सानो र सुन्दर देश नेपालमा विविधता छ । भूगोल, हावापानी, जातजाति, रहनसहन, बोलीभाषा, खानपान आदि धेरै किसिमको विविधताले भरिपूर्ण छ यो देश । यही विविधता यसको मूल गहना र सिंगार हो । यसैले यो देश विश्वसामु पृथक देशको रुपमा परिचित छ ।
सानो क्षेत्रफलभित्र तराई, पहाड, हिमाल हुनु, १२४ भाषा बोलिनु, धेरै किसिमको पहिरन हुनु नेपालीहरुको लागि गौरवको बिषय हो । त्यसैले त हाम्रो राष्ट्रिय गानमा पनि सयौं थुंगा फूलको एक माला भनिएको छ । र, मालाको एक थुंगा पूmल थारू समुदाय पनि हो ।
थारू समुदायको आफ्नो छुट्टै विशेषता छ, उसको आफ्नो मौलिकपन छ । कसैले दशैंतिहारलाई ठूलो मान्छ, कसैले होलीलाई, कसैले छठ पर्वलाई, कसैले मोहर्रमलाई त कसैले क्रिसमसलाई ।
थारू समुदाय माघलाई आफ्नो सबैभन्दा ठूलो चाड (त्यौहार) को रुपमा मान्दछ, जसको विविध कारण छन् । पहिलो माघ १ देखि उनीहरुको नयाँ वर्ष प्रारम्भ हुन्छ, दोश्रो माघ १ उनीहरुको लागि धार्मिक हिसाबले अति पुण्य दिन लहान (अनिवार्य नुहाउनु पर्ने, शिवपुजन गर्ने, आफू भन्दा ठूलोलाई सेवाढोग गर्ने र आशीर्वाद लिने हो, निसराउ निकाल्ने दिन हो । तेश्रो माघ १ उनीहरुको आफ्नो घरको किसनवा (घरमूली) छान्ने दिन पनि हो, चौथो माघ २ देखि पहिलो साता उनीहरुको भलमन्सा (बरघर, महटावा, ककन्डार, प्रधान) चुन्ने दिन हो । यिनै कारणहरुले गर्दा नै माघ उनीहरुको लागि महत्वपूर्ण चाड मानिन्छ । यसरी माघ थारूहरुका लागि ठूलो चाड हुनुको धेरै पाटाहरु छन् । यो लेख भने माघको एक महत्वपूर्ण पाटो खोजनी–बोजनी र भलमन्साबारे केन्द्रित छ ।
खोजनी–बोजनी
खोजनी–बोजनी भनेको थारू समुदायमा प्रचलित गाउँ र घरका लागि आवश्यक पर्ने नीति निर्माण गर्ने र नेतृत्व चयन गर्ने प्रक्रिया हो । यसलाई कतिपय ठाउँमा माघीडेवानी र कतिपय ठाउँमा भुराखेलको नामबाट पनि चिन्ने गर्दछन् । खोजनीको शाब्दिक अर्थ खोज्ने र बोजनीको शाब्दिक अर्थ बोल्ने हो । त्यसैले खोजनी–बोजनीको अर्थ छलफल गर्ने र नेतृत्व चयन गर्ने हो ।
खोजनी–बोजनी भनेको अहिलेको चलनअनुसार चुनावी अधिवेशन वा साधारण सभा हो, जहाँ गाउँ सञ्चालनको लागि ब्यापक छलफल गरी सर्वसम्मत निष्कर्ष निकालिन्छ र निर्णय गरिन्छ । संघ, संस्था, पार्टी, सहकारी, क्लव आदिको चुनावी अधिवेशन २, ३ वा ४ वर्षमा हुन्छ भने थारू समुदायको खोजनी–बोजनी वार्षिक रुपमा हुन्छ । वार्षिक रुपमा हुने यो खोजनी–बोजनीमा गाउँ सञ्चालनका लागि आवश्यक पर्ने सबै नीति नियम बनाइन्छ । नेतृत्व (किसनवा, भलमन्सा, गुरुवा, चौकीदार) वा गाउँलेहरुको कमीकमजोरीबारे वा मन नपरेका कुराबारे, सुधार्नुपर्ने बानी ब्यहोराबारे, आम्दानी खर्चबारे, के गर्न हुने, के गर्न नहुनेबारे ब्यापक छलफल हुन्छ र टुङ्गो लगाइन्छ ।
खोजनी–बोजनीको प्रकार
खोजनी बोजनी फरक फरक तह र तप्कामा हुने गर्दछ । पुस महिनालाई थारू समुदायमा वर्षको अन्तिम महिना र पुस अन्तिम दिनलाई बर्षको अन्तिम दिन मानिन्छ । कामका लागि हुने, गरिने सबै सहमति, सम्झौता, करार पुस मसान्तमा स्वतः रद्द हुन्छ, अन्त हुन्छ र माघमा पुनः सम्झौता वा करार हुन्छ । सम्झौता, करार लिखित हुँदैन, मौखिक हुन्छ । नैतिकता र ईमान्दारीमा आधारित हुन्छ, जसको सबैले स्वतःस्फूर्त रुपमा पालना गर्ने गर्दछन् । नैतिक शिक्षाको यो समुदायमा बलियो प्रभाव भएको कारण अहिलेसम्म यो सम्भव भैरहेको छ । मालिक र किसान, गाउँले वा भल्मन्सा बिचमा हुने यी सम्झौता पुस मसान्तमा आपसे आप स्वतः सकिने, टुङ्गिने हुनाले माघलाई मुक्ति दिवस वा पर्वको रुपमा पनि चिन्ने गरिन्छ ।
थारू समुदायमा खोजनी–बोजनी ३ तहमा हुने गर्दथ्यो, कमैया मुक्ति (वि.स.ं २०५७) पछि किसान र कमैयाबिचमा हुने खोजनी–बोजनीको अहिले अन्त्य भएको छ । घरमा हुने खोजनी–बोजनी तथा गाउँमा हुने खोजनी–बोजनी गरी २ तहको खोजनी–बोजनी भने अहिले पनि जारी छ ।
१. घरमा हुने खोजनी–बोजनी
घरमा हुने खोजनी–बोजनीमा एउटै छानामुनि रहेको एउटै भान्सामा खानेहरु बिचमा हुन्छ । थारू समुदायमा हरेक घरमा घरमुली चुन्ने परम्परा हुन्छ । घरमूली अर्थात् ‘किसनवा’को निर्देशनमा घर चल्छ गर्दछन् । किसनवा बन्ने पहिलो हक जेठो छोरालाई हुन्छ । तर जेठो छोरा किसनवाको जिम्मेवारी बहन गर्न नसक्ने अवस्थामा वा भनौं सक्षम नभएको अवस्थामा किसनवा बन्ने अवसर (पालो) अन्य सक्षम छोरालाई जाने गर्दछ । यो खोजनी–बोजनी प्रायः माघ १ गते साँझ नै हुने गर्दछ । परिवारमा हुने यस्ता खोजनी–बोजनी भने हरेक वर्ष हरेक घरमा हुँदैन । किसनवा मन नपरेको वर्ष वा परिवारका अन्य दाजुभाइहरु बिचमा झैझगडा हुने वा छुट्टिन चाहेको आशय ब्यक्त भएमा हुने गर्दछ ।
बाबुले भनौं वा घरमूलीले भनौं, आफ्नो किसनवा पद र जिम्मेवारी छाड्दा नयाँ किसनवालाई कपालमा पगरी लगाई आजदेखि किसनवा पद र जिम्मेवारी राम्रोसँग सम्हाल्नु भनी आशीर्वाद दिने गर्दछन् । तर, यो पगरी लगाइदिने चलन भने हाल करिब करिब हराइसकेको अवस्था छ ।
२. गाउँमा हुने खोजनी–बोजनी
गाउँमा हुने खोजनी–बोजनी गाउँ समाज र भल्मन्सा, गुरुवा, चौकीदार बिचमा हुने खोजनी–बोजनी हो । यो हरेक वर्ष हुने गर्दछ । खोजनी–बोजनीमा बरघर अर्थात् भलमन्साले गाउँको आयब्यय प्रस्तुत गर्दछन्, गाउँ सञ्चालनको लागि बनेको नीति नियमबारे गाउँलेहरु ब्यापक छलफल गर्दछन् । नीति नियम बनाउन परे बनाउँछन्, हटाउन परे हटाउँछन् । राम्रा लागे पुरानै भलमन्सा, गुरुवा, चौकीदारलाई थमौती (नवीकरण) गर्दछन्, राम्रो नलागे भलमन्सा, गुरुवा, चौकीदार परिवर्तन गर्दछन् ।
यसरी गाउँमा हुने खोजनी–बोजनी हुँदा पहिले गाउँको आय ब्ययबारे छलफल, दोश्रो चरणमा गाउँ सञ्चालनका नीति नियमबारे छलफल र अन्त्यमा नेतृत्वबारे छलफल हुने गर्दछ । नेतृत्वबारे छलफल हुँदा गाउँका भद्रभलाद्मी ब्यक्तिले सम्वादको शुरुवात गर्दै भन्छन् “बरस डिनके ट्यौहार आ गिल, मुरीपर पानी परगिल, उप्पर रहना पंक्षी टो स्वतन्त्र बाटैं, हमरे टो मनुवा हुइ, अपन बाट ढरनामे सबजाने स्वतन्त्र बाटि, टुहुन मनमे का बा ? खुलके बोलो ।”
याने कि वर्ष दिनको त्यौहार आइसक्यो, शिरमा पानी परिसक्यो, माथि उड्ने पंक्षी त स्वतन्त्र छन्, हामी त मानिस हो । आफ्ना कुरा राख्नलाई स्वतन्त्र छौं, आफ्नो कुरा खुलेर राखौं भनी पुरानो नेतृत्वलाई कुरा राख्ने अवसर दिन्छन् ।
उनीहरुको कुरा सुनिसकेपछि भद्रभलादमी लगायतका गाउँका किसानहरु आफ्नो राय प्रकट गर्दछन् । नेतृत्वले पुनः जिम्मेवारी सम्हाल्ने ईच्छा ब्यक्त गरेको खण्डमा भलमन्सा, गुरुवा, चौकीदारको ईच्छा चाहना यस्तो छ है, तपाईहरुबाट कोही दावेदार छ भने भनिहालौं है भनी भेलाको ईच्छा बुझ्ने काम हुन्छ । दाबेदार पत्ता नलागे पुरानोलाई थमौती (नवीकरण, अनुमोदन) गर्दछन्, दाबेदार ठहरे छलफल हुन्छ, सर्वसम्मत नभए आवश्यकतानुसार चुनाव या चिट्ठाको माध्यम अपनाइन्छ र नेतृत्वको टुङ्गो लगाइन्छ ।
भलमन्सा (बरघर, महटाँवा, ककन्डार, प्रधान)
थारू भाषामा भलको अर्थ भलो र मन्साको अर्थ मानिस हो । त्यसैले भलमन्सा भनेको सधैँ गाउँको भलो चिताउने, उन्नति प्रगति देख्न चाहने ब्यक्ति हो । अथवा भनौं भलमन्सा भनेको थारू गाउँको धरोहर, सम्मानित ब्यक्तित्व, गाउँको प्रमुख, गाउँको न्यायकर्ता, कार्यकारी प्रमुख हो, जसले गाउँका हरेक सरोकारका बिषयलाई हेर्ने र गाउँलेहरुसँगको परामर्शमा न्याय निरुपण गर्ने ब्यक्ति हो । जसको काँधमा गाउँको बाटोघाटो हेर्ने, पुलपुलेसा हेर्ने, खेतबारी साँध सिमानाको विवाद हेर्ने, भोजविवाह जस्ता सामाजिक मुद्दा होस् वा धार्मिक, सांस्कृतिक सवाल होस्, चाडपर्व मनाउनेदेखि न्यायनिसाफ गर्ने अथवा भनौं गाउँसँग सरोकार राख्ने सबै बिषयबस्तु हेर्ने जिम्मेवारी उसको काँधमा हुन्छ ।
देशको कानुनले हेर्न मिल्ने वा नमिल्ने फरक कुरा हो तर थारू परम्पराअनुसार सबै किसिमका सवाल, मुद्दाहरु हेर्ने जिम्मेवारी भलमन्साको जिम्मेवारीभित्र पर्दछ ।
कतिपय ठाउँमा भलमन्सालाई बरघर, महटाँवा, ककन्डार, प्रधानको नामले सम्बोधन गर्दछन् । कञ्चनपुर, कैलाली, बाँके, बर्दियातिर धेरैजसो ठाउँमा भलमन्सा, बरघर, बरघरियाको नामले सम्बोधन गर्दछन् भने दाङ उपत्यकामा महटाँवा, देउखुरी उपत्यकामा ककन्डार वा प्रधानको नामले सम्बोधन गर्दछन् । अरु कुनै ठाउँमा अन्य नामले पनि सम्बोधन गरेको हुन सक्दछन् । जहाँ जुनसुकै नामले चिनिए, जानिए पनि भलमन्सा, बरघरको काम भने एउटै हो ।
भलमन्सा जस्तै थारू भाषामा बरघरको अर्थ ठूलो घर र बरघरियाको अर्थ ठूलो घरवाला हुन्छ । त्यसैले, समाजमा शुरुमा बरघरिया शब्दको प्रयोग भएको र पछि बरघरको प्रयोग भएको देखिन्छ । समाजमा अहिले बरघर र बरघरिया दुबै शब्द चलनचल्तीमा छ । देशमा जमिन्दारी प्रथा, बिर्ता प्रथा रहेको बेला एक्लादोक्ला ब्यक्ति रहेका घरपरिवारले भलमन्साको जिम्मेवारी सम्हाल्नु फलामको च्युरा चपाउनु जस्तै थियो, किनकि यो समाजसेवाको पद हो ।
बेठबेगारीमा जाने कि आफ्नो खेतीपाती, घरधन्दा सम्हाल्ने ? सानो परिवारलाई गार्हो थियो । जुन घरपरिवारमा ३ देखि ७ जनासम्म दाजुभाइहरु हुन्थे वा भनौं ठूलो परिवार हुन्थ्यो, उनीहरुका लागि भलमन्सा पद सम्हाल्न सजिलो थियो । एकभाइ बाहै्र महिना बेठबेगारी जाँदा पनि अरु भाइहरु खेतीपाती, घरधन्दा मज्जाले सम्हाल्न सक्दथे । फलस्वरुप भलमन्साको जिम्मेवारी ठूलो घर भएका ब्यक्तिले सम्हाल्ने परम्परा बन्यो । सोही परम्पराअनुरुप पछि कतिपय ठाउँमा भलमन्सालाई बरघरिया वा बरघर भन्न थालियो ।
भलमन्सा, बरघरको अर्थ जस्तै महटाँवा, ककन्डार र प्रधानको पनि आफ्नै अर्थ छ । साहित्यकार कृष्णराज सर्वहारीका अनुसार महटाँवा, महतोको अर्थ महत्वपूर्ण ब्यक्ति भन्ने जनाउँदछ । छविलाल कोपिलाका अनुसार देउखुरीमा प्रयोगमा रहेको ककन्डारको अर्थ संयोजन गर्ने ब्यक्ति, संयोजक र प्रधानको अर्थ मुख्य, खास भन्ने जनाउँदछ । त्यसैले ठाउँअनुसार भलमन्सा, बरघर, महटाँवा, ककन्डार, प्रधान जुन शब्द प्रयोग गरिए पनि यिनको काम, कर्तव्य र अधिकार एउटै हो । यी पर्यायबाची शब्द हुन् । पूर्वतिरका थारूहरुमा भलमन्सा बरघर जस्तै पहिले पहिले डेवान, मान्जन, गच्छदारहरुले गाउँको रेखदेख गर्ने जिम्मेवारी सम्हाल्ने गर्दथे, तर अहिले त्यो हराइसकेको अवस्था छ ।
गाउँको रेखदेख गर्ने, गाउँको प्रमुख मानिने भलमन्सा (बरघर, महटाँवा, ककन्डार, प्रधान) सँगै हरेक थारू गाउँमा सञ्चारको लागि चौकीदार र पूजा पाठका लागि गुरुवा, चिराकि हुने गर्दछन् । भलमन्सा, गुरुवा, चौकीदार गाउँका लागि निरन्तर खटिने, सँगै रहने पदाधिकारी हुन्, जसलाई गाउँ समाजले खटेवापत वार्षिक केही नगदी वा जिन्सी दिने गरेका हुन्छन् । यसका साथै थारू गाउँमा महिला सुत्केरी हुँदा सहयोग गर्ने सोर्हिन्या (सुँढिनी) अनि लवाङ्गी पूजा हुँदा ढाग (अंग्रजी ढोलजस्तै हुने बाजा) बजाउने र पचरा, फुलवार गाउने ढकेहर पनि हुने गर्दछन्, जसको आफ्नै मान्यता छ । गुरुवा, चौकीदार, सोर्हिन्या, ढकेहर सबै भलमन्सा (बरघर, मटावा) का मातहत चल्ने गर्दछन् ।
गुरुवा
गुरुवा भनेका तन्त्रमन्त्र, पूजा, पाठमा दीक्षित ब्यक्ति, जसले आफ्नो तन्त्रमन्त्र, पूजापाठको माध्यमबाट भूतप्रेत, टुनामुना, रोगब्याध, दैवी प्रकोप आदिबाट गाउँलाई जोगाउने ब्यक्ति हुन् । चलनचल्तीको भाषामा भन्दा गुरुवा भनेका गाउँका पूजारी, गुरु हुन्, जो सधैँ गाउँघरको हितका लागि सोच्ने, तन्त्रमन्त्र, पूजापाठ गरी गाउँलाई अनिष्टबाट जोगाउने महत्वपूर्ण ब्यक्ति हुन् । थारू समुदायका धर्मगुरु हुन् ।
चौकीदार
चौकीदार भनेका थारू गाउँका सूचनावाहक वा सञ्चारमन्त्री हुन्, जसले भलमन्साका अर्ती, उपदेश, आदेश गाउँका सबै किसान वा घरमूलीहरुबिचमा सम्प्रेषण गर्दछन् । त्यति मात्रै हैन, उनले एक गाउँबाट अर्को गाउँलाई दिनुपर्ने सूचना आदानप्रदान पनि गर्दछन् । आवश्यक परेमा ब्यक्तिगत सूचना आदान प्रदानमा पनि उनी सहयोग गर्दछन् ।
कतिपय ठाउँमा चौकीदारलाई चिरकिया पनि भन्ने गर्दछन् । थारू गाउँमा चौकीदार शब्द अहिले धेरैजसो गाउँमा प्रयोगमा आइरहेको र साझा शब्द जस्तै भइसकेको देखिन्छ । तर चौकीदार र चिरकिया शब्दको अर्थ फरक फरक रहेको कुरा कैलालीका बुद्धिजीवि शिक्षक रुद्र कुश्मी (रोदन) बताउँछन् । उनका अनुसार पहिले पहिले थारू गाउँमा गोंंरैटा हुने गर्दथे । गोरैटाको शाब्दिक अर्थ गोचार्ने, कामको लागि गाउँलेलाई आह्वान गर्ने, गुहार्ने भन्ने जनाउँछ । पहिले पहिले गाउँघरमा बेठबेगारी, चाडपर्व, पूजापाठ हुँदा गोरैटाले गाउँलाई गुहार्थे सूचना प्रवाह गर्दथे । गोंरैटा काम गरेका हुनाले कतिपय गाउँमा कतिपय घरको नाम अहिले पनि गोर्टाने रहन पुगेको उनी बताउँछन् ।
त्यसैगरी, कतिपय गाउँमा चौकीदारलाई चिरकिया भने पनि चिरकियाको शाब्दिक अर्थ चिराग (उज्यालो) बाल्ने व्यक्ति हो । पहिले पहिले गाउँको ठन्वा, मरुवामा हरेक सोमबार दियो बालिन्थ्यो । दियो बाल्ने अर्थात् उज्यालो बाल्ने काम गर्ने हुनाले दियो बाल्नेको नाम चिरकिया रहन गएको हो ।
जमिन्दारी प्रथामा गाउँलाई सूचना दिने, गाउँलाई पहरा दिने, चोर डाँका, बदमास आउँदा भिड्ने, गाउँलाई गुहार्ने साझा ब्यक्तिका रुपमा चौकीदार हुन्थे । यसरी पहिले पहिले चिरकिया र चौकिदार फरक फरक ब्यक्ति थिए । तर समयको बदलाव र ब्ययभारका कारण पछि पछि चौकी भर्ने (पहरा दिने) चिराग बाल्ने कामको जिम्मेवारी एउटै ब्यक्तिलाई दिन थालियो, फलस्वरुप कुनै कुनै गाउँबाहेक प्रायः गाउँमा चौकीदार शब्द स्थापित हुन पुगेको देखिन्छ ।
भलमन्सा, बरघरको कार्यअवधि
भलमन्सा (बरघर, मटाँवा), गुरुवा, चौकीदारको कार्य अवधि १ वर्षको हुन्छ । हरेक वर्ष हुने खोजनी– बोजनीमा यिनको काम, कर्तव्य र अधिकारबारे छलफल हुन्छ । मन परे यिनीहरु नै गाउँलेबाट थमौती (नविकृत, अनुमोदित) हुन्छन् भने मन नपरे हटाइन्छन् । हरेक वर्ष खोजनी–बोजनी हुनु वा भनौं नेतृत्वको थमौती गरिनु वा परिवर्तन गरिनु थारू समुदायको लोकतान्त्रिक परम्परा हो ।
परम्परामा देखा परेको विकृति
अहिले कुनै कुनै गाउँमा एकैचोटी ३ वर्षको लागि भलमन्सा चुनिएको कुरा खबरमा सुनिन्छ, कतिपय ब्यक्ति १ वर्ष निकै कम हो, १ वर्ष त सिक्दा सिक्दै जाने रहेछ भन्ने कुतर्क पनि गर्ने गर्दछन् । बुझ्नुपर्ने कुरा के हो भने भलमन्सा बरघर प्रथा हो, परम्परा हो । जुन परम्पराअनुसार हरेक माघमा खोजनी– बोजनी हुन्छ, खोजनी– बोजनीले १ वर्षको लागि नेतृत्व चयन गर्दछ, नविकरण गर्दछ वा थमौती गर्दछ । जुन एकदम लोकतान्त्रिक पनि छ । एकैचोटी ३ वर्षका लागि छनौट गरिने परम्परा बसाल्न खोज्नुमा गलत नियत लुकेको देखिन्छ । गलत तर्क गर्नेहरुको मनमा अदृश्य रुपमा जनताबाट लामो समयको लागि नचुनिने डर, अविश्वास र निरंकुशता लुकेको छ । तर्कले अलोकप्रिय ब्यक्तिलाई पनि कम्तिमा ३ वर्ष भलमन्सा बनिरहने र मनपरी गरिरहने काममा मलजल गर्दछ ।
भलमन्साका गैरजिम्मेवारीपन
कतिपय गाउँका भलमन्सामा गैरजिम्मेवारीपन पनि देखा पर्ने गर्दछ । माघमा खोजनी–बोजनी हुन्छ । खोजनी–बोजनी हुने बेलामा गाउँलेहरुले उठाएका सबै कुरा उ स्वीकार गर्दछ । कार्यान्वयन गर्ने, ब्यवहारमा उतार्ने काम गर्छु भन्छ । तर खोजनी–बोजनी सम्पन्न भएपछि उ गाउँसमाजका अगाडि गरेका कबुल, बाचाहरु बिर्सने गर्दछ ।
भलमन्साले बुझ्नुपर्ने कुरा के हो भने खोजनी–बोजनी भनेको थारू गाउँको अधिवेशन हो, चुनावी साधारण सभा हो, गाउँसमाजले भलमन्सालाई नीति नियम कार्यान्वयन गर्ने पुरा अधिकार दिएको हुन्छ । नीति नियम ईमान्दारीका साथ कार्यान्वयन गर्ने उसको सामाजिक, नैतिक दायित्वभित्र पर्दछ । खोजनी–बोजनीमा कबुल गर्नु, पछि आलटाल गर्नु, कार्यान्वयन नगर्नु, सबैको काम हो भनी बेवास्ता गर्नु गैरजिम्मेवारीपन हो । यसमा उसले ध्यान पु¥याउनै पर्दछ ।
भलमन्सा प्रथाको स्थानीयकरण हुन जरुरी
थारू समुदायमा भलमन्सा बरघरबिना शासन सत्ता सञ्चालन गर्न गाह्रो हुन्छ । उनीहरु आदिकालदेखि आफ्नै लोकतान्त्रिक विधिमार्फत् शासित छन् । खुल्ला पारदर्शी छलफल, नीति नियमको पालना, मेलमिलाप उनीहरुको रगतमै, रक्तकोषमै मिसिएको हुन्छ । जबर्जस्ती कज्याउनु वा भलमन्सा बरघरबिनाको बाह्य आदेश उनीहरुको लागि स्वीकार्य हुँदैन ।
तसर्थ थारू समुदायलाई लोकतान्त्रिक, गणतान्त्रिक शासन सत्ताको अनुभूति दिलाउने हो भने स्थानीय तहले उनीहरुको आफ्नो परम्परागत शासन सत्ता भलमन्सा बरघर प्रथालाई स्थानीयकरण गर्न आवश्यक छ । भलमन्सा बरघर ऐन बनाई उनीहरुको प्रतिनिधि भलमन्सा बरघरमार्फत् नै उनीहरुमा पुग्नु पर्दछ, उनीहरुको मन जित्नु पर्दछ ।
निष्कर्ष
निष्कर्षमा के भन्न सकिन्छ माघ थारू समुदायको सबैभन्दा ठूलो पर्व, त्यौहार हो । माघमा खोजनी–बोजनी हुन्छ, यसको ठूलो महत्व छ । खोजनी–बोजनीमार्फत् भलमन्सा बरघर, गुरुवा, चौकीदारको चयन हुन्छ । भलमन्सा बरघर, गुरुवा, चौकिदारमार्फत् थारू समुदाय चल्छ । समुदाय सञ्चालित हुन उसका आफ्नै नीति नियम छ । देशको कानुनबारे पनि खोजनी–बोजनीमा छलफल हुन्छ ।
भलमन्सा बरघरबिनाको शासन सत्ता उसका लागि स्वीकार्य हुँदैन । भलमन्सा बरघरको कार्यकाल १ वर्षको हुन्छ । ३ वा ५ बर्षे कार्यकाल थारूहरुको परम्परा होइन, न त यो लोकतान्त्रिक नै हुन सक्छ । थारू समुदायको शासन सत्ताको मूलाधार नैतिक शिक्षा भएकोले हरेक बरघर भलमन्साले यसमा ध्यान पु¥याउन जरुरी छ ।
खोजनी–बोजनीमा गहन छलफल र नीति नियमको ईमान्दार कार्यान्वयन बरघर भलमन्साको दायित्वभित्र पर्दछ । त्यसैगरी, थारू समुदायलाई लोकतान्त्रिक शासनको अनुभूति दिलाउन भलमन्सा बरघर प्रथालाई स्थानीयकरण गर्नु पनि स्थानीय तहको दायित्वभित्र पर्दछ ।
प्रकाशित:
२११ दिन अगाडि
|
५ चैत २०८०
३ दिन अगाडि
|
२६ असोज २०८१
४ दिन अगाडि
|
२५ असोज २०८१
४ दिन अगाडि
|
२४ असोज २०८१
७ दिन अगाडि
|
२२ असोज २०८१
८ दिन अगाडि
|
२१ असोज २०८१
९ दिन अगाडि
|
२० असोज २०८१
१० दिन अगाडि
|
१९ असोज २०८१
७३५ दिन अगाडि
|
२५ असोज २०७९
७६९ दिन अगाडि
|
२१ भदौ २०७९
७७९ दिन अगाडि
|
१२ भदौ २०७९
७३४ दिन अगाडि
|
२६ असोज २०७९
६८३ दिन अगाडि
|
१५ मंसिर २०७९
७३९ दिन अगाडि
|
२० असोज २०७९
६७२ दिन अगाडि
|
२७ मंसिर २०७९