Above Header

सूपका उत्कृष्ट ‘हेडसर’ जित सर

जित सर विद्यालयको समयभन्दा हरेक दिन कम्तीमा १५ मिनेट अगावै पुग्छन् । पाठयोजना बनाएर मात्रै कक्षाकोठामा छिर्छन् ।
सूपका उत्कृष्ट ‘हेडसर’ जित सर

                                                                                                                  राष्ट्रपति पुरस्कार ग्रहण गर्दै जित सर ।

कैलालीको धनगढी नपा–१४, फूलवारी, सी गाउँस्थित सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक जितबहादुर चौधरीलाई हालै एक सहृदयीले सूचनाको लिंक पठाइ दिए । त्यो सूचना थियो, पीपी प्रसाई फाउण्डेशनले यस वर्ष (२०८०) को दसौं राष्ट्रिय पीपी प्रसाई शिक्षक पुरस्कारका लागि सातै प्रदेशका एक एक जना उत्कृष्ट शिक्षकको लागि आह्वान । 

सूचना पुर्याउनेकै करवलले उनले फारम भरे । अन्ततः सुदूरपश्चिम प्रदेशबाट जितबहादुर चौधरी र उनको विद्यालय उत्कृष्ट ठहरियो । 

उनी भन्छन्, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ५० हजार नगदसहित सुदूरपश्चिम प्रदेशको उत्कृष्ट शिक्षक भनी पुरस्कृत भएको क्षण मेरो जीवनकै उत्कृष्ट दिन हो ।’ 

प्राथमिक तह पढ्दादेखि नै उनको बुबाको सपना थियो, उनलाई एक कुशल र असल शिक्षक बनाउनु । आज आएर आफ्नो सपना पूरा भएको उनले महसुस गरेका छन् ।

उनको घरको आर्थिक स्थिति कमजोर थियो । किनकि उनको पारिवारिक पृष्ठभूमि कमैया थियो । २०५८ सालमा एसएलसी गरे । त्यसपछि ट्यूशन गर्दै ऐच्छिक नेपाली विषयमा एमएड सकाए । 

पढ्दै पढाउँदै शिक्षक बन्नकै लागि सुरु सुरुमा त बिना तलब शिक्षण गरे । पछि नाम मात्रको ज्यादै न्यून पारिश्रमिक पाए । असल शिक्षक बन्ने धुन सवार भएर भारतको गोरखपुरमा समेत गएर ‘प्राथमिक शिक्षा वर्ग’ भन्ने तालिम लिए ।

२०७१ साल साउन २४ गते मावि तहको स्थायी शिक्षकमा नाम निस्केको दिन उनी आफ्नो जीवनको ‘टर्निङ प्वाइण्ट’ ठान्छन् । उनको दरवन्दी कैलालीको तात्कालीन निगाले गाविसस्थित शिव मावि, तीनतलामा भयो । डोटीको सिमाना पहाडी क्षेत्रको दुर्गममा स्कूल भएकाले एक वर्ष पछि घरपायक सरुवाको लागि प्रयास गरे । तर, सरुवा हुनै ४ वर्ष लाग्यो ।

अनि फेरियो सर्वाेदय माविको काँचुली

२०७५ सालमा घरपायक सर्वाेदय माविमा आएपछि उनलाई स्कूलको अवस्था देख्दा रुन मन लाग्यो ।  एसईई परीक्षामा शून्य नतिजा ल्याउने विद्यालयको रुपमा चित्रित थियो । त्यसैले, विद्यालय छेउमै घर भएकाले पनि व्यस्त हुलाकी सडक पार गरेर छोराछोरीलाई टाढाको विद्यालयमा भर्ना गर्थे । 

विद्यालयमा धारा थियो, पानी थिएन । शौचालय थियो, प्रयोग गर्न सक्ने अवस्था थिएन । 
अनि त जित सरलाई झोंक चल्यो । भन्छन्, ‘घरबाटै बाल्टिन ल्याएर आफै शौचालय सफा गरें । रङ्रोगन गरी शौचालय चिटिक्क पारें । खानेपानीको व्यवस्था गरें ।’ 

सुरुमा उनलाई उडाइयो पनि, नयाँ जोगीले धेरै खरानी घस्छ । हेरौं, यो हेडमास्टरले कति दिन विद्यार्थीको गुहु सोहोर्छ । 
जित सरको एक्ली छोरी छिन्, नाम राखेका छन् क्रान्ति । समाजमा क्रान्ति ल्याउन कम्मर कसेका जित सरले पढ्ने उमेर भैसकेकी छोरी क्रान्तिलाई आफू पढाउने स्कूलमै बालकक्षामा भर्ना गरे । अनि आफ्नो कुरा काट्ने सारा अभिभावकको मुखमा बुजो लाइदिए । 

हेडमास्टरले त आफ्नो सन्तान यही पढाउँदै छ भने हामी भने टाढाको स्कूलमा छोराछोरी किन पठाउने ? यो मास्टरले अब पक्कै स्कूल सपार्छ है । अभिभावकको मनमा यस्तो विचार मनमा पसेपछि स्कूल गुल्जार हुँदै गयो । 

सुविधा शून्य भएको विद्यालय आज पक्की भवन, कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय, बालउद्यान छ । शैक्षिक सामग्रीद्वारा सुसम्पन्न छ । अनि, सरस्वती मावि सुदूरपश्चिम प्रदेशकै पहिलो प्रविधिमैत्री विद्यालयको रुपमा परिचित छ । आधुनिक, शैक्षिक विधि र प्रविधि स्मार्ट बोर्ड प्रोजेक्टर, साउण्ड सिस्टमले सुसज्जित छ । 

जित सर आउनु पहिले मुस्किलले २ सय विद्यार्थी रहेकोमा अहिले विद्यार्थी संख्या ५ सय नाघेको छ । एसईईमा शून्य नतिजा ल्याउने, विद्यार्थीहरू नहुने विद्यालयको रुपमा चित्रित यो विद्यालय आज धनगढी क्षेत्रकै राम्रो विद्यालयको रूपमा गनिएको छ ।

त्यस्तै, जित सरले वित्तीय ज्ञान तथा बानीको विकास गर्न सर्वोदय विद्यार्थी बैंक स्थापना गरी मासिक रुपमा बचत गर्ने नयाँ संस्कार बसाल्ने जमर्को गरेका छन् । 

एउटा ठुटोसम्म नरहेको विद्यालयमा जित सरको आफ्नै खर्चमा वृक्षारोपण तथा पुष्परोपण कार्यको थालनी गरिएको छ । ‘हाम्रो विद्यालयलाई हामी नमूना बनाउँछौ’ भन्ने अभियानसहित  पढाई स्तरोन्नति संगसंगै हरितमय वातावरण बनाइएको छ । 

श्रमप्रति सम्मान गर्ने बानीको विकास गर्न फुर्सदको समयमा आयआर्जन गर्ने खालको गृहकार्य दिने परम्परा जित सरले बसालेका छन् । जस्तै आफ्नो घरमा आवश्यकताभन्दा बढी भएका फलफूल, सागपात आदि स्थानीय बजारमा बिक्री वितरण गर्न प्रोत्साहित गर्छन् । 

त्यस्तै, विद्यालयको केही जग्गा छुट्याएर त्यसमा मौसमी तरकारी खेती गर्न लगाई विद्यार्थीमा पौरखी भावना विकास गरी तिनीहरूलाई जीवन निर्वाहमुखी बनाउने प्रयत्न गरेका छन् । 

कक्षा ९ का विद्यार्थीलाई पाककलाअन्तर्गत थारू परिकार ढिक्री, चटनी बनाई स्कूलमै टिफिन टायममा बेचबिखन गर्न लगाउँछन् । स्थानीय सीप तथा संस्कृतिको उन्नयन प्रवद्र्धनका लागि विद्यार्थीलाई दुना, टपरी बनाउने प्रशिक्षण दिइएको छ । यसो गर्दा तिनमा अर्थोपार्जन गर्ने सिपको विकाससँगै स्वाबलम्बी भावनाको विकास भएको प्रअ चौधरीको बुझाइ छ । 

कक्षाकोठामा आवश्यक पर्ने डस्टर आदि शैक्षिक सामग्री पनि विद्यार्थीहरूलाई खेर जाने कपडाहरूको प्रयोग गरी बनाएर ल्याउने संस्कारको विकास गरिएको छ । प्रअ चौधरीको विचारमा स्कूलको थोरै रकम जोगिनु पनि समग्रमा विद्यार्थीहरुकै रकम जोगिनु हो ।

जित सरले विद्यालयको चौर, कक्षाकोठा तथा शौचालयको सरसफाई सँगसँगै समय समयमा स्थानीय मन्दिर, चोक, चौतारीको सरसफाई अभियान चलाएका छन् । 

अहिलेका केटाकेटीको जन्मदिन निकै खर्चिलो हुँदै गएको छ । तर, जित सरले विद्यालयका विद्यार्थीको जन्मदिनको अवसरमा विद्यालयका लागि विद्यार्थीबाट पुस्तकालय निर्माण भनेर विद्यार्थी जन्मोत्सव पुस्तकालय निर्माणलाई अघि बढाएका छन् ।

प्रअ चौधरी भन्छन्, ‘यहाँका विद्यार्थीहरू जीवनमा जुनसुकै क्षेत्रमा सफल होऊन् । यही उद्धेश्यका साथ नयाँ नयाँ अभ्यासहरूको थालनी गरेको छु ।’ 

                                                                                                                 विद्यालय परिसरमा छोरीसँग जित सर ।

साहित्यमय विद्यालय

प्रअ जितबहादुर चौधरी आफूलाई नेपाली साहित्यको विद्यार्थी मान्छन् । एउटा थारु र अर्को नेपाली भाषामा गरी उनका दुइवटा कविता संग्रह पनि प्रकाशित भएका छन् । उनको साहित्यिक नाम हो, जित ‘ट्रासन’ । थारु भाषामा ‘ट्रासन’को अर्थ हुन्छ, मादलको ताल । हाल थारू लेखक संघ नेपाल, कैलालीको अध्यक्षसमेत रहेका उनी आफ्नो नामजस्तै विद्यालयलाई साहित्य र संगीतमय बनाउनमा लागी परेका छन् । 

भाषा, साहित्य तथा संस्कृतिको उत्थानका लागि विद्यालयमा नियमित साहित्यवाचन कार्यक्रम सञ्चालन गरेका छन् । साहित्यकारहरूको वृत्ति विकास तथा सम्मान गर्न अक्षयकोष निर्माणमा सहयोग गरेका छन् । 

शिक्षण पद्धतिलाई रोचक बनाउन पाठ्यपुस्तकबाहेक अन्य शैक्षिक सामग्रीको प्रयोग गर्छन् । पावर प्वाइन्टमार्फत् पढाउँछन् । उनी जब कुनै नविन ज्ञान, सिप र अनुभव आर्जन गर्छन्, तब आफ्ना सहकर्मी शिक्षकहरूलाई सोको बारेमा बताउन आतुर हुन्छन् । विभिन्न तालिम लिएर आएका सहकर्मी शिक्षकहरूबाट ज्ञान, सिप र अनुभव शेयर गर्न अनुरोध गर्छन् । 
आफ्नो क्षेत्रमा जानकार शिक्षाविद्, प्रशिक्षक, व्यवस्थापक, साहित्यकार, गाउँका बरघर, लोकसाहित्य लगायतका जानकारहरुको अनुभव सुनाउनका लागि समय समयमा विद्यालयमा अतिथि शिक्षकको रुपमा आमन्त्रण गर्छन् । स्कूल सुधार्न अन्य विद्यालयका प्रअ, शिक्षक तथा विव्यसका सदस्यहरूसँग भेटघाट तथा छलफल गर्छन् । 

जित सरबाट अन्य शिक्षकले सिक्नुपर्ने पाठ

जित सर विद्यालयको समयभन्दा हरेक दिन कम्तीमा १५ मिनेट अगावै पुग्छन् । पाठयोजना बनाएर मात्रै कक्षाकोठामा छिर्छन् । विद्यालय र विद्यार्थीका लागि अतिरिक्त समय दिएवापत कुनै लाभ लिदैंनन् । सार्वजनिक विदामा समेत स्वेच्छिक रुपमा विद्यालयको समग्र विकासका लागि खटिन्छन् । विद्यालयमा कार्यरत आयाको पारिश्रमिक भत्ता आफ्नै तलब भत्ताबाट बेहोरेका छन् । 

विद्यालय व्यवस्थापन समिति, शिक्षकका छोराछोरीहरूलाई आफ्नै विद्यालयमा पठनपाठन गर्ने गराउने कामको थालनीको सुरुवात जित सरले आफ्नै छोरीबाट गरेका छन् । उनकी छोरी अहिले कक्षा ४ मा पढ्छिन् । उनको चाहना छ, छोरीले यहीबाट एसईई गरोस् । शिक्षक मासिक (कार्तिक अंक) बाट ,

प्रकाशित:

२२३ दिन अगाडि

|

१९ कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

६१३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

६४८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

६५७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

६१२ दिन अगाडि

|

२६ असोज २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

६१८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

५६२ दिन अगाडि

|

१५ मंसिर २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

५५० दिन अगाडि

|

२७ मंसिर २०७९