पश्चिमी वायुको सामान्य प्रभावले तराईमा बाक्लो हुस्सु, तत्काल पानी भने नपर्ने

पश्चिमी वायुको सामान्य प्रभावले तराईमा बाक्लो हुस्सु, तत्काल पानी भने नपर्ने

४९९ दिन अगाडि

|

१५ पुष २०८०

जावलाखेलमा आज च्याउ मेला तथा परिकार महोत्सव हुँदै

जावलाखेलमा आज च्याउ मेला तथा परिकार महोत्सव हुँदै

४९९ दिन अगाडि

|

१५ पुष २०८०

काठमाण्डाै - ललितपुरको जावलाखेल खेलमैदानमा आज एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ हुँदैछ । च्याउ उत्पादक किसान संघ नेपालले च्याउ प्रवर्द्धनकाे कार्यक्रम आयोजना गर्न लागेको हो । ‘च्याउ किसानहरूको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराकासाथ आयोजना गरिने मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टल रहने आयोजकले जनाएको छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताउनुभयो । मेलामा कन्य, गोभ्रे, किङ वयस्टर, सिताकेलगायतका च्याउका विभिन्न जात तथा परिकारहरू प्रदर्शनीमा राखिनेछ । अध्यक्ष कार्कीका अनुसार विभिन्न स्टलहरूमा भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी गरिने छ । यस्तै, आज चौथो राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । २०७७ सालदेखि हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी च्याउ दिवस मनाउन थालिएको हो ।

नाउपाको पुस २६ बाट हुने पहिलो महाधिवेशनको निम्तो बाँड्न जनताको बस्तीमा रेशम चौधरी

नाउपाको पुस २६ बाट हुने पहिलो महाधिवेशनको निम्तो बाँड्न जनताको बस्तीमा रेशम चौधरी

४९९ दिन अगाडि

|

१५ पुष २०८०

कैलाली । आगामी पुस २६ गते बाट सुरु हुने नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनका लागि अहिले संरक्षक रेशमलाल चौधरी तीव्र तयारीमा छन् । पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनलाई ऐतिहासिक र भव्य बनाउन गाउँ बस्तीमा अभियान सुरु गरिएको उनले बताए । शुक्रवार टीकापुर न पा वार्ड न १ र २ अन्तर्गत बिजयनगर मुक्त कमैया शिविर बाट महाधिवेशनको निम्तो बाँड्दै उनले समस्यामा रहेका हरेक नागरिकको उन्मुक्ति नागरिक उन्मुक्ति पार्टीले मात्रै गर्न सक्ने बताएका छन् । सोही क्षेत्रबाट अघिल्लो पटक भारी मतले रेशम चौधरी निर्वाचित भएका थिए भने अहिले उनको पत्नी नागरिक उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन् । श्रेष्ठ अहिले नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । दुई साता पछि हुन लागेको महाधिवेशनको निम्तो बाँड्न बस्ती पुगेका संरक्षक चौधरीले अहिले नागरिकमा चुनावको भन्दा बढि रौनक पाएको बताए । ‘चुनाव भन्दा माहौल राम्रो छ । कामको बेलामा पनि उहाँहरू घर छोडेर सहभागी भइरहनु भएको छ’ संरक्षक चौधरीले भने ‘हामीलाई जनताको विश्वास गरिरहनु भएको छ हामी त्यो विश्वासलाई कायम राख्न पक्षमा छौँ ।’ संरक्षक चौधरीको नेतृत्वमा महाधिवेशनको निम्तो बाँडिरहेका र अब निर्वाचित क्षेत्र स्तरमा त्यहाँबाटै निर्वाचित सांसदहरू लाग्ने उनले बताए । नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक आठ हजार प्रतिनिधि उपस्थित गराउने गरि महाधिवेशनको आयोजना गर्न लागेको हो । उक्त महाधिवेशनमा सहभागी हुन चौधरीले सबैलाई भेटेरै आग्रह गरिरहेका छन् । ‘घरदैलो गर्दै त्यहाँका जनतालाई महाधिवेशनको निम्तो दिइरहेका छौँ ’ उनले भने ‘हाम्रो महाधिवेशन प्रतिनिधिका दृष्टिकोणले मात्रै होइन सहभागिताको दृष्टिकोणले पनि ऐतिहासिक बन्दै छ ।’ ८ हजार प्रतिनिधि आउने पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने जनाएको छ । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुने छ। नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सबै जिल्लाको प्रतिनिधि गराउने तयारी गरिएको छ ।    

कोरिया जाने सपनाको अवसान

कोरिया जाने सपनाको अवसान

४९९ दिन अगाडि

|

१४ पुष २०८०

कोरिया जान दुई वर्षदेखि तयारी गरिरहेका अछामका वीरेन्द्र शाह र दुई सातादेखि मात्र भाषा सिक्न थालेका दैलेखका सुजन रावत मारिए, दुवै युवा २३ वर्षका थिए ।   रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो।  अछामको चौरपाटी गाउँपालिका– १ सिउडीका टेकबहादुर शाह २३ वर्षीय छोरा वीरेन्द्रको फोन कुरिरहेका थिए । घर छोड्ने दिन वीरेन्द्रले भनेका थिए, ‘म कोरिया जाने दिन उडाउन काठमाडौं आउनुहोला ।’ शुक्रबार साँझ हतारहतार गरी टेकबहादुर ३५ घण्टाको गाडी यात्राका निम्ति तयार भएर काठमाडौंका लागि हिँडे । तर, छोरालाई उडाउन होइन, उसको शव बुझ्न । ईपीएस कोटामार्फत कोरिया जाने सपना देखेर काठमाडौं गएका वीरेन्द्रको शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा आन्दोलनका क्रममा मृत्यु भयो । छोराको खबर सुनेपछि ५३ वर्षीय टेकबहादुर काठमाडौंतर्फ हान्निएका छन् भने आमा दुर्गादेवी मूर्छित छिन् । छिमेकी हजुरबुबा एवं सिउडी माविका प्रधानाध्यापक बमबहादुर शाहका अनुसार वीरेन्द्रले सिउडी माविबाट २०७८ सालमा कक्षा १२ सम्मको अध्ययन सकेका थिए । यतै बसेर जागिर गर्ने भनेर उनले भेटेरिनरी जेटीए पढेका थिए । ‘मैले नै पढाएको विद्यार्थी हो । अरूभन्दा पढाइमा पनि राम्रै थिए । देशभित्र जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जान भाषाको तयारी गर्न काठमाडौं गए,’ प्रअ शाहले भने, ‘वीरेन्द्रका दाइ लामो समयदेखि परिवारसहित भारतमा छन् । दुःख गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले परिवार सम्हालिन सकेको छैन । टेकबहादुरलाई प्यारालाइसिसका कारण हातको समस्या छ । ‘दसैंमा आउँदा बुबाआमालाई केही चिन्ता नगर्नु, म विदेश जाने बेला बिदाइ गर्न आउनुपर्छ भन्दै गएको थियो । तर, छोराको लास ल्याउन वृद्ध अवस्थाका बुबाले जानुपर्ने समय आयो,’ बमबहादुरले भने । आर्थिक अवस्था कमजोर भएकाले वीरेन्द्र कोरिया जाने भन्दै २ वर्षअघि काठमाडौं पसेका थिए । झन्डै एक वर्षअघि बुबाको मृत्यु भएपछि र पारिवारिक व्यापार बिग्रिएपछि दैलेखको महाबु गाउँपालिका–६ रानीवनका २३ वर्षीय सुजन रावतले घरको अवस्था सुधार्न विदेश जाने निर्णय लिएका थिए । सरकारले कोरिया जाने कामदारका लागि आवेदन खुलाएको थाहा पाएपछि एक महिनाअघि काठमाडौं पुगे । काठमाडौंको थानकोटमा साइँला काकाको छोरासँगै बस्दै आएका उनले बागबजारको एक इन्स्टिच्युटमा कोरियन भाषा सिक्न थालेको करिब एक साता पुगेको थियो । शुक्रबार ललितपुरको बालकुमारी नजिकै युवाहरूले गरेको आन्दोलन हेर्न गएका उनको प्रहरीको निर्घात कुटपिटबाट ज्यान गएको छ । यो घटना सुनेपछि आमा ४६ वर्षीय नन्दाकुमारी अर्धबेहोस अवस्थामै छिन् । ‘भाउजू अहिलेसम्म पति वियोगमै हुनुहुन्थ्यो,’ मृतकका काका खगेन्द्रले भने, ‘त्यसमा जेठो छोरा गुमेको थाहा पाएपछि उहाँ अर्धबेहोस नै हुनुहुन्छ ।’  

मुक्तकमैया र कमलहरीको न्यायिक पुर्नस्थापनाका लागि मुक्त कमैया महिला विकास मञ्चले अघि सार्यो ११ बुँदे माग

मुक्तकमैया र कमलहरीको न्यायिक पुर्नस्थापनाका लागि मुक्त कमैया महिला विकास मञ्चले अघि सार्यो ११ बुँदे माग

५०० दिन अगाडि

|

१३ पुष २०८०

काठमाडौं, १२ पुष । मुलुकमा गणतन्त्र आएको १७ वर्ष वितिसक्दासमेत पनि पश्चिम नेपालमा रहेका कृषि दासताबाट मुक्त घोषणा भएतापनि मुक्त कमैया तथा कमलहरीहरुले अझै पनि चरम गरिवी र अभाव जीवनयापन गर्न बाध्य छन् । नेपाल सरकारले दासताको जीवनबाट कमैयाहरुलाई मुक्तीको घोषणा गरेको २२ वर्ष र कमलहरी मुक्त घोषणा गरेको १० वर्ष बितिसक्दा पनि मुक्त कमैया र कमलहरीको पुनःस्थानालगायत जीविकोपार्जनका समस्या सम्बोधन हुन सकिरहेका छैनन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुक्त कमैया महिला विकास मञ्च, कैलालीले संघीय सरकारले मुक्त कमैया तथा कमलहरीका सवाल तथा समस्याहरु सम्बोधन गर्न बेवास्ता गर्दै आएको आरोप लगाएको छ । संघीय सरकारले मुक्त कमैया, कम्लहरी समूदायसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्न र उक्त समूदायले भोगेको समस्याहरुको समाधान गर्न संघीय सरकारसँग जोडदार माग गरेको छ । मञ्चले विभिन्न ११ बुँदे मागसमेत अघि सारेको छ । मञ्चले अघि सारेका मागहरुमा मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने, गरिवी निवारण मत्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवा चरवाको लागि तयार पारेको पूनःस्थापना कार्ययोजना तथा कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्नुपर्ने, मुक्त कमैया, कमलरीहरुको समस्या समाधानको लागि एकीकृत ऐन जारी गरी पूनःस्थापना कार्य अगाडि बढाईनुपर्ने रहेका छन् । मुक्त कमैया महिला विकास मञ्च, कैलालीकी अध्यक्ष सीमा कुमारी चौधरी र कमैया र कमलहरी आन्दोलन अभियानकर्ता कौशिल्या चौधरीले संयुक्त हस्ताक्षरमा जारी गरेको विज्ञप्तीमा मुक्त कमैया र कमलहरीहरुद्धारा सञ्चालित सहकारीहरुमा बिउ पुँजीको व्यवस्था गरिनुपर्ने पनि मुख्य माग समावेश गरिएको छ । यस्तै, नेपाल सरकारले मुक्त कमैयाका बालबालिका तथा कमलहरुका लागि उच्च तहसम्म र प्राविधिक शिक्षाको लागि निःशुल्क शिक्षाको व्यवस्था (विद्यालय तहदेखि पिएचडी, चिकित्सा, ईन्जिनियरिङ, सूचना तथा प्रविधि) आदि गरिनुपर्ने पनि माग छ । माथि उल्लेखित माग सम्बोधन नगरिए संघर्षमा होमिने पनि मञ्चको चेतावनी छ । कार्यक्रममा मञ्चकी अध्यक्ष सिमा कुमारी चौधरी, संविधानसभा सदस्य हरेराम शेर्पाली, मुक्त कमैया आन्दोलन परिचालन समितिका केन्द्रीय सदस्य कौशिल्या चौधरी, दलित गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष गजाधर सुनार, भागिराम चौधरी, मुक्त कमैया वर्ग सञ्जाल कैलालीका अध्यक्ष रामपल चौधरीलगायतले मुक्त कमैया र कमलहरीको न्यायिक पूनःस्थापनको लागि आवाज उठाएका थिए । मुक्त कमैया महिला विकास मञ्च, कैलालीको ११ बुँदे मागहरु : १) मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् । २) भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवा चरवा पुर्नस्थापनाका लागि तयार पारेको कार्ययोजना तथा कार्यविधि मन्त्रीपरिषदबाट पारित गरि कार्यान्वयन गरियोस् ।  ३) मुक्त कमैया, कमलहरीहरुको समस्या समाधानको लागि एकिकृत ऐन जारी गरि पुर्नस्थापना कार्य अगाडी बढाइयोस् ।  ४) मुक्त कमैया र मुक्त कमलहरीको तथ्यांक संकलनमा विविध कारणवस नाम छुट भएका वास्तविक मुक्त कमैया, मुक्त कमलहरीहरुको तथ्यांक संकलन गरी प्रमाणीकरण गरि परिचयपत्रको व्यवस्था गरियोस् ।  ५) मुक्त कमलहरीको शिक्षामा पहुँच अभिवृद्धि गर्न कमलरी छात्रवृत्ति शिक्षा निर्देशिका संशोधन गरि लागु गरियोस् ।  ६) सरकारी प्रति जमिनमा बस्ती लागेर बसोबास गरिरहेका मुक्त कमैयाहरुलाई छानबिन गरि बसिरहेकै स्थानमा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइयोस् । (टीकापुर न.पा शक्तिनगर, शिवनगर, गोदावरि न.पा गेटी कत्ठा टोल)  ७) अभिभाभवक विहिन मुक्त कमलरी तथा विवाह गरेर पनि जग्गाजमिन नभएका कमलरीहरुका लागि भूमि सहितको घरवासको व्यवस्थाको गरियोस् । ८) मुक्त कमैयाहरु बसोबास गरिरहेका बस्तीमा रुखका कारणले वर्षेनी धनजनको क्षति भइरहेकोले सो बस्तीको काठ कटानि गरि मुक्त कमैयाहरुलाई उपलब्ध गराइयोस् । (भजनीको मधुवन, सृजना वस्ती, गोदावरि न.पाको अत्तरिया, गौरीगंगा न.पाको सालघारी मुक्त कमैया बस्ती) ९) प्रदेश तथा संघीय सरकारमा मुक्त कमैया, कमलहरीहरुको समानुपातिक प्रतिनिधिको व्यवस्था गरियोस् साथै बसोबास रहेको गाउँपालिका, नगरपालिका , निर्माण हुने विविध समिति तथा आयोगमा प्रतिनिधित्वको व्यवस्था साथै निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरियोस् । १०) नेपाल सरकारले मुक्त कमैयाका बालबालिका तथा कमलहरीहरुका लागि उच्च तहसम्म र प्राविधिक शिक्षाको लागि निःशुल्क शिक्षाको व्यवस्था (विद्यालय तहदेखि पि.एच.डि , चिकित्सा, इन्जिनियरिङ, सूचना तथा प्रविधि आदि )    ११) मुक्त कमैया र कमलहरीहरुद्वारा सन्चालित सहकारीहरुमा बिउ पुँजीको व्यवस्था गरियोस् ।       

एन पिस अवार्ड विजेता वसन्तीको ‘दहिटान घर’

एन पिस अवार्ड विजेता वसन्तीको ‘दहिटान घर’

५०१ दिन अगाडि

|

१३ पुष २०८०

धनगढी । लामो समय विभिन्न गैरसरकारी संस्थामा आबद्ध भई काम गरेका कैलालीका अधिकारकर्मी वसन्ती र वीरेन्द्र चौधरी दम्पती व्यवसायमा जुटेका छन् । कमैया कमलरी मुक्त अभियानकर्ता रही अन्तर्राष्ट्रिय स्तरको एन पिस अवार्ड २०१६ बाट समेत सम्मानित भइसकेकी वसन्ती र उनका श्रीमान वीरेन्द्र चौधरी थारू परम्परागत परिकारको मुख्य सुविधासहितको ‘दहिटान घर’ नाम दिएर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । धनगढी उपमहानगरपालिका–४, घरेलु चोक उत्तरबेहडीमा २० लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन् । उनीहरूले आफ्नो ‘दहिटान घर’ लाई थारू समुदायको माघी पर्वको अवसरमा उद्घाटनको योजना बनाएका छन् । तर सो दहिटान घरले आफ्नो प्रि–ओपनिङमै ग्राहकको मन जित्न सफल भएको हो । व्यवसायप्रति उत्साहित भएका वीरेन्द्र भन्छन्, ‘माघमा उद्घाटनको तयारी छ । अहिले हामी ट्रायल परियडमै छौँ । तर सोचेभन्दा बढी ग्राहकहरूले माया दिनुभएको छ । हामीले दैनिक हुने कारोबारको सीमा निर्धारण गरेका छौँ । जुन कारोबारको सीमा दैनिक रूपमा क्रस भएको छ ।’ १७ वर्षसम्म विभिन्न गैरसरकारी संस्थाहरूमा काम गरेका वीरेन्द्रले हालै सञ्चालनमा ल्याएको व्यवसायले जागिरे जीवनको आरोहअवरोहलाई भुल्याएको सुनाउँछन् । ‘दहिटान घर’ अर्थात् थारू जातिभित्रको मुख्य उपथर दहिट बाट ‘दहिटान घर’को अवधारणा ल्याएको उनीहरूको भनाइ छ । जहाँ गाउँले स्वाद प्रमुख विशेषता रहेको सञ्चालिका वसन्ती बताउँछिन् । उनीहरूको दहिटान घरमा थारू परिकार ढिक्री, अन्डिक भात, सिद्राको चटनी, बयरको चटनी, आलुको चटनी, घोघी, लोकल कुखुराको ग्रेबी, बङ्गुरको सेकुवा, पकुवा र चिल्ली पाइन्छ । जसको स्वाद लिन दैनिक रूपमा ग्राहकहरूको उत्साहजनक सहभागिता रहने गरेको वसन्ती बताउँछिन् । हाल थारू मौलिक परिकारको प्रवर्धन गर्दै आएका उनीहरू निकट भविष्यमा सुदूरपश्चिमका अन्य रैथाने परिकारको पनि व्यवस्था गर्ने बताएका छन् । दुई दशकदेखि कमैया, कमलरी मुक्ति अभियानलगायत अधिकारमुखी आन्दोलनमा सक्रिय वसन्तीले समाज सेवासँगै व्यवसायलाई निरन्तता दिने बताउँछन् । उनी कमैया प्रथा उन्मूलन समाज, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, थारू नागरिक समाजलगायत सङ्घ संस्थासँग आबद्ध छिन् ।