बबई सिँचाइ जल उपभोक्ता संस्थामा अध्यक्ष छानिए गोविन्दप्रसाद थारु 

बबई सिँचाइ जल उपभोक्ता संस्थामा अध्यक्ष छानिए गोविन्दप्रसाद थारु 

८ दिन अगाडि

|

२९ फागुन २०८१

थारु पत्रकार संघको  केन्द्रीय अध्यक्ष चुनिए सन्तकुमार चौधरी

थारु पत्रकार संघको केन्द्रीय अध्यक्ष चुनिए सन्तकुमार चौधरी

१२ दिन अगाडि

|

२५ फागुन २०८१

थारु पत्रकार संघ नेपाल (थापस) को केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी चयन भएका छन् । संघको फागुन २४ गते शनिवार काठमाडौंमा भएको छैटौं राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा छनोट भएका हुन् ।  त्यस्तै, थापसको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी, महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी, कोषाध्यक्षमा कारी महतो, सदस्यमा मिनादेवी विश्वास छानिएका छन् । निर्वाचन समितिका संयोजक श्रवण चौधरी, सदस्य मदन चौधरी तथा गीता चौधरीको टिमले पटक पटक समय थप गर्दा पनि अन्य उम्मेदवारी परेन ।  थप सदस्य कार्यसमितिको पहिलो वैठक बसेर मनोनित गरिने तथा संस्थाको काम द्रुत गतिमा अघि बढाइने अध्यक्ष चौधरीले प्रतिवद्धता व्यक्त गरे ।  को को भए पुरस्कृत ? थारु पत्रकार संघ, नेपालका लागि अभियन्ता इन्दु थारूले आफ्ना दिवंगत पिता र काकाको स्मृतिमा स्थापना गरेको जोखन–जगत रत्गैया स्मृति पुरस्कार २०८१ दाङको घोराहीबाट विगत १७ वर्षदेखि निरन्तर थारु भाषामा प्रकाशित हुँदै आएको लौव अग्रासन थारु साप्ताहिकलाई प्रदान गरिएको छ । उक्त साप्ताहिकका सम्पादक सन्तोष दहितलाई नगद ३० हजार रुपियाँ राशीसहित कदरपत्रले सम्मान गरियो ।  यसैगरी, पत्रकार दिनेश चौधरीलाई सतौन स्मृति पत्रकारिता पुरस्कार र गायक विकास चौधरीलाई सतौन स्मृति प्रतिभा प्रोत्साहन पुरस्कार जनही २५ हजार नगद राशिसहित पुरस्कृत गरियो । उक्त पुरस्कार वर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्थापना गरेका हुन् । त्यस्तै, हिमालखबरकर्मी उर्मिला गम्वालाई १० हजार रुपियाँ राशीको ओएसिस पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । सो पुरस्कार पुरस्कार चितवनका डा मनोज चौधरीले स्थापना गरेका हुन्  । कार्यक्रममा छैटौं महाधिवेशनमा सहयोग गर्ने विभिन्न संघ संस्था, व्यक्तिलाई समेत कदरपत्रले सम्मान गरिएको थियो ।  उद्घाटन सत्रमा कसले के भने ? महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको मन्तव्यको क्रममा यु्वा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारु कल्याणकारिणी सभा माघी महोत्सव मनाउन, थारु महिला समाज जितिया मनाउन मात्र स्थापना भएको भान भएको तिक्तता पोखे । थारुको नाममा खोलिएको कुनै संस्थाले द्रुत गतिमा कुनै सार्थक काम गर्न नसकेकोमा उनको असन्तुष्टि थियो । ‘कार्यक्रममा घोंघी खाने र मोटाउने’ बाहेक अर्थोक हुन नसकेको उनले बताए । थारु कल्याणकारिणी सभालाई कार्यालय बनाउन जग्गा तथा घरको लागि कति रकम चाहिन्छ, म जुगाड गर्छु भन्दा पनि कुनै ठोस प्रस्ताव नआएको उनको भनाई थियो । ‘थाकसले कति जना थारु विद्यार्थीलाई हालसम्म छात्रबृत्ति दियो ?’ कार्यक्रममा उपस्थित थाकसका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीलाई उनले प्रश्न तेस्र्याए । काम नगर्ने संस्था स्थापना गरेर समय वर्वाद गर्नुभन्दा आफ्ना छोराछोरीको पढाइ लेखाइमा ध्यान दिन उनले आग्रह गरे ।  मन्त्री चौधरीले नयाँ पत्रकार जन्माउन नसकेकोमा थारु पत्रकार संघप्रति तिक्तता पोख्दै संघलाई तालिमका लागि रकम चाहिए सघाउन तयार रहेको बताए । उनले थारु पत्रकार संघका लागि आफूबाट स्थापित सतौन स्मृति पत्रकारिता पुरस्कारका लागि हाललाई १ लाखको अक्षयकोष स्थापना गरिदिने घोषणा पनि गरे ।  उद्घाटन सत्रमा फोनिज वरिष्ठ उपाध्यक्ष तथा थापसका पूर्व अध्यक्ष तथा सल्लाहकार लक्की चौधरीले हाल थापसको १७ जिल्लामा शाखा बिस्तार हुनु तथा करिब ३ सय पत्रकार गोलबद्ध हुनुमा थारु पत्रकार संघकै देन रहेको बताए । त्यस्तै, थापसका पूर्व अध्यक्ष तथा सल्लाहकार डा कृष्णराज सर्वहारीले आफूहरुले दुःखजिलो गरी हुर्काएको थारु पत्रकारको छाता संगठनलाई प्रदीप लेखीको नेतृत्वले विगत ३ वर्षमा एक पटक पदाधिकारीहरुको पूर्ण बैठकसम्म नबसाली शुन्य अवस्थामा पुर्याएकोमा कामकार्वाहीको अवस्था हेरी माइनस जिरो नम्बर दिन मन लागेको तिक्तता पोखे । उनले संस्थाका संस्थापकहरुको योगदान सम्झिन तथा मुखपत्र फुलरियालाई निरन्तरता दिन आग्रह गरे ।  उद्घाटन सत्रमा थारु आयोगका सदस्य सुबोधसिंह थारु, थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरी, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुृरधन राईले शुभकामना दिएका थिए ।  त्यस्तै, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, जातीय पत्रकार संघका पदाधिकारीहरु, स्थानीय विकास प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक कानुनलाल चौधरी, थापसका लागि पुरस्कार संस्थापक डा मनोज चौधरी, थापसका संस्थापक सदस्य तथा आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

थाकस क्षेत्रीय समिति देउखुरीको अध्यक्षमा गोकुल चौधरी

थाकस क्षेत्रीय समिति देउखुरीको अध्यक्षमा गोकुल चौधरी

२८ दिन अगाडि

|

८ फागुन २०८१

थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्रीय समिति देउखुरीको नयाँ समिति फागुन ७ गते सर्वसम्मत रुपमा चयन गरिएको छ ।  थाकसको तालिम हल लमही–३ स्थित, उत्तर मजगाउँको तालिम प्राङ्गणमा फागुन ६ गते सुरु भएको १७औ अधिवेशनमा गोकुल प्रसाद चौधरी सभापति चयन भएका हुन् । यस अघि उनी वरिष्ठ उपसभापति थिए । त्यस्तै वरिष्ठ उपसभापतिमा बालगोविन्द चौधरी छानिएका छन् । यस अघि उनी लामो समय सचिव थिए । त्यस्तै, कार्यसमितिको अन्य पदाधिकारीमा चन्द्रा चौधरी, उपसभापति, किरण चौधरी उपसभापति, यम बहादुर चौधरी  सचिव,  शशी कुमारी चौधरी सहसचिव तथा प्रभावती कुमारी चौधरी कोषाध्यक्ष छानिएका छन् । यसैगरी, सदस्यमा मनिराम चौधरी, कर्कट चौधरी, शिव कुमार चौधरी, पुरन प्रसाद चौधरी, श्रीराम प्रसाद चौधरी, बसन्ती चौधरी, मंगल प्रसाद चौधरी, देवमणि चौधरी, निरज चौधरी, राजेन्द्र कुमार चौधरी र कल्पना चौधरी रहेका छन् ।            अधिवेशनको सभापतित्व सभापति प्रकाशकुमार चौधरीले गरेका थिए ।

बरघरको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी दोहरिए

बरघरको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी दोहरिए

३९ दिन अगाडि

|

२७ माघ २०८१

मटाँवा, बरघर, भल्मन्सा संघको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी चयन भएका छन् ।  दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको मटाँवा, बरघर, भल्मन्सा संघको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।  यसैगरी, समितिमा वरिष्ठ उपाध्यक्ष विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), महासचिव मथुराप्रसाद थारु (बर्दिया), सचिव केशवा थारु (बाँके) चयन भएका छन् । उता सदस्यमा आशाराम थारु (कपिलबस्तु), रामबलि चौधरी (रुपन्देही, सुनिता डंगौरा (कञ्चनपुर), कैलालीबाट यज्ञराज चौधरी, विमला डंगौरा र गणेश चौधरी, बाँकेबाट सुशील चौधरी र फुलकुमारी चौधरी, दाङबाट चन्द्रप्रसाद चौधरी, मनकुकमारी चौधरी, जगवीर चौधरी र यमबहादुर चौधरी, दुर्गाबहादुर थारु (सुर्खेत), बर्दियाबाट लखनप्रसाद वैद्य, माघुराम थारु तथा मोतिराम चौधरी रहेका छन् । विधानअनुसार उपाध्यक्ष, कोषाध्यक्ष, सचिव पद अझै पनि खाली रहेको छ ।  कतिपयले बरघर नभएकाहरु पनि मटाँवा, बरघर, भल्मन्सा संघको कार्यसमितिमा बस्ने लोभ गर्नु अशोभनीय रहेको टिप्पणी गरे । उता, कार्यक्रमको सहजीकरण गरेका वेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले कार्यसमितिमा ९९ सय प्रतिशत बरघरहरु नै रहेको बताए । मुख्यमन्त्री भइसकेका डिल्लीबहादुर चौधरी संघको संरक्षक भएर बस्नु पर्नेमा पुनः अध्यक्षको जिम्मेवारी लिनु ठिक नभएको एक सहभागीको भनाई थियो । नयाँ कार्यसमितिको नामावली घोषणापछि निर्वाचन समितिका संयोजक हल्लुप्रसाद चौधरीले शपथ खुवाउन खोजेका थिए । तर, अध्यक्ष डिल्लीबहादुर चौधरी नामावली घोषणा अगावै बाहिरिएकाले शपथ कार्यक्रम नै भएन ।  मटाँवा, बरघर, भल्मन्सा संघको बन्द सत्रको उद्घाटन नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले गरेका थिए । त्यस्तै, भेलालाई पूर्वमन्त्री दीपक गिरी, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मेजय तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए । सत्रको अध्यक्षता लुम्विनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले गरेका थिए । माघ २६ पहिलो दिनको उद्घाटन सत्रमा करिब १४० नाच इन्ट्री गरिएको थियो । समय नपुग्दा कतिपय टोली नृत्य प्रदर्शन नगरी फर्किएको थियो । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । 

देउखुरीमा धमाधम बरघर छानिदै, अझै समावेशी देखिएन 

देउखुरीमा धमाधम बरघर छानिदै, अझै समावेशी देखिएन 

६२ दिन अगाडि

|

४ माघ २०८१

माघको अवसरमा छानिने थारु गाउँका अगुवा (बरघर, ककनडार, महटाँवा) धमाधम छानिन थालेका छन् । तर, बरघर चयन समावेशी देखिएको छैन ।  यसै क्रममा माघ ३ गते दाङदेउखुरी, लमही नगरपालिका–८, बिजलीपुर गाउँमा ७३ वर्षिय लहानु चौधरी पुनः महटाँवा छानिएका छन् । लगातार ४० वर्षदेखि महटाँवा रहेका उनी ४१औं पटक महटाँवा चुनिएका हुन् । सो अवसरमा गाउँको खोज्नी बोज्नी कार्यक्रमका प्रमुख अतिथि थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले बरघर प्रणालीसंग जोडिएका अन्य पदमा महिला, युवालगायतको समावेशी चयन हुन  सके गाउँको विकासमा टेवा मिल्ने बताए ।  कार्यक्रममा लमही नगरपालिका–८, का वडासदस्य गणेश चौधरी, जहरे खानेपानी संस्थाका अध्यक्ष शिवकुमार चौधरी, गहनलाल चौधरी, फुलपत चौधरी लगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा गाउँलाई योगदान दिने गुरुवा, केसौका, मोह्रिन्या, पच्गिन्या लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मघौटा नृत्यका साथै बरघर छनोटपछि बरघरको तर्फबाट खानपीन पनि गराइएको थियो ।  वडासदस्य गणेश चौधरीका अनुसार महटाँवाको नाममा देउता रहेकाले अन्य व्यक्ति महटाँवा बन्न मन नगरेको बताए । बाबुलाई बुढ्यौलीले छोएपछि वडासदस्य चौधरी कार्यबाहक महटाँवाको रुपमा काम गर्दै आएका छन् ।  लमही नगरपालिका–८, धनपुरवा गाउँमा पनि सीता चौधरी पुनः ककनडार चुनिएकी छिन् । त्यहाँ प्रत्येक वर्ष चिट्ठा प्रणालीबाट ककनडार चुनिन्छन् । यस वर्ष पनि गाउँलेहरुले चिट्ठा हालेर जगतराम चौधरीलाई अगुवा छानीसकेका थिए । थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारीले प्रत्येक वर्ष अगुवा फेरिदा नयाँ जिम्मेवारी पाउनेलाई सिक्ने, अनुभव लिने समय नमिल्ने हुँदा सीता चौधरी लमही नगरअन्तर्गतको एक मात्र महिला ककनडार रहेकाले उनलाई दोह्र्याउन आग्रह गरेका थिए । जगतराम चौधरीले पनि महिला ककनडार पुनः जिम्मेवारी लिन चाहे छाड्न तयार रहेको अभिव्यक्ति दिएपछि सहमतिमा पुनः सीता चौधरी ककनडार छानिइन् ।  उता, लमही नगरपालिका–३, उत्तर मजगाउँमा पुनः छुनिलाल गाउँका प्रधान छानिएका छन् । उनी दुमदुम भवानीमा पूजापाठ हुने जोगिया प्रगन्नाअन्तर्गत २२ गाउँका प्रधान पनि हुन् । उत्तर मजगाउँमा जगत चौधरीको ठेकदार टोलीले प्रति कट्ठा रु २५५ मा सिंचाई कुलो मर्मतको ठेक्का पायो । छपरगन्टि पालामा श्रीमान्, श्रीमती दुबै जागिरे रहेकाले गाउँको बरघर प्रणाली अन्तर्गतको कमबाट निश्कासन गरिदिन स्थानीय बालतारा आधारभूत विद्यालयका प्रअ राजकुमार चौधरीले लिखित निवेदन दिए पनि खोज्नी बोज्नीको ख्यालले त्यो निवेदन स्वीकृत गरेन । उनलाई थप कारण खुलाउन निम्त्याइए पनि बैठकमा सहभागी थिएनन् ।  लमही नगरपालिका–४, भैस्कोर्मा गाउँमा प्रत्येक वर्ष चिट्ठा प्रणालीबाट ककनडार छानिन्छन् । यस वर्षबाट त्यो परम्परा हट्ने विश्वास गरिए पनि पुनः चिट्ठा प्रणालीबाट ककनडार छानिएको छ । जसबाट लक्ष्मीराज चौधरी ककनडार भएका छन् । यसैगरी, लमही नगरपालिका–४, छुटकी घुम्ना गाउँको टोल ककनडारमा देवराज चौधरी तथा अघारीमा खुन्टुराम चौधरी दोहरिएका छन् । कार्यक्रममा ककनडारमा देवराज चौधरीले गत वर्ष गाउँको आम्दानी १ लाख ४३ हजार, खर्च ६९ हजार ४ सय तथा वचत ७४ हजार ४ सय रुपैया मौज्दात रहेको सुनाएका थिए । त्यहाँको मूल आम्दानी भाँडाकुँडा, कुर्सि, टेबल, टेण्ट भाडाको रहेको साथै छपरगन्टि पालामा काम गर्न नआएपछि जरिवाना, खारा रहेको छ ।  लमही–४, घुम्ना तथा लमही–६ लंगडीमा माघ ५ गते ककनडार चुनिने जानकारी बरघरद्वय हल्लुप्रसाद चौधरी तथा कान्तु चौधरीले जानकारी दिए । 

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

७६ दिन अगाडि

|

२० पुष २०८१

थारु गाउँका अगुवा बरघरहरुले आफूहरुमार्फत् हुने थारु गाउँको पूजाआजाको व्यवस्थापन संकटमा रहेको बताएका छन् । थारु समुदायका व्यक्तिहरु विभिन्न धर्म मान्न थालेकाले गाउँको सामूहिक देउथान मरुवामा गरिने पूजापाठका लागि रकम नदिदा स्रोत जुटाउन गाह्रो परेको उनीहरुको भनाई छ ।  बाँके, राप्ती सोनारी–४ स्थित वडा कार्यालयको सभाकक्षमा पुस १७ गते भएको ‘बरघर, ककनदारबाट के सिक्ने’ विषयक् अन्तक्रिया कार्यक्रम भएको थियो । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा पूर्व अध्यक्ष लाहुराम चौधरीले उक्त अभिब्यक्ति दिएका हुन् । प्रायः बरघरहरुले उनको भनाईमा समर्थन जनाएका थिए ।  सोही कार्यक्रमअन्तर्गत बरघर प्रणालीलाई चलायमान गराउने के छ उपाय भन्ने सेसनमा पूर्व अध्यक्ष चौधरीले अगाडि भने,‘बरघरले गुरुवाको निर्देशनमा गराउने विभिन्न पूजापाठमार्फत् गाउँलेलाई एकसुत्रमा बाँध्छ । तर, अब हामी तिमीहरुको धर्म मान्दैनौ, पूजापाठको लागि रकम पनि दिन्नौ, पूजापाठको कार्यक्रममा सहभागी पनि हुन्नौ भन्ने जमात बढ्दै गएको छ । यसले सतहमा पूजापाठ संकटमा पर्दै गएको देखिए पनिसमग्रमा यो बरघर प्रणाली नै संकटमा पर्दै गएको संकेत हो ।’ राप्ती सोनारी–४ की वडा सदस्य सोहनी थारुले आफू क्रिश्चियन धर्म मान्ने गरेकाले आफ्नो गाउँ दंगपुरवाको थारु मरुवामा हुने पूजापाठका लागि रकम नदिने गरेको स्वीकारिन् । उनले भनिन्,‘धर्म नै फरक परेपछि उहाँहरुको पूजा व्यवस्थापन उहाँहरुले हेर्नुहुन्छ, हामीले चर्चको हेर्छौ । धर्ममा कसैलाई दवाव दिनु हुन्न ।’ सोही कार्यक्रममा सहभागी दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले थारु गुरुवाले समग्र गाउँको सुरक्षा, पशुदेखि बालीनालीको सुरक्षाका लागि पूजाआजा गर्ने भएकाले जुन धर्म अंगाले पनि गाउँको पूजाका लागि सबैले रकम दिनुपर्ने धारणा राखिन् । उनले अगाडि भनिन्,‘मेरै गाउँमा पनि जयगुरुदेव धर्म मान्नेहरु ९० प्रतिशत छन्, जो शाकाहारी छन् । तर, तिनले पनि पूजाआजाका लागि रकम दिन्छन् । भागप्रसाद आफन्तलाई दिन्छन् । गाउँको पूजाआजा रोकिनु हुन्न ।’ गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा थारु कल्याणकारिणी सभा, बाँकेको जिल्ला अध्यक्ष संगिता थारुले बरघरहरुलाई हौसला बढाउन, महिला सहभागिता बढाउन थाकसले सहकार्य गर्ने बताइन् ।  युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा युवाहरु नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । पाका बरघर भरथारी थारुले भने युवाहरुलाई कसैगरी पनि बरघरका लागि मनाउन नसकिएको अभिव्यक्ति दिए ।  अर्की युवा टीका थारुले दुइ चार दिनको छलफलले बरघरमा महिला, युवा सहभागिता नबढ्ने, यसका लागि गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बताइन् । बरघर हरि प्रसाद थारुले माघको बरघर चुन्ने समयमा महिलाहरु नआउने गरेकाले बरघरमा महिला सहभागिता नदेखिएको बताए ।   बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु गाउँमा प्रायः शुन्य अवस्थामा भएकाले पाकाहरु जिम्मेवारी लिने बाध्यता आइपरेको प्रसंग उठ्यो । शिक्षक राम बहादुर थारुले बरघरमा युवाहरुलाई जोड्न आफू जस्ता शिक्षकहरुको पनि जिम्मेवारी रहेको बताए । पूर्व वडाध्यक्ष समेत रहेका कान्छा थारुले आफू युवावस्थामै बरघर बनेको, त्यसैको जिम्मेवारीले पनि वडाध्यक्ष हुन सम्भव भएको जिकिर गरे । उनले अगाडि भने, विडम्वना वडाध्यक्ष हुँदाहुँदै पनि बरघरबाट विदा पाइएन । अहिले पनि बरघर नै छु । कोही महिला, युवा आए बरघरको जिम्मेवारी दिन तयार छु ।’  आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले संविधानमा महिला हक सुरक्षित भएकाले बरघरमा नेतृत्वमा पनि समयअनुसार परिवर्तन हुनु आवश्यक रहेको बताए ।   

अवसर पाए पुरुष भन्दा दरिलो गरी बरघर चलाउन सक्छन् महिला

अवसर पाए पुरुष भन्दा दरिलो गरी बरघर चलाउन सक्छन् महिला

८१ दिन अगाडि

|

१४ पुष २०८१

थारु समुदायको माघ पर्व नजिकिएसंगै थारु गाउँको नेतृत्वका बारेमा बहस हुन थालेको छ । यसै क्रममा देउखुरीदाङ, लमही–३, उत्तर मजगाउँमा पुस १२ गते शुक्रवार विभिन्न गाउँका बरघरहरुले बरघर समयअनुसार समावेशी हुनुपर्ने अभिव्यक्ति दिएका छन् ।  यूएसएड, नागरिक सञ्चार ऋक्ः को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा बरघरहरुले त्यस्तो अभिव्यक्ति दिएका हुन् । बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा धनपुरुवा गाउँकी बरघर सीता चौधरीले देश हाँकिरहेका महिलाहरुले अवसर पाए गाउँको नेतृत्व गर्न नसक्नै प्रश्नै नरहेको धारणा राखिन् । उनले गाउँलेले चाहे आगामी वर्ष पनि गाउँको बरघरको नेतृत्व लिन तयार रहेको बताइन् । उनले कारण खुलाइन्, ‘गाउँलेहरुले पुरुषभन्दा पनि राम्रो तरिकाले तिमीले गाउँको अगुवाइ गर्यो, हराउँदै गएको संस्कृति पुनर्जागरण गर्यो, अर्को वर्ष पनि तिमी नै ककनडार (बरघर) बन्नुपर्छ भनेका छन् । त्यसैले पुनः गाउँ हाँक्ने मन बनाएकी छु ।’ सोनपुर गाउँकी टोल बरघर शर्मिला चौधरीले आफू ८ वर्षदेखि टोल बरघर चलाएको अनुभवले आगामी माघमा गाउँको मूल बरघरमा दावी रहने बताइन् । महिलाहरुलाई नेतृत्व दिने सवालमा पुरुष अनिच्छुक देखिएको, यसका लागि महिला आफै अग्रसर हुनुपर्ने उनको जिकिर थियो ।  कमानपुर युवा क्लवकी सचिव सृष्टि चौधरीले आफूहरुले गाउँको विकासकै लागि क्लव खोलेकोमा बरघर बन्न आग्रह आए पछि नपर्ने बताइन् ।  उता ससुरा विरामी परेर निकै वर्ष कार्यबाहक बरघर रहेकी उचानिम्बु गाउँकी देवी चौधरीले गाउँको विकासको लागि महिला, पुरुष दुबैको भूमिका बरोबर रहेको धारणा राखिन् ।   बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु विभिन्न सभा, बैठकमा पाकाहरु भन्दा बढी सक्रिय रहेको प्रसंग उठ्यो । जोगिया प्रगन्नाअन्तर्गत २२ गाउँका प्रधान तथा उत्तर मजगाउँका बरघर छुनिलाल चौधरीले भने,‘सामूहिक कामको लागि नकुदेको दिनै हुन्न । म ४० भन्दा तल छु । उमेर छिप्पिएको भए कहाँ दौडधुप गर्न सक्दो हुँ ।’  भुरीपुर गाउँका बरघर मंगल चौधरी गाउँमा रहेको युवाहरु बरालिएर हिँड्नुभन्दा कुनै पदीय जिम्मेवारीमा बसे अनुशासित रहने तर्क गरे । थारु कल्याणकारिणी सभा (थाकस), लमही इकाइका अध्यक्ष शिवप्रसाद चौधरीले बरघरहरुलाई एकजुट गराउन थाकस दिलोज्यान दिएर लागेको बताए ।  बरघर प्रणालीलाई चलायमान गराउन के छ उपाय भन्ने सेसनमा थाकस क्षेत्रीय समिति तथा लमही नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता हल्लुप्रसाद चौधरीले बरघर विधयेक समयमा नबन्दा बरघरहरुले हीनताबोध महसुस गरेको बताए । उनले बरघर प्रणालीलाई चलायमान गराउन यसको विधेयक अपरिहार्य रहेको बताउँदै यसका लागि अझ दवाव बढाउनुपर्ने जिकिर गरे ।  लमही नगर बरघर समितिका अध्यक्ष पुनाराम चौधरीले गाउँमा मिश्रित समाजको बसोबास बढ्दै गएकाले गैरथारुहरुको पनि विश्वास जितेर काम गर्नुपर्ने अवस्था आएको बताए । ८ वर्षदेखि बरघर हाँकिरहेका लंगडी गाउँका बरघर कान्तुप्रसाद चौधरीले बरघर बन्न तँछाड मछाड हुनुपर्नेमा नयाँ पुस्ताको अरुचि निकै खट्किएको महसुस गरेको बताए । उता, पूर्व गाउँपालिका अध्यक्ष रोहित चौधरी बरघरको बैठक माइन्यूट नेपाली भाषामा लेखिएकोमा भाषा संरक्षणका लागि आफ्नै मातृभाषा थारु प्रयोग गर्न आग्रह गरे । संस्कृतिसंगै भाषा संरक्षणमा पनि बरघरहरु लाग्नु पर्नेमा उनको जोड थियो ।  आयोजक थारु साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले माघमा छनोट हुने बरघरबारे पुसमै छलफल हुनसके सवल नेतृत्व आउने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले बरघरहरु गाउँको सानो दायरामा सीमित नभई बरघरको अनुभव अन्य क्षेत्रमा पनि लगाउन आग्रह गरे ।