लोककथाः हलो जोत्ने माछा
८८६ दिन अगाडि
|
२६ भदौ २०७९
रुम टु रिडद्वारा प्रकाशित कृष्णराज सर्वहारीको लोककथा हलो जोत्ने माछा
एकादेशमा बनको किनारमा सानो झुपडीमा बुढाबुढी बस्थे । उनीहरूको सानो बारी र झुपडी बाहेक बाल बच्चा कोही पनि थिएन ।
एकदिन बुढीले भनिछे– ‘सुन्यो बुढा, मेरो लागि हेल्का बुन्दिनु । म माछा मार्न जान्छु ।’ बुढाले भने – ‘हुन्छ हुन्छ, बुन्दिउला, सधैं पानीको झोल मात्रै ख्वाउँछे, बडो माछा मार्ने भा’की ।’
बुढिया च्याँट्ठिई– ‘फाटेको हेल्का भएपछि कसरी माछा मार्नु त ? ।’ यति भन्दै उनले हुक्का तान्न थालिन् ।
बुढाले एउटा नयाँ हेल्का बुनिदिन्छ, आफ्नो बुढीको लागि । बुढी खुशी हुँदै खोलामा माछा मार्न जान्छे । तर दिनभरि माछा मारेर एउटा टेङना माछा मात्रै मार्न सकी । डोरी बाँट्दा बाँट्दै बुढीलाई आउँदै गरेको देखेर बुढाले सोध्छ – ‘खै खै तैले मारेको माछा हेरूँ, कति धेरै मा¥यो ।’
– ‘कहाँ पाउनु, एउटा टेङना माछा मात्रै पाएँ ।’ भन्दै बुढीले चटनी भए पनि बनाउनुप¥यो भनेर त्यो माछालाई मार्न थाली । अचम्म त्यो माछा करायो– ‘बुढी आमा, बुढी आमा मलाई नमार । मैले तिमीलाई मेरो कमाई ख्वाउछु ।’
– ‘तिमी माछाको जात के कमाई ख्वाउछौं’ भन्दै बुढीले त्यो माछा मार्न बुढालाई अह्रायो । जब बुढाले मार्न जान थाल्यो, माछाले फेरि बिन्ति बिसाउन थाल्यो– ‘बुढा बा, बुढा बा मलाई न मार । म तपाईहरूलाई साँच्चिकै कमाई ख्वाउछु ।
त्यसपछि बुढा बुढीले त्यो माछालाई नमारेर आफ्नो बच्चाझैं हुर्काउन थालेछन् ।
एकदिन माछाले बुढालाई भन्यो– ‘बुढा बा, बुढा बा मेरो लागि गोरू किनिदिनु र हलो बनाईदिनु । म हलो जोत्छु ।’ बुढालाई बिश्वासै लागेन र भन्यो – ‘तँ माछाको जात कसरी हलो जोत्न सक्छस् ?’ माछाले भन्यो– ‘जोती हाल्छु नि । पहिले सरजाम बनाई त दिनु ।’ बुढाले कुरा फाल्न नसकी पीरा र धौरा नामक गोरू किनिदियो र हलो पनि बनाइदियो । माछा खुशी हुँदै हलोमा गोरू नारेर जोत्न हिंड्यो । उ हलोको चरामा बसेर गीत गाउँदै हलो जोत्न थाल्यो । कोही मान्छे आयो भने खेतको हिलोमा कुदेर लुकिहाल्थ्यो । मान्छे टाढा पुगेपछि फेरि हलोको चरामा बसेर जोत्न थाल्थ्यो ।
सोही समयमा राजाले गाउँको खबर बुझ्नको लागि आफ्नो सिपाहीहरूलाई खटाएका थिए । मान्छे बिनाको आफै हलो जोती रहेको देखेर सिपाहीहरू दङ परेर भन्न थालेछन्– ‘आहा, कति सिपालु गोरू रहेछन्, बिना मान्छेको हलो जोतिरहेका छन् । हामीले राजालाई देखायो भने कति खुशी हुनेछन् ।’ यस्तै बिचार गर्दै उनीहरू गोरूलाई फुकाएर लैजान्छन् ।
ओठ बिगारेर माछा घर आउँछ । माछालाई बिना गोरूको देखेर बुढीले सोध्छे – ‘खै त बाबु गोरू, कहाँ गए ?’
माछाले सबै कुरा बतायो, अनि भन्यो – ‘बुढी आमा, बुढी आमा मेरो लागि सातु बनाइदिनु । म जान्छु गोरू खोज्न ।’
‘माछाको जात कहाँ जान्छस् खोज्न ? भो न जा । उतै भुलेर हराउलास्, बरु अर्को हल गोरु किनौला ।’ बुढाले भने ।
माछा बुढाबुढीको अगाडि रिसाउन थाल्यो । यो देखेर बुढाले भने– ‘बनाई दे न त के भो । गोरू खोज्न जान खोजीरहेको छ भने जान दे । खोज्न सक्छ कि त हेरौं न ।’
माछा सातुको पोको पारेर गोरू खोज्न हिंड्यो । जाँदा–जाँदै एउटा नदीको किनारमा रहेको रूखको सित्तलमुनि पानीमा सुस्ताउन थाल्यो । त्यहीको रूखमा लागेको माहुरीहरूले सोध्छन्– ‘कहाँ जान लागेका छौ माछा दाई ? एकदमै निरास देखिन्छौ नि ?’
माछाले भन्यो– ‘अरे के भन्नु माहुरी भाई, मेरो पीरा र धौरा गोरू हराए । अनि म तिनीहरूकै खोजमा निस्केको छु ।’
माहुरीको नाइकेले भनि– ‘माछा दाई हामीलाई पनि लानुस्, हामी पनि जान्छौं नि तपाईलाई सघाउन ।’
माछाले खुशी हुँदै भन्यो– ‘ जाउँ त साथीहरू, एकबाट दुई भयौं भने झन राम्रो ।’
उनीहरू जाँदा–जाँदै एउटा रूखको छाहारीमा बिसाउन थाल्छन् । त्यहीबेला त्यही रूखमा लागेका बारूलाले सोध्छन् – ‘कहाँ जान लागेको माछा दाई ? एकदमै उदास देखिनुहुन्छ नि ?’
– ‘अरे बारूला भाइ मेरो पिरा र धौरा गोरू हराएका छन् अनि खोज्न हिंडेको ।’ उसले भन्यो ।
– ‘दाई हामीलाई पनि पर्खनुस, हामी पनि संगै जान्छौ ।’ संगै जान बारूलाहरू पनि तयार हुन्छन् ।
माछा अझ रमायो– ‘ जाउँ त दुईजना भन्दा तीनजना भयौ भने झन राम्रो ।
जाँदा–जाँदै एउटा नदीको किनारमा पानी खाएर बिसाउन थाल्छन् । झाडीमा रहेका सारा ( बारूलाझै बिषालु कीरा) हरूले सोध्छन्– ‘कहाँ जान लागेको माछा दाई ?’ माछाले फेरि त्यही उत्तर दिन्छ । अनि साराहरू पनि संगै जान तयार भैहाल्छन् । माछाले भन्छ – ‘जाऔं त भाइहरू तीनबाट चार भइयो भने झन राम्रो ।’
जाँदा–जाँदै उनीहरू राजाको शहर नजिकै पुग्छन् । शहरको किनारमा रहेको नदीमा एक धोबी राजाको कपडा धुन आएको हुन्छ । माछा बिस्तारै पानीमा पस्छ । माहुरी, बारूला र सारा त्यही नजिकै भएको रूखमा बस्छन् । जब धोबीले कपडा भिजाउन थाल्छ, त्यसैबेला माछा गीतको लयमा¬ बोल्छ–
‘धोबी रे धोबी, रून्छस् कि धुन्छस् ? कि रूदै धुने ?
कि आफ्नै शहरको राजा बोलाउँछस् । यसै घाटबाट गरूँ लडाई’
कपडा भिजाउँदा भिजाउँदै धोबी रोकिन्छ, अनि मनमनै भन्छ – ‘आज को हो बोले जस्तो गर्छ ।’ अनि फेरि लुगा भिजाउन थाल्छ । अनि फेरि उही गीतरूपी आवाज गुन्जिन थाल्छ ।
गीत गाउने कोही नदेखेपछि धोबीले आफूले सुनेका सबै कुरा राजासमक्ष गएर भन्छ । अनि राजाले आफ्नो फौज तयार गरी बन्दूक, गोला बारूद बोकी त्यही ठाँउमा आँउछन् । राजाले लल्कार्छ – ‘को हो मलाई आज हेप्ने ? हिम्मत छ भने सामुन्ने आइज ।’
माछा बिस्तारै बोल्छ – ‘हजुरका सिपाहीहरूले मेरो गारू ल्याएका छन् । म ती गोरू लिन आएको । चुपचाप देऊ, होइन भने म लडेर भए पनि लैजान्छु । राजा फेरि पनि गर्जन्छ – ‘ल त आफ्नो शक्ति देखा । पठा आफ्नो फौज ।’
माछा हिम्मतको साथ बोल्छ– ‘तिमी चलाउ गोला बारूद कति शक्तिशाली छौ ?’
राजाले आफ्नो सिपाहीलाई आदेश दिन्छ । गोली पर्र पर्र चल्न थाल्छ । तर माछा काठको फट्के मुनि लुक्छ । उसलाई केही पनि हुँदैन । जब राजाको गोली सकिन्छ अनि बोल्छ– ‘अब छोड माछा आफ्नो फौजलाई ?’
शुरूमा माछाले माहुरीलाई छोर्छ । माहुरीले सिपाहीहरूलाई टोक्न थाल्छन् । त्यसपछि बारूलालाई पठाउँछ, बारूलाले पनि टोक्न थाल्छन् । सिपाहीहरू छटपटाउँदै यताउती भाग्न थाल्छन् । सबभन्दा पछि सारालाई छोर्छ, अनि सिपाहीहरू ढल्न थाल्छन् । राजा हार स्वीकारेर माछाको गोरू फिर्ता दिन्छ ।
माछा आफ्नो सबै साथीहरूसँग घर फिर्ता हुन्छ । बुढाबुढी गोरू सहित माछारूपी छोरालाई पाँउदा दंग हुन्छन् । टेङना माछा फेरि हलो जोत्दै खेतीपाती गर्न थाल्छ । र, बुढाबुढीलाई पाल्न थाल्छ ।