Above Header
Above News Title

नत्थुरामको रिक्सा (कथा)

नत्थुरामको रिक्सा (कथा)

चेतना शर्मा
एक समयमा नत्थुराम कमैया थियो । अब ऊ ‘मुक्तकमैया’ हो । उसलाई लाग्यो, मुक्त भएपछि उड्न सक्नेछ । त्यसैले मुक्त भएको दिन जमिन्दारको घरबाट जीउमा लगाएको एकसरो लुगाबाहेक केही नलिई बाहिरिएको थियो ।
“रिक्सा कैसिके टुटल”, लालमतीका आत्तिएका शब्द नत्थुरामका कानमा ठोक्किन्छन् ।
“कार ठोकल ।”, नत्थुराम यति मात्र जवाफ फर्काउँछ । के, कसरी, किन ? आदि इत्यादि सबै कुराको बिस्तार लाउने जाँगर चलेन उसलाई । रिक्सालाई लतार्दे ल्याउँछ र आँपको रुखमा अडेस लाएर राख्छ । रस्सीले बुनेको चारपाईमा गम्छा फाल्छ र पानीको नल्कातर्फ सोझिन्छ । फर्केर उही चारपाईमा बस्छ । गम्छाले निधार पुच्छ । तराईको अत्यासलाग्दो गर्मीमा नत्थुरामको पसिना र आँसु छुट्टिएको छैन । घरको छतमा काग कराउँछ । उसको ध्यान भङ्ग हुन्छ । ऊ देख्छ, छेउमा लालमती टुक्रुक्क बसेकी छे ।
लालमती, छोरी त आउँदिन ? काग करायो ।
“के थाहा ?”
आफन्तका नाममा छोरीबाहेक अरु को नै छ र उनीहरुको ?
 “आज कोही नआइदिए हुन्थ्यो ।” बसेको ठाउँबाट बरबराउँदै उठ्छ र रिक्सालाई मसार मुसुर गर्छ । “जा हुइल हुइल” लालमतीका सान्त्वनाका दिने शब्द र भावभङ्गीहरुसँग कुनै चासो राख्दैन ऊ । तर अम्खराको पानी एकछिन घटघट् पिएर रित्याउँछ । आफ्नो वरिपरिको सबै थोक निरश र बोझिल लागिरहेका छन् । बस, ऊ थन्किन चाहन्थ्यो, कतै रिक्सालाई थन्क्याएर । तर स्वास चलुन्जेल थन्किने छुट कसरी पाउँछ र उसले ?
 “रिक्सा राम्ररी चलाउन जान्दैन ? सडकका भार ।”, चिल्लो कारबाट एउटा मानिस ओर्लेर उसलाई गाली गरिरहेको हुन्छ ।
“तपाईंको कारको अघि बच्चीलाई जोगाउन खोजेको हुँ ।”, नत्थुराम भन्न खोज्दै थियो । नत्थुरामका पोल्टामा गल्ती हालेर कार घुइँकिन्छ र अलप हुन्छ, उसको नजरबाट ।
“सडक किन मेरो हुन सकेन कहिल्यै ?”, चिल्लो सडकमा त चिल्ला गाडीमात्रै घुँइकिन्छन् । ऊ आँखाले भ्याएसम्म खाल्डा खुल्डी परेको सडक हेर्छ ।
उसलाई रिक्साको यसरी माया लाग्यो मानौं त्यो उसको सन्तान हो, जसमाथि उसको निकै आशा र भरोसा थियो । आमाबुवाको सपना चकनाचुर गरेर एउटा सन्तान उसका अघि उभिएको छ । तर त्यो रिक्सालाई छातीमा अठ्याँउन मन लाग्छ, नत्थुरामलाई । रिक्साको पछाडिको एउटा चक्का र अगाडिको एउटा चक्का पूरै बाँगिएको छ । बस्ने सिटको गद्दीमा पनि क्षति पुगेको छ ।
“लालमती यो सपना भैदिए त हुने नि ।”
“त्यसो भए हाम्रो जिन्दगी नै सपना भए हुने नि”, श्रीमतीको आवाज कठोर थियो । सङ्घर्षले या त मानिसलाई हराउँदो रहेछ या त कठोर बनाउँछ भन्ने कुरा उसले नबुझेको होइन । आकाशतर्फ हेर्छ । कति विशाल र कति फराकिलो । आकाशको विशालतामा ऊ समाहित हुन चाहन्छ ।
उसको नजर रिक्सातर्फ नै जान्छ । रिक्सा र उसको आत्मीय सम्बन्ध उसले मात्रै अनुभव गर्न सक्छ । फिलिममा देखाएजस्तै सम्बन्ध नभए पनि नत्थुराम र लालमती एकअर्काको दुःखका भाषा बुझ्दछन्, सान्त्वना दिन नजाने पनि एकअर्कालाई एकान्तमा छाडिदिन्छन् । 
नत्थुरामलाई थाहा छ, श्रीमती पनि खाली बस्दिनँ । दिउँसो हेल्कामा माछा पार्न जामुनी खोलातर्फ जान्छे । सकेको ल्याउँछे, नसके रित्तो जाल लिएर फर्कन्छे । ससाना माछा सुकाएर सुकुटी बनाउँछे । अब भने सक्ने र नसक्ने उनीहरुको सामथ्र्यमा अस्ताउँदै गएको उमेरले छेकबार लाउँदै गएको छ ।
सक्ने उमेर त जमिन्दारको पेवा भएर सकियो । एक समयमा नत्थुराम कमैया थियो । अब ऊ ‘मुक्त कमैया’ हो । उसलाई लाग्यो, मुक्त भएपछि उड्न सक्नेछ । त्यसैले मुक्त भएको दिन जमिन्दारको घरबाट जीउमा लगाएको एकसरो लुगाबाहेक केही नलिई बाहिरिएको थियो ।
मुक्त कमैयाको जमात ठूलो थियो । त्यसपछि त कमैया मुक्ति एउटा नारा बन्यो । कति मुक्त कमैयाको आवाज उँचो भयो, विगतमा भोगेका पीडाहरुलाई शक्तिमा बदल्नुपर्ने अठोट लिन थाले । कति राजनीतिक दलका नेता बने । कमैया बाहेकका मान्छेका लागि पनि कमैया मुक्ति माँगीखाने भाँडो बन्यो । तर नत्थुरामजस्ता भने एउटा भुँग्रोबाट अर्को भुँग्रोमा खसेका मात्र थिए ।
खेतीकिसानीको राम्रै ज्ञान छ उसलाई । तर खान सक्ने सम्मको खेतीबारी पनि उसँग थिएन । सानो कमैया शिविरको छाप्रामा ऊ अटाएको थियो । एउटा स्वतन्त्रता भने मुक्तिपछि पक्कै पाएको थियो नत्थुरामले । ऊ रिक्सा चलाएर स्वतन्त्रताको स्वाद चाख्न खोज्थ्यो । त्यो रिक्सा आफ्नो होइन मालिकको हो । 
नत्थुरामलाई रिक्सा मालिकले गर्ने व्यवहार नराम्रो लागेर के गर्नु ? उसले बुझेको छ गरिबीको अर्को नाम सहनु पनि हो । उसलाई थाहा भयो यो “मालिक” शब्द उसको जीवनबाट नछुट्ने भयो । दैनिक कमाइको निश्चित रकम रिक्सा मालिकलाई बुझाएपछि बाँकी बचेको रकम आफ्नो हाफपेन्टको खल्तीमा राखेर बेलुका घर फर्कन्थ्यो ऊ । र, निदाउँथ्यो । 
सपनामा आफू मालिक भएको हेर्न चाहना हुन्थ्यो । हो, रिक्सा मालिक । त्यसैले सधैं बाँकी पैसा जम्मा पारेर राख्दथ्यो । बेलाबेलामा गर्मीले बेहाल भएको बेला सडक छेउ छाँयामा रिक्सा ठड्याएर रिक्सामा केहीबेर सुस्ताउँदथ्यो ।
“नत्थुराम यो रिक्साको मर्मत गरेर मलाई बुझाइ दे ।”, यी शब्द उसका कानमा नपरुन् भन्ने लागेको थियो । तर नसुन्नुको विकल्प थिएन । उग्र रुपमा गरिबी उसको नजिक बढिरहेको थियो । खुइलिएको टाउकोमा गम्छा राखेर अनुनयनको भावमा उभिएको थियो मालिकका सामुन्ने ।
आज उसले रिक्सालाई जोगाउन सकेन वा रिक्साले उसलाई जोगाउन सकेन ? यो कुरा उसलाई बारम्बार घोचिरहेको छ । खासमा न त रिक्साले उसको सपना जोगाउन सक्यो, न त उसले रिक्सालाई नै ।
लालामती खाना लिएर उसका अगाडि आउँछे । गब्डा (गाभा)को टिना, रातो खुर्सानी र भातका डल्लाहरु । खान मन कतै छैन उसलाई, अर्को मनले सोच्छ खानाको के दोष ? अब यो खाएर सुत्न जानुछ उसलाई । आज अरु दिनभन्दा लामै निदाउन चाहन्छ ऊ । तर “रिक्सा मालिक” भएको सपना भने देख्न चाहँदैन । साहित्यपोष्टबाट
 

प्रकाशित:

९४३ दिन अगाडि

|

५ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८९१ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९२६ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९३६ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८९१ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८४० दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८९६ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८२९ दिन अगाडि

|

२७ मंसिर २०७९