कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी गाउँको सखिया नृत्य । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस
सखिया थारूहरूको दसैँ तथा दीपावलीमा नाचिने नृत्य हो । दसैँ आउनु दुई साता अघिदेखि रातीको खानापछि सखिया गीत सिकाउने मोह्रिन्या (गुरुमा) को घरमा सखिया नाच्ने टोलीका सदस्यहरू गीत सिक्छन् ।
दसैँ सुरु भएपछि दिन डुबेसँगै अर्थात् गोधुली साँझपछि गाउँको अगुवा बरघरको आँगनमा खास गरी एकैजसो पोशाकमा ठाँटिएर गाउँका थारू युवतीहरू जम्मा हुन्छन् । गाउँको घरसंख्या अनुसार नर्तकीहरूको संख्या पनि बढी, थोरै हुने गर्छ ।
मादलेको आगमन भएपछि मादलको तालमा गीत गाउँदै हातको मुजुरा एक आपसमा ठोक्काउँदै नाच्छन् । यो आलेख सखियामा नाचिने मादलको ताल तथा पैँया (चरण)मा केन्द्रित रहेको छ ।
सखिया नृत्यको पृष्ठभूमि
सखियामा मादलेहरू आफ्नो मादलमा झप्कनले सजाएर टोपी, गम्छा, कमिज, कछार लगाएका हुन्छन् । नर्तकीहरू सेतो रिवन, रातो झोवन्हा, रातै ब्लाउज तथा सेतो ठेठवा (लुँगी जस्तो पहिरन) एकै किसिमको पहिरन लगाएका हुन्छन् । ठेठवा अड्याउन कम्मरमा बाँधिने पेटी तथा खुट्टाको चप्पल भने फरक फरक हुन्छ ।
पैँया मूलतः गीतहीन सामूहिक नृत्य हो । तर केही गीति पैँया पनि पाइन्छ । त्यस्तो पैँयालाई गिडाहा पैँया भनिन्छ । कुनै कुनै पैँया गीत त श्रृङ्खलित आख्यानमा उनिएको हुँदा त्यस्ता पैँया गीतलाई लोकगाथाको कोटिमा पनि राखिएको छ । पैँया गीत अनेक बिषयबस्तुमा रचिएको पाइन्छ । यसमा रामायण, महाभारत तथा लौकिक जीवनका आख्यान पनि भेटिन्छन् । रावणसँग सम्बन्धित रौंनक पैँया पनि रहेको छ (दिवस र प्रधान (सं), २०६५ः २४४) । यसरी पैँया लाग्दा सखिया गीतकै प्रसङ्ग आउनु पर्छ भन्ने छैन ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी गाउँको सखिया नृत्य । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस
अशोक थारूका अनुसार (२०६३ः ६०) सखिया शब्दको प्रार्दुभाव बज्र भाषाको ‘सखी आ !’ शब्दबाट भएको हो । स्मरणीय छ, कान्हाले द्रौपदीलाई समेत सखी भन्थे भने राधा त कान्हाकी सबैभन्दा प्रिया सखी थिइन् । त्यसैले, थारू कान्हाहरू थारू लोक राधाहरूलाई बोलाउँछन्, ‘ओ सखीहरू ! आउ न आजको यस खुसीको अवसरमा नाचौं, गाऔ र एक अर्कामा लीन होऔ ।’ यसरी ‘सखी आ’ भन्दा भन्दै यस लोकनृत्य अर्थात् उत्सवको नाम नै संक्षिप्तमा सखिया हुन आएको हो ।
जगदीश नारायण सिंह निर्भिकका अनुसार (१९९२ ई.ः १३९) सखिया नृत्यको परम्पराको उद्भवमा मध्यकालीन वल्लभीय प्रभाव हुन सक्छ । जनश्रुतिअनुसार घमण्डी देवले कान्हाका सखी ललिताका गाउँका केटाहरूलाई अभिनय गर्न सिकाएका थिए । अकवरी दरवारका नृत्यकार बल्लभ बृन्दावन पुगेर तिनलाई नृत्यको शिक्षा दिएका थिए । सखियाको पृष्ठभूमिमा यस किसिमको अन्तर्कथा सम्भव छ । सखियाको पृष्ठभूमि रास नृत्य हो ।
सखिया नृत्यमा ख्वाँट र पैँया
सखिया नाचमा मादलको ताल २२ ख्वाँट (चरण) हुने गरेकोमा सोही अनुसार पैँया पनि नाचिन्छ । ‘मोह्रिन्या’ मात्रै होइन, मादल बजाउन सिपालु मादलेहरू पनि हराउँदै गएकाले पैँयासँगै ख्वाँट पनि हराउँदै गएको छ । बर्दिया, मयुरबस्तीका गीतकार एवं सङ्गीतकार सुशील चौधरीले गरेको सखियाको बाइस ख्वाँट (ताल) र पैँया सङ्कलन गरेका छन् । उनी आफ्नो गाउँमा विगत तीन दशकदेखि मादलेको अनुभव सँगालेकाले यो ख्वाँट (ताल) सङ्कलन सम्भव भएको हो । यद्यपि यी २२ ख्वाँट (ताल) उनी एक्लैले बजाउँछन् । यसको चर्चा हुन सकेको छैन ।
तस्विरः चुर्णसिंह थारू
थारू समुदायले नाच्ने सखिया, बर्कानाच, लट्ठहवा र मुंग्रहवा नाचको मादलको तालमा धेरैजसो समानता पाइन्छ । यी सबै नाचको सुरुवातमा झ्वाङ ताल बनाइन्छ, जसलाई तान्त्रिक ताल मानिएको छ (चौधरी, २०७२ः ३२) । सखिया, लट्ठहवा र मुंग्रहवा नाचको मादलको तालको मूल शास्त्रीय श्रोत बर्का नाच हो । बर्का नाचमा बर्किमार (महाभारत) गाइन्छ । महाभारतको रचनाकार वेदव्यास मानिए झैं बर्किमारका रचनाकार घनपत गुरुवा रहेको किम्वदन्ती छ । यहाँ सुशील चौधरी (२०७३) बाट सङ्कलित मुख्य ख्वाँट (ताल) र पैँयाको सामान्य चर्चा गरिन्छ ।
१ झ्वाङ पैँया
यो नाच सुरु हुँदा र सकिदा बजाइने ताल हो । यसमा डौघिन डौघिन, फट्टौ नक टौघिन को तालमा मादल बजाइन्छ । झ्वाङ ताल खास गरी पचरा गीत गाउँदा वा गुर्वा बन्दा पनि बजाइन्छ । हरेरी पूजा गर्दा पनि यो ताल बजाइन्छ । यो ताललाई भुतहा ताल पनि भनिन्छ । जहाँ तहीं जतिखेर पायो। त्यतिखेर यो ताल बजाउन नहुने मान्यता रहेको छ । यो ताल शास्त्रीय तालको अति सम्वेदनशील ताल हो । यो तालको मादल बजेपछि धेरैजसो वयस्क पुरुषहरू काम्न र उफ्रिन थाल्दछन् ।
२. घुमैरा एकसरा पैँया
घुमैरा एकसरा तालमा डौं डौं डौं घिन, डौं डौं डौं घिनको आवाजमा मादल ठोकिन्छ । यो ताल पैयाको सुरुवाती ताल वा साधारण ताल हो । मादलेहरूले खुट्टा अगाडि पछाडि सार्दै मादलको तालमा नर्तकीहरूलाई उत्साहित गर्दछन् । नर्तकीहरू पनि मादलेको तालमा अगाडि पछाडि निहुरिंदै, उठ्दै मञ्जिरा बजाउँदै, जसरी मादलेहरू अगाडि सर्दै जान्छन्, त्यसरी नै तालमा ताल मिलाएर नाच्दछन् ।
३. घुमैरा दुईसरा पैँया
डौ नक डौ नक डौं घिनको बोलमा बजाइने घुमैरा दुईसरा ताल पनि सुरुवाती पैँया हो । तर यो तालमा दोहोरो ताल हुन्छ । नर्तकीहरूले दुई पटक निहुरिएर मञ्जिरा बजाउने र एक कदम पछाडि सरेर कम्मर हल्लाउने गर्छन् ।
४. नक्टी बुडी पैँया
नक्टी बुडी पैँयामा नक टौं घिडौं, नक टौं घिडौं, घन घिडौ घिन घिनको आवाजमा मादल बजाइन्छ । यो पैँयामा मादलेहरू मादलको तालमा नक टौं घिडौं गर्दै दुई तालमा दुई कदम अगाडि बढ्ने र घन घिडौ घिन घिन तालमा अडिएर कम्मर हल्लाउने हुन्छ । नर्तकीहरू पनि मादलेको तालमा ताल मिलाउँदै निहुरिएर मञ्जिरा बजाउँदै दुई कदम अगाडि बढेर मञ्जिरा बजाउने कम्मर मर्काउने हुन्छ । नक टौं घिडौं आवाज नक्टी बुडी (ठट्यौली हजुरआमा) को स्वरमा पनि सुनिने भएकोले यसलाई नक्टी बुडी ख्वाँट भनिएको हो ।
तस्विरः चुर्णसिंह थारू
५. चोल बुडी मड पिए पैँया
डौं घिडौ नक घिन, डौं घिडौ नक घिन, डौ घिन, डौ घिनको बोलमा यो ताल बजाइन्छ । यो पैँया लाइनमा र लाइन छिर्ने दुवै तरिकबाट नाच्न सकिन्छ । दुई लाइनमा रहेका नर्तकीहरूलाई आमने सामने उभ्याएर मादलेहरू दुई कदम अगाडि, एक कदम पछाडि गर्दै छिर्ने गर्दछन् । डौं घिडौ नक घिन मादलको स्वर चोल बुडी मड पिएको स्वरमा पनि सुनिने भएकोले यसलाई चोल बुडी मड पिए ख्वाँट भनिएको हो । मड (रक्सी) लागेको व्यक्ति दुई कदम अगाडि, एक कदम पछाडि गर्दै हिँड्ने भएकाले पनि चोल बुडी मड पिए (हिँड बजै रक्सी पिउन) ख्वाँटको नाम भएको हो ।
६.रेउ लर्को भेर घुमाउ पैँया
डौक्क चक्डौ, डौक्क चक्डौ, घुइक्क चक्डौ, घुइक्क चक्डौ, घुइक्क घिन घिनको तालमा यो पैँया बिस्तारै शरीर मौलाएर निहुरिएर उभिएर नाचिन्छ । हरेक नयाँ चरणमा एक कदम अगाडि बढिन्छ । यो घुमैरा पैँया हो । मेर्री (घेरा) मा सी आकारमा शरीर मौलाउँदै नाचिने भएकोले अति सुन्दर देखिन्छ । मादलको ताल फेरेपछि फरक्क फर्केर विपरीत दिशामा उभिएर निहुरिएर नाचिन्छ ।
७. मुर्गी लरैना पैँया
मुर्गी लरैना पैँयामा घिन्टौं टौं नक, घिन्टौं टौं नक, टौं नक घिनको बोलमा मादल बजाइन्छ । यो पैँया अति चर्चित पैँया हो । यो पैँयामा इहरि अङ्गनवा नचटि मैयाँ लाग रे हो ना बोलमा निहुरिएर झ्याम झ्याम मुजुरा बजाउँदै एक तालमा गीत पनि गाइन्छ । टौं नक घिन तालमा फरक्क फर्किएर मुजुरा बजाइन्छ । दुई लहरमा रहेका नर्तकीहरूले टाउको ठोक्काएर नाच्ने भएकाले मुर्गी लरैना (भाले जुधाउने) पैँया भनिएको हो ।
८. महोट्या पैँया
महोट्याको अर्थ माहुते हो । टौंँ टौं टौं नक घिन, घिन्टौं घिन्टौं टौं नक घिन यो पैँयामा मादल बज्दा नर्तकीहरूको नृत्य मुद्रा हात्तीको जस्तै हुन्छ । मादलेहरू नर्तकीहरूलाई आफूतर्फ आकर्षित गरी आफ्नो प्रेममा भुलाउन अनेक प्रयत्न गर्दा पनि थारू नर्तकीहरू गजमुद्रामा लीन भई नाचिरहन्छन् । महोटियाँ पैँया ननाचिकन नर्तकीहरूको धित मर्दैन भनिन्छ । यो तालमा ठौ मन चक ढौँ घीन, ठौ मन चक ढौँ घीन तालमा पनि मादल बजाइन्छ (थारू, २०६३ः ६७) ।
महोट्याको अर्थ माहुते हो । टौंँ टौं टौं नक घिन, घिन्टौं घिन्टौं टौं नक घिन यो पैँयामा मादल बज्दा नर्तकीहरूको नृत्य मुद्रा हात्तीको जस्तै हुन्छ । मादलेहरू नर्तकीहरूलाई आफूतर्फ आकर्षित गरी आफ्नो प्रेममा भुलाउन अनेक प्रयत्न गर्दा पनि थारू नर्तकीहरू गजमुद्रामा लीन भई नाचिरहन्छन् ।
९.एक खुट्टे फोङ्छिरवा पैँया
खाली ठाउँको चेपबाट एक खुट्टाले उफ्रदै छिर्नुलाई एकखुट्टे फोङ्छिरवा भनिन्छ । फोङछि¥वामा घिन डौ डौ डौ नक, घिन डौ डौ डौ नक, डौ नक डौ नक, डौघिन नघिन घिन तालको मादल बजाइन्छ । मादलेहरू मादल ठोक्दै एक पंक्तिमा कहिले पछाडि, कहिले अगाडि बढिरहेका हुन्छन् । जब मादलेहरू नर्तकीहरूको नजिक पुग्छन्, तब नर्तकीहरूको बिच बिचमा पस्दै कुमले एकले अर्कालाई हल्का ठेल्दै मधुर मुस्कानका साथ कटाक्ष मार्दै अगाडि बढ्छन् ।
१०. टिन टिन ठो पैँया
तीन तीन जनाको मादले र नर्तकीहरूको समूहमा नाचिने भएकोले यो पैँया टिन टिन ठो (तीन तीन जना) भनिएको हो । यसमा टौं टौं घिन, टौं नक टौं नक टाँउ टौं घिन सामान्य तालमा उभिएर मञ्जिरा बजाउँदै घुमिन्छ । अर्को तालमा टाउको जोर्दै निहुरिएर मञ्जिरा बजाइन्छ ।
११. रगेट्वा पैँया
रगेट्वाको अर्थ हुन्छ लखेट्नु । घिन टौं नक टांै, घिन घिन कन्गिन टौं नक तथा डौ घना घिन डाँै डौँ घना घिन डौँ को धुनमा मादल बजाउँदै मादलेहरू नर्तकीहरूलाई नचाउँदै परसम्म लखेट्छन् । अचानक फटक टौँ घडक नौ फटक टौँ घडक नाँै को धुनमा मादल बजाउँदै फरक्क फर्केर नर्तकीहरूलाई पुनः लखेट्न थाल्छन् । नर्तकीहरू पनि निहुरेर मञ्जिरा बजाउँदै हल्का चालले पछाडि पछाडि सर्दै जान्छन् ।
१२. कन्जोख्वा पैँया
कन्जोख्वा पैँयामा नक फटक डौनक, हाँ, डौ घिन घिन डौ नकको बोलमा मादल बजाइन्छ । यो पैँयामा मादलेहरूले बसेर मादल घुँडामा राखेर ताल मिलाउँदै कानतर्फ ईसारा गर्दै ताल बजाउँछन् । नर्तकीहरू पनि मञ्जिरा बजाएर मादललेले जुन कानतर्पm संकेत गरेको छ, त्यहीतर्फ नै बजेको मञ्जिरा कान नजिक लगेर सुनेजस्तो गर्दछन् । त्यसैले, यसलाई कन्जोख्वा ख्वाँट भनिएको हो ।
१३. गोरपासु पैँया
गोरपासु पैँयामा डौनक डौ डौनक डौं घिन नकिन् घिनडौ नक्डौ घिन नकिन्को मादलको बोलमा दुई लाइनमा नाचिन्छ । दुई कदम अगाडि जाने र फनक्क फर्किएर फेरी दुई कदम अगाडि सरेर यो पैँया नाचिन्छ । खुट्टा र कम्मरको तालमा मिलाएर नाचिने ताल भएकोले यसलाई गोरपासु (गोडाको चाल मिलान) पैँया भनिएको हो । यो पैँया नाच्दा सैनिकले परेड खेलेजस्तो देखिन्छ ।
१४. कुल्वा फट्कना पैँया
फट्कना पैँयामा फटौं घिन फटौं घिन, फटौ डौ फटौ घिन तालमा मादल बजाइन्छ । यो पैँया एकपटक दायाँ अर्कोपटक बायाँ उफ्रेर अगाडि आउने गरिन्छ । यो पैँया रगेट्वा पैँयाको अर्को रूप हो । उफ्रिएर कुलो पार गरेजस्तो नाचिने पैँया भएकाले यसलाई कुल्वा फट्कना पँैया भनिएको हो ।
१५. धान बैठैना पैँया
यो पैँया घिन डौ घिन डौ घिन चक्डौ मादलको तालमा मुजुरा बजाउँदै नाचिन्छ । छुपुछुपु रोपाइ गरे जस्तै तालमा नाचिने भएकोले यसलाई धान बैठैना (रोपाइ गरेको) पैँया भनिएको हो । थारू आफू कृषक समुदाय भएकोले होला, आफ्नो कामलाई नृत्यमा प्रतिविम्वित गरेका छन् ।
१६.मघौटा पैँया
ठौं मिन्नक, ठौ चक्डल घिन नक मादलको बोलमा यो पैँया माघी पर्वमा नाच्दा बजाइने तालमा नाचिने भएकोले मघौटा पैँया भनिएको हो । उभिएर दुई लाईनमा खुट्टा मिलाउँदै मुजुरा बजाउँदै मघौटा झ्याउरे गीत पनि गाइन्छ । मादलको ताल फेरेपछि गीतको ताल पनि फेरिन्छ । काटी खाने पान सुपारी हाँ, फोडी खाने होइन, यति राम्रो भाटुलाई छोडी जाने होइन जस्तो भाकामा आजकाल प्रायः नेपाली शब्दमा थारू लय मिसाएर गीत गाइन्छ ।
१७. बन्ढुक्या पैँया
यो पैँया मादलको तालमा नर्तकीहरूले मुजुरा बजाउँदै बन्दुक ताकेजस्तै गरेर अगाडि बढ्ने भएकाले बन्ढुक्या पैया भनिएको हो । यसमा घिडौ घिडौ नकडौ घिडौ, नक घिन घिन नक, घिन डौनक स्वरमा मादल बजाइन्छ ।
१८.उरन्टा पैँया
यो पैँया नाच्दा डोरी खेल्दा उफ्रे जसरी उफ्रेर, अनि निहुरिएर झ्याम झ्याम मुजुरा बजाइन्छ । नाचको ताल उडिरहेको जस्तो देखिने भएकाले उरन्टा (उडेको) पैँया भनिएको हो । डौ डौ नक्टौ डौ डौं नक्टौं, घिन घिन नक्टौ घिन घिन आवाजमा बजाइने मादलको ताल फेर्दा दिशा परिवर्तन गरिन्छ ।
तस्विरः चुर्णसिंह थारू
१९.भाटु राम राम पैँया
घि डौ डौ डौ डौ, घि डौ डौ डौ डौ, घि डौ घिन डौ घिन घिनको बोलमा बजाइने यो पैँयाको मादलको ताल भाटु राम राम, साली जैबो कि नाई सुनिन्छ । अर्थात् ‘भिनाजु सन्चै छ ? साली जाने कि नाई ?’ भन्ने अर्थ लाग्ने हुन्छ । नर्तकीहरू निहुरिएर मुजुरा छिन् छिन् छिन् छिन् बजाउँदै मुजुरा र पाउ जुधाउने गर्दछन् । मादलको ताल फेरिदा दिशा परिवर्तन गरिन्छ ।
२०. फोङछि¥वा पैँया
दुई लाइनमा नाचिने यो पैँयामा लाइनमा छिर्ने गरिन्छ । निहुरिएर कम्मर हल्लाइ मञ्जिरा बजाउँदै अर्को लाइनमा पुगेर फरक्क फर्केर मञ्जिरा कम्मरमा राखेर बजाउँछन् । अति चुनौतीपूर्ण र अर्को लाइनमा छिर्नुपर्ने भएकोले यो पैँया अति सुन्दर देखिन्छ । यसमा घिन डौ डौ डौ नक, डौ नक डौ नक्, डौघिन नघिन घिनको तालमा मादल बजाइन्छ ।
२१.गाउँ जुहना पैँया
फटौ डौ घिन नक, डौ घिन डौ घिनको बोलमा दसैँमा एक गाउँबाट अर्को गाउँ तथा एक घरबाट अर्को घरमा नाच्न जाँदा बाटोमा लाइनमा रहेर नाच्दा यो पैँया बजाइन्छ, त्यसैले यसलाई गाउँ जुहना (गाउँ छिचोल्ने) पैँया भनिएको हो । यसमा मुजुरा बजाउँदै अगाडि जाने संकेत गर्ने र कम्मरमा ल्याएर मुजुरा राख्ने गरिन्छ । जुन घरमा जाने हो, त्यो घरको आँगन पुग्दा ताल फेर्दा फरक्क फर्केर नाचिन्छ
२२. परिउना घुर्कना
डौनक घिन घिन, डौनक फट फट, डौनक घिन घिनको बोलमा यो पैँया जसरी परेवा जोडी समागमको बेलामा पोथी परेवालाई आकर्षित गर्न उपक्रम गर्छन्, त्यसरी नै मादलेहरू पनि मादलको तालमा दाँया बाँया जिउ मर्काउँदै मादल बजाउँछन् । नर्तकीहरू पनि त्यही रूपमा पोथी परेवाजस्तै गरी टाउको र कम्मर मर्काउँदै मादलेको पिछा गर्दछन् । त्यसैले, यसलाई परिउना घुर्कना (परेवा बोल्ने) पैँया भनिएको हो ।
र, अन्तमा
गाउँ ठाउँ अनुसार सखियाको मादलको ख्वाँट र पैँयामा फरक पर्छ । हालसम्म मादलको २२ ख्वाँट र पैँया चर्चामा रहे पनि त्यो भन्दा बढी हुन सक्ने देखिएको छ । अमेरीकी अनुसन्धानकर्ता भिक्टोरिया मेरी डाल्जेल (२०१५ ई., १८४) ले पनि २२ वटा पैँयाको चर्चा गरेकी छिन्, जुन माथि उल्लेखित पैँयासँग हुबहु मिल्दैन ।
मेरीले आगी छुना, मुर्गिह्वा, ढेकी कुट्ना, गिर्नी, हाँठक् सान मर्ना, टाटुल भाट, मेर्री, चिङ्नी फट्याक उलर्ना, ठ्याकन पकर्ना, झेल झरैना गरी माथि चर्चा गरिएको बाहेक १० नयाँ पैँया नामकरण दिएकी छिन् । त्यसो त सखिया गीतको बाचनमा फरक परेझैँ मादलको तालमा पनि फरक पर्नु स्वाभाविकै हो । मादलको तालको थोरै भिन्नताले पैँयाको नामकरणमा पनि भिन्नता देखिन्छ । यसले मादलको ख्वाँट र पैँयाको सङ्ख्या २२ भन्दा बढी देखिएको हो ।
माथि सखिया नाचको विभिन्न पैँयाको चर्चा गरिए पनि यी परम्परागत पैँयाअनुसार नाच देखिने अवस्था हाल निकै कम छ । नाच आकर्षक देखाउन मादलको ख्वाँटलाई भिन्न ढङ्गमा ढाल्दै पैँयालाई पनि सखिया नाचका कोरियोग्राफरहरूले आधुनिकतामा बदल्दै गएका छन् ।
सन्दर्भ सूची
चौधरी, सुशील (२०७२), थारू लोकजीवन र कलाः एक विमर्श, चली गोचाली, भाद्र, १)५, पृ.३०‐४० ।
डाल्जेल, भिक्टोरिया मेरी (२०१५ ई.), फ्रिडम, मार्जिन्स, एण्ड म्यूजिकः म्यूजिकल डिस्कोर्र्सेज अफ थारू इथ्निसिटी इन नेपाल, विद्यावारिधि शोध प्रवन्ध, युनिभर्सिटी अफ क्यालिफोर्निया ।
थारू, अशोक (२०६३), थारू लोक नृत्य ः सखिया र पैंया, लोक संस्कृति, १)१, साउन–पुष, पृ. ६०–६९ ।
दिवस, तुलसी र प्रमोद प्रधान (सम्पा.) (२०६५), थारू लोक वार्ता तथा लोक जीवन, काठमाण्डौः नेपाली लोकवार्ता तथा संस्कृति समाज ।
सिंह निर्भिक, जगदीश नारायण (१९९२ ई.), थारू (जनजातीय) लोक नाट्यः नाच, मानव, २०)२, अप्रिल, जुन, पृ.१३३–१४८ ।
प्रकाशित:
९४९ दिन अगाडि
|
२० असोज २०७९
५ दिन अगाडि
|
२४ वैशाख २०८२
१० दिन अगाडि
|
२० वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१९ दिन अगाडि
|
१० वैशाख २०८२
२३ दिन अगाडि
|
७ वैशाख २०८२
२५ दिन अगाडि
|
५ वैशाख २०८२
९४४ दिन अगाडि
|
२५ असोज २०७९
९७९ दिन अगाडि
|
२१ भदौ २०७९
९८९ दिन अगाडि
|
१२ भदौ २०७९
९४४ दिन अगाडि
|
२६ असोज २०७९
८९३ दिन अगाडि
|
१५ मंसिर २०७९
९४९ दिन अगाडि
|
२० असोज २०७९
८८२ दिन अगाडि
|
२७ मंसिर २०७९