सुनिल उलक
नेवाः परम्परा अनुसार कौलाथ्व पारुको दिनदेखि मोहनी नखःको शुरुवात हुन्छ । नेवाः वर्षमा कौला अन्तिम महिना हो । नेवाःहरुको पात्रो चन्द्रमास अनुसार हुने गर्दछ । पहिलो दिन प्रत्येक महिना पारु (परेवा तिथि)बाट नयाँ महिनाको शुरुवात हुने गर्दछ । कौला महिनाको पहिलो दिन मोहनी नखःको शुरुवात हुन्छ । यसपछि आउने महिला कछलामा नेवाःहरुको नयाँ वर्ष शुरु हुन्छ । जुन म्हपूजाको दिन पर्दछ ।
हुन त अरु जातिले मनाउने दशैमा झै मोहनी नखः मा पनि घटस्थापनाकै दिन नल स्वाः (जमरा) रोपिन्छ । एकाबिहानै नजिकै रहेको खोलामा गएर खोलाको किनारबाट शुद्ध बालुवा तथा शुद्ध जल ल्याएर नल स्वाः रोप्नका लागि माटोको भेग (मुख खुला भएको भाँडा) मा बालुवा ओछ्याएर त्यसमा एकदिन अगाडि भिजाएको जौ (कसैले मकै पनि मिसाएर) छर्केर बालुवाले नै छोपेर रोपिन्छ । पूजा गरि जौ रोपिसकेपछि सो भेगःलाई फेरी अर्को भाँडाले छोपिन्छ । यसरी जमरा रोप्नुको कारण देवीका लागि शुद्ध फूल तैयार गर्नु हो । सूर्यको पनि आँखा नलागोस् ।
किरा पुतलीहरुले पनि जुठो नगरोस भनेर पूर्ण शुद्ध जमरा तैयार गर्नका लागि नित्य पूजा गर्ने गरिन्छ । तर नल स्वाः रोपिए पछि बिचका दिनहरुमा खासै केही गरिदैन । काठमाडौमा भने पञ्चमीको दिन पचिमह्र अर्थात पचली भैरवको जात्रा मनाउने गरिन्छ । अन्यथा नल स्वाः रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा नल स्वाः को पूजा मात्र गरिन्छ ।
सप्तमीको दिनमा नेवाःहरु फूलपाती भित्र्याउने गर्दैनन् । फूलपाती पृथ्वीनारायण शाहको विजय अभियानसंगै बिभिन्न स्थानमा मनाउन थालिएको हो ।
नेवाःहरुको मोहनी नखःको शुरुवात भने सप्तमीको बिहान राँगोको मासु भित्र्याएपछि शुरु हुन्छ । यस दिन गुठीमा काटिएको राँगोको भाग गुठियारहरुमा बाँडिन्छ । यो मासु घरमा भित्राउने बेलामा मूल ढोकामा पुगेपछि एकैछिन बिसाउनु पर्दछ । यही मूलढोकामा बसेर मासुको सानो सानो तीन टुक्रा निकालिन्छ । यस मध्य एक टुक्रा दाँया तर्फ देवतालाई चढाउनु पर्दछ । बाँया तर्फ पितृलाई चढाउनु पर्दछ । अर्को एक टुक्रा शिर नघाएर पछाडी चढाइन्छ । यो टुक्रा पिखालखुको लागि चढाउने गरिन्छ । यसरी मासु भित्राए पछि बिहान समयवजी खाने गरिन्छ । यस दिन खासै भोज खाने चलन हुदैन ।
अष्टमीबाट भने दशैको रौनक अलग किसिमको हुने गर्दछ । बिहान पूजा पछि सप्तमीको दिन भित्राइएको मासुको परिकार बनाएर अष्टमीको दिन भोज खाने चलन छ । अष्टमीको बिहान समयवजी खाने गरिन्छ । समयवजीको भाग मूलढोका अगाडि रहेको पिखालखुमा पनि चढाउने गरिन्छ । अष्टमीको राती हरेक नेवास्हरुको घरमा ूकुछिभ्वयू खाने गरिन्छ । कुलको सबै सदस्यहरु मिलेर लाइनै बसेर खाने भोज भएको हुँदा ूकूलछिभ्वयू भनिएको हो । तर पछि अप्रभंश भइ ‘कुछिभ्वय’ भन्न थालियो ।
यो भोज नेवाःहरुको परम्परामा बिशेष महत्व राख्ने गर्दछ । यस भोजमा कूलका कुनै सदस्य उपस्थित हुन सकेन भने पनि उसको स्थानमा ब्व (भाग) राख्नुपर्छ । साथै बिबाहित दिदीबहिनीहरुको ब्व राखेर भोलिपल्ट उनिहरुको घरमा छोड्न जानुपर्ने परम्परा छ । तर अचेल खासै त्यस्तो गरेको देखिदैन ।
साथै अर्को महत्वपूर्ण कुरा कुछिभ्वय कुनै पनि साल जस्तोसुकै अवस्थामा पनि छुटाउनु हुदैन भन्दै परिवारको सदस्यको मृत्यु भइ मोहनी नख नै मनाउन नहुँदा पनि कुछिभ्वय भने खानैपर्छ भन्ने परम्परा छ । यदि कुछिभ्वयकै दिन परिवारको कुनै सदस्यको मृत्य भएमा पनि दाहसंस्कार समाप्त गरिसकेपछि अदुवालाई मासुको रुपमा तथा मासको वस्को ठाँउमा केराउको ब्वः बनाएर भोज खाने गरिन्छ ।
कुछिभ्वयको ब्व लगाउँदा सबैभन्दा पहिले द्यब्व (देवताको भाग) लगाउनु पर्छ । घौब्व तथा आगँब्व (आँगनमा पिखालखको भाग) लगाइसकेपछि परिवारको संख्या बराबर ब्व लगाउनुपर्छ । कुछिभ्वको भाग लगाउँदा केराको पात (म्वाय् लप्ते)मा राखिन्छ । भागको बिचमा च्यूरा (कतै कतै दुइमाना भनिन्छ) राखिन्छ । त्यसपछि बिभिन्न खानेकुरा राखेर सजाइन्छ ।
परिवारका सबै सदस्यहरु जेष्ठता क्रमको आधारले लहरै बसेपछि प्रत्येकको अगाडि केराको पात (म्वाय् लप्ते)मा राखिन्छ । क्रमश सबै भागमा सबैभन्दा पहिले च्यूरा राखिन्छ । कतै कतै कुछि भ्वयलाई दुइमाना च्यूरा खानुपर्छ भन्दै कुरुवाले च्यूरा भरेर भाग लगाउने पनि गरिन्छ । यसपछि झोल भएको मासु र अचार राखिन्छ । यो खाँदै गर्दा बिचमा च्यूरा थप्न आँउछ ।
च्यूरा थपिए पछि झोल भएको अन्य तरकारीहरु राखिन्छ । यसमा आलुको तरकारी, सिमी, बोडी, तथा फर्सीको तरकारीहरु हुने गर्दछ । यो मासु नखानेहरुको लागि बिशेष रुपले बनाएको पनि हुन्छ । यस पछि भने तःकू ला राखिन्छ । शुरुमा झोल भएको मासुको तरकारीमा मासुको सानो सानो टुक्रा बनाइएको हुन्छ । जसले गर्दा सो शुरुको मासुलाई चिकु ला भनिन्छ तर पछि राखिने मासुमा भने ठूलो ठूलो टुक्रा बनाइएको हुँदा यसलाई तस्कू ला भनिन्छ । यो मासु बिशेष प्रकारले बनाइएको हुन्छ । झोल नहुने तथा दहि राखेर धेरै बेरसम्म पकाएर बनाइन्छ ।
तस्कू ला भने परिवारको हैसियत अनुसार दुइ प्रकारको पनि बनाइन्छ । एउटा राँगोको अर्को बोकाको । यो संगै भुटुवा, छ्वयला, नलु, हिघासा, क्वेँ जस्ता मासुका अन्य परिकारहरु पनि आउने गर्दछ । भनिन्छ खानेकुराहरु कम्तिमा १२ प्रकारको हुनुपर्छ । साथै भागमा राखिने छ्वयलाको संख्या पनि १२ नै हुनुपर्छ ।
नेवाःहरुको हरेक भोजमा रक्सी तथा जाँड खाने प्रचलन परापूर्वकाल देखि नै रहेको छ । तसर्थ मासुको साथमा रक्सी पनि दिने गरिन्छ । पुरुष सदस्यलाई रक्सी र महिला सदस्यहरुको लागि जाँड दिने गरिन्छ । रक्सी र जाँड बिशेष प्रकारको सलीमा दिने गरिन्छ । रक्सी सानो सलीमा राखिन्छ भने जाँड केही ठूलो सलीमा राखिन्छ । सली माटो वा ढलोटको हुने गर्दछ । मुख फराकिलो हुने भाँडोलाई सली भनिन्छ ।
तस्कू ला पछि राखिने परिकार भने वाउँ चा ल्याउने गरिन्छ । वाउँ चा भनेको हरियो सागसब्जी हो । वाउँ चा आउनु अगाडि कुनै पनि परिकार थप्दै खाने सकिन्छ । तर वाउँ चा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नु पर्दछ । वाउँ चा पछि भने कुनै पनि परिकार थप्नको लागि अनुरोध गर्न पाइदैन ।
वाउँ चा भनेको हरियो सागसब्जी हो । वाउँ चा आउनु अगाडि कुनै पनि परिकार थप्दै खाने सकिन्छ । तर वाउँ चा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नु पर्दछ ।
हरियो साग पछि पाउँ क्वा वा मी क्वा आउँछ । लब्सीबाट बनाइने पाउँ क्वा तातो तातो वा चिसो दुइ प्रकारको हुने गर्दछ । यहि लब्सीको झोलमा मेथी झानियो भने त्यसलाई मी क्वा भनिन्छ । खासमा यो अमिलो खानेकुरा पचाउनको लागि महत्वपूर्ण हुने हुँदा भोजको करिव करिव अन्तिममा दिने गरिन्छ । यो अमिलोले रक्सिको नशालाई पनि कम गराउन गर्दछ । अचेल भने सबै परिकार एकैसाथ राखिदिने तथा थाहा नपाइकन सबै मिसाएर एकसाथ खाने गरिएको पाउँछौ ।
यसपछि दही दिने गरिन्छ । दही बाँड्न आँउदा भने इच्छा अनुसारको च्यूरा पनि राखिने गरिन्छ । तर दहीसंग इच्छा नलागेकोले दही मात्र पनि खान सकिन्छ । दही राख्ने बेलामा पनि जेष्ठता क्रममा नै राख्ने गरिन्छ । दही शुभमंगलको पनि प्रतिक भएको हुँदा शुरुमा खाने ब्यक्ति भाग्यमानी हुने हुँदा कहिले काँही परिवारको कुनै एक सदस्यलाई सबैभन्दा पहिले दही दिएर पनि उसले चाहेको पुरा होस भनेर शुरुमा दिने पनि चलन यदाकदा भेटिन्छ । दही पछि सिसाफुसा ल्याइनछ ।
सिसाफुसा भनेको फलफूल काटेर टुक्रा टुक्रा बनाइएको हो । तर फलफूलको साथमा भिजाइएको केराउ र काटेको मुला पनि हुने गर्दछ । सिसाफुसासंग अन्तिम पटक रक्सी तथा जाँड पनि राख्ने गरिन्छ । यसपछि बल्ल कुछिभ्वय समाप्त हुन्छ ।
कुछिभ्वय खाने सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ । साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ । बिचमा उठ्नु पर्दा सबैभन्दा पहिले जेष्ठ सदस्यसंग अनुमति लिनु पर्छ । त्यसपछि आफ्नो दाँयाबाँया बसेकोसंग अनुमति लिए पछि मात्र उठ्न पाइन्छ । यसरी कुछिभ्वय समाप्त हुन्छ ।
कुछिभ्वय खाने सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ । साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ ।
कुछिभ्वयको भोलिपल्ट ‘स्याक्वत्याक्व’ भनिन्छ । यस दिन काटमारको काम हुन्छ । यस दिन सवारी साधनको पूजा तथा बलि दिने गरिन्छ । यस दिन पूजा गर्ने हुँदा विश्वकर्मा पूजाको दिन सवारी साधनको पूजा गर्ने गर्दैनन् । तर अचेल भारतीय देखासिखी गर्दै नेपालमा पनि विश्वकर्मा पूजाको दिन सवारी साधन तथा ज्यावलहरु पूजा गर्ने चलनको शुरुवात भएको पाउँछौ ।
‘स्याक्वत्याक्व’ शव्द भने सयेकुक्व त्यात शव्दबाट अप्रभंश भइ भएको भन्ने मान्यता छ । सयेकुक्व त्यातको अर्थ जति सिक्यो त्यति फाइदा हो । यसरी जति सिक्यो त्यति राम्रो भनिएको शव्द अचेल काटमार गर्ने दिनको रुपमा बुझ्ने गरिन्छ । घरमा काटिएको जनावर (कुखुरा वा खसी)को टाउकोको भागलाई सिकाःभूू लिने गरिन्छ । परिवारको ठूलादेखि साना सम्मको पुरुष सदस्यको भागमा नाक, कान, आँखा, बङ्गरा आदी बाँडिन्छ । नवमीको रात मोहनीको मूख्य टीका मोहनी सिन्ह बनाउने गरिन्छ । यही मोहनी सिन्हको नामबाट नै यो चाडको नाम मोहनी रहन गएको हो ।
बलिरहेको दियोमा माथिबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वाँसोलाई नै मोहनी सिन्ह भनिन्छ । यस टिकालाई पहिले तान्त्रिक बिधिबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ ।
बलिरहेको दियोमा माथिबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वाँसोलाई नै मोहनी सिन्ह भनिन्छ ।
दशमीको दिनलाई नेवारहरु चालं भन्ने गर्दछन् र अन्य जातिले मनाउने दशैमा झै नेवारहरुमा पनि घटस्थापनाको दिन रोपिएको नल स्वाः निकालेर मोहनी सिन्ह लगाइदिने र नल स्वाः पनि दिने गरिन्छ । साथै नेवारहरुमा रातो वा सेतो रङको क्वखा अर्थात कपडाको धजा पनि लगाइदिने गरिन्छ ।
दशमीको भोलिपल्ट चालं क्वकायेगु भनिन्छ । यो दिन अष्टमीमा पूजा गरिएको औजारहरु तथा पुस्तकहरुलाई निकालिन्छ । यसरी निकालिँदा परिवारको सदस्यलाई लस्ल्हाये (दिने) गरिन्छ । टीका भने पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफ्ना फुकी (दाजुभाइ) तथा आफन्तहरु सबैकोमा टीका थाप्न जानुपर्छ ।
प्रकाशित:
९०० दिन अगाडि
|
१६ असोज २०७९
८ दिन अगाडि
|
२९ फागुन २०८१
१० दिन अगाडि
|
२६ फागुन २०८१
११ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९