थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश रद्द

थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश रद्द

९५८ दिन अगाडि

|

१३ मंसिर २०७९

को थिए महागुरु फाल्गुनन्द ?

को थिए महागुरु फाल्गुनन्द ?

९७७ दिन अगाडि

|

२५ कात्तिक २०७९

चन्द्रकुमार सेर्मा हामी विश्वास गर्छौं- जब जब पाप बढ्छ, तब तब पापको नाश र धर्मको उत्थान गर्न यस धरतीमा अवतारहरूको अवतरण हुने गर्छ । किरात जनजातीय कुलवंशमा पापको भण्डार हटाउन ज्ञानको भण्डार लिई १९४२ कात्तिक २५ आइतबार महागुरु फाल्गुनन्दको जन्मावतरण भयो । महागुरु फाल्गुनन्दको जन्म पूर्वी नेपालको इलामस्थित इभाङ चुक्चिनाम्बामा भएको थियो, जुन अहिले माङसेबुङ गाउँपालिकामा पर्छ । बुबा जगनबाज र आमा हंसमती बेघाको साइँलो सन्तानका रूपमा जन्मेका महागुरु फाल्गुनन्दको सुरुआतको नाम नरधोज लिङ्देन थियो । उहाँको जन्मलगत्तै स्तनमा खटिरा निस्की आमाको परलोक भएकाले उहाँले काली बाख्राको दूध खाएर हुर्कनुपर्‍यो । बालककालमा रक्षाबन्धनका लागि उहाँको हातमा परिवारले फलामको चुरा लगाइदिएको थियो । फलाम लाउने बालकलाई ‘फलामे’ भनी बोलाउन थाले । अनि फलामेबाट फलाम सिंह हुँदै उहाँ अन्ततः फाल्गुनन्दका रूपमा प्रख्यात हुनुभयो । उहाँ एकचोटि माईपारि गाईगोठमा बुबाका लागि चामल पुर्‍याउन जानुभएको थियो । चामलभित्र मासु लुकाइएको रहेछ, त्यही कारण उहाँ बिमारी हुनुभयो । बुबाले गोठबाट बोकेर घरमा ल्याइपुर्‍याएपछि धामीझाँक्री लगाइयो । तर उहाँलाई निको भएन । दैवसंयोग, एउटा मध्यरातमा बिमारी बालक जुरुक्क उठेर रातारात गायब हुनुभयो । दिव्यपुरुषले हातको इसाराले बोलाई लगेको भन्ने थाहा नपाएका गाउँलेहरू खोज्दै जाँदा भोलिपल्ट बिहान मात्र उहाँ इलामको देवमाई–मेक्वामाई–माई अर्थात् तीन माईखोलाको दोभान जितपुरको खत्रक्पा फुल्लुङ्गीमा भेटिनुभयो । उहाँले गाउँलेहरूलाई आफूले रातभरि ईश्वरीय मिलन र आत्मज्ञान, परमात्माज्ञान पाएको; परमेश्वर तागेरानिङवाभूमाङको दर्शन पाई आत्मसाक्षात्कार मिलेको सुनाउनुभयो । यस्तो दैविक वर्णन सुनी गाउँलेहरू उहाँ भविष्यमा महाऋषि मुहिगुमअङसिमाङ हुने अडकल गरे । उहाँ बाल्यकालदेखि नै जाँड, रक्सी, माछामासु नखाई शुद्ध शाकाहारी हुनुभयो; जप, तप, ध्यान गर्न वनजंगल जाने गर्नुहुन्थ्यो; एकान्तपन मन पराउनुहुन्थ्यो; गोठालो जाँदा पनि यही क्रमले पटकपटक ईश्वर माङसँग आत्मसाक्षात्कार गर्न पाउनुभएको थियो । यस धरतीमा आफ्नो अवतरणको रहस्यबारे उहाँको देववाणी छ, ‘किरात सावायेहाङसाहरूले शासन चलाउन नीति कर्म, धर्म गर्न नजान्दा सबै ज्ञानगुण परमात्मा परमेश्वरको मनमस्तिष्कबाट फुत्त निस्केर गएकोले; धर्मदर्शन, ज्ञानदर्शन, राजनीतिक दर्शन, सारा मुन्धुम हराई जनशक्ति, राजशक्ति, देवशक्ति, धनशक्ति विलय भएकाले तिमीहरूलाई मुक्ति दिन, मोक्ष गराउन तागेरानिङवाभूमाङको आज्ञाले मेरो जन्मावतरण भएको हो । मैले देखाएको मार्ग अवलम्बन गर्दै पापकर्म र बलिपूजा त्यागी; जाँडरक्सी, माछामासु खान छोडी; कुकर्म, कुधर्म, कुसंस्कार, कुरीति, कुथिति, कुनीति छोडेर सत्य कर्म, सत्य धर्म, सत्य व्यवहार, सत्य कारोबार गरी दाम, काम, नाम कमाएर एकताबद्ध भई अघि बढ्नू, राजसिद्धि र देवसिद्धि प्राप्त गर्नेछौ ।’ यही क्रममा उहाँले १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेमा बृहत् धर्मसभा गरी सत्यधर्म मुचुल्का लिखित नेपालको पहिलो धर्मसभा गराउनुभयो । यस्ता गतिविधिमा लाग्नाले उहाँलाई एक पटक राजद्रोही, देशद्रोही आरोप पनि लगाइयो । तर उहाँले सत्यको कुरा गर्न छोड्नुभएन । सत्यको कुरा गरिरहने हुनाले उहाँ ‘सत्यहाङमा’ भनी सुपरिचित हुनुभयो । एक चोटि उहाँ माइला दाजु राजवत्तलाई पल्टनमा भेट्न जानुभएको थियो । अचानक उतै बेलायती भारतीय पल्टनमा भर्ना हुनुभयो । ध्यानी हवल्दार भई सात वर्षपछि पल्टन परित्याग गर्नुभयो र नेपाल फर्की आफूले सोचेका कामहरू भकाभक गर्न थाल्नुभयो । किरात भाषा, किरात लिपि, किरात संस्कार, किरात मुन्धुम र किरात धर्म गरी पाँच विषय उत्थानको अभियानमा उहाँ लाग्नुभयो । यही क्रममा पचास–साठी साम्जिक मुन्धुम प्रतिपादन, सातसात गोटा माङहिम मन्दिर स्थापना गर्नुभयो । जन्मभूमि चुक्चिनाम्बा, ज्ञानभूमि फुल्लुङ्गी, कर्मभूमि लोब्रे सिर्लौटी, तीर्थभूमि कुम्भकर्ण फक्ताङलुङमा निकै काम गर्नुभयो । यही योगदानका लागि महागुरु फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते सोह्रौं राष्ट्रिय विभूति घोषणा गरियो । २०७४ मंसिर ३ गतेदेखि उहाँको जन्मदिनमा सार्वजनिक बिदा दिन थालियो । अहिले उहाँकै नाममा १५० गोटा मठमन्दिर सञ्चालित छन्, ४०–५० प्रतिमाहरू स्थापित भएका छन्, २०–२२ राष्ट्रमा किरात धर्म संघ–संगठन खोलिएका छन् । दुईदुई पटक किरातधर्म अन्तर्राष्ट्रिय महासम्मेलन भइसकेको छ । यसरी किरात धर्मलाई हिन्दु र बुद्ध धर्मपछि तृतीय दर्जामा स्थापित गराउने महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती कात्तिक २५ गतेलाई विश्वशान्ति र मानव एकता दिवसका रूपमा मनाऔं । जलशान्ति, थलशान्ति, आकाशशान्ति, वायुशान्ति, अग्निशान्ति, विश्वशान्ति, ब्रह्माण्डशान्ति, मानवशान्तिका लागि म परमात्मा परमेश्वर तागेरानिङवाभूमाङसँग प्रार्थना गर्छु । कान्तिपुरबाट शेर्मा मुन्धुमविद् हुन् ।

थारू पर्वः समाचकेवाको विविध आयाम

थारू पर्वः समाचकेवाको विविध आयाम

९७८ दिन अगाडि

|

२३ कात्तिक २०७९

                                                                                                                                           तस्विरः सरला चौधरी समाचकेवा थारू समाजको एक विशिष्ट साँस्कृतिक विम्ब दर्शाउने पर्व मानिन्छ । कार्तिक पूर्णिमाको दिन समाचकेवा समापन हुने र दिदीवहिनीहरुले आ–आफ्ना दाजुभाईलाई आशिष दिई भातृप्रेम सम्झाउने गरिन्छ । आशिष दिने गीत यसरी गाइन्छः अरही वोन के खरही कटाबल बृन्दा वोन बिट बाँस हे, ओही बाँस के कोरो छपायल बाँन्हलक बंगला चौपाल हे, ओही बंगला में सुते गेलै... भइया, ओही बंगला में सुते गेलै कनिया भौजी शिरी शिरी लागैछै वतास हे, उठाबे गेलै...बहिनो उठू भौजी भइलै परात हे, येहेन ननदो कतहूँ न देखलौ आधि आधि राती कहे परात हे, आजु हय मोर कातिक मास, समा खेले गेलै घनश्याम हे । यस लेखमा समाचकेवाको ज्ञान, सामाजिक–साँस्कृतिक तथा राजनीतिक विषयमा चर्चा  गरिन्छ । सामाजिक–साँस्कृतिक पक्ष अनुसन्धाता टम रोबर्टसनका अनुसार थारू जंगल नजिक बस्ने जाति हुन् । समाचकेवा पनि बृन्दावन नजिकको मानव बस्तीको साँस्कृतिसंग सम्बन्ध राख्दछ । कृष्णको छोरा शाम्ब र छोरी श्यामा समाचकेवाको मूल चरित्र हुन् । यो पर्व कार्तिक शुक्ल पक्षमा मनाउने चलन छ । कथाअनुसार कृष्णकी छोरी श्यामा आफ्ना संगीहरुसंग वन विचरण गर्ने र घरको काममा सघाउने गर्थिन् । उनको चक्रबात भन्ने केटोसंग प्रेम सम्बन्ध हुन्छ । उनीहरुको प्रेम सम्बन्धमा फाटो ल्याउन चुगला भन्ने पात्र हुन्छ । चुगला गाउँमा अशान्ति रुचाउने पात्र हो । चुगलाले छोरी श्यामा चक्रबातसंग अनैतिक सम्बन्धमा रहेको कृष्णको कानमा भरिदिन्छ । यसले कृष्णलाई विक्षिप्त बनाउँछ । अन्ततः कृष्ण छोरी श्यामालाई मानव जुनी नफापेको भनी उनलाई पंक्षीको रुपमा चकेवा बन्नु भनी श्राप दिन्छन् । त्यस दिनदेखि श्यामा चकेवा भएर तलाउमा जीवन विताउन थाल्छिन् । उता चक्रबात पनि प्रेम सफल बनाउन भगवान्को तपस्या गरी चकेवा बन्ने संकल्प लिन्छन् । अन्ततः उनी पनि चकेवा बन्छन् । यसरी दुइटै फेरि प्रेम सम्बन्धमा रहन पुग्छन् । बहिनीको सो दुःख देख्न नसकी शाम्ब बुवा कृष्णलाई खुशी पार्न भक्तिमार्ग अपनाउँछन् । भक्तिको वलमा एकदिन शाम्ब कृष्णलाई खुशी पार्न सफल हुन्छन् । सोही समय बुवा कृष्णलाई बहिनी श्यामा चक्रबातसंग चोखो प्रेममा रहेकोले उनीहरुलाई फेरि मानव जुनीमा फर्काउन कर गर्छन् । छोराको अनुरोधमा कृष्ण ती चकेवा बनेका चक्रबात र श्यामा दुबैलाई मानव जुनी प्रदान गर्दै संगै जीवन जिउन विवाह सम्बन्धमा गाँसिदिए । यसरी वहिनीलाई उद्धार गरी भाइले स्मरणीय योगदान गरेको कारण भाइप्रेमको रुपमा समाचकेवा पर्व वर्षेनी कार्तिक पूर्णिमासम्म मनाइने चलन छ । उपरोक्त कथामा दर्शाइएअनुसार मानव समाज शान्तिको खोजीमा रहने गर्छ । शान्तिको अवस्थामा मात्र समाज प्रगति उन्मुख हुने भए पनि चुगला जस्ता पात्र हरेक समाजमा अशान्ति ल्याउन प्रयत्नशील रहन्छन् । त्यसैले समाचकेवामा चुगलालाई उनीहरुसंगै सम्मानपूर्वक पानीमा सेलाउने चलन छैन । बरु जुंगामा आगो लगाइ अपमानसहित खेततिर हुत्याउने गरिन्छ । यसरी चुगलाहरु अपमानित जीवन बाँच्न बाध्य हुन्छन् भन्ने सन्देश दिन खोजिएको छ । साँस्कृतिक पक्षमा कुकुर, भमरा, नर्तकी, नाह खेवैया, मृदगिंयाँ आदि सामाजिक अवयव प्रदर्शित गर्छन् । यसले समाज प्रकृतिमैत्री हुनुपर्ने ज्ञान दिन्छ । ज्ञान पक्ष ज्ञान पक्ष समाचकेवाको महत्वपूर्ण ठानिन्छ । योसंग सम्बन्धित ज्ञान भनेको भक्ति हो । अर्थात् भक्ति मार्गमार्फत् समेत भगवान खुशी हुने सत्य स्थापित गर्छ । शाम्बले भक्ति मार्गमार्फत् बाबा कृष्णलाई खुशी बनाएको र श्यामालाई श्राप दिएर चकेवा बन्न लगाएको कृष्णको श्राप फिर्ता लिन बाध्य बनाएको उदाहरण प्रस्तुत गर्दै मानव जीवनमा भक्तिको महत्व छ भनी प्रमाणित गरेको छ । पूर्खाको उक्त ज्ञान आज पनि उत्तिकै महत्वका साथ स्वीकार गरिएको छ भन्दा अतिश्योक्ति नहोला । राजनीतिक पक्ष समाचकेवाको राजनीतिक पक्ष चाखलाग्दो छ । समाजमा राम्रो र नराम्रो दुइटै गतिशील भई काम गरिरहेको सन्देश दिएर द्वन्द्वात्मक संघर्ष स्वीकार गरेको छ । चुगला नराम्रो पक्षको विम्ब हो भने शाम्ब राम्रो पक्षको तर राम्रो पक्षको सम्मानित स्थान अन्त्यतिर मात्र प्राप्त हुने भएकोले उनीहरुबिच संघर्ष चलिरहन्छ । अर्को पक्ष विश्लेषण गर्दा समाचकेवा गीति कथाको रुपमा पनि बुझिएको छ । यसमा एउटा गीतमा बहिनीलाई भाइले सान्त्वना दिदै भन्छ– भाई– बाबा के सम्पतिया हे बहिना आधा दाइये देबौ फाँट । बहिनी– हम परगोतनी हे भइया मोटरिए के री आस । अर्थात् पैत्रिक सम्पतिमा वहिनीको आधा हक लाग्ने कुरा भाइले गरेको सुनेर बहिनीले म त अर्काको घर जाने मान्छे हुने भएकोले एउटा पोका भए नि पुग्ने जवाफ फर्काउँछे । सारमा समाजवादी चिन्तन समाचकेवामा देखिने गरेको र मानिस सद्भाव, प्रेमको भोका हुने गरेको सन्देश दिन्छ । भाइबहिनी बिचको सद्भाव प्रदर्शन गर्ने यो पर्वमा कृष्णजस्तो विवेकी अभिभावक पनि कहिलेकाहीँ भ्रममा परी आवेग प्रदर्शन गरेको देखिन्छ । तर समयको एउटा मोडमा आएर फेरि सम्हालिन पुग्दा समाज शान्ति उन्मुख भई प्रगति गर्छ । हाम्रा पूर्खाहरुले इतिहासको त्यो समयमा नै उदारवादी चिन्तन बोकेको पनि समाचकेवाले सन्देश प्रवाह गरेको छ । चक्रबात र श्यामाको पवित्र प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत भई समाजको वस्तुगत अवस्थाको चित्रण गर्दै आएको बुझ्न सकिन्छ । छुवाछुत अथवा जातपातको ज्ञान गौण बनाउने समाचकेवा प्रेमले मान्छे बाँच्ने गरेको तथ्य सप्रमाण पेश गर्छ । अन्त्यमा,समाचकेवा भव्यताका साथ मनाउनुको अर्थ विशिष्ट ज्ञान जोगाउनु हो । समाजमा सद्भाव र प्रेमले मानिस बाँच्न सकिने एक महत्वपूर्ण आधार स्वीकार गर्न समाचकेवाले सघाउँछ । दोश्रो महत्वपूर्ण विषय राजनीतिक हो, जहाँ हामी जन्मजात नै समाजवादी हौं भन्ने दावी गर्छ । समाजवादको ज्ञान आज नयाँ मिमांशीय विधि र प्रक्रियाअनुसार दिन खोजेको देखिए पनि समाचकेवाले समाजवादको आधार सद्भाव र प्रेम हुने बोध गराएको छ । यसले मात्र आर्थिक वितरण समानताको आधारमा हुने प्रस्ताव गर्छ । यस अर्थमा समाजवाद हाम्रो लागि अनिवार्य ठहर भइ समाज गतिशील बन्न यही व्यवस्था नै लागु गर्न सक्ने हो भने शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ । समाचकेवा मनाउनुको अर्को महत्वपूर्ण पक्ष संस्कृतिको संरक्षण पनि हो । पहिचानजन्य राजनीतिलाई टेवा प्रदान गर्न र यसैको जगमा मजबूत लोकतन्त्रको अभ्यास गर्न समाचकेवाको योगदान रहन्छ । उदार पूँजीवादी लोकतन्त्र उपर उठ्ने प्रश्नहरुमध्ये सामूहिक अधिकार मुख्य ठहर्छ । आज लोकतन्त्रप्रति उठ्ने विविध प्रश्न साँस्कृतिक सापेक्षतावादको जगमा हल गर्न सकिने ज्ञान समाचकेवा पर्वले प्रदान गर्न सक्छ भन्ने दावी हो । यसलाई औपचारिकतामा सीमित गर्दै गर्दा अब त्यो भन्दा पर पूर्खाको ज्ञान र मिमांशामार्फत् विकास गर्दै लान जरुरी भइसक्यो । त्यसैले, पूर्खाको विरासतमा गर्व गर्दै त्यसलाई जोगाउनु भनेको आँखामा आँखा जुधाएर प्रश्न गर्नु हो । आफ्नो शिर उचो बनाउनु हो ।

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

९९१ दिन अगाडि

|

११ कात्तिक २०७९

महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । यसअघिका दुई वर्ष कोराना (कोभिड–१९) सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि भने महाव्याधि नभएपछि पर्व मनाउन सहज भएको बर्तालु बताउँछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदै छन् ।   श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सक्खर मिसाएर शुद्ध घिउ (घ्यू) मा बनाइने खास परिकार, भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् । आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अरघ्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि पर्सी आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ । मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै  बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ । यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ । त्यसैले यसलाई लोकपर्व भनिएको मैथिल संस्कृतिविद् बताउँछन् । रासस  

फेरियो रानाथारूको तिहार मनाउने शैली

फेरियो रानाथारूको तिहार मनाउने शैली

९९२ दिन अगाडि

|

१० कात्तिक २०७९

रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।  कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन ।” उनले भने, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।” उनका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ । “हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उनले भने, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ हाम्रो परम्परा ओझेलमा छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका साहेब रानाले भाईटीका पछिल्लो केहि वर्ष यता अरुको देखेर लगाउन थालिएको बताए । “हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाईन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो ।” उनले भने–“गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ ।” उनले अहिले परम्परागत गीत छोडेर आनुनिक गीत गाउन थालिएको बताए । “एक महिना अघिदेखि नै घरलाई लिपपोत गरेर सजाउने र राक्षको नासहोस भनि घरको जेठो महिलाले भगवानको पुजा गर्ने गरिन्छ ।” उनले भने, “दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ ।” पूजापाठ सकेपछि कुखुराको भाले काटेर खाने चलन रहेको उनले बताए।  यसबाहेक विभिन्न परिकार समेत बनाउने गरिन्छ । बेदकोट नगरपालिका–७ का बल वहादुर डगौराले पहिला थारु समुदायले तिहारमा भाईटीका लगाउने र लक्ष्मीको पूजा गर्ने प्रचलन नभएको बताए। “पूर्खाहरुको पालमा भगवानको मात्रै पूजागर्ने चलन थियो अहिले अरुको देखेर लक्ष्मी पूजा गर्ने भाईटीका लगाउन थाले ।” उनले भने–“राना समुदायमा मुर्गाको बली दिने चलन छ थारु समुदायमा बलि दिइदैन, पूजा मात्रै गरिन्छ ।” बदलिदो परिवेश संगै हरेक समुदायका पर्वहरु मनाउने चलन समेत फेरिन थालेका छन । पण्डित कविराज भट्टले बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वहरुमा समेत त्यसको असर देखिन थालेको बताए । “प्रविधिका कारण हरेक सुमदायका पर्वहरु परम्परागत भन्दा पनि मिश्रित हुन थालेका छन ।” उनले भने–“पर्वहरुका सांस्कृतिक र मौलिक पक्षलाई वेवास्था गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै  मनाउन थालियो ।” उनले हरेक समुदायले आफ्ना मौलिक पर्वहरुको सांस्कृति र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको बताए । रासस

नेवार समुदायमा किन मनाइन्छ म्ह पूजा ?

नेवार समुदायमा किन मनाइन्छ म्ह पूजा ?

९९४ दिन अगाडि

|

८ कात्तिक २०७९

आर. मानन्धर देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर आफ्नै शरीरलाई पूजा गरेर धुमधामसँग पर्व मनाउने विशिष्ट चलन नेपालमा बाहेक विश्वमै कतै नहोला । नेपालका मूलवासी नेवारहरूको मूल चाड नै ‘म्ह–पूजा’ अर्थात् शरीर पूजा हो । यसमा घरभित्र परिवारका सबै सदस्यहरू लहरै बसी आ–आफ्ना शरीर पूजा गरेर मनाइन्छ । साथै, अद्भुत कुरा यो छ कि शरीर पूजा गर्ने दिनमा नै देशको नाममा स्थापित नेपाल सम्वत्को पात्रो पनि फेरिन्छ । त्यसैले यो दिन भव्य र दिव्य दुवै रहन्छ, घरभित्र पनि घरबाहिर पनि । म्ह–पूजा र मण्डलको महत्त्व म्ह–पूजा चाड त हो नै । साथै पूजा भनेपछि यसको आध्यात्मिक पक्ष पनि हुने नै भयो । त्यसमा पनि यस पूजामा हरेक सदस्यको अगाडि मण्डल बनाइन्छ । मण्डल भनेकै आध्यात्मिक प्रतीक हो । खास गरी तान्त्रिक अनुष्ठानमा यसको प्रयोग गरिन्छ । नेवारहरु शैव तन्त्र र बौद्ध तन्त्र दुवैबाट प्रभावित छन् । तन्त्रमा मण्डललाई विश्व ब्रह्माण्डको प्रतिरूपको रूपमा लिइन्छ । यसले समग्रता, सम्पूर्णता र सुसंगठित संरचनाको प्रतिनिधित्व गर्छ । विश्व ब्रह्माण्ड, आकाशगंगा, सौर्यमण्डल, पृथ्वी, हाम्रो शरीर सबै पूर्ण र अन्योन्याश्रित सुसंगठित संरचना हुन् । म्ह–पूजामा बनाइने मण्डलको प्रकार रजमण्डल (स्याण्ड मण्डला) हो । नेपाल भाषामा यसलाई ‘प्वताय्मन्दः’ भनिन्छ । यो मेहनतका साथ सुन्दर बनाइन्छ, पुजिन्छ र पूजा सकेपछि बढारिएर सोहरिन्छ, फालिन्छ । यसले सृष्टि, स्थिति र संहारलाई प्रतिनिधित्व गर्छ । अनित्यता र क्षणभंगुरतालाई बुझाउँछ । मण्डलहरू तन्त्रयानसँग बढी सम्बन्धित छन् । तन्त्रमा शरीरको महत्त्व धेरै छ । त्यसैले मानव शरीरलाई पनि मण्डल मानिन्छ । मण्डलको महत्त्व नेवार समुदायमा कति धेरै छ भन्ने कुरा आफ्नो देशलाई नै ‘नेपालमण्डल’ भन्नुबाट पनि प्रष्टिन्छ । अहिले जस्तो जथाभावी नभई, काठमाडौंका मानिसमा देशदेखि, मन्दिर, दरबार सबै निश्चित यन्त्राकारमा बनाउने प्रचलन छ । म्ह–पूजामा परिवारका सदस्यहरू लहरै बसी हरेकका अगाडि मण्डल बनाई त्यसको पूजा गरिन्छ । म्हपूजा मानव सशक्तिकरणको विधि हो । यसमा मानव देहलाई विश्व ब्रह्माण्ड मानिन्छ । फेरि विश्व ब्रह्माण्डको प्रतीक स्वरुप हरेक व्यक्तिको अगाडि मण्डल बनाइन्छ । मानव शरीरलाई विश्व ब्रह्माण्ड मानी पूजा गरिन्छ । फेरि आफ्नो अगाडिको मण्डललाई पनि पूजा गरिन्छ, जुन आफ्नै शरीर र विश्व ब्रह्माण्ड दुवैको प्रतीक हो । म्हपूजामा प्रयुक्त मुख्य सामग्री पनि शरीरकै प्रतीक हुन् । कोखा (काँचो धागोको माला) मानिसको शरीरको लम्बाइ (अग्लाइ) बराबर बनाइन्छ । त्यसको टुप्पोमा प्रयोग गरिने पाँच रङ्गको कपडालाई शैव मतअनुसार पञ्चतत्त्वको प्रतीक मान्छन् भने बौद्ध मतमा पञ्चबुद्धको प्रतीक मान्छन् । हाम्रो शरीर पञ्चतत्त्वबाट बनेको हुनाले म्हपूजामा पञ्चतत्त्वको प्रयोग धेरै किसिमबाट भइरहेको हुन्छ । त्यस्तै म्हपूजामा प्रयुक्त खेलुइताः (लामो बत्ती) ले मानिसको मुहारलाई बुझाउँछ । ‘खेलु’ भनेको अनुहारको बान्की हो र इताः भनेको बत्ती । यो एक जोडी बत्ती दुवै छेउबाट बालेर मण्डपको बीचमा चार दिशामा फर्काएर राखिन्छ । जब यो चारैतिरबाट बल्छ, मण्डप झलमल्ल बन्छ । यसले जीवन झलमल्ल होस् भन्ने बुझाउँछ । साथै जीवनको अनित्यता पनि बुझाउँछ– बल्दै, जल्दै सिद्धिँदै गरेको । म्हपूजाको प्रक्रियामा उच्चकोटीको सौन्दर्य, कलात्मकता र प्रतीकात्मकता भेटिन्छ । म्ह–पूजाको दिन बनाइने मण्डल हरेक नेवारको घरमा फरक–फरक देख्न पाइन्छ । तर सबै मण्डल कुनै न कुनै यन्त्रको आकारमा नै हुन्छ । वास्तवमा अहिलेको समयमा घर घरमा बनाइने मण्डलका प्रकार संकलन गर्नु पनि जरूरी भइसकेको छ । अहिले मण्डलको लागि तयारी कागजको खाका प्रयोग हुने गरेकोले मण्डलका विविध मौलिक प्रकार बिर्सिइँदै गइरहेको छ । अझ, स्थायी किसिमका पटक पटक प्रयोग गर्न मिल्ने मण्डल पनि किन्न पाइने भएको छ । यसले सजिलो त बनाउँछ, तर म्हपूजाको सारलाई समेट्न सक्दैन । म्ह–पूजाको दिन नेपाल सम्वत्को नयाँ वर्ष सुरु हुने दिन पनि हो । नेपाल सम्वत् र म्ह–पूजाको सम्बन्ध के हो यसमा कुनै निक्र्यौलमा पुग्न सकिएको छैन । कसैले म्हपूजा र नेपाल सम्वतबीच अन्तरसम्बन्ध रहेको भन्छन् भने कसैले म्हपूजा पहिल्यैदेखि चलिआएको र यसै दिन दिनलाई विशेष शुभ दिन मानी नेपाल सम्वतको सुरुवात गरेको पनि भनिन्छ । अहिलेको व्यवहारको आधारमा साधारणतया बुझ्न सकिन्छ कि लक्ष्मी पूजाको दिन अर्थात् नेपाल सम्वत्को अन्तिम दिन बेलुका नेवारहरू वर्ष दिनको आर्थिक कारोबार बन्द गरी (अहिलेको भाषामा, आर्थिक वर्षको अन्त्यमा खाता बन्द गरी) वर्ष भरिको आम्दानीको निम्ति लक्ष्मीप्रति कृतज्ञता जनाउँछन् । आउँदो वर्षमा पनि लक्ष्मीको कृपा होस् भन्ने कामनाका साथ लक्ष्मीपूजा मनाउँछन् । त्यसको अर्को दिन हर्षउमंगका साथ नयाँ सुरुवातको लागि म्हपूजाद्वारा आफैंलाई सशक्तिकरण गर्दै नयाँ वर्षमा प्रवेश गर्छन् । शास्त्रमा शरीर पूजा माथि उल्लिखित कुराले पनि शरीर पूजाको आध्यात्मिक महत्त्व प्रष्ट खुल्दैन । आफ्नै शरीरलाई पूजा गर्नू भनेर शास्त्रमा कहाँ लेखिएको छ भन्ने प्रश्न रहन्छ । छ भने कुन धर्मको शास्त्र होला भन्ने प्रश्न उठ्छ । नेवारहरू मूलतः बुद्ध धर्म मान्ने र त्यसभित्र पनि वज्रयान मान्ने भएकोले त्यसैभित्र म्हपूजाको अर्थ खोज्नु आवश्यक छ । यसै क्रममा महासिद्ध भगवती लक्ष्मींकरा (ई. ७२९) प्रतिपादित ग्रन्थ ‘अद्वयसिद्धि’ ग्रन्थ अध्ययन गर्न पुग्छु । लक्ष्मींकरा काष्ठमण्डप स्थापना गर्ने महासिद्ध लीलावज्रकी गुरू हुन् । भगवती लक्ष्मींकराले आफ्नो ग्रन्थ अद्वयसिद्धिमा लेखेकी छिन्– न कष्टकल्पनां कुर्यात् नोपवासी न त क्रियाम् । त्रानं शैचं न चैवात्र ग्रामधर्मविवर्जनम् ।। न चापि वन्दयेछेवान् काष्ठपाषाणमृण्मयान् । पूजामस्यैव कायस्य कुर्यान्नित्यं समाहितः ।। पूजयेद्देवान् तेन देहस्थानतत्वभावनैः ।। अर्थात्, “शरीरलाई पीडा दिनु आवश्यक छैन, न त व्रत बस्नु, धार्मिक रीति मान्नु, गंगा स्नान गर्नु, पवित्र बन्नु वा समाजका कुनै नियम मान्नु नै आवश्यक छ । काठ, ढुंगा वा माटोबाट बनेका भगवान्का मूर्ति ढोग्नु पनि आवश्यक छैन । तर ध्यानपूर्वक आफ्नो शरीरलाई पूजा गर्नू जहाँ सबै भगवान्हरू बसेका छन् ।” भगवती लक्ष्मींकरा उडियानका राजा इन्द्रभूतिकी बहिनी हुन् । उडियानलाई अहिलेको भारतको उडिसा राज्यलाई मानिन्छ । भारत वर्षमा तन्त्रका ठूल्ठूला केन्द्रहरूमा बंगाल, कश्मीर, उडिसा र काठमाडौं पर्छन् र यिनीहरू बीच अन्योन्याश्रित सम्बन्ध थियो । बौद्ध धर्मलाई तिब्बतमा स्थापना गराउने पद्मसम्भव पनि उडियानमै जन्मेका थिए । इन्द्रभूति, लक्ष्मींकरा र लीलावज्र तीनै जना चौरासी महासिद्धमा पर्छन् । लक्ष्मींकराका चेला लीलावज्र भने साँखुमा जन्मेका थिए । उनी लिच्छवी राजा जयदेव द्वितीय (ई. ७१३ – ७३३) को समयका हुन् । उनी आफैले निर्माण गरेको काष्ठमण्डप नजिकै तरुमूल महाविहारमा बस्थे । यो महाविहार पहिला धेरै फैलेको थियो भने अहिले काठमाडौंको कुमारी घर नजिकै छ । लीलावज्र, काष्ठमण्डप र किंवदन्ती पहिले–पहिले पुरातत्वविद्हरू तत्काल उपलब्ध प्रमाणको आधारमा काष्ठमण्डपलाई बाह्रौं शताव्दीमा निर्माण भएको मान्थे । त्यस अनुसार आठौं शताव्दीका लीलावज्रले काष्ठमण्डप निर्माण गरेको कुरा किंवदन्ती मात्र ठहरिन्थ्यो । तर २०७२ सालको महाभूकम्पपछि भने त्यो तथ्य परिवर्तन भएको छ । भूकम्पपश्चात् काष्ठमण्डपको जगमा भेटिएका सामग्रीको नमूना बेलायत पठाई त्यहाँको प्रयोगशालामा सात महिनासम्म परीक्षण गर्ने कार्य भएको थियो । सो वैज्ञानिक अध्ययनबाट काष्ठमण्डपको संरचना सातौं शताब्दीतिर निर्माण भएको प्रमाणित भएको छ । लीलावज्रलगायत ती महासिद्धहरू तिनै समयका थिए । भूकम्पपछिको अध्ययनबाट प्राप्त अन्य तथ्यले पनि काठमाडौंमा प्रचलित किंवदन्तीलाई पुष्टि गरेका छन् । जस्तो कि, काष्ठमण्डप वृक्षदेवताले प्रदान गरेको अजंगको एउटै रूखको काठबाट बनेको भन्ने भनाइ छ । भनिन्छ, काष्ठमण्डप बनाएर पनि काठ नसकिएर नजिकै सिँल्यंसत्तल (सिंहसत्तल) बनाइयो । नेपाल भाषामा ‘सिँल्यं’को अर्थ हुन्छ ‘बचेको काठ’ । किंवदन्ती के छ भने अझै पनि काठ बाँकी रहन गएकोले बाँकी सबै काठ त्यहीं जमीनमुनि गाडिएको थियो । महाभूकम्पपछि गरिएको परीक्षणमा काष्ठमण्डप छेउको जमीनमुनि काठै रहेको प्रमाणित भएको छ । कलान्तरमा लीलावज्र भारतको विक्रमशीला महाविहारका प्रमुख आचार्य बने । तर जीवनको पछिल्लो भागमा भने उनी आफ्नो जन्मथलो फर्के । थप किंवदन्ती के छ भने उनी जीवनको अन्तिम कालमा तरुमूल महाविहारको उत्तरपूर्वी आगममा प्रवेश गरे र कहिल्यै निस्केनन् । त्यसपछि त्यो आगमको ढोका कहिल्यै खोलिएन र पूजा पनि बाहिरबाटै गरिने भयो । यसमा थप अचम्मका कुरा छन् । १९९० सालको भूकम्पपश्चात् तत्कालीन राणा शासकहरूले सो विहारको क्षेत्रमा दरबार बनाउने चाहे । त्यहाँ जग खन्ने काम भयो । तर त्यहाँ एउटा हड्डी र छाला मात्र भएको समाधिमा लीन साधुको शरीर भेटियो । दरबारबाट तुरुन्तै वज्राचार्यहरू बोलाएर देखाउँदा उनीहरूले समाधिरत सिद्ध लीलावज्र हुन सक्ने अनुमान गरे । अनि तत्कालै खनिएको स्थान पुर्न लगाई दरबार बनाउने योजना रद्द गरियो (राणा, २०११)। त्यसबेला तरुमूल महाविहार वसन्तपुरसम्म फैलिएको थियो । यसरी, किंवदन्तीको शहर मानिने काठमाडौंका धेरै किंवदन्तीहरू किंवदन्ती मात्र नभएको प्रमाणित भएका छन् । बज्रयानी रहस्यवादको प्रभाव काष्ठमण्डप जसबाट काठमाडौं शहरले आफ्नो नाम पायो, त्यो स्थापना गर्ने लीलावज्र आफ्ना गुरू भगवती लक्ष्मींकराबाट प्रभावित भएनन् भन्न सकिन्न । हुन त म्हपूजा द्वापर युगदेखि नै चलनचल्तीमा रहेको भन्ने भनाइ पनि नेवारका घर घरमा छ । यो यस्तै भन्न सकिने कुरा भएन । यदि म्हपूजा पुरानै चलन रहेछ भने शिष्य लीलावज्रले नै गुरू लक्ष्मींकरालाई प्रभाव पारेको पनि हुन सक्छ । कतिपय अवस्थामा शिष्यबाट गुरू प्रभावित हुने पनि गरेका छन् ।  शरीर पूजाको आधार खोज्दै जाँदा अन्य वज्रयानी ग्रन्थमा पनि ठाउँ ठाउँमा आफ्नो शरीरलाई वज्रसत्व, वज्रकाय सम्झी पूजा गर्नु उचित भएको कुरा उल्लेख छन् । आठौं शताव्दीकै सहजयानका अर्का प्रवर्तक महासिद्ध सरहपाद आफ्नो दोहाकोशमा आफ्नै शरीरभन्दा ठूलो पीठ वा तीर्थ नदेखेको बताउँछन्ः एहि सो सरस्वती प्रयाग, एहि सो गंगासागर । बाराणसी प्रयाग, एहि सो चन्द्रदिवाकर ।। क्षेत्र पीठ उपपीठ एहि, मै भ्रमेउ समस्थउ । देह सदृश तीर्थ, मै सुनेउ न देखेउ ।।      त्यस्तै, चर्यागीतमा लेखिएको छ, काया गया कृत काया महाबुद्ध काया सर्व तिर्थौ । अष्ट समुद्र विश्वकरुणे काया काय मेरूमण्डल ।। सहजयानको प्रभाव अन्य धर्ममा भारतीय उपमहाद्वीपमा सहजयानी दर्शनको गहिरो प्रभाव परेको थियो । बौद्ध धर्मभित्र मात्र नभई इस्लामको सूफी रहस्यवादी परम्परा र हिन्दू सन्त परम्परामा समेत सहजयानको प्रशस्तै प्रभाव परेको कुरा इतिहास र दर्शन शास्त्रका विद्वानहरू बताउँछन् । नाथ सम्प्रदायमा त सहजयानको प्रत्यक्ष प्रभाव नै प¥यो । भनिन्छ, लक्ष्मींकराले शरीरलाई दिएको महत्त्वबाटै प्रभावित भई मच्छेन्द्रनाथ र गोरखनाथले हठयोग प्रतिपादन गरेका हुन् । तन्त्रका अनुसन्धाता ललनप्रसाद सिंहले सहजयानलाई ‘वज्रयानी बौद्ध तान्त्रिक परम्पराको तर्कसम्मत् रहस्यवादी (गुह्य) विस्तार’ भनेका छन् (२०१०, पृ. ५४) । रहस्यवादीहरूका आफ्नै किसिमका विशेषताहरू छन् । ती विशेषताहरू हिन्दू, इस्लाम, सिख सबैमा समान रूपमा देख्न पाइन्छ । हिन्दूमा कबीर दास, मीरा बाई, रैदास आदि रहस्यवादी सन्तको लामो परम्परा नै त भने इस्लाममा लाल शाहवाज कलन्दरदेखि बुल्ले शाहसम्म थुप्रै सूफी सन्तहरू छन् । सिख धर्ममा गुरू नानक आफैं ठूला रहस्यदर्शी सन्त हुन् । विश्लेषण गर्ने हो भने काठमाडौंको धार्मिक रीतिमा रहस्यवादको छाप स्पष्ट देखिन्छ । हिन्दू, बौद्ध, इस्लामी रहस्यवादका साझा विशेषताहरू हुन्– गहिरो भक्ति; परम्पराप्रति विद्रोही स्वभाव; मानववाद, धार्मिक समन्वय र सहिष्णुता; अलौकिक चमत्कार; गीत, दोहा रचना गर्ने र गुरू–भक्ति । भक्ति र विद्रोही स्वभाव भक्ति र विद्रोह परस्पर विरोधी देखिन्छ । तर यहाँ भक्ति भनेको समर्पणभाव हो । रहस्यवादीहरू आफ्नो साधनामा पागलजस्तै एकोहोरिएर समर्पित हुने हुन्छन् । अनि उनीहरू धर्मको नाममा गरिने खोक्रो कर्मकाण्डप्रति विद्रोही स्वभावका हुन्छन् । सामाजिक बेथिति विरुद्ध पनि विद्रोह गर्दछन् । बुद्धले ब्राम्हण वा शूद्र जन्मले हुने होइन, कर्मले हुने हो भनेका छन् । तर विद्रोही सन्त कबीर त्यसभन्दा पनि पर गएर प्रखर व्यंग्य गर्छन्— ब्राहमन से गदहा भला, आन देब से कुत्ता मुलना से मुर्गा भला, सहर जगाबे सुत्ता यसको अर्थ हुन्छ, ब्राह्मणभन्दा गधा जाति (परिश्रम गरेर खान्छ) । पत्थरको देउताभन्दा कुकुर जाति (घरको रक्षा गर्छ) । मौलानाभन्दा भाले जाति, सबेरै सहरलाई जगाउँछ । रहस्यवादीका समर्पण र विद्रोह दुवै यति तीव्र हुन्छ कि पागलपनको हदसम्मै जान्छ । भगवती लक्ष्मींकराले त आफैंलाई ‘पगली राजकुमारी’ उपनाम नै दिएकी छन् । चित्रमा उनी नग्न देखिन्छिन् । हिन्दू परम्पराका मीरा बाईलाई पनि तत्कालीन समाजले बौलाही नै सम्झेको थियो । एउटी राजकुमारी बाटोमा भजन गाउँदै नाच्दै हिँड्नु समर्पण र विद्रोह दुवैको पराकाष्ठा हो । मीराका गुरू रैदास चमार थिए । रैदास जुत्ता सिलाउनमा यति तल्लीन रहन्थे कि मन्दिर वा गंगा जाने नै फुर्सद हुँदैनथ्यो । उनी जुत्ता सिलाउँदै भगवान्को भजन गाइरहन्थे । भनिन्छ, भगवान् पनि उनको छेउमै जुत्ता सिलाउँदै बसिरहन्थे । भक्तको अगाडि भगवान् यतिसम्म विवश हुन्छन् । वास्तवमा म्ह–पूजा गर्नु आफैंमा एउटा ठूलो धार्मिक विद्रोह हो । देउताहरुलाई मात्र पुजिने ठाउँमा आफैलाई भगवान् मानेर आफ्नो शरीरलाई पूजा गर्नु कम्तीको विद्रोह होइन । यो मानववादी दर्शनबाट निर्देशित रीति मानिसलाई आफैंभित्रको दिव्यतामा विश्वास जगाउने सशक्तीकरणको अभ्यास हो । साथै समर्पणभावले त्यो दिव्यतालाई अहंकाररहित बनाउँछ । सहिष्णुता र सम्प्रदायरहितता धार्मिक सहिष्णुता र समन्वय रहस्यवादीहरूको प्रमुख विशेषता रहेको छ । काठमाडौं धार्मिक समन्वयको लागि विश्वमै अनुपम नमूना हो । झोक्छेनका अँग्रेज गुरू कीथ दोम्यानका अनुसार नेपालको तान्त्रिक परिवेश काठमाडौंका रैथाने नेवारहरूको धार्मिक पन्थ वा सम्प्रदायरहित सिद्धहरूको प्रभावमा सिर्जना भएको हुन सक्ने कुरा आफ्नो पुस्तक मास्टर्स अफ महामुद्रामा बताउँछन् । काठमाडौंका धेरैजसो देवीदेवताहरू हिन्दू–बौद्ध दुवैले समान रूपमा मान्ने गरेको पनि उनले उल्लेख गरेका छन् । सहजयान पनि बौद्धको सँगसँगै नाथसम्प्रदायमा पनि उत्तिकै व्याप्त छ । नाथ सिद्धहरू पनि आफैं रहस्यवादी भएकोले हिन्दू वा बौद्ध भन्ने नै नछुट्टिने गरी दुवै धर्ममा उत्तिकै व्याप्त छ  । ‘अलख निरञ्जन’ गाउने गुरू गोरखनाथ त तत्कालीन समयका इस्लाम धर्मीले उत्तिकै श्रद्धाको साथ मान्थे । गुरू गोरखनाथको मन्दिर त काष्ठमण्डपभित्रै छ । मच्छिन्द्रनाथको रथजात्रा काठमाडौंको पुरानो परम्परा हो । भारतमा कबीर दास, गुरू नानक हिन्दू र मुसलमान बीचको चरम द्वन्द्वको बेला समन्वय र सहिष्णुता प्रवद्र्धनमा लागेका थिए । इस्लाममा रहस्यवादी सूफी परम्पराले शुरुवातकै दिनबाट धार्मिक सहिष्णुता फैलाउने काम गरेको थियो । बाह्रौं शताब्दीका सूफी सन्त लाल शाहबाज कलन्दर सिन्ध प्रान्त (पाकिस्तान) का हिन्दूहरूका पनि उत्तिकै पूज्य हुन् । उनले धार्मिक सहिष्णुता फैलाउनको लागि गरिएका कार्यबाट प्रभावित भई सिन्धका हिन्दूहरूले उनलाई आफ्ना इष्ट देवता ‘झूलेलाल’को अवतारको रूपमा मान्छन् । उनको नाममा लेखिएका प्रख्यात भजनहरू ‘झूलेझूले लाल दम मस्त कलन्दर’, ‘दमादम मस्त कलन्दर’ वा ‘दम मस्त कलन्दर मस्त मस्त’ हिन्दू, मुस्लिम, सिख सबैले उत्तिकै भक्तिभावले गाउँछन् । रहस्यवादीहरुले धार्मिक कर्मले मानवलाई अहित हुने वा द्वन्द्व सिर्जना हुने अवस्था आउँदा धर्मभन्दा मानवताको पक्ष लिने गरेका छन् । मानव हितको लागि धार्मिक परम्पराभन्दा माथि उठ्न सक्नु उनीहरूको विशेषता नै हो । सन्त कबीर त हिन्दू वा मुस्लिम नै नछुट्टिने गरी बाँचे । त्यसै गरी सिख धर्मका गुरू नानक देवलाई तिब्बती बौद्धहरूले पद्मसम्भवको पुनर्जन्मको रूपमा मान्दछन् । उनीहरू उनलाई नानक लामा, गुरू गोम्पा महाराज भन्दछन् । गुरू नानक हिन्दू, मुस्लिम, बौद्ध सबैलाई मान्थे । उनी आफ्नो जीवनकालमा लद्दाख र तिब्बतका विभिन्न भागमा बौद्धहरू माझ धर्मदेशना गर्दै हिँडेका थिए । केही समय काठमाडौं पनि बसेका थिए । यी तथ्यहरुबाट प्रष्ट हुन्छ कि वास्तवमा धार्मिक युद्ध धर्मको कारण भएका होइनन् र छैनन् । जति पनि धार्मिक युद्ध भएका छन्, तिनको मूल कारण धार्मिक नभई आर्थिक र राजनीतिक शक्तिको प्राप्ति रहेको छ । आफ्नो निहित राजनीतिक स्वार्थपूर्तिको लागि शासकहरूले धर्मलाई प्रयोग गरेका थिए । गीत, दोहाका गायक विभिन्न धर्मका रहस्यवादीबीच अर्को समान विशेषता हो गीत, दोहा रचना गर्ने । सरहपादलाई त हिन्दी भाषाको पहिलो कविको रूपमा पनि लिइन्छ । उनले दोहाकोश, चर्यागीत आदि रचना गरेका छन् । तिब्बतमा उनका २१ कृति संकलित छन् । लीलावज्रले ‘सहजशून्य समाज साधना’ र ‘श्री सहज सिद्धि’ कृतिका साथै चर्यागीतहरू पनि रचना गरेका छन् । काठमाडौंको वज्रयानी समाजमा चर्यागीत गाउने र चर्यानृत्य गर्ने परम्परा नै छ । चर्यागीतका ताडपत्रहरू काठमाडौंमै भेटिएका थिए । उन्नाइसौं शताब्दीका बंगाली विद्वान हरप्रसाद शास्त्रीले काठमाडौंका अभिलेखालयबाट चर्यागीतका प्रतिहरूका ताडपत्रहरू फेला पारेका थिए । चर्या गीत भनेको समाधिको अवस्थामा स्वतः स्फूरित हुने गीत हो, जसमा रहस्यमयी सन्ध्या भाषामा गहिरा अध्यात्मिक अनुभव र दर्शन वर्णन गरिएका हुन्छन् । इस्लाममा सन्त–कविको परम्परा रूमीदेखि बुल्ले शाहसम्म निरन्तर चल्यो । बुल्ले शाहको ‘बुल्ला की जाना मैं कौन’ अझै त्यतिकै लोकप्रिय छ, जसमा आफू कुनै धर्म, जातिमा नबाँधिएको बताएका छन् । त्यस्तै हिन्दीमा कबीर, रैदास, मीरा आदि सन्त–कविहरूले निरन्तर भक्ति र विद्रोहका गीत गाए । कबीरका कतिपय कविता जापानको जेन बौद्ध दर्शनका ‘कोआन’सँग मिल्दाजुल्दा छन् । बौद्ध गुरूहरूमा आध्यात्मिक सन्देशको लागि दोहा रच्ने चलन त विपश्यनाका गुरू सत्यनारायण गोयन्कासम्मै निरन्तर छ । उनका दोहा पनि सम्प्रदाय र कर्मकाण्डविरुद्ध शुद्ध अध्यात्मको पक्षमा छन् । उनले लेखे - धरम न हिंदू बौद्ध है, सिक्ख न मुसलिम जैन । धरम चित्त की शुद्धता, धरम शांति सुख चैन ।। रहस्यवादीहरूको अर्को एउटा साझा विशेषता भनेको अलौकिक शक्तिसम्पन्न हुनु हो । काठमाडौंका महासिद्ध लीलावज्र, सूरतवज्र, शाश्वतवज्र, मञ्जूवज्रले गरेका अलौकिक चमत्कारका कथा काठमाडौंका मूलवासीहरू सुन्दै सुनाउँदै थाक्दैनन् । यस्तै अनेकन चमत्कार कबीर, मीरा, रैदास, नानक सबैको जीवनमा भएका छन् । म्हपूजाको विगत, वर्तमान र भविष्य म्हपूजाको प्रारम्भबारे धेरै कथनहरु छन् । एउटा कथनअनुसार दशौं शताव्दीमा विशालनगरमा भएको भयानक आगलागीमा धेरै नागरिकको ज्यान गएको थियो । नेपालको प्रशासनिक केन्द्र दशौं शताव्दीसम्म विशालनगर थियो भन्ने कुरा त इतिहास प्रमाणित छ । भनिन्छ, सो दुर्घटनाबाट ज्यान जोगिएका आम नागरिकले आफूलाई भाग्यमानी ठानेर म्हपूजा सुरु गरेका थिए । नेवारहरुमा कुनै ठूलो दुर्घटना तर्दा सगुन दिने चलनै छ । बुझाउन सकेमा, विश्वलाई नै त्रसित बनाएको कोभिड–१९ को प्रकोप अन्त्य भएको सन्दर्भमा विश्वको लागि नै यो वर्ष म्हपूजा विशेष सान्दर्भिक हुन जान्छ । हुन त नेवार जातिमा म्हपूजा हजारौं वर्षअघि देखिको परम्परा हो भनिन्छ । म्हपूजा विशालनगरको आगलागीभन्दा पहिल्यैदेखि मनाउँदै आएको परम्परा हुन सक्छ । आगलागीपछि म्हपूजा अझ विशेष महत्त्वका साथ मनाए कि ? यसै हिसाबले नेवारमा सीमित म्हपूजालाई महामारीको त्रासबाट मुक्त भएको खुशियालीमा यस वर्षबाट सबै नेपालीले मनाउने र विश्व समुदायलाई पनि परिचित गराउने हो कि ? माथिको लामो छलफलबाट म्हपूजा कुनै निश्चित धर्म सम्प्रदायको नभई मानववादमा आधारित रहस्यवादसित सम्बन्धित भएको देखिन्छ । रहस्यवाद हरेक धर्मभित्र छ । त्यसैले पनि होला नेपालभित्र र बाहिर नेवार संगठनहरुले आयोजना गर्ने म्हपूजामा गैरनेवार र गैरनेपाली पनि निःसंकोच रुचिपूर्वक सहभागी भएका छन् । तिनमा इसाई र इस्लामधर्मी पनि छन्, वा धर्मै नमान्ने भौतिकवादी पनि छन् । केही वर्षअघि जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री (लालबाबु राउत) र बीरगञ्जमा पगरी लगाएका (अमृतधारी) सिख व्यक्ति मज्जाले म्हपूजामा सहभागी भएका तस्बीरले राम्रै चर्चा पाएका थिए । यसबाहेक पाश्चात्य जगत्मा नेपाली समुदायले मनाउने सामूहिक म्हपूजामा गैरनेवार र विदेशीको उपस्थिति पनि उल्लेख्य छ । यस हिसाबले म्हपूजाको नेवार समुदायबाहिर विस्तार भइ नै सकेको छ । यसैलाई राज्यस्तर र जनस्तरबाट अझ तीव्रता दिँदै जान सकिन्छ । तर सावधानी अपनाउनु पर्ने पक्ष पनि उत्तिकै छ । प्रसारसँगै ‘म्हपूजा’को मौलिकता फितलो नहोस् र यसको नाममा अपभ्रंश गर्ने कार्य नहुन दिन विशेष सावधानी अपनाउनु पर्छ । अहिले नै पनि कति मिडियाले यसलाई आत्मपूजा, देहपूजा, ब्रह्मपूजा भन्ने गरेका छन् । व्यक्तिवाचक संज्ञाको अनुवाद गर्नु अनर्थक कार्य हो । म्हपूजा मात्र होइन, यससँग सम्बद्ध कोखा, खेलुइताः आदि शव्द पनि शुद्धसित ग्रहण गराउनु पर्छ । अनुवादले मौलिक अर्थ र भाव वहन गर्न पनि सक्दैन । प्रसारको नाममा विस्तार त हुने तर सँगसँगै विकृत हुँदै गयो भने अनादर र अर्थको अनर्थ हुन जान्छ । सन्दर्भ ग्रन्थः ​ Dowman, Keith (1995). Masters of Mahamudra. Albany: State Univeristy of New York Press. Rana Rinpoche, Acharya Mahayogi Sridhar. (2011). The Four Pillars of the Vajrayana of the Kathmandu Valley, Crazy Cloud Vol. 1, pp 55-64. Singh, Khuswant & Chopra Ashok (2011). Agnostic Khuswant: There Is No God. Haryana: Hay House India Singh, Lalan Prasad (2010). Buddhist Tantra: A Philosophical Reflection and Religious Investigation. New Delhi: Concept Publishing Company.वज्राचार्य, यज्ञमान पति (२०६७). नेपालका प्राचीन वज्राचार्य लीलावज्र. काठमाडौंः विरिञ्चि मोती स्मृति गुह्यतारा कोष । लेखक मानन्धरले पाँच वर्ष थेरवादी श्रामणेर भई थाइल्याण्डमा बुद्ध धर्मको अध्ययन गरेका थिए । नेपालीमा उनको दर्शनसम्बन्धी पुस्तक ‘क्षितिजको स्पर्श’ प्रकाशित छ ।