विगत वर्षजस्तै यसपालि माघीमा पनि कमाउन छाड्ने हो कि भन्ने डरले मालिक कालो नागको रुपमा देखा पर्दैछ । तर उ चाहेर पनि त केही हुनेवाला छैन । सांैकी (ऋण) र अघिपछि चाडपर्वमा लिएको अन्न, कपडा र पहिले उसको बुबाले गरेको ऋण उसलाई जेलमा बन्दीजस्तो बनाई सकेको थियो मालिकले ।  पर्सिहवाको ऋण भएकोले कमाउन छाड्दैन भन्नेमा ढुक्क थियो उसको मालिक । उसलाई थोरै डर थियो कि अरु कसैले ऋण तिरेर छुटाउन पनि सक्छ भन्ने । कमैया बनाउनको लागि आखिर यो समाजमा पशुजस्तै खरिद विक्री पनि त भएकै छ यो समाजमा ।  पर्सिहवा साँच्चिकै कति चिन्तित छ आज । यसपाली त उ जसरी पनि काम गर्न छाडेर अन्तै कतै मजदुरी भए पनि गर्ने अठोट लिएको छ । एकै छाक खाएर भए पनि स्वतन्त्र ढंगले काम गर्न पाइन्छ, मनमा लागेको कुरा बोल्न पाइन्छ भनेर सोच्दै छ उ । छोराहरु पनि ठूला भैसकेकोले उनीहरु पनि हेर्दाहेर्दै कमैया बनिसकेछन् । कान्छोलाई त आफ्ना हाडमासु घोटेर, छाक काटेर भएपनि पढाउनुपर्छ । केटा पनि तिखो दिमागको देखिन्छ । दश कक्षासम्म त चाँडो पढ्छ होला । ठूलो भयो भने त मालिकको छोराजस्तै हाकिम बन्ला र कम्तीमा बुढ्यौलीमा सहारा त देला । त्योभन्दा अझ ठूलो कुरा हाम्रो पुख्र्यौली पेशाजस्तै बनेको कमैयाबाट त छुटकारा त पाउला ।  यदि त्यसो भयो भने तिउरे बाहुनको घरमा भाँडा माझ्ने कमलरी छोरीको राम्रो घर खोजेर धुमधामसित विहे गर्दिनुपर्ला । सौंकी तिरियो भने अन्य भाईहरु पनि त छुटकारा पाउलान् । कमैया जीवनबाट मुक्ति दिएर उसको छोरा पुर्खाको इतिहास बदलेर जरुर नयाँ इतिहास रच्नेछ ।   पर्सिहवा आफ्नो कल्पनाको चिलगाडी (जहाज) उडाउँदै थियो । त्यही चिलगाडीमा बसेर उ आफ्ना अतीत र पुर्खाको इतिहासको वरपर सयर गर्न थाल्छ ।  त्यतिबेला बेला उ आफ्नो कान्छो छोरा जत्तिकै थियो होला । जबदेखि उ जानकार भयो, उ मालिकको बाख्रा चराउन थाल्यो । समयको वेगमा उ छेगरहवाबाट बढुवा हुदै बर्डहुवा र हलो जोत्ने कमैया बनेको थाहै पाएन । अब उसको होस खुलेको छ, मालिकको एउटा होशियार कमैया भैसकेको छ । दाई भाउजु दिनापुर गाउँ कमाउँथे भने काका उत्तर पूर्वको सिम्तालीको घरमा ।  जबसम्म उ जवान थियो । कमायो, खायो, मनमा कुनै सोंच फिकिर थिएन । जवानीसँगै विहे पनि भयो, पर्सिहान चिनरुप्नीसँग । माइला छोरा भएकोले विहेपछि उसको वास्तविक नाम हराएर माइला पर्सिहवा भएको थियो ।  बिहेपछि केटाकेटी पनि मकैको फुलौरा उठेसरी एकपछि अर्को हुँदै घर भरिए । आज चुरा छैन, ब्लाउज छैन, कैले टीका छैन, केटाकेटीको च्यातिएको, टालो लागेको कमीज, कमाई केही छैन । अब बल्ल उसलाई कमैया जीवनको वास्तविकता थाहा भएजस्तो लाग्यो ।  पर्सिहवाको विचार आफ्नो श्रम र आयमा गएर अड्किएको हुन्छ । काम त दिन रात गर्छ, अझ श्रीमती पनि मालिककै घर ओरगिन्या भएकी छे । तर कमाई आफ्नो खाने र लत्ता कपडामा पनि नपुग्ने । अब त कमाउदिनँ, यसपालि माघमा त जसरी भए पनि कमैया छाड्छु र अरु कामको खोजी गर्छु । गत साल पनि उ खोज्नी–बोज्नी गर्दा कमैया नगर्ने भनेर प्रस्ताव गरिसकेको थियो ।  तर अहँ आठ हजार रुपैयाँको सौकीले उसलाई छुटकारा दिएन । के गर्ने मन मारेर फेरि उही मालिककहाँ नै कमैया बस्न बाध्य हुन्छ । आफ्नो ऋणको बारेमा उ कहिल्यै चासो राखेको थिएन । मानौ यति धेरै ऋण कहाँबाट आयो । उ अचम्म मान्थ्यो । किनकि यति धेरै ऋण त उसले कहिल्यै लिएको थिएन । बूढो भएर लौरो समातिसकेको आफ्ना आमा बुबासंग सोधेपछि पो नयाँ रहस्य थाहा पायो ।  मालिककहाँ भएको यो ऋण त उसको बुबाको पालादेखि नभएर हजुरबा, जिजुबाजेको पालादेखिकै रहेछ । पर्सिहवाको बुवा दुखवा पनि त थाहा पाउने बेलादेखि मालिकको बाख्रा चराउने काम गथ्र्यो । उसको बुबा, बाजे पनि कमैया नै थिए । दुखवा आफ्नो बाबुको जेठो छोरा थियो । त्यतिबेला जम्मा तीन सय मात्र ऋण थियो । एकपटक मालिकले खेतमा उखु लगाउने जिम्मा कमैयाहरुलाई दिएको थियो । तर अपसोच उखु उम्रिएन । मालिकले कमैयाउपर दोष थुपा¥यो । उखु नरोपेर उनीहरुले खाए या आफ्ना नातागोतालाई बाँडे भनेर । त्यही उखुको मोल र जोताउने खर्च कुल मिलाएर बीस हजार रुपैया अब दुई कमैयाहरु मिलेर तिर्नुपर्ने भयो । यसरी दुखवाको तीन सयबाट दश हजार तीन सय रुपैया मालिकलाई तिर्नुपर्ने भयो ।  दुनियालाई थाहा थियो कि यो त सरासर अन्याय नै हो, अत्याचार हो, शोषण हो र गरिबको खुन पसिनाउपर गरिएको खेलवाड हो । तर सबै चुप रहे, दुखवालाई पनि मुखमा ताला लाउनुप¥यो । उसलाई थाहा थियो गाउँका अन्य मान्छे उसको पक्षमा बोल्ने कोही पनि छैन । किनभने सबैको मालिकदेखि डर छ । उसले मात्रै भनेर त मालिकको रौं पनि हल्लिदैन ।  त्यस बीचमा दुखवाको अर्को भाइ पनि कमाउने भैसकेको थियो । भाईलाई दश हजार रुपैया ऋणबाट आधा पाँच हजार रुपैया दुखवाको मालिकलाई तिरेर कमैया बनाउन लगेको थियो अर्को जिम्दारले ।                                                          अब माइला पर्सिहवाको मनमा केही साेंच र छटपटी परेजस्तो हुन्छ । उसको त खानदान नै कमैया थिए । पुर्खाको इतिहास कमैयाबाट सुरु भएको थियो । अब उ आफ्नो मात्र नभएर आफ्नो सन्तान र उनीहरुको भविष्य पनि अन्धकार देख्न थाल्छ । आफ्ना बुवा, हजुरबा, ऋणले गर्दा उसलाई रात दिन मालिकको खेतमा हाड छाला घोट्नुपर्छ । ऋणले उसको छोरा छोरी पनि त यस्तै कमैया बन्नुपर्ने हुन्छ ।  तर म कदापी अब यस्तो हुन दिने छैन । मेरा बाउ बाजेले जानेनन् । तर म पनि त्यस्तै गरुला र ? अहँ, म आफ्ना छोराछोरीलाई जसरी भए पनि पढाउँछु । यसपाली त कमैया छोड्छु  र अरु केही काम गर्छु । जब–जब माघी आउँछ उ यस्तै बर्बाराउँछ तर ऋण तिर्न असमर्थ हुन्छ ।  यस्तो भन्दै आएको कति वर्ष भैसक्यो । उसको कपाल पनि फुलेर सेतै भैसके र उसको जेठो र माइला छोरा जसलाई उसले कमैया नबनाई पढाउने सोच बनाएको थियो, उनीहरु पनि कमैया भैसकेका छन् । अब माइला पर्सिहवाको आशाको केन्द्रविन्दु कान्छो छोरा मात्र बाँकी छ । त्यसैले त उसलाई जसरी भएपनि पढाउन कस्सिएको छ र उसलाई ठूलो मान्छे बनाउने सपना बुनेको छ । अनि कमैयाको इतिहास मेटाउन चाहेको छ ।  ऽऽऽऽ     ऽऽऽऽ  ‘ए मझला पर्सिहवा..।’  पर्सिहवा आफ्नो मालिकले बोलाएको सुनेर उ विगतको कल्पनाबाट वर्तमानमा आइपुग्छ ।  के गर्दैछस्, कि सन्चो छैन ?  मालिकले खोज्नी–बोज्नी गर्न बोलाउन आइसकेको थियो ।  ‘हजुर केही पनि भको छैन । एकछिन पल्टेको, निदाएछ’ु भन्दै आफ्ना च्यातिएका लुंगी आढेर मालिकको पछिपछि लाग्छ ।   मालिकको अगेना वरिपरि सबै कमैया बसिराखेका छन् । माइला पर्सिहवा पनि एकातिर पिर्कामा बस्छ । ‘हेर माइला, सबै यस वर्ष पनि यही नै कमाउने भएका छन् । तिम्रो के विचार छ ?’ विस्तारै मालिकले कुरा सुरु गर्छ ।  ‘हजुर, इ बरस टे कमैना बिचार नै हो’ (यस वर्ष त मेरो कमाउने विचार छैन) ।  तल मुन्टो गरीकन डराइ–डराइ बोल्छ पर्सिहवा । मालिकको अनुहारमो कुनै चिन्ता र हैरानी देखिन्न, बरु एउटा कुटिल मुस्कान फैलिन्छ । किनभने उसलाई थाहा छ, पर्सिहवा कति वर्षदेखि खोज्नी–बोज्नीमा यही जवाफ दिन्छ । मालिकले पर्सिहवाको कमजोर नसा–नसा थाहा पाइसकेको हुन्छ ।  ‘कमाएनौ भने ठिकै छ, तिम्रो पहिलेको र यस वर्षको कुल मिलाएर बीस हजार ऋण भैसकेको छ । यति पैसा तिर र छोड कमाउन ।’  अब पर्सिहवाको मुन्टो माथि उठेन । के गरोस् विचारा, कमाउँदिन भनेर मात्र त भएन । वाध्यतावश उसलाई पनि कमाउछुँ भन्न कर लाग्छ । फेरि मालिकको उही मुस्कान देखिन्छ– ‘तिम्रो ऋण धेरै भैसकेको छ पर्सिहवा । यसपाली कान्छो छोरालाई पनि बाख्रा चराउन पठाइदेउ ।’ मालिकको त्यस्तो प्रस्तावले पर्सिहवा ‘हवस् हजुर’ भन्न ुसिवाय अरु केही विकल्प फेला पार्दैन ।  विचारा पर्सिहवा, कमैया जीवनबाट मुक्तिको लागि र आफ्नो छोरा छोरीलाई पढाउन यसपालि त ...भन्दाभन्दै आफ्ना कान्छो छोरालाई पनि कमैया बनाउने स्थितिमा आइपुग्छ । त्यसैले त उसलाई आफ्नो जिन्दगीबाट निरासा लाग्न थाल्छ ।  ऊ मनमनै सोच्छ– यस वर्ष पनि म हारेँ । के अब मेरो सन्ततिको जिन्दगी सधँै यसरी नै कमैया भएर वित्छ ? उ आफै प्रश्न गर्छ तर त्यसको जवाफ पाउन सक्दैन, न त कुनै उपाय नै ।  निरास भएर पर्सिहवा चार÷पाँच कचौरा रक्सी एक्कैचोटी स्वाट्ट पार्छ । एकछिन आफ्नो पारिवारिक दुःख चिन्ताबाट टाढिन्छ र क्षणिक रुपमा भए पनि रमाउन थाल्छ । त्यही रक्सीको नशामा आफ्ना पुरानो डफ बजाउँदै गुन्गुनाउन थाल्छ– डफला रे टै मन बहलैबे ढनिया ...ऽ   खोरियक डारु मोरे आगे बावै टिनि टिना गिनोरे   पियट पियट मै कहाँ सम पिऊँ ....ऽ ।  रातोपाटीबाट                                                        खोनपुर, कैलाली                                                       हालः तुलसीपुर, दाङ                                                                                                                                           अनुवादः कृष्णराज सर्वहारी

माघ टु लौव बरस हुइटो 

माघ टु लौव बरस हुइटो 

७९८ दिन अगाडि

|

२९ पुष २०७९

                                             मानबहादुर चौधरी “पन्ना” माघ टु लौव बरस हुइटो  माघ टु मुक्तिक दिवस हुइटो  माघ टु सद्भावके प्रतिक हुइटो  माघ टु मेलमिलापके प्रतिक हुइटो । हरेक साल सबजन माघ मनैठ हरेक साल टुुहार नाउँम महोत्सव कर्ठ  हरेक साल टुहार नाउँम नाच, नौटङ्की कर्ठ  हरेक साल लर्कासे बुह्राइलसम लौव लुगा घल्ठ  तर, लौव जोश जाँगर हुइल ठर्या नि डेख्ठु लौव उमङ्ग उत्साह ब्वाकल बठिन्या नि डेख्ठु टुहिन लौव बरसम लौव उमङ्ग डिह नि स्याक ठुइट  मुक्ति दिवसके दिन फेन  हमार निर्डोेस डाडुभैया बन्दी बनल बनल बाट सद्भाव सहिष्णुताके रटान सरकार कर्टि रहठ  खै का कारनले सरकार हमन कर्या नजरले हेर्टि रहठ हमार हक अधिकारप्रति सद्भाव नि डेख्ठु  एक्क देशक नागरिकम फेन समानता नि डेख्ठु  हरेक बरस माघ महोत्सव मनैलक,  गीत गैलक फगट फगट डेख्ठु । ओह मार, जाट्टिक मुक्तिक डगर खोज्डेउ टु समानता, सद्भावके डगर खोज्डेउ टु थारुन दासताके नजरसे केल हेर्ठ  हमार हक अधिकारके सहर खोज्डेउ टु माघ टुहार नाउँम कत्रा मनै दुखके गीत फे गैठ माघ टुहार नाउँम कत्रा मनै खुशीक गीत फे गैठ माघ टुहार नाउँम कत्रा मनै मुक्तिक गीत फे गैठ माघ टुहार नाउँम रहरके गीत फै गैठ ।  तर,  टुहार सुग्घर गीतम फे  आधुनिकताके अश्लिल फुलकुमारी केल डेख्ठु  शब्दक अर्ठ नि बुझ्ना डिजेक ढ्वाङ्ग केल डेख्ठु  मदहोस हुइल ठर्या बठिन्न्के स्वाङ्ग केल डेख्ठु महि दुख लागठ,  म्वार पुस्ता माघमसे का सिखट ? भर्खरिक भैयाबाबु हुक्र संस्कृतिसे का सिखट ? म्वार बुडि, बुबा, नट्या, नटिनेन् का सिखाइट ? खै कहाँ कमजोरी हुइटा ? आज म्वार संस्कृति रुइटा आधुनिकताके फरिया पेहर्ख घिनलग्टिक हुइटा । काखर कि, माघ टुहार गीत मृदङ्ग ट हमार पहिचान हो  माघ टुहार नाच ट हमार चिन्हारी हो  हमार पुर्खनके सैडान हो  ओहमार माघ,  अर्जि लगाइटु, बर्जि लगाइटु  सक्कु युवा पुस्ता हुकहन गाउँबस्तीक गोची गोचा हुकहन आधुनिकताम रमैटि रलक फुलकुमारी हुकहन  सबजहन लौव जोश ओ जाँगर डेउ गीतबासके सुग्घर मागर डेउ ठुन्यार भावना ओ लौव उमङ्ग डेउ आफन हक अधिकारके लाग लर सेक्ना जङ्ग डेउ  हे मोर डाइ बाबा हे मोर बुडि बुबा हे मोर काकी काका आफन पुस्तन  असल संस्कार ओ ढङ्ग डेउ छत्रि असक जोढा विर बिरङ्गनके सङ्ग डेउ ।                                     वीनपा–२, सुर्खेत 

हौली परिवारको ३७औं साधारण सभा सम्पन्न

हौली परिवारको ३७औं साधारण सभा सम्पन्न

८०१ दिन अगाडि

|

२५ पुष २०७९

मोरङ र सुनसरीका शिक्षित युवाहरुले थारू भाषा र संस्कृतिको विकास तथा सम्वद्र्धनका लागि २०४२ सालमा ‘हौली परिवार’ संस्था स्थापना गरेका थिए । सोही हौली परिवारको ३७ औं साधारण सभा शनिबार थाकसको सभाहलमा सम्पन्न भएको छ । सभामा अध्यक्ष श्रवण कुमार सुथियार थारूले संस्थाको २०७८÷७९ को बार्षिक प्रतिवेदन तथा आगामी कार्यक्रमहरुबारे प्रकाश पारेका थिए भने कोषाध्यक्षबाट आयब्ययसम्बन्धि प्रतिवेदन र आगामी आर्थिक योजना पेश गरिएको थियो । प्रदेश सभा सदस्य जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी, केन्द्रीय सदस्य उर्मिला चौधरी, थाकस सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी, थाकस मोरङका सचिव दुखाराम गच्छदारले शुभकामना दिएका थिए ।  त्यस्तै, हौलीका संस्थापक अध्यक्ष परशुराम भगत, उपाध्यक्ष रुद्रनारायण चौधरी, सचिव रामसागर चौधरी र हौली परिवारका पूर्वअध्यक्षहरु श्यामकुमार चौधरी, सम्पतलाल चौधरी, पूर्व सचिव भरतलाल चौधरी र आजिवन सदस्यहरु,  सल्लाहकारहरु तथा शुभचिन्तकहरुको पनि कार्यक्रममा सहभागिता थियो ।  साधारण सभामा थारू भाषा, साहित्य तथा संस्कृतिको विकासमा विशेष योगदान पुर्याउने परशुराम भगत, श्यामकुमार चौधरी, सम्पतलाल चौधरी र रामसागर चौधरीलाई प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले सम्मान तथा प्रमााणपत्र प्रदान गरे ।  सोही कार्यक्रममा थारू भाषा, साहित्य, संस्कृति, शिक्षाको विकासमा योगदान पुगोस भन्ने उद्देश्यले रामसागर चौधरीबाट आफ्ना माता पिताको नामबाट पुरस्कार स्थापनार्थ पाँच लाखको अक्षयकोष घोषणा गरे ।  सम्मान ग्रहण गर्दै रामसागर चौधरी, जसले आफ्ना मातापिताको नामबाट पुरस्कार स्थापनार्थ पाँच लाखको अक्षयकोष घोषणा गरे थारू समुदायमा आईपरेको सामाजिक वा ब्यक्तिगत कामलाई सामूहिक रुपमा निःशुल्क श्रम गरेर समपन्न गरिने परम्परालाई हौली भन्दछन् । थारू समुदायको यही असल परम्पराको नामबाट हौली परिवारको नामकरण गरिएको  थियो। यस संस्थाले थारू भाषा र संस्कृतिको समसामयिक संकलनहरु हौली पत्रिका बार्षिक रुपमा प्रकाशन गर्ने लक्षय राखे पनि नियमित प्रकाशन गर्न सकेको छैन । हालसम्म हौली १४ अंक प्रकाशन भएको छ । त्यस्तै, सिल नेपालको सहयोगबाट मध्य–पूर्विया थारू शब्दकोश, मोरङिया थारू किताब प्रकाशन गरेको छ । शिक्षकहरुलाई थारू भाषा प्रशिक्षण सातौं ब्याच सम्म सञ्चालन गरिसकेको छ ।   

गन्तव्य भेटाउन नसकेको ‘गन्तव्य’

गन्तव्य भेटाउन नसकेको ‘गन्तव्य’

८०३ दिन अगाडि

|

२४ पुष २०७९

मानहादुर पन्ना थारू नेपाली दुबै भाषामा कलम चलाउने स–शक्त साहित्यकार हुन् कृष्णराज सर्वहारी । उनी थारू भाषाका पहिलो उपन्यासकार हुन् । उनका फुटल करम उपन्यास (२०५५), डोसर घर जाइबेर मुक्तक सङ्ग्रह (२०५६), गन्तव्य उपन्यास (२०५९), थारू गुरुवा र मन्त्र ज्ञान अनुसन्धान (२०६९), थारू लोककथा–१ (२०६७), लाल केरनी उपन्यास (२०७४) लगायत करिब ३ दर्जन पुस्तक प्रकाशित छन् ।  थारू संस्कृतिमा कृष्ण चरित्र परम्पराको अध्ययन शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका सर्वहारी साहित्यिक रचनासँगै थारू समुदया बारेको अध्ययन अनुसन्धानमा बढी सक्रिय रहेका छन् । तर यो लेख उनको गन्तव्य उपन्यास चर्चाबारे केन्द्रीत छ । थारूहरुको नयाँ वर्ष माघ (माघी) संघारमा रहेकाले थारू समुदायकेन्द्रीत यो उपन्यासको चर्चा सान्दर्भिक रहेको छ भन्ने पंक्तिकारको ठम्याइ छ ।  सर्वहारी सामाजिक यथार्थवादी उपन्यासकार हुन् । उनका उपन्यासमा थारू समुदायलाई ऐनामा जस्तै छर्लङ्ग देखाइएको हुन्छ । गन्तव्य उपन्यासमा कमैयाहरुले भोगेका यथार्थ समस्यालाई चित्रण गरिएको छ । निम्न वर्गले अधिकार पाउनुपर्छ भन्ने वकालत गरेका सर्वहारी मानवतावादी उपन्यासकारका रुपमा चिन्न सकिन्छ । यसमा मानिस र प्रकृतिको निकट सम्बन्ध देखाइएको छ । आँधी आउनु, अविरल वर्षा हुनु, आगलागी हुनु, आकाश गर्जनु, अनिष्टको सूचकको रुपमा सङ्केत गरेका छन् । उपन्यासमा पात्रहरुको पीडादायी अवस्था र वियोगान्त स्थितिको हृदयस्पर्शी चित्रण पाइन्छ । आधुनिक नेपाली उपन्यासमा सामाजिक यथार्थवाद, मानवतावाद र कारुणिकता प्रकृतिको चित्रण उनको उपन्यासगत विशेषता हुन् ।  कथानक  गन्तव्य उपन्यास नेपालको पश्चिम तराई भू–भाग दाङ बेल्वा बञ्जारीदेखि बुह्रान क्षेत्र कैलाली, कञ्चनपुरसम्मको पेरिफेरिमा केन्द्रीत छ । दाङ बेल्वा बञ्जारी गाउँका सानैमा बुवाआमा गुमाएका बिसराम आजन्म जिवराज जमिन्दारका कमैया हुन्छन् ।  करिब २० वर्ष जिवराजका बँधुवा कमैयाका रुपमा रहेका बिसरामलाई उनकै गाउँका एकजना पढेलेखेका बालकिसुन चौधरीले उनको ऋण तिरी दिएर मुक्त गराइ आफ्नो कमैया बनाउँछन् । तर ४ वर्षमै सबै ऋण चुक्ता भएकोले बिसराम स्वतन्त्र हुन्छन् ।  बालकिसुनले बिसरामको विवाहसमेत गराइदिएर सानो झुपडीसमेत बनाइदिन्छन् । बिसराम स्वतन्त्र भएको देखेर जिवराजलाई असाध्यै पोलिराखेको हुन्छ । गाउँको ककनदार (बरघर) समेत रहेका जिवराजले गाउँमा बाटो खन्ने निर्णय गराएर बिसरामको आधा कठ्ठाको घरखेत फाल्ने प्रपञ्च रचेको हुन्छ । तर, गाउँले जिवराजकै खेतबाट गएको पुरानै बाटो कायम गर्ने निर्णय सरकारी बडाहाकिम झाले समेत गरेकाले उसको केही चल्दैन ।  अन्ततः उसले आफ्ना गुण्डाहरुलाई लगाएर माघ पर्व आउँदै गरेको समयमा राति कोही नभएको समयमा आगो लगाइदिएर बिसरामको झुपडीलाई स्वाहा पारिदिन्छ । भोलिपल्ट एकाबिहानै जिवराजले गोहीको आँसु झार्दै चौकीदारलाई बिसरामको घरको लागि काठ काट्न हाँक पार्न लगाउँछ । आफै बोक्सी आफै धामी भई गाउँले र बिसरामको मन जित्न प्रयत्न गर्दछ ।  भएको सानो झुपडी आगलागीबाट स्वाहा भएपछि बिसरामको मन पनि बेस्सरी जलेको हुन्छ । ऊ त्यस गाउँबाट छारा (बसाइँ सराइ) गरेर बुह्रान (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर क्षेत्र) जाने निर्णयमा पुग्छ । उसले आफूलाई दुःखमा सहयोग गर्ने बालकिसुन चौधरीसँग गाउँ छाडेर जाने कुरा सुनाउँछ ।                                                                                                                                      समीक्षक मानबहादुर पन्ना दाङ देउखुरीका कतिपय जमिन्दारको अन्याय अत्याचार सहन नसकेर गाउँ नै शून्य पारेर धमाधम बुह्रानतर्फ छारा भइरहेको कुरा बिसरामलाई पनि थाहा थियो । उता बालकिसुनले आफू जन्मिएको गाउँठाउँ छाडेर नजान, यही बसेर संघर्ष गर्न सुझाउँछन् । तर, ऊ आफ्नी श्रीमती भेंग्ली, छोराछोरीलाई लिएर बालकिसुनसँग बिदा भई जान्छ । उसलाई बाटा खर्चका लागि केही रकम बालकिसुनले दिन्छन् । बिसराम बुह्रानतर्फ गन्तव्य बनाउँछ ।  माघीको समयमा सबैले आआफ्नो घरमा रमाइरहेका बेला बिसरामले गाउँ नै छाडेर जाँदा विगतमा जिवराजले छ सात वर्षको उमेरदेखि भेंडा बाख्रा, गाई गोरु चराउँदा दिएको दुःख, खुट्टामा काँडा बिझेर घाउ भएको बेला पनि छुट्टी नदिएको, आफू २०–२५ वर्षको लक्का जवान हुँदासम्म काम गर्दासमेत सौंकी नघटेको, बुवाले लगाएको ऋण ७ हजार ९ सय ८० रुपैया बालकिसुनको घरमा कमैया बस्दा चार वर्षमै चुक्ता भएको थियो । यी सबै कुरा मनमा खेलाउँदै बिसरामका परिवार गन्तव्यमा लम्किरहेका हुन्छन् । ऊ बुह्रान जाने मान्छेहरुसँगै कैलालीको बिजौरा गाउँमा पुग्छ ।  दाङको आफ्ना गाउँबाट आएका पुराना गाउँलेहरुसँगको भेटले ऊ खुशी हुन्छ । गाउँलेकै सहयोगमा त्यहाँ अर्को जिम्दार हेमराजको घरमा कमैया बस्छ । हेमराज पनि एक धूर्त जमिनदार थिए । उनका १७ जना त कमैया थिए । दिनभरि हेमराजको काम गरेर साँझ, बिहान, राति गरी ऐलानी पर्ती जग्गा खन्न जान्छ । यसरी निकै मिहिनेत गरेर ऊ त्यहाँ बस्ने घर र बारी बनाउन सफल हुन्छ ।  यसरी क्रमिक रुपमा ऊ मिहिनेत गरेर ३ विगहाको मालिक बन्न पाउँदा खुशीको सीमा हुँदैन । उसको छोरा सुख्ला पनि जवान भइसकेको हुन्छ । छोरी भुख्ली पनि तरुनी भइसकेकी हुन्छे । बिसरामले दुबै छोराछोरीको विवाह सँगै गर्ने विचारमा हुन्छ तर विडम्वना सबै चक्नाचुर हुन पुग्छ । छोरा सुख्ला त्यही गाउँमा रनपुरियाकी बुहारी झुम्कीलाई भगाएर लैजान्छ ।  झुम्कीको श्रीमान् असाध्यै सानो उमेर छ सात वर्षका थिए तर झुम्की भने वयस्कले भरिएकी थिई । झुम्कीको शारीरिक जैविक इच्छा तृप्त नहुँदा सुख्लासँग गाउँघरमा मेलापात गर्ने क्रममा मायाप्रेम बसेको हुन्छ । यो कुरा गाउँले थाहा पाएपछि सुख्लाले झुम्कीलाई भगाएको थियो । रनपुरियाले गाउँमा खेल (कचहरी) राखेर जिम्दार हेमराजको आडमा बिसरामलाई एक विगाहा जारी तिराउँछ । बडो दुःख गरेर जोडेको जग्गा दिनुपर्दा बिसरामलाई निकै पीडा हुन्छ । दसैंतिरको समयमा हेमराजको छोरो जयराज भारतको नैनीतालबाट पढाइको छुट्टीमा घर आएको हुन्छ । दाङबाट आउने बित्तिकै बिसरामले अधिया खेत लगाउनका लागि आफ्नी छोरी भुख्लीलाई कमलहरी लगाएको हुन्छ । भुख्ली लक्का जवान भइसकेकी थिई । आफ्नो घरखेत जग्गा जोडिसकेकाले यस पटकको माघीबाट घर बोलाउने र विवाह गर्ने योजना बिसरामको हुन्छ तर दसंैमा हेमराजको छोरो जयराजले एक्लै मौका पारी भुख्लीको चीरहरण गर्छ ।  भुख्लीले जयराजको अनुहार चिथोरेको, कोतरेकाले जयराजकी आमाले एकाबिहानै छोरालाई यस्तो हालतमा देख्दा हेमराजको पटरानीले निकै सोधखोज गरेपछि आमासँग भुख्लीसँग भएको घटना बताउँछ । तर यो कुरा भुख्लीले आफ्नो बुवाआमालाई बताउन सकेको हुँदैन । भुख्ली निकै उदास फुङ्ग उडेको अनुहारमा हुन्छे । यस्तो के भयो भनी उसका आमाबुवाले गुरुवा धामी गर्छन् । भुख्लीको पेटमा जयराजको पाप बढ्दै जान्छ । यो कुरा हेमराजले थाहा पाउने बित्तिकै छोरालाई नैनीताल पठाउँछ ।  यो कुरा सल्टाउनका लागि हेमराजले आफ्नै घरमा कमैया जुगनालाई टाँसो लगाएर उम्कने योजनामुताविक उसको दाजु ठगना र जुगनालाई एक्कासी आफ्नो विशेष बैठक कोठामा बोलाउँछ । जुगना र ठगना आफूलाई बोलाइएकोमा आश्चर्यमा पर्छन् । जुगना अविवाहित हुन्छ । हेमराजले उनीहरुलाई विदेशी डारु पियाउँछ । उसले भुख्लीको विवाह जुगनासँग गर्ने कुरा राख्छ तर भुुख्लीको पेटमा सानो मालिकको बच्चा छ भन्ने कुरा जुगनालाई थाहा थियो । त्यसैले ऊ मान्न तयार हुँदैन ।  हेमराजले ठगना र जुगनालाई उनीहरुको सबै ऋण (सौंकी) मिनाहा गरिदिने भनेपछि ठगनाले भाइलाई मान्न आग्रह गर्दछ । त्यति नै बेला तुरुन्तै हेमराजले बिसरामलाई बोलाउन पठाउँछ । रातिको समयमा जिम्दारको बोलावटमा शङ्का लाग्छ । बाटोमा जुगनाले भुख्लीको वास्तविक कुरा बताइदिन्छ ।  यो कुरा थाहा पाएपछि बिसरामलाई रिङ्गटा लागेझैँ भाउन्न हुन्छ । ऊ जुगनासँगै हेमराजको हवेलीको बैठक कोठामा पस्छ । बिसरामलाई अति नै रिस उठेको हुन्छ । ऊ थाहा नपाएझैँ गर्छ । बिसरामलाई पनि विदेशी डारु दिइन्छ । बिसरामले पनि तनावले गर्दा होला रक्सी निकै पिउँछ । हेमराजले भुख्लीको कुरा झिक्छ । बिसरामले सबै कुरा सुनेपछि मेरो छोरो सुख्ला सहमतिमा झुम्कीलाई भगाउँदा १ विगाहा जग्गा जारी तोक्ने जबर्जस्ती मेरो छोरीको इज्जत लुटिदा कमैयासँग विवाह गराइ उम्कन खोज्ने ? भन्दै रिसाउँछ ।  हेमराजले फकाइ फुल्याइ गरी १ कठ्ठा जग्गा दिने, ऋण माफी गरिदिने सर्त राखेर मनाउँछ । भोलिपल्टै जुगना र भुख्लीको विवाह हुन्छ । फेरि विवाहको लागि खर्च दिई हेमराजले ऋणको नयाँ तमसुक बनाउँछ । रनपुरिया भुख्लीको विवाह जुगनासँग भएकोमा निकै खुशी हुन्छ । रनपुरियाको हेमराजसँग हिमचिम बढेकोले यसै मौका छोपी जिम्दार हेमराजले आफ्नो घरमा बोलाएर भालेको मासु, विदेशी डारु खुवाइ खुवाइ उसलाई खाली कागजमा ल्याप्चे लगाएर लालपुर्जा लिइ बैंकमा धितो राखेर माछापालन गर्न पोखरी खनाउँछ । केही वर्षपछि अचानक बैंक कर्मचारी रनपुरियाको घर आइ जग्गा लिलामको खबरले ऊ पागल बन्न पुग्छ ।  हेमराजका १७÷१८ जना त कमैया मात्र थिए । उनको घरमा बस्ने कमैया बर्सौसम्म काम गर्दा पनि ऋण चुक्ता नहुने झन् झन् अङ्क थपिदै जाँदा दिक्क भएकाले एकजना कमैया रातारात भाग्दा एउटा छोरालाई नै भगाउन बिर्सेर हेमराजकै पिँजडामा कैद हुन पुग्छ । ऊ पाँच छ वर्षको उमेरदेखि २५ वर्षको उमेर पुग्दासम्म त्यही कमैया थियो । जो बाबुले छोडेर भागेका हुन्छन् । उसको नाम इङ्लिश्वा थियो । त्यो पनि एकदिन हेमराजको अन्याय सहन नसकी भाग्यो । तर भारतको सिमाना चौकीमा पक्राउ पर्यो । पुनः हेमराजले घर ल्याइ आँगनको इमिलीको रुखमा सिक्रीले बाँधी कोर्रा लगाउँछन् ।  विचरा कुटाइबाट लखतरान परेको इङ्लिश्वा पिसाब लागेपछि आग्रह गर्दा बिसरामलाई सिक्री खोल्न भन्छन् । रातको समयमा इङ्लिश्वा बेपत्ता भाग्न सफल हुन्छ । इङ्लिश्वालाई भगाएको आरोप बिसरामलाई लाग्छ । यही आरोपमा उसको ऋणमा थपथाप पारी पुनः उसको श्रीसम्पत्ति लिएर कमैया बनाइन्छ । नखाएको विष बिसरामलाई लाग्दा ऊ निकै पीडित हुन्छ । उसको घरबाट इङ्लिश्वा भागे पनि कमैयाको संख्या थपेर १९ पुग्छ ।  समय क्रमसँगै देशमा बहुदलीय प्रजातन्त्र आउँछ । कैलालीको बिजौरा, गेटा गाउँमा केही पढेलेखेका यज्ञबहादुर थारू, बलरामजस्ता युवाहरुले रात्रि कक्षा सञ्चालन गरी साक्षर गराउँछन् । बिस्तारै कमैयाहरु अक्षर चिन्न थालेपछि आफ्नो ऋणको बारेमा बुझ्न सक्ने हुन्छन् । कमैयाहरु आफूमाथि भएको अन्याय अत्याचार, चरम शोषण बुझ्न थालेपछि उनीहरुमा विद्रोहको भावना जागृत हुन थाल्छ ।  यसैको फलस्वरुप गाविस, प्रशासनमा समेत हेमराजको विरुद्धमा निवेदन दिन यज्ञबहादुरको नेतृत्वमा जान्छन् । सुनुवाइ नभएपछि विभिन्न संघसंस्थाहरुको पहलमा आन्दोलन गर्छन् । राजधानीस्थित काठमाडौँ केन्द्रीत आन्दोलन गरेपछि २०५७ साउन २ गते कमैया मुक्ति घोषणा हुन्छ ।  यसरी उनीहरु खुशीका साथ गाउँमा त फर्किन्छन् तर आफ्नो घरबास नहुँदा घर न घाटको हुन्छन् । साउने झरीमा बिसराम, जुगना, ठगवा, सुख्ला, भेंभवा सबै कमैया शिविर वन फँडानी गरी बनाएका हुन्छन् । पानीले पनि निकै सताउँछ । सरकारी निकायका कर्मचारीबाट झुपडी भत्काउने कार्य गरिन्छ ।  एकदिन कमैयाहरु काममा गएको समयमा बस्तीमा आगोसमेत लगाइन्छ । सोही बेला सुख्ला मजदुरी गर्न गएकाले सरकारबाट पाएको रातो कार्ड पनि हराएको हुन्छ । यस्तै समस्यै समस्याका बिच बिसरामको श्रीमती भेंग्लीको निधन हुन्छ । केही दिनपछि चिन्तैचिन्तामा बिसरामको पनि निधन हुन्छ ।  लास छोप्ने कफन नहुँदा झुम्कीले आफ्नो फरिया च्यातेर लास मुश्किलले छोप्छे । सुख्लालाई कमैया मुक्ति घोषणाभन्दा अभाव र मुश्किलले बाँच्नु पर्दाको जीवन कष्टकर लाग्छ । त्यसमा झन् सुख्लाको रातो कार्ड नै हराएकोले चिन्तित हुन्छ । भूमि सुधार कार्यालयमा गएर रातो कार्ड माग्दा खरदारले हकारेर पठाउँछ । बुवाआमाको मृत्युपछि कमैया मुक्ति भएको दोस्रो माघी आइसक्दा पनि धेरै कमैयाहरु जग्गा पाएका हुँदैनन् । सुख्लाको घरमा अन्नको एक गेडो हुँदैन । बिहानै मजदुरी जान्छ । सुख्ला काममा जाँदै गर्दा बाटोमा भेभवासँग भेट भएपछि पुनः कमैया बसेर सजिलो भएको बताउँछ र नयाँ कमैया पनि खोज्न भनेका कुरा सुनाएपछि उसलाई पनि कमैया बसौँ कि जस्तो लाग्छ ।  अत्तरिया बजारमा पुगेपछि सुख्ला रेडियोबाट रातो कार्ड पाएकालाई जग्गा दिने भनेपछि झसङ्ग हुन्छ । किनकि ऊसँग रातो कार्ड नै हुँदैन । अन्ततः काम नपाएपछि भेंभवाको घर मालिकको अगाडि उभिन्छ । उसले मनमनै सोच्छ के हामी साँच्चै मुक्त भएका हौ त ? उत्तर पाउँदैन  । उपन्यासको कथा यही हो । परिवेश  गन्तव्य उपन्यासको परिवेश वा वातावरणलाई हेर्दा भौगोलिक परिवेशको रुपमा नेपालको दाङ बेल्वा बञ्जारी, पश्चिम नेपालको तराई बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म आएको पाइन्छ । यस उपन्यासमा कालगत परिवेश हेर्दा पञ्चायतकालको अन्त्य र बहुदलीय शासन व्यवस्थाको पहिलो दशक २०५८ सालसम्मको परिवेश आकलन गर्न सकिन्छ ।  उपन्यासमा थारू समुदायका अति विपन्न परिवारका बिसराम, जुगना, ठगना, भेंभवा, इङ्लिश्वा, पदना जस्ता कमैयाहरुको जीवन कष्टकर, पीडादायी, शोषण, दमन भोग्नु परेको यथार्थ छ । प्रजातन्त्र आइसक्दा पनि दासत्व जीवनबाट मुक्त हुन नसकेको सन्दर्भमा सूक्ष्म विश्लेषण गर्दा पश्चिम तराईको थारू समुदायको स–शक्त सामाजिक जनजीवनको परिवेश झल्किएको छ ।  यसका साथै जिवराज र हेमराज जस्ता शोषक सामन्ती प्रवृत्तिका जमिन्दारहरु निरक्षर र गरिबीको फाइदा उठाउँछन् । सोझासाझा इमानदार निश्छल निरक्षर गरिब कमैयाका उत्पीडन, दमन, शोषणको समस्यालाई आन्तरिक परिवेशको रुपमा आएको छ । त्यसै गरी थारू समुदायको हरडह्वा पर्व, माघीको रौनकता, सखिया नाच आदि सांस्कृतिक परिवेशका सन्दर्भ आएका छन् । चरित्र चित्रण  प्रस्तुत गन्तव्य उपन्यासमा धेरै पात्रहरुको प्रयोग गरिएको छ । यसमा जिवराज, हेमराज, शुक्रदेव यादव र जयराज, सिडियो जस्ता कुुटिल, धूर्त, शोषक वर्गको प्रतिनिधि पात्रको उपस्थिति छ भने बिसराम, जुगना, ठगना, रनपुरिया, भेंग्ली, भेंभवा, भुख्ली, झुम्की, इङलिश्वा जस्ता कमैयाहरु दुःखी, गरिब, उत्पीडित, निम्न वर्गका प्रतिनिधि पात्रहरु छन् ।  यसै गरी बालकिसुन चौधरी पुगीसरी जमिनदार भएपनि गरिबहरुप्रति सहयोग गर्ने पात्र पनि आएको पाइन्छ । यज्ञबहादुर थारू, बलराम जस्ता शिक्षित युवा पुस्ताले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पात्रहरुको पनि उपस्थितिले उपन्यास सशक्त बन्न पुगेको छ ।  नारी पात्रका रुपमा आएका भेंग्ली, झुम्की, भुख्ली यस उपन्यासका सहायक पात्रका रुपमा आएका छन् । जुगना, ठगवा, इङ्लिश्वा आदि सहायक पुरुष पात्रका रुपमा आएका छन् । प्रमुख पात्रहरु   बिसराम बिसराम आम कमैयाहरुको प्रतिनिधि पात्र हो । उपन्यासमा अत्यन्तै इमानदार, निरक्षर, गरिब, सानैमा बुवाआमा गुमाएको टुहुरो पात्र हो । ऊ अत्यन्तै मिहिनेती छ । बुवाले जिम्दारसँग लिएको ऋण (सौकी) का कारण कमैयाको रुपमा जिम्दार जिवराजको आजन्म बँधुवा कमैया रहेको हुन्छ । जिम्दार जिवराजको २० वर्षसम्म काम गर्दा पनि ऋण तिर्न नसकेको पात्र हो ऊ ।  दाङ बेल्वा बञ्जारीमा बालकिसुन चौधरीले जिम्दार जिवराजलाई ७ हजार ९ सय ८० रुपैँया तिरेर आफूकहाँ राखेर ४ वर्षपछि स्वतन्त्र भएको कमैया हो । आफ्नै बलबुतामा आधा कठ्ठा जग्गामा झुपडी बनाइ घरजम गरी बसेको बिसराम अस्थिर गतिशील पात्रको रुपमा चित्रित छ ।  घरमा आगलागी भएपछि बुह्रानतर्फ सुखको खोजीमा हिँडेको ऊ बुह्रान क्षेत्र कैलालीमा पनि नयाँ जिम्दार हेमराजबाट सताइएको छ । उपन्यासमा सुरुदेखि जमिनदारबाट सताइएकोले सुखको खोजीमा क्रियाशील पात्र हो । शोषण, दमन, थिचोमिचो, उत्पीडनबाट मुक्त हुन ऊ अन्तिमसम्म  क्रियाशील रहदाँ रहदै मृत्युवरण गरेको छ । जिवराज  उपन्यासमा खलपात्रको रुपमा चित्रित जिवराज दाङ बेल्वा बञ्जारीका जमिनदार हुन् । गरिब कमैया परिवारप्रति शोषण गर्ने, विभिन्न जालझेल गरी मानवता नभएका कुटिल पात्र हुन् । गरिब निम्न वर्ग, निरक्षर, सोझासाझा कमैयाहरुलाई पशुवत व्यवहार गर्ने, ऋण (सौंकी)को नाउँमा पुस्तौपुस्तालाई बन्धक बनाइ दास बनाउने पात्रका रुपमा उपन्यासको पूर्वाद्धमा देखिएका धूर्त पात्र हुन् । हेमराज हेमराज यस उपन्यासमा अर्का एक धूर्त, कुटिल, षड्यन्त्रकारी खलपात्रका रुपमा चित्रित छन् । उपन्यासको चौथो परिच्छेददेखि अन्तिसम्म गतिशील पात्र हुन् । गरिब किसान, निरक्षर कमैयाहरुमाथि विभिन्न तरिकाबाट ऋण(सौंकी) का नाममा पुस्तौपुस्ता बँधुवा कमैया बनाइ दास बनाउन माहिर दयामाया नभएको पात्र हुन् ।  कमैयाका छोरी चेली, श्रीमतीहरुलाई विग्लहरी गर्न आएको मौका छोपी यौन शोषण गर्न पछि नपर्ने कपटी स्वभावको पात्र हुन् । सरकारी कर्मचारीहरुलाई समेत आफ्नो प्रभावमा पारी निम्न वर्गको चरम शोषण गर्ने, कमैयाहरुलाई मानसिक, भौतिक यातना दिने बदमास पात्रको रुपमा चित्रित छ ।  भुख्ली  बिसराम र भेंग्लीबाट जन्मिएकी दुई सन्तानमध्ये कान्छी छोरी हुन् भुख्ली । दाङबाट छारा भई बुह्रान जाँदा सानो बालिकाको रुपमा देखा परेकी उपन्यासको मध्य भागतिर अविवाहित तरुनीका रुपमा सिधासादा निकै सुन्दर कमैयाकी छोरीका रुपमा चिनाइएकी पात्र हुन् । उनी थारू समुदायको कमलहरीहरुको प्रतिनिधि पात्र हुन् । उनी जिम्दार हेमराजको छोरो जयराजबाट बलत्कृत भएकी मुक पात्र हुन् ।  आफूमाथि जघन्य यौन शोषण हुँदा पनि अभिभावकसँग भन्न नसक्नु, कुनै प्रतिवाद नगरी कमैयासँग विवाह गर्न राजी हुनु जस्ता कमजोरी भुख्लीमा देखिन्छ । अभिभावकसँग नभनेकाले मानसिक रुपमा पीडित पात्रका रुपमा आएकी छिन् । हेमराजले आफनो छोरोको कर्तुत लुकाउन ऋण मिनाहा गरिदिने प्रलोभनमा कमैया जुगनालाई फकाइ फुल्याइ उसैसँग विवाह गराइ दिएकी पात्र हुन् ।  भाषाशैली  प्रस्तुत उपन्यासको भाषाशैली हेर्दा सरल र सटिक छ । संवादहरु, पात्र, कथानक  परिवेश अनुकूल रहेको पाइन्छ । ठाउँ ठाउँमा थारू समुदायमा बोलिने कथ्य भाषाको समेत प्रयोग भएको छ । साथै उपन्यासको भाषिक बिम्व र प्रतीकको पनि प्रयोग गरिएको पाइन्छ ।  उपन्यासको सुरुवातमै जिम्दार जिवराजले बिसरामको ऋण भएकाले कमैया बसेको देखाउनु, ऋण तिर्न नसकेर कमैया बसेकालाई कम पारिश्रमिक दिई प्रतिवर्ष ऋण घटाउनुको सट्टा अङ्क थपिदै जानाले छोराछोरीसमेत बँधुवा हुनु, जमिनदारबाट शोषित भई छारा (बसाइँ सराइ) भई जाँदा नयाँ ठाउँमा पनि नयाँ जिम्दारबाट शोषित दमित भई बिल्लीबाँठ हुनु, राज्यबाट कमैया मुक्ति भई शिविरमा बस्दा साउने झरी परेको अवस्थालाई दुःखको प्रतीकको रुपमा प्रयोग गरिएको छ ।  गन्तव्य उपन्यास संवादात्मक शैलीमा लेखिएको छ । यसमा भएका संवादका अंशहरु नाटकीय शैलीको मिश्रण पाइन्छ । घटना वर्णनको शैली वर्णनात्मक समास शैलीको रुपमा प्रयोग गरिएको छ । उपन्यासमा घटना तीब्र गतिमा अग्रसर भएकोले अन्तिम एघार, बाह्र तेह्र परिच्छ्ेदतिर कथावस्तु दौडिएझैँ लाग्छ ।  समग्रमा कमैयाहरुप्रति सहानुभूति, कारुणिकता, मर्मस्पर्शी र उनीहरुप्रति न्याय हुनुपर्ने भावना उत्पन्न हुने एवम् जिवराज र हेमराज जस्ता पाशविक व्यवहार मानवीयता नभएको व्यक्तिप्रति घृणा, रिस, क्रोध उत्पन्न गराउने खालको भाषाशैलीको प्रयोग गरिएको पाइन्छ । सरसर्ति उपन्यास पढ्दा कुनै फिल्म हेरेँझै लाग्छ । उद्देश्य विश्व मानवताको २१औँ शताब्दीमा प्रवेश गरिसक्दा पनि नेपालको सामाजिक मानचित्रमा कतिपय समुदायहरुमा मध्ययुगीन बर्बरताको अवशेष अझै जीवित मात्र होइन क्रियाशील पनि छ भन्ने कुरा यस उपन्यासमा पाइन्छ ।  यहाँ मानिसका हातबाट मानिस किनिने र बेचिने अवस्था छ । ऋणका नाममा पुस्तौ पुस्तासम्म कमैयाहरुलाई पशुझैँ अदृश्य किल्लामा बाँधेर दासत्व बनाउने जमिनदारहरु छन् । पश्चिमी भेगको थारू समुदायको नारकीय जीवन बिताउने विवश कथा यस उपन्यासमा छ । देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो तर कमैयाहरुको जीवनमा कुनै पनि परिवर्तन ल्याउन नसकेको कुरा अभिव्यक्त गरिएको छ ।   उपन्यासभित्र जमिनदारको बर्बर दमन शोषणले कमैयाहरुको जनजीवनमा अस्तव्यस्त पारिएकाले कमैया आन्दोलनबाट प्राप्त उपलब्धि पनि सार्थक बन्न सकेको छैन भन्ने दृष्टिकोण आएको छ ।  ऋणको चक्रव्यूहमा आम कमैयाहरु कैदीपूर्ण जीवन बाँच्न विवश छन् । षड्यन्त्रकारी जमिनदारहरु कमैयाहरुलाई प्रपञ्चमा फसाउन कसरी पखेटा काट्छन् भन्ने सामाजिक यथार्थवादी धरातलबाट उपन्यासकारले न्यायिक दृष्टिकोण अघि सारेका छन् ।  बिसराम जस्ता कैयौँ कमैयाहरु आशावादी र उज्यालोतर्फ उन्मुख हुने उद्देश्यले बुह्रान पसे पनि अर्काे नयाँ ठाउँमा पनि जिवराजभन्दा अझै क्रुर सामन्ती, धूर्त जिम्दार फेला पर्नुले हरेक ठाउँमा समस्यै समस्याको चुङ्गुलमा परेको कुरालाई देखाउन खोजिएको छ ।  उत्पीडित निमुखा, निरक्षर निम्न वर्गको संरक्षणभन्दा दमन शोषण गर्न जमिनदारकै पक्षमा सरकारका कर्मचारीहरु गरिब वर्गमाथि नै पीडामाथि पीडा थप्ने यथार्थ यस उपन्यासमा पाइन्छ । संरचना प्रस्तुत उपन्यास १३ परिच्छेद र १०७ पृष्ठमा विस्तारित छ । संरचनामा हेर्दा लघु आकारको छ । थारू समुदायको कमैयाहरुले भोग्नु परेको समस्या र यथार्थलाई आधार बनाइ उपन्यास लेखिएको छ ।  सुरुको दुई परिच्छ्ेदमा दाङको बेल्वा बञ्जारी गाउँमा जिवराजको कमैया भएको बिसरामलाई सोही गाउँको जमिनदार जिवराजबाट सताइएपछि बुह्रान पसेका बिसराम जस्ता कैयौँ कमैयाहरुको जीवन कष्टकर पीडादायी बन्न पुगेको कुरा ११ परिच्छेदसम्म लम्बिएको छ ।  १२ र १३ परिच्छेदमा कमैया मुक्तिका लागि संघर्षहरु उल्लेख गर्दै अन्तिममा उच्च वर्ग जमिन्दारहरुबाट मुक्ति भएपनि सरकारी निकायबाट समेत अधिकार नपाउँदा पुनः कमैया बन्नुपर्ने वाध्यता सिर्जना हुनु विडम्वना हो भन्दै कथा टुङ्ग्याइएको छ ।  शीर्षक सार्थकता  प्रस्तुत उपन्यासको शीर्षक ‘गन्तव्य’ शब्दको निर्माण ‘गम्’ धातुमा ‘तव्य’ प्रत्यय जोडेर बनेको छ । जसको अर्थ गइने ठाउँ, जाने वा पुग्ने स्थान भन्ने बुझाउँछ ।  थारू नेपाली दुबै भाषामा कलम चलाउने कृष्णराज सर्वहारीको चर्चित यो गन्तव्य (२०५९) उपन्यासमा थारू समुदायमा कमैयाहरुको मूलभूत समस्यामा केन्द्रित यथार्थवादी उपन्यास हो । यस उपन्यासमा आधारित विषयवस्तु घटनाका आधारमा शीर्षक राखिएको छ ।  उपन्यासका नायक बिसरामको मूल गन्तव्य कमैया जीवनको उत्पीडनबाट मुक्ति पाउनका लागि सुखका साथ जीवन जिउने नै थियो र त्यो प्राप्त हुन नसक्दा उनको जीवन दुर्घटित भई समाप्त भएको छ । उनको छोरा सुख्लाले पनि गन्तव्यकै क्रममा रहेकाले शीर्षक सार्थक जस्तो लाग्छ ।  यस्तै अन्य कमैया पात्रहरु जुगना, ठगना, इङ्लिश्वाले पनि गन्तव्य उन्मुख पात्र छन् तर गन्तव्यमा पुग्न नपाइ दुर्घटित हुन पुगेकाले प्रतिकात्मक रुपमा शीर्षक उपयुक्त छ  ।  उपन्यासमा सबै पात्रका आआफ्नो गन्तव्यतर्फ उन्मुख देखिन्छन् तर पाठकलाई गन्तव्य भेटाउन नसकेको महसुस हुन्छ । खासमा कमैयाहरु दासत्वबाट मुक्त हुन सकिरहेको देखिदैन । यद्यपि कमैयाहरु संगठित भइ आफ्ना हक अधिकारका लागि, शोषण, दमन, अन्याय अत्याचार, उत्पीडनको विरुद्धमा उभिन जागृत गरेकाले आशावादी दृष्टिकोण यस उपन्यासमा आएको छ । संगठित आन्दोलनकै कारण उपन्यासमा राज्यबाट कमैया मुक्त घोषणा हुनुले गन्तव्य भेटिएको शीर्षक अनुकूल छ । निष्कर्ष  कृष्णराज सर्वहारी थारू समुदायका कला संस्कृति, परम्परा, रहनसहन, मूल्यमान्यता आदि लगायत मूलभूत कमैयाहरुको समस्याहरुबारे बुझेका उपन्यासकार हुन् । थारू नेपाली दुबै भाषामा कलम चलाउने सर्वहारीले यस उपन्यासमा बिसराम, जुगना, ठगना, भेंभवा, पदना, रनपुरिया, सुख्ला आदि कमैयाहरुको माध्यमबाट कमैयाहरुमाथि जमिनदारहरुले गरेको अन्याय, अत्याचार, थिचोमिचो बर्बरताको जीवन्त चित्रण पाइन्छ ।  कमैयाहरुको कथा व्यथा बोकेको यो उपन्यासमा सानो ऋणको थैलीबाट सुरु भएको कमैयाका ऋणमा प्रतिवर्ष अङ्क थपिदै पुस्तौ पुस्तासम्म कमैयाका परिवारहरुसमेत दासत्व जीवन बाँच्नुपर्ने यथार्थ पाइन्छ ।  इमानदार, निश्छल, निरक्षर कमैयाहरु सदैव अबोध हुन्छन् । तिनीहरुमाथि जिवराज, हेमराज जस्ता धूर्त कुटिल शोषकहरु हालीमुहाली गरिरहन्छन् । कमैयाहरु सधैँ जिम्दारका प्यादा बन्दछन् ।  सरकारी निकायका कर्मचारीहरु पनि हेमराज, जिवराज जस्ता जमिनदारहरुको रखौटी बन्नु, कर्मचारीहरु गरिब निरक्षर गाउँबस्तीमा आफ्नो जिम्मेवारी भुलेर उनीहरुको अस्मितासँग खेल्न खोज्नु, गरिबी अभावमा पिल्सिएका वर्गको अनुचित फाइदा लिने उच्च वर्गले दासत्व मनस्थितिबाट माथि उठ्न नसक्नु, जस्ता घटनाले समाजमा न्याय दिने निकाय पनि ठुलाठालुको बन्दी बनेको प्रति उपन्यासकारले प्रश्न उठाएका छन् । उपन्यासमा अधिक पात्रहरुको उपस्थितिले पाठकलाई कथावस्तुको संयोजन बुझ्न हम्मे हम्मे परे पनि सरसर्ति पढ्दा चलचित्र हेरेझैं लाग्छ । वीरेन्द्रनगर, सुर्खेतका लेखक शिक्षण पेशामा आवद्ध छन्