Above Header

थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

प्रदर्शनीको आज चैत १८ गते अन्तिम दिन रहेको छ ।
थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

सबिना श्रेष्ठ

संसारमा सबभन्दा धेरै भनिने शब्द हो – हेलो ।

अंग्रेजी जान्ने होस् वा नजान्ने, अधिकांशलाई 'हेलो' भन्न आउँछ। करिब करिब यो संसारभरकै मान्छेले जान्ने अभिवादनको शब्द हो।

नेपालीहरू अभिवादन गर्नुपर्दा 'नमस्ते' वा 'नमस्कार' भन्छन्। थारू भाषामा 'गौर लागैचियै', 'जय गुरबाबा', 'राम राम' भनिन्छ। यसरी विभिन्न तरिकाले अभिवादन गरेपछि हाम्रो दिमागमा झट्टै अर्को प्रश्न आउँछ – तपाईंलाई कस्तो छ ?

विशेषगरी, चितवनका थारूहरू 'तपाईंलाई कस्तो छ?' भनेर सोध्नुपर्दा 'डउले डउले' भन्छन्।

यो उनीहरूको अभिवादन गर्ने शब्द पनि हो। एकअर्कालाई भेट्नेबित्तिकै सुरूमै उनीहरू यो शब्द भन्छन्। समग्र थारू समुदायले कस्तो छ भनेर खबर सोध्दा 'डउले डउले' भन्दैनन्। चितवनका थारूहरूले मात्र भन्ने यो शब्द प्रतिनिधिका रूपमा आए पनि समग्र थारू समुदायको कथा–व्यथा उस्तै हो।

'डउले डउले' शीर्षकमा नै पाटन दरबार स्क्वायरभित्र यति बेला मिक्सड–मिडिया प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा सबैभन्दा धेरै नयाँ–पुराना फोटा छन्। थारू समुदायले लगाउने र प्रयोग गर्ने सामग्री छन्। अनि 'लूप' मा चलिरहने एउटा भिडिओ छ।

यी सबैले थारू समुदायको इतिहास, संस्कृति, जीवनपद्धति, ज्ञान, प्रतिरोध लगायत विषयबारे जानकारी दिन्छ। उनीहरूको समुदायमा के कति परिवर्तन भए र कति भएनन् भन्ने झलक दिन्छ। 

'अहिलेसम्म थारूको इतिहास थारू आफैंले लेखेका छैनन्,' प्रदर्शनीमा संलग्न इन्दु थारूले भनिन्, 'हाम्रो हजुरबुबा, हजुरआमाहरूले लेख्न–पढ्न पाउनुभएन। जो पढ्न अनि लेख्न जान्थे, ती थारू समुदाय बाहिरका थिए। कि त विदेशी थिए। उनीहरू जति समय हाम्रोमा बसेर अध्ययन गरे पनि कति नै गर्न सक्छन् जस्तो लाग्छ।'

यो प्रदर्शनी गर्दा पनि थारू इतिहास अनि उनीहरूको आवाज कसरी बन्ने भन्ने कुरामा आफूहरू सजग भएको उनले बताइन्।

'खास गरी हाम्रो इतिहासलाई कसरी देखाउने भन्ने विषयमा हाम्रा साथीहरूबीच धेरै बहस हुन्थ्यो। प्रदर्शनीका लागि फोटो छान्दा र त्यसलाई वर्णन गर्ने शब्द छान्दा हामी त्यतिकै सजग भएका थियौं,' उनले भनिन्।

भनिन्छ, फोटो आफैंले हजारौं शब्द भन्छ।

यो प्रदर्शनीमा २०६० सालदेखि हालै खिचिएका फोटा छन्, जसले थारूहरूको विगत र वर्तमानको चित्रण गर्छ। तिनले थारूहरूले बाँचेको जीवन, पहिरन, सामग्री, खानेकुरा लगायत वर्णन गर्छन्।

पुराना फोटा हेर्नुभयो भने तपाईंले थारू महिलाहरूले सानादेखि ठूलासम्मले ब्लाउज, लेहेंगा लगायत पहिरन लगाएको देख्नुहुन्छ। अहिले यसरी पहिरन लगाउने चलन चाडपर्व र विशेष अवसरमा मात्र सीमित छ। त्यति बेला जुत्ताचप्पल लगाउने चलन पनि नआइसकेको देखिन्छ। 

२०७० सालतिरको फोटो हेर्ने हो भने थारू गाउँका गाडामा काठको चक्का देखिन्छ। अहिले त्यसलाई टायरले विस्थापित गरिसकेको छ। उनीहरू भरपुर मात्रामा बाँसले बनाएका ढकिया, माटाका भाँडा प्रयोग गर्थे। अहिले छिटपुट प्रयोग गर्छन्।

'हामीले जोगाउनै नसकेको भनेको भौका भन्ने सामग्री हो। खरबाट बनाइने भौकामा आफ्ना लुगा, गरगहना तथा महत्त्वपूर्ण सामग्री राखेर घरमा झुन्ड्याइन्थ्यो। अहिले दराजले त्यसलाई विस्थापित गरिसक्यो। त्यो सीप हामीले जोगाउनै सकेनौं। अहिले फोटोमा मात्र सीमित छ,' इन्दुले भनिन्।

नयाँ फोटामा हात्तीको रेखदेख गर्ने महिला माउतेहरू देख्न सकिन्छ। पुरूषहरूमा सीमित पेसामा आफूहरू पनि सक्षम छौं भनेर थारू महिलाहरूले प्रमाणित गर्दै लगेको देख्न सकिन्छ।

थारू महिलाले आफ्ना शरीरका अंगमा बनाउने गोदना/टिका (ट्याटु) का फोटा पनि हालै खिचिएका धेरै छन्।

थारू समुदायमा मृत्युपछि भगवानको घर जाँदा आफूसँगै लगिने कुराका रूपमा गोदनालाई लिइन्छ। त्यसमा कथाहरू पनि छन्।

भगवानको घर कसरी जाने त?

घोडा चढेर।

उनीहरूले घोडा बनाए।

जाँदाजाँदै बाटोमा भोक लाग्ला!

चुह्लो अनि भाँडा बनाए। तरकारी काट्न हँसिया बनाए। आलु, भन्टा, लगायत खानेकुरा खोजे। बस्न डोरी अनि स्टुल बनाए।

यस्तो कथासँगै गोदनामा मयुर, घोडा लगायत प्रकृतिसँग सम्बन्ध राख्ने कुराहरू पनि हुन्छन्। केही समययता इन्दु र उनका साथीहरूले पूर्वदेखि पश्चिमसम्मका थारू गोदनाको सीपबारे अध्ययन गरिरहेका छन्। त्यसक्रममा उनीहरूले थारू समुदायमा यो परम्परा लगभग लोप हुने स्थितिमा रहेको पत्ता लगाए।

'आफ्नो शरीरमा गोदना गर्छु भन्दै उनीहरूकहाँ मान्छेहरू नआएकै ३०–३५ वर्ष भइसकेछ। आधुनिक ट्याटु बनाउने र यस्ता मौलिक सीपलाई बेवास्ता गर्ने हो भने यो सीप हराउन धेरै समय लाग्दैन। हामीले त्यसलाई अभिलेख राख्ने प्रयास गर्दैछौं,' अनुसन्धाता पनि रहेकी इन्दुले भनिन्।

यो प्रदर्शनीको एउटा कुनामा थारूहट थारूवान आन्दोलनमा सहभागी भएका महिलाहरूको फोटा देख्न सकिन्छ। त्यतिबेला थारू पुरूष आन्दोलनकारीहरू बाटोमा देख्यो कि प्रहरीले समातेर लाने समय थियो। त्यही भएकाले थारू महिलाहरू आफ्नो मौलिक पहिरन लगाएर सडकमा आएका थिए। इन्दु आफैंले उक्त आन्दोलनमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेकी थिइन्।

२०७२ सालमा संविधान बन्ने तयारी भइरहेका बेला थारूहरूले भूमि चाहियो र संविधानमा आफ्नो पनि स्थान हुनुपर्‍यो भनेर आन्दोलन गरका थिए।

'तर हाम्रो माग पूरा भएन,' इन्दुले भनिन्, 'हामीले भनेजस्तो थारूहट थारूवान प्रदेश पाएनौं। हामीले नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा प्रदेश हुनुपर्छ भन्यौं। तर कैलाली कञ्चनपुरलाई त्यही अखण्ड सुदूरपश्चिममा राखिदियो। थारूहरूलाई संघीयताले छुँदै छोएन। अझ सुदूरपश्चिमलाई त छुँदै छोएन। जे पुरानो संरचना थियो, त्यही नै भयो।'

उनले अगाडि भनिन्, 'हामीले जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्यौं। त्यो भएन। आफ्नै भाषामा पढ्न पाउनुपर्छ भन्यौं। त्यो पनि भएन।'

थारू भाषाका शब्दहरू खस समुदायले बिगारिदिएकोमा इन्दुलाई झनै चिन्ता छ।

'हामी बरघर भन्छौं। उनीहरू बडघर लेख्छन्। हामी माघ मनाउँछौं, उनीहरू माघी भनेर लेखिदिन्छन्। हाम्रा ठाउँहरूको नाम पनि निकै बिगारिएको छ। यो हाम्रो मौलिक शब्द माथिको आक्रमण नै हो,' उनले भनिन्।

यो प्रदर्शनीमा गुरही चोकको एउटा फोटो छ। धनगढीमा बस्ने थारूहरूले यो चोकमा गुरही पर्व मनाउँछन्। करिब २० वर्षअघि यो चोकलाई थारूहरूले सिडिओसहितको उपस्थितिमा गुरही चोक नामाकरण गरे। तर गैरथारूहरूले यसलाई क्याम्पस चोक भन्नुपर्छ भनेर विरोध गरिरहेका छन्।

'हाम्रो थारू बस्तीमा आएर उनीहरू भानुको मूर्ति राख्छन् र भानु चोक भन्छन्। मोतीराम भट्टको मूर्ति राख्छन् र मोती चोक भन्छन्। जुन चोकलाई सरकारले नै गुरही चोक भनिसक्यो, त्यसबारे हामीले भने अहिलेसम्म लडाइँ लडिरहनुपरेको छ,' उनले भनिन्।

यो प्रदर्शनीको एउटा कुनामा 'मुक्तिक डगर' पत्रिकाका लेखहरू राखिएको छ। यो पत्रिका २०४९ सालमा इन्दुका बुबाले प्रकाशनमा ल्याएका थिए। वार्षिक रूपमा प्रकाशित हुने यो पत्रिका थारू भाषामा निस्किन्थ्यो। त्यसमा गीत, कविता, गजल अनि लेखहरूको संकलन हुन्थ्यो।

२०५२ सालमा माओवादी युद्ध घोषणा भएपछि यस पत्रिकामाथि सरकारले अंकुश लगाउन खोज्यो। प्रहरीहरूले थारू घरमा छापा मार्न थाले र जसको घरमा यो पत्रिका छ; उनीहरूलाई समातेर लाने, धम्काउने र गिरफ्तार गरेर लान थाल्यो। सोही डरका कारण ज–जसको घरमा यो पत्रिका थियो, उनीहरूले त्यसलाई गाड्ने वा जलाउने गर्न थाले।

'मुक्तिक डगरमा आफ्नो अधिकारका लागि बोल्नुपर्छ, लड्नुपर्छ भन्ने खालका कुराहरू थिए। जमिनदारहरूको विरोध गर्ने, शासकहरूको विरोध गर्ने कुरा उनीहरूलाई पचेन। अनि सरकारले त्यसलाई नियन्त्रणमा लिन खोज्यो,' इन्दुले भनिन्, 'मेरो आमा, हजुरआमाले पनि प्रहरीले समात्छ भन्ने डरले हामीले पढ्नेबाहेक सबै किताब जलाउनुभयो कि माटोमुनि गाड्नुभयो।'

यो प्रदर्शनीताका इन्दु र उनका साथीहरू थारू गाउँहरूमा यो पत्रिका खोज्दै हिँडेका थिए। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया हुँदै दांगसम्म पुग्दा पनि उनीहरूले फेला पार्न सकेनन्। काठमाडौंमा बसेर अध्ययन–अनुसन्धान गरिरहेका कृष्ण सर्वहारीको घरमा फेला परेपछि स्क्यान गरेर प्रदर्शनीमा राखिएको हो।

पत्रिकामार्फत थारूहरूलाई जागरूक बनाउने इन्दुको बुबाको २०५९ सालमा गोली हानेर हत्या गरियो। त्यति बेलासम्म उनले मुक्तिक डगर पत्रिकाको ६ अंक प्रकाशन गर्न सफल भएका थिए। इन्दुले पछि २०७५ सालमा यो पत्रिकालाई पुनः निरन्तरता दिइन्।

यही पत्रिकाको छेउमा इन्दुले थारू भाषामा लेखेको एउटा कविता छ, जसमार्फत यो साम्राज्य कसको हो भनेर आफूले प्रश्न उठाएको उनी बताउँछिन्।

'जुन साम्राज्यमा मेरी आमाले मलाई जन्म दिँदा एकदम पीडा भएपछि अय्या भनेर कराउँदा जोडले नकरा भनेर आदेश दिइन्छ, यो साम्राज्य कसको हो भनेर कवितामार्फत प्रश्न गरेको छु,' इन्दुले भनिन्, 'यसमा अलिकति गीतको कुरा पनि ल्याएको छु। हाम्रो आमाहरूलाई सजना, धमार, मागर लगायत थारू गीतहरू गाउन नदिएर खाली मनोरञ्जन (साली भाटु) को गीत मात्र गाउन लगाइयो। आफ्नो विरह, मुक्तिको गीत गाउन नदिने यो साम्राज्य कसको हो ?'

उनले अगाडि भनिन्, 'हाम्री आमाहरूले आफ्नो आवाजलाई अलिकति घरको भित्ता माटोले लिप्ने बेला दबाउनुभयो। अलिकति खेतमा धान रोप्ने बेला औंलाले माटोमा थिचेर दबाउनुभयो। यसरी आफ्नो आवाज दबाउँदा दबाउँदै उहाँहरूको आवाज नै गुमनाम बनाइयो। आजका आमाहरूले वर्षौंदेखि दबाइएको आवाज नै हामीलाई हस्तान्तरण गर्नुहुन्छ कि नयाँ प्रतिरोधको आवाज हस्तान्तरण गर्नुहुन्छ भनेर मैले कवितामा प्रश्न गरेको छु।'

थारू महिलालाई अरूले हेर्दा अलि प्रतिरोधी र स्वतन्त्र सोच्छन्। उनीहरूलाई निर्णय प्रक्रियामा धेरै अधिकार दिइएको छ भन्ने पनि धेरैलाई लाग्ला। तर आफूलाई भने आफ्नी आमा, हजुरआमा र जिजुआमा हेर्दा त्यस्तो कहिले नलागेको इन्दुले बताइन्।

उनले एउटा उदाहरण पनि दिइन्, 'मेरो जिजुआमा बिहे गरेर आएको केही समयमा नै मेरो जिजुबुबा बित्नुभएछ। उहाँ बितेपछि मेरो जिजुआमाको बिहे उहाँको देवरसँग गराइदिए। त्यसरी बिहे गराइदिँदा त्यसलाई कसरी स्वतन्त्र भयो भन्ने? मेरी जिजुआमालाई देवरसँग बिहे गर्न मन छ कि छैन भनेर कसैले पनि सोधेन जस्तो लाग्छ।'

'थारू महिलाले खेतमा काम गरेको देख्यो, माछा मार्न गएको देख्यो वा बाहिर कतै नाचगान गरेको देख्यो भन्दैमा उनीहरू स्वतन्त्र छन् भन्न मिल्दैन। उनीहरूको जीवन संघर्ष कस्तो थियो भन्ने खालको बहस आउनुपर्छ जस्तो मलाई लाग्छ,' इन्दुले भनिन्, 'थारू महिलाको कथा र संघर्षबिना थारू इतिहास अधुरो छ।'

राष्ट्रिय निकुञ्जको धारणा आएपछि कसरी थारूहरूको रैथाने पेसामा हस्तक्षेप भयो भन्ने कुरा पनि हामीले प्रदर्शनीबाट थाहा पाउन सक्छौं।

थारूहरूको माछा मार्ने संस्कृतिमा कसरी राष्ट्रिय निकुञ्जले असर पुर्‍यायो भन्नेबारे प्रदर्शनीमा लेखिएको छ, 'राष्ट्रिय निकुञ्जहरूमा आदिवासीहरूलाई माछा मार्ने अनुमति छैन। थारू र अन्य आदिवासीहरूलाई थाहा छ कि पार्कमा प्रवेश गर्दा उनीहरू पक्राउ पर्ने खतरा छ। तैपनि उनीहरू माछा मार्न छाड्दैनन्। किनभने उनीहरूका लागि माछा मार्नु केवल पेसा होइन, अस्तित्वको सार हो।'

यो प्रदर्शनी सफल बनाउन इन्दुसँगै वीरेन्द्र महत्तो, सञ्जीव चौधरी, लवकान्त चौधरी, अर्नभ चौधरी, मारिया बोसेरेट र टम रोबर्टसनले भूमिका खेलेका छन्। प्रदर्शनीमा 'लूप' मा चलिरहने भिडिओ लवकान्त चौधरीको हो।

यो भिडिओले थारूहरूको गुरूवा (पुजारी) मार्फत गराइने धार्मिक अभ्यास, थारू भरियाको कथा, मुलुकी ऐनले थारूहरूलाई कसरी 'दास' बनाएको छ, राष्ट्रिय निकुञ्ज बनाए पनि विदेशी राजाहरू आएर पार्कमा शिकार गर्न गएको लगायत विषय समेटेको छ।

यो प्रदर्शनीले पूर्वदेखि पश्चिमका थारूको कथा र सीप पनि देखाउने प्रयास गरेको छ। उनीहरूले भोग्दै आएको प्रतिरोध काठमाडौंलाई सुनाउने प्रयास गरेको छ। प्रदर्शनी हेर्दै गर्दा र उनीहरूको इतिहास बुझ्दै जाँदा तपाईंलाई लाग्न सक्छ, सधैं शोषण गर्ने शासक वर्गले थारूहरूलाई कहिले सोध्यो होला — डउले डउले।

अर्थात्, 'तपाईंलाई कस्तो छ?'  

प्रदर्शनीको आज चैत १८ गते अन्तिम दिन रहेको छ ।  सेतोपाटीबाट

प्रकाशित:

१०४ दिन अगाडि

|

१८ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

६४१ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

६७६ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

६८५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

६४० दिन अगाडि

|

२६ असोज २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

६४६ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

५९० दिन अगाडि

|

१५ मंसिर २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

५७८ दिन अगाडि

|

२७ मंसिर २०७९