Above News Title

के हो थारु समुदायको धर्म ?

हिन्दू आक्रमणकारीहरुबाट डराएका शाक्यहरु प्राण रक्षाको लागि हतार–हतार हिन्दू भए ।  जातमा स्थवीर शब्द कायम राख्दै नयाँ नाममा थारु भए । सहीमा थारुको धर्म बौद्ध धर्म नै हो ।
के हो थारु समुदायको धर्म ?

भुलाई चौधरी

१  पृष्ठभूमिः
थारु, भारतीय उत्तरी उपमहाद्वीप तराईक्षेत्रका आदिवासी हुन् अर्थात् यो जाति यस भू–भागका  प्राचीन जातिहरुमध्येका एक बहुसंख्यक, मेहनती, ईमान्दार, सोझा तथा बीर जाति हुन् । थारु जाति अहिलेसम्म यस क्षेत्रमा जीवनका विभिन्न उत्तार–चढाव झेल्दैआएका जाति हुन् । यो जाति यस उपमहाद्वीपमा विभिन्न समयमा राजपाट सञ्चालन गर्दैआउनुको साथै यहाँ विभिन्न जानलेवा जन्तु–जनाबर तथा भूत–पिचासहरुसंग बाँझ्दै पहाड–पहरा, बाँझो परती–पराट तथा बन–जंगललाई फरानी गर्दै, यसलाई खेती योग्य जमीनमा परिणत गरेका जाति हुन् । यहाँ खेतीपाती गर्दै अन्न उब्जाई आफ्नो समाज र देशलाई भरण-पोषण गर्दैआएका जाति हुन् । यो जातिलाई इतिहासकारहरुले सभ्यताका अग्रदुत पनि भनेका छन् ।

इतिहासमा उल्लेख भएअनुसार आर्यहरु अर्थात् आगन्तुक जाति समुदाय वा व्यापारिक समुदाय वा हिन्दू समुदाय यो क्षेत्रमा आउनुभन्दा धेरै पहिलेदेखि यहाँ आदिवासी जनजातिहरु बस्दै आफ्ना राज सञ्चालन गर्दैआएका हुन् । यिनीहरुका आफ्ना राज्य थिए, आफ्ना मातृभाषा थिए । आफ्ना धर्म र संस्कृति थिए । यस भारतीय उपमहाद्वीपमा आर्य, हिन्दू धर्म र हिन्दूको प्रवेश धेरैपछि भएको बुझिन्छ । यस क्षेत्रमा अहिलेका विभिन्न सम्प्रदायिक धर्म जस्तै हिन्दू धर्म, इस्लाम धर्म, बौद्ध धर्म, ईसाई धर्म, जैन धर्म, सिख धर्महरु अस्तित्वमा आउँनुअघि पनि यहाँ सबै आदिबासी–जनजाति वा कबिलाहरुको प्रकृतिप्रदत धर्म थियो । जसलाई हामी प्रकृति धर्म वा मानव धर्म वा अंग्रेजीमा पगान धर्म भन्दछौ ।

पृथ्वी धर्मरहित थिएन । प्रकृति आफैमा एउटा ठूलो धर्मगुरु हो । यो हरेक शिक्षार्थीका स्थायी परम गुरु पनि हो । यो प्रकृतिरुपी गुरु सबै गुरुका गुरु हुन् जो पहिला पनि पढायो, अहिले पनि पढाई राख्नु भएको छ र भविष्यमा पनि पढाईरहने छ । फरक यति छ कि तपाई पढनुस् वा न पढनुस् यो तपाईमा भर पर्छ । हाम्रा पूर्वजहरु अघिदेखि नै यो गुरुबाट धर्मको कुरो सिक्दै आफ्नो देश र समाजमा धार्मिक व्यवहारहरु प्रतिपादन गर्दै समाजलाई मानव हितमा संञ्चालन गर्दै आएका छन् । जसलाई हामी प्रकृति धर्म भनेर बुझ्दछौ । प्रकृति धर्मको मौलिकता भनेको सुरक्षा, हित, भलाई, उपयोगिता वा आम्दानीलाई आधार मानेर बनेको धर्म हो । यसबाट कस्लाई मान गर्ने, कस्लाई तिरस्कार गर्ने स्वतः बुझिन्छ ।

यसैलाई आधार मानेर यस धर्म अन्तर्गत सूर्यलाई पुज्ने, चन्द्रमालाई पुज्ने, नदी–नाला, बन–जंगल, रुख–विरुवा, ढुंगा–पत्थर, हल–हतियार, खेतबारी र कामयाबी जन्तु जनाबरलाई पुज्ने, आफुभन्दा ठूलोलाई मान गर्ने र सानालाई माया गर्नेजस्ता व्यवहारहरु चलेका थिए । जसले गर्दा मानिसको दैनिक जीवकोपार्जन र मान–मार्यादा सजिलैसंग सम्पन्न हुनेगरेका थिए ।
धेरैपछि आएर यो कुरो “प्रकृति धर्म” पहिलो पटक अमेरिकी धार्मिक अध्ययन विद्वान कैथरीन अल्बनीसले सन (१९९१) मा प्रयोगमा ल्याए । वी. वियरले (१९९८) मा यो प्रकृति धर्म प्राकृतिक घटनाहरु र प्राकृतिक वस्तुहरुको प्रत्यक्ष अनुभवको माध्यमले देवी–देउता र अलौकिक शक्तिहरुका कुराहरु अगाडि बढाए । 

२  थारु को हुन् ?

थारुजाति नेपालको मंगोल मूलको मूलवासिन्दा हुन् । थारु जाति नेपाल तराईका जातिहरु मध्ये सबैभन्दा पुराना जाति हुन् । थारु आदिमकालदेखि नेपालमा बस्दै आएको जाति हो । जे.सी.नेस्फील्ड (१८८३) ले डिस्क्रिपशन अफ द म्यानर्स इण्डस्ट्रोज रिलिजन अफ द थारुज एण्ड बोक्सा ट्राइब्स अफ इन्डियामा उल्लेख गरिएअनुसार नेपालका भित्री तराईको उत्तरी भेगमा बस्ने थारु प्राचीन जनजाति हो । डाÞ मजुम्दार (१९४२) को थारुको रगत परीक्षणको आधारमा थारु औलो निरोधक जाति हो, जुन गुण कुनै जातमा हुन् निम्ति उ जाति समुदाय औलोग्रस्त क्षेत्रमा कम्तिमा तीन हजार वर्ष निवास गरेको हुनु पर्ने हो ।

यसबाट पनि साबित हुन्छ कि थारु पाँच हजार वर्षभन्दा बढी समयदेखि नेपालमा बसोबास गर्दै आएको जाति हो । डा. गुरुड (२००३) का अनुसार पनि थारु तराईको सबैभन्दा प्राचीन र उनको उत्पति पनि नेपालमै भएको जाति हो । नेपालका इतिहास शिरोमणी डा.बाबुराम आचार्य (२०१०) ले “थारुको मूल घर कहॉ ? भन्ने कृतिमा थारु जाति राजपुतानाबाट आएका होइनन् तर यिनीहरु क्षत्रीय जातिका हुन् भनी लेखेका छन् । यिनीहरुको मूल घर हिमालय नै हो । 

थारु जाति नेपालको भूमिपुत्र हो । यिनीहरुको आफ्नै रहन–सहन, साहित्य, संस्कार, संस्कृति, सामाजिक मान्यता, पूजापाठ, लवाई–खवाई, कला, भेषभुषाभएकोले थारु जातिलाई आदिमबासी भनिन्छ अर्थात् आदिबासी–जनजाति भनिन्छ ।  गौरी शंकर द्विवेदी (१९७०) “मध्यदेशीय गणतन्त्र र नेपाली संघ” मा उल्लेख गर्नु भएकोछ कि थारुहरु शाक्यवंशीय क्षत्रीय हुन् । भगवान बुद्ध यसै वंशमा जन्मिनु भएको थियो । शाक्यवंश निर्मूल भएन । थारुहरु यसै वंशका अवशेष हुन् । त्यस्तै दधिराज सुबेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठान (२०३४) मा उल्लेख गर्नु भएको छ, नेपालका आदिबासी थारु जाति आदि मानव मनुका सन्तति भित्र पर्ने सम्भवतः शाक्यवंशीय गौतम बुद्धका सन्तान मानिन्छ ।

पूर्णप्रसाद नेपाल “यात्री” सेती अंञ्चल दिग्दर्शन, (२०३५) का अनुसार थारु जातिको वंश श्रृख्ला आदिम जातिसंग जोरिएको छ । दाङ्ग, चितवन, सप्तरी, मोरंग स्थानहरुमा थारु जातिको राज्य थियो । रमान्द प्रसाद सिंहले आफ्नो पुस्तक “The Real Story of the Tharus" (२०४५) मा उल्लेक गर्नुभएको छ कि थारुहरुको उद्गमस्थल नेपालको तराई हो र यिनीहरु शाक्य र कोलीय जातिका अवशेष हुन् । उहाँका भनाईअनुसार गौतम बुद्ध थारु जातिका थिए र कपिलवस्तुमा उहाँको जन्म भएको थियो । आदिमकालदेखि कपिलवस्तु थारुहरुको बाहुल्य रहदैआएको स्थान हो । उहाँ उल्लेख गर्नुहुन्छ कि थारुहरु बौद्धिष्ट संस्कारमा हुर्केका हुन् जो पछि हिन्दूकरण हुन पुगे । थारुहरुले अहिलेसम्म पनि हिन्दू संस्कारलाई पूर्णरुपमा अँगाल्न सकेका छैनन् । यिनीहरुलाई हिन्दूकरण गर्ने काममा शंक्राचार्यहरुको ठूलो हाथ रहेको थियो ।

लिच्छवीहरुले मगधमा राज्य गर्दा र ब्रिजी गणतन्त्रको समयमा ब्रिजी अर्थात् ब्रजहरुले शाक्य र कोलीयहरुमाथि आक्रमण गरेका थिए । फलस्वरुप, धेरै संख्यामा यस जातिका मानिसहरु मारिए । त्यसैले आजसम्म पनि थारुहरुले अन्य जातिलाई बजिया भन्ने गर्दछ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार थारु जातिको कूल जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ । यो संख्या नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को ६.७५ प्रतिशत रहेको छ । थारु जाति नेपालको तराई र भित्री तराई (भित्री मधेस) गरी २४ जिल्लाहरुः झापा, मोरंग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, काठमाणडौ उपत्यका, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कंचनपुर जिल्लामा बसोबास गर्दछ ।

थारु जातिको, नेपालमा मात्रै नभई भारतको मधुबनी जिल्ला, पश्चिमी चम्पारन, गोरखपुर, खिरी, गोन्डा, बहराइच र नैनीताल जिल्लाहरुमा लगभग तीन लाखको संख्यामा बसोबास रहेको छ ।

कुनै पनि जातजातिको पहिचान, अस्तित्व र साँस्कृतिक विकासको लागि भाषाको विकास तथा संरक्षण हुनु आवश्यक रहेको छ । थारु भाषा थारु जाति बसोबास गर्ने जिल्लाहरुमा महत्वका साथ बोल्ने गरिन्छ । थारु भाषा नेपालमा बोलिने भाषाहरुमा प्राचीन भाषाको रुपमा मानिएको छ । नेपालको सरकारी जनगणना वि.स.२०१५ सालमा नै “थारु भाषा”को संज्ञा दिएको छ । उक्त प्रतिवेदन अनुसार थारु भाषिकको संख्या ३ लाख ५९ हजार ५९५ रहेको उल्लेख गरिएको थियो । वि.स.२०१५ सालदेखि वि.स.२०६८ सालसम्मको जनगणना प्रतिवेदनमा थारु भाषा उल्लेख भएको छ । 

थारुहरुको मातृभाषा थारु भाषा हो । वि.स.२०६८ सालको जनगणना अनुसार थारु भाषिकको संख्या १३ लाख ३३ हजार ११५ रहेको छ । यो थारु मातृभाषा नेपालको भाषिक विवरण अनुसार ६.६ प्रतिशत मानिसको मातृभाषा रहेको छ । यो भाषा नेपालको चौथो ठूलो भाषा रहेको छ ।

३  धर्म भनेको के हो ?

एउटा धार्मिक पत्रिकामा पढेको थिएँ किः 
गगन बीच अमृत का कुवाँ झरे सदा सुखकारी रे, 
ता बीच बजे डंका, शंख और नगारा रे, 
बहिरा सुन–सुन, अन्हरा देख–देख मस्त होत है, तन की सुधि बिसारी रे” । 

यस्तै एउटा अर्को उखान टुका सुनेको थिएँ कि 

“उजर फल दारिम के बियाँ, से फल देलक हाथ के पिया, कहत त कहबै कि? माँगत त देबै कि? हाटो मे ने छै बजारो मे ने छै, दुनियाँ संसारो मे ने छै । अर्थात् एक दिन श्रीमानले धर्म रुपी सेतो फल आफ्नी बुढिलाई राख्न दियो (भनियो) तर कामको सुर्तामा बुढि यी सबै कुरो बिस्र्रियो, अब बुढिलाई चिन्ता भयो कि बुढाले सोध्यो भने के भने, यो न त हाटमा पाउँछ, न बजारमा, बुढिलाई परेन फसाद ” ।

मेरो विचारमा धर्म भनेको यस्तै कुरो हो । यसलाई जसले जस्तो बुझ्ने हो उसको लागि यो त्यस्तै चीज हो । न रुप छ, न रंङ छ,  न गंध छ, पहिचान गर्नु नै गाह्रो ।

शास्त्र–पूराणतिर जाने हो भने धर्म भनेको एउटा आदर्श हो । यो धेरै अर्थ भएको एउटा अवधारणा हो । कोही भन्छ, धर्म भनेको रहस्य हो, संवेदना हो, संवाद हो, आत्माको खोज हो । 

धर्म स्वयंको खोजको नाम हो । जहिले पनि जब हामी धर्म भन्छौ यसबाट के बुझिन्छ भने केही छ जसलाई जान्नु आवश्यक छ । कुनै शक्ति छ वा कुनै रहस्य छ । धर्म हो अनन्त र अज्ञातमा छलांङ लगाउनु, हाम फाल्नु । संक्षेपमा भन्ने हो भने धर्मको अर्थ हुन्छ जन्म, मत्यु र जीवनलाई जान्नु वा धर्म भनेको जीवनधारण गर्ने, यसलाई बुझ्ने, यसलाई परिष्कृत गर्ने विधि हो ।
वास्तवमा धर्म भनेको सत्य, अहिंसा, न्याय, प्रेम, व्यक्तिगत स्वतन्त्रता र मुक्तिको मार्ग हो । 

वैदिक ऋषिमुनिहरुकाअनुसार सृष्टि र स्वयंको हित र विकासको लागि गर्ने सबै कर्मलाई धर्म भनिन्छ । सहीमा धर्मलाई सबै अध्यात्मिक महापुरुषहरुले आ–आफ्नै तरीकाले आत्मज्ञान प्राप्त गर्न र नैतिकरुपले जिउने बाटो बताएका हुन् । धर्म भनेको सबै प्राणीलाई हितहुने सर्वमान्य कर्म हो । 

धर्म भनेको केही प्राणीहरुको हित र मान्य हुने कर्म होइन । यस्ता कर्महरुलाई सम्प्रदाय भनिन्छ, धर्म होइन्। । तर गुरु घंटाल र मुला मोलबीयका जमातहरुले यस्तै सम्प्रदायहरुलाई धर्मको संज्ञा दिएर हिन्दू धर्म, त बौद्ध धर्म, त इस्लाम धर्म, त ईसाई धर्म, त यहुदि धर्म, त सिख धर्म, त जैन धर्म ईत्यादि अनेक किसिमका धर्महरुको जन्म दिएर धर्मको अर्थको अधर्मको अर्थ दिएर सही धर्मको साथ मजाक उडाएका छन् ।

आज मानिसहरु यसरी सम्प्रदायरुपी धर्मको नाममा अनेक खेमामा विभक्त भएर आफ्ना धर्मको वकालतमा व्यस्त छन् । यसले संसारको हित हुने छैन् । अहिले संसार भूमण्डलीकरणतिर लम्कीरहेको छ । यस समयमा हामीलाई विश्वलाई मान्य हुने धर्मको जरुरी छ न कि सम्प्रदायिक धर्मको ।

४ थारुको धर्मः

आज मैले यो आलेखमा यस्तै धर्मिक खेमाहरुमध्ये थारु जाति कुन खेमामा अर्थात् कुन धर्ममा पर्दछ सो कुरा छानबिन गर्न खोजेको हुँ । यहाँ यो कुरो छानबिन गर्नको लागि मैले थारुको (क) ब्युत्पति (उत्पति)  र (ख) धर्मको नाउँमा थारुले गर्ने विभिन्न धfर्मिक विधि व्यवहारहरुको अध्ययन विश्लेषन गर्ने जमर्को गरेको छु ।

(क) ब्युत्पति (उत्पति):

प्राचीन समयमा बनारसका राजा ओकाका र ओकामुखाका केही सन्तानहरु राजगादी सम्बन्धित केही कुराहरु लिएर राज्य छाडेर अन्तै बस्नको लागि उपयुक्त ठाउँहरूको खोज–तालास गर्दागर्दै अन्तमा कपिलमुनिको आश्रममा आईपुगे । मुनिसंग केही कुरोकानी पछि मुनि खुशी भए र सहर्श उनीहरुलाई यहाँ बस्न र राजबिस्तार गर्न अनुमति दिए । यिनीहरु पनि मुनिबाट खुश भई यहाँ सालको बनमा राज्य बिस्तार गरी सुखिपूर्वक बस्न थाले ।  मुनिबाट खुश भई बिस्तार गरेको राज्यको नाम कपिलमुनिकै नाउँमा कपिलवस्तु हुन गयो । त्यस्तै यहाँ आएर सालको बनमा राज्य बिस्तार गरेकोले यिनीहरूको बंश शाक्य हुन गएको हो । साल सबै काठहरुमध्ये कडा, बलियो र टिकाउँ काठको शाक्य पर्यायवाचीजस्तै हो ।

यहाँ शाक्यहरु धेरै पुस्ता दरपुस्ता राज्य गरे । पछि यसै बंशका राजा सुद्धोधन शाक्य यहाँ राज्य गरे । उहाँ धेरै धर्मात्मा, प्रजावत्सल र शक्तिशाली राजा हुनुहुन्थियो । उहाँकै सुपुत्र हुनुहुन्थ्यो राजकुमार सिद्धार्थ गौतम । उहाँ धेरै धर्मात्मा र हितैषी हुनुहुन्थ्यो । उहाँले मानवलाई दुःख, रोग र कष्टबाट मुक्त गर्न ६ वर्षसम्म कठोर मिहनत, साधना र तपस्या गरेर यी समस्याहरुबाट मानवलाई मुक्त गर्न ज्ञानको बाटोको खोजी गर्नुभयो । जुन ज्ञान कालान्तरमा गएर पंचशीलको नामले प्रसिद्ध भयो । जुन यस प्रकार छ : १) झुठो नबोल्नु, २) व्यभिचार नगर्नु, ३) हिंसा नगर्नु, ४) चोरी नगर्नु र ५) मादकपदार्थ सेवन नगर्नु । यस किसिमले उहाँले बुद्धत्व प्राप्त गर्नुभयो । जसलेगर्दा पछिआएर उहाँलाई सबैले बुद्ध भन्न थाले । उहाँले अहिलेको गया भने ठाउँमा ज्ञान प्राप्त गर्नुभएको थियो । यसैले यो गया भन्ने ठाउँलाई अहिले पनि सबैले बौद्धगया भन्छन् । बुद्धत्व भनेको सर्वोत्कृष्ट ज्ञान हो ।

ज्ञान प्राप्त गरिसकेपछि उहाँ अहिलेको भारतवर्षको बनारस (काशी)को सारनाथ भने स्थानबाट आफनो ज्ञानको प्रचार–प्रसार गर्न थाल्नुभयो । उहाँको ज्ञानको खुब प्रचार–प्रसार भयो । कलान्तरमा आएर उहाँको यो ज्ञाननै धर्मको रुप लियो जसलाई सबैले बौद्ध धर्मको नाउँ दियो । बौद्ध धर्मको खुब प्रचार भयो । पछि उहाँ कपिलवस्तु आउँदा चालिस हजार भिक्छुहरुका साथ आउनुभयो । उहाँलाई देखेर सबै जना धेरै खुसी हुनु भयो । प्रायः यहाँ पनि सबै जनताहरू बौद्ध धर्ममा सरासरी दिक्षित हुन थाले र भए पनि ।

पछि आएर बौद्ध धर्म दुई हाँगामा विभाजन भयो । स्थविर÷थेरवादी र महासांघिक । थेरवादी तराई ÷ दक्षिणतिर फैलियो भने महासांघिक पहाड अर्थात् उत्तरतिर फैलियो । दुबैमा के फरक देखियो भने समयानुसार महासांघिक हिन्दूहरूको देखासिकी आफुमा तन्त्रमंत्र, तरकभरक र मूर्ति पूजन जस्ता कर्महरु समाबेश गरिए । थेरबादीहरु सरल र सामान्य रुपमै बसेर बौद्ध धर्म मान्दै किसानी पेशा गर्न मन पराए । यस किसिमले बौद्ध धर्म चारैतिर खास गरेर दक्षिण र उत्तरतिर द्रुत गतिमा फैलियो । सम्राट अशोकको समयमा पुरा भारत बौद्ध धर्ममय भयो । यस किसिमले भारतमा स्थवीर बौद्धहरुको बोलबाला थियो ।

सम्राट अशोकको राज्यकाललाई भारत वर्षको सुनौलो युग भनिन्छ । उहाँलाई विशाल भारतको संस्थापक भनेर चिनिन्छ । यस किसिमले सातौ सताब्दीसम्म बौद्ध धर्मको धेरै विकास भयो । तर सातौ शताव्दीको अन्तसम्म आईपुग्दा हिन्दू धर्मको अवनति र बौद्ध धर्मको विकास दिनदुना रात चौगुना देखेर हिन्दू धर्म प्रवर्तकहरुमा बौद्ध धर्मप्रति धेरै आक्रोस उत्पन्न भयो । उनीहरु हिन्दू धर्म प्रवर्धनको लागि गलत बाटो अर्थात् मारकाटक (हिंसा) को बाटो अपनाउने निर्णय गरे र भित्र–भित्रै सो अनुसारको तयारी गरे र एकैपटक बृहत संख्यामा अहिंसावादी, सत्यवादी, शान्तिवादी बौद्ध धर्मावलम्बीहरु माथि जाइलागे । अहिंसावादी बौद्ध धर्मावलम्बीहरुलाई धर्मले पनि हिंसा गर्न अनुमति नदिने, दोश्रो यिनीहरुले प्रतिकार गर्न समयनै पाएनन् ।

हिन्दू धर्म प्रवर्तकहरुको यो हिंसात्मक आक्रमण अहिंसावादी बौद्ध धर्मावलम्बीहरुलाई धेरै महंगो पर्यो । यतिखेरै शाक्यबंशी वा गैर शाक्यबंशी थेरवादी स्थवीरहरु लाखौ संख्यामा बलिको बोको बने । बौद्ध धर्मावलम्बीहरुका प्रायः सबैजसो मठ–मन्दिर, गुम्बा र विहारहरु ध्वस्त बनाइए । बौद्धका मूर्तिहरू प्रयाः सबै भताभुङ्ग भयो ।  निर्दोष बुद्धिष्टहरु प्रायः धेरैजसो मारिए । यो क्रम आठौ सताब्दीसम्म चलिरहयो ।

यहाँ धर्मको कुरो रहेन । कुरो रहयो प्राण रक्षाको । गैर शाक्यवंशी थेरबादी बुद्धहरु सजिलैसंग आफ्नो धर्म परिवर्तन गरेर अर्थात् हिन्दू बनेर आफ्ना ज्यान जोगाउन सफल भए भने शाक्यबंशी थेरवादी बौद्धहरु हत्पति धर्म परिवर्तन गर्न सकेन । अहिंसाबादी भएर युद्ध पनि गर्न सकेन । झुठो पनि बोल्न नसकेर यिनीहरूले त्यतिखेर ठूलो मूल्य चुकाउनु पर्यो ।

शाक्यबंशी थेरबादी बौद्धहरुमध्ये केहीले मृत्युवरण गर्नु पर्यो त केहीले उत्तरतिर भागेर ज्यान जोगाउन पर्यो । केही श्रीलंका, थाइल्याण्ड, बर्मा त केही लाओसतिर भागेर आफ्ना ज्यान र धर्म बचाउन समर्थ भए । बाँकी शाक्यबंशी थेरवादी बौद्धहरु डरले यही धर्म परिवर्तन गरेर हिन्दू भए ।  आफूहरु स्थवीर धर्मको नभएर हामी थविर जात–जातिका हौ भनी ज्यान जोगाए । जो कलान्तरमा आज थारु जातिको नामले बाचिरहेका छन् । यो थारु जाति थविरकै रुप परिवर्तन भएर बनेको रुप हो ।

अहिले यी थारु जाति अरु कोही न भएर पूर्वका शाक्यहरुका अवशेष हुन् । यो कुरो प्रसिद्ध इतिहासकार पार्जीटरले पनि आफ्नो ग्रन्थ “हिस्टोरिकल ट्रेडिशन अफ इन्डिया”मा उल्लेख गर्नु भएको छ कि संसारमा यदि कोई जाति बुद्धका अबशेषका रुपमा छन् भने उनी थारु हुन् । जनकलाल शर्मा (२०५८) का अनुसार थारु शव्दको व्युत्पतिका विषयमा भन्नुपर्दा पछि बौद्ध धर्म महासाग्ङिक र स्थविरवाद नामक दुई हाँगामा विभाजित भयो । यिनै दुई हाँगामध्ये एक हाँगा स्थविर सम्प्रदायतिर शाक्यवंशीहरुको झुकाव राखने शाक्यवंशको नाम नै स्थविरवादी वा छोटकरीमा स्थविर रहन गयो । जनजिभ्रोको उच्चारणमा स्थविर पछि थविर भएर थारु हुन आयो जुन तथ्य थारु विद्वान रमान्नद प्रसाद सिंह र अहिलेका बहुसंख्यक थारु वुद्धिजीवीहरुले पनि स्वीकार गरेका छन् । यसरी थारु शव्दको नामाकरणलाई नै बौद्धिज्मसंग जोरिएको पाईन्छ ।

शाक्यबंशीय थेरबादी बुद्धहरु (थारुहरु) पनि ज्यानको रक्षा गर्न धर्म परिवर्तन गरेर देखावटी हिन्दू त बने तर कर्महरु कुनै विधिवत नसिकेर देखासिकीको भरमा मात्र अंगाले । संस्थागत हिन्दू धर्मावलम्बीका कुनै पनि संघ–संस्थाले यिनीहरुलाई हिन्दू धर्ममा दिक्षित गरेन । हिन्दू धर्मका के–के धार्मिक संस्कारहरु रहेछन्, कतिवटा रहेकाछन्, यी संस्कारहरु कहिले कसरी सम्पादन गरिन्छ ? यी कुराहरु न कसैले सिकाउन चाहे न थारुहरु सिक्न चाहे । किनकि थारुहरुको आफ्नो स्थविर धर्म अर्थात् बौद्ध धर्म त छदैथियो । केवल यिनीहरु डरले सो कुरा बाहिर ल्याउन सकेका थिएनन् ।

त्यसकारण हिन्दू धर्म बारे वा हिन्दू संस्कार वारे थारुहरुलाई केही थाहा भएन । सबै हिन्दू धर्म–कर्महरु देखासिकी नै रहयो । यिनीहरु केवल देखासिकीको भरमा हिन्दू रहे र रहेका छन् । हरेक हिन्दू कर्म बाहुन बोलाई बढिभन्दा बढि दान–दक्षिणा दिएर बाहुनहरुलाई धनी बनाउनेमा नै अहिलेसम्मका थारुको हिन्दू धर्म सिमित रहेकोछ ।  हिन्दू कसरी बनिन्छ, हिन्दूका के–के कर्म हो, यी कर्महरु आफै कसरी सम्पन्न गरिन्छ ? त्यो केही थाहा छैन् । केही सिमित थारु हिन्दूहरुमा केही हिन्दू कर्महरु बाहुन बोलाई उनीहरुबाटनै सम्पन्न गरिने चलन रहिआएको छ ।

अर्कोतिर यी थेरबादी बौद्धहरु नक्कली हिन्दू बनेकाहरु हिन्दूहरूको डरले धेरै लामो समयदेखि बौद्धकर्म ओझलमा रहेकाले केही बौद्धकर्महरु गरिरहदा पनि सैद्घान्तिक तवरमा धेरैजसो बौद्धकर्महरु बिर्सिसकेका छन् । अहिले पनि केही बौद्ध कर्म गरिरहदा पनि त्यो पनि हिन्दू कर्मको नाममा सम्पादन गरिरहेका छन् । उनीहरुलाई थाहै छैन कि यो हिन्दु कर्म होइन यो बौद्ध कर्म हो । अहिले पूर्ववर्तीय शाक्यबंशीय थेरबादी बौद्धहरु (नक्कली हिन्दू) अर्थात् थारुहरु फेरि आफ्नै बौद्ध धर्ममा फर्किन खोजिरहेका छन् । उनीहरु आफ्नै पहिचान बनाउन खोजिरहेका छन् । तर यिनीहरूलाई पनि बौद्ध धर्मको प्रयाप्त अनुशिक्षणको अभावमा बौद्ध धर्मबारेमा पनि आवश्यक जानकारीको अभावमा अहिले थारुहरु बिचैमा अलपत्र परेका छन् ।

अहिले केही थारुहरु बौद्ध धर्मको प्रवर्तनमा लागि परेका छन् । तर त्यो अप्रयाप्त छ । अहिले भन्ने हो भने कर्मले थारु न त हिन्दू हुन् न त बौद्ध, न त प्रकृतिपुजक नै । जसले जे पायो त्यही गरिरहेका छन् । धर्मको वृहत ज्ञान न भएर अन्धविश्वासको भरमा धर्म अनुरागी भएका छन् । कोही भन्छ, म प्रकृतिपुजक हुँ, कोही भन्छ , म हिन्दू हुँ, कोही भन्छ, म बुद्धिष्ट हुँ । सहीमा म कुन धर्मको हुँ, मैले कुन कर्म गरिरहेको छु भने कुरा धेरैजसोलाई थाहा छैन् ।

बरु कतिपय थारुहरुमा अहिले पनि गलत बुझाई के छ भने हाम्रा पुर्खा अर्थात् शाक्यहरुको र सोभन्दा अघिका पुर्खाहरुको धर्म बौद्ध धर्म अस्तित्वमा आउनुअघि हिन्दू धर्म थियो । यसको जवाफमा के भन्न सकिन्छ भने त्यतिखेर यी भारतीय उत्तरीउप महाद्वीपमा हिन्दू धर्म आफै राम्ररी अस्तित्वमा आईसकेको थिएन । सबै आदिबासी जनजातिहरुका आफ्ना राज्य र कबिलाहरु थियो । हिन्दू वर्णाश्रम थिएन । त्यसैले बुद्धलाई अहिलेसम्म इतिहासकारहरुमध्ये राजनीतिबस कोही क्षेत्रीय त कोही ब्रात्य क्षेत्रीय लेखिरहेका छन् । यो पनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि लेखिएका हुन् ।

बुद्धलाई नै नजर गर्ने हो भने बुद्धको कुनै मूर्तिमा जनै देखिएको छैन् । बुद्धले आफ्नै मामाकी छोरी बिहे गरेका थिए । जो हिन्दू धर्ममा पाच्य व्यवहार हौइन । थारुका पितामहको समयदेखिनै उहाँहरुका धर्म प्रकृति धर्म थियो, जुन धर्मका धेरैजसो कर्महरु अहिले पनि थारु समुदाय अन्तर्गत व्यवहारमा छन् ।  अरु धर्महरुले पनि प्रकृति धर्मका धेरैजसो असल कर्महरु आफ्ना धर्म–कर्ममा समाबेस गरिसकेका छन् । खाँचो छ केवल त्यसलाई छानविन गर्नुमा । त्यसै जगजाहिर भईहाल्छ कि थारुको मौलिक धर्म बौद्ध धर्म थियो र अहिले पनि बौद्ध धर्म नै हो ।

(ख) अहिलेका थारुहरुका विभिन्न धर्मिक विद्–व्यवहारहरु 

यो उपर्युक्त विषय के सही हो, के गलत ? यसको परीक्षणको लागि मैले थारु समाजमा धर्मको नाममा अहिले के विधि–व्यवहारहरु भईराखेका छन् यसको जानकारीको लागि थारुको कुल देउता अर्थात् घरको देउता, घर बाहिरको देउता (देवथान वा डिहवार, राजा जी, सिराथान)  र थारुले सम्पादन गर्ने पर्व–त्योहारहरुको अध्ययन अनुसंधानको आधार लिएको छु ।
हुन त मानिसहरुबाट यो पनि सुनिन्छ कि धर्म भनेको आस्था हो, आफ्नो विश्वास हो । जसलाई जहाँ आस्था छ, विश्वास छ, उसको लागि उही उसको धर्म हो ।

तर एकै पटक आस्था र विश्वासमा मात्रै लाग्नु यो अन्धविश्वासतिर डोर्याउछ । जसको परिणाम गलत पनि हुनसक्छ । भन्न त सबै भन्छन् कि मनसा, बाचा, कर्मना अर्थात् मनले बुझेर ग्रहण गर्नु, त्यस्को सही–सही वकालत गर्नसक्नु र त्यस अनुसारको कर्म गर्नु हो । अनि मात्रै त्यो चीज वा धर्म कसैले सहीमा अंगालेको वा ग्रहण गरेको बुझिन्छ । यो चीज अंगालेको त हुन्छ तर कहिलेकाँही उसलाई शोभा दिदैन । बरु समाजमा कहिले मानहानी पनि हुनसक्छ । त्यसैले त्यो अवस्थासम्मलाई साँचिकै ग्रहण गरेको वा अंगालेको बुझिदैन । 

थारुहरुको धार्मिक अवस्था बुझ्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको थारुमा कुलदेउताको हकमा के एकरुपता देखिन्छ भने सबैको छुटै देउताघर हुन्छ । घरभित्र उत्तर–पूर्व कुनामा पूर्वको भितामा कसै–कसैको घरमा शिव–पार्वती त कसै–कसैको घरमा काली देवता हुन्छ भने पूर्वमा कसै–कसैको घरमा पुर्खाको पनि पूजा गर्ने गरिन्छ । घर बाहिर हनुमान पुज्ने गरिन्छ तर पश्चिममा हनुमान पुज्ने चलन छैन् ।

पूर्वमा पुर्बको भितामा दियो अडाई राख्नसम्म माटोको एउटा अलि बाहिर निस्केको बढेको भाग हुन्छ यसलाई सिर भन्ने गरिन्छ । यो नै देउताको प्रतिकको रुपमा हुन्छ । जसमा कही–कही बलेको दियो राखने गरिन्छ । यो सिर शुभसाइत हेरि सात पुर वा कसै–कसैको पाँच पुरको माटो ल्याएर बनेको हुन्छ ।

 पुरको अर्थ के हो भने गाउँको नाउँको पुछारमा पुर जोरिएको गाउँ । जस्तै रायपुर, मोहनपुर, कल्यणपुर आदि । सिरको ठीक मुनि भूईमा अलि अग्लो माटो ऊठेको भाग हुन्छ, जसलाई पीढि भन्ने गरिन्छ । पूजापाठ वा देवधर्म गर्दाखेरि पहिले सिर संगसंगै यो पीढीलाई पनि सफा–सुघर र लिपपोत गर्ने गरिन्छ । अनि सिरमा दियो बालेको हुन्छ । पीढीमा दुईवटा तुलसी पात राखेर त्यसमा एक–एक चिमटी अछता र अछतामा दुई–दुईवटा सुपारीको टुक्रा र एक–एकवटा पानको पात राखेर छेउँमा धुप वा अगरवती बालेर पूजा गर्ने गरिन्छ । अन्तमा सबै सदस्यहरु ढोगी जलढार गरेर पुजा विसर्जन गर्ने चलन छ । 

साधारण तवरले हेर्ने हो भने सिर देउताको प्रतिक हो बुझ्नुभन्दा दियो राख्ने स्टेन्डको प्रतिक हो जस्तो बुझिन्छ । सहीमा यो सिर र भुईमा अग्लो उठेको माटोको भाग बुद्ध चैत्यको प्रतिक हो वा हिन्दू संस्कार हो भन्ने कुरा सही–सही रुपले बताउने जानकार व्यक्तिको कमी छ । बौद्ध मतकाले यो बौद्ध संस्कार हो भन्छ भने हिन्दू मतवालाले हिन्दू संस्कार । तर बालबच्चाको मुन्डन वा विवाहको समयमा देउतालाई खसी–बोकाको बलि प्रदान गर्ने चलन छ ।

चाहे देउता महादेव, पार्वती वा काली वा बुद्ध जो हुन् । तर अहिले धेरैजसो गाउँमा घरको मूल देउता महादेव–पार्वती भएको परिवारमा चाहे मुन्डन होस् वा विवाह बलि प्रदान रोकेर देउतालाई लड्डु, पान, सुपारी चढाउन थालेका छन् । देउता कोठामा देउता राखने ठाउँमा कुनै देउताको फोटो वा मूर्ती राख्ने चलन छैन् । परापूर्वकालमा फोटो वा मूर्तीको अभाव वा कम खर्चिलो बनाउन यस्तो चलन चलेको हो कि ? सही कुरो कसैबाट थाहा भएन । 

पश्चिममा पूर्ब जस्तै चलन त छैन् तर पूर्ब जस्तै देउता घरको उत्तर–पूर्व कुनामा नै देउताको पीढि हुन्छ । जहाँ देउताको प्रतिकको रुपमा माटो, काठ र फलामबाट बनेका देउताहरु हुन्छन् जो हिन्दूहरुमा हुँदैन । पश्चिममा पनि पुर्व जस्तै महादेव, पार्वती, काली देवताहरु नै हुन्छन् । पश्चिममा देउतालाई कुखुराको बलि प्रदान गर्ने चलन छ । पूर्वमा देउतालाई कुखुराको बलि प्रदान गर्ने चलन छैन् । जन विश्वास छ कि मुश्लिम देवतालाई कुखुराको बलि प्रदान गर्ने गरिन्छ ।

पूर्बमा घरमुली आफै घरदेउताको पुजा गर्छ भने पश्चिममा मुख्य पुजा देशबन्ध्या गुरुवाबाट हुन्छ । मुख्य कुरो के हो भने कही पनि घरदेउताको हकमा बाहुनहरु लगाउँदैन । अहिले पूर्वमा कोही थारुहरु हिन्दूहरुको देखासिकी घरमा सत्यनारायण पूजा गने, भागवत लगाउने, तुलसी उद्यापन गर्ने, अस्टजाम गर्ने, कृष्णजीको मूर्ती बनाउने, दशैंमा देवी–दुर्गा बनाउने र बाहुनबाट ती पूजाहरु सम्पन्न गर्ने गरिएको देखिन्छ । 

थारुको जो जति आफ्ना मूल पर्व–त्योहारहरु छन् त्यो थारुले आफ्नै विद्–व्यवहार अनुसार  सम्मपन्न गर्ने गर्छन् । बाहुन लगाउदैनन् । चाहे उ पूर्वका थारु हुन् वा पश्चिमका । यदि एउटै पर्व–त्योहारजस्तै सिरुवा पर्व, जितिया, दशैं, समा–चकेवा, शुकराती, नेमान ईत्यादि थारुहरु र हिन्दूहरु दूबै समूह गरिराखेका छन् भने पनि चाहे पूर्वका थारु हुन् वा पश्चिमका, थारुहरुको पर्व–त्योहार सम्पादन गर्ने तौर–तरीका हिन्दूहरुभन्दा फरक छ । 

त्यस्तै, बहरिया देउताको हकमा गाउँ बाहिर खासगरेर गाउँको दक्षिण वा पूर्बमा गाउँलेहरुको साझा डिहवार देवस्थान हुन्छ । जहाँ वर्षमा अषाढ वा मंसिर महिनामा साँझा पुजा लगाउने गरिन्छ । यो डिहवार थानमा पूर्वमा एउटा मुलघर हुन्छ । जहाँ देउताको स्वरुप अलि उठेको माटोको पीढिजस्तो हुन्छ । जसलाई लिपपोत गरेर पाँचवटा दियो बालने गरिन्छ । दाहिने भागमा पनि माटोको ढिस्को हुन्छ जहाँ बत्ती बालने गरिनेछ ।

त्यस्तै देब्रे भागमा दुई ठाउँमा सफा गरेर माटोको ढिस्को भएको ठाउँमा तुलसी पात, अछताले पुजा गरेर बत्ती बालने गरिन्छ । यी ठाउँहरुमा कुन–कुन देउतालाई पुज्ने गरिन्छ त््यो प्रयाः सही कसैलाई थाहा छैन् । देखासिकी जस्तै हेर्दै आएअनुसार गर्दै गरेजस्तो बुझिन्छ । यो पुजा सम्पन्न गर्न बाहुन लगाउँदैनन् । बरु रजहैन धामीबाट पुजा सम्पन्न गर्ने गरिन्छ । यहाँ पुजाको नाउँमा खिर, लड्डुले पुजा गरेर बोकाको बलि प्रदान गर्ने गरिन्छ । पश्चिममा पनि देवथानमा कुखुराको बलि दिनेगर्छ र पश्चिममा पनि देवथानमा गर्ने पुजा हिन्दूहरुभन्दा फरक किसिमको हुन्छ । भूपू महान्यायधिवक्ता श्री रमानन्द प्रसाद सिंह थारुको एक अध्ययनअनुसार चाहे घरदेउता वा हिहवार थानका यी सबै ढिस्काहरु बौद्धका प्रतीक हुन् ।

आचानक हिन्दू हिंसात्मक आक्रमणले गर्दा यी संस्कारहरु विधिवत थारुमा स्थानान्तरन हुन नसकेर यो अवस्था आएको हुनसक्ने प्रवल संभावना देखिन्छ । खासमा जिउजानको डर र त्रासले गर्दा शाक्यबशी सबै थारुहरु हतार–हतार हिन्दू धर्म अपनाएर हिन्दू देवी–देवताको स्थापना गरेकाले देवीदेवताको हकमा यस्तो स्थिति अहिले उत्पन्न हुनुमा प्रवल आशंका छ । 

५ निश्कर्ष 

धर्म मानिसको आफ्नो आस्था र विश्वासको चीज हो । मानिसले आफ्नो ईच्छानुसार कुनै पनि धर्म मान्न सक्छ । यो जात र करकापअनुसार ग्रहण गर्ने चीज होईन । यहाँ के भन्न सकिन्छ भने जे धर्म मान्दा, ग्रहण गर्दा पनि उसको अर्थ, महात्तम र कार्य सम्पादन विधि राम्ररी बुझेर ग्रहण गर्दा फलिफाप हुन्छ । भोलि हाँसोको पात्र हुनु पर्दैन । चाडो त्यस धर्मबाट बिरक्त हुनु पर्दैन । अनि मात्र त्यो धर्म ग्रहण गरेको बुझिन्छ ।

जहाँसम्म समग्र थारुको धर्मकोबारेमा भन्नु पर्दा के देखियो भने थारुका पुर्खाहरु जो पहिले अहिलेका नेपाल तराई अर्थात् कपिलवस्तु आएर यहाँ राज्य विस्तार गरे उनीहरुका कार्य–व्यवहार र शैली मनन् गर्दा के निश्कर्षमा पुगिन्छ भने उनीहरु हिन्दू मूलका थिएनन् । कारण शुरुमा उनीहरु बनारसबाट यहाँ कपिलवस्तु आउँदा संगैआएकी पाँच आफ्नै दिदी बहिनीहरुमध्ये चार दाजु–भाईहरुले चार दिदी–बहिनीहरुसंग बिहेबारी गरी घरबसालेका थिए । जो हिन्दू धर्म संगत कुरो होईन । यिनीहरु आदिबासी जनजाति समूहका थिए । यिनीहरुको धर्म प्रकृति धर्म थियो । त्यतिखेर हिन्दू धर्म वर्णाश्रम थिएन ।

पछि हिन्दूहरु वहाँहरुलाई हिन्दू धर्ममा पार्न आफ्नो किसिमको वर्णाश्रममा विभाजन गर्दा कोही क्षत्री त कोही ब्रात्य क्षत्री भने । यति मात्रै होईन कि धेरैपछि आएर पनि गौतम बुद्ध अर्थात् सिद्धार्थ गौतमले आफ्नो मामाकी छोरीसंग बिहे गरेका हुन् । अहिलेसम्म बुद्धको मूर्र्तीहरुमा कहीं पनि जनै देखिएको छैन् । हिन्दू धर्मका सोह्र संस्कारमध्ये थारुमा मात्र चार संस्कार –जन्म संस्कार, मुन्डन संस्कार, विवाह संस्कार र मृत्यु संस्कार देखिन्छन् । त्यो पनि आफै गर्ने गरिन्छ । कुनैमा पनि बाहुन बोलाउने चलन छैन् । 

हिन्दू आक्रमणकारीहरुबाट डराएका शाक्यहरु प्राण रक्षाको लागि हतार–हतार हिन्दू भए ।  जातमा स्थवीर शब्द कायम राख्दै नयाँ नाममा थारु भए । सहीमा थारुको धर्म बौद्ध धर्म नै हो । थारुहरु व्यवस्थित किसिमले हिन्दू धर्ममा परिवर्तित नभएकाले शब्दमा मात्र हिन्दू सिमित रहेको छ । अहिले केही थारुले हिन्दू धर्म भनेर लिखतमा लेखे पनि उनीहरुको पूजापाठ र मान्ने विधि हेर्दा हिन्दूसँग शतप्रतिशत मेल खाँदैन ।

बुद्धको पहिरन, लवाईखवाई मायादेवीको श्रीगारका सामानहरु थारु महिलाले लगाउने श्रीगारसँग मेल खाने हुनाले कतिपय इतिहासकारले बुद्धलाई थारुकै सन्तानका रुपमा चर्चा गर्दैआएका छन् । 

राजा सुद्धोधनले हलोजोती कृर्षि पेशा अपनाएको उदाहरण पनि सुद्धोधन थारु नै थिए भन्नै धेरैको समर्थन छ । खेती थारुको मुख्य पेशा नै हो । यसबाट पनि यो कुरो पुष्टी हुन्छ कि सुद्धोधन थारु नै थिए । नेपालमा आदिबासी जनजातिको परिभाषानुसार यो समूह हिन्दू वर्णाश्रममा पर्दैन । त्यसकारण थारु हिन्दू हुने कुरो हुँदैन ।  

अर्को कुरा बौद्ध धर्मका पंचशीलका तत्वहरु जस्तै झुठो नबोल्नु, ब्यभिचार नगर्नु, चोरी नगर्नु, हिंसा नगर्नु, मादक पदार्थ सेवन नगर्नुजस्ता तत्वहरु यदि कोई पालन गरेका हुन् भने ऊ थारु हुन् । अहिले थारुहरुमा हिंसा गर्ने र मादक पदार्थ सेवन गर्नु पनि हिन्दूहरुकै संगतका फल हुन् । थारुमा  ब्रतबन्ध हुँदैन । जो हिन्दू धर्मको सबैभन्दा आवश्यक संस्कार हो ।

थारुमा अनिवार्य रुपले हुने मुन्डन र छौरझपी संस्कार हो जो बौद्ध धर्मको प्रतीक हो । अहिले थारुहरु यी सबै कुरो बुझेपछि आफ्नो पहिचानमुखी भएर बौद्ध धर्मतिर उन्मुख देखिन्छ । यसरी यी सबै कुराहरु विचार गर्दा थारुको धर्म पहिला प्रकृति धर्म त्यसपछि बौद्ध धर्म थियो । अहिले पनि यसका व्यवहारहरु विचार गर्दा थारुको धर्म बौद्ध धर्म नै हो भन्ने लाग्छ । धर्म भन्ने चीज धेरै विशाल र संवेदनशील विषय भएकोले निराकरणको लागि गहन अध्ययन हुनु जरुरी छ ।

अहिले संसार भूमण्डलीकरणतिर लम्कीरहेको छ । त्यसकारण संसारमा धार्मिक सहिष्नुताको बढी आवश्यकता छ । अहिले मानव धर्म चाहिन्छ । जो बुद्धका ज्ञानबाट मात्र सम्भव हुन सक्छ ।
                                                                                                      साभार : थारु अयोगको स्मारिका २०७९ बाट
सन्दर्भ सामग्री: 
१) अल्बनीज, कैथरीन १९९१ : अमेरिका में प्रकृति धर्मः अल्गोंकियन भारतीयों से नए युग तक । शिकागो विश्वविद्यालय प्रेस, शिकागो । 
२) थारु, फनिश्याम २०६९: थारु लोकसंस्कृति र चाडबाड । नेपाल प्रज्ञा प्रतिष्ठान । काठमाडौ ।
३) थारु, तेजनारायण पञ्जियार २०४९: शाक्यमुनि बुद्ध । प्रकाशक : धर्मोदय सभा । बागबजार । काठमाडौ नेपाल ।
४) दहित, गोपाल २०६२ : थारु संस्कृतिको संक्षिप्त परिचय । आदाबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान । ललितपुर ।
५) चौधरी, लक्की २०७० : थारु देवथान : धार्मिक महत्व । फुलरिया, थारु पत्रकार संघ, नेपाल ।
६) चौधरी, नन्दलाल २०७४ : सम्राट अशोक । ईजोत मासिक पत्रिका ।  माघ, वर्ष २ , अंक ७ । काठमाडौ ।
७ ) चौधरी, पुरुषोत्तम २०७५ : थारु जातिको मझियान वंशावली । प्रकाशकः श्री शुभकरण चौधरी, ललितपुर ।
८) चौधरी, भुलाई, २०६१ : थारु संस्कृति, प्रकाशकः श्रीमती सरोजदेवी चौधरी । काठमाडौ ।
९) चौधरी, भुलाई २०७४ : बुद्ध, थारु आ बुद्ध धरम । ईजोत मासिक पत्रिका । बैसाख, काठमाडौ
१०) चौधरी, महेश २०६९ : स्थवीरहरुको प्राचीन इतिहास र संस्कृति । प्रकाशक ः शान्ति चौधरी, ग्रामिण विकास संस्था, दाङ्ग ।
११ ) चौधरी, रामलगन २०४९ : बुद्ध धर्म आ थारु समाज । चिरखा, मासिक पत्रिका । आश्विन । वर्ष २ , अंक ६ । काठमाडौ ।
१२ ) चौधरी, श्रवण कुमार २०७४ : थारु हिन्दू होइनन्, बुद्धका वंशज हुन् । ईजोत मासिक पत्रिका । भदौ, वर्ष २, अंक ६ ।
१३ ) चौधरी, शिवशंकर २०७५ :  थारु बौद्ध संस्कार, समस्या र समाधान । ईजोत मासिक पत्रिका । बैसाख, वर्ष ३, अंक ८ ।
१४) चौधरी, डाः शंकरलाल २०५० : कपिलवस्तु : एक झलक । चिरखा, मासिक पत्रिका । फागुन । वर्ष २, अंक ७ । काठमाडौ ।
१५) शर्मा, जनकलाल, २०५८ : हाम्रो समाज : एक अध्ययन । साझा प्रकाशन । तेश्रो संस्करण । काठमाडौ ।
१६) शाक्य, डा केशवमान २०४८ : मानवको पूनर्जन्म, भगवान बुद्ध र थारु समुदाय । चिरखा, मासिक पत्रिका । प्रगतिशील थारु युवा संगठन । वर्ष १, अंक १ । काठमाडौ 
१७) सर्वहारी, कृष्णराज २०६९ : थारु गुर्वा र मन्त्रज्ञान । थारु पत्रकार संघ, नेपाल । काठमाडौ ।
१८) सिह, सुबोध कुमार, २०७० : शाक्यमुनि बुद्ध र सम्राट अशोक । प्रकाशक : बबिता सिंह । पुलचौक, ललितपुर । नेपाल ।
१९) सिह, सुबोध कुमार, २०७५ : कपिलवस्तु : एसियाली सभ्यताको झुलुङ्गा । प्रकाशक : बबिता सिंह । पुलचौक, ललितपुर । नेपाल ।
20)  Singh, Tharu, Ramanand Prasad 2045 B.S. : The Real Story of the Tharus . Published by Tharu Sanskriti, Krishnagalli, Pulchowk, Lalitpur Nepal
21) Singh, Subodh Kumar 2007:  THE RETURN OF THE MAURYAS . Published by Baita Singh, Pulchowk, Lalitpur, Nepal, November
22)  Google, Wickipadia, Dharm .

प्रकाशित:

६५१ दिन अगाडि

|

२२ वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८५७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

८९१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९०१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८५६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८०५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८६१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

७९४ दिन अगाडि

|

२७ मंसिर २०७९