Above Header

लोकतन्त्रको खेतीकिसानी चेहरा 

लोकतन्त्रको खेतीकिसानी चेहरा 

चन्द्रकिशोर

कसैको आँखाबाट आँसु नझर्दै, किसानहरूको आत्महत्या वा स्वनिर्वासनबिना पनि के विवेकपूर्ण विकास सम्भव छैन ? महत्त्वपूर्ण कुरा हो खेतीकिसानीमा संलग्नहरूको भोगाइ सुन्नु र त्यसमा लुकेका सूचनालाई व्यापक क्यानभासमा हेर्नु ।

खेती गर्ने बेलामा पानी नपर्दा के भयो ? अल्प वर्षा वा अति वर्षाले किसानले के बेहोर्नुपर्‍यो ? सूचकांकले पानी राम्रै परेको मौसम बताइरहँदा बोरिङबाट सिँचाइ गरेर धान रोपाइँ गर्नुपर्ने नौबत किन आयो ? बोरिङले पटान गर्दा लागत खर्चको गुणा–भागले गृहस्थीको भाग्यफलमा कत्तिको परकम्प दियो ?

खेतमा बाढीको पानी कसरी, कति र कस्तो आयो ? धान रोपाइँपछि उचित समयमा उचित पानी नहुँदा उत्पादनमा के असर पर्‍यो ? छेवैको नहरबाट परेको बेला पानी पाइयो कि ?

यी छोटा छोटा प्रश्नले खेतीकिसानीमा संलग्नहरूको सपनामा पूर्णविराम लगाउँछ । उसो त यी प्रश्नहरूले सत्ता समीकरणको संख्या बलमा असर पुर्‍याउँदैन । सत्तावृत्तमा यस प्रकारका प्रश्न सुन्ने–बुझ्ने कुनै प्रभावकारी तन्त्र छैन पनि ।

के यो खेती प्रणालीमा अनियमितता–अनिश्चितता नयाँ हो ? तर यस्तो अवस्था पहिला थिएन । रहेको भए तराईले ‘अन्नको टोकरी’ को चिनारी कसरी पाउँथ्यो होला ?

देहात नेपालको चक्रबिन्दु हो । देहातबाट सुरु हुने छोटो लहरबाट वा वर्तुल (घेरा) बाट ठूल्ठूला वर्तुल बनेर फैलिँदै चहुँओर पुग्छ । यही नै अर्थव्यवस्थाको आधार हुनुपर्ने हो । यहींबाट नै लोकतन्त्रको बाटो देखिनुपर्ने हो । किसान अन्न उब्जाउँछ तर मूल्य उसले निर्धारण गर्दैन, बिचौलियाले तय गर्छ । ठूलो माछाले सानो माछालाई चपाएर तन्दुरुस्त बन्ने क्रम छ । अनुत्पादकहरूको बिगबिगी बाक्लिएको छ । यता अनेकौं झञ्झावात सहेर डटेका किसानका लागि खेतीको तात्पर्य खेत बाँझो नरहोस् भन्ने हो । उता खेतीहर मजदुरका लागि खेतीको अर्थ र उद्देश्य भुखमाथि काबु पाउनु हो ।

एक प्रौढ किसानले रोचक अनुभव सुनाए । धान रोपाइँका बेला पनपियाई खाने बेला मजदुरसँग सोधे– ‘खेतीको पहिलो उद्देश्य के हो ?’ कसैले भने– ‘किनेर वा ऋण लिएर खानु नपरोस् ।’ केही बेरको गन्थनपछि निष्कर्ष निस्कियो– ‘खाद्यान्न निर्भरता र आम्दानी नै हो ।’ फेरि सोधियो– ‘यो दुइटै लक्ष्य पूरा हुँदै छ त ?’ सबैले एक स्वरमा भने– ‘त्यो त हुँदैन । कमसेकम एउटा त हुन्छ होला– खान पुगे त हुन्थ्यो, त्यो पनि वर्षभरि धान्दैन ।’ कुरा चल्दै जाँदा मजदुरहरूले स्विकारे कि यही कारण हो अबको नयाँ पुस्ता खेतीमा कमाउन चाहँदैन बरु हरियाणा पञ्जाबको खेत–आली चहार्छ । अत्यन्त अप्ठ्यारोपन सहन्छ, यताभन्दा चर्को घाम–चिसो सहन्छ तर आफ्नो थातथलोको खेतमा पसिना बगाउन चाहँदैन । जोसँग सञ्चित पैसा छ, जो ऋणको जोहो गर्न सक्छ, त्यस्ताहरू त प्लेन चढेर कमाउन जान्छन् । जोसँग आफ्नै वरिपरि बाह्रै महिना थेग्ने रोजगारी छैन, जो ऋण पनि जुटाउन सक्दैन, त्यस्तामध्येको ठूलो हिस्सा मजदुर भएर भारततिर जान्छन् । भारततिर कमाउन गएकाहरूले ज्यान गुमाउँदा वा अपांग हुँदा त्यहाँको मालिकको मर्जीमा क्षतिपूर्ति पाउँछन्, मर्नेहरूको त उतै सद्गति हुन्छ । यस्ता कुरा मिडिया वा कुनै शोधखोजमा समेत पर्दैन ।

गाउँघरमै रहनेहरू खेतीभन्दा बरु पूर्वाधार निर्माण, सीमावर्ती मूल्यान्तरको कारोबारमा भरिया वा अन्य उद्योग व्यापारमा खटिएका हुन्छन् । खेती–मजदुरीभन्दा उनीहरूले नै आकर्षक पारिश्रमिक पाउँछन् । खेतीमा आबद्ध साना किसान ती हुन्, जो खाद्यान्न उत्पादनका लागि आफू स्वयंको श्रम प्रबन्ध र संसाधनमाथि निर्भर रहन्छन्, यिनीहरूको पीडा आफ्नै छ ।

अहिलेको पारम्परिक खेती प्रणाली पूरै विस्थापित पनि भएको छैन । बदलावको आवरणमा जे आएको छ, त्यो हो हलोको साटो ट्र्याक्टर । किसानको बीजको मामिलामा आत्मनिर्भरता कम हुँदै गयो । उल्टै तिनीमाथि बीजको खर्चको बोझ थपिएको छ । रासायनिक खाद र विषादीको प्रयोग विकल्परहित मानियो । बहुबालीको ठाउँमा दुईतीन बालीको चलनले प्रश्रय पायो । मजदुरको अभावमा जेनतेन खेती गरियो । यो हो फेरिएको खेती व्याकरण । यसले न पेट पाल्न सकियो, न त विषान्न खाएर डस्न आइपुगेका अनेकथरीका रोगहरूबाट उन्मुक्ति हुने भइयो ।

गाउँघरमै रहनेहरू खेतीभन्दा बरु पूर्वाधार निर्माण, सीमावर्ती मूल्यान्तरको कारोबारमा भरिया वा अन्य उद्योग व्यापारमा खटिएका हुन्छन् । खेती–मजदुरीभन्दा उनीहरूले नै आकर्षक पारिश्रमिक पाउँछन् । खेतीमा आबद्ध साना किसान ती हुन्, जो खाद्यान्न उत्पादनका लागि आफू स्वयंको श्रम प्रबन्ध र संसाधनमाथि निर्भर रहन्छन्, यिनीहरूको पीडा आफ्नै छ ।

किसान–मजदुरमा अंकुरित आत्महत्या प्रवृत्ति, देहातबाट हुँदै गरेको भागदौड तथा सहरी क्षेत्रमा देहाती मजदुरको बाक्लिएको उपस्थितिले भत्किँदै गरेको ग्रामीण अर्थव्यवस्थातर्फ इसारा गर्छ तर यो सिंगो सत्य होइन । खेतीकिसानीमा संलग्नहरूको संघर्षलाई केवल बाँच्नका लागि गरिएको संघर्षमा अनुवाद गरिदिएर मौजुदा अर्थव्यवस्था र शासनतन्त्र आफ्ना लागि सहजतापूर्वक कैयौं समस्याको निदान गर्न पुग्छ । यो षड्यन्त्रलाई खेतीतन्त्र कोल्याप्स भयो भनेर भाष्य रच्नु भनेको सत्यतथ्यलाई च्यातेर प्रस्तुत गर्नु हो । लोकतन्त्रभित्र नागरिक बन्न नदिने व्यूह रचना हो यो ।

जनाकांक्षा र राजनीतिको आकांक्षा निःसन्देह आजको मितिमा एकअर्काको प्रतिकूल छ । दुइटैको दुनियाँ नै भिन्न छ । एकअर्काबीच आपसी सम्बन्ध र परस्पर निर्भरताको कुरा यहाँ परिलक्षित हुँदैन । एकअर्काको आकांक्षाको सम्मान र स्वस्थ विकासमूलक दृष्टिलाई अगाडि ल्याउने सोच र सपना वर्तमान राजनीतिक हालतमा पल्लवित र पुष्पित हुन सक्दैन । आजको सत्ता र शक्ति नागनाथको ठाउँमा सर्पनाथमा हस्तान्तरित भए पनि भुइँमान्छेहरू उत्साहित देखिँदैनन् । किनभने उनीहरूलाई थाहा भइसकेको छ, यी नागनाथ–सापनाथहरूलाई चलाउने केही ‘लाठीनाथ–डन्डानाथ’ हरूको वृत्त ऐजन–ऐजन नै रहँदै आएको हो ।

यहाँको समाज पुस्तैनी खेती गर्नेहरूको हो । सामाजिक बनोट, रीतिरिवाज, संस्कृति, परिधान, पशुपालन, पोखरी–नदी संरक्षण, वृक्षरोपण तथा जीवनका अनेक आयाम कृषिसँग जोडिएको छ । कृषि अर्थव्यवस्था यहाँको जीवनदायिनी रहेको छ । यहाँको पर्व, अनुष्ठान, मेला जात्रा, लोक साहित्य कृषिमाथि आधारित छ । यसैले यहाँको अर्थव्यवस्थालाई कृषिसँग गहन एवं सघनसँग गाँसेर बुझ्नुपर्छ । कृषिसँग आबद्ध एक ठूलो तप्कालाई यसबाट विलगावले कसको हितरक्षा गर्‍यो ?

कृषि कर्मलाई पछौटेपन, कम लाभ वा घाटामा राख्दा दबाबमा बाहिरिएका जनशक्तिले कसको कारोबारलाई भरथेग गरिरहेको छ ? आजको आवश्यकता आफ्नै थातथलोमा आधारभूत सुविधाको उपलब्धता हो । समकालीन बहसमा यस्तो कुनै अवधारणा देखिँदैन, जसले यो संक्रमित खेती प्रणालीको विकल्प दिन सकोस्, जो प्रकृति र संस्कृतिमैत्री होस् । जे जहाँ आधुनिक कृषि व्यवस्था भनिएर कार्यान्वयनमा छ, त्यहाँ यसका विरुद्ध आक्रोश अलगअलग रूपमा घनीभूत हुँदै छ । देशज ज्ञानलाई तिरोहित गरेर ल्याइने योजना वास्तविक किसानलाई किनारामा धकेल्ने नै हुन्छ ।

यतिखेर तराईका सहरहरूमा पानीको संकट देखापर्दा ‘यो त क्रंक्रिटको अति प्रयोगले रिचार्ज गर्न नै दिएन’ भन्ने तर्कका छाल उठे । गाउँदेहातमा त अझै रिचार्ज हुने प्रशस्त ठाउँ छन्, त्यहाँ पानीको संकट कसरी आयो ? चित्तबुझ्दो जवाफ छैन । जलजीवी विज्ञहरू आआफ्ना निष्ठाका आधारमा जवाफ फुराउँछन् । आजभोलि प्रचुर मात्रामा भुजल दोहनको वकालत हुन थालेको छ । ‘इरिगेसन’ पम्पलाई भरपर्दो बताइँदै छ । भुजलको सतह झन् खस्किए के गर्ने ? झारफुकको कर्मकाण्डमा लिप्त हुनेहरू जवाफ दिन चाहँदैनन् ।

सुप्रसिद्ध गान्धीवादी अर्थशास्त्री जेसी कुमारप्पासँग भेट्न जब साठीको दशकमा भारतीय केन्द्रीय योजनामन्त्री आए र आफ्नो पञ्चवर्षीय योजनाको सफलताको विषयमा बताउन थाले । तब भनिन्छ, कुमारप्पाले खेतमा काम गर्दै गरेका एक मजदुरलाई नजिक बोलाए । तिनको छातीमा उभार लागेको हड्डीहरूतर्फ औंला देखाउँदै भने रे, ‘यो छातीमा उभार लिएको अस्थिपन्जरमाथि कति मासु चढ्यो ? यसकै आधारमा म योजनाहरूको सफलताको गणित बुझ्छु । नभए मलाई शुष्क तथ्यांकहरूमा कुनै भरोसा छैन । तथ्यांकलाई म प्रगतिको आधार मान्दिनँ ।’

‘डेभलपमेन्ट विदाउट टिअर्स ।’ कसैको आँखाबाट आँसु नझर्दै, किसानहरूको आत्महत्या वा स्वनिर्वासनबिना के विवेकपूर्ण विकास सम्भव छैन ? महत्त्वपूर्ण कुरा हो खेतीकिसानीमा संलग्नहरूको भोगाइ सुन्ने र त्यसमा लुकेका सूचनालाई व्यापक क्यानभासमा हेर्ने । कोही किसान जब बताउँछन्, ‘जबदेखि खेतमा युरिया, डीएपी हाल्न थालें, सुरुमा उब्जनी देखेर हौसिएँ तर यो रासायनिक मल त मिटरब्याजी जस्तो हुँदो रहेछ, बर्सेनि मात्रा बढाउँदै जानुपर्ने । अब न त माटो साबिकको जस्तो रह्यो न पुरानो स्वाद नै । बित्थामा बित्यो यो रासायनिक खादको गोलचक्कर ।’

भारतको पञ्जाबमा पचासको दशकमा हरित क्रान्ति भयो, अधिकांश उब्जाउ भूमिमा सुनिश्चित सिँचाइ छ, उत्पादकता हासिल गर्‍यो तर पनि यो भारतीय प्रदेश किन किसानहरूको आत्महत्याको केन्द्र बन्यो ? हाम्रा खेत, किसान र कृषि श्रमिकका बारेमा यहींका परिप्रेक्ष्यमा लोकविमर्श चाहिएको छ ।

बयल र ऊँटका बीच समानस्तरमा हुने गरेको प्रतियोगिताको नतिजा हामी सबैलाई थाहा छ । सानो र अग्लो कदको बयललाई एकसाथ हलो वा गाडीमा जोत्ने चलन देहातमा पनि छैन । तर बयल र ऊँट, सानो र अग्लो कदको बयलको पहिचान त सही तरिकाले हुनुपर्‍यो । पहिचानको यो प्रक्रिया ठीक छैन भने नतिजामा परिवर्तन आउने कल्पना बेकार हो । कान्तिपुरबाट ।

प्रकाशित:

२९ दिन अगाडि

|

६ भदौ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७१० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७४४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७५४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७०९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६५८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७१४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६४७ दिन अगाडि

|

२७ मंसिर २०७९