आज थारु समुदायको ढिक्रह्वा हो । अष्टमीको दिनलाई ढिक्रह्वा भनिन्छ ।
आज साँझ प्रत्येक थारु घरमा डेहुरार (देउता कोठा) देवीदेवताहरुलाई मादलको ताल बजाउँदै जमरा, बाबरी, डौनासँगै ढिक्री चढाइन्छ ।
ढिक्रीको थरिथरिका आकार हुन्छ । यो किन विभिन्न आकारमा किन बनाइन्छ त ? यसबारे धेरैलाई चासो हुनु स्वाभाविक हो ।
थारू समुदायको मुख्य परिकारमध्ये ढिक्री एक हो । विशेष खुशियालीको अवसरमा तथा माइतीबाट विदाइ हुने छोरी चेलीका लागि कोशेलीको रुपमा पनि ढिक्री बनाइन्छ । थारूहरूको नयाँ वर्ष माघी, दशैं अनि दीपावलीमा पनि ढिक्री मुख्य खान्की हुन्छ । यद्यपि, चाडअनुसार ढिक्रीको आकारप्रकार बनावट भने फरक फरक हुन्छ ।
यहाँ ढिक्रीको थरिथरिका आकारबारे चर्चा गरिन्छ ।
१) लम्मा ढिक्रीः
लम्मा अर्थात लामो ढिक्री थारू समुदायमा सबैभन्दा लोकप्रिय मानिन्छ । माघीम लम्मा ढिक्री अनिबार्य बनाइन्छ । त्यसैले, लम्मा ढिक्रीलाई मघहा ढिक्री पनि भनिन्छ । चेलीबेटीहरुले दाजुभाइको लामो आयुको कामना गर्दै लाम्चो ढिक्री बनाउने भनाइ पनि छ । यसको औसत लम्बाई ६ इन्च जति हुन्छ । थारू होमस्टे तथा रेष्टुरेण्टमा पनि प्रायः यही लम्मा ढिक्री बनाइन्छ । व्यापारिक प्रयोजनका लागि बनाइने भएकाले त्यहाँको ढिक्रीको आकार भने सानो हुन्छ ।
२) गुलियार ढिक्रीः
गुलियार अर्थात गोलो ढिक्री खास गरी दशैंमा बनाइन्छ । त्यसैले, यसलाई दशैंहा ढिक्री पनि भनिन्छ । अष्टमीमा गोलो ढिक्री बेलको काँडाको हाँगामा फलझैं फलाएर देउतालाई चह्राएपछि मात्रै ढिक्री खान पाइन्छ । अघिपछि पनि यस्तो ढिक्री बनाइन्छ ।
३) दिया ढिक्रीः
गोलो ढिक्रीलाई बुढी औंलाले थिचेर दीयो आकारमा बनाइएको ढिक्रीलाई दिया ढिक्री भनिन्छ । दीपावलीको अवसरमा लक्ष्मी पूजाको दिन देउतालाई चढाएपछि मात्रै यो ढिक्री खान पाइन्छ । दीपावलीमा केटाकेटीलाई यो ढिक्री लुटाउने परम्परा पनि छ । अघिपछि यस्तो ढिक्री बनाइदैन ।
४) बोझा ढिक्रीः
पातलो लम्मा खालको पाँच पाँच वटा ढिक्री दुइ भागमा बाँधेर भारी बनाइएको ढिक्रीलाई बोझा ढिक्री भनिन्छ । बोझा ढिक्री दशैंको अष्टमी तथा दीपावलीको लक्ष्मी पूजाको दिन देउतालाई प्रसादको रुपमा चढाउन मात्रै बनाइन्छ ।
तस्विरः थारु कम्युनिटी
५) लट्ठी ढिक्रीः
लामो ढिक्रीभन्दा करिब दोब्बर लामो खालको ढिक्रीलाई लट्ठी ढिक्री भनिन्छ । यो ढिक्री पनि दीपावलीको लक्ष्मी पूजाको दिन देउतालाई प्रसादको रुपमा चढाउन मात्रै बनाइन्छ । संस्कृतिवीद गोपाल दहितका अनुसार खास गरी दहित थरका थारूहरुले पूजा गरी घरको दुवै तिरको ढोकामथिको छाप्रोमा लट्ठी ढिक्री घुसार्छन् । यसले घरको रक्षासमेत गर्ने विश्वास गरिन्छ ।
६) छित्रही ढिक्रीः
ठूलो दियो ढिक्रीमाथि तीन या पाँच वटा ससाना गोलो ढिक्री चाङ लगाएर बनाइएको ढिक्रीलाई छित्रही ढिक्री भनिन्छ । छित्रही ढिक्री पनि दशैंको अष्टमीको दिन देउतालाई प्रसादको रुपमा चढाउन मात्रै बनाइन्छ ।
७) हँठिया ढिक्रीः
हात्ती पुजुवा दहित थरका थारूहरुले दशैंमा देउतालाई चढाउन हात्तीको शरीरझैं हँठिया ढिक्री बनाउँछन् । यसरी ढिक्री बनाउने र खाने परम्परा थारू संस्कृति र संस्कारसंग पनि जोडिएको देखिन्छ । (स्रोतः दहित, २०६२, थारु संस्कृतिको संक्षिप्त परिचय)
होटलमा ढिक्री
थारू होमस्टे तथा थरुहट क्षेत्रका बजारमा खोलिएका थारू होटलले पनि ढिक्री बनाएर बेच्न थालेका छन् । काठमाडौं, कीर्तिपुरको पाँगा तथा बौद्ध, टुसालस्थित बरघर रेष्टुरेण्टको मेनुमा ढिक्री नियमित रहेको सञ्चालक सिताराम चौधरी बताउँछन् ।
मःम जस्तै बाफमा उसिनेर पकाइने पिठोको एक परिकार हो, ढिक्री । पश्चिमा र पूर्वीया थारूहरुको ढिक्री बनाउने तरिकामा खास अन्तर छैन । मःम भित्र मासु रहेझैं पूर्वीया थारूहरुले गुलियो मिलाएर ढिक्री बनाउँछन्, जसलाई बगिया भन्छन् । पश्चिमा थारूहरुले भने सादा ढिक्री बनाउँछन् । व्यापारिक दृष्टिले बनाइने ढिक्रीमा नरिवल, छोहरा आदि मिश्रण गर्न थालेका छन् । भारतमा बस्ने थारूहरुले पनि पश्चिमा थारूहरुझैं ढिक्री बनाउँछन्, जसलाई पीठा भनिन्छ । शाकाहारीका लागि तोरीको हरियो साग र मांसहारीका लागि सुंगुरको मासुसंग ढिक्री स्वादिष्ट मानिन्छ ।
प्रकाशित:
८६५ दिन अगाडि
|
१७ असोज २०७९
९ घण्टा अगाडि
|
१ फागुन २०८१
१८ घण्टा अगाडि
|
१ फागुन २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
१३ दिन अगाडि
|
१८ माघ २०८१
१७ दिन अगाडि
|
१५ माघ २०८१
२१ दिन अगाडि
|
११ माघ २०८१
८५७ दिन अगाडि
|
२५ असोज २०७९
८९१ दिन अगाडि
|
२१ भदौ २०७९
९०१ दिन अगाडि
|
१२ भदौ २०७९
८५६ दिन अगाडि
|
२६ असोज २०७९
८०५ दिन अगाडि
|
१५ मंसिर २०७९
८६१ दिन अगाडि
|
२० असोज २०७९
७९४ दिन अगाडि
|
२७ मंसिर २०७९