मुना चौधरी
तराईको धानखेतबाट भदौ-असोजमा गाम्हरा दुधही धानको वासना आहा ! कस्तो मिठो। सुघिरहुँ लाग्ने। माटोको पनि अलग्गै खालको मिठो वासना आउने। चैत–वैशाखको रापिलो घाममा सुकेका कोला र आलीको घाँसबाट अत्तरभन्दा पनि मीठो वासना आउने ।
हरियालीले सजिएको मेरो गाउँ, आज पनि ताजा, सुन्दर, भरिभराउ र परिपूर्ण छ। गाउँमा घरपालुवा जनावर गाई र गोरुको गोबर र माटोले घर, आँगन र चुलो नपोते भान्सामा चुलो बल्दैनथ्यो ।
भान्सामा चुलो बाल्न खर, गोरहा (गुइँठा), गोरहैनी, चिपरी, जरना, राहाठ, खर र सन्ठी उत्तिकै आवश्यक पर्थ्यो । चुलो बाल्न सलाई वा लाइटर सकिएको बेला डाडुमा छिमेकीको घरबाट आगो ल्याएकी छु धेरैपल्ट । छिमेकीले भर्खर चुलो बालेर आगो नपलाएको वेला सन्ठीमा आगोको तुती (झिल्को) लिएर दौडिंदै आफ्नो भान्साघर पुगेर चुलो बालेकी छु धेरैपल्ट।
छोरी मान्छे पाककलामा निपुण हुनैपर्छ भन्ने धारणा प्रत्येक आमाको हुन्छ । पाककलामा निपुण हुँदैमा पनि आमाहरू सन्तुष्ट नहुने रहेछन् । घर बाहेक खेतबारीको काममा पनि निपुण हुनैपर्ने । छुटाउनै नहुने निपुणता अध्ययन पनि हो। मैले यी सबै कलामा निपुण हुनैपर्छ भनेर बाले पढाउन र आमाले खेतबारीको काम सिकाउन कहिल्यै झञ्झट मान्नुभएन। जानी नजानी गोरहा (गुइँठा) बनाउनु पनि एक सीप नै थियो ।
गोबरको गन्ध मलाई कहिल्यै घिन लागेन । गाईरगोरु वा भैंसी चराउने बेला होस् या भकारो सोहोर्ने बेला होस् कहिल्यै घिन लागेन । गोबरसँगको सम्बन्ध सम्झिंदा आज पनि रमाइलो लाग्छ। उत्सुकता जाग्छ । कैला गोरु बाँचेकै छ कि मरिसक्यो ? मेरो घरमा एक हल गोरु, गाईहरू र एउटा भैंसी थियो । जसको गोरु बहर, हट्टाकट्टा हुन्थे, त्यो मान्छे धनी किसानमा गनिन्थ्यो त्यतिखेर ।
भर्खरको गोरुलाई बच्छाबरद (बाच्छो) भनिन्छ । बच्छाबरद किन्न अहिले पनि जोडीको ३० र ४० हजार रुपैयाँ पर्छ । हाम्रो पनि बच्छाबरद नै थियो। तर एउटा सेतो र अर्को खैरो रङको थियो । सेतो गोरुलाई उजरा र खैरोलाई कैला बरद भनेर नाम राखेका थियौं । कैला बरद दुई वर्षपछि अचानक कमजोर हुन पुग्यो । हलो जोत्ने बेला बसिदिन्थ्यो । बुबाले कैला बरद (कालो गोर) बेच्नुभयो । त्यो कैला बरद कस्तो अवस्थामा छ होला ?
भैंसीको स्याहार गर्ने नोकर नपाएर बाले भैंसी पनि बेच्नुभयो । भैंसी कहाँ, कस्तो अवस्थामा छ ? मरिसक्यो वा शहरमा म:म बनेर मान्छेको आहार बनिसक्यो कि ? थाहा छैन । तिनीहरूलाई सम्झेर दुःखी छु । तिनीहरूकै गोबरले आमाले कैयौं गोरहा (गुइँठा), गोरहैनी, चिपरी बनाउनुहुन्थ्यो। तिनीहरूकै गोबरको गोरहाबाट हाम्रो भान्सामा भात पाक्थ्यो ।
गर्मी महिनामा गाहली (गुहाली) मा बरद (गोरु), भैंसी भुइँमै बस्थे । उफ् ! तराईको गर्मी, मच्छरले मान्छेलाई टोक्न छोड्दैनथ्यो भने गाईरगोरुलाई झन् के छोड्थ्यो ! मच्छर धेरै लाग्ने। पुच्छरले मच्छर हम्किरहन्थे गाई, भैंसी र गोरुहरू। बुवाले धुवाँ हुनेगरी घुर बाल्नुहुन्थ्यो गाहलीमा गाई, भैंसीकै अगाडि। घुरको धुवाँमा गाई, गोरु र भैंसी पाज गर्दै आनन्दले निदाउँथे ।
गर्मी महिना छितनी (ढाकी)मा गोबर सोहोरेर बारीमा राख्नुहुन्थ्यो आमाले। जाडो महिनामा गोबर सोहोर्न धेरै सकस हुन्थ्यो। लार, पुवार (पराल)को सथरी बिछ्याइन्थ्यो। सथरीमै गाई, भैंसी गोब्रयाउँथे। लार, पुवारलाई हटाउँदै गोबर सोहोर्न समय लाग्थ्यो। हात पनि ठिर्याउँथे ।
जाडो महिना प्राय : वर्षा नहुने भएकाले घर छेउको आ-आफ्ना खेतको कुनामा थारू महिलाहरू गोबर राख्थे । बिहानै घरको काम सकाएर गोरहा (गुइँठा) बनाउन महिला मान्छेहरू बारीमा पस्थे ।
आलीमा लहरै ७ वटा गोरहा बनाएर एक ठाउँमा लडाउँथे । फेरि त्यसैगरी केही ठाउँ खाली छोडेर ७ वटा अर्को ठाउँमा लहरै लडाउँथे । लडाएको ७ वटा सुकिसकेपछि भोलिपल्ट फेरि त्यसकै माथि अर्कोतिरबाट गोरहा पाथेर (बनाएर) लडाउँदथे ।
त्यसरी दैनिक गोरहा बनाउँदा तीनरचार महिनामा खलियो (चाङ) बन्थ्यो। त्यसलाई गोरहाको छोहा (छायाँ) भनिन्छ। जसको बढी गोबर हुन्थ्यो उसको गोरहाको छोहा (छायाँ)अग्लो हुन्थ्यो। सबैले गोबर अनुसार १० र १२ देखि २० र २५ ओटा छोहा बनाएका हुन्थे ।
म ठूली भएपछि आमालाई मैले गोरहा बनाउन सिक्नुपर्छ भन्ने खट्किन थाल्यो । गोरहा पाथ्ने (बनाउने) बेला मलाई पनि बोलाउनुहुन्थ्यो । आफू पाथ्दै (बनाउँदै) गर्दा मलाई पनि एउटा कुनामा पाथ्न लगाउनुहुन्थ्यो । म पनि आमाले जसरी गोरहा पाथ्न सिक्न थालें ।
सुरुमा अगाडि चामलको भुस वा धानको खखरी गोरहा पाथ्ने ठाउँमा छरें । आलीको नापको बाँसको बती (बासको भाटा) छेउमा राखें । त्यही नापको गोरहा बनाउनु थियो। आलीभन्दा सानोठूलो हुनुहुँदैनथ्यो । बती गोरहा लडाउने आलीको नापमा आमाले काट्नुभएको थियो। छेउमा डोल (बाल्टिन)मा पानी राख्नुभएको थियो। गोबरमा पानी छर्किएँ ।
पानी र गोबरको डल्ला दुवै हातले मोल्दै बतीको लम्बाइ अनुसार डल्ला लामो बनाएँ । मुक्काले थुमथुमाउँदै गोबरको लामो डल्लाको बीचमा खाल्डो बनाएँ। खाल्डोमा सन्ठी (जुटबाट निक्लिएको भाग) हालें । सन्ठी हालेर त्यही गोबरको डल्लाले खाल्डो पुरें । औंलाहरूले थुमथुमाउँदै दुवैतिर ठोकेर टाउको बनाएँ । आमाले बनाएको हेर्दै बनाइरहेकी थिएँ । आमाले बनाउनुभए जतिको मैले बनाएको गोरहा राम्रो देखिएन । मैले बनाएको गोरहा देखेर आमाले गोरहाको नाम दिनुभयो नेरगोरहा ।
मैले बनाएको गोरहा देखेर आमा मुसुमुसु हाँस्नुभो । हाँसेको देखेर मैले आमालाई सोधें, ‘कथिले हासैचिहि ? (किन हाँस्नुभएको नि ?)’
आमाले भन्नुभयो– तोहे नेरगोरहा बनाइलहि। (तिमीले राम्रो आकारको गुइँठा बनाइनौ।)
मैले फेरि आमालाई सोधे, ‘गोरहा नैबनलै हमर ? (गोरहा राम्रो बनेन र मेरो ?)
‘मुरी निकसे ठोकने ताब गोरहा बनतौ’ (टाउँको राम्रोसँग मिलाउन अनि राम्रो गोरहा बन्छ) भन्दै आमाले मैले बनाएको गोरहाको टाउको राम्ररी सम्याइदिनुभयो। टाउको राम्रो नभएको गोरहा नेरगोरहा हो भनेर आमाले मलाई सम्झाउनुभो । मैले बनाएको नेरगोरहा छोहामा राखें। आमाको भन्दा नराम्रो देखियो तर खुसी भएँ ।
त्यतिबेला म प्रत्येक दिन बिहान उठेर क्याम्पस पढ्न जान्थें । क्याम्पसबाट फर्केपछि खाना खाएर गोरहा बनाउन बारी पस्थें। कात्तिक, मङ्सिर महिनाको चिसो मधुरो, मीठो घाममा गोरहा बनाउँदै घाम ताप्नुको मज्जा नै बेग्लै हुन्थ्यो। नेरगोरहा बनाउँदा बनाउँदै गोरहा बनाउन सिकिसकेकी थिएँ ।
पुस, माघको शीतलहरमा आमालाई रूघा र ज्वरोले च्याप्थ्यो । चिसो हावा चल्थ्यो। बिरामी परेर आमाले गोरहन बनाउन सक्नुहुन्थेन ।
शीतलहरमा गोरहा बनाउने जन (श्रमिक) पाइँदैनथ्यो । म प्रत्येक दिन गोरहा बनाउन जान्थें। पुस, माघको जाडोमा गोबर छोए हात ठिहिर्याउँथ्यो। हातको छाला फुट्थ्यो ।
बारीमा आलु रोपिसकेपछि कात्तिक महिनाबाट गोरहा बनाउन सुरु गर्थे र वैशाख महिनामा घर भित्र्याउँथे । गोरहा राख्ने घरलाई गोरहाघर वा जरनघरा भनिन्छ।
कात्तिकदेखि चैत महिनाको गोबर गोरहा बनाएर सकाउँथे भने वैशाख र जेठ महिनाको गोबरको गोरहैनी बनाउँथे थारू टोलका महिला मान्छेहरू। गोरहैनी (गोबरबाट बनेको गुइँठा) गाहली वा खलियानको एउटा कुनामा बनाएर गाहली र घर, आँगनका टाँटीमा अडेस लगाएर सुक्न दिन्थे।
गोरहा बनाउन जान्नेले गोरहैनी सजिलै बनाउन सक्थे। गोरहाभन्दा गोरहैनी बनाउन सजिलो छ। गोरहैनी बनाउन मलाई सहजै आउँथ्यो । गोरहैनी गोरहाभन्दा लामो बनाउनुपर्थ्यो। त्यसरी नै अगाडि, भुस वा खखरी राखेर गोबरको डल्लो माड्दै लामो बनाउनुपर्थ्यो । मुक्काले थपथपाएर सन्ठी हाल्नुपर्थ्यो।
सन्ठी हालेर गोरहैनीको तल–माथि सन्ठी यतिकै देखिने गरी छोड्नुपर्थ्यो, सन्ठी समातेर गोरहैनी उठाउन बसाउन सजिलो हुन्थ्यो । त्यही नापको बतीले गोरहैनी उठाएर घरको भित्तामा अडेस लगाएर सुक्न दिन्थे ।
वैशाख–जेठको गोबरबाट गोरहैनी बनाउँथे भने असार–साउनको गोबर मलको रूपमा धानखेतमा हाल्थे । भदौ–असोजको गोबर जम्मा गरेर असोजमा आलु रोप्ने बेला आलुको दङमा (ड्याङ) हाल्थे। आलस र गहुँ खेतमा समेत गोबर मलको रूपमा हाल्थे ।
थारू टोलमा कात्तिकदेखि चैतसम्म बारीका आलीहरू गोरहाका छोहा (चाङ)ले भरिएका हुन्थे भने घर अगाडि र पछाडिका टाँटीका भित्ताहरू गोरहैनी ठडिएर सजिएका हुन्थे ।
गाउँका अरू मुसहरी टोला, हलुवाइटोली, दुसधटोली, तेलियारी चिपरीले (गोबरले बनेको गोलो गुइँठा) सजिएका हुन्थे । उनीहरू गोरहा, गोरहैनी कम र चिपरी बढी बनाउँथे । तर, थारू महिलाहरू प्रायस् गोरहा, गोरहैनी नै बनाउने गर्दथे । गाउँका अन्य जातका महिलाहरू गोबरको चिपरी बनाउँथे ।
घरको भित्ता फोहोर हुन्छ र गोरहा जतिको टिकाउ चिपरी हुँदैन भनेर गोरहा नै बनाउँथे गाउँमा थारू महिलाहरू । बनाएको गोरहाबाट वर्षभरि भात पकाउँथे उनीहरू। जरनघरा (दाउरा राख्ने ठाउँ)मा मुसा लागेन भने गोरहा दुई वर्षदेखि पाँच वर्षसम्म धान्थ्यो । चिपरी धेरै टिकाउ नभएकाले थारू महिलाहरू चिपरी बनाउन त्यति जाँगर देखाउँदैनथे ।
आमाले भन्नुहुन्थ्यो, ‘चिपरी बनाउन मिहिनेत लाग्दैन । खाली गोबरमा कुटी, खखरी हालेर भित्तामा फ्याके पुग्छ। चिपरी बनिहाल्छ ।’ गोरहा वर्षभरि चलाउनलाई सकेसम्म खर, लार, पुवार र बाँसको पतही (पातहरू)ले खाना दोछिया चुलो (दुई मुखे)मा पकाउँथे महिलाहरू ।
वसन्त ऋतु सुरू भएलगत्तै बसुवाइर (बाँसघारी)मा भएका बाँस लगायत अन्य रूखका पातहरू सुकेर झर्थे । सबै काम सकाएर गाउँका महिलाहरू दिउँसो ठूलो बोरा र खरा बोकेर बसुवाइर जान्थे । उनीहरू भुइँमा झरेका बाँसको पात सोहोर्न जान्थे । जसलाई पता खरर्नु भनिन्छ । आ(आफ्नो बसुवाइरबाट दिउँसो पतही भेला गरेर ल्याउँदथे । त्यही पतहीबाट दोछिया चुलोमा खाना पकाउँदथे । सुख्खा महिना छ्वाली, पतही, लार, पुवार, धानको बुट्टी र खरले दोछिया चुलोमा खाना पकाउँदथे ।
वर्षा र जाडो महिना गोरहाले एकछिया चुलो (एकमुखे)मा खाना पकाउँथे । जाडो महिना गोरहाको आगो ताप्न र घुर बाल्न सहज हुन्थ्यो । थारू महिलाहरू गोरहा बचाउँदै एकपल्ट बनाएको गोरहा वर्षभरि चलाउँदथे । थारू टोलका महिलाहरूले गोरहा, गोरहैनी नबनाई चित्तै बुझ्दैनथ्यो ।
गाईगोरु नभएका गाउँका महिलाहरू गाई, भैंसी चराउन गएको बेला गोबर बिच्छन (सोहोर्न) गाई, भैंसीका पछि लाग्थे। गोबर बिच्छने महिला मान्छेलाई गोबरबिछी भनिन्छ । गाउँका कनकपुरनी ठाकुर र खेसराहावाली सदा गाई, भैंसीको गोबर बिछ्न गाई, भैंसी चराउन लगेपछि पछि लागेकै हुन्थे ।
कनकपुरनी ठाकुर र खेसराहावाली सदाका नाम के थिए ? हामीले कहिल्यै नाम जान्ने चासो राखेनौं र नाम पनि सोधेनौं । माइती गाउँका नामले सबैले उनीहरूलाई बोलाउँथे । परिचयविहीन भएर बसे पनि उनीहरूले आफ्नो परिचय पाउन कहिल्यै विरोध गरेको देखिनँ ।
अहिले मलाई उनीहरूको नाम जान्ने खुल्दुली चल्छ बेलाबेला । त्यतिबेला हामी गाई, भैंसी चरवाह९गोठाले०हरूले किन उनीहरूका नाम सोधेनौं सोचेर पश्चात्तापमा पर्छु । उनीहरू संसार छोडेको वर्षौं भइसकेको छ । तर, उनीहरूको नाम जान्ने जिज्ञासा मेरो मनमा जस्ताको तस्तै छ। उनीहरूले टाउकामा छितनी (बाँसको चोयाबाट बनेको ढाकी) बोकेका हुन्थे।
गाई, भैंसीले गोब्रयाउने बित्तिकै गोबर सोहोरेर छितनीमा हाल्थे । गोबर हालेर आली वा खेतको घाँसमा हात पुछ्थे । आलीमा बसेर चर्दै गरेका गाई, भैंसीतिर हेरिरहन्थे । गाई, भैंसीले गोब्रयाएको जसले पहिले देख्थिन् उनैले कुदेर सोहोर्थिन् । कनकपुरनी र खेसराहावाली दुवै जनाको गोबर सोहोर्न प्रतिस्पर्धा हुन्थ्यो ।
कहिलेकाहीं त गाईवस्तुले गोब्रयाएको बेला कसले पहिले देख्यो भनेर प्रतिस्पर्धा हुन्थ्यो। उनीहरू आफूले पहिला गाईबस्तुले गोब्रयाएको देखेको र त्यसमा आफ्नो पहिलो सोहोर्ने हक लाग्ने दाबी गर्थे। बेला बेला त उनीहरूको बीचमा भनाभन समेत हुन्थ्यो। यही कारणले उनी दुईरचार दिन एकअर्कासँग बोल्दैनथे। दुईरचार दिनपछि बल्ल उनीहरू आपसमा बोल्ने गर्दथे। बेलुकी उनीहरू गाईभैंसीसँगै घर फर्किन्थे, गोबरको भारी बोकेर।
फरक यति मात्र थियो खेसराहावाली आफ्नो छाप्रोको भित्ताभरि चिपरी टाल्थिन्। गोबरलाई मल बनाएर हाल्नलाई उनको कुनै खेत थिएन। उनी सुकुम्बासी थिइन्। चिपरी सुकिसकेपछि उप्काउँथिन्। त्यही चिपरीले खाना पकाउँथिन्। गोबर टिप्न गएको बेला खेतमा उम्रेका सरहौची साग टिप्थिन्। साग टिप्दै कनकपुरनी ठाकुरलाई भन्थिन्, आज राति सरहौची साग र भात पकाउँछु। कनकपुरनी ठाकुरको गाउँबाहिर दुईकोला खेत थियो। चिपरी बनाएर उब्रिएको गोबर मल बनाएर त्यही खेतमा हाल्थिन् उनी।
वैशाख, जेठ महिना जन (मजदुरी)मा काम नहुने भएकाले यी दुई महिना गाई, भैंसीको गोबर टिप्न दैनिक कनकपुरनी र खेसराहावाली आउँथे।
आधुनिकताले गाउँ–गाउँमा राज गरिसकेको छ। हलगोरु गाउँमा छैनन्। गाई पाल्न गाउँलेहरू अब झञ्झट मान्छन्। भएका लैनो भैंसी बेचेर दिनदिनै खाडी भासिइरहेका छन् युवाहरू। गाउँलेहरू ट्याक्टरले खेती र थ्रेसरले दौनी गर्छन्। खाडी छिरेकाहरूले पक्की घर बनाए। अब गाउँमा बिस्तारै खरका छाना फालेर पक्कीका छानाहरू बन्न थालेका छन्। थारूको पुराना शैलीका घरहरू लोप हुन थालेका छन् भने आधुनिक डिजाइनका घरहरू धमाधम बन्न र बनाउन थालेका छन्।
खाडी नछिरेकाहरू खेत बेचेरै भए पनि जसोतसो पक्की घर बनाउँदै छन्। अब गोरहा (गुइँठा)को सट्टा ग्याँस चुलो घर-घरमा भित्रिंदैछ। आगो ताप्न गोरहाको सट्टा हिटर घरहरूमा भित्रिएका छन्। समय परिवर्तन भएसँगै सुविधायुक्त र पहिलाको भन्दा सहज जीवन बाँच्न थालेका छन्, गाउँलेहरू । अनलाइन खबर
प्रकाशित:
२८५ दिन अगाडि
|
१७ माघ २०८०
५ दिन अगाडि
|
२१ कात्तिक २०८१
११ दिन अगाडि
|
१५ कात्तिक २०८१
११ दिन अगाडि
|
१५ कात्तिक २०८१
१३ दिन अगाडि
|
१३ कात्तिक २०८१
१३ दिन अगाडि
|
१३ कात्तिक २०८१
१९ दिन अगाडि
|
७ कात्तिक २०८१
२१ दिन अगाडि
|
५ कात्तिक २०८१
७६२ दिन अगाडि
|
२५ असोज २०७९
७९६ दिन अगाडि
|
२१ भदौ २०७९
८०६ दिन अगाडि
|
१२ भदौ २०७९
७६१ दिन अगाडि
|
२६ असोज २०७९
७११ दिन अगाडि
|
१५ मंसिर २०७९
७६७ दिन अगाडि
|
२० असोज २०७९
६९९ दिन अगाडि
|
२७ मंसिर २०७९