'मगर संस्कृतिमा मगर भाषाको प्रयोग' विषयक विचार गोष्ठी सम्पन्न 

'मगर संस्कृतिमा मगर भाषाको प्रयोग' विषयक विचार गोष्ठी सम्पन्न 

४३६ दिन अगाडि

|

२० मंसिर २०८०

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको  भवनको उदघाटन.  श्रष्टा सम्मानित

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको भवनको उदघाटन.  श्रष्टा सम्मानित

४३९ दिन अगाडि

|

१७ मंसिर २०८०

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको नवनिर्मित भवनको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले उदघाटन गरेका छन्  । दाङको लमहीमा मंसिर १६ गते शनिबार आयोजित मञ्चको १३ औं वार्षिक उत्सवको समारोहको अवसरमा भवन उदघाटन गरिएको हो । लमही नगर विकास समितिले उपलब्ध गराएको १५ धुर जग्गामा कार्यालय कक्ष, पुस्तकालय कक्ष र सभाहल समेतको भवन तयार गरिएको छ। भवन बनाउनका लागि लमही नगरपालिकाले १७ लाख, राजपुर गाउँपालिकाले २ लाख, राप्ती गाउँपालिकाले १ लाख ५० हजार र गढवा गाउँपालिकाले १ लाख २५ हजार रूपैयाँ अनुदान सहयोग गरेको मञ्चका अध्यक्ष हरि पोख्रेलले बताए । सोही अवसरमा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले पाँच श्रष्टालाई सम्मान गरेको छ । देवराज पाठक संस्थापक रहेको ‘पाठक कला संगीत सम्मान’ बाट संगीतकार सन्तोष श्रेष्ठ, निमबहादुर थापाले स्थापना गरेको ‘होतविष्णु साहित्य पुरस्कार’ बाट गंगानाथ कोइराला, धर्मराज पाण्डेले स्थापना गरेको ‘खिमानन्द केशरा साहित्य पुरस्कार’बाट शेरबहादुर चौधरी र शेरबहादुर चौधरीले स्थापना गरेको ‘ठागुरामपति साहित्य पुरस्कार’बाट गीतकार के. डी. शर्मालाई सम्मान गरिएको मञ्चका सचिव केशव शर्मा घिमिरेले जानकारी दिए । यसैगरी ‘अग्रज स्रष्टा सम्मान’ बाट ७५ वर्षीया दुर्गादेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो । यसैगरी शेषमणि शर्मा घिमिरे/कृष्णा शर्मा संस्थापक रहेको ‘बाल प्रतिभा पुरस्कार’ बाट शान्ति गुप्ता (आदर्श नमूना मावि लालमटिया), अनिता सुन्दास (शंकर मावि पिपरी) र मनिष के.सी.(मा.वि. फल्कापुर) लाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा तीन स्रष्टाका तीन कृति पनि लोकार्पण गरिएको थियो । शेषमणि शर्मा घिमिरेको कविता संग्रह ‘देउखुरीको माटो’, जागेश्वर शर्मा घिमिरेको ‘देउखुरीमा बाछिटा’ र दुर्गादेवी अधिकारीको ‘आमाको वेदना’ (गीति काव्यको दोस्रो संस्करण) लोकार्पण गरिएको सचिव केशव शर्मा घिमिरेले जानकारी दिए । मञ्चका अध्यक्ष हरि पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछाने, लमही नगरपालिकाका मेयर जोगराज चौधरी, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्म प्रसाद शर्मा राप्ती साहित्य परिषदका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, कवि तथा गीतकार गणेश विषम, नारायण नेपाल, चारु साहित्य तथा संस्कृति प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनाल, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, शिवगढी साहित्य संगम कपिलवस्तुका अध्यक्ष अर्जुन शर लगायतको उपस्थिति थियो । कार्यक्रममा कवि तथा श्रष्टाहरुले आफ्ना रचना वाचन पनि गरेका थिए । ५ लाख रुपैयाँ बराबरको १५ प्रकारका अक्षयकोष स्थापना भएको यस मञ्चका हालसम्म १७० आजीवन सदस्यहरु छन् । मञ्चले विभिन्न विधागत कार्यक्रमहरू समेटी संस्थाको वार्षिक कार्यतालिका समेत सार्वजनिक गरेको छ जसमा रचना वाचन, कृति समीक्षा, सांगीतिक प्रस्तुति, भाषा, कला, साहित्य तथा संस्कृति विषयक अन्तरसंवाद, स्रष्टाको घर कार्यक्रम, साहित्यिक वनभोज तथा भ्रमण लगायतका कार्यक्रमहरु छन् । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङ २०६३ सालमा स्थापना भएको हो ।

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय

४४० दिन अगाडि

|

१६ मंसिर २०८०

                              आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनका लागि हौली परिवार मोरङको आयोजनामा भएको तयारी बैठक आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी माघमा मोरङमा हुने तय भएको छ । थारु लेखक संघ, हौली परिवार तथा जंग्रार साहित्यिक बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछन् । यसै क्रममा स्थानीय संयोजनकर्ता हौली परिवार मोरङको आयोजनामा मंसिर १५ गते तयारी बैठक बसेको छ, जसले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर, गढी वा दुहबीमा गर्ने निर्णय गरेको छ । हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले स्थान आजैभोलि तय गरिने बताए । तयारी बैठकमा थाकस, महिला सभा, विद्यार्थी सभा, युवा सभा, पत्रकार, समाजका प्रतिष्ठित ब्यक्ति तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।  थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ पुस्तक प्रदर्शनी सुरु उता, जंग्रार साहित्यिक बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ सप्ताहब्यापी पुस्तक प्रदर्शनी सुरु गरेको छ । बर्दियाको कोठियाघाटमा आयोजना गरिएको पुस्तक प्रदर्शनी मंसिर १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ ।  पुस्तक प्रदर्शनीमा खास गरी थारु भाषा साहित्यका पुस्तकका साथै स्थानीय लेखकका अन्य भाषाका पुस्तक पनि रहेको लेखक शेखर दहितले बताए । पुस्तक प्रदर्शनीको पहिलो दिन नै करिब १ सय थान पुस्तक बिक्री गरिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए ।  यसैगरी, बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ एक कप चिया अभियान चलाएको छ । यसबाट १ लाख बढी रकम संकलन भैसकेको अभियन्ता शेखर दहितले जनाए ।  स्मरण रहोस् दाङदेउखुरीबाट सुरु भएको थारू साहित्य राष्ट्रिय सम्मेलन कैलाली, बर्दिया, रुपन्देही, सुर्खेत, कञ्चनपुर, बाँकेमा गरी सात श्रृंखला पार गरिसकेको छ । सातौं थारू साहित्य राष्ट्रिय सम्मेलन बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित सिधन्वामा भएको थियो । 

चित्रकलाबाट थारू संस्कृति संरक्षण गर्दै मित्थु थारू

चित्रकलाबाट थारू संस्कृति संरक्षण गर्दै मित्थु थारू

४४० दिन अगाडि

|

१५ मंसिर २०८०

मित्थु थारू आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारू समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए। उनी सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारू इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए। कैलालीको जानकी गाउँपालिका–३ का ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारू जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रूचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे। चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रूपमा उनले काम गर्दै आएका छन्। मित्थुले विशेष गरेर थारू जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार पाएको उनले बताए। ‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारू जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ । त्यसबाट रू २५ हजार पाएको थिएँ,’ मित्थुले भने। उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ। यतिबेला उनी बाँकेको बैजनाथ गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारू समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन्। उनी दुर्गाशरणको कथामा आधारित थारू समुदायका देवी मयारी, थारूका राजा दगीशरण, भेंवाँ, ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन्। मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्र्ति कुँदेबापत २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो। व्यावसायिक रूपमा थारू संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए। मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारू संस्कृति संग्रहालयमा चित्र र मूर्ति बनाउँदै आएका छन्। थारू संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रूपमा अघि बढेको उनको भनाइ थियो। रासस

थारू सख्या नाच गीतको डकुमेन्ट्री लोकार्पण 

थारू सख्या नाच गीतको डकुमेन्ट्री लोकार्पण 

४६० दिन अगाडि

|

२६ कात्तिक २०८०

सुर्खेतको वीरेन्द्रनगरमा एक समारोहका बिच थारू लोक ऐतिहासिक, पौराणिक विषय संस्कृति झल्कने थारू समुदायको सख्या नाच गीतको लघु चलचित्र (डकुमेन्ट्री)  सार्वजनिक भएको छ ।  लखागिन थारू उत्थान मञ्च सुर्खेतको मूल व्यानर र थारू कल्याणकारणी सभाको समन्वयमा निर्मित सुर्खेतमा सुटिङ भएको सख्या नाच गीतको डकुमेन्ट्रीको थारू संस्कृतिविद अनुसन्धाता मानबहादुर चौधरी ‘पन्ना’ले  लेखन तथा निर्देशन गरेका हुन् । यसको निर्माता समाजसेवी शनिश्रा महतम रहेका छन् । डकुमेन्ट्रीको छायांकन तथा सम्पादन दीर्ग चौधरीले गरेका हुन् ।  कार्यक्रमका प्रमुख अतिथि एवम् मध्यपरिश्चमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार  एवम् त्रिविका उपप्रध्यापक डा. महेन्द्र कुमार मल्लले सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारू जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा सख्या नाच गीतको डकुमेन्ट्रीले कोसेढुङ्गा सावित हुने कुरा बताए ।  पहिचान मौलिकतामा आधारित हुन्छ । संस्कृतिलाई अतिक्रमित हुन दिनु हुन्न । आफ्नो पहिचान संस्कृति बचाए मात्र अधिकार स्थपित हुन्छ । यो डकुमेन्ट्री हेर्दा सानो लागे पनि कालान्तारमा यसले ठुलो महत्व राख्ने उनको भनाइ थियो ।  संस्कृतिले इतिहास बोल्छ, जीवनशैलीलाई जनाउँछ । संस्कृति रहनसहन जीवनशैली भएकोले ज्ञानको अथाह भण्डार हो । गीत संस्कृति समाजकै दर्पण भएकोले यस्ता रचनात्मक कार्यमा युवापुस्ताले ध्यानदिनु पर्नेमा मल्लको जोड थियो ।  आफू पनि थारू समुदायमा हुर्केकोले परम्परागत चालचलन नाच गीतको दृश्यले पुरानो थारू गाउँघरको सम्झना भएको बताउँदै सुर्खेतका थारू समुदायको हस्ती मानबहादुर पन्ना आफ्ने शिष्य भएकोले यति राम्रो काम गरेको गौरवको अनुभूति भएकोे बताए ।  सुर्खेतका समाजसेवी तथा वरिष्ठ अधिवक्ता धुु्रब कुमार श्रेष्ठले आफू बालापनदेखि नै थारू समुदायमा हुर्केकोले थारू समुदायको कला संस्कृतिप्रति सधै सद्भाव र सहयोग रहने कुरा बताए । सानैदेखि नै आफू पनि सख्या नाचमा सहभागी भएको कुरा व्यक्त गर्दै लखागिन थारू उत्थान मञ्च सुर्खेतले निर्माण गरेको डकुमेन्ट्रीले थारूको पहिचान बचाउने अभियान सुरु गरेको महसुस गरेको कुरा व्यक्त गरे ।   अनुसन्धाता मानबहादुर चौधरी पन्नाले डकुमेन्ट्रीबारे प्रष्ट्याएका थिए । सख्या नाच हरेक वर्षको दसैँको अगाडि कृष्णजन्माष्टमी अटवारी पर्वपछि सुरु भइ दसैँ तिहारसम्म नाचिने संस्कृति हो । यस सख्या गीतमा १५ वटा खण्ड र ३३ सय श्लोक छ, जुन महाभारतकालीन कृष्णका माता देवकी (जासु), बुवा वासुदेव (इसरु),कृष्ण (कान्हा), कंस, राधासँग सम्बन्धित छ । त्यसैगरी गीतमा संसारको सृष्टि कसरी भयो ? संसारकै सृष्टिसँगै सुरुमा पृथ्वीमा के के उत्पत्ति भए ? मानव जातिले यस धर्तिमा कसरी जीवन सङ्घर्ष गरे ? भन्ने कुराको आख्यान यस नाच गीतमा पाइने कुरा उनले बताए ।  सख्या नाचले चाडपर्वमा सबै उमेर समूहका नचुन्या, मादलेहरु, गाउँका भद्रभलाद्मी जम्मा भई सरसल्लाह गरी गुरुवा केसौका (गाउँका तन्त्रमन्त्र जान्ने) सँग पूजापाठ गरी गरी अगुवा मादले पछुवा मादले त्यसैगरी गीत गाउने अगुवा मोह्रिन्या र पश्गिन्या छानेर ठूलै समूहमा नाचिने नाच हो । त्यसैले यसको सामाजिक महत्व पनि निकै छ, पन्नाले भने ।  त्यसैगरी पाँच पाण्डप, देृतीबज्यै, अन्य गाउँको भुइ भुइह्यार साझा देउथानका देउतालाई पुकारा गरी नाचिने भएकाले यसको धार्मिक महत्व पनि उत्तिकै रहेको निर्देशक ‘पन्ना’ले बताए । डकुमेन्ट्रीका निर्माता शनिश्रा दहित महतमले थारूहरुको थुप्रै लोक संस्कृतिमध्ये झुमरा, हुरडङ्ग्वा, मघौटा, मुङ्ग्रह्वा आदि मध्ये थारू सख्या नाच पौराणिक ऐतिहासिक गाथामा आधारित नाच र गीत भएकोले यसको बेग्ले महत्व रहेको बताए ।  यस डकुमेन्ट्रीले थारूहरुको मौलिकपनलाई पक्रेको छ । नाच्दा गाउँदा प्रयोग गरिने लोक बाजा मादल, मुजुराको प्रयोग, पूजाविधि, सबै पाटो राम्रो छ । यसलाई अझै राम्रो बनाउन सम्ह्रौटी गीतको भागलाई पनि समेट्न सके सुनमा सुगन्ध हुने कुरा सुझाए । थारू लोकपरम्परा, संस्कृति दिनप्रतिदिन लोप हुने क्रममा रहेकाले पुराना पुस्ताका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यस्ता नाचलाई जीवन्त राख्नका लागि डकुमेन्ट्री निर्माण गरेको महतमले बताए ।  कार्यक्रममा थारू अगुवा जागुराम थारू, राजु चौधरीले पनि विचार व्यक्त गरेका थिए ।  यसैगरी, कार्यक्रममा सख्या नाच गीत डकुमेन्ट्रीका निर्माता शनिश्रा महतम र गुरुवा औसिया थारूलाई सम्मान गरिएको थियो ।

राजेन्द्र विमल, कृष्णराज  सर्वहारीसहित १५ जना स्रष्टा सम्मानित

राजेन्द्र विमल, कृष्णराज  सर्वहारीसहित १५ जना स्रष्टा सम्मानित

४६० दिन अगाडि

|

२६ कात्तिक २०८०

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा वरिष्ठ साहित्यकार राजेन्द्र विमल (धनुषा)  डा कृष्णराज  सर्वहारी (दाङदेउखुरी) लगायत १५ जना स्रष्टाहरुलाई शनिवार कार्तिक २४ गते  काठमाडौंमा एक कार्यक्रम गरी सम्मान गरेको छ । विमललाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान तथा सर्वहारीलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रदान गरिएको हो ।  यसैगरी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडांै), पवित्रादेवी चौलागाइँ मानवअधिकार स्रष्टा सम्मान प्राडा सावित्री कक्षपति (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा नवराज पाण्डेय (अर्घाखाँची)लाई प्रदान गरिएको छ । त्यस्तै, जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाडौं), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर), श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्मप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल ‘बालकुमारी’ (कञ्चनपुर) लाई प्रदान गरिएको छ । समाजले महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई मरणोपरान्त प्रदान गरेको  छ । उनको २०८० भदौ ११ गते निधन भएको थियो । पुरस्कृत हुनेहरुमा सातजना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानवअधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारू, अवधि, मगर, र लिम्बू गरी आठ भाषामा विशेष योगदान गरेका छन् ।  पुरस्कार राशी जनही २० हजार रुपैया नगद तथा प्रमाणपत्र रहेको थियो । शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले पुरस्कृत स्रष्टालाई सम्मान गरेका थिए । पुरस्कृत स्रष्टाहरुले रचना पनि वाचन गरेका थिए ।  स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजले स्रष्टाहरुलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो ।

सदभावका सयपत्रीहरू

सदभावका सयपत्रीहरू

४६० दिन अगाडि

|

२६ कात्तिक २०८०

–छविलाल कोपिला जब तिमीले ती कलिला फूलहरू कुल्च्यौ हो, त्यसै दिन झरेका हुन् यो माटोमा बिद्रोहका परागहरू । तिमी फूलको अवसान भन्यौ एउटा उज्यालोको अस्त भएको भन्यौ र, दुर्गन्ध फैलाएर  घोषणा ग¥यो,  अँध्यारोको साम्राज्य । तिमीलाई थाहा छ कि छैन दमित परागहरू अँध्यारोको बिरुद्ध,  अँध्यारोबाटै बिद्रोह गर्छन् जसरी, जून औसीको बिरुद्ध  र, बिहान रातको बिरुद्ध उदाउँछ हो, परागहरू पनि दमनका बिरुद्ध  अगतिका बिरुद्ध,  अनि, बेथितिका बिरुद्ध  अँध्यारोबाटै उठ्छन् । जब उत्कर्षमा पुग्छ तिम्रो कालरात्रीको साम्राज्य, माटो सुमसुम्याउँदै निस्किन्छन् परागहरू  र, बढ्छन् उत्साहका गतिहरू बोकेर तिम्रो दरबारको पर्खाल भत्काउँदै तिम्रो किल्ला भत्काउँदै तिम्रो साम्राज्य ध्वस्त बनाउँदै । जब तिम्रो साम्राज्यको भग्नावशेष तिम्रो दमन जलेरको खरानीले ढाक्ने छ त्यही बेला,  तिम्रो छातीमाथि टेकेर  तिम्रै साम्राज्यमा परागहरू हुर्किनेछन् र, विजयीका लालीगुँरासहरू फुल्ने छन् उत्साहका मखमलीहरू फुल्ने छन् अनि, सदभावका सयपत्रीहरू फुल्ने छन् ।