थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

३९९ दिन अगाडि

|

२७ पुष २०८०

डिहवार थान जोगाउन जाग्दै मोरङ्गिया थारूहरू

डिहवार थान जोगाउन जाग्दै मोरङ्गिया थारूहरू

४०२ दिन अगाडि

|

२४ पुष २०८०

थारु समुदायको पहिचान र अस्तित्व रहेको ग्रामथान (डिहवार थान) ले चर्चेको जग्गा अतिक्रमणमा पर्दै सुनसरीमा ग्रामथान संकटको अवस्थामा गुज्रिरहदा मोरङ्ग जिल्लामा पनि समस्या देखिएको छ । नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह लाहुर्निपको आयोजनामा ग्रामथान समस्या प्रतिको छलफल कार्यक्रममा विभिन्न विकासको नाममा ग्रामथानको जग्गा अतिक्रमणमा परेको र त्यसले विस्थापित र संकटकै अवस्थामा पुगेको गहदार थानपतिहरुले उठान गरेका छन् । मोरङ्गको सुनवर्सी नगरपालिका वडा नं। ९ भेरवा टोल स्थित रहेको भेरवा ग्रामथानको ६१ बिगहा जग्गा ब्यक्ति र बिद्यालयको नाममा अतिक्रमण भएको ग्रामथान संरक्षक चन्द्र प्रसाद राजवंशीले बताए । त्याहा तिन भाई रहेको भेरवा, मदन र चन्दन जलकर ग्रामथानले चर्चेको ६१ बिगहा जग्गामा हाल २ बिगहा मात्र रहेको जनाए । सो जग्गा बिद्यालय, वडा कार्यालय, नगरपालिकाले अतिक्रमणगरी स्वयम ग्रामथान विकासमा बाधा पुर्याई रहेकोले त्याहा स्थानीय वासी चिन्तित रहेको भन्दै समस्या सामाधानका लागि पहल गर्न संरक्षक तथा थानपति राजवंशीले अनुरोध गरेका छन् । सो ग्रामथानमा एक हजार भन्दा बढी घरघुरीले परापूर्वकाल देखि पूजाअर्चना गर्दै आएको छ । बिराटनगर ४ खारजी टोलको बुडवा ग्रामथानले चर्चेको जग्गा ६ कठ्ठामा १५ धुर खुम्चिएको त्यसमा पनि ब्यक्तिले १० फिट मिचेको संरक्षक दिलिप चौधरीले बताए । बिराटनगर ८ भलवाही टोलको राजा जस्मन ग्रामथानको बाटो मिचिएको भन्दै आउजाउ गर्न बाटो समेत नरहेको बताए । बिराटनगर ४ को ज्वला टोलमा रहेको ग्रामथानको जग्गा मिचेको पाँचु थन्दारले बताए । राजा धनपाल ग्रामथानबाट गाउँपालिका नामाकरण गर्दा राजा हटाएर धनपाल मात्र राखेर पहिचान मासेको बताए । बिराटनगर ४ को मधुग्रामथान, बिराटनगर ८ का कोचारखाल ग्रामथानको साविक बाटो मिचेर नम्बरी दर्ता गरेकोले नीतिगत रुपमै बाटो निकासका लागि संरक्षक चन्द्रनारायण बिश्वासले सहयोग माग गरेका छन् । ग्रामथान संकटमा पर्दा लोप हुने अवस्थामा ग्रामथान संग जोडिएको जतिपनि चर्चेको जग्गा थारु समुदायको साँस्कृतिक भूमि ब्यक्ति वा राज्यले मास्न नपाइने नेपालको ऐन र नीतिमै रहेको भन्दै थारु समुदाय जागरुक भएर खोजी नीतिगरी संरक्षण गर्न सकिने लाहुर्निपका सचिव भिम राईले प्रशिक्षण गर्दै जानकारी गराए । भूमि सबन्धि ऐन २०२१ सालमा ल्याएर जग्गा नापी, कित्ता र हकवाला बनाईयो तर त्यो भन्दा पहिले बर्षौ देखि थारु समुदायको वसोवास र ग्रामथान रहिआएको छ भने पर्ती जग्गामा रहेको ग्रामथानको बाटो हालमा मिचेको अवस्था हुँदा पहिलेको श्रेष्ता र अहिलेको आधारहरुको प्रमाण जुटाएर फिर्ता गर्न सकिने कानूनी प्रावधानको बारेमा लाहुर्निपबाट परामर्श दिएका छन् । परामर्शपछि उपस्थित थानपति, गहदार, जेवार, संरक्षकहरुले ग्रामथन संरक्षणमा लड्ने भिड्ने प्रतिबद्धता गरेका छन् । ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन कानूनि परामर्श सहित समुदाय संगठित भएर अगाडी बढ्दा ग्रामथान संरक्षणमा थप बल पुग्ने उधेश्यले ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन गरेको छ । श्री ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरीको सभापतित्व र जिल्ला संयोजक महिनारायण दासको संयोजकत्व लगायत आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष दिलबहादुर थेवे, लाहुर्निप अध्यक्ष दिनेश घले र सचिव भिम राईको उपस्थितीमा तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा चन्द्र प्रसाद राजवंशी सुनवर्सी नगरपालिका ९, उपाध्यक्ष सोमनलाल माझी, बिराटनगर ४ खारजी, उपाध्यक्षमा राजकुमार राजवंशी बिराटनगर ८ भलवाही, सचिवमा दिलिप चौधरी बिराटनगर ४ खारजी, सहसचिवमा लालबहादुर ताजपुरीया सुनवर्सी नगरपालिका ६, कोषध्यक्षमा चन्द्रनारायण विश्वास बिराटनगर ५ का समितिमा पदाधिकारी चयन भएका छन् । सदस्यहरुमा कारु गच्छदार धनपाल गाउँपालिका, लग्नु राजवंशी बिराटनगर १४, रामसिंह राजवंशी बिराटनगर ८,जयप्रकाश राजवंशी बिराटनगर ४, भागवान वेस्रा जहदा गाउपालिका ७, रामदेव राजवंशी बिराटनगर ४ खारजी, गीता कुमारी राजवंशी रंगेली १ समितिका सदस्यमा चयन भएका छन् । समितिको सल्लाहकारमा दिलबहादुर थेवे, सावित्री चौधरी, अधिवक्ता राजकुमार राजवंशी, पत्रकार सुनिल चौधरी रहेको जानकारी दिए । ग्रामथान संरक्षण जिल्ला समितिले ग्रामथानको साझा मुद्धामा ग्राथान स्तरीय समिति गठन गर्दै गहदार, थानपति, समुदायलाई संगठित गर्दै लाने समितिका अध्यक्ष चन्द्र प्रसाद राजवंशीले जानकारी दिए । रामधुनी खबरबाट

कपाल काट्ने व्यावसायमा थारू युवाहरूको छलाङ

कपाल काट्ने व्यावसायमा थारू युवाहरूको छलाङ

४३७ दिन अगाडि

|

१८ मंसिर २०८०

                                                                                      वसन्त चौधरीको सैलुन र वसन्तले कपाल काटेरै बनाएको घर सन्तोष दहित दाङको घोराही उपमहानगरपालिका-१७, गुलरिया गाउँका ११ जना युवा अहिले घोराही बजारका विभिन्न ठाउँमा सैलुन सञ्चालन गरेर मनग्ये आम्दानी लिइरहेका छन्। तीमध्ये एक हुन्, वसन्त चौधरी। उनले २०६४ सालदेखि घोराहीको तुलसीपुर चोकमा सैलुन व्यवसाय गर्दै आएका छन्। वसन्तले आफ्ना नियमित ग्राहक बनाएका छन्, जो अरू सैलुनमा जाँदै जाँदैनन्। सैलुन व्यवसायबाट उनले मासिक करीब एक लाख कमाउँदै आएका छन्। यो डेढ दशकको अवधिमा उनले दाह्रीकपाल काटेरै घरखर्च चलाए। भाइबहिनी र छोरालाई पढाए। जग्गाजमीन जोडेर घर समेत बनाए। घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न नपाएका वसन्त कुनै वेला खाडी मुलुक छिर्ने योजनामा थिए। तर गाउँका एक दाइ पर्नेले उनलाई विदेश जानुभन्दा स्वदेशमै बसेर सैलुन खोल्न सुझाव दिएपछि गाउँकै दाइ धर्म चौधरीसँग कपाल काट्न सिकेर उनले घोराहीमा सैलुन सञ्चालनमा ल्याएका थिए। “आत्मनिर्भर भएसँगै छिमेकी गाउँका दुई दर्जनभन्दा बढी युवालाई यही सीप सिकाएर स्वरोजगार बनाएको छु,” उनी भन्छन्। अहिले पनि उनको सैलुनमा गाउँका दुई जनाले रोजगारी पाएका छन्। लगनशीलता, निरन्तरता र मेहनत गर्ने हो भने यो व्यवसायबाट थोरै लगानीमा मनग्ये आम्दानी हुने उनी बताउँछन्। यद्यपि यो पेशामा आउन जोकोही लाज मान्ने गरेको उनको अनुभव छ। घोराहीकै दीपशिखा चोकमा गुलरिया गाउँकै विपिन चौधरीको सैलुन छ। विपिनको दंगाली हेयर कटिङ सैलुनमा पनि उनी सहित छिमेकी गाउँका अरू दुई जना काम गर्छन्। काम भ्याइनभ्याइ हुन्छ। बजारमा १५० भन्दा बढी सैलुन छ। विपिनकै सैलुन वरपर अरू दुई वटा सैलुन पनि छन्। तर ग्राहकको रोजाइमा विपिन नै पर्छन्। भारतीय वा जिल्ला बाहिरका मानिसले सञ्‍चालन गरेका सैलुनमा स्थानीय जान रुचाउँदैनन्, बरु घन्टौं कुर्न नै किन नपरोस्। गुलरिया गाउँकै धर्म चौधरीको सैलुन पाठक चोकमा छ। उनले पनि घरखर्च निकालेर छोराछोरीलाई पढाई राम्रो बचत गर्दै आएका छन्। धर्मबाटै वसन्त र विपिनले कपाल काट्न सिकेका हुन्। धर्म पनि आफ्ना चेलाहरूको व्यवसाय चलेको देखेर खुशी छन्। “अरू गाउँका युवा खाडी मुलुकमा छन् तर हाम्रो गाउँका युवा स्वदेशमै बसेर आफ्नो व्यवसायमा रमाएको देख्दा खुशी लाग्छ। त्यो पनि आफूले सिकाएको सीप अँगालेको देखेर,” उनी भन्छन्। कपाल काट्न नाम दर्ता दाङको दंगीशरण गाउँपालिकामा एउटा सैलुन छ- निशान हेयर कटिङ। यहाँ दाह्रीकपाल काट्न दिनहुँ यति भीड लाग्छ कि झट्ट सुन्दा अपत्यारिलो लागे पनि कि फोन गरेर कि त सैलुनमै पुगेर नाम टिपाएपछि मात्रै पालो पाइन्छ, त्यो पनि दुईतीन दिनपछि। सैलुनका सञ्‍चालक शोभाकर चौधरी दिनहुँ भीड लाग्न थालेपछि ग्राहकको नाम दर्ता गराएर दाह्रीकपाल काट्न थालेको बताउँछन्। “गाउँघरका सबै चिनजानका छन्, सबैले पहिला मेरो काटिदिनुस् भन्छन्,” उनी भन्छन्, “मेरा लागि सबै ग्राहक भगवान् हुन्, सबै बराबर। कसैलाई काखापाखा नहोस् भनेर नाम दर्ता गराएर दाह्रीकपाल काट्दै आएको छु।” नाम टिपाउने व्यवस्था लागू भएपछि ग्राहकहरू पनि खुशी भएको शोभाकर बताउँछन्। ज्येष्ठ नागरिक र असहायलाई भने आएकै दिन सेवा दिएर पठाउने गरेको उनी बताउँछन्। “जसलाई दाह्रीकपाल काट्नु छ, उसले दुई दिनअघि नै नाम दर्ता गराउँछन्। सोही अनुसार आलोपालो कपाल काट्दै आएको छु,” उनी भन्छन्। शोभाकरको सैलुनमा कपाल काट्ने पालो आफूले दुई दिनपछिका लागि पाएको दंगीशरण गाउँपालिका-४ का पूर्व वडाध्यक्ष समेत रहेका नेपबहादुर कुँवर बताउँछन्। तुलसीपुर गएर कपाल कटाउन सकिने भए पनि शोभाकरले त्यहाँभन्दा राम्रो र सस्तो सेवा दिने गरेकाले पनि दुईतीन दिन पर्खेर यहीं कटाउने गरेको उनी बताउँछन्। स्थानीय कालुराम चौधरी पालिकामा एउटै सैलुन भएकाले पनि भीड लाग्ने गरेको बताउँछन्। उनका अनुसार दंगीशरणका करीब १० गाउँका मानिसको दाह्रीकपाल शोभाकर एक्लैले काट्दै आएका छन्। शोभाकरले गाउँमै सैलुन व्यवसायबाट मासिक ६० हजारभन्दा बढी कमाउँदै आएका छन्। उनले कपाल काटेको १०० र दाह्री काटेको ८० रुपैयाँ लिंदै आएका छन्, जुन तुलसीपुर बजारमा लाग्नेभन्दा कम शुल्क हो। हिमालखबरबाट ।

दाङ, कर्जाहीका गुमनाम ‘इन्दिरा गान्धी’ हरू

दाङ, कर्जाहीका गुमनाम ‘इन्दिरा गान्धी’ हरू

४४० दिन अगाडि

|

१६ मंसिर २०८०

                             दाङको किसान आन्दोलनमा होमिएका कर्जाहीका महिलाहरू। तस्वीर : नेपाल पिक्चर लाइब्रेरी/निशा राई निशा राई  कहिले जमीनदार विरुद्ध धावा बोल्दै त कहिले प्रहरीसँग पौंठेजोरी गर्दै ज्यानको परवाहै नगरी चार दशकअघिको किसान आन्दोलनमा होमिएका दाङ कर्जाहीका कर्मवीर महिला अहिले गुमनाम जीवन बाँचिरहेका छन्। ६ वर्षअघि मोटरसाइकलको पछाडि सीटबाट खेतका फुलेका तोरी नियाल्दै दाङको कर्जाही गाउँ पुगेकी थिएँ। शायद शरद्को एक महीना थियो, कर्जाही सुवर्णमय देखिन्थ्यो। मोटरसाइकलवाला थिए, कर्जाहीकै लौधन चौधरी। नेपाल पिक्चर लाइब्रेरीको ‘फेमिनिस्ट मेमोरी प्रोजेक्ट’ का लागि नेपालमा महिलावादको इतिहास खोतल्ने क्रममा मैले कर्जाही आन्दोलनबारे थाहा पाएकी थिएँ। कर्जाही आन्दोलनमा अधिकांश महिला जुटेका थिए। त्यसैले पनि म कर्जाहीका पात्र भेट्न सम्बन्धित भूगोलमै पुगें। लौधन मलाई लिन घोराही आएका थिए। घोराहीबाट अघि बढेको बाइक कर्जाहीको झुरुप्प परेको थारू बस्तीमा टक्क रोकियो। नजिकै धारामा एउटी १५/१६ वर्षकी किशोरी नुहाइरहेकी थिइन्। बेपरवाह। झन्डै झन्डै निर्वस्त्र। पानीले भिजेको पातलो पेटिकोट कम्मरसम्म दोबारेकी थिइन्। वक्षस्थललाई हातले मिचिमिची मस्त नुहाइरहेकी थिइन् उनी। वरपर तन्नेरी केटाहरू तासमा रल्लिरहेका थिए। तास खेल्नेहरूको नजिकै बसेका एक जनाको आँखा चाहिं किताबका अक्षरमा दौडिरहेका थिए। उनी लौधनका जेठा छोरा रहेछन्, ओभरसीयर बन्ने तयारी गरिरहेका। लौधनले आँगनमा बाइक रोके। रातो माटोमाथि गोबरले लिपेको सानो चिटिक्क परेको घर थियो त्यो। पाहुना अनुहार देख्नासाथ लौधनकी श्रीमती आश्माकुमारी खाना पकाउन जुटिन्। आश्माकुमारी गाउँका महिलामाझ परिचित नाम हो। “झन्डै समानुपातिकमा सांसद चुनिन लागेकी थिइन्,” उनलाई खाना पकाउन सघाउँदै गरेकी महिलाले सुनाइन्। “अनि के भो त?” मैले सोधें। “प्रस्तावमा परेको तर मनोनयनमा छुटिन्,” धार नलागेको चुलेसीमा भिन्डी च्वाट्ट पार्दै ती महिलाले भनिन्। क्षणभरमै एक हुल महिला भेला भए। कर्जाहीको भूमि आन्दोलनमा होमिएका ती महिलाहरू लौधन र आश्माकुमारीले बोलाएकाले आन्दोलनबारे कुरा गर्न आएका थिए। लौधनको भान्छा बाहिरको बैठक कोठामा बसेर उनीहरूले एकपछि अर्को गर्दै आफ्नो कथा सुनाए। पत्थरकली उर्फ इन्दिरा गान्धी २०३६ सालतिरको कुरा हो। दाङमा किसान आन्दोलन चर्किरहेको थियो। दंगाली किसान जमीनदार विरुद्ध आन्दोलनमा थिए। तिनै आन्दोलनरत किसानको भीडमा पृथक् पहिचान बनाएर अघि बढ्दै थिइन्, पत्थरकली। मक्किन लागेको नीलो फरिया लगाएर टूलमा बसिरहेकी थिइन् उनी। उज्यालिएकी थिइन्। “म खतियामा बसेकोथें, हान्न मार्न आए भित्रै,” बसिरहेको टूलबाट झट्टै उठेर भनिन्। आन्दोलनका वेला एक पटक १५/१६ जनाको प्रहरी टोली उनलाई पक्रन आएको रहेछ, उनले त्यही सन्दर्भबाट कुरा शुरू गरिन्। प्रहरी आएपछि “छत्! तिमीहरू के देखुन्, मर्दाना मान्छेहरू छत्” भन्दै पूरै दादागिरी शैलीमा पत्थरकली आफ्नी भतिजी आश्माको कोठाभित्र पसिछन्। प्रहरी आँगनमा ढुकेर बसेछन्। केही बेरपछि ढोकामा निशाना ताकेर प्रहरीले भनेछन्, “अब बन्दूक छोड्छु।” कोठाभित्र पत्थरकली र भतिजी आश्मा सँगै थिए। यी दुई काकीभतिजी हुन्, मिल्ने साथी पनि हुन्। घरभित्र दुई केटी, बाहिर बन्दूक भिरेका प्रहरी। तर पनि पत्थरकली डगमगाइनन्। बरु सिंह जस्तै गर्जिइन्, “हे सरकारका कुकुर! छोड् बन्दूक अहिले। गरीबको छातीमा ल छोड् बन्दूक, तैंले कति छोड्छस्,” पत्थरकलीले भित्रैबाटै हुङ्कार गरिन्। अब प्रहरीसँग भिड्नुको विकल्प थिएन। पत्थरकलीले पनि एउटा लट्ठी उठाइन्। “आश्मा, नङगी र उदुवालाई छोड्दे, यो दुई वटा सिपाहीसँग म आफैं लडछु।” नङगी र उदुवा भोटे कुकुर हुन्। कर्जाहीमा अर्को भोटे कुकुर पनि थियो- घोडवली। आश्माले कुकुर खोलिदिइन्। पत्थरकलीले प्रहरीमाथि अन्धाधुन्ध लट्ठी बजार्न थालिन्। अरू प्रहरी र जमीनदारहरू भोटे कुकुरको भुकाइ र टोकाइको डरले भागे। “त्यही वेला हो लट्ठी भेटाउने पुलिसले मेरो नाउँ इन्दिरा गान्धी राखेका। म इन्दिरा गान्धी जस्ती छु रे! मेरो हलो काटिदिनेको हात नै भाँचिदिएँ। अझ लिखपढ भइदिएको भए म कस्तो हुन्थें होला। डाँकाहरू सब तह लाउँथे होला हगी!” भिडन्तको विजय सम्झँदै सगर्व मुस्कुराइन् पत्थरकली। त्यसपछि सात-आठ दिनजसो करीब एक दर्जन जति प्रहरीको टोली कर्जाही चहार्थे। त्यस वेला पत्थरकलीले भोको पेटमै पौंठेजोरी गर्दै प्रहरी खेदेकी थिइन्। पत्थरकलीका दाजु ठग्गु चौधरी भूमिकै लागि आन्दोलनरत हुँदा पक्राउ परेका थिए। पत्थरकली हप्तैपिच्छे थुनामा रहेका दाइ भेट्न फचकपुरमा रहेको प्रहरी चौकी पुग्थिन्। पत्थरकलीबाट कुटाइ खाएका प्रहरी उनलाई हेर्दै भन्थे, “यो इन्दिरा गान्धी हो। यसलाई सक्दैनौं।” चौकीका एक-एक प्रहरी पत्थरकलीलाई नेपालकी इन्दिरा गान्धी भन्थे। तर पत्थरकलीलाई नै चाहिं इन्दिरा गान्धी को हुन् भन्ने थाहापत्तो थिएन। अहिले पनि उनलाई ‘इन्दिरा गान्धी भारतको ठूलो महिला नेता हुन्’ भन्ने मात्रै थाहा छ। “पुलिसले राखेको नाउँ हो यो मेरो। म पुलिसलाई काटेर फाल्छु भन्थें। सम्झिंदा नि आनन्द लाग्छ त्यो आन्दोलन। तिनीहरूले हाम्रो हलो काटिदिए। चित्त दुख्यो नि म किसानकी छोरीलाई,” उनले आन्दोलनको उद्देश्य सुनाइन्, “हुम आफ्नो हकहितका लागि लडेका थियौं। आफ्नो जग्गाको मोहियानीका लागि लडेका हौं के!” दाङको किसान आन्दोलनमा होमिएका महिलाहरू (नाम अज्ञात)। तस्वीर : नेपाल पिक्चर लाइब्रेरी/निशा राई आन्दोलन गरेकाले अहिले आफ्नै जमीनमा हलो जोत्न पाइएको उनी सुनाउँछिन्। यो अनुभव साटिरहँदा उनको छाती ढक्क फुलेको थियो। पत्थरकलीजस्तै आश्मा चौधरी पत्थरकलीपछि उनकी भतिजी आश्माले पनि आफ्नो कथा सुनाइन्।  “पहिला त पहाडीहरूको बहुतै डर। पानी चहार्न जाँदा डर। त्यस वेला त कस्तो भने पहाडीले हान्छ, मार्छ भन्ने मात्रै डर,” आश्माले भनिन्। २०३६ सालतिर आश्माहरूले जोत्ने भूमिको स्वामित्व पहाडी जमीनदारहरूसँग हुन्थ्यो। थारूले वर्षभरि जोत्थे, फसल पाक्थ्यो तर उनीहरूको पेट आधा मात्र भरिन्थ्यो। जमीनमा हक लाग्दैनथ्यो। पछि त जमीनदारहरूले हलो जोत्नै नदिएपछि उनीहरूले माटाको महत्त्व थाहा पाएका थिए। त्यसैले आश्माले पहाडी भनेर कुनै समुदायविशेषलाई जनाएकी होइनन्, माटो कैद गर्न खोज्ने जमीनदारलाई इंगित गरेकी हुन्। पत्थरकली, आश्मा र कर्जाहीका अरू थारू महिलाहरू आन्दोलनका दिनमा पैदलै २९ किलोमिटर टाढाको बिजौरीसम्म पुग्थे। बिजौरीमा जमीनदारहरूको घर थियो। “अहिलेका केटकेटी त क्यै गर्दैनन्, हामी त खानका लागि आन्दोलन गर्या हम हगी केवला!” भुइँमा थचक्क बसिरहेकी केवलातिर इशारा गर्दै आश्माले भनिन्। आन्दोलनका वेला कर्जाहीमा हप्ता दिनसम्म प्रहरी र थारू किसानहरूको भिडन्त चलिरहन्थ्यो। प्रहरीहरू राति राति आएर घरका सरसामान तोडफोड गर्थे। पाकेको खाना रछ्यानमा हुर्‍याइदिन्थे। राम्रा भाँडाकुँडा छानी छानी लग्थे।  एक पटक त प्रहरीले आश्माका मामा प्रेमलाल चौधरी र भाइ रामप्रसाद चौधरीलाई पनि पक्रेर लगेको थियो। घटनाको भोलि पल्टै सुकुवारी गाउँको प्रहरी कार्यालय पुगेर आश्माले अपशब्द सहित ‘कपाल पाकिसकेको मेरो बूढा मामालाई किन ल्याइस्?’ भन्दै थर्काएकी थिइन्। पहाडी जमीनदार प्रहरीलाई ‘हजुर’ भन्थे। आश्माले मुखै छाडिदिइन्। यो घटना सम्झँदा बहुतै आनन्द मान्छिन् उनी। “प्रेमलाल मामा र रामप्रसाद भाइलाई हतकडी लाएर थानामा राखेका थिए। काका ठाकुरामलाई पनि हतकडी लगाएर थानामा राखेको देखें। पत्थरकली, केवला, शान्ति, श्यामकला, सुसकला र लक्ष्मी सबैले हाम्रो मान्छेलाई छोडछौ कि के गर्छौ? भने,” आश्माले घटनाको बेलिबिस्तार लगाइन्, “म पनि मामालाई नछाडे काटेर फाल्दिन्छु भन्दै प्रहरीसामु जंगिएँ।” भोलि पल्ट प्रमुख जिल्ला अधिकारी सहित प्रशासन र कर्जाहीका महिलाबीच वार्ता भयो। चोरले झैं प्रहरीले घरका सरसामान र खाना चोरेर लगेको पुष्टि भयो। कुटपिट गरेको र पक्राउ पुर्जी विना मान्छे समातेको भनेर आश्मा बाझिन्। दुई पक्षकै छलफलमा प्रहरीको गल्ती ठहरियो। प्रहरीले माफी मागेर उनीहरूका आफन्त छोड्ने सहमति भयो। “म २५ वर्षे आइमाइको धम्क्याइँकै डरमा मामाहरूलाई छोडिदियो पुलिसले,” अट्टहास सहित उनले सुनाइन्, “हाम्रो अद्‌भुत शक्ति थियो भन्थे पछि पुलिसहरू।” आफूहरूले २०३६ सालमा गरेको आन्दोलनकै कारण जमीन जोत्न पाएको आश्माको बुझाइ छ। यस्ता आन्दोलन फेरि गर्नुपरे पनि आफू तयार रहेको बताउँछिन् उनी। “अझै पनि तागत छ। फेरि लड्न परे लडुँला लाग्छ,” उनले भनिन्। पहाडीको गन्ध थाहा पाउने नानची चौधरी कर्जाहीमा पहाडीको चालको गन्ध पनि थाहा पाउँथिन् रे नानची।  “पहाडीको गन्ध कस्तो हुन्थ्यो?” मैले सोधें।  दाङको किसान आन्दोलनमा होमिएका महिलाहरू (नाम अज्ञात)। तस्वीर : नेपाल पिक्चर लाइब्रेरी/निशा राई “जसको शरीरबाट पसिनाको गन्ध आउँदैन,” उनले जवाफ दिइन्, “गन्ध आउने त हामीहरूको पो! जो माटोमै जोत्छ, माटोमै पसिना बगाउँछ र माटोकै लागि खून पनि बगाउन सक्छ।” आन्दोलनका वेला दाङका एक कम्युनिस्ट पृष्ठभूमिका नेता नेत्रलाल पौड्याल गाउँका किसानलाई सामन्तवाद विरुद्ध जाग्नुपर्छ भन्थे। महिलाहरू जागेका पनि थिए। तर जमीनको आन्दोलनले जहान तितरबितर भइरहेको थियो। कतिपय आन्दोलनकारी हतोत्साही पनि भएका थिए। नानची भने त्यस्ता महिलामा उत्साह जगाइराख्न गीत गाउन थालिन्। केवला चौधरी मादल ठोक्थिन्, इन्दिरा चौधरी नाच्थिन्। उनीहरूले महीनौंसम्म गाउँदै गाउँलाई पहरा दिए। उनीहरूले गाएको गीत यस्तो थियो : कहा रे उठी जागी किसान दाजु भाइ जबसम्म रहल दि सामन्तीले दुख दिइ उठ जनता उठ जिमिन्दार के विरोध गर्न उठ आन्दोलनको तेस्रो दिन आन्दोलनबारे निर्मला चौधरी, सीताकुमारी चौधरी र केवला चौधरीको पनि आआफ्नै अनुभव छ। निर्मलालाई आन्दोलनको तेस्रो दिन अझै सम्झना छ। त्यस दिन जमीनदारहरूले निर्मला लगायतलाई रक्ताम्य पारेका थिए। निर्मला र केही साथी वरपरका गाउँ क्वाडी, पचुखा, पक्वैचौमा गुहार माग्न समेत धाएका थिए। त्यस वेला निर्मला आफ्नो बच्चालाई पिठ्युँमा बोकेरै गाउँ गाउँ पुगेकी थिइन्। सखी बेलकेशरी र उनले अरू महिलालाई आन्दोलनमा साथ दिन आह्वान गरेका थिए। कर्जाहीमा जमीनदारहरूको तीन-चार घरधुरी थियो। उनीहरू जमीनदारको घरमै पुगे। खोसिएका हलो, कोदालो सब फिर्ता लिए। घर फर्किए।  खिरिते गाउँमा जमीनदार रणबहादुर पछाईको घर थियो। निर्मला रणबहादुरको घरको बुइगलमा गइन्, बारूद भरिन् अनि बन्दूक पड्काइन्। यसपछि जमीनदारहरूको भागाभाग भयो। “मारकाट हुनलाग्या थियो। सबै मान्छेहरू लडाइँ गर्दै थिए। गाउँका सबै महिला थिए। जिमदारहरूले अचम्म माने। भागाभागको माहोल भयो,” अर्की आन्दोलनकारी सीताकुमारीले थपिन्, “केको डर। फेरि पनि आफ्नो अधिकारका लागि जान्छु म।” केवलाको अनुभव पनि कम छैन। उनले त्यस दिन आफूमाथि हातपात गरिरहेका प्रहरीको राइफल नै खोसेर हिर्काएकी थिइन्। विवाहको कथा कर्जाहीका कर्मवीरहरूले स्मरण भएसम्म आन्दोलनका स्मृति सुनाए। भित्र भान्छाबाट लौधनकी श्रीमती आश्मा आइन्। उनले स्टीलको ग्लासमा रक्सी ल्याएकी रहिछन्। आश्माले बैठक कोठामा भएका सबै महिलालाई रक्सी दिइन्। उनीहरूले स्वाट्टै पारे। अब सुन्न बाँकी कथा र जान्न बाँकी अध्याय आश्माकै थियो। आश्माले ३३ वर्षको उमेरमा विवाह गरेकी रहिछन्। उनलाई विवाहमा रुचि थिएन। घरगाउँमा जोकोहीले पनि ‘किन बिहे नगरेको?’ भनेर सोध्ने गर्थे। खासमा आश्माका मामाका छोरा हुन् लौधन। तर बिहेको प्रश्न अति नै भएपछि एक दिन लौधनले भन्दिए, “मेरो दिदीलाई मै विवाह गर्छु।” यसरी मामाका छोरा र फुपूकी छोरी श्रीमान्‌-श्रीमती भए। दम्पती हुन्, वेलावेला खटपट त हुन्छ नै। त्यति वेला आश्मा लौधनलाई ‘भाइ त होस्’ भन्दै हातले इशारा गर्दै कुरा मिलाउँछिन्। “मैले भनेको मान् भनेर हकार्छु। कुरा मिलिहाल्छ,” खितखिताउँदै उनले भनिन्। लौधनलाई श्रीमान्‌का रूपमा छुट्टै ओहोदाको सम्मान दिनुपर्ने झन्झट पनि आश्मालाई कहिल्यै आइलागेन। “अधिकांश विवाहमा महिला कान्छो उमेरको र पुरुष जेठो उमेरको हुने रहस्य पनि यही हो,” उनले ठोकुवा गरिन्। पत्थरकली उर्फ इन्दिरा गान्धीको विवाह पनि करकापमै भयो, बिरामी आमाले ढिपी कसेपछि। तर विवाहपछिको सम्बन्ध टिक्न सकेन। पत्थरकली पहिलो वर्षमै माइती फर्किइन्।  “विवाह किन टिकेन?” मैले सोधें। “म कस्तो ज्याद्री छु। पुलिसको हाँत भाँच्देको। लोग्नेको कुटाइ खाएर बसें होला त? म जस्तो आइमाईको बिहे उवेला नि टिकेन। अहिले नि टिक्दैन,” उनले सुनाइन्। वैवाहिक जीवनमा आफूलाई दासी जस्तो महसूस गरिन्। श्रीमान्‌लाई छोडेर माइतीमा स्वतन्त्र गुज्रिरहेको छ अहिले उनको बुढ्यौली जीवन। गूगलमा नभेटिने महिलावादी नेपालको अनेक आन्दोलनमा महिला सहभागिता भए पनि उनीहरूको योगदान लेखिन छुट्दै आएको छ। अहिले भने कर्जाहीका बागी महिलाहरूको कथा र भोगाइ सार्वजनिक जीवनमा महिला पुस्तकमा तस्वीर सहित छापिएको छ। कर्जाहीका महिलाको कथालाई मैले बारम्बार नेपालको महिलावादी आन्दोलनसँग पनि जोड्न खोजें। “तपाईंहरू महिलावादी हो?” मैले सोध्दा उनीहरू एकस्वरमा भन्थे, “होइन, हामी त अस्तित्ववादी हौं। माटोको अस्तित्व र आफ्नै अस्तित्वका लागि लडेको।” उनीहरूले यसो भनिरहँदा मैले काठमाडौंका थुप्रै महिलावादीलाई सम्झिरहेकी थिएँ। एक जना त अन्तर्राष्ट्रिय स्तरकै ‘फेमिनिस्ट’ छिन्। उनलाई तपाईंले गरेका कामहरू भन्दिनुस् न भन्दा “डिड यू गूगल मी?” भनेकी थिइन्। तर गूगलमा नभेटिने खाँटी फेमिनिस्टहरू चाहिं देशका कुनाकाप्चामा गुमनाम छन्। जसरी कर्जाहीमा गुमनाम बाँचिरहेका छन् थारू महिलावादीहरू। हिमालखबरबाट  

आठ वर्षकै उमेरमा बिहे गरेकी सुनिता मोचीले यसरी गरिन् सांसदसम्मको यात्रा

आठ वर्षकै उमेरमा बिहे गरेकी सुनिता मोचीले यसरी गरिन् सांसदसम्मको यात्रा

४७७ दिन अगाडि

|

९ कात्तिक २०८०

तराईमा पहिले पहिले बालविवाह सामान्य मानिन्थ्यो । सांसद सुनिता मोचीको विवाह पनि आठ वर्षकै उमेरमा सिरहा सुखीपुरका रामकुमार मोचीसँग भयो । बिहे भएको एक वर्षपछि ससुरालमा बस्न थालेकी सुनिताको काँधमा घरको सम्पूर्ण जिम्मेवारी आइपर्यो । नाबालकमै विरामी सासु ससुराको सेवा गर्दै सुनिताको दिन बित्थ्यो । बिहे भएको केही वर्षमै उनको सासु र ससुरा बिते । जेठी बुहारी भएका कारणले घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । उनी भन्छिन्, त्यतिबेला मेरो उमेर कति थियो याद छैन । सासु–ससुराको निधनपछि मैले छोरी जन्माएकी थिएँ । छोरीसँगै दुई देवरको समेत हेरचाह मेरै जिम्मामा थियो ।’ सुनिताका श्रीमान् रामकुमार काठमाडौँमा जुत्ता सिलाउने काम गर्थे । यता सुखीपुरस्थित घरमा सुनिताले देवरसहित आफ्ना छोरी गरी तीनजना बच्चा एक्लै सम्हाल्थिन् । ‘१० कठ्ठा पुख्र्यौली जमिन थियो । श्रीमान्ले काठमाडौंबाट अलिअलि पैसा पठाउनु हुन्थ्यो । त्यत्तिले खान नपुगेर कहिलेकाहीँ गाउँमा मजदुरीले गर्जो टथ्र्यो । तर, निकै गाह्रो हुन्थ्यो ।’ उनले ती दिनका दुःख सुनाइन् । किशोर वयमा जेठो देवरको बिहे भयो । तर, विहे गरेर समस्या समाधान भएन । परिवारमा सदस्य थपिएर झन् खर्च बढ्यो, आम्दानी बढेन । त्यसपछि जे जे दुःख गर्नुपर्छ काठमाडौंमा सँगै गरौंला भनेर सुनितालाई श्रीमान्ले काठमाडौं बोलाए ।  काठमाडौंको यात्रा सुनिताले आफ्ना छोरी र कान्छा देवरलाई साथमा लिएर काठमाडौं आइन् । त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रको विरुद्धमा काठमाडौंमा आन्दोलन चर्किरहेको थियो, माहोल राम्रो थिएन । त्यस अवस्थामा पनि रामकुमार मोचीले बबरमहलको सडकपेटीमा बसेर जुत्ता सिलाईको काम गरिरहेका थिए । एक दिन जुत्ता नसिलाउँदा घरको चुल्हो बल्दैनथ्यो ।   गैरीगाउँको सुकम्बासी वस्तीमा महिनाको पाँच सय रुपैँयामा एउटा साँगुरो कोठा भाडामा लिएर बसेका रामकुमारले त्यसैमा श्रीमती, छोरी र भाइलाई साथमा राखे ।  यता, सुनितालाई आर्थिक अवस्थाले मात्र होइन, काठमाडौंको परिवेशले पनि गाह्रो भइरहेको थियो । यहाँको भेषभुसा, भाषाले ‘एडस्ट’ गर्न निकै गाह्रो भइरहेको थियो । उनलाई पछि लाग्न थल्यो, बरु यो भन्दा सुख त सुखीपुर गाउँमै थियो ।   उनी अधिकांश समय कोठमा नै बिताउँथिन् । छोरी र देवर स्कूल भर्ना भएकाले खर्च ह्वात्तै बढेको थियो । त्यसैले, त्यसरी सधँै कोठामै बिताउनु उचित पनि थिएन । भन्छिन्, ‘आर्थिक रुपले हाम्रो अवस्था दिनदिनै खराब हुँदै गइरहेको थियो । जुत्ता सिउन बस्दा कहिलेकाहीँ नगरप्रहरीले सडकपेटीबाट धपाउँथ्यो । आन्दोलन पनि चलिरहेको थियो ।’  अनि बेच्न थालिन् साग अब आफू पनि केही गर्नुपर्छ भनि श्रीमान्सँग सल्लाह गरेर सुनिताले तरकारी बेच्ने निधो गरिन् । उनी भक्तपुर किसानको बारीमै गएर साग ल्याउँथिन् र काठमाडौं, शान्तिनगरस्थित पिस्टन स्कूलको अगाडि बसेर बेच्थिन् । तीन चार महिना साग बेचेर १८ सय रुपियाँ बचत गरिन् । त्यसले एउटा सानो कठघारा (घुम्ती) किनेर पान पसल चलाउन थालिन् ।  सुनिताले खोलेको पान पसल सोचे जस्तो चलेन । कारण थियो, सुनिता दलित हुनु । वरपरका पसलेहरुले सुनिता दलित भएको जानकारी दिँदा पसलमा विस्तारै ग्राहक आउन छाडे ।  तर, त्यसमध्ये एक ग्राहक थिए, तत्कालीन सद्भावना पार्टीका नेता सुभलाल यादव, जो सुनिताको पान पसल जान कहिल्यै छाडेनन् ।  पान पसलबाट खासै आम्दानी नभएपछि सुनिताको आर्थिक अवस्था फेरि बिग्रिन थाल्यो । पसल सञ्चालनको क्रममा सुनिता मोचीको सम्पर्क विशेश्वर रजक र चन्देश्वर खत्वेसँग भयो । उनीहरुले मधेशी दलित विकास महासंघ गठन गरेका थिए । त्यसमा एकजना महिलाको आवश्यकता थियो, जसमा सुनिता मोचीको नाम इन्ट्री भयो  ।  दलित अभियानमा सक्रियता महासंघमा सुनिता केन्द्रीय सदस्य भइन् । त्यसमार्फत् उनले मधेशी दलितको अवाज उठाउन थालिन् । उनले बाल्यकालदेखि भोग्दै आएकी छुवाछूतको बारेमा बोल्न थालिन् । महासंघले आयोजना गर्ने कार्यक्रम तथा अन्य कार्यक्रमहरुमा उनी नियमित सहभागी हुन थालिन् । कार्यक्रमहरु जाँदा पाइने भत्ताले उनलाई केही सहज भयो ।  कहिलेकाहीँ कार्यक्रमहरुमा उपत्यका बाहिर पनि जान्थिन् । कार्यक्रममा धेरैसँगको सहकार्यले उनी खुल्दै गइन् । घुमाई पनि र केही आम्दानी पनि हुन थालेपछि सुनिता महासंघमै रमाउन थालिन् । तर, उता उनको पान पसल भने बन्द भयो ।   महासंघमा सक्रिय भएपछि उनको सम्पर्क विभिन्न राजनीतिक दलका नेताहरुसँग नहुने कुरै थिएन । पार्टीका कार्यक्रममा नेताहरुसँग सम्पर्क बढ्दै गएपछि पहिलो संविधान सभामा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सुनिता मोचीको नाम समानुपातिक सूचीमा समावेश गरेका थिए । उनको नाम एक नम्बरमै थियो तर उनी संविधानसभा सदस्यमा चयन हुन सकिनन् ।  काठमाडौंमा पढाइ  आठ वर्षमै बेहुली भएपछि सुनिताका लागि शिक्षा कुन चरीको नाम हो थाहै भिएन । उनी दुई वर्षको छँदै उनकी आमाको निधन भयो । उनको लालनपालन दाइ भाउजु र बुवाले गरे । बुवा तत्कालीन गाविसमा कार्यालय सहयोगी थिए । आम्दानी थोरै, खानेमुख धेरै । त्यसमाथि छोरीलाई पढाउने चलनै थिएन ।  तर, जब उनी काठमाडौं टेकिन् र ठूलावडासँग संगत गरिन्, पढाइको आवश्यकता महसुस भयो । साग बेच्न अनि पान पसल सुरु गरेदेखि नै उनलाई हिसाब किताब गर्न गाह्रो भइरहेको थियो ।  त्यसमाथि सामाजिक काममा लागेपछि उनलाई झनै पढाईको आवश्यकता महसुस भयो । एकातिर पान पसल, अर्कोतिर दलित महासंघदेखि राजनीतिक दलको कार्यक्रमकै चटारोबिच उनी ट्युशन पढ्न थालिन् । सुनिता भन्छिन्, ‘पान पसल खोलेपछि मलाई पढाईको आवश्यकता महसुस भएको थियो तर पढ्ने मौका नै मिलिरहेको थिएन । नपढी नहुने भएपछि साइकल चढी मिथिला कर्णको घरमै गएर ट्युशन पढ्न थाले ।’ सुनिता भन्छिन्, ‘मसँग शिक्षाको कुनै पनि औपचारिक सर्टिफिकेट छैन । स्कुल पढेर सर्टिफिकेट लिउँ कि जस्तो पनि लाग्छ तर फुर्सद छैन । ट्युशनबाटै अहिले सबथोक बुझ्ने भएकी छु । नेपालीमा लेखिएका सबै विषयबस्तु पढ्न सक्छु । अलिअलि अंग्रेजी पनि आउँछ, सामान्य हिसाब सबै आउँछ ।’ उनलाई यति भए के चाहियो । सद्भावना पार्टी छाडेर सुनिता तत्कालीन मधेशी जनअधिकार फोरम पार्टीमा प्रवेश गरेकी थिइन् । फोरममा गएपछि उनले महिला संगठनमा काम गर्न थालिन् । संविधानमा मधेसको अधिकार सुनिश्चित गराउन फोरमले काठमाडौँकेन्द्रीत आन्दोलन गरेको थियो । त्यसमा सुनिताको सक्रिय सहभागिता थियो ।  आन्दोलनको हरेक ठाउँमा उनको उपस्थिति रहन्थ्यो । विहानै उठ्ने, खाना पकाउने, बच्चाहरुलाई स्कूल पुर्याएर कोठाबाट निस्केपछि एकैपटक राती फर्किन्थिन् । पसलमा समय न दिन सकेपछि १३ सयमा पान पसल बेचिन् । त्यही पैसाले श्रीमान्को पसल सडकपेटीबाट सटरमा लगिन् । बरु त्यो पसल राम्रो चल्न थाल्यो । मान्छेको हेराइमा पनि परिवर्तन भयो ।    दोस्रो संविधान सभाको चर्चादेखि प्रदेशसभा सदस्यसम्म २०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि फोरमले सुनिता मोचीको नाम समानुपातिक सूचीमा राखेको थियो । तर जब सूचीबाट उम्मेदवार चयन गर्ने कुरा भयो, उनको नाम आएन । तैपनि उनी बिचलित भइनन् । उनी झन सक्रिय भएर राजनीतिमा लागिन् ।  उनले भनिन्, ‘समानुपातिकमा मेरो नाम दुई दुई पटक राखियो तर संसदमा जान सकिएन । त्यसले मलाई दुःख लागेन । बरु, मेरो मेहनत पुगेन कि, मेरा बेला अझै भएको छैन कि सोचेर राजनीतिमा झनै सक्रिय भएँ ।’ २०७४ को चुनावमा फोरमले सुनिताको नाम प्रदेश सभाको समानुपातिकमा राख्यो । अनि, प्रदेश सभा सदस्यमा चयन पनि भइन्, त्यो दिन उनका लागि सबैभन्दा खुशीको दिन थियो । सुनिताभन्दा पनि बढी उनका श्रीमान् रामकुमार मोची खुशी थिए । दुबैलाई बधाईको ओइरो लाग्यो । सुनिता भन्छिन्, ‘यसपाली पार्टीले ममाथि ठूलो विश्वास गर्यो ।’ साधारण परिवारका बुवा मकुन चमार र आमा रामरती चमारका छोरी सुनिता सांसद भएकी थिइन् ।  प्रदेश सभामा गएपछि सबैभन्दा बढी मधेसी दलितको चेतनाका लागि काम गरिन् । विभिन्न कानुन, ऐन निर्माण हुँदा त्यहाँ मधेसी दलितको अधिकार कसरी सुरक्षित गर्न सकिन्छ, त्यसका लागि उनले निकै मेहनत गरिन् ।  पछिल्लो २०७९ मंसिर ४ को चुनावमा सुनिताको नाम पार्टीले समानुपातिकमा राखेन । त्यसमा उनको कुनै चित्त दुखाई थिएन । उनको ईच्छा त प्रत्यक्ष चुनाव लड्ने थियो तर आर्थिक अवस्थाका कारण त्यो संभव थिएन ।   उनी अहिल्यैदेखि नै २०८४ को चुनावको तयारीमा लागेकी छिन् । पार्टीले समानुपातिकमा राख्यो भने ठिकै छ, नभए जेमा टिकट दिन्छ, त्यसैमा चुनाव लड्ने बताउँछिन् ।  सुनिताका एक छोरी र एक छोरा छन् । छोरीको विहे भइसकेको छ भने छोरा काठमाडौंमै ब्याच्लर अध्ययन गरिरहेका छन् । काठमाडौंमा उनको श्रीमान्को जुत्ता पसल छँदैछ । अहिले गाउँमै पक्की घर बनाएकी उनको सोच काठमाडौको पसल गाउँमै चलाउने योजना छ ।   श्रीमान् रामकुमार मोचीले बालबच्चा सम्हाल्नेदेखि घरका अन्य काममा पनि सहयोग गरेपछि सुनिता बाहिर राजनीतिलगायत पढाई, सामाजिक कार्यक्रम भ्याइन् । र, आज यो अवस्थासम्म आइपुगेकी छिन् । रामकुमार मोचीले भने, ‘सुनिताले जे गरिरहनु भएको छ, त्यो हाम्रो सोचभन्दा धेरै टाढाको कुरा थियो । तर, उहाँले गरेर देखाई दिनुभयो, त्यसमा मलाई गर्व छ ।’ रातोपाटीबाट

हेटौंडामा मनाइयो जितिया

हेटौंडामा मनाइयो जितिया

४९५ दिन अगाडि

|

२१ असोज २०८०

अशोकसुजन श्रेष्ठ थारु महिलाहरुको महान पर्व जितिया पावैनको शुभकामना आदान प्रदान गरी देशको विभिन्न ठाउँमा मनाईएको छ । यही क्रममा थारु महिला सभा मकवानपुरले थारु कल्याणकारिणी सभा मकवानपुरसँगको समन्वयमा जितिया पर्व हेटौंडामा पनि मनाएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी  लामाले भाषा, संस्कृतिको संरक्षणमा आदिवासी जनजाति महिलाको महत्त्वपूर्ण रहेको भन्दै स्थानीय सरकार  समुदायको संस्कार, संस्कृतिको संरक्षणमा गम्भीर रहेको भन्दै सहयोगको प्रतिवद्धता जनाइन् ।  कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष लीलाकुमार घलानले जितिया पर्व थारु महिलाको स्वास्थ्य र पारिवारिक दृष्टिले राम्रो भएको भन्दै थारुसहित आदिवासी, जनजातिको संस्कार, संस्कृति जगेर्ना गर्न स्थानीयसँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए । मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठले चाडपर्वलाई मौलिक रुपमा मनाउँदै नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।  कार्यक्रम थारु महिला सभा मकवानपुरकी सभापति दौपतीदेवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा परम्परागत थारु भेषभुषामा सजिएर महिलाहरुले गीत, नृत्य सहित आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा थारु कल्याणकारिणी सभा मकवानपुरका निवर्तमान सभापति हरिलाल चौधरी, कोषाध्यक्ष उमा चौधरी, थारु विद्यार्थी सभाका केन्द्रीय सदस्य दिप्सन चौधरी लगायतले शुभकामना मन्तव्य दिएका थिए।  त्यस्तै,  कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति सचिदानन्द चौधरी, जिल्ला सल्लाहकार किशोरकुमार चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापति राजेशप्रसाद चौधरी लगायतको आतिथ्यता रहेको थियो । जितिया पर्वको पहिलो दिन हेटौंडाको राप्ती खोलामा सामुहिक रुपमा नुहाएका थारु महिलाहरुले दोस्रो दिन जित महान भगवानको निराहार (निर्जल) व्रत बसेर जितमहान भगवानको कथा सुनेका थिए । साथै, तेस्रो दिन विधिपूर्वक सामुहिक पुजा गरेर पारन गरेको थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जनाए । विशेष गरी थारु समुदायका विवाहित महिलाहरु आफ्नो सन्तान (छोराछोरी)को दीर्घायुको लागि व्रत बस्ने गर्दछन् । हेटौंडामा थारु समुदायको महान् पर्व माघी पर्व, समा चकेवा, जितिया सामुहिक रुपमा मनाउँदै आएका छन् । यसैगरी, अरु वर्ष एकै ठाउँमा मनाइने जितिया काठमाडौं उपत्यकामा यसपाली ३ ठाउँमा  मनाइएको छ । पर्यटन बोर्ड, ललितपुरको गुसिंगाल तथा इमाडोलमा जितिया विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।   

कान्हाँको कथासँग जोडिएको थारूको दारू

कान्हाँको कथासँग जोडिएको थारूको दारू

४९६ दिन अगाडि

|

२० असोज २०८०

                                                                                                                                             तस्बिर: जित ट्रासन सबिना श्रेष्ठ त्यति बेला पृथ्वी जलमग्न थियो। जलमग्न पृथ्वीमा गुर्बाबाले सृष्टि रचना गरे। जसरी हिन्दुहरू ब्रह्मालाई सृष्टिकर्ता मान्छन्, थारूहरूले मान्ने सृष्टिकर्ता गुर्बाबा हुन्। गुर्बाबाले पाताल लोकबाट अम्मर माटो ल्याएर सृष्टि रचेको विश्वास गरिन्छ। सुरूमा उनले गंगटोलाई माटो ल्याउन भनेका रहेछन्। गंगटो लुकीलुकी गएछ, तर पाताल लोकका पहरेदारको नजरबाट बच्न सकेनछ। त्यसपछि गुर्बाबाको आदेशमा माटो लिन कुमालकोटी जान्छ। ऊ पनि समातिन्छ। पालैपालो अन्य जीवहरू जान्छन्, सबै समातिन्छन्। आखिरमा गड्यौलाले आफ्नो पेटभित्र माटो बोकेर ल्याउँछ र त्यही माटोबाट पृथ्वीमा सृष्टि रचना गरिन्छ। यहाँ हरियाली छाउँछ। वनस्पतिका रूपमा सुरूमा कुश उम्रिन्छ। त्यसपछि विभिन्न वनस्पति, जंगल र जीवजन्तुहरू उत्पत्ति हुन्छन्। जीवजन्तुमध्ये सबभन्दा बौद्धिक र सचेत हुन्छन्, मानिस। मानिसले अन्य जीवजन्तुभन्दा भिन्नै सभ्यता विकास गर्छन्। संसार उत्पत्तिको यो कथा थारूहरूको 'अष्टिम्की काव्य' मा छ। यसले पृथ्वी उत्पत्तिदेखि वनस्पति र जीवजन्तुको सृष्टि र कृषि प्रणालीदेखि मानव सभ्यताको विकासबारे वर्णन गर्छ। यही काव्यलाई लिएर अष्टिम्की गीत, नृत्य र चित्रसमेत बनाइन्छ। अष्टिम्की काव्यमा रहेको सबभन्दा महत्वपूर्ण पात्र कान्हाँ अर्थात् भगवान कृष्ण हुन्। थारू समुदायमा कान्हाँ यस्ता पात्र हुन् जसको गीत गाइन्छ, नृत्य नाचिन्छ र चित्र बनाइन्छ। उनी एक मात्र यस्ता देवता हुन्, जसलाई थारूहरू यी तीनै माध्यमबाट पूजा गर्छन्। थारूहरूको 'अष्टिम्की काव्य' मा कान्हाँले खेलेको, कुदेको ठाउँको वर्णन यस्तरी गरिएको छ, मानौं उनी थारू समुदायकै सदस्य हुन्। तर थारूहरूले भन्ने कान्हाँ उर्फ कृष्णको कथा अन्य हिन्दु धर्मावलम्बीहरूको भन्दा फरक छ। हिन्दु धर्मग्रन्थमा कृष्ण र उनका मामा कंशलाई दुश्मनका रूपमा चित्रण गरिएको छ। बहिनी देवकीको कोखबाट जन्मेका सन्तानको हातबाट आफ्नो मृत्यु हुन्छ भन्ने आकाशवाणी सुनेपछि कंश देवकीका सन्तानलाई एकपछि अर्को मार्दै जान्छन्। कृष्ण भने बाँच्न सफल हुन्छन् र अन्त्यमा उनैले कंशको वध गर्छन्। थारू समुदायमा भने कृष्णलाई कंशका प्रिय भान्जाका रूपमा चित्रण गरिएको छ। आमापछि मामाले सबभन्दा बढी माया गर्छन् भन्ने मान्यताअनुरूप कान्हाँ पनि मामाका प्रिय रहेको थारूहरू विश्वास गर्छन्।                                                                                                                                               तस्बिर: यम चौधरी कृष्ण आफ्नो मामाका कतिसम्म प्यारा थिए भने, उनले इच्छाएका सबै कुरा कंशले पूरा गरिदिन्थे। कंशले कृष्णलाई सानो छँदा खेलौना दिनुका साथै उनको घरपरिवारलाई सहयोग गरेको वर्णन अष्टिम्की गीतहरूमा पाइन्छ। उक्त थारू काव्यले कृष्णका अभिभावक अहिलेका थारूहरूजस्तै खेती-किसानीमा लागेको बयान गरेको छ। उनीहरू बस्ने घर पनि थारू समुदायमा प्रचलित परम्परागत घरजस्तै छ। कृष्ण आफैं गोठालो बनेर भेडाबाख्रा र गाईगोरू चराउन दिनहुँ जंगल जान्छन्। जंगलमा गोठाला साथीहरूले बाँसुरी बजाएको देखेपछि उनलाई पनि रहर जाग्छ। उनले आमासँग बाँसुरी किनिदिन कर गर्छन्। यो खबर कंश मामासम्म पुग्छ। त्यसपछि मामाले नै भान्जाका लागि बाँसुरी बनाएर पठाइदिन्छन्। जंगलमा बाँसुरी बजाउँदा बजाउँदै कृष्ण एक अब्बल बाँसुरीवादक हुन्छन्। उनको बाँसुरीको धुन सुनेर अरू गोठालाहरू छक्क पर्छन्। टाढाटाढासम्म उनको बाँसुरीको धुन गुञ्जिन्छ र माइजूको कानसम्म पनि पुग्छ। माइजु मोहित हुन्छिन्। यस्तो सुमधुर बाँसुरी बजाउने को होला भनेर खोज्दै जाँदा आफ्नै भान्जालाई देखेर उनी तीनछक पर्छिन्। उनी हरेक दिन कृष्णले बजाएको बाँसुरीको धुन सुन्न जंगल जान थाल्छिन्। त्यही क्रममा आफ्नै भान्जासँग उनको प्रेम हुन्छ। एकदिन भान्जा र माइजूको प्रेम सम्बन्धबारे कंशले थाहा पाउँछन्। यसले उनलाई असह्य पीडा र छटपटी हुन्छ। उनले एउटा उपाय निकाल्छन् – कृष्णलाई बारी फुल्वारमा फूल टिप्न पठाउने। त्यो बारी फुल्वार नागराजको निगरानीमा थियो। कसैले पनि त्यहाँबाट फूल टिपेर ल्याउन सकेको थिएन। टिप्न जानेलाई नागराजले डसेर मारिदिन्थ्यो। कंशले आफ्नै हातले भान्जाको हत्या गर्न नचाहेर उनलाई त्यहाँ पठाएका थिए, ताकि नागराजले डसेर उनलाई मारिदेओस्।                                                                                                                                          तस्बिर: जित ट्रासन गरूड पुग्दा कृष्ण बेहोस भइसकेका हुन्छन्। उनलाई बचाउने औषधि खोज्दै गरूड एक ऋषिको कुटीमा पुग्छ। ऋषिले सिकाएको विधि पूरा गरेपछि कृष्णको होस फर्किन्छ। उनी फूल लिएर मामाको दरबारमा फर्किन्छन्। यसरी कृष्णले फूल लिन गएको प्रसंग थारूहरूले खेतीपाती बेला गाउने सजना गीतमा समावेश छ, जसमा नागले कृष्णलाई सोध्छ — 'सुनो सुनो कृष्ण भाइ रे, टोर गौवा हेरानि कहाँ अइलो मोरे डुवारे कि टोर रहिया भुलानि' अर्थात्, 'ए कृष्ण! तिम्रो गाई हरायो कि बाटो भुलेर यहाँ आयौ? यसको जवाफमा कृष्ण भन्छन् — 'ना मोरे गौवा हेरानी रे, ना मोरे रहिया भुलानि  कारि नाग फुला टुरबुँ, मामा रे पुजा करहिँ।' अर्थात्, 'न मेरो गाई हराएको हो, न त बाटो नै भुलेको हुँ तिमीले रक्षा गरेको फूल मेरो मामाको पूजाका लागि टिप्न आएको हुँ।' यसरी कष्टपूर्ण रूपले फूल टिपेर फर्किएपछि कृष्णले पनि मामाले आफूलाई मार्न खोजेको थाहा पाउँछन्। त्यसपछि उनी मामा पूजा गरिरहेका बेला पूजाकोठाभित्रै छिर्छन् र तरबारले हानेर मामाको वध गर्छन्। कृष्णको यही कथासँग थारू समुदायको रक्सीको संस्कृति जोडिएको छ। 'कृष्ण चरित्र परम्परा' माथि अनुसन्धान गर्दै विद्यावारिधि गरेका कृष्णराज सर्वहारीले हामीलाई थारू समुदायको रक्सी संस्कृतिबारे वर्णन गर्दा कृष्ण र रक्सीसँग जोडिएको सखिया गीतको एउटा पंक्ति नै गाएर सुनाए। उक्त गीतमा कृष्णका बुवाले आफ्नो छोरालाई फूल टिप्न नपठाउनू भनी कंशसँग आग्रह गर्छन्। उनी कंशलाई अनुनयको शैलीमा भन्छन् — 'तालभर मदियामै डेहबु छोडिदेउ कन्हैया के जिउ।' अर्थात्, 'म तिमीलाई तालभर रक्सी दिन्छु तर तिमीले मेरो कृष्णको जीउ जोगाइदेऊ।' जवाफमा कंश भन्छन् — 'तलभर मदिया मैं नै लेहबुँ नहीँ छोरबु कन्हैयाके जीउ।' अर्थात्, 'मलाई तालभर रक्सी चाहिन्न म तिम्रो कृष्णको जीउ पनि छाड्दिनँ।' गीतको यही प्रसंग जोड्दै सर्वहारी भन्छन्, 'भगवान कृष्णको समयमै यति धेरै रक्सी उत्पादन हुने रहेछ, त्यसलाई राख्न ताल नै चाहिने रहेछ। थारूहरूको गीतमा रक्सीको यति पुरानो सन्दर्भ उल्लेख हुनुले यो समुदायमा रक्सीको संस्कृति निकै पुरानो भएको बुझिन्छ।' उनका अनुसार थारू समुदायमा गाइने अष्टिम्की गीतलाई लयान्तर गरेर गाइने गीत नै सखिया हो, जसमा गोलो घेरा बनाएर नाच्ने चलन छ। देवी–देवताको सन्दर्भ जोड्दै गाइने भएकाले देवतालाई रक्सी (छाँकी) चढाएर मात्र गीत सुरू हुन्छ। सखिया गीत हरेरी पूजादेखि गाउन थालिन्छ र तिहारपछि विधिवत पूजा गरेर अन्त्य गरिन्छ। सखियाजस्तै देवताको स्तुति गान भएको अर्को गीत हो, बर्किमार। यसलाई कतिपयले थारू महाभारत पनि भन्छन्। यो गीत सुरू गर्नुभन्दा अगाडि पनि रक्सी चढाउन अनिवार्य छ। ढमारलाई ढुमरु पनि भनिन्छ। यो सँगै बजाइने बाजा डफ हो। गीतकै कुरा गर्दा ढमारलाई पनि महत्वपूर्ण मानिन्छ। यसलाई ढुमरू पनि भनिन्छ। योसँग बजाइने बाजालाई डफ भनिन्छ। यो गीत पुसको अन्तिम साता गाइन्छ। विशेषगरी पुसको अन्तिम साँझ साथीभाइकहाँ गएर ढमार गाउँदै सुँगुरको मासु र जाँड खाँदै रातभर जाग्राम बस्ने चलन छ। थारू समुदायका हरेक पर्व वा ऋतुका लागि विशेष गीत र नाच छन्, जसले यो समुदाय कलामा सम्पन्न भएको बुझ्न सकिन्छ। थारूहरूको लोक साहित्य र गीतहरूमा कृष्ण मात्र होइन; राम, सीता, पाण्डव लगायत पात्रहरू पनि आउँछन्। थारू गुर्वा (धामी/पुजारी) हरूले वाचन गर्ने मन्त्रमा महादेव-पार्वतीको वर्णनसमेत छ — 'गौरी टे गैनै जगाई रे, उठो हो महादेव बसहा बरडा बेचि डारो, छिन भर सुटो।'  यो मन्त्रमा कृष्णका बुवाझैं महादेव पनि खेतीमा लागेको प्रसंग छ। निदाएका महादेवलाई गौरी (पार्वती) ले भन्छिन्, 'कति सुत्छौ ए महादेव! यहाँ ग्राहक आएका छन्, बसहा (गोरू) बेच अनि फेरि सुत।' कैलाली घर भएकी इन्दु थारू आफ्नो समुदायमा कृष्ण, राम, सीता लगायतका भगवानको पूजा गरिए पनि यो मौलिक चलन नभएको बताउँछिन्। समय क्रममा थारूहरूमा हिन्दु धर्मको प्रभाव परेको उनको भनाइ छ। उनका अनुसार थारूहरू खासमा प्रकृति पूजक हुन्, त्यसैले खोला, खेतबारी, माटो, वनजंगल लगायतको पूजा गर्छन्। थारूहरूको मौलिक देवता पनि माटोले नै बनाउने चलन छ। त्यसको आकृति घोडा, भेडा, बाघ लगायत हुन्छन्। इन्दुको घरमा पुजिने देवता भेरूवा अर्थात् भेडा हो। भेरूवासँगै थारूहरूका देवताको नाम घोरूवा, गुर्बाबा, खेखरी–मैयाँ, सौंरा, डहरचण्डी लगायत छन्। ती देवताको पूजा गर्दा पनि अनिवार्य रूपमा रक्सी चढाउनुपर्छ।                                                                                                                                              तस्बिर: यम चौधरी 'अरू समुदायको घरमा फूल र अगरबत्ती चढाएजस्तै हाम्रोमा रक्सी अनिवार्य हुन्छ,' इन्दुले भनिन्, 'हाम्रोमा देवतालाई चढाउने सबै सामग्री पुरूषहरूका हातबाट अर्पण गरिन्छ। त्यसैले घरको पूजा गर्न छोरा नै चाहिन्छ भन्ने भनाइ छ। छोरा नभएको घरमा देवता नास हुन्छ भनिन्छ। कतिपय अवस्थामा देवता जोगाउन केटालाई विवाह गरेर केटीको घर ल्याएर राख्ने चलन पनि छ।' जहाँ थारू, त्यहाँ दारू ! थारू समुदायमा एउटा भनाइ प्रख्यात छ – जहाँ थारू, त्यहाँ दारू! यो भनाइले पनि थारू समाजमा रक्सी कति महत्वपूर्ण छ भन्ने संकेत गर्छ। थारूहरू रक्सीलाई मद वा दारू भन्छन्। देवतालाई चढाइने रक्सीलाई 'छाँकी' भनिन्छ। उनीहरूको जन्मदेखि मृत्युसम्म रक्सी नभई हुन्न। बच्चा जन्मिएको छ दिनमा छैठी हुन्छ। त्यसमा छरछिमेक, आफन्तजन र बरघर (गाउँका मुखिया) लाई बोलाइन्छ। उनीहरूलाई विभिन्न किसिमका खानेकुरा खुवाइन्छ। सुत्केरीको स्याहारसुसार गर्ने सुँडिनीलाई पनि विशेष सम्मानका साथ खुवाइन्छ। ती परिकारहरूमा मद वा रक्सी पनि समावेश गरिएको हुन्छ। बच्चा जन्मिएको नौ दिनमा पनि सुँडिनीको भूमिका महत्वपूर्ण हुन्छ। 'घटुवा टिकना' भनिने त्यो दिन बच्चाको सालनाल झरिसकेपछि सुँडिनीले आमा र बच्चाको लुगा धोइपखाली गर्छिन् र जिउ मालिस गर्छिन्। त्यस दिन पनि गाउँघरका इष्टमित्र बोलाएर विभिन्न परिकारसँगै रक्सी खुवाइन्छ। 'थारू समाजमा अहिलेसम्म अस्पतालमा प्रसूति गराउनुभन्दा सुँडिनीकै सहयोग लिइन्छ। हाम्रो लोककथामा कान्हाँकी आमाको प्रसूति गराउँदा कुशल नर्सझैं सुँडिनीले उनको पेट मालिस गरेको र बच्चाको स्याहारसुसार गरेर प्रसूति सेवा दिएको प्रसंग छ,' कृष्णराज सर्वहारीले भने, 'थारू समाजमा आफैं न्वारान गर्ने चलन भए पनि अष्टिम्की काव्यमा सुँडिनीले कान्हाँको नाम राख्न जैसी (ब्राह्मण) बोलाउन पठाएको प्रसंग छ। जैसीले नै उनको नाम कन्हैया वीर राख्छन्।' विवाहमा त रक्सी अनिवार्य नै हुन्छ। दुलाहाको जन्ती जानुअघि उनलाई देवताको कोठामा लगिन्छ, जसलाई 'देहुरार' भनिन्छ। त्यहाँ उनले कपडा लगाउँछन्। घरबाट निस्कनुअघि दुलाहाले दुई किसिमका मद आफूले पुज्ने भगवानलाई चढाउनुपर्छ, जसलाई 'तौला' र 'बजारी' मद भनिन्छ। तौला भनेको घरमै बनाएको कडा खालको रक्सी हो। बजारी भनेको बजारबाट किनेर ल्याएको रक्सी हो। यी दुवैथरी रक्सी चढाउँदा आफ्नो यात्रा सफल होस् भन्ने कामना गरिन्छ। 'विवाहको बारात जानुअघि दुलाहाको घरबाट विशेष किसिमको पाहुर (कोसेली) लगिन्छ, जसलाई 'पर्छे जइना' भनिन्छ। त्यो लग्दा पनि अनिवार्य रूपमा मद वा दारू लगिएको हुन्छ,' सर्वहारीले भने, 'विवाह भएको वर्ष दुलाहाले दुलहीको घरमा विभिन्न किसिमका सामग्री लिएर जानुपर्छ, जसलाई 'जेउरालगेना' भनिन्छ। त्यसमा आफ्नै हातले बुनेको पंखाका साथै कुर्सीजस्तो मचिया, गुन्द्रीसहित मद पनि लग्नुपर्छ।' थारूहरू कबिला अर्थात् समूहमा बस्न रूचाउँछन्। उनीहरू एक्लै बस्न नरूचाउने भएकाले नजिक नजिक घर बनाउँछन्। उनीहरूलाई गाउँको संरक्षण गर्ने अगुवा चाहिन्छ, जसलाई 'बरघर' भनिन्छ। ठाउँअनुसार यसलाई महटाँवा, ककनदार, प्रधनवा, भलमन्सा पनि भनिन्छ। थारू समुदायमा बरघर अर्थात् गाउँका अगुवाको विशेष महत्व हुन्छ। उनी थारू समुदायका मेरूदन्ड हुन् भन्दा फरक पर्दैन। उनले गाउँघरमा शान्ति, सुव्यवस्था कायम राख्नुसँगै न्यायिक निर्णय पनि गर्छन्। गाउँघरमा झैझगडाको छिनोफानो होस्, बाटोघाटो, कुलो बाँध बनाउनुपर्ने होस् वा पूजा, बिहे र भोजका लागि स्वयंसेवक खटाउनुपर्ने होस्; त्यसमा बरघरको भूमिका महत्वपूर्ण हुन्छ। गाउँलाई एक सूत्रमा बाँध्दै सामाजिक, सांस्कृतिक र न्यायिक कामको नेतृत्व पनि बरघरले नै गर्छन्। त्यही भएर सही नेतृत्व गर्नसक्ने पोख्त व्यक्तिलाई बरघर बनाइन्छ।                                                                                                                                               तस्बिर: यम चौधरी थारू समुदायले लामो समयदेखि मान्दै आएको बरघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता दिएको छ। नगरपालिकाले बरघर संस्था परिचालन ऐन २०७८ नै पारित गरेको छ। शुक्लाफाँटाभन्दा अघि बर्दियाको बारबर्दिया नगरपालिकाले पनि यो प्रथालाई कानुनी मान्यता दिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८०/८१ को आफ्नो वार्षिक नीति तथा कार्यक्रममा थारू समुदायको बरघर प्रथालाई प्रवर्द्धन र संरक्षण गर्ने जनाएको छ। यसबाट थारू समुदायमा बरघर प्रथाको महत्व कतिसम्म छ भन्ने थाहा हुन्छ। '२००७ सालअघि तराईका थारूबिना राज्यको कुनै काम चल्दैनथ्यो। धनी वर्गका थारूहरू राज्य र प्रजाबीचका मध्यस्थकर्ता थिए। उनीहरू राज्यको कर उठाउँथे। स-साना मुद्दामामिला हेर्थे र विविध प्रशासनिक कामहरू पनि गर्थे। यो काम दाङको प्रगन्नाका चौधरीहरूले गर्ने गरेको पाइन्छ,' सर्वहारीले भने, 'त्यस्ता अगुवा चौधरी हाल एउटै गाउँको अगुवा बरघरमा सीमित भए। यसले थारूहरूको परम्परागत प्रणालीको ढुकढुकी जोगाइराखेको छ।' गाउँको अगुवापछि थारूहरूलाई धामी–झाँक्री वा गुर्वा पनि उत्तिकै चाहिन्छ। कुनै रोग नलागोस् र महामारी नहोस् भनेर संरक्षकका रूपमा उनीहरू गुर्वाकहाँ जान्छन्। 'जाँड नमिठो भयो भने गुर्वासँग अक्षता हेर्न लगाउने र मन्त्र फुकाउने चलन पनि छ,' सर्वहारीले भने। थारू समुदायले दसैंमा सेतो टीका लगाउँछन्। दसैंमा उनीहरू बरघरको घरमा टीका थाप्न जान्छन्। त्यस बेला करहई (माटोको सानो भाँडा) मा मद कोसेली लानुपर्छ। 'दसैंमा बरघरसँगै गुर्वाकहाँ टीका थाप्न जाँदा रक्सी लैजानुपर्छ,' सर्वहारीले भने, 'पहिले हाम्रो समुदायमा कमैया प्रथा थियो। त्यस बेला कमैयाहरू मालिकको घरमा टीका थाप्न जान्थे। त्यति बेला पनि रक्सी लिएर जानुपर्थ्यो। कमैया प्रथा अहिले छैन। गुर्वा, धामी र बरघर प्रथा भने कायम छ।' बरघरको भूमिका गाउँको झगडा मिलाउन पनि उत्तिकै हुन्छ। 'दुई पक्षबीचको झगडा मिल्यो भने दुवै पक्षले बरघरका अगाडि एक-एक बोतल मद राख्नुपर्छ। त्यसलाई उनी झगडा भएका दुवै पक्षसँग बसेर खान्छन्,' सर्वहारीले भने, 'यसरी खानपिन गर्दा अबबाट हामी झगडा गर्दैनौं भनेर बरघरलाई साक्षी राख्ने चलन छ।' इन्दु थारूका अनुसार उनको घरमा मान्ने दसैं हिन्दुहरूको भन्दा फरक छ। 'दसैंमा ठूलाबाट टीका थाप्ने र दक्षिणा लिने चलनबारे मैले स्कुलमा निबन्धहरू पढेर थाहा पाएकी हुँ,' उनले भनिन्, 'हाम्रो चलनमा दसैंमा पितृहरूको सम्झना गरिन्छ। आफ्नो देवतालाई पूजा गरिन्छ। पूजामा विभिन्न सामान चढाइन्छ, जसलाई पछि नदीमा लगेर सेलाउनुपर्छ।' उनले अगाडि भनिन्, 'दसैंको समयमा एक दिन डुतिया हुन्छ, जसमा आकाशको चन्द्रमा हेरिन्छ। बेलुका सबै जना सडकमा निस्किएर आकाशको खुर्पे चन्द्रमा हेर्छन्। दसैंको एकदिन पैनस टोपी धुने भनिन्छ। त्यस बेला आफ्नै हातले बनाएको पैनस टोपी अर्थात् ढिक्री उसिन्ने ढकिया धोइन्छ। अर्को दिन ढिक्री पकाइन्छ। टीकाको दिन सेतो टीका लगाइन्छ। हिजोआज कतिपयले रातो टीका लगाउने र पैसा दिने चलन पनि सुरू भइसक्यो, जुन हाम्रो आफ्नो चलन होइन।' रक्सी धेरै चाहिने अर्को मुख्य परम्परा 'माघ' हो। थारू समुदायलाई माघको एक महिना विशेष महत्वको हुन्छ। पुसको अन्तिम दिन उनीहरू रातभर एकैठाउँ भेला भएर गीत गाउँछन्। नाचगान गर्छन्। माछा-मासु लगायत परिकार खान्छन्। अर्को दिन नजिकैको नदी वा खोलामा नुहाएर माघ १ लाई स्वागत गर्छन्। माघ १ लाई थारूहरू नयाँ वर्षका रूपमा मनाउँछन्। यो महिनाभरि उनीहरू शुभकामना र आशीर्वाद आदानप्रदान गर्छन्। सरसफाइ र खानपिन गर्छन्। आगामी दिनका योजना बनाउँछन्। आफ्नो ठाउँका बरघरको चयन पनि गर्छन्। 'हाम्रोतिर एक महिनै माघ मनाइन्छ। एक गते चाहिँ विशेष हुन्छ। बिहानै उठेर नुहाउने, नाच्ने, गाउने, जाँड-रक्सी खाने गरिन्छ,' इन्दु थारूले भनिन्, 'एक महिनासम्म हामी आफन्तकहाँ पाहुना भएर आउजाउ गर्छौं। त्यही भएर माघमा सबभन्दा धेरै जाँड-रक्सी खान्छौं।' माघमा छोरीचेलीलाई कोसेली दिने चलन पनि छ, जसलाई 'निसराउ' भनिन्छ। बिहान नुहाएर आइसकेपछि चामल, दालका साथमा निसराउस्वरूप नगद र लुगाफाटो उपहार दिइन्छ। विवाह भइसकेका छोरीबेटीले आफ्ना दाजुभाइलाई ढिक्री, सुँगुरको मासु लगायत खानेकुरासँग गुलियो जाँड र रक्सीले सम्मान गर्छन्। गीतमा समेत यो प्रसंग भेट्न सकिन्छ — 'आझु आझु कैले रे डाडु आजु नहि अइले रे, सखि रे! भुरि करैयक मडिया गैइला रे अमलाइ...' अर्थात्, 'आज आज भन्दै धेरै दिन पर्खिएँ दाजु तर तिमी आएनौ तिम्रो प्रतिक्षा गर्दागर्दै कराईमा राखेको मद पनि अमिलो भयो।' हिजोआज 'माघ' पर्वलाई धेरैले 'माघी' भनेर चिन्छन्, जुन गलत भएको इन्दु बताउँछिन्। 'हामी त माघ भनेरै मनाउँछौं। हाम्रो गाउँतिर पनि सबैले माघ नै भन्छन्। तर पढेलेखेका भनिने अन्य समुदायले हाम्रो शब्द बिगारिरहेका छन्। त्यसो हुनु भनेको हाम्रो मौलिक शब्द र संस्कृतिमाथि प्रहार हो,' उनले भनिन्। माघलाई माघी बनाएजस्तै थारू समुदायका अन्य नाम पनि फरक सम्बोधन हुँदै आएको छ। जस्तो, बरघर शब्दलाई बडघर, घोराघोरी ताललाई घोडाघोडी, अटवारी पर्वलाई अइटवारी र कटैनी नदीलाई कटनी भनिन्छ। यस्ता उदाहरण अरू पनि थुप्रै छन्। थारूहरूको शब्द र संस्कृतिसँगै उनीहरूका खानेकुरासमेत सरकारी तहले प्रवर्द्धन नगरेको र अपहेलना गरेको इन्दुको गुनासो छ। 'हामीले खाने घोंगी, सुँगुर लगायत खानेकुरालाई निच मानेर अपहेलना गरियो। हामी त घोंगी खान्छौं, तर शंखेकीरा खाने थारू भनेर हामीलाई हेपिन्छ। माओवादी र पुलिसहरूले हामीले खाने जाँड घर-घरमा आएर फाल्ने गरेका छन्,' उनले भनिन्, 'थारूहरूलाई जाँड खाने समुदाय भनेर पनि हेला गरिएको पाइन्छ।' उनले अगाडि भनिन्, 'खानै नहुने भए त मेरी हजुरआमाले हजुरबुवालाई जाँड बनाएर खुवाउनु हुन्थेन होला नि! हामीले बनाएको जाँड-रक्सी फाल्ने, अनि विदेशी लेबल लागेको चाहिँ बेच्न दिने कहाँको न्याय हो? आदिवासीले बनाएको अयोग्य र पुँजीपतिहरूले बनाएको योग्य भन्ने पनि कहीँ हुन्छ र?' सरकारी मान्यता नपाए पनि थारू समुदायमा जाँड-रक्सीको महत्व अन्य आदिवासी समुदायमाझैं छ। जाँड-रक्सी खेतमा काम गर्नेलाई पनि उत्तिकै आवश्यक मानिन्छ। एकाबिहानै खेतमा गोरू जोत्न जानुछ भने उनीहरू खाजासँगै जाँड-रक्सी खान्छन्। दिउँसो र बेलुकाको खाजासँग पनि जाँड-रक्सी खान्छन्। कृष्णराज सर्वहारीका अनुसार बिहानको खाजालाई 'बासी', बिहानको खानालाई 'कलवा', दिउँसोको खाजालाई 'मिझ्नी' र बेलुकाको खानालाई 'बेरी' भनिन्छ। 'थारूहरूले जुनसुकै बेला जाँड-रक्सी खाएको देख्नुभयो भने त्यसलाई ठूलो कुरा नमान्दा हुन्छ,' सर्वहारीले भने, 'यसले जिउ फुर्तिलो राख्छ र काम गर्ने शक्ति दिन्छ। खेतमा काम गर्ने मान्छेलाई जति नै पैसा दिए पनि जाँड-रक्सी दिइएन भने उनीहरू साँझको खानासँग त जसरी पनि चाहिन्छ भनेर गुनासो गर्छन्। जाँड-रक्सी नदिने घरमा त उनीहरू काम गर्न पनि चाहँदैनन्।' अतिथिहरूको सम्मान गर्दा पनि तातो चियाभन्दा चिसो चिया अर्थात् जाँड-रक्सी खुवाएर स्वागत गर्नुले अर्थ राख्छ। थारू समुदायमा जाँड पनि रक्सीजस्तै लोकप्रिय छ। तर कोसेली र अतिथि सत्कारमा जाँडभन्दा रक्सी नै चाहिन्छ। 'पाहुनाहरू आए भने अनिवार्य रूपमा रक्सी दिने चलन छ। हामी आफू बरू जाँड खान्छौं, तर पाहुनालाई सकेसम्म रक्सी नै दिन्छौं,' सर्वहारीले भने, 'पाहुनालाई चिया दिएर स्वागत गर्नुपर्‍यो भने थारूहरू आफूले आफैंलाई अपमान गरेको ठान्छन्। त्यति टाढाबाट आएको मान्छेलाई राम्ररी सम्मान गर्न सकिएन भनेर नराम्रो महसुस गर्छन्।' जाँडको झोललाई थारू समुदायमा 'झोर' भनिन्छ। जाँडको तुलनामा रक्सीको महत्व भए पनि अनदी चामलको जाँड दिइएको छ भने त्यो सम्मान गरेर दिएको भन्ने बुझिन्छ। 'अनदीको विशेषता के हो भने यो एकदमै गुलियो हुन्छ। त्यही भएर महिलाहरूले पनि खान रूचाउँछन्। भर्खर जाँड खान सिक्दै गरेका सिकारू छन् भने पनि अनदीको जाँड चखाइन्छ,' सर्वहारीले भने। थारू समुदायमा कतिपयले जाँड बनाउन भनेरै अनदीको धान रोप्छन्। अरू धान बेचे पनि यसलाई बेच्दैनन्। हिजोआज अनदीको धान लोप हुँदै जान थालेकाले बेच्ने क्रम घट्दै गएको छ। यसको बिउ मासिन लागेकाले केही गाउँपालिकाले प्रवर्द्धन गर्दै अनुदान दिन थालेका छन्। थारू समुदायमा अनदीको चामलबाटै बनाइने 'चिचर' पनि प्रख्यात छ। भिजाएको अनदी चामललाई वाष्पीकरण गरेर यो परिकार पकाइन्छ। विशेषगरी जाडोमा खाने चिचर हिजोआज थारू होमस्टेको प्रख्यात खानेकुरा बन्दै गइरहेको छ। 'अनदी चामलको भात खाएपछि यसले जिउ र गोलीगाँठो दुख्ने समस्या निको हुन्छ भन्ने भनाइ छ। त्यसो भन्दैमा धेरै भने खानु हुन्न। हाम्रोमा एक डल्लोभन्दा बढी खानु हुन्न भन्ने मान्यता छ,' सर्वहारीले भने। थारूहरूले रक्सी बनाउने भाँडा तलदेखि माथिसम्मै माटोको हुन्छ। तलको भाँडालाई 'गुम्रा', बीचलाई 'डोरिया' र माथि पानी हाल्ने र निकाल्ने भाँडालाई 'निर्कना' भनिन्छ। उनीहरूकोमा रक्सी वाष्पीकरण भएर भित्र राखिएको बीचको भाँडामा जम्मा हुँदैन। बरू बीचमा एउटा टुटी जोडिएको हुन्छ, जसलाई 'डोरिया' भनिन्छ। त्यही टुटीबाट रक्सीको थोपा बाहिर आउँछ र भाँडामा जम्मा गरिन्छ। थारू समुदायमा महुवाको रक्सीलाई विशेष मानिन्छ। महुवा यस्तो वनस्पति हो, जसको फल, फूल, पात, बोक्रा र जरासम्म खान र औषधि बनाउन मिल्छ। यसको फूलबाट भने रक्सी बनाइन्छ, जसमा आइरन लगायतका औषधीय गुण बढी हुने मान्यता छ।                                                                                                                                             तस्बिर: यम चौधरी 'महुवाले जिउ दुखेको निको पार्छ भन्ने बुझाइ छ। यसलाई जाडोमा खान भने त्यति उपयुक्त मानिन्न। किनभने, यसले सर्दी लगाउन सक्छ। तर यसलाई विशेष खालको मद मानिन्छ,' सर्वहारीले भने। महुवाको बोट जंगलतिर मात्र पाइने भएकाले यसको फूल खोजेर ल्याउन दुःख हुने उनी बताउँछन्। 'अन्नको रक्सी त जसरी पनि बनाउन सकिने भयो, तर महुवाको बोट हाम्रोतिर नरोपिने भएकाले निकै दुःखले खोजेर ल्याउनुपर्छ,' उनले भने। थारू संस्कृतिसँग महुवा अभिन्न रूपले जोडिएकाले यस वर्षदेखि विभिन्न गाउँपालिका र नगरपालिकाले महुवाको बोट रोप्नुपर्छ भनेर सामुदायिक वनहरूसँग वृक्षारोपणमा सहकार्य गरेका छन्। खासगरी बर्दिया र कैलालीमा यो अभियानकै रूपमा अगाडि बढेको सर्वहारीले बताए। जाँड-रक्सी बनाउने काम विशेषगरी महिलाहरूले गर्छन्। सर्वहारीकी श्रीमतीलाई पनि यो सीप आउँछ। इन्दुकी आमा र हजुरआमालाई पनि आउँछ। त्यो सीप आफ्नो पुस्तासम्म नपुग्नुलाई इन्दु दुर्भाग्य मान्छिन्। 'जाँड-रक्सी बनाउने काम महिलाको सीपसँग जोडिएको छ। कसरी बनाउने, औषधि कति हाल्ने, पानी कति हाल्ने लगायत ज्ञान चाहिन्छ,' उनले भनिन्, 'अलिकति तलमाथि भयो भने सबै बिग्रन्छ। त्यो ज्ञान मसँग छैन भन्दा मलाई नराम्रो लाग्छ।' उनले अगाडि भनिन्, 'जाँड-रक्सी खानु नराम्रो हो भनेर अपहेलना गर्दै गयौं भने हामीले हाम्रो संस्कृतिसँग अभिन्न रूपले जोडिएको यो पेय गुमाउन धेरै समय लाग्दैन।' सेतोपाटीबाट