Above Header

हुम्लाः होल्मो लुङरिङ हो कि हुणला ?

यो एक्काइसौं शताब्दीको कालखण्डमा हामीले पुनः एक पटक फेरी हामी को हौं ? हाम्रो अतित के कस्तो थियो ? हाम्रा पुर्खा कहाँबाट आएका हुन् ? संघीय नयाँ नेपालमा स्वपहिचानको खोजी गर्ने बेला भएको छ ।
हुम्लाः होल्मो लुङरिङ हो कि हुणला ?

हुम्ला आफैमा गौरब बोकेको एक ऐतिहासिक तथा पौराणिक स्थल, स्थान, ठाउँ र क्षेत्र पनि हो । यसलाई विभिन्न कोणबाट हेर्न, चिन्न, चिनाउन, छाम्न, सुम्सुम्याउन, जान्न, सुन्न, सुनाउन र भन्न सक्ने अवस्था रहेका छन् तर पनि यहाँ हुम्लाको नाम के कसरी रहेको छ । यसका बारेमा केही मात्रामा भए पनि सबैका लागि जानकारी दिने उद्देश्यले आफैभित्रको जिज्ञासालाई खोज्ने प्रयास गरेको छु । यहाँहरुसँग पनि भएका जानकारी, सन्देश, गतिविधि, तथ्य, कथ्य र सूचना भएमा उपलब्ध गराई सहयोग गरि दिनु हुन विनम्र अनुरोध छ । आगामी दिनमा यो आलेखलाई अझै परिष्कृत, रुधारोन्मुख, खोजमुलक तथा तथ्यमूलक बन्न बनाउन सकियोस् भन्ने आशा र विश्वास रहेको छ । यसैको सेरोफेरोमा रहेर हुम्लाको बारेमा केही मात्रामा भए पनि चर्चा परिचर्चाको सानो प्रयास हो यो आलेख ।

स्थाननाम आफैमा एक खुला विश्वविद्यालय हो । यो समाज, संस्कृति, पर्यावरण तथा सामाजिक सेरोफेरोको एक एक परिधि, आयाम र वृत्तको अविरल रेखा पनि हो । नेपाली समाज र संस्कृति पनि जल संस्कृतिको एक धरोहर हो । यहाँ कर्नाली नदीको जलप्रवाहको आधारशिलामा हुम्लाको खोजी गर्ने गराउने प्रयास गरिएको छ । 

हुम्ला कर्नाली नदी कैलास मानसरोवरको समीपमा रहेको च्छोलांका तालबाट उद्भव भएर माप्चा नदीको नाममा प्रख्यात भएको छ । यसलाई कन्नाली, करनाल, कर्नाली, माप्चा, होल्मो लुङरीङ, मयुरमुखे, घागरा र गंगा जस्ता अनेकौं नामहरूले पनि चिन्ने चिनाउने गरिन्छ । र त यो पानी र पानीको अथाह स्रोतको रुप, स्वरुप र बहुरुप पनि मानिएको छ । यसैले पनि कर्नालीलाई मानसरोवर कैलासको प्रतिच्छाँयाको रुपमा अष्टांग पानीको समष्टिगत रुप पनि मानिन्छ । अझ करनाल झैँ तुमुल आवाज निस्कने नदी भएकोले करनालीको नामले पुकार्ने गरिन्छ । यसको जलप्रवाहले हिमालदेखि तराईसम्मको धेरै भूभागलाई सिँचित गरेको छ । जल संस्कृतिको निधि पनि मानिन्छ । 

हुम्ला शब्दको सेरोफेरोलाई नियाल्दा यसको अर्थ र परिभाषाका बारेमा जे जति र जसरी अर्थहरू गौण रुपमा रहेका छन् । त्यसरी नै यहाँको पौराणिकता र ऐतिहासिकताको बारेमा घोत्लिनु पर्ने अवस्था रहेको छ । 

हुम्ला जिल्लाको नामाङ्करणका सम्बन्धमा घोत्लिँदा हुण+ला, होम+ला र होल्मो लुङरीङ यी तीन शब्दहरूबाट नामाङ्करण भएको मान्न सकिन्छ । जस्तैः 

१.     हुणलाले घुमन्ते शिकारी युगको सन्दर्भ दिन्छ । यी हुणहरू हिमाल वारपार गर्नमा पारङगत थिए । जसले आफुसँग भएका घोडाहरू र जीवनयापनका लागि पशुवस्तुहरू पाल्न र शिकारका लागि नयाँ नयाँ र राम्रा राम्रा ठाउँहरूको खोजी गर्ने क्रममा वर्तमान हुम्लाका ङयालु, नारा, नाम्खाला र पुल्की लाग्नाहरू सयर गरेकाले हुणहरूले प्रथम पटक विचरण गरेको स्थानहरूको स्मरणमा नै हुणलाको अपभ्रम्स नै हुम्ला मान्न सकिन्छ । 

२. त्यस्तै, बोन धर्मका प्रवर्तक सेरान्व–मि–वो–चेलाई एक घोडामुखे राक्षसले १३ वर्षको उमेरमा अपहरण गरी २६ वर्षसम्म आफुसँगै राखेर भुतप्रेत विधामा पारङगत बनाई पठाएको भेटिन्छ । पछि त्यो विद्या प्रयोग गरेर राक्षसी प्रवृत्तिहरूको दमन गरेको स्थान जसको नाम होल्मो लुङरीङ भएकोले यसको नाम होल्मोबाट होल्मो, ओल्मो हुँदै होम्लोबाट हुम्ला रहन गएको हो । 

३. यो हिमाली क्षेत्रमा भएका विभिन्न स्थानमा रहेको ठूला ठूला हिमाली फाँटहरूमा विचरण गर्ने हिमाली गाई अर्थात् वनचौंरीको  कुनै मानवले पहिलो पटक हुँम्...हुँम्... गरेर कराएको आवाज सुनेको हुनाले नै यसको नाम होमलाबाट हुम्ला रहेको हुन सक्छ । 

४. कुनै वेला महादेव पार्वतीबाट केही समयका लागि अलप भई हुम्ला करनालीको पबित्र दोभान खार्पु गुफामा आई ध्यान मग्न हुँदा खोजी गर्दा तपस्यारत महादेवलाई खुशी पार्न पार्वतीले माघे संक्रान्तिको अघिल्लो दिनमा त्यहाँ सप्त ऋषिमुनीहरूको साथ होम गरेर खुशी पारी त्यहीँको पबित्र जलकुण्डमा स्नान गरेको स्थल भएको हुनाले सोको स्मरणमा होममा ला जोडिएर हुम्ला भएको स्थानीय जनश्रुती पाइन्छ । यसरी हुम्ला जिल्लाको नाम रहेको हो अर्को मत पनि 

५. ओल्मो शब्द होल्मो हुँदै होम्लो, हुम्लो र हुम्ला भएको पनि देखिन्छ ।

यसरी नै, हुम्ला नामको समानार्थी शब्दहरूमा हुण, होर्बा, होर्ताद, होल्मो, हुम, होमकुण्ड, हुँकार, हलुडो र होगाट्टो शब्दहरूको पनि अर्थ र परिभाषाको गौणता, व्यापकता, विशालता र गहनताको खोजी गर्नुपर्ने देखिन्छ । 

हुम्ला कर्नाली नदी जिल्लाको मध्यवक्षस्थलबाट नागबेली भएर बगेको छ । यसमा मिसिने गाडहरूमा लिमीखोला, ह्याङसी, मोटागुम्बा, चालाखोला, सल्ली, गुरगुरे, भेडीगाड, म्हेलगाड, ह्याक्पा, हिल्दुम छडा, च्वाँखोला, कुम्लीक, रिपगाड, सर्केगाड, लोती, सुनाखाडा आदि हुन् भने नालाहरूमा गाडपारी, याङचुखालो, नल्न, लिप्ने, न्याँसी, नेप्का, नागड, खँगाड र मेखाला खोला धेरै खोलानालाहरू समाहित भएका छन् । 

छहराहरूमा च्याछहरा जिल्लाकै ठूलो छहराको नाममा गणना भएको छ । अन्य छहराहरूमा छडीखोला, फुने, सिमछडा, भुलभुले, कुम्लीक, ल्होचाखोला, सुनाखाडा, सिस्ने, तलछडी र काफुङ आदि छन् । 

यस्तै प्रकारले तालकुण्डहरूमा दुधेदह, तलुङ, सेलुमन, छोल्युङ्ग्यो, जाड्ल्या, लाप्चा, लड्या, लङकारी, निङ, सेलीमा, ङयालु र मुसासाप्ले आदि छन् । हुम्ला जिल्ला नेपालमा नै धेरै तालहरूको भएको जिल्लाको रूपमा समेत चिनिएको छ । 

तप्पनहरूमा टाइलकुराप, याङगार, यालवाङ, खोल्सी, खार्पू, उनपानी, दर्बीभिड र केर्मीमा रहेका छन् । यसमध्ये केर्मी धेरै प्रचलित र प्रसिद्ध तातोपानीको तप्पन हो । 

यहाँका प्रमुख हिंमशृङ्गखला तथा भञ्ज्याङहरूमा नाम्पा, चाङला, सैपाल, नारा, न्यालु, लाप्चा, मारघोर, दयारे, भुब्रे, पञ्चमुखी, व्याँसऋषि र सिस्ने आदि प्रमुख छन् । यो जिल्ला सांस्कृतिक इतिहासको मूलस्थान भएकोले खश साम्राज्यको, सपादलक्ष राज्यको अलिखित दस्तावेज खुला पाठशाला हो ।
कर्नाली क्षेत्र पर्यावरणीय परम्पराको गणतन्त्र भएर अतीतमा शताब्दी शताब्दीयौं हिउँसँग स्थिर रहेको छ । यसैको चरमोत्कर्ष नै कैलासको बिम्ब हो । सिज्जा हाट, दुल्लु विराटको स्वर्णकाल हो । रानीसैन, मेल्छाम बगर, टौवन, चंखेली, न्यालु, धौलावन, च्वाँखोला, चाप्राङ, थोलिङ, देबकोट, जिदीकोट, ल्हुकोट, सिमकोट, रोडीकोट, तुम्कोट र दार्माकोट जस्ता अनेकौं भग्नावशेषको टुल्कु र टावा हो । 

अमिवा आकारको हुम्ला उच्चहिंमशृङ्खलाहरूको काखमा रहेको नेपालको एक हिमाली जिल्ला हो । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि.मध्ये हुम्ला जिल्ला ६,०१२ वर्ग कि.मि. क्षेत्रफलमा विस्तारित भएको छ । यो जिल्लाले राष्ट्रिय भूगोलको ४.०८ प्रतिशत भूभाग ओगटेर देशकै दोस्रो ठूलो जिल्लाको स्थान पाएको छ । 

यस जिल्लाको पूर्वमा चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममा सेती अञ्चलको बझाङ्ग जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र पुराङ र दक्षिणमा मुगु र सेती अञ्चलको बाजुरा जिल्ला पर्दछन् । 

यो जिल्ला समुद्री सतहबाट करीब ४ हजार फिटदेखि २४ हजार ६४ फिटसम्मको उचाईमा रहेको छ । सदरमुकाम सिमकोटको उचाई ९,५०० फिट छ । यस्तै प्रकारले हावापानी पनि तीन प्रकारको रहेको छ । जस्तैः शितोष्ण, समशितोष्ण र उपोष्ण हावापानी पाइन्छ । 

वर्तमानको भौगोलिक तथा राजनीतिक विभाजन अन्र्तगत यो जिल्ला ७ गाउँपालिका र ४४ वडापालिकामा विभक्त भएको छ । हाल यो जिल्ला ६ नं अर्थात् कर्नाली प्रदेशमा समाहित भएको छ । यस अघि यो जिल्ला २७ गा.वि.स., ९ इलाका र १ निर्वाचन क्षेत्रमा विभाजित भएको थियो । 

उत्तरवर्ती तथा पूर्वमध्यकालिन विशाल खश साम्रज्यको आधारखण्डमा हुम्ला वर्तमान नेपालको तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्नाली अञ्चल र हालको ६ नं अर्थात् कर्नाली प्रदेशको एक हिमाली जिल्ला हो । यो जिल्ला विभिन्न समयमा भएको राजनीतिक र प्रशासनिक इकाई अन्तर्गत विभाजन भएको देखिन्छ । 

मुलतः खशहरूले हिन्दु धर्मभित्रका देवदेवीहरूमा मस्टो परम्परालाई अँगालेर धामीवादको घेरोमा घेरीएका छन् । यिनीहरूमा वर्णाश्रम परम्परा अनुसार रेखीप्रथा कायम छ । जस्तैः– बाहुन, क्षत्री, वैश्य र शुद्र । यिनीहरुमा सामाजिक र सांस्कृतिक अवयवका प्रत्येक गतिविधिसँग क्रियाकलापहरूसँग अन्तरसम्बन्धको धुलन भएको छ । यो समुदायलाई हुम्लामा टोपीटाले पनि भनिन्छ । 

यो समुदायभित्र चार वर्ण छत्तीस जातजातिहरूको रुपमा बाहुनमा माठागाई, चौलागाई, काप्ले, कालागाई, भट्ट, क्षेत्रीमा रोकाया, रावल, बुढा, बुढाथोकी, ऐडी, विष्ट, जेठारा, महतारा, शाही, छत्याल, बम, सिहं, पाल, हितान, थापा, बोगटी, ओरो, भोरो, खाँदी, धराल, पछाल, ठकुल्लो, बुमी, भण्डारी आदि छन् । शुद्रहरूमा सार्की, पार्की, कामी, ल्वार, टमटा भ्याल, लाबड, हुड्के आदि छन् । यी सबैको जात र थरमा अनेक गोत्र र अनेक जात र थरमा एक गोत्र जस्ता विस्मीत तथ्य तथ्याङ्खहरू पाइएका छन् ।

मंगोलियनमुलका समुदायलाई जाड भनिन्छ । यो जडान समाजका बासिन्दाहरू मुलतः थुक्पा खाने, लाक्पा लगाउने भएकोले हिउँ र यिनीहरूको आत्मपरक सम्बन्ध रहेको छ । लेख्दा र भन्दा भोटे, तामाङ्ग र लामा शब्दहरू समय सापेक्ष प्रयोग हुँदै आएका छन् । यो समुदायभित्र मातृसत्तात्मक समाजको अवषेशको रुपमा बहुपतिप्रथाको रन्को छ । यो समाजमा जातीय विभेद नभए पनि साँई स्वामी र कमाराको विभेद अझै छ । यिनीहरूको जातिय इतिहास खोज्दा बाहुन, क्षेत्री, वैश्य आदि पनि भएको पाइएको छ । तापनि वर्तमानमा ठेवा, सिरा, याङश्रृङता आदि आन्तरिक थरहरू छन् । यो समुदायलाई थपाले पनि भनिन्छ ।

अर्को समुदाय हो ब्याँसी । यिनीहरू माथिका दुबै खश र जाड समुदायभन्दा पुरानो र आदिम हुन् भन्ने धेरै प्रमाणहरू देखिएका छन् । यो जातिभित्र माथिका दुवै जात जातिभित्रका धार्मिक, साँस्कृतिक, सामाजिक, पौराणिक र समाजशास्त्रीय अवयवहरू मिसिएको पाइन्छ । जबकी हिन्दु, बुद्ध र बोन धर्मका झिल्काहरू यो जातिय संस्कारमा देखिएको छ । मुलतः यो समुदायलाई प्रकृतिपूजक भनेर चिन्न सकिन्छ । यसको संस्कारजन्य कर्ममा बाहुन र लामा दुबै पुरोहितलाई समानान्तर रुपमा प्रयोग गरिन्छ । 

यसलाई टोपीटाले समाजले मतवाली क्षेत्री र थपाले समाजले मंगोलियन मुलका रुपमा लिइए पनि यी दुवै जातिभन्दा आगाडिको रैथाने मान्न सकिन्छ । हाल यो समाजका सामाजिक र सांस्कृतिक क्रियाकलापहरूमा हिन्दु जातीय थर, गोत्र ग्रहण गरिएको पाइन्छ भने बौद्ध धर्मका धार्मिक संस्कारहरू अँगालिएको देखिन्छ । 

हुम्लीहरूको मुख्य पेशा कृषि र पशुपालन हो । यसैले त यहाँका बासिन्दाहरू कृषि पेशामा ९४ प्रतिशतभन्दा धेरै आबद्ध छन् भने ६ प्रतिशत ब्यापार, जागिर र अन्य कामहरू संलग्न छन् । पछिल्लो समय वैदेशिक रोजगार पनि आकर्षक पेशा बन्न थालेको छ । 

हुम्लाको समाजशास्त्रीय र मानवशास्त्रीय लेखाजोखा गर्दा यहाँको भौगोलिक धरातलमा बाँच्नका लागि आत्मीकरण र परसंस्कृतिकरणको दोधारमा बाँचेको पाइन्छ । यहाँको समाजमा अनेकौं प्रकारका विशेष, नौलो, अनौठो, अचम्म, आञ्चलिक र फरक खालका कुराहरू धेरै छन् ।

हुम्लाको समाजशास्त्रीय र मानवशास्त्रीय लेखाजोखा गर्दा यहाँको भौगोलिक धरातलमा बाँच्नका लागि आत्मीकरण र परसंस्कृतिकरणको दोधारमा बाँचेको पाइन्छ । यहाँको समाजमा अनेकौं प्रकारका विशेष, नौलो, अनौठो, अचम्म, आञ्चलिक र फरक खालका कुराहरू धेरै छन् ।

यहाँको वेशभुषा र आभुषणहरूमा वक्खु, जिगेलो, फत्तु, दोचा, सुम्बा, कोट, भोटो, टोपी, गलबन्दी, लाक्पा, गावुन, चोलो, घाग्रो, काम्लो, बर्खो, बटली, तोची, मल्दुर, चक्री, ढुङ्ग्री, कन्नफुल, चेपाउ, जाल्या, बेरउट्या, कल्ली, चुणा, खँगालो, घिटयाँसी, भुगोल, यूमाला, प्वाँलो, लडी, आलङ, गालङ, किबु, पोस्योल, कम्पनीमाला, कौडा, थाइकुर र आइकुर लगाउँछन् । 

खानपानहरूमा थुक्पा, लगड, लाउन, सेल, लाप्सी, छयाँकोल, चिउला, च्याँउका, डुबुल्का, चुम्फे, कोल, भाट्या, बाबर, खाजा, मुरी आदि रहेका छन् । वन जगंलमा गएर तरुल, थकाइनो, मुगा, पिडालु आदि कन्दमुल कोरी उसिनेर खाइन्छ । जेठाँसी छरी खानु कात्तिके गोडी खानु भन्ने बालीनालीको सुत्र तय गरेको छ ।

हुम्ला कर्नाली प्रदेशको उत्तरी साँचो हो । कैलास मानसरोवरको प्रदेशशद्वार हो । खश साम्राज्यको सिञ्जा हाट दुल्लु विराटको रणनैतिक सन्दर्भ हो । त्यो बेला कर्नाली क्षेत्र आर्थिक वैभवले सम्पन्न भएको ऐतिहासिक लिखत धेरै छन् । यहाँको अर्थ व्यवस्था सीमा व्यापारमा अडेको थियो । यसैले पनि कर्नाली प्रदेशमा प्रचलित ३६ कर प्रणालीमा पर्ने करहरू बाज, घोडा, कस्तुरी, मैन, रुवो, सुत्तो, पुलो, पोक्खल, केर र कुत आदि राज्यको आम्दानीको मुख्य स्रोत मानिएको थियो । 

भग्री व्यवसायको माध्यमबाट वस्तुविनियमको ब्यापारले नै यहाँको अर्थतन्त्र धानेको थियो । ध्यु, नौनी, ऊन, नुन त्यसबाट उत्पादित बक्खु, दोचादोफर, सुम्बा, लाम, पसेरी, थाक्पा, कोसी, दुम्च्या, ग्याब्री र फुरु यहाँको आयको स्रोत हो । यी सामानहरू तालाखार जस्ता विभिन्न हाट बजारहरूमा ब्यापार गरिन्थ्यो र छ पनि । हुम्ला हिमाल वारपारको ब्यापारको लागि प्रशिद्ध ब्यापारी नाका मानिंदै आएको छ । 
यहाँको नापतौलको प्रणाली स्थानीय परम्परामा आधारीत छ । जस्तैः– दुई मानाको एक पाथी, २० पाथीको एक खाल, धार्नी घाडी धार्नी, हात, भेत् आदि छन् । अझै पनि आधुनिक ब्यापार व्यवसायको अबधारणले छोएको छैन् । राष्ट्रियस्तरको नापतौल प्रणालीको मापदण्ड लागु भएको छैन ।

हुम्लाको धार्मिक पृष्ठभुमिलाई नियाल्दा मानसरोवर, कैलास, खार्पुनाथ, रल्लिङ र विभिन्न गाउँहरूमा रहेका माँणु र गुम्बाहरू नै धार्मिक आस्था र लौकिक न्यायका केन्द्रको रुपमा स्थापित भएका छन् । यो अवस्थालाई हेर्दा यहाँ धर्मका अनेकौं पुराना अवशेषहरू पाइन्छन् । 

हुम्लाको धार्मिक पृष्ठभुमिलाई नियाल्दा मानसरोवर, कैलास, खार्पुनाथ, रल्लिङ र विभिन्न गाउँहरूमा रहेका माँणु र गुम्बाहरू नै धार्मिक आस्था र लौकिक न्यायका केन्द्रको रुपमा स्थापित भएका छन् । यो अवस्थालाई हेर्दा यहाँ धर्मका अनेकौं पुराना अवशेषहरू पाइन्छन् । 

यो जिल्लामा ८५ प्रतिशत जति हिन्दु र १५ प्रतिशत जति बौद्ध रहेको तथ्याङ्क देखिन्छ । यहाँ प्रचलित धार्मिक संस्कार अन्य ठाउँभन्दा मौलिक रहेको छ । विशेषतः यसलाई प्रकृतिपूजक धर्म भन्न पनि सकिन्छ । यहाँको दैविक न्याय प्रणालीलाई करीब ७ हजार वर्षभन्दा पुरानो न्याय पद्धति मानिन्छ । सम्भवतः यो न्याय पद्धतिलाई मस्टो न्यायिक परम्पराले पनि चिनिन्छ ।

यहाँ तान्तिक तथा सम्मोहन प्रविधिबाट रोग, व्याधीलाई झारफुक गरेर निको पारिन्छ । मस्टो र मस्टोइतर देवताको पूजाआजाले गाथ गाथमा मैठो, घरबारीमा बइतो, देवपुरी हुम्लो बह्मपुरी जुम्लो, मुखालाको राजा, निमुखाको देवता जस्ता उक्तिले समाजमा मान्यता पाएको छ । यस्तै प्रकारले जिल्लामा कालोसिल्तो, महादेव, ल्वासुर, रामपाल, भ्वानी, मदानु, सर्की, हिल्छो र गुरा आदि देवदेवी रहेका छन् । प्रत्येक गाउँमा हुने सभाथाणो र चौपाडीहरू पनि धर्म कचहरीका अबशेषहरू मानिन्छन् । राँगामाचुल्लो, गवालो, धौलापुरो, चिङखुरे, छाङलाजार र ल्वाखुडो आदिहरूले स्थान, वनस्पति र पशुपन्छीको स्मरण गराउने नामाकरण भएको पाइन्छ । 

यहाँको समाजमा धामी र लामाहरूको ठूलो र सम्मानित भुमिका रहेको छ । यहाँ पशुवली र प्रकृतिको पुजाआज गरिए पनि दुधभोगी, रक्तभोगी र दुध र रगत दुबैको पुजा चल्ने सत्व, रजो र तमो तीनै गुणका देवदेवीहरू रहेका छन् । यसैले पनि देवस्वामी, कुलस्वामी, मुलस्वामी, क्षेत्रस्वामी र आत्मस्वामीको रुपमा लामा र धामी दुबैलाई मान्ने गरिन्छ । 

यहाँका प्रत्येक गाउँ वरपर राजबाटो, पाटी, पौवा, सत्तल, बारा, धर्मशाला, बिसुन, चौत्था, र्छोर्तेन, काङनी र पातीहाल्न आदिको निर्माण गरिएको हुन्छ । यससँग धार्मिक संस्कारले मीतेरी गाँसेको छ । जस्तैः– हुम्ला सिमकोटमा वि.सं. १९०३ सालमा राजा श्री ५ राजेन्द्रबाट मानसरोवर कैलास जाने यात्रुहरूको व्यवस्थापनका लागि दोचादोफर गुठीमा पछिल्लो पटक लालमोहर लगाइएको प्रमाण अहिले इतिकासको गर्भमा लुकेको छ । 

हुम्लाको शैक्षिक इतिहास लिखितभन्दा पनि लोकश्रुतिमा रहेको मौखिक र मौलिक कथ्यहरू जस्तैः– बुढा मरे कुणा सरे भन्ने लोकोक्ति झैँ कर्नाली प्रदेशमा खशहरूको शासनको शुरुवात हुनुभन्दा अगाडि पालहरू र त्योभन्दा पनि अगाडि घुमन्ते जाति हुण र तार्तारहरूले यहाँ ससाना राज्यहरू नै कविला अर्थात् जातिय समुदायको सुरक्षार्थ गोलबन्द गरेर गराएर बसेको कथ्य त्यसबेला रचित ग्याल्बु गेसरको विशालकाय लोकगाथा, राजा नोर्जाङका लोककथाहरू लगायत नैनसिंहको लोकगाथा, हरीमले पृथीमलेको लोककथाहरू, सोभान साईका लोकगीतहरू, बाम्नीका आत्मलापका विरहका उदरगारहरू लगायतका लोकोक्ती, लोकटुक्का, सिलोक, उखान, गाउँखाने, चार्ची, फाक, धमारी, माँगल, देउडागीत र जनश्रुतीहरूबाट थाहा पाउन सक्र्छौं ।

यी कुराहरूले हुम्ला कर्नालीको आञ्चलिकता, स्थानीयता तथा तत्कालीन परिवेशको अवस्थालाई नियाल्न सकिन्छ । छाम्न सकिन्छ । सुम्सुम्याउन सकिन्छ । खोजी गर्न सकिन्छ । यस्ता अक्षर अक्षर, शब्द शब्द, भाव भाव र राप रापहरूलाई केलाएर हेरेपछि मात्र यहाँको शिक्षाको बारेमा थाहा पाउन सकिन्छ । 

प्राचिन साहित्यमा हिमालयलाई पाँच खण्डमा विभाजन गरिएको चर्चा पाइन्छ । जसमध्ये क्रमशः नेपालखण्ड, कुमाऊँखण्ड, केदारखण्ड, जालन्धरखण्ड र काश्मीरखण्ड (नेपाली भाषाका हजार वर्ष- मोहनप्रसाद खनाल, प्रकाशक राइनो पब्लिकेसन प्रा.लि. काठमाडौ नेपाल, पे.३) । यसरी हिमालयको काखमा रहेको नेपालको गौरबमय इतिहास रहेको छ । विशाल सपादलक्ष राज्यको एक खण्ड हुम्ला हो । यसैले पनि हुम्ला हुम्ला मात्र नभएर एक अति महत्वपूर्ण स्थान पनि मानिन्छ ।

एघारौं शताब्दीमा निर्माण गरिएको हुम्लाको लिमी गाविसको हल्जी गाउँमा रहेको रिन्छेलीन गुम्बामा रहेका ऐतिहासिक तथा पुरात्तात्विक अवशेषहरूले पनि यहाँको शैक्षिक इतिहासको बारेमा धेरै जानकारी पाउन सकिन्छ । यस्तै रलीङ गुम्बामा अशोकचल्लको ताम्रपत्र र दार्माको देउली, सिमकोट र तुम्चमा भएका र पाइएका विभिन्न प्रकारका धातुका भाँडाकुँडाहरू, शिलापत्रहरू, माटाका सामाग्रीहरू र अन्य सामाग्रीहरूको अभिलेखनले पनि यहाँको ऐतिहासिकता देखाउँछ ।

यहाँका गुम्बा, माँडु, बारो, चौपाडी र सभा थाडोहरू शिक्षाका केन्द्रहरू थिए । जहाँ यी स्थलहरू गुरुकुल शिक्षाका आलयहरू थिए भन्ने ऐतिहासिक लेखन तथा कथनहरू सर्बत्र पाइन्छन् । यहाँको शिक्षा समन्वयवादी थियो ।

यहाँका गुम्बा, माँडु, बारो, चौपाडी र सभा थाडोहरू शिक्षाका केन्द्रहरू थिए । जहाँ यी स्थलहरू गुरुकुल शिक्षाका आलयहरू थिए भन्ने ऐतिहासिक लेखन तथा कथनहरू सर्बत्र पाइन्छन् । यहाँको शिक्षा समन्वयवादी थियो । उत्तरतिर भोटे भाषा र दक्षिणतिर खश भाषाको समान रुपमा प्रयोग र पहिचान भएको पाइन्छ । यसैले यहाँका शिलालेख र जनश्रुतिमा ऊँ मणि पद्मे हुँ, ऊँ मत्रिमुदे सालेदुँ हुँ, ऊँ चन्द्र, सूर्य, मरुत् हुँ जस्ता मन्त्रका श्लोकहरू अहिले पनि उच्चारित र श्लोकित भएका छन् । 

जब वि.सं. १८४६ पछिको राजनीतिक र भौगोलिक क्रमभङ्गताले गोर्खालीको अति दमनमा परेर यहाँका सबै वैभवहरूको खलाँस पारिएको कथ्यको तथ्य नै आजको कर्नालीको रिक्तता हो । यसैले तत्कालिन नयाँ नेपालका निर्माताका प्रतिनिधिहरूलाई अहिले पनि गोर्खाली भनेर सम्बोधन र पराईत्वको शब्दले उच्चारण गरिन्छ । 

हुम्लाको लेख्य साहित्यको इतिहासलाई केलाउँदा यो जिल्लाको सदरमुकाम सिमकोटको पूर्वोत्तर भागमा अवस्थित रलिङ्ग गुम्बामा पाइएको अशोक चल्लको वि.सं. १३१२को ताम्रपत्रलाई मात्रै आधार मान्दा ७६९ वर्षको लामो समयावधिलाई मान्न सकिन्छ । यो इतिहासलाई हेर्दा यहाँको साहित्यको इतिहासमा क्रमभङ्गताको अवस्था पाइन्छ । यसका लागि यहाँका विभिन्न ऐतिहासिक स्थलहरूको गहन खोजी गर्नुपर्ने चुनौति देखिएको छ । जो एक स्वर्णीम अवसर पनि हो । तर धेरै पहिला योगी नरहरीनाथबाट यस्ता लिखतहरू संकलन गरेर लिईए पनि हाल कहाँ, कस्तो, कति र कुन अवस्थामा छन् । यो पनि योगीको विशारतपछि इतिहास नै बनेको छ, बनाइएको छ र बनाउने काम पनि भएको छ । तर पनि यस्ता अनेकौं योगी नरहरीनाथको खोजीमा छ हुम्ला कर्नाली । 

जिल्लाकै पहिलो विद्यालय हुम्ला जिल्लाको गोठी गाविसको गोठी गाउँमा वि.सं. २०१४ सालमा राष्ट्रिय प्राविका नाममा भयो । यसपछि यस जिल्लाबाट त्यसबेलाको नेपाल अर्थात् काठमाडौंमा अध्ययन गर्न आउने पहिलो हुम्ली चक्रबहादुर शाहीको पालामा कर्नालीका विद्यार्थीहरूले गठन गरेको कर्नाली विद्यार्थी हित समितिले प्रकाशन गरेको मुखपत्र बेन्नुबाट आधिकारीक र आधुनिक हुम्ली लेख्य साहित्यको शुरूबात भएको हाललाई मान्न सकिन्छ । 
यहि क्रमले वि.सं. २०३५÷३६ सालमा जिल्ला शिक्षा कार्यालय हुम्लाले प्रकाशनमा ल्याएको शैक्षिक हिमज्योति पत्रिका नै हुम्ला जिल्लाको पहिलो पत्रिका हो । यो जिल्लाको लेख्य साहित्यको आधुनिक मोडको प्रस्थान विन्दु शैक्षिक हिमज्योतिलाई आधार मान्दा यो जिल्लाको साहित्यको इतिहास करिब चार दशक जति हुन्छ । यो समयमा सालाखाला चार दर्जन पत्रपत्रिकाहरू र दुई दर्जन पुस्तकहरू प्रकाशनमा आएका छन् । यो त्यति सन्तोषजनक नभए पनि उल्लेख काम मान्न सकिन्छ । यसमा कर्मचारी मिलन केन्द्र हुम्लाले प्रकाशन गरेको हुम्ला संगम पत्रिकाको उल्लेख योगदान रहेको छ ।

के कल्हण र गोल्हण पण्डीतहरू कर्नालीका हैनन् र ? के गगनीराजको यात्रा वृतान्त कर्नालीमा नै लेखिएको हैन र ? के अशोकचल्लको ताम्रपत्र हुम्लाको रलिंग गुम्बामा भेटिएको हैन र ? तर आज कर्नालीले न त अतितलाई खोज्न सकेको छ ? न त वर्तमानलाई रोज्न सकेको छ ? मात्रै दुर्गमको नाममा शासन सत्ताले पछाडि पारेको भनेर अलाप विलाप गरिरहेको छ ? तर आफ्नो र आफ्नो घर परिवारको भरणपोषण गर्ने पहिलो समस्या देखिन्छ । र त म को हुँ ? म के हुँ ? मेरो चिनारी के हो ? भनेर सोच्न सकेका छैनन् तर पनि आफु र आफ्नोपनलाई खोज्नका लागि भूमिका, दायित्व, पहिचान र कर्तव्य त आफुले बनाउने हैन र ? 

हुम्लामा केन्द्रीय नेपाली भाषाको एक भेदका रुपमा हुम्ली भाषिकाका विभिन्न उप रुपहरू पाइएका छन् । यहाँ नेपाली भाषिका बोल्नहरूको संख्या अधिक छ । सिञ्जा क्षेत्रबाट विस्तारीत भएको खश भाषालाई नेपाली भाषाको नामले चिनिन्छ । भारोपेली भाषा परिवारका थुप्रै नवभारतीय आर्य भाषाहरूमध्येको नेपाली भाषा पनि आज अन्य नवभारतीय आर्यभाषा जस्तै नै दिन प्रतिदिन उन्नतिको आरोहणमा छ । केन्द्रीय नेपाली भाषीकाका भेदहरूमध्ये हुम्ली भाषीकालाई डा.रामविक्रम सिंजापतिले रिपेली भनेर नाम दिएका छन् । यस्तै बालकृष्ण पोखरेल, चूडामणि बन्धु, डा.रामबिक्रम सिंजापति, योगी नरहरीनाथ, रत्नाकर देवकोटा, मोहनप्रसाद खनाल, हुमकान्त पाण्डे र डा.यमनाथ तिमिल्सिना लगायतका विद्वान लेखक तथा अन्वेषकहरूको कर्नालीको भाषाको खोजीमा उल्लेखनीय योगदान रहेको छ । तर पनि नेपाली भाषाको मूलथलो कर्नालीको सिञ्जाक्षेत्र भएको यहाँको नेपाली भाषालाई भाषिकाभन्दा पनि भाषा भन्नु पर्ने तर्क नेपालीभाषाका अध्येता डा.मधुसुदन गिरीको रहेको छ । यहाँको भाषालाई भाषिका भनिनु अन्याय हुने उहाँको भनाई रहेको छ ।

यहाँ प्रचलित हुम्ली भाषाका केही शब्दावलीहरूमा गोप्का, नेप्का, हेप्का, थाली, तुम्कोट, लाली, पाली, लिमी, मिमी, रिमी, चाला, मैला, बारीगाउँ, पिउस, सिमकोट, रोडीकोट, देउली, मारुल्लेकोट, यारी, कुति, त्वाक्ची, ठकुल्लो, हमाल, रोकाया, पार्की, हुड्क्या लावड, हितान, न्हिन्वा, ठेवा, थार, नाफल, तयाँ, उवा, उफल, चिनु, फापर, ल्हाँगो, मैठो, फत्तु जिगेलो, भुवो, चैतलो, छुई, बिटालु, सुम्बा, कुँ, रुपो, पुलिग, लगड, लाप्सी, च्याँउका, कल्ली र पौला आदि रहेका छन् । यी शब्दहरूले स्थाननाम, चालचलन, अन्न र फलफुल आदिको भाषिक इतिहासलाई पनि सम्झाउने गरेका छन् ।

यो जिल्लाको इतिहास लिमीको च्याफुक गुफाको ऐतिहासिक चट्टानकला, धारापोरीचौरको ढुङ्गेचित्र, तुम्च, देउली र सिमकोटका देवल र मुग्राहरू, जिल्लाका विभिन्न ठाउँमा रहेका कोटहरू, धाराहरू, मुग्राहरू, ओखलहरू, माँणुहरू, गुम्बाहरू, गुफाहरू, बारोहरू, सभाथाणोहरू, चौपाडीहरू, नाइकबाडाहरू, चौत्थाहरू, बिसुनहरू र दोबाटाहरूमा छरिएर रहेका अनेकौं भौतिक र अभौतिक निधि, विधि, रीति र थीतिहरूको लेखोजोखा गर्न सकिएको खण्डमा प्रशस्त जानकारी प्राप्त हुनेछन् । 

वि.सं. ६६३देखि वि.सं. २०८१सम्म १४१८ वर्षको कालखण्डमा कर्नाली प्रदेशको इतिहासलाई केलाउँदा धेरै उथलपुथलहरू मध्येका सबभन्दा ठूला परिवर्तनहरू पाँचौ शताब्दीको मस्टोको प्रवेश, छैटौं शताब्दीमा पालहरूको राज्य स्थापना, सातौ शताब्दीमा बौद्ध धर्मको आगमन, एघारौं शताब्दीमा खशहरूको राज्यसत्ता स्थापना, पन्ध्रौं शताब्दी कल्यालहरूको उदय, उन्नाइसौं शताब्दीमा गोर्खालीकरणको अभियानहरू जस्ता इतिहासका घटनाक्रमले कर्नालीलाई व्यापक रुपमा प्रभाव पारेको पाउँछौं । यसपछिका वि.सं. १९३५, वि.सं. १९५०, वि.सं. २००७, वि.सं. २०१५, वि.सं. २०१७, वि.स. २०२१, वि.सं. २०२४, वि.सं. २०३६, वि.स. २०४७, वि.सं. २०५२, वि.स. २०५९, वि.सं. २०६२÷०६३, वि.सं. २०६४, वि.सं. २०७०, वि.सं. २०७२ र वि.सं. २०७४ महत्वपूर्ण रहेका छन् । यी तिथिमितिहरूले कर्नालीको राजनीतिक, साँस्कृतिक तथा आर्थिक गतिविधिहरू परिवर्तन र फेरबदल ल्याएको छ । जसरी जित्नेको इतिहास लेखियो र हार्नेको हरायो । यस्तै छ नियती संसारको । यसैको आरोह अवारोहमा रुमलिएको छ – हुम्ला कर्नालीको भूत र वर्तमान । आशा गरौं नेपाल संक्रमणकालीन अवस्थाबाट निस्केर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संघीय ढाँचामा तीन तहको व्यवस्थापकीय शासन प्रणालीमा तीनै तहको चुनाव सम्पन्न भएर नयाँ सरकारहरू गठन भएका छन् । 

हुम्ला खश साम्राज्यको उत्तरी द्वार हो । हिमालयको हार हो । हिउँको अनुहार हो । यसैले विशाल खश साम्राज्यको झझल्को हामी यहाँका कथ्यसाहित्यका विविध विधाहरूमा पाउँछौं । जस्तैः– सिमकोटको दोचादोफर गुठी, लिमीको रिन्छेलीन गुम्बा, रोङकाई सेल्मुकाङको रल्लिङ गुम्बा, खार्पु, विभिन्न गाउँमा रहेका बाराहरू र माँणुहरू कर्नाली प्रदेशका शासकहरूले शैक्षिक संस्थाहरूमा सञ्चालन गरेका थिए भन्ने जनकथनहरूले सत्यको नजिक पु–याएका छन् । जसरी लिमीको रिन्छेलीन गुम्बाको काच्र्याक र रल्लिङ गुम्बाको वि.सं.१३१२को नेपाली भाषाको ताम्रपत्र कसरी लेखियो त ? नत्र भने कसरी नेपाली भाषाको जननी खश भाषाको जन्म त्यसै आकाशबाट खसेर त भएको हैन होला ? यो एक रोचक, घोचक र सोचनिय पक्ष हो र हो वर्तमानको आफ्नो स्व–पहिचान खोज्ने समयको लागि एक अन्वेषणको लागि कठीन यात्रा हो । सुनौलो मौका हो । नयाँ अवसर र सम्भावनाको सागर पनि हो ।

वि.सं. १८४६ पछि हुम्ला जिल्लाको सिमकोटमा रहेको दोचादोफर गुठीको लालमोहार तत्कालीन राजा राजेन्द्रबाट वि.सं. १९०३मा भएको पाइएको छ । यो नै कर्नाली प्रदेशमा गोर्खालीकरण भए पछिको लेख्य रुपको एक नमुना मान्न सकिन्छ । यस्तै प्रकारले स्थानीयस्तरमा गरिने आर्थिक लेनदेनका तमासुकहरू, जन्मकुण्डलीका रुपमा तयार गरिएका चिनाहरू, प्रत्येक नयाँ वर्षमा स्थानीय रुपमा तयार गरिएका पात्रोहरू हाम्रा गुम्बाहरू र माँणुहरूमा यी पुराना शिलापत्रहरु, भोजपत्रहरु, चर्मपत्रहरु, ताडपत्रहरु, ताम्रपत्रहरु र स्वर्णपत्रहरुमा कुँदिएका, लेखिएका र संरचना गरिएका दस्तावेजहरू तथा ऐतिहासिक लिखतहरु आदिमा हुम्ला कर्नालीलाई खोज्न सकिन्छ । यी सम्पदा हाम्रा गाउँघरमा आज पनि ताजा अवस्था रहेका छन् । मात्र स्थानीय अन्वेषकहरूको अभावमा प्रकाशन आउन सकेका छैनन् । 

हुम्लामा वि.सं. १९३५मा जब प्रथम पटक जग्गाको आधिकारीक नाप नक्सा गरिएको पाइन्छ । त्यसबेला हात लामो काठको टाँगो प्रयोग गरेर जग्गाको नाप नक्सा तयार पार्ने काम भयो । पुनः गाउँघरमा शिक्षाको आवश्यकताको बोध भएर विभिन्न गाउँहरूका मुखिया जम्मुवालहरूले अनिवार्य रुपमा गुरुकुलमा गएर शिक्षा आर्जन गर्न थाले । गाउँघरको तिरोभरोको लिखित कागजातहरू राख्न थाले । त्यसैले यहाँको त्यसबेलाको बारेमा यस्ता लेख्य दस्तावेजहरू जिल्ला मालपोत कार्यालय र हुम्ला जिल्ला अदालतमा दुई तीन सय वर्षभन्दा पनि अति पुराना कागजातहरू पाइने सम्भावना रहको छ । 
नेपालमा आएको प्रजातन्त्र हुम्लामा निक्कै वर्षपछि आएको थियो रे ? वि.सं.२०१५ सालको राजनीतिक चेतना त्यसबेलाका जल्दाबल्दा जीमुवाल अजवीर शाहीका छोरा बलरुप शाहीले एक प्रगतिशिल हुम्लीको रुपमा फैलाएका थिए । जसको कारण आफ्नै बाबुका कट्टर विरोधी भए । उनी धेरै बाँच्न सकेनन् । यो घटनाले हुम्लाको राजनीतिमा रिक्तता ल्यायो । तर पनि कर्नालीबाट काँग्रेस उम्मेदवार भएका भिमप्रसाद श्रेष्ठ विजयी भए । यसरी वि.सं. २०१५ साल पछि हुम्लामा राजनीतिक चेतनाका कारण नगण्य मात्रामा आधुनिक लेख्य साहित्यको अंकुरण हुन थाल्यो ।

जसरी कर्नालीलाई अति प्रतिशोधात्मक र धोकापूर्ण तरिकाले गोर्खालीकरण गरियो । जसरी जित्नेको इतिहास लेखिने र हार्नेको इतिहास लोप हुने चेपुवामा हुम्ला कर्नालीको इतिहास प्रतिशोधमा दबाइएको हो र हुनुपर्छ । जब विभिन्न समयमा जातिगत, समुदायगत, राज्यगत तथा राजनीतिक रुपमा उथलपुथलको अवस्था आउँछ । त्यो बेला प्रतिशोधमा आफ्ना विरोधीको सर्वस्वहरण सहित सबै नामोनिशानहरूलाई नष्टभ्रष्ट गर्ने मानवीय इगोले कर्नाली प्रदेशको वैभव अतितको गर्भमा हराउन पुग्यो । त्यसरी नै यहाँका दस्तावेजहरू नाँसमाँस गरिएको प्रमाण सोभान साईका वीरता र सुरतालाई दबाइनु, धाडो हाल्ने प्रचलन र दृष्टीदर्ताको प्रक्रिया जस्ता विभिन्न उदाहरणहरू रहेका छन् । जसको आत्म कर्नालीका बासिन्दाको मानसमा आज पनि एक तुमुल आवाज भएर जीवन्त रहेको छ ।

तर हिरा भनेको हिरा नै हो, त्यो अरू हुन सक्दैन ? राज्यले उपेच्छा गरे पनि विभिन्न समयमा विभिन्न विद्वानहरूको अथक योगदान स्वरुप कर्नालीको ऐतिहासिक कथ्यहरूलाई तथ्यका रुपमा केही मात्रामा भए पनि प्रकाशमा आएका छन्, ल्याएका छन् । यस्तो अध्ययन गर्नेहरूमा युरोपका पादरी एन्टोनियो आन्डा्डा, विलियम मुरक्रोफ्ट, ह्यामिल्टन, राहुल साँस्कृत्यायन, कल कर्कपेटिक, स्वामी प्रभावानन्द, प्रो.रामरुहल, कोर्नेल जेष्ठ, टोनी हेगन, दितरे शुद्धु, जोसेप टुची, टेरी व्याग, बेरीबिसप, योगी नरहरीनाथ, रामनिवास पाण्डे, बालकृष्ण पोखरेल, डा.राजाराम सुवेदी, डा.सूर्यमणि अधिकारी, रत्नाकर देवकोटा, पूर्ण प्रकाश नेपाल ‘यात्री’, सत्यमोहन जोशी, चुडामणि बन्धु, प्रदिप रिमाल, स्थीरजङ्गबहादुर सिंह, डोरबहादुर बिष्ट, मोहनप्रसाद खनाल, रत्नाकर देवकोटा, पे्रम कैदी, श्रीकृष्ण गौतम, रमेश खड्का, हुमकान्त पाण्डे, डा.यमनाथ तिमिल्सिना लगायतका अन्य ज्ञात अज्ञात थुप्रै लेखकहरूको योगदान उल्लेख्य रहेको छ । 

अझै पनि हामीहरू हुम्लाका विभिन्न स्थानहरूमा लुकेर रहेका ताम्रपत्र, कनकपत्र, शिलापत्र, ताडपत्र, भोजपत्र, स्मृतिपत्र तथा अनेकौं प्रकारका ऐतिहासिक दस्तावेजहरूको खोजी गर्न सकेमा नयाँ नयाँ तथ्य सार्वजनिक हुनेछ ।

यसमा मलजल हाल्ने काम हाल हुम्लाका स्थानीय लेखक, पत्रकार तथा साहित्यकारहरूमा छक्कबहादुर लामा, जयबहादुर रोकाया, कर्णबहादुर रोकाया (समर हुम्ली), डा. दीपेन्द्र रोकाया, गोरखबहादुर बोगटी, देवकी तिमिल्सिना रोकाया, दीपक बुढा, कर्णजीत बुढाथोकी, कुन्जोक लामा, जिग्मे (नरबहादुर) लामा, लक्ष्मी ऐडी रोकाया, डा.मानबहादुर रोकाया, डा.दिनेश रोकाया, बसन्ती शाही, मधु शाही, गोरखबहादुर बुढा, बसन्त रोकाया, कर्ण रावल, डबलबहादुर महतारा, भीबहादुर फडेरा प्रदेज, जनक महतारा संकेत, , मनप्रसाद काफ्ले, लगायतका थुप्रै रहेका छन् । पछिल्लो समय हुम्ला पनि सिर्जनात्मक कामका लागि उर्बर, मलिलो र खोजी योग्य ठाउँको रुपमा विकास र विस्तार हुन लाग्नु सुखद् कुरा मान्न सकिन्छ । जसको श्रम, पसिना र अथक प्रयासले विलुप्त कर्नालीको विविध खाटाहरूका पाटाहरू प्रकाशमा आए । यो एक उज्यालो पक्ष हो ।

यो एक्काइसौं शताब्दीको कालखण्डमा हामीले पुनः एक पटक फेरी हामी को हौं ? हाम्रो अतित के कस्तो थियो ? हाम्रा पुर्खा कहाँबाट आएका हुन् ? हाम्रो त्यसबेलाको लेख्य इतिहासको अवस्था के कस्तो थियो ? सोको बारेमा लेखाजोखा गर्ने समय आएको छ । संघीय नयाँ नेपालमा स्वपहिचानको खोजी गर्ने बेला भएको छ ।
Email: karnarokya994@gmail.com

प्रकाशित:

२८ दिन अगाडि

|

७ भदौ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७१० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७४४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७५४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७०९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६५८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७१४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६४७ दिन अगाडि

|

२७ मंसिर २०७९