लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

लमहीमा ‘बरघर समावेशी मापन कचहरी’ सम्पन्न

७५ दिन अगाडि

|

१६ मंसिर २०८१

थाकसको अध्यक्षमा प्रेमीलालले मारे बाजी , मिनराज महामन्त्रीमा राजी

थाकसको अध्यक्षमा प्रेमीलालले मारे बाजी , मिनराज महामन्त्रीमा राजी

८६ दिन अगाडि

|

५ मंसिर २०८१

रुपन्देहीको भैरहवामा मंसिर १, २ र ३ गते भएको थारू कल्याणकारिणी सभाको २३औं  केन्द्रीय महाधिवेशनबाट प्रेमीलाल चौधरी थाकसको अध्यक्षमा चयन भएका छन् । उता, अध्यक्षकै अर्का आकांक्षी मिनराज चौधरीलाई महामन्त्रीमा चित्त बुझाउनु परेको छ । अध्यक्षकै अर्का आकांक्षी देवीप्रसाद चौधरीलाई उपाध्यक्षमा सर्वसम्मत गराइए पनि महिला उपाध्यक्षमा रुक्मिणी चौधरी नअटाए आफू कुनै पदमा नबस्ने भनेर उनी बाहिरिएका छन् । नभए ६ जना उपाध्यक्षमा एउटाको टुंगो लाग्ने थियो ।  यसरी उपाध्यक्ष, सहमहामन्त्री पनि टुंग्याउन बाँकी नै छ । २ महिला उपाध्यक्षमा सावित्रा चौधरी तथा हरिदेवी चौधरीको नाम मोटामोटी टुंग्याइए पनि रुक्मिणी चौधरीको नाम इन्ट्री भएपछि यो पदको पनि निर्णय हुन सकेन । उपाध्यक्षको ६ जनाको कोटामा उम्मेदवार नै १३ जना रहेको बताइएको छ ।  स्मरण रहोस्, यसअघि प्रेमीलाल महामन्त्री, मिनराज सहमहामन्त्री तथा देवी उपाध्यक्ष थिए । चूर्णबहादुर चौधरी कोषाध्यक्षमा दोहरिने सम्भावना छ । तर, चितवनका राजेन्द्र चौधरीले सोही पदमा दावी गरेकाले मिलाउन बाँकी नै छ । पहिलो बैठकले यी सबै पद टुंग्याउने भएको छ । अपवादको रुपमा एकाध जिल्लाबाहेक सबैजसो जिल्लाका केन्द्रीय सदस्य निर्विरोध भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक सूचना जारी गरेको छैन ।  मंसिर ३ गते नेताहरु विजयकुमार गच्छदार, नरेन्द्रकुमार चौधरी, उमाकान्त चौधरी, पद्मनारायण चौधरी, गोविन्द चौधरी, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, तेजुलाल चौधरी, डिल्लीबहादुर चौधरी, जनकराज चौधरी लगायतको उपस्थितिमा भैरहवाको एशियन बुद्ध होटलमा अध्यक्षको आकांक्षी सबैलाई नेताहरुले प्रस्ताव गरेको पद मान्ने अबेर राती शर्तनामा गराएका थिए ।  नेताहरुको निकै हस्तक्षेप भयो भनेर केन्द्रीय पार्षदहरु रुष्ट छन् । उनीहरुले नारावाजी पनि गरेका थिए । मंसिर ३ गते सम्पन्न भइसक्ने अधिवेशन एकदिन लम्बिएर पनि पूर्ण पदाधिकारी चयन गर्न असफल रह्यो ।  थारु कल्याणकारिणी सभा (थाकस) को २३औं महाधिवेशन समुद्घाटन मंसिर १ गते शनिवार भएको थियो  । यसअघिको अधिवेशन समुद्घाटन प्रधानमन्त्रीले गर्ने परम्परा बसालिए पनि कार्यक्रमको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । पूर्वमन्त्री भगवती चौधरीले आयोजकबाट अतिथिका लागि कुनै सरसल्लाह नगरिएको, यदि गरेको भए प्रम केपी ओलीलाई ल्याउन सकिने अवस्था रहेको थियो भन्ने जानकारी ढकियाखबरलाई दिइन् ।  समुद्घाटनमा नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले भनेका थिए, ‘थारु समुदाय शिक्षित हुँदै गएको छ तर परिवर्तनको आभास छैन । यदि थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ ।’ तर यस अधिवेशनमा पनि थारु एक ढिक्का भएको सन्देश प्रवाह हुन सकेन ।  थाकसको कार्यसमितिले पूर्णता पाएपछि यसको भावी दिशा कस्तो हुने तय हुनेछ । यद्यपि हालका अध्यक्ष प्रेमीलाल चौधरी तथा महामन्त्री मिनराज चौधरीबीच अघिल्लो कार्यकालमा सैद्धान्तिक विषयमा ‘टसल’ रहेको थियो । जसले गर्दा बीचमा सहमहामन्त्रीलाई सचिवालय बैठकमा समेत बोलाउन छाडिएको थियो । यस्तो परिस्थितिमा थाकसको आगामी यात्रा पनि यसलाई जीवन्तता दिन कठिन हुने देखिन्छ । एक पार्षद भन्छन्, धनिराम चौधरीले २ अवधि कार्यकालको १० वर्ष आफू अद्र्धभूमिगत भएर थाकसलाई अन्ध्यारोको गर्तमा ढकेले । अबको कार्यसमितिले पनि अन्ध्यारोलाई चिर्न सक्नेमा सन्देह देखिन्छ । 

थाकसको २३औं महाधिवेशन समुद्घाटनः ‘थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ’ 

थाकसको २३औं महाधिवेशन समुद्घाटनः ‘थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ’ 

८९ दिन अगाडि

|

२ मंसिर २०८१

थारु कल्याणकारिणी सभा (थाकस) को २३औं महाधिवेशन समुद्घाटन रुपन्देहीको भैरहवामा मंसिर १ गते शनिवार सम्पन्न भएको छ ।  कार्यक्रमको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरे । उनले कार्यक्रममा थाकसका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अनुपस्थिति आफ्नो लागि पनि पीडादायी रहेको बताए । उनले अगाडि भने,‘थारुलगायत आदिवासी जनजातिहरु विरुद्ध हुने विभेद, असमानताको विपक्षमा छ यो सरकार । सबैलाई समान हैसियत दिने पक्षमा छ । थारु समुदाय आफै निर्णय प्रक्रियामा सहभागी हुन चाहन्छौं भन्ने मागको म सम्मान गर्दछु ।’ अर्थमन्त्री पौडेलले अर्को प्रसंगमा नेपालको स्वाधिनताको निम्ति थारु समुदायको धेरै ठूलो योगदान रहेको र त्यो इतिहासको स्वर्ण अक्षरमा लेखिने’ अभिव्यक्ति पनि दिए । त्यसअघि थाकसका महामन्त्री प्रेमीलाल चौधरीले स्वागत मन्तव्य दिदै थाकसको २३औं महाधिवेशनमा टीकापुर घटनाका कारण यसका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अनुपस्थिति दुःखद रहेको बताएका थिए । थारुप्रति विभेद कायमै रहेको भन्दै उनले के थारुले पहिचान माग्नै नहुने हो ? भन्ने प्रश्न गरे । थाकसका सहमहामन्त्री मिनराज चौधरीले अध्यक्ष धनिराम चौधरीको मन्तव्य वाचन गरेर सुनाएका थिए । स्मरण रहोस्, कार्यक्रमको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा पनि अध्यक्ष धनिराम चौधरी अनुपस्थित थिए । काठमाडौं फर्किनुपर्ने हतारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल स्वागत मन्तव्यपछि कसैको कुरै नसुनी आफ्नो मात्रै अभिव्यक्ति राखेर हिँडेका थिए । उनी पछि मन्तव्यका लागि उभिएका नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले आफ्नो कुरा एक मिनेट भए पनि सुनेर जान आग्रह गरेका थिए ।  सहमहामन्त्री चौधरीले भने,‘थारु समुदाय शिक्षित हुँदै गएको छ तर परिवर्तनको आभास छैन । यदि थारु एक ढिक्का भयो भने राज्यलाई घुँडा टेकाउन सक्छ ।’  आसन ग्रहणमै अधिकांश समय गएपछि आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आफ्नो मन्तव्यको सुरुमै समयको ख्याल राख्न आयोजकहरुलाई अनुरोध गरेका थिए । उनले यही मञ्चमा रेशम चौधरी देखिनु अनि धनिराम चौधरी हराउनुपर्ने अवस्थाले देशमा कानुनी शासन छ भन्ने थारुलाई अनुभूति नभएको बताए । कार्यक्रममा मर्यादाक्रम नमिलेको भनेर आदिवासी जनजाति आयोग तथा थारु आयोगका माननीय सदस्यहरु मञ्चमा आसन ग्रहण गर्न गएनन् ।  पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रसेका नेता विजयकुमार गच्छदारले थारुका कुरा सरकारसमक्ष अरुले लगिदेला भनेर आशा गर्नुभन्दा आफ्नो कुरा आफैले बुलन्द गर्नुपर्ने बताए । पूर्वमन्त्री तथा एमाले नेत ृभगवती चौधरीले थारुहरुको शक्ति दिनप्रतिदिन क्षिण हुँदै गएकाले यसबारे गहन छलफल आवश्यक रहेको बताइन् । कार्यक्रममा खेलकूद मन्त्री तेजुलाल चौधरी, थाकसका पूर्व अध्यक्ष नरेन्द्रकुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीलगायतले आआफ्नो मन्तव्य दिएका थिए । समाजवादीका नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीलाई मन्तव्यका लागि बोलाइदा उनी हिँडिसकेका थिए । उता श्रोता छैनन् भनेर पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा गोपाल दहित बोल्न रुचि देखाएनन् । कार्यक्रम थाकसका कावा अध्यक्ष देवीप्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।  कार्यक्रममा हृदयनारायण चौधरीको पुस्तक थारु जातिको समय विमोचन गरिएको थियो । थाकस केन्द्रको मुखपत्र ‘थारु संस्कृति’ प्रकाशन गर्ने योजना यसपालि पनि कार्यान्वयन भएन । थाकस क्षेत्रीय समिति देउखुरीले थारु शब्दकोश लगायतको पुस्तकको स्टल राखेको थियो ।  मंसिर २ गते आज बन्दसत्र रहेको छ । मंसिर ३ गते नयाँ नेतृत्वको चयन गरी महाधिवेशन सकिनेछ । थाकसको केन्द्रीय अध्यक्षमा प्रेमीलाल चौधरी, मिनराज चौधरी, देवीप्रसाद चौधरी, रुक्मिणी चौधरी, वर्तमान अध्यक्ष धनिराम चौधरीलगायत आकांक्षी रहेका छन् । प्रेमीलाल चौधरीले पहिल्यै उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, घोषणापत्र सहित उम्मेदवारी मिनराज चौधरीले मात्र सार्वजनिक गरेका छन् । आधिकारिक उम्मेदवारको घोषणा भइ नसकेकाले पार्षदहरु नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने अलमलमा छन् । कार्यक्रम अघि र्यालीले भैरहवा नगर परिक्रमा गरेको थियो ।  

राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै

राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै

९४ दिन अगाडि

|

२७ कात्तिक २०८१

सुर्खेत । आफ्नो समुदायको संख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । 'हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको संख्यामा थियौँ,' मुखिया शाहीले भने, 'हामी मान्छे त गन्दैनौँ, तर हाम्रो संख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले ।'  पहिले स्थानीय वन जङ्गलमै उपलब्ध हुने तागतिलो खाना खाने गरिएको भन्दै अर्का सहायक मुखिया वीरबहादुर शाहीले अहिले खानपानको शैली पनि फेरिएको कारण प्रजनन क्षमतामा हस आउँदा पनि क्रमशः जनसंख्या कम हुँदै गएको हुनसक्ने बताए।  जनसंख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने भन्दै राउटे समुदायका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् ।  यो समुदायमा असोज २ गते २२ वर्षिय राउटे वृषबहादुर शाहीको मृत्यु भयो । वृषबहादुर शाहीको मृत्युसँगै राउटे समुदायको जनसंख्या अहिले एक सय ३५ जनामा सिमित छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ ।  प्रतिवेदनमा २०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसंख्या १५ माघ २०८० सम्म आइपुग्दा घटेर एक सय ३५ मा झरेको छ ।  २०७५ सालमा एक सय ४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ भयो । २०७७ सालमा तीनजनाको मृत्युपछि एक सय ४५ मा झरेको यो समुदायको संख्या २०७८ मा आउँदा एक सय ४४ मा झर्‍यो ।  २०७९ देखि २०८० सम्म घुमन्ते–फिरन्ते राउटेको जनसंख्या छ जनाले घटेर एक सय ३७ जनामा आयो । यो बर्ष मात्रै दुईजनाको मृत्युसँगै अहिले यो समुदायको संख्या एक सय ३५ मा सीमित हुन पुगेको छ ।  किन घटिरहेको छ जनसंख्या ? राउटे समुदायको जनसंख्या लगातार घट्नुका विभिन्न कारणहरु रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार यो समुदायको जनसंख्या घट्नुको पछाडि सामाजिक मूल्यमान्यता प्रमुख कारण छ ।  राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा भन्छन्, 'राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवती विवाह नगरेर बसेको अवस्था छ ।' उनका अनुसार राउटेहरूमा श्रीमान्‌को मृत्युपछि जतिसुकै उमेर समूहका महिला भए पनि एकल भएर बस्नुपर्ने बाध्यता छ । उनले भने, 'अहिले एकल महिला २३ जना छन्, तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरुले अर्को विवाह गर्ने पाउँदैनन्, प्रजनन उमेरका महिलाहरु बच्चा जन्माउनै नपाएपछि कसरी संख्या बढ्छ ?' थापाले राउटे समुदायमा युवाहरुको संख्याभन्दा ज्येष्ठ नागरिक र बालबालिकाको संख्या धेरै रहेको बताउँछन् । थापा भन्छन्, 'राउटे समुदायको जनसंख्या घट्नुको अर्को कारण अत्याधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनीहरु भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ ।' आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तिनै तहका सरकारहरुले राउटे संरक्षणसम्बन्धी योजना बनाउनुपर्ने उनको सुझाव छ । आयोगले सिधै रकमको साटो आवास, खाद्यान्न र पोषण, लत्ताकपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छ भने बाहिरी आधुनिक दुनियाले उनीहरुको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ ।  थापाको भनाइप्रति वरिष्ट पत्रकार केशव ढकाल पनि सहमत छन् । उनले पनि भत्ताको नाममा सिधै रकम दिँदा उनीहरु अत्याधिक मदिरा सेवनमा लागेको बताउँछन् । 'भत्ताको सट्टा खाद्यान्न, लत्ताकपडालगायत उनीहरुलाई आवश्यक पर्ने वस्तु सरकारले दिनुपर्छ । रकम दिँदा उनीहरुले खर्च गर्ने अन्य कुनै ठाउँ नभएको हुँदा मदिरामा खर्च गर्छन्, त्यसो हुँदा उनीहरुको मृत्युको दर बढिरहेको छ । त्यसका साथै विभिन्न सहयोगको नाममा उनीहरुको अस्तित्व नै मेटाइँदैछ,' उनले भने ।  प्रजनन क्षमता कमजोर बन्दै  यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ । जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा जम्मा दुई शिशुको जन्म भयो । राउटे समुदायको पराम्पराका कारण पनि जन्मदर कम हुने गरेको भए पनि पछिल्लो समय उनीहरुको खानपान र रहनसहनका कारण समेत प्रजनन क्षमता कमजोर हुन थालेको चिकित्सकहरु बताउँछन् । राउटेको जीवनशैली फेरिँदै गएको छ । खानपानका कारण प्रजनन क्षमता कमजोर हुन थालेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका तत्कालीन निर्देशक डा डम्बर खडका बताउँछन् । उनी भन्छन्, 'पछिल्लो समय उनीहरुले अत्याधिक मदिराको प्रयोग गर्न थाले, त्यसो हुँदा उनीहरुको खानपान र जीवनशैली असन्तुलन हुँदै गएको छ, यसले स्वभाविक रुपमा प्रजनन क्षमतामा गिरावट ल्याउँछ ।' विगतमा स्वस्थ जीवनशैलीमा बाँचिरहेका राउटे समुदायहरु अहिले गुणस्तरहीन खानाको प्रयोग गर्ने तथा मदिराको सेवन बढ्दै जाँदा उनीहरुमा कलेजोसम्बन्धी समस्या बढ्दै गएको खड्का बताउँछन् ।  आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यानपुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु/नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव जस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ ।  आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्की भन्छन्, 'उनीहरुको जीवन चलाउने भनेर सरकारले भत्ता दिने गर्‍यो, उनीहरुको जीविका चलाउन सहज होस् भनेर सरकारले भत्ता त दियो । तर त्यो भत्ताको प्रयोग उनीहरुले आफ्नो खानपानभन्दा पनि मदिरासेवनमा प्रयोग गर्ने गरेको पाइयो । यसले गर्दा उनीहरुको मृत्यु धेरै भएको देखिन्छ ।'  उनीहरुको स्वास्थ्य अवस्था पनि बिगँ्रदै गएको भन्दै तीनै तहका सरकारहरुले मुख्यगरी उनीहरुको संरक्षणका लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ । 'उनीहरु स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमीलगायतका कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ,' कार्की भन्नुहुन्छ ।  राउटे समुदायका युवतीहरुको सोझोपनको फाइदा उठाउँदै उनीहरुमाथि पछिल्लो समय यौनजन्य अपराध हुनसक्ने जोखिम समेत बढेको बताइएको छ ।  केही वर्षअघि दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सुर्खेत गुर्भाकोटका दुई युवाविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइएको थियो । विभिन्न बहानामा राउटे बस्तीमा बाह्य व्यक्तिहरुको प्रवेशले यौनजन्य क्रियाकलापसँगै अन्य असुरक्षा बढाएको यो समुदायको अध्यन गरिरहेकाहरु बताउँछन् । विशेषगरी रुपैयाँ पैसाको प्रलोभन देखाउने, विभिन्न सहयोग गर्ने बहानामा राउटे समुदायको बस्तीमा प्रवेश गर्ने क्रम बढेकाले यसलाई व्यवस्थित गर्नुपर्ने सुझाव उनीहरुको छ ।  राउटेको संरक्षणका लागि के छ सरकारी योजना ?  दैलेखको गुराँस गाउँपालिकाले २०७५ सालमा पहिलोपटक राउटे समुदायलाई परिचयपत्र वितरण गरेको थियो । राउटेले पाउने सामाजिक सुरक्षा भत्ता यही गाउँपालिकाले वितरण गर्दै आएको छ । सहयोगको नाममा राउटे समुदायलाई दिइने सहयोगलाई एकद्वार प्रणालीबाट दिने गरी पालिकाले कार्यविधि समेत निर्माण गरेको छ । राउटे समुदायको संरक्षणको लागि गाउँपालिकाले मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं ८ नम्बरका वडाध्यक्ष दीपेन्द्र ओली बताउँछन्। 'हामीले राउटे समेदायलाई आफ्नो पालिकाका नागरिकको रुपमा परिचयपत्र दिएका छौँ, सामाजिक सुरक्षा भत्ता पनि पालिकाले नै उपलब्ध गराउँदै आएको छ । आफ्ना नागरिकको सुरक्षा र संरक्षणको जिम्मेवारी हाम्रै भएकाले पनि त्यहीअनुसार काम गरिरहेका छौँ,' उनले भने ।  सोसेक नेपालसँगको साझेदारीमा राउटे वस्तीमै प्राथमिक उपचार सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मी खटाइएको ओली बताउँछन् । आयोगले दिएको प्रतिवेदनको आधारमा योजना बनाउने गरी कार्यपालिकामा छलफल भइरहेको उनको भनाइ छ । रासस

असौंक डस्या कसिक मनैना ?

असौंक डस्या कसिक मनैना ?

१३० दिन अगाडि

|

२१ असोज २०८१

सामाजिक सञ्जालमे असौंक डस्या कसिक मनैना कहिके मेरमेरिक विद्वान आअपन विचार ढैटि बटाँ । इहे क्रममे डा गोपाल दहित असौंक डस्या मनैना तालिका डेले बटाँ (हेरि फोटुसंगे रहल तालिका) । इहे सिलसिलामे यहाँ दिलबहादुर थारू ओ चूर्ण चौधरी थप दुइ विद्वानके विचार ढै गैल बा । सबजे उज्जर टीका लगाई दिलबहादुर थारू  संयोजक, थारू नागरिक समाज, कैलाली  थारू समाजमे दशैंक अपने महत्व बा । सब दिनके अपन महत्व बा । मने सप्तमी, अष्टमी, नवमी ओ दशमीक कुछ ढेर महत्व बा । ओम्ने फे सबसे ढेर नवमीक महत्व बा । का करे कि नवमीक दिन हमरे पुर्खन भात डेठी अथवा कही कि नवमी हमार पुर्खनके श्राद्ध तिथी हो । बिहानके पिट्टर भात डेना ओ साँझके घरे नेउटल पितृदेउटन नाचगानासहित बिदाई कर्ना अस्रैना दिन हो ।  टबेमारे अष्टमी, नवमी अक्के डिन पर्लेसे अष्टमीहे आगे टस्कैना चाही । नवमी ओ दशमी अक्के डिन पर्लेसे दशमीहे पाछे सर्ना, टस्कैना चाही । यी साल अष्टमी ओ नवमी सँगे परल बा । टबेमारे अष्टमीहे आगे टस्कैले मजा रही । टस्कैलेसे यी साल (२०८१) हमार दशैं अइसिक रहीः  २३ गते पैनस टोपी ढोई ओ साँझके पुर्खन नेउटी  २४ गते ढिक्री चरहाई २५ गते पिट्टर भात दी  २६ गते टीका लगाई, उ फे सबजे उज्जर टीका लगाई धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी  चूर्ण चौधरी,  केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारिणी सभा  म्वार विचार म पुर्खासे मन्टी अइलक धार्मिक मान्यता, रिति थिति, चलन ओ अभ्यास म हम्र बर्का डश्याम सप्तमी के दिन ढक्या ओ पैनस्टोपी गंगाम च्वाखा कराइक लाग ढ्वाए जैठी । यी सर्वमान्य संस्थागत चलन ओ अभ्यास बा । यी बर्षक (२०८१) सप्तमी ह असोज २४ से असोज २३ म सरना सायद उपयुक्त नि हुइ । हम्र महा अष्टमी म जैह्या फे सन्झ्याख ढिक्री (कौनो थर क थारू मुर्गी फे) पुज्ना यी संस्थागत हुइल चलन, अभ्यास ओ सर्वमान्य धार्मिक मान्यता बा । ओ महानवमी म बिशेष कैख विहान ख मुर्गी पुज्ना ओ आपन पुर्खन पिट्टर डेना धार्मिक ओ संस्थागत मान्यता बा । यी वर्षके २०८१ क बर्का डश्या म महा अष्टमी ओ महा नवमी तिथि (असोज २५ गते) एक्कम मिलल बा कलसे महा अष्टमी क दिन  उहो २५ गते जो पुर्खा से चल्टी अइलक आपन तिथिम जो आपन आपन चलन, रितिथिति, अभ्यास ओ धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी । ओ महा नवमी म कर्ना पुजा विजया दशमी असोज २६ गते क दिन शुभ साइत म कर्लसे जो टनिक धार्मिक विधि बिधान ओ महत्व हुइ कना म्वार सोच ओ बिचार बा। ओहमार २०८१ असोज २४ गतेः सप्तमीम गंगा म पैनस्टोपी धुइना । २०८१ असोज २५ गतेः महाअष्टमी म सन्झ्याक आपन आपन चलन अनुसार ढिक्री (कौनो थारू थर मुर्गी फे) पुज्ना । २०८१ असोज २६ गतेः विजया दशमी अर्थात बिजयी प्राप्त कर्लक शुभ साइत क दिन म विहान सक्कार मुर्गी पुज्ना वलि देना ओ आपन आपन पुर्खन क सम्झना म पिट्टर डेना उत्तम साइत हो । ओ यह दिन हमार बर्का डश्यक टिका के शुभ साइत रहि । संसारी गँवल्या टीका ब्यबस्थित तरिकासे उज्जर रहि ट आपन धर्म, संस्कार ओ पहिचान रही ।

थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

१३६ दिन अगाडि

|

१५ असोज २०८१

थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीले थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको ढकेहेर संस्कृति संरक्षण गर्न दस्तावेजीकरणको अभियान थालेको छ ।  गढवा–७, मानपुरको मरुवास्थलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले बृत्तचित्र निर्माणको असोज १३ गते आइतवार शुभारम्भ गरिन् । सो अवसरमा उनले थारु समुदायका गुरुवा, ढकेहेरलगायतका मन्त्रको दस्तावेजीकरण गर्ने काम स्थानीय निकायको भएकाले थोरै भए पनि गढवा पालिकाले निर्माता थाकसलाई सहयोग गरेको बताइन् ।  अवको एक सातासम्म मानपुर गाउँको मरुवा परिसरमा भिडियो खिचिने तथा ५० देखि ६० घण्टाको फुटेज दस्तावेजीकरण गर्ने योजना रहेको ढकेहेरसम्बन्धी बृत्तचित्रका निर्देशक उदय आलेले बताए । उनले बृत्तचित्र थारु, नेपाली र अंगे्रजी भाषामा बनाइने तथा मन्त्रको छुट्टै ग्रन्थसमेत प्रकाशन गरिने सोच रहेको बताए ।  त्यस्तै, थाकस क्षेत्र नं १ का वरिष्ठ सल्लाहकार राजेन्द्रप्रसाद चौधरीले कुनैबेला ढकेहेर आशाराम चौधरीका मन्त्र रेकर्ड गर्न खोज्दा अनुमति नपाएको स्मरण गरे । उनले भने, ‘आज ढकेहेर आशारामले भिडियोमा आफ्ना मन्त्र दस्तावेजीकरणमा सहयोग पुर्याइ रहेकोमा खुशी लागेको छ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले ढेकेहेर गुरुवाहरुको ज्ञान दस्तावेजीकरण गर्न अत्यावश्यक रहेको औंल्याउदै महत्वपूर्ण कार्यको थालनी गरेकोमा थाकसको सराहना गरे । उनले बृत्तचित्रको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै कम्तीमा किम्फ महोत्सवमा छनोट हुन सक्ने स्तरको बनाउन सुझाए ।  हरेरीलगायत विभिन्न पूजाआजामा ढकेहेर, अन्य गुरुवाहरुको मन्त्र वाचनले प्रथाले समुदाय तथा गाउँमा आरोग्यताको कामना गर्ने, बालीनाली र पशु चौपायामा लाग्ने रोगहरुको प्रतिरक्षा गर्ने, उत्पादनमा बृद्धि हुने र गाउँको रोगव्याधि र महामारीलाई नियन्त्रण गर्ने परम्परागत मान्यता रहेकाले यसलाई जोगाउन अपरिहार्य रहेको अन्य वक्ताहरुको भनाइ थियो ।  थाकस, क्षेत्र नं १ का सभापति प्रकाश चौधरीले यो एक किसिमको सप्ताह जस्तो भएकाले छायांकन हुने हरेक दिन ढकेहेरको मन्त्र वाचन श्रवण गर्न आउने श्रोताहरुलाई चामल, फलफूल, भेटी लिएर आउन आग्रह गरे ।  कार्यक्रममा थाकसका कानुनी सल्लाहकार हल्लुप्रसाद चौधरी, सल्लाहकार चेतराम चौधरी, ढकहेरका मुख्य गुरुवा आशाराम चौधरी लगायतले पनि आआफ्नो मन्तव्य दिएका थिए । थाकस क्षेत्र १ का वरिष्ठ उपाध्यक्ष गोकुलप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कर्कट चौधरीले गरेका थिए । थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीको आयोजना, थाकस गढवाको सहआयोजना र गढवा गाउँपालिकाको सहयोगमा देउखुरीको गढवामा लोपोन्मुख ढकेहेर संस्कृति संरक्षणसम्बन्धी बृत्तचित्र निर्माण हुन लागेको हो ।   

अटवारी ब्रतमा कैलारीको जोडः पोशाक नलगाएकालाई कार्यक्रममा प्रवेश निषेध

अटवारी ब्रतमा कैलारीको जोडः पोशाक नलगाएकालाई कार्यक्रममा प्रवेश निषेध

१५९ दिन अगाडि

|

२३ भदौ २०८१

हामी नेपालीहरु धेरै चाडपर्व, त्यौहार मान्छौं । ब्रत उपवास बस्छौं । नेपालको तराईका मूल बासिन्दा आदिबासी थारुहरु पनि धेरै चाडपर्व, त्यौहार मान्छन् । अष्टिम्की ब्रत, अतवारी ब्रत बस्छन् । जितिया, सामाचकेवा मान्छन् । कतैकतै अनन्त ब्रत पनि बस्ने गर्दछन् । अष्टिम्की ब्रत थारुहरु किन र कहिलेदेखि बस्न थालेका हुन् एकिन भन्न गार्हो छ । तर अष्टिम्कीमा थारुहरु कृष्ण, पाण्डव, रावण, हाथी घोडा, लगायतको पूजा गर्दछन् भन्ने कुरा उनीहरुले कोर्ने भित्ते अष्टिम्कीले बताउँछ । सृष्टि, उत्पत्तिकालको समेत त्यसमा चित्रण पाइन्छ । तर अटवारीमा बिशेषतः ५ भाई पाण्डवमध्ये भीमको पुजा आराधना गर्दछन्, ब्रत बस्दछन् भन्ने कुरा हाम्रा पुर्खाहरुको भनाईबाट पुष्टी हुन्छ । तर थारुहरुको आफ्नोपन रहेको, मौलिकता रहेको अतवारी ब्रत यतिबेला संकटाउन्मुख छ । यसप्रति युवाहरु मात्रै होइन, बुढापाकाहरुको पनि आकर्षण घट्दैछ । आकर्षण किन घटिरहेको छ ? बुद्धिजीविहरुले सोच्न जरुरी भैसकेको छ ।  यही परिस्थितिलाई ध्यानमा राखेर होला, कैलाली जिल्लाको कैलारी गा.पा. मा २०८१ भाद्र १८ गते भने अतवारी ब्रतको शुभकामना आदान प्रदान कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा कैलारी आयोजक, नेपाल सांस्कृतिक महासंघसँगको सहकार्य र कैलारी गा.पा. प्रबद्र्धक रहेको उक्त कार्यक्रममा लाहुर्निपको समेत सहयोग रहेको थियो । कार्यक्रममा सहभागीहरुको उत्साहजनक सहभागिता थियो । आयोजकहरुले कार्यक्रममार्फत अतवारी के हो ? किन बस्छन् ? त्यसमा कसको पूजा हुन्छ ? भन्ने बिषयमा जानकारी गराएका थिए । ब्रत कसरी बस्छन्, अग्राशन कसरी दिन जान्छन् ? कसरी स्वागत गरिन्छ भनी अभिनयमार्फत पनि देखाइएको थियो । कार्यक्रममा धेरै सांस्कृतिक झाँकीहरु, नाचगान पनि थियो । तर कार्यक्रमको मुख्य आकर्षण भने मातृपोशाक थियो । मातृपोशाकबिना कार्यक्रममा प्रबेश निषेध थियो । कार्यक्रममा कैलारी गा.पा.का उपाध्यक्ष भगवती चौधरी, थाकस केन्द्रिय सदस्य ईन्दू थारु, रामचरण चौधरी, केन्द्रिय पार्षद खेमराज चौधरी, होरीलाल चौधरी लगायतका ब्यक्तिहरु, लाहुर्निपका अध्यक्ष दिनेश घले, थारु नागरिक समाजका बसन्ती चौधरी, दिल बहादुर चौधरीले शुभकामना मन्तव्य राखेका थिए । धेरैले अतवारी ब्रतप्रति मान्छेहरुको आकर्षण घटिरहेकोप्रति चिन्ता ब्यक्त गरेका थिए ।  अटवारी ब्रतको शुरुवात अटवारी ब्रतको बारेमा तमाम कहकुट छ । एउटा कहकुट छ “द्वापर युगमा एकचोटी घुम्दैफिर्दै भेंवा (भीम) हिमालयको तराई थारु बसोबास गरेको ठाउँमा आइपुगे, त्यहाँ एउटा राक्षसले थारु चेलीलाई बलात्कारको प्रयास गर्दा भेंवा (भीम) ले बचाए, त्यस दिन आइतबार परेकोले सम्झना स्वरुप आइतबार ब्रतको शुरुवात भएको हो ।” “महाभारत कालमा एउटा थारु गाउँमा एउटा राक्षस हाहाकार मच्चाएको थियो रे ! गाउँका हरेक घरबाट हरेक दिन एक मान्छे राक्षसको आहारा (भोजन) बन्नु पर्दथ्यो, त्यो क्रममा त्यस दिन एक थारु चेलीको पालो थियो, भीम त्यस ठाउँमा पुगे, घरमा रुवाबासी मच्चिएको देखेर भीमले सोधे र घरवालाले बेली बिस्तार लगाए, भीमले त्यस थारु चेलीलाई बहिनी स्वीकार गर्दै बचाउने बाचा गरे, राक्षस पुगेपछि त्यसको संघार गरे र बहिनीलाई बचाए, त्यस दिन आइतबार थियो । त्यसबेलादेखि आइतबार ब्रतको शुरुवात भएको र भीमको पुजा गर्ने चलन चलेको हो भन्ने भनाई छ ।  माथिको कथा महाभारतको आदि पर्वको बकबध÷बकासुर बध पर्बसँग मेल खान्छ । पर्वमा उल्लेख छ अज्ञातवासकालमा ब्राम्हन भेषमा भीमबाहेक चार भाई कुन्ती घुम्दैफिर्दै एकचक्रा नगरीमा पुगे र एक ब्राम्हन परिवारको घरमा बास बसे । एकचक्रा नगरीका राजा, बकासुरसँग हारेर नगर छोडी गइसकेको थियो । बकासुर नगरमा आतंक मच्चाएको थियो । उसले मनपरी नगरमा आउने र मान्छे मारेर खाने गर्दथ्यो । अनि त्यो नगरका बासिन्दाहरु उसँग सम्झौता गरेका थिए कि गाउँबाट हरेक दिन उसको लागि एक गाडी (बयलगाडा, लह्र्या) खाना जानेछ र गाडी हाँक्ने मान्छे पनि उसको भोजन हुनेछ । भीम एकचक्रा नगरी पुगेकै दिन, भोजन पु¥याउने पालो त्यही ब्राम्हन परिवारको थियो र घरमा रुवावासी चलिरहेको थियो । ब्राम्हन परिवारको कुरा सुनेर कुन्तीले आग्रह गरिन् आफूहरुलाई त्यो परिवारले आश्रय दिई ठूलो गुण लगाएकोले त्यो परिवारको सट्टामा कुन्तीका ५ छोरामध्ये कुनै जाने र बकासुरलाई जितेर आउनेछन्, जितेनन् भने पनि उनका ४ छोराहरु जीवित रहनेछन् । उनले ५ छोरालाई बकासुरबारे बताइन् । ५ भाईहरुमा बकासुरलाई खाना दिन जाने होडबाजी नै चल्यो, तर भीमले आफू जाने अड्डी लिए । उनको तर्क थियो, भिक्षा मागेको खानाले उनको पेट खासै भरिंदैन, फेरी हरेक साँझ बिहान ४ भाईको आधा खानामा मेरो हकदाबी हुन्छ भने चारै भाईको आधा समस्या, संकटमा पनि मेरो हकदाबी लाग्छ, त्यसैले खाना पु¥याउन म जान्छु । उनले बयलगाडा लिएर खाना पु¥याउन गए । तर बकासुर रहेको गुफाकै मुखमा गाडी रोकेर सबै खाना आफैं खाए । बकासुर रिसले आगो भयो र भीमलाई झम्टिन खोज्यो । त्यही बेला भीमले उसलाई मारे । गाउँलेहरु बकासुरलाई मारेर गाउँको रक्षा गरेको अवसरमा ब्राम्हन परिवारलाई सम्मान गर्न पुगे । ब्राम्हनले बकासुरलाई मार्ने त अर्कै ५ जना रहेको बताएपछि गाउँलेहरुले पाण्डवहरुको सम्मान गर्न र ठूलो पर्व मनाउन पाण्डवहरुलाई खोजे । तर पाण्डवहरु अज्ञातबासमा रहेकोले कसैसँग भेटै नगरी एकचक्रा नगरीबाट बाहिरिए भन्ने उल्लेख छ ।  त्यसैगरी अर्को एउटा भनाई छ ‘एकचोटी द्रोपतीसहित ५ पाण्डव सुर्खेतको काक्रेबिहार घुम्न आएका थिए । थारु राजा दङगीशरण ५ पाण्डवका समकालीन थिए र उनीहरुको बिचमा घनिष्ट सम्बन्ध थियो । त्यहीबेला दङगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । त्यतिवेला भीम भर्खर तावामा रोटी हालेका थिए । उनी दौड्दै दङगीशरणलाई सहयोग गर्न गए । रोटी पल्टाउन खोज्दा मान्छेले सकेनन्, रोटी एकातिर मात्रै पाक्यो र जल्यो । त्यसैले कतिपय ब्रतालुहरु एक रोटी एकातिर मात्रै पकाई भीमलाई चढाउने गर्दछन् । भीमले ती शत्रुलाई परास्त गरी दङगीशरणलाई सहयोग गरे । त्यस दिन आइतबार थियो । त्यही बेलादेखि थारु समुदायमा यो ब्रतको शुरुवात भएको हो’ भन्ने भनाई पनि छ ।  अटवारीको समय (कहिले ?)  अटवारी ब्रत थारुहरु किन र कहिलेदेखि बस्न थालेका हुन्, तोकेरै भन्न गार्हो छ । कृष्ण जन्म अष्टमीमा थारुहरु भगवान श्रीकृष्णको पुजा, आराधना र ब्रत बस्दछन् भने अटवारीमा विशेषतः पाँच भाई पाण्डवमध्ये माईला भाई भीमको पूजा गर्दछन् । कृष्ण जन्म अष्टमी (अष्टिम्कि) भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा पर्दछ भने अतवारी ब्रत भाद्र शुक्ल पक्ष (ओजरीया) को पहिलो आइतबार पर्दछ । यो ब्रत कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो आइतबार शुरु गरेर ५ आइतवार, ७ आइतवार वा बर्षभरी बस्न सकिन्छ । थारुहरु पहिलेदेखि भाद्र महिनाको शुक्ल पक्षको पहिलो आइतबारलाई अतवार÷अटवारी मान्ने गरेका छन् । कृष्ण र पाण्डवहरु महाभारत कालका समकालीन योद्धाहरु थिए । महाभारतमा पाण्डवहरुले एकचक्रा नगरीलाई बचाएको अवसरमा गाउँलेहरु यतिबिघ्न खुशी थिए कि उनीहरुको सम्मान गर्न खोजिरहेका थिए । अज्ञातवासकाल भएका कारण पाण्डवहरु नजिक आउन, सार्वजनिक हुन चाहेनन् । तर गाउँको रक्षा गरेकाले गाउँलेहरु उनीहरुलाई भगवान मानिसकेका थिए । तसर्थ थारुहरु यसलाई महाभारतकालदेखि नै मान्दै आएको हुनुपर्दछ भन्ने अनुमान गर्न सकिन्छ ।  अटवारी ब्रत बिधि अटवारीका ब्रतालुहरु वा घरपरिवारले शनिवारका दिन नै तालतलैयामा माछा मार्ने घोंघी वा गँगटो आदिको जोहो गर्दछन् वा मन परेको कुनै पनि चिजको जोहो गर्दछन् । राती कुखुरा बास्नु भन्दा अगावै उठेर अधरतिया। भिन्सर्या (दर) खाने गर्दछन् । यदि खाँदाखाँदै कुखुरा बास्यो भने ब्रत भंग हुन्छ, बस्न पाउँदैनन् । यसलाई कडाईका साथ लागू गरिन्छ । साना बच्चाको हकमा भने यो लागू हुँदैन ।  बिहान घरका महिलाहरु नियमित काम सकिसकेपछि ब्रतका लागि रोटी तयार गर्दछन् । यसमा यदाकदा अन्य परिकार प्रयोगमा ल्याएपनि बिशेषतः चामल वा गहँुको सादा रोटी नै यसको मुख्य पकवान मानिन्छ । प्रायः पकवान बनाउने ब्यक्ति पनि ब्रतालु नै हुन्छन् । कहीं कहीं ब्रतालुहरु एकचोटी दोपहरमा पानीसम्म सेवन गर्दछन् । सूर्यास्त अगावै नुहाउँछन्, सफासुग्घर हुन्छन् र भीमको पूजा गर्दछन् । घरमा ब्रतालुहरु बस्ने ठाउँ गाईको गोबरले लिपपोत गरिएको हुन्छ । ब्रतालुहरु लिपपोत गरिएको ठाउँमा बस्छन् । उनीहरुको अगाडि कन्डा (गुइँठा) को आगो राखिन्छ, धुपीसल्लाको धूलो र घिउ मिलाई तयार गरिएको धूप पनि अगाडी राखिन्छ । पकाइएका सबै परिकारहरु एक भाग ब्रतालुका लागि र अर्को भाग भीमका लागि सबैका अगाडि छट्ट्याएर राखिन्छ । यसरी भीम (देवता) का लागि राखिएको अगाडिको परिकार, भोजनलाई अग्राशन भनिन्छ ।  सबैथोक ब्रतालु र देवताका लागि राखिसकेपछि ब्रतालुहरु आगोमा सल्लाको धूप चढाउँछन् । त्यसपछि तयार भएका सेवन गरिने सबै परिकारहरु पनि आगोमा अलिअलि चढाउँछन् । सफा जल चढाउँछन्, आगोको पुजा गर्दछन् र देवताका लागि छुट्याइएको अग्राशन अलिकति पर सार्छन् । सार्नुको मतलव भीमलाई सुम्पनु, खानका लागि बोलाउनु, आवाहन गर्नु हो । यसरी अग्राशन सारीसकेपछि ब्रतालुहरु आफैं सेवन गर्दछन् ।  बिहान घरमा ३ देखि ७ किसिमका तरकारी पोइँसाग र ठुसा (नपिसिएको मास, मसुरो), तोरियाँ, लौका, खँरिया आदिको तरकारी तयार गर्दछन् । नुहाई धुहाई गरिसकेपछि ब्रतालुहरु गोबरले लिपेको स्थानमा बस्छन् । तयार पारिएका सबै तरकारी भात हरेकको अगाडि राखिन्छ । हरेक ब्रतालुले भीमका लागि हरेक परिकार टपरी, दुनामा राखी छुट्याई आफ्नो अघिल्तिर राख्छन् । ब्रतालुले पूजापाठ नगरेसम्म, भोग नलगाएसम्म घरका अन्य सदस्यले खान बर्जित हुन्छ । ब्रतालुले अघिल्लो दिनजस्तै बिहान पनि गुइँठाको आगो अर्थात अग्नी देवमा सल्लाको धूप चढाउँदछन्, सबै परिकार धूप चढाएको आगोमा अलिअलि चढाउँछन् र भीमका लागि छुट्याएको अग्राशन अलि पर सार्छन् र भीमलाई सेवनको लागि, भोगको लागि अनुरोध गर्दछन् र आफूले सेवन गर्दछन् । देवतालाई भोग लगाएको त्यही प्रसाद, त्यही अग्राशन चेलीबेटीलाई दिन जान्छन् ।  कृष्ण जन्माष्टमीमा ब्रतको दिन बिशेषतः साँझ फलाहार हुन्छ, अन्नाहार हुँदैन । अन्न बार्ने गर्दछन् भने अतवारीमा सूर्यास्त हुनु अगावै अन्नाहार हुन्छ, नून खुर्सानी बर्जित हुन्छ । कृष्ण जन्माष्टमीमा ब्रतालुहरु ब्रतको दिनमा साँझ पूजाआजा गरिसकेपश्चात रातभरी पानी सेवन गर्न सकिने मान्यता छ भने अतवारी ब्रतमा सूर्यास्त अगावै भोग लगाउँदा अन्नाहार नून, खुर्सानीबाहेक हुन्छ र राती सेवन गर्न मिल्दैन । तर कृष्ण जन्माष्टमी होस् वा अतवारी होस्, बिहान चाहिं अग्राशन निकालिन्छ र अन्नाहार नै गरिन्छ । तर चलनचल्तीको भाषामा धेरैले बिहान सेवन गरिने अन्नाहारलाई पनि फरहरा (फलाहार) नै भन्ने गर्दछन् ।  निष्कर्ष  निष्कर्षमा के भन्न सकिन्छ भने थारु समुदायमा अतवारी ब्रतको महत्व ठूलो छ । तर यतिवेला अतवारीप्रति मान्छेहरुको आकर्षण घट्दैछ । आकर्षण कसरी बढाउने चिन्ताको बिषय बन्दै गइरहेको छ । यसबारे सोच्न जरुरी छ ।  ब्रतको कुरा गर्ने हो भने थारुहरु अष्टिम्कीमा कृष्ण लगायतका पूजा गर्दछन् भन्ने कुरा अष्टिम्की टिकाईबाट प्रष्ट हुन्छ भने भाद्र महिनाको शुक्ल पक्षको पहिलो आइतवार भीमको पूजा हुन्छ । यद्यपि आइतवार भनेको रविबार हो, रबि अर्थात सूर्य भगवान । त्यसैले अटवारीमा थारुहरु सूर्य भगवानको पूजा गर्दछन् होला भन्ने सबैको अनुमान हुन्छ । तर पुर्खा पुरनीयाहरुलाई सोद्धा उनीहरु सूर्यको पुजा गरेको कुरा कहिल्यै भन्दैनन्, भेंवाको पुजा गरेको बताउँछन् । पुर्खाहरुले भनेको मान्ने हो भने अतवारीमा भीमको पूजा आराधना गरिन्छ, तर हिन्दू धार्मिक ग्रन्थलाई मान्ने हो भने सूर्य भगवानको पूजा आराधना गरिन्छ, यही सत्य हो । तर थारुहरुको फरकपन, आफ्नोपन भनेको पुर्खाहरुले भन्ने गरेको कुरामा देखिन्छ । फेरी इतिहास हेर्दा भीम कुनै साधारण मान्छे थिएनन्, उनी पवन पुत्र थिए, भगवान हनुमानका भ्राता थिए, उनमा ७ हजार हात्ती बराबरको बल थियो । जसले आफूमाथि अन्याय गर्ने, अंश नदिने, अधिकार नदिने सय भाई कौरबलाई एक्लै संहार गरेका थिए । बकासुरलाई बध गरी एकचक्रा शहरलाई मुक्ति दिलाएका थिए । जरासन्ध जस्ता बलशाली र मायावी दानवलाई संहार गरी बन्दी राजाहरुलाई मुक्ति दिलाएका थिए । ती महाबलशाली भीम जसले धेरै दुखी दरिद्रका लागि भगवान भएर खडा भए, थारु राजा, थारुचेलीबेटीलाई सहयोग गरे, थारु गाउँको रक्षा गरे, तिनलाई नपुजेर कसलाई पुजून् थारुहरु ? थारु समुदायमा उनको ब्रत, उपबासले अहिले पनि मानिसहरुको दुःख दरिद्र दूर हुन्छ, चिताएको फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । भीमलाई छुट्याइएको अग्राशन चेलीबेटीलाई प्रसादको रुपमा दिइँदा, चेलीबेटीहरुले त्यसलाई सेवन गर्दा उनीहरुको पनि दुःख, पीडा नष्ट हुन्छ, मनोकामना पुरा हुन्छ, दीर्घायु हुन्छ भन्ने जनविश्वास छ । भीमको पुजा आराधना भाद्र शुक्ल पक्षको पहिलो आइतवार मात्रै हुँदैन, उनी मरुवा÷ठनवामा ग्रामदेवताको रुपमा समेत पुजिन्छन् ।