दाङदेउखुरीमा खै थारू भाषाको पढाई ?
३८२ दिन अगाडि
|
२१ फागुन २०८०
थारू अगुवा तथा बुद्धिजीवीहरुले दाङदेउखुरी जिल्लामा थारू भाषाको पठनपाठन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
लौव अग्रासन साप्ताहिकको आयोजनामा शनिबार फागुन १९ गते दाङको घोराहीमा भएको ‘थारू भाषाको वर्तमान अवस्था’ बिषयक् अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनीहरुले कुनै पनि भाषा, संस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने बताए । ‘भाषा थारूको भए पनि सम्पत्ति राज्यकै हो’– उक्त शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले भने, ‘थारू भाषाको संरक्षण र प्रवद्र्धनको काम पनि राज्यकै हो ।’ उनले घोराही उपमहानगरलगायतका कतिपय स्थानीय सरकारले थारू भाषा संरक्षणमा काम शुरु गरेकोप्रति खुशी व्यक्त गर्दै हुनुपर्ने जति काम स्थानीय सरकारहरुले नगरेकोमा चिन्ता व्यक्त गरे ।
थारू समुदाय आफैले थारू भाषा विर्सदै गएकोप्रति चिन्ता व्यक्त गर्दै डा सर्वहारीले भाषा संरक्षणका लागि यसको प्रयोगमा वृद्धि गर्नुपर्ने बताए । उनले जुनसुकै ठाउँमा बोल्दा पनि थारू भाषा र शब्दको परिकल्पना गर्दा अभिव्यक्तिमा पनि आउने भन्दै थारू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा विकास गर्न जरुरी रहेको धारणा राखे । उनले थारू भाषा संरक्षणका लागि विद्यालयमा पठनपाठन हुनुपर्ने, थारू भाषाका सञ्चार माध्यमको संरक्षण गर्नुपर्ने, विद्यालय, विश्वविद्यालयहरुमा थारू भाषामै साहित्यिक गतिविधि हुनुपर्ने र खासगरी थारू कल्याणकारिणीसभा, थारू लेखक, थारू विद्यार्थीहरुले स्थानीय सरकारलाई झक्झक्याउने काम गर्नुपर्ने औंल्याए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा थारूहरुको पहिचान भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । ‘अहिले थारू भाषा बिग्रिन थाल्यो, अशुद्ध भयो । बोलीचालीमा पनि कमी आइरहेको छ’– चौधरीले भने– ‘भाषा जीवन हो । यसैले हामीलाई बाँच्न सिकायो, बोल्न सिकायो, त्यसैले आफ्नो भाषा संरक्षणमा लाग्नुपर्छ ।’
उनले घोराही उपमहानगरपालिकाले थारू भाषालाई सरकारी कामकाजको भाषा बनाएको र थारू भाषामै पठनपाठनको व्यवस्था मिलाएको भन्दै यसले थारू भाषालाई जीवन्त बनाउन टेवा पुग्ने बताए । उनले दाङमा डंगौरा र डेउखुरियाको अलग बोलाई भएकाले मानकको नाममा एकैमा मिलाउनु भन्दा छुट्टै पाठ्यक्रम पाठ्यपुस्तक जरुरी रहेको बताउँदै भाषालाई जटिल बनाउनेभन्दा पनि सरल बनाएर यसलाई जीवन्त बनाउन जरुरी रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अनुसन्धान केन्द्रका निर्देशक डा जर्मन चौधरीले जनसंख्याको हिसावले थारू धेरै भए पनि थारू भाषी कम हँुदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले थारू भाषामै पठनपाठन हुँदा भाषालाई जीवन्त बनाउन सकिने भन्दै यसमा स्थानीय सरकारको भूमिका बढाउनुपर्नेमा जोड दिए । साथै, थारू भाषा संरक्षण र प्रवद्र्धनका लागि नियमित गतिविधि गर्न र सरोकारसँग जोडिएर काम गर्न छुट्टै संयन्त्र आवश्यक रहेकोमा जोड दिए ।
लावा डग्गर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिलाले थारू भाषाको लेखाईमा नेपालीपन बढी देखिएकाले मौलिकतामा जोड दिनुपर्ने बताए ।
लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक कुलवीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारू कल्याणकारिणीसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, थारू कल्याणकारिणीसभाका सल्लाहकार भुवन चौधरी, थाकसको थारू मानक भाषा मस्यौदा समितिका संयोजक कुछत नारायण चौधरी लगायतले विचार राखेका थिए ।
लौव अग्रासन साप्ताहिकका प्रकाशक, सम्पादक सन्तोष दहितको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रिकाकी समाचारदाता कल्पना चौधरीले गरेकी थिइन् ।
घोराहीको माला इन होटलमा भएको ‘थारू भाषाको वर्तमान अवस्था’ बिषयक् अन्तक्र्रिया कार्यक्रम लगत्तै सोही स्थानमा थारू आयोगको प्रायोजनमा थारू भसा साहित्य केन्द्रले थारू मानक भाषा लेखन शैलीबारे गोष्ठी आयोजना गरेको थियो ।