च्याक्पालुङ्ग शब्द आफैमा अनौठो छ र त यसले चर्चेको विशाल पठार क्षेत्रलाई पनि च्याक्पालुङ्ग भनिन्छ । यो पठारसँग ऐतिहासिकालीन रेशमी राजमार्ग र कर्नालीको विशाल खस साम्राज्यलाई सम्पन्न बनाउने उत्तर दक्षिण राजमार्गलाई काखमा राखेको लामो स्मृति छ ।
तर, यो कुरा पछिल्लो पुस्तालाई जानकारी नहुँदा एक विस्मरणको कथा बन्दै गएको छ । यस आलेखमा यस बारेमा केही मात्रामा भए पनि चिनाउने प्रयास गरिएको छ ।
लिमीको टाक्चीको काखमा रहेको पुल्की हिमालको काखबाट चाहे तपाई हिँडेर जानुस्, चाहे गुडेर जानुस् । सकिन्छ भने उडेर जानुस् तर एक पटक सकभर जीवनमा अवश्य जानुस् च्याक्पालुङ हुँदै लाप्चा भञ्ज्याङ्गको प्राकृतिक मनोरम तथा स्वर्गीय आनन्द लिन ।
के तपाईलाई थाहा छ यहाँ त महाभारत युद्ध सकिएपछि पाँच पाण्डवहरू यही बाटो भएर कैलाश पर्वततिर लागेका थिए । कुनैबेला राजा मान्धाता, ग्याल्बु गेशर, ग्याल्बु नोर्जाङ्ग, न्याओओम्फा, सेन्राव मिवो चे, दतात्रेय, व्यास, कपिल मुनि, पद्म सम्भव तथा हाडेखोली र अन्य धेरैहरू यो बाटो भएर आवत जावत गरे । यसका साथै देवराज, नागराज, अशोक चल्ल, पृथ्वी मल्ल, मलय वर्मा, बलिराज, सोभानसाई लगायतका योद्धाहरूले यहाँ पाइला हालेका थिए । यसैले पनि यो स्थान ऐतिहासिक स्थल पनि हो ।
यस ऐतिहासिक स्थलले विभिन्न प्रकारका पौराणिक गाथाहरू आफूसँग सँगालेर राखेको छ । खास गरी यो बाटो इतिहास पुरुषका साथै तेत्तीस कोटा देवदेवीहरूको धार्मिक तथा सांस्कृतिक पदमार्ग पनि हो । यो स्थान भाषिक पुरातत्व, सांस्कृतिक मानवशास्त्र, पर्यावरणीय, समाजशास्त्र आदिको खुला विश्वविद्यालय पनि हो ।
लिमी आफैमा अनौठो छ, अनमोल छ, अपरम्पार छ । लिमीमा पनि बैंक छ भन्दा हामी सबैलाई अचम्म लाग्ला तर लिमीमा व्यवस्थित बैंक छ, जसको लेखाजोखा स्थानीयहरूले वर्षमा दुई पटक सामुदायिक सभाबाट पारित गरेर जिम्मेवारी हस्तान्तरण र बाँडफाँट गर्ने चलन रहेको छ । यो प्रचलनले बैंकको सञ्चालन र परिचालन गर्ने हुनाले लिमीको स्थानीय भाषामा यसलाई ङुलखाङ्ग भनिन्छ । ङुलको अर्थ नगद र खाङ्गको अर्थ घर हुन्छ । यसको शाब्दिक अर्थ पैसा, नगद र रुपैंया राख्ने घर हो ।
यो व्यवस्था र प्रथाले लिमीको जनजीवन खोजीयोग्य बनाएको छ । हेर्न लायक भएको छ र छ स्पर्श गर्न पनि लालायित छ लिमी । यसलाई बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरूभन्दा पनि अब्बल व्यस्थापनको नमुना मान्न सकिन्छ । यसले नगद र जिन्सी दुबै कारोवार गर्ने गरेको छ ।
लिमी गाउँको आफ्नै प्रकारको रेखठेक छ । आफ्नै किसिमको रीतिथिति रहेको छ भने आफ्नै प्रकारको चालचलन रहेको छ । र, त लिमी पृथक छ, अनौठो छ, अनमोल छ । मौलिक छ लिमी ।
लिमीको शाब्दिक अर्थ भनेको दोभानको बस्ती हो । यहाँका तीनै गाउँ तीन साना ठूला हिमनदीको दोभानमा रहेका छन् । तर पनि यी तीनै गाउँ हालको अवस्थामा पुनर्वास भएर बस्ती भएको जानकारी स्थानीय स्तरमा खोजी गरिएका विभिन्न कारणहरूले प्रमाणित हुन्छ ।
यहाँ आधुनिक डाक्टर हैन कि आम्चीको हात र साथमा विश्वास गरिन्छ । गोर्खालीको हैन, सचिवको उपस्थिति रहेको छ । शिक्षक हैन, स्थानीय गुरुको भरोसा छ । नेपालमा लामो समय स्थानीय चुनाव भएन तर लिमीमा त्यो समयमा चार पटक स्थानीय चुनाव भएर आफ्ना जनप्रतिनिधिहरू छान्ने गरिएको प्रमाण छ । संघीयतापछि समायोजनको नाममा गाउँमा भएका विद्यालयहरु बन्द गरेर बालबालिकाको पढ्न पाउने अधिकारलाई गाउँको सिंहदरबारले बञ्चित गरेको छ ।
यहाँको भूगोल पाँच हजार मिटरको अग्लो स्थानमा रहेका छन् । यी हिमालका काखहरूमा विशाल र सुवासित जडिबुटीहरूको मगमग बास्नाले मन्त्रमुग्ध गराउँछ । हिउँदको समयमा चीसो चीसो सिरेटोमा हिउँको काम्लो बिच्छ्याइएको हुन्छ । तर पनि हिउँद होस् कि बर्खा, यहाँ कम्तीमा पनि १५÷२० नटको हावाले निरन्तर स्वागत गरिरहेको हुन्छ, मात्र समय र मौसम फरक । यसको काखमा हजारौं प्रकारका जडिबुटीहरूले सजीव तथा निर्जीवहरूलाई जीवनदान दिने गरेका छन् । हिउँदमा त सम्भवतः माइनस २० देखि ५० डिग्रीसम्म तापक्रम हुन्छ । बाहिर चिसो, भित्र तातोमा पलपल बातो हाल्ने अर्थात् मानवीय स्पर्शले बाँचेको हुन्छ ।
यहाँ १२ सय वर्ष पुरानो बौद्ध धर्म भित्रको बज्रयान सम्प्रदायको एक हाँगो डिगुंग कग्युत बौद्धमत जीवन्त रहेको छ । यो गुम्बाको खास नाम रिन्छेलिन थुक्थने डिगुंग कग्युत गुम्बा रहेको छ । यहाँ मनाइने चाडपर्व तथा उत्सवहरूमा लोसार, रिम्जा, मिल्हो, काङनी, बुस्याक, दुईसोमा, जीप्चुसिग्र्वा, सेदुई, गलित आम्ज्यात, रिम्जु, कुन्टीक, माने, कन्ग्युर, तन्ग्युर, नारोक, सोल्गा, धिरीम, च्याज्याम, सेर्बु रेक्री री स्याक, ग्याल्बु ग्यापु र टासी ज्याल्दार र म्हिपुयोक्ताहरू रहेका छन् ।
यहाँ १२ सय वर्ष पुरानो बौद्ध धर्म भित्रको बज्रयान सम्प्रदायको एक हाँगो डिगुंग कग्युत बौद्धमत जीवन्त रहेको छ । यो गुम्बाको खास नाम रिन्छेलिन थुक्थने डिगुंग कग्युत गुम्बा रहेको छ ।
विशेष गरी लिमी गाउँमा एक दिनदेखि ४५ दिनसम्म मनाइने चाडपर्वहरू रहेका छन् । यी पर्वहरूमा शुभ तथा अशुभ कामका लागि विभिन्न प्रकारका रहेका छन् । हिउँदको समयमा लिम्यालहरू यसैमा व्यस्त हुन्छन् ।
कालान्तरमा हुम्ला जिल्ला विशाल १२ भोट ङरी, गुगे, मङयुल, पुराङ लगायतका तिब्बती क्षेत्रहरूको लागि अन्नदाता थियो । हुम्ला जिल्लाका विभिन्न गाउँठाउँहरूबाट विभिन्न प्रकारका अन्नबालीहरू लिएर नुन तथा ऊनसँग साट्ने चलन थियो । चीनमा साम्यवादी शासन आएपछि भोकमरी हुने तिब्बतको राजनीतिक र सामाजिक जनजीवन एकै पटक माथि उठ्यो, आयातकर्ता निर्यातकर्तामा फेरिन पुग्यो ।
नाइकोर्बाहरू गुम्बाका धार्मिक सेनाझैं थिए । पछि पछि भोकमारी हुँदा उनीहरू अनुचित काममा संलग्न भएर परिभाषा पनि फेरियो । यिनै नाइकोर्बाहरूले स्थानीय ब्यापारीहरूबाट लुटेर लिएका सामग्रीहरू केही प्रतिशत अनिवार्य गुम्बारू दिनुपर्ने वाध्यकारी प्रावधान रहेको थियो । तिब्बतका स्थानीय गुम्बाहरूको संरक्षण गर्न नाइकोर्बाहरूको व्यवस्था गरिएको हुन्थ्यो, जसलाई धार्मिक सेना पनि भनिन्थ्यो ।
यी नाइकोर्बाहरूलाई घोडा चढ्न, तरबार तथा अन्य विभिन्न प्रकारका कुराहरूको तालिमको अनिवार्य व्यवस्था गरिन्थ्यो । यिनीहरूलाई शक्तिशाली गुम्बाहरूले वर्षभरीका लागि अन्नपात र अन्य सामग्री संकलन गर्न आधिकारिक रुपमा पञ्चछापको व्यवस्था गरिएको हुन्थ्यो । यो वा त्यो काम सफलताका साथ दिने हिमालको एक विशाल चौर, पठार क्षेत्रको नाम पटक पटक फेरिए पनि हालसम्मको एक मात्र चर्चित नाम हो च्याक्पालुङ्ग ।
कालान्तरमा हिमाल वारपार व्यापारको आधार स्तम्भ बनेको लिमी पशुपालन व्यवसाय र वस्तुविनिमय प्रणालीको मुख्य स्थान मानिन्थ्यो । तर, चीनको बढ्दो आर्थिक प्रगतिको चेपुवा र साम्यवादी शासनको प्रभावमा परेर यताको व्यापार प्रणाली धराशायी भएको छ । यसले यहाँका स्थानीयहरूलाई अरु ठाउँमा सकभर स्थायी रुपमा नभए, अस्थायी रुपमा भए पनि बसोबास गर्न गराउन वाध्य बनाएको छ ।
अबका केही दशकमा लिमी मानववस्ती विहीन हुने आशंका बढ्दै गएको छ । शहर गएको जनशक्ति गाउँ फर्केर ध्वाँग अर्थात् स्थानीय स्तरमा बस्नुभन्दा पनि विदेश पलायन हुने अवस्था आएको छ । पुरानाहरू आफू र आफ्नो मातृभूमिको मायामा कतिन्जेल धड्कन स्पर्श गरेर बस्ने हृदयविदारक कुराहरू छचल्कन थालेका छन् ।
तिब्बतसँग जोडिएका उर्बर र पोषिला चरन क्षेत्रहरू पशुवस्तुको लागि निषेध भएपछि लिम्यालहरूको जनजीवनमा भुँईचालो गयो । नयाँ व्यवसायको खोजीतिर लाग्न वाध्य भएका लिम्यालहरूले चीरु र फुरुतिर हात लम्काए । यो एक खोजी भए पनि सबै लिम्यालका लागि यो सम्भव भने छैन । यहाँको कष्टकर जीवनमा व्यथा थपिएको छ । जेथा हराएको छ । समाजमा विभेदको रेखा गहिरो रुपमा कोरेको छ । यसको स्पष्ट दरार फुरु र चिरु हो । अब त गाडी पुग्यो । साडी पुग्ने अवस्थामा छ र राडी भने हराउँदै गएको छ । साँच्चै स्थानीय जनशक्तिले प्रयास नगरेमा लिमी लिमी मात्र नभएर रिमिझिमी अर्थात् वेहाल हुने अवस्थामा रहेको छ ।
बाहिरबाट जाने मानिसहरूका लागि यहाँका सबै कुराहरू अनौठो लाग्दछन् । उच्च भूगोल भित्रको यो मानव वस्तीमा न त सञ्चार छ, न त सरकारको कुनै निकाय छ । न त देश छ, न छ कुनै सेवा सुविधाहरूको निमेष । मात्र छ नागरिकताको खोस्टोको अधमरो प्रमाणपत्र । यसले त झन् व्यथाको कथा बोकेको छ । कथाको व्यथा बोकेको छ ।
राजधानीवासीका लागि यो क्षेत्र, यो भूगोल, यो सामज, यो गाउँ, यो ठाउँ अनकण्टार रे । तर, लिम्यालहरूको बोलीमा त राजधानी र सदरमुकाम पो त दुर्गम हो । त्यहाँ न त मानवीय संवेदना छ । न त मानवता छ तर पनि मानववस्ती भने रहेको छ । बाहिर जति सुन्दर छ, भित्र त्यति कुरुप छ ।
अहिले पनि नागराजको पालादेखि अन्तिम खस राजा र बलिराजका उत्तराधिकारीहरूले पञ्च छाप लगाएको रीतिथितिहरूबाट नै यहाँको समाज चलेको छ । यहाँको रेखठेक सञ्चालनमा रहेको छ । यहाँको राठा अर्थात् थितिबन्द बसेको छ । वर्षको एक पटक कार्तिक महिनामा लिम्यालहरूको सामुहिक कचहरी बस्छ । एक वर्षका लागि गाउँको रेखठेकका लागि बन्दोवस्त हुन्छ । यसलाई स्थानीय लामा भाषामा लाईजेन चिटुट भनिन्छ । तिनको यो सभा वर्षको दुई पटक बस्ने गर्दछ ।
विसं २०१८ सालमा भएको उत्तरी सीमाको रेखाङ्कनमा सीमा निर्धारण गर्दा लिमी क्षेत्रको उर्बर, पोषिलो र राम्रो चरन क्षेत्र तिब्बती भूभागमा परेकाले वर्षेनी लिमी क्षेत्रको पशुवस्तुहरू घटाउँदै जानुपर्ने र भएका पशुवस्तुहरू चरिचरन गरेवापत चरन कर पनि तिर्नुपर्ने अवस्थाले लिमीमा केही वर्षपछि त घरेलु कामका लागि प्रयोग हुने पशुवस्तुहरू पनि पाउन मुस्किल हुने देखिन्छ ।
हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा चरिचरनको समस्याले गर्दा जीविकोपार्जनको मुख्य पेशा पशुपालन व्यवसाय संकटमा परेको छ । यसबाट लिम्यालहरू पुराङको कामदार बन्न बाध्य भएका छन् ।
नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको तीन गाउँमा धेरै मात्रामा कुमारी आमाको घर अर्थात् पुङदाङमा खाङ पाउन सकिन्छ । यहाँ मातृसत्ता जस्तै नारीले पुरुषलाई आफ्नो घरमा र आफू खुशी प्रयोग गर्न सक्छन् । धेरै पुरुषहरूलाई आफ्नो चाहनाअनुसार माक्पा अर्थात् घरज्वाँई ल्याउने प्रचलन धेरै रहेको छ ।
पछिल्लो समय शासन सत्ता र विश्व परिवेशअनुसार पुरुषहरू पनि शक्तिशाली र निर्णायकको रुपमा स्थापित भएका छन् । कुमारी आमाले जन्माएको सन्तानलाई पोङता भनिन्छ । यिनीहरू १६ वर्ष नहुँदासम्म सभासमारोह र गाउँको सामाजिक काममा सहभागी हुन नपाउने स्थानीय परम्परा रहेको छ ।१६ वर्षपछि बल्ल बाबुको आलोटालो पाएपछि टोङचुको रुपमा स्तर वृद्धि हुने गर्दछ ।
यी कुमारी आमाहरूले चाहेमा आफूले चाहेको लोग्ने मानिस ल्याउन र पठाउन सक्ने परम्परा रहेको छ । नचाहेमा एक्लै पनि बस्न सक्छन् । नेपाली समाजमा कुमारी आमाबाट जन्मेका सन्तानलाई हेयको दृष्टिले हेरे पनि यहाँ भने सम्मानित स्थान दिइएको छ । समाजमा कुमारी आमा शक्तिशाली छन् ।
हिमाल पारीको गाउँको रुपमा परिचित नाम्खा गाउँपालिकाको वडा नं ६ मा पर्ने तीन गाउँ लिमीको तील, हल्जी र जाङ्गमा वर्षको एक बाली मात्र अन्न पाक्दछ । तर, पछिल्लो समय लिमीमा मानिसहरू चीनको स्वाशासित क्षेत्र तिब्बतको पुराङ तालाखारबाट बन्दोबस्तीमा विभिन्न प्रकारका सामानहरू सहज रुपमा आयात गर्न सकिने भएको छ । त्यसैले पनि स्थानीय स्तरमा हिमाली हावापानीमा पाक्ने नाफल, उवा, चोती, कोइरा र तोरीको खेती गर्न गराउन अल्छी गर्ने भएकाले स्थानीय बालीनालीका बीउ पाउन गाह्रो भएको छ ।
यहाँ अहिले पनि नागराजको पालादेखि अन्तिम खस राजा र बलिराजका उत्तराधिकारीहरूले पञ्च छाप लगाएको रीतिथितिहरूबाट नै यहाँको समाज चलेको छ । यहाँको रेखठेक सञ्चालनमा रहेको छ । यहाँको राठा बसेको छ । वर्षको एक पटक कार्तिक महिनामा लिम्यालहरूको सामुहिक कचहरी बस्छ । एक वर्षका लागि गाउँको रेखठेकका लागि बन्दोवस्त हुन्छ । बाहिरबाट जाने मानिसहरूका लागि यहाँका सबै कुराहरू अनौठो लाग्दछन् ।
च्याक्पालुङ्ग शब्दलाई नेपालीमा रुपान्तर गर्दा यसको अर्थ डाँका, चोर लाग्ने ठाउँ हुन्छ । जब चीनले तिब्बतलाई स्वशासित बनायो । त्यहाँको आर्थिक, सामाजिक तथा प्रशासनिक अवस्था राम्रो भएपछि यस्ता कुराहरू अहिलेको पुस्तालाई एकादेशको कथा मात्र भएको छ ।
हो, आजभोलि नाम्खा गापाको वडा नं ६ लिमीमा पर्ने च्याक्पालुङमा न त च्याक्पाहरू छन्, न त छन् नाइकोर्बाहरू । तर नेपालभरी विभिन्न प्रकारका विकास आउने च्याक्पाहरूको बिगबिगीले नेपाललाई नै गरिब बनाएको छ । यस्ता च्याक्पाहरूलाई चिनेर समयमै कारवाही गर्न सकेमा विकासमा लाग्ने धिउरो र किराहरू निर्मुल हुनेछ । समयमै चिनेर सामाजिक बहिष्कार गरौं ।
लिमीले शुरुवात गरेको लाप्चा लिमी सडकको काम सम्पन्न भएको छ । यहाँ नम्बर बिनाका नेपाली र चिनियाँ गाडीहरू सञ्चालन हुँदा लिम्यालहरूलाई केही मात्रा सेवा सुविधा थपिएको छ । तर पनि नेपाल सरकारले आफ्ना नागरिकका लागि सरोकारका कुरामा ध्यान नदिंदा प्रशासनिक तथा कानुनी बाधाहरू समाधान गर्नुपर्ने आवश्यक देखिन्छ । अब नडराउनुस् च्याक्पालुङ्गमा च्याक्पा अर्थात् डाँका, चोर, ठग र फटहाहरू हैन कि कैलाश मानसरोवरमा दर्शनार्थी बनी दर्शन गर्न जाऔं ।
प्रत्येक शुक्रवार प्रकाशित हुने हुम्ला डायरीका स्तम्भकार कर्णबहादुर रोकाया, ग्रामीण पत्रकारितालाई आधार बनाएर कर्नाली प्रदेशको हुम्ला जिल्लाबाट साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ ।
प्रकाशित:
२९१ दिन अगाडि
|
११ साउन २०८१
५ दिन अगाडि
|
२४ वैशाख २०८२
१० दिन अगाडि
|
२० वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१९ दिन अगाडि
|
१० वैशाख २०८२
२३ दिन अगाडि
|
७ वैशाख २०८२
२५ दिन अगाडि
|
५ वैशाख २०८२
९४४ दिन अगाडि
|
२५ असोज २०७९
९७९ दिन अगाडि
|
२१ भदौ २०७९
९८९ दिन अगाडि
|
१२ भदौ २०७९
९४४ दिन अगाडि
|
२६ असोज २०७९
८९३ दिन अगाडि
|
१५ मंसिर २०७९
९४९ दिन अगाडि
|
२० असोज २०७९
८८२ दिन अगाडि
|
२७ मंसिर २०७९