Above Header

रानाथारू समुदायमा अठतिस् दिनसम्म मनाइन्छ होरी त्योहार

होरीको विदाई चैतको चराइँमा गरिन्छ। चराइँ गाउँको पूजा हो ।
रानाथारू समुदायमा अठतिस् दिनसम्म मनाइन्छ होरी त्योहार

लक्ष्मी राना 

कुनै पनि समुदायको पहिचानको रूपमा त्यस समुदायको विविध संस्कार, संस्कृति र परम्पराको भूमिका महत्वपूर्ण रहेको हुन्छ । रानाथारू समुदायमा मनाइने विविध चाडपर्व मध्ये होरी त्योहार पनि एक हो । अन्य समुदायमा जस्तै पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका रानाथारू समुदायमा पनि होली पर्वलाई होरी त्योहारको रूपमा भव्यताका साथ मनाइन्छ ।

सबैभन्दा ठूलो त्योहार‌ होरी
रानाथारू समुदायको सबभन्दा ठुलो त्योहारको रूपमा होरी त्योहार मनाइन्छ। यो त्योहार यसर्थ ठूलो छ कि यो माघको पूर्णिमा होरीको आगमनदेखि सुरु भएर चैतको चरइँमा होरी विदाइसम्म चल्ने गर्दछ। यो बीचमा होरी स्थापनादेखि खक्डेहरासम्म अठतिस् दिन युवा युवतीहरू होरी खेल्ने गर्दछन् । 
होरी माघको पूर्णिमामा होरी स्थापना, फागु पूर्णिमामा होरी दहन, होरी पूजा, फागुको फगोहा र हटकना, खक्डेहरा‌मा समापन र चैत्रको चराइँमा होरी विदाई गरी मनाइन्छ । यी पर्व र संस्कारहरू  एक अर्कासँग अन्तरसम्बन्धित रहेका छन् र रानाथारू समुदायमा यो त्योहार लामो समयसम्म चल्ने भएकाले यो सबैभन्दा ठूलो त्योहारको रुपमा मानिन्छ ।

मिथक र जनविश्वास
रानाथारू समुदायमा होरी मान्ने परम्परा परापूर्व कालदेखि नै रहेको पाइन्छ। यो हिन्दू धर्मसँग सम्बन्धित पौराणिक प्रसंगसँग जोडिएको पाइन्छ ।
विशेष होरीमा दुई पौराणिक प्रसङ्ग  भेटाउन सकिन्छ। पहिलो प्रसङ्गअनुसार हिरण्यकश्यपको छोरा पहिलाद (प्रह्लाद) विष्णुको ठूलो भक्त थिए तर हिरण्यकश्यप स्वयम् आफूलाई नै भगवान मान्ने गर्थे । उनी चाहन्थे कि मेरो छोरा मेरो गुणगान गाओस्, मेरो पूजा गरोस् तर प्रह्लाद विष्णुको गुणगान गर्थे, उनकै पूजा गर्थे। यो देख्न नसकेका हिरण्यकश्यप पहिलादलाई  मार्न विविध उपाय अपनाए तर सकेनन् । 

एकदिन आफ्नै बैनी होलिकालाई विष्णु भक्त पहिलादलाई मार्न पठाए । आगोबाट नमर्ने वरदान पाएकी होलिका आफ्नो भतिजलाई मार्न काखमा लिएर फागु पूर्णिमाका दिन आगोमा चिर ओढेर बस्दा त्यो चिरको शीतलताको कारणले पहिलाद बाँच्छ । तर, होलिका त्यही आगोमा जलेर मर्छे र त्यही दिनदेखि प्रत्येक वर्ष फागु पूर्णिमाका दिन साँझ होलिका दहन गरेर बिहान त्यसकै टीका लगाएर असत्यमाथि सत्यको विजयमा उत्सवको रूपमा होरी मनाउन सुरु गरियो ।

अर्को प्रसङ्गअनुसार द्वापरयुगमा भगवान श्रीकृष्णले फागु पूर्णिमाका दिन मथुरादेखि गोकुलसम्म गोपनीहरूसँग रंगका साथ होली खेलेका थिए । त्यस दिनदेखि फागु पूर्णिमामा अविर लगाएर होली मनाउन थालियो । यसरी घर घरमा मथुराबाट होरी आएको जनविश्वास रहेको पाईन्छ ।

असत्य जति शक्तिशाली बलशाली भएता पनि एक दिन सत्यको अगाडि अवश्य हार हुन्छ । फागु पूर्णिमामा आपसी रिसराग होलिकासँगै जलाएर एकापसमा सद्भाव, माया प्रेमको सम्बन्ध कायम गर्दै सहयोग र विश्वास स्थापित गर्दै होरी खेलिने जनविश्वास रहेको पाईन्छ ।

होरीको स्थापना
माघ पूर्णिमाको दिन  गाउँको कुलदेवताको भुँइयाको नजिकमा कण्डा, दाउरा, टिटरो, मिठाई, भेँट चढाएर विधि विद्यानका साथ होरी स्थापना गरिन्छ। त्यस दिनदेखि जिन्दा होरी खेल्न सुरु हुन्छ ।

होरी दहन
मंगलबारबाहेक अरु जुनसुकै दिन जस्तो अवस्था आउँछ, त्यस्तै साँझ या बिहान होरी दहन गरिन्छ । होरी दहन गर्न पुरुष मान्छे होरी स्थापित ठाउँमा गई चाकर या भलमन्साले घर घरबाट उठाएको भेट (पूजा सामग्री) ले पूजा गरी होरीको पुत्ला जलाउने गरिन्छ । त्यसपछि ‘होरीमा आगो लाग्यो होरीमा आगो लाग्यो’ भन्दै जोड जोडले हल्ला गर्छन् । आगो लगाएर त्यही आगो एक सासमा दगुरेर पधनाको कुँवा या नलको खाल्डोमा हाल्छन् । गदरियाका मन्त्री राना भन्छन् , ‘होरी दहन गर्दा पहिला पहिला एउटा जिउँदो चल्ला पनि जलाइन्थ्यो तर अचेल खुनको सट्टा सुपारी चढाइन्छ ।ू पुजाको लागि लगिएको मिठाइ, पुरी त्यहीँ बाँडेर खान्छन्, फिर्ता ल्याउँदैनन् ।’

होरीको टीका
होरी दहनको अर्को दिन टीका हुन्छ । होरी जलाएको ठाउँमा गई त्यसमा कसैको पात हालेर त्यसको टीका लगाइन्छ र त्यसकै टीका एक अर्काको माथमा लगाएर होरीको शुभकामना साटासाट गरिन्छ । केटा मान्छे मतबरिया र केटी मान्छे छैलाको रुपमा  त्यहीँ टीका लगाएर केही समयसम्म होरी खेल्छन्  । त्यसपछि बाटोभरी गीत गाउँदै पधना या भलमन्साको घरमा आएर होरी खेल्छन् ।

जिन्दा होरी र मरी होरी
होरी स्थापना गरेदेखि  होरी दहन नभएसम्म साँझ खाना खाएर युवा युवतीहरू डंकाको तालमा गीत गाउँदै होरी खेल्ने गर्दछन्, जसलाई जिन्दा होरी भनिन्छ भने होरी दहनको दिनदेखि खक्डेहरासम्म खेलिने होरीलाई मरी होरी भनिन्छ । होरीमा रामायण, महाभारतको कथामा आधारित गीतहरू गाउँदै ठडौवाँ होरी, मतबरिया होरी, लोहकौवाँ होरी, सादा होरी, बधाइ होरी , खिचडी होरी, गडवाली होरी यी विविध प्रकारको होरी खेलिन्छ ।

होरीमा पूजापाठ
होरीमा पूजापाठ आआफ्नो कुलदेवता अनुसार हुने गर्छ । यो कुलदेवताको पूजा हो । कुलअनुसार पूजा फरक फरक हुने गर्दछ र यो पूजा सबैको घरमा भने हुँदैन । जसको कुलदेवता यो पूजा लिने गर्छ उसले मात्र पुज्ने गर्छ । कुलदेवताअनुसार कसैले जिन्दा होरी पूजन (होरी स्थापित गरेदेखि) गर्छ भने कसैले मरी होरी पूजन गर्छन् । पूजामा चिनी हालेर बनाएको पुरी जोडामा, घिउ, पानीले अगियारी गर्छन्  तर कसैको घरमा जुठो पर्यो या जसको घरमा कुल देवता छैन अर्थात् जो सरकार भगत छन् , तिनीहरू यो पूजा गर्दैनन् ।

खक्डेहरा
होरी दहनको आठौं दिनमा हप्ताको जुन बार परेता पनि खक्डेहरा पर्व मनाइन्छ । खक्डेहराको दिन बिहान पाँच बजेतिर काँचो माटोको सात सात गोली (मटेंग्रा) एक एक वटा सिन्कामा उनिन्छ । माटोकै तीनवटा दियो बनाएर एक दियोमा सात प्रकारको नाज (जस्तै चना, केराउ, तोरी, मसुरो आदि) राखिन्छ । दोस्रो दियोमा कपास राखिन्छ र तेस्रोमा दियो बालिन्छ । अलिकति बैठाबन्नी (सिन्का भएको कुचो) राखी  एक खप्टोरामा ( फुटेको गाग्रोको एक अंश) राखेर साथमा एक लोटा पानी पनि लगिन्छ । 

गाउँको पधना या गाउँको ठूलो मान्छे जो पुर्खौदेखि नै खक्डेहरा फोड्ने गर्दछन्, तिनले परिहारी (हलोको तल्लो भाग), घिउ लिएर घरदेखि आउँछन् । जो जो फुटाउन जान्छन्, तिनीहरूको घरबाट एक जना जो कोही पनि दियो भएको त्यही खप्टोरा लिएर ‘आबओ रि अँधरी धुँदरी लँगडी लुली’ भन्दै गाउँको दक्षिणतिर गाउँभन्दा बाहिर जान्छन् । गाउँको ठूलोमान्छेले घर घरबाट गएको पूजाको समान एक ठाउँमा  राख्न लगाउँछन् र सबैजना त्यहाँ राखेर टाढा जान्छन् । एकजना मुख्य मान्छे खक्डेहरा फुटाउन थालेपछि असामी पछाडि फर्केर हेर्दैनन् र त्यहीँबाट होरीको विदाई पनि हुन्छ ।

पुर्खा भन्छन्  खक्डेहराको दिन जसको घरमा खुसी आउँछ, जस्तै कि घरमा बच्चा जन्मियो, भैँसी व्यायो अर्थात् राम्रो भयो, उसले त्यही दिनदेखि  खक्डेहरा फुटाउन थाल्छ । अनि, खक्डेहराको दिन जसको घरमा नराम्रो घटना घट्छ त्यो दिनदेखि खक्डेहरा फुटाउन  छोड्छन्  । सबैले खक्डेहरा फुटाउँदैनन् । 

फगोहा र हटकना
फागुनमा फगोहाको विशेष महत्व रहन्छ । फागुमा फगोहा माग्ने‌ र फगोहा दिने एउटा संस्कार रहेको छ । फगोहा दुई थरिको चल्ने गर्दछ । पहिलो  होरी दहनदेखि खक्डेहरासम्म फगोहा माग्ने र दिने चलन रहेको छ । होरी खेल्ने युवतीहरू विहान गाउँका भलमन्सा, प्रधान, पधना, चाकर गाउँका जान्नेमान्नेको घरमा गइ फगोहा माग्ने गर्दछन् र साँझ आएर होरी खेल्ने गर्छन् । 

दोस्रो नातामा भिनाजु , नन्दुइया र मित पर्नेले होरी दहनको दिनदेखि विषेशगरी आफ्नो साली, ठकुराइन, सरहज, सैनारलाई फगोहा दिन जाने चलन रहेको पाइन्छ। त्यस्तै हटकना गर्ने पनि आपसी आत्मियता र सौहार्दताका लागि विशेष महत्व राख्दछ। 

पाहुनाका लागि आज मेरो घरमा खानपिन छ भन्दै आफ्नो घरमा खानपिनको व्यवस्था बनाउनु नै हटकना हो । विशेष गरी होरीमा आफ्ना आफन्तहरूलाई आफ्नो घरमा बोलाई मिठो मिठो खानेकुराले स्वागत गरिन्छ । विशेष जसले फगोहा दिएको छ, उसलाई त अनिवार्य हुन्छ हटकना नत्र पाप लाग्छ भन्ने मान्यता रहेको छ । अचेल फगोहा दिने र हटकना खुवाउने परम्परामा भने केही कमी भने आएको देखिन्छ।

होरी विदाई
होरीको विदाई चैतको चराइँमा गरिन्छ। चराइँ गाउँको पूजा हो । त्यस दिन गाउँका प्रत्येक घरकाले अन्दिको मिठो भात र विशेष माछा सहितको अन्य तरकारी पकाएर सँगै लगी गाउँको बाहिर गई दिनभरी उतै बस्छन् । साँझतिर गाउँको भर्रा वा गुरुवाले पूजापाठ गरिसकेपछि सवै जना होरी खेलेर गाउँ भन्दा बाहिर ‘आज होरी गई रे बलमु परदेश’ भन्ने गीत गाउँदै होरीलाई पठाएर घर फर्किन्छन् । त्यस दिनदेखि होरी फेरि मथुरा जान्छ । यसरी वर्ष दिनपछि आएको होरी सकिन्छ।

अन्तमाः
रानाथारू समुदायको सबैभन्दा ठूलो त्योहारको रूपमा रहेको होरी पहिले महिना दिनसम्म नाचगान गरिन्थ्यो भने वर्तमानमा दुई तीन दिनमा सीमित भएको देखिन्छ । डिजेमा नाच्न र गाउनमा मन पराउने आजका युवाहरू आफ्नो मौलिक संस्कृतिप्रति पनि गम्भीर हुनुपर्ने देखिन्छ । अहिलेको अवस्थामा हाम्रो परम्परा मूल्य मान्यता कला संस्कृतिको जगेर्नामा युवावर्ग जागरुक भई लाग्नुपर्ने देखिन्छ ।  

गदरिया, कैलाली निवासी लेखिका बैतडी, शिवनाथ– २, सर्मालीस्थित नागार्जुन माविमा शिक्षणरत हुनुहुन्छ । 

प्रकाशित:

२७ दिन अगाडि

|

१२ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

५५८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

५९२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

६०२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

५५७ दिन अगाडि

|

२६ असोज २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

५६२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

५०६ दिन अगाडि

|

१५ मंसिर २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

४९५ दिन अगाडि

|

२७ मंसिर २०७९