Above News Title

थाकस २३औं महाधिवेशनः नङ्गा नाच–एकताको सन्देशमा आँच 

थाकस २३औं महाधिवेशनः नङ्गा नाच–एकताको सन्देशमा आँच 

थारू कल्याणकारिणी सभा सामाजिक संस्था हो भन्नेहरु प्रशस्तै छन् । प्रश्न उठ्छः एउटा सामाजिक संस्था आफ्नो जीवनको महत्वपूर्ण हिस्सा मानिएको महाधिवेशन एकताको सन्देश बाँड्ने नाममा के कारण होला कि आफ्नो स्वायत्तता गुमाउने अवस्थाबाट गुज्रियो । भैरहवामा यही मंसिर पहिलो साता भएको थाकसको २३औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको बिचबाट निर्णय नभई स्टार होटलका कोठाबाट भएको दिन देख्नु पर्यो । 

स्टार होटलका कोठाबाट भएको निर्णयलाई थारू एकताको सन्देश भन्ने मत स्वीकार गर्ने हो भने तीन सयभन्दा अधिक प्रतिनिधिहरु र २६ जिल्लाका सभापतिहरुले आफ्नो आफ्नो जिल्लाका थारूलाई हामी खुशी बाँड्न आयौं भनेर ढुक्क हुँदै भन्न सक्छन् त ? अहं उहाँहरु सक्नुहुन्न । किनकि उहाँहरु नङ्गा नाच हेरेर फर्किनुभएको छ । बन्धक बनेको पीडा अनि थोपरेका निर्णयको भारी बोकी आगामी तीन वर्ष गुजार्न विवश बनेका छन् । 

परिवर्तन स्वीकार्न नसकी यथास्थिति कायम रहेको महसुस गर्ने अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भरोसायोग्य थारू कल्याणकारिणी सभा निर्माणमा योगदान दिने योजना किन वहसमा ल्याएनन् ? किन गोलचक्करको यात्रा तय गर्न सहज ठाने ? अर्थात् आन्तरिक लोकतन्त्रको अभ्यासलाई बन्ध्याकरण गर्न पछि नपर्ने अगुवाहरु यस संस्थामा आउने राजनीतिक दवाव झेल्नु पर्दा कुन हिम्मतले साथ समर्थन देलान् ? म दावा गर्छु कि तदर्थवादको शिकार थारू कल्याणकारिणी सभा यस पटक पनि भयो । 

परिवर्तन स्वीकार्न नसकी यथास्थिति कायम रहेको महसुस गर्ने अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भरोसायोग्य थारू कल्याणकारिणी सभा निर्माणमा योगदान दिने योजना किन वहसमा ल्याएनन् ? किन गोलचक्करको यात्रा तय गर्न सहज ठाने ?

थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन मंसिर ५ गते सम्पन्न भएको घोषणा भयो । सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । यो प्रक्रियामा निर्वाचन समिति पनि सहज महसुस गरेको र निर्वाचनका सबै प्रक्रिया पुरा गरी आएको कारण निर्वाचित सबैलाई उत्तरोत्तर प्रगतिको कामनासहित सफल कार्यकालको लागि हार्दिक शुभेच्छा छ । थारू कल्याणकारिणी सभाले करिब आठ दशकभित्र २३ वटा महाधिवेशन सम्पन्न गर्नु परिपक्वताको ठूलो आश गर्नु अनुचित होइन । तर खासमा यो महाधिवेशनको समीक्षा हुने दिन ऐतिहासिक रुपमा सफल भएको घोषणा हुनेछ । देख्नेमें लगता है साला बाँस जैसा मगर अन्दर से है खोख्ला भने जस्तै आवरणमा एकताको सन्देश भट्याए पनि आन्तरिक रुपमा यसले स्वायत्तता गुमाएको छ र प्रतिरोधी क्षमतामा ह्रास आएको देख्न सकिन्छ ।  

एकताको सन्देश दिन २३औं महाधिवेशनको आग्रह तय भएको जनाउ उदघाटन सत्रमा पूर्व अध्यक्ष नरेन्द्र चौधरी र विशेष अतिथि विजय गच्छदारको थियो । एकताको सन्देश भनेको उनीहरुको लागि केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित हुनुपर्ने तर्क गरियो । यही आदर्शलाई व्यवहारमा उतार्न उनीहरु ३० घण्टा निरन्तर दवावको भूमिका बनाइ रहे । यसले थाकस सम्बन्धमा उनीहरुको नियत प्रष्ट बुझिन्थ्यो । थारू आन्दोलनलाई उनीहरु करियर निर्माणको साधन बनाउन एकमत थिए र अन्ततः सोही लक्ष्य प्राप्त गर्न महाधिवेशन बन्धक बनेको यो प्रथम पटक पक्कै थिएन । प्रत्यक्ष हस्तक्षेप देख्न २३औं महाधिवेशन प्रयोग भयो र नवनिर्वाचित अध्यक्षलाई समेत चौवन्नी सदस्यता लिन बाध्य बनाइयो । त्यसैले भन्न सक्छौं कि पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका थारू एकै हौं र नीतिगत रुपमा अमुक पार्टीका बधुँवा मजदुर–कमैयाहरु ।

व्यक्तिगत रुपमा भन्नु पर्दा म यसपटक मिनराज चौधरी थारू कल्याणकारिणी सभाको अध्यक्ष निर्वाचित हुनुपर्ने मिसनमा थिएँ । अरु विद्यार्थी कालमा रहेका साथीहरु शैलेन्द्र चौधरी तथा रमेश चौधरीसमेत यो मिसनलाई आत्मसात गर्न थालेका कारण जिल्लावासी उत्साहित थिए । जिल्ला सभापतिहरु पनि विमर्श गर्दै थिए र त्यसमा महत्वपूर्ण भूमिका चितवन तथा वर्दियाका सभापतिहरु खेल्दै हुनुहुन्थ्यो । 

अस्वभाविक ढंगले विजय गच्छदारलाई यस प्रक्रियामा तान्न लगाइयो । शायद उनका लागि यो घटना रुनु न हाँस्नु बनाइयो । यस घटनामा विजय गच्छदारको जीवनमा ठूलो पाठ सिकाई होला ।

यसका बावजूद अस्वभाविक ढंगले विजय गच्छदारलाई यस प्रक्रियामा तान्न लगाइयो । शायद उनका लागि यो घटना रुनु न हाँस्नु बनाइयो । यस घटनामा विजय गच्छदारको जीवनमा ठूलो पाठ सिकाई होला । मंगलबारको दिन थियो र संकट मोचनका लागि विजय दाइले जे निर्णय दिनुहुन्छ मान्छौं पनि  भन्ने अनि मेरो मतमा सहमति चाहिन्छ भन्ने दवाव पनि बढाइ राख्ने कामले असहज परिस्थिति भोग्न बाध्य उनले अन्ततः एउटा निर्णय सुनाए । अध्यक्षका तीन दावेदार देवीप्रसाद चौधरी, प्रेमीलाल चौधरी र मिनराज चौधरीमध्य अध्यक्ष प्रेमीलाल चौधरी, वरिष्ठ उपाध्यक्ष देवीप्रसाद चौधरी तथा महामन्त्री मिनराज चौधरी । 

गच्छदार प्रस्तावको अनुमोदन थाकसका पूर्व अध्यक्ष नरेन्द्र चौधरी, नेपाली काँगे्रसका नेताहरु उमाकान्त चौधरी, तेजुलाल चौधरी, पद्म नारायण चौधरी, रामजनम चौधरी, डा गोपाल दहित, डिल्लीबहादुर चौधरी, योगेन्द्र चौधरी, जनकराज चौधरी तथा किशोर सिंह राठौर सम्मले गरेको बुझियो । तर यसको जस अपजस लिन तयार भएका विजय गच्छदार भविष्यमा थारू कल्याणकारिणी सभामा फस्टाएको तदर्थवाद अन्त्यका खातिर जिम्मेवारी बोक्ने कि न बोक्ने ? थारू कल्याणकारिणी सभालाई आफ्नो नेता छान्ने स्वायत्तता उपर धावा बोल्दा ऐयासमेत भन्न नपाएका केन्द्रीय पार्षदहरुको संरक्षण विजय दाइको निर्णय अनुमोदन गर्ने अन्य व्यक्तित्वहरु गर्न तयार हुने कि हुने ? के यी सबका लागि भविष्यमा जयनेपाल दाइ भन्दै उनीहरुका घरदैलोमा चाकरी बजाउनु पर्ने भयो त ? सवाल विचारणीय छ । 

आफूलाई कलाकार, पत्रकार, साहित्यकार, संगीतकार, खेलाडी तथा समाजसेवी भनी चिनारी दिएर रेशम चौधरीले समेत तीन पृष्ठमा उल्लेख भएका ६ बुँदामा समेटिएका पत्र बाँडे । आफ्नो भूमिका देखाउन उनले केही नीतिगत विषय उठाउन जरुरी ठानी त्यो पत्र हात हातमा बाँडेका होलान् । तर, अपेक्षा गरेको प्रतिक्रिया प्राप्त गर्न नसक्दा उनी फर्किए । यो महाधिवेशनमा उपस्थित सहभागीहरु माझ बाँडिएका उनका सन्देश महत्वहीन ठहर भए पनि थाकस राजनीतिक छाँयाबाट टाढा रहनुपर्ने उनका सुझाव धेरैका लागि भजाउने वस्तु हुन पुग्यो । यसलाई सक्नेले भजाउलान् र नसक्नेले चुप बस्लान् अर्को २४औं महाधिवेशन कुर्दै । जवाफदेहिताको कसिमा सबै अयोग्य देखिएपछि आफ्नो कमजोरी ढाक्ने र अरुलाई खुइल्याउने त हो । परिस्थितिले थारू कल्याणकारिणी सभालाई प्रतिस्पर्धात्मक बनाउन रोकी राखे, जसले परिणाम दिने किसिमको योजनाबाट विमुख रह्यो । 

धोखाघडी तथा शक्तिको दुरुपयोग भएको छ । यथार्थमा दिशाहीन र प्रभावहीन वस्तु बन्ने यात्रामा चलिरहेका अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कुराले च्युरा भिज्नेवाला छैन । 

अब विस्तारै थारू सुमदायको माघ मनाउने चटारो देखा पर्ने होला । एकताको सन्देश प्राप्त गर्न माघ कुर्नुपर्ने त होइन होला । तर, धेरै आशावादी नबनौं, कारण यिनीहरुसंग एकताको सन्देश सुनाउने न त शब्द छन्, न हिम्मत । जुन जगमा उनीहरु एकता स्थापित गर्न खोजे, त्यो पाखण्ड ठहर हुँदैछ । धोखाघडी तथा शक्तिको दुरुपयोग भएको छ । यथार्थमा दिशाहीन र प्रभावहीन वस्तु बन्ने यात्रामा चलिरहेका अगुवा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कुराले च्युरा भिज्नेवाला छैन । 

तर्क जेसुकै गरुन् तर परिणाम निकाल्न सकिएन भने त्यो तर्क गफाडीको गफ मात्र बुझिन्छ । भनिन्छ “गफाडीके गाईर में गाछ जन्मल त कहैछै हम छहाइरे में चियै ।” अर्थात् एकता सन्देशको नयाँ आधार तय भएन भने नवनिर्वाचित केन्द्रीय कार्यसमिति स्वार्थीहरुको झुण्ड बन्ने खतरा यथावत छ । निर्णयकर्ता तथा त्यसलाई अनुमोदन गर्ने स्वनामधारीहरु गाँठो कसेका हुन् कि फुकाएका हुन् ? जवाफ उहाँहरुसंग मागिने छैन, बरु कार्यसमितिका अध्यक्षलगायत सदस्यहरुको कार्यशैलीमार्फत् प्राप्त गर्न चाहन्छन् । भविष्यमा पुरानै नियती दोहरिने सम्भावना बलियो देख्छु म, कारण एकतापश्चात संघर्षको यात्रा शुरु हुनुपर्ने हो । यहाँ संघर्षसंग भयभित हुने र संघर्षको काउण्टर मोडेल थाहा नपाएका समाजसुधारक संस्थाको नेतृत्व हात पारेपछि पुग्यो त । बाँकी भोट बैंक भएर त बस्ने हुन् । 

भजनमण्डली एकताको गीत गाउनुहोला तर मेरो पक्षधरता कायम रहनेछ । तटस्थ बस्ने मेरो राजनीतिक कर्म होइन । थारू कल्याणकारिणी सभामा राजनीतिको छाँया परेकै ह । यहाँ स्वायत्तता कमजोर बनाएपछि निर्णय प्रक्रिया अब कसरी छिटो छिटो सम्भव छ ? सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी नारामा सीमित रहे हालै देखा परेको अविश्वास थप संकट ल्याउने हुन्छ, जसलाई आत्मआलोचना मार्फत् कम गर्न विजय दाइ लगायतका स्वनामधारीहरुले पहल लिनुपर्ने थियो । 

अविश्वासको माहोल न्यून बनाउन एकताको गाँठो कस्ने ती सम्मानित व्यक्तित्वहरु जब हामीलाई भोट बैंकमा परिणत गर्न हिम्मत गर्दै आए, त्यसबखत सचेत धक्का दिने तागत किन सञ्चय गर्न असफल हुँदैछौं ?

यो सत्य हो कि विजय दाइहरुको शक्ति र सम्बन्धको अगाडि हाम्रो केही जोड चलेन । तर फेरि पनि हामी सम्मान खोज्दै हिँड्नेभन्दा पनि परिणाम खोजी गर्ने भएकाले साधन अर्को चयन गर्न सक्छौं । यही थारू कल्याणकारिणी सभा सबै समस्याको हल हिजो पनि मानिएको होइन र भविष्यमा पनि त्यस्तो बुझाई हुनेछैन । 

अन्त्यमा, थाकसका पूर्व अध्यक्ष नरेन्द्र चौधरी, विजय दादा लगायत सबैको गच्छेअनुसार सम्मान हुनुपर्छ । सम्बन्धित ठाउँमा उहाँहरु सम्मानयोग्य हो र जीवनका उतार चढाव पार गर्दै अनुभव बटुल्नु भएकै छ । ती अनुभव र शक्ति–सम्बन्धलाई उचित प्रयोग गरे थारू कल्याणकारिणी सभालाई कुनै हानी नभएको स्वीकार्न सकिन्छ । यहाँ बन्धक बनाउनैपर्ने अवस्था कसरी र कसले सिर्जना गर्यो ? सवाल यो हो । डिगनिटी र सामाजिक न्यायका खातिर लडेको बताउनेहरु आफ्नो स्वायत्तता गुमाउदै गर्दा किन आवाज दिएनन् भन्ने हो । नङ्गा नाच देखाएर एकताको सन्देश कसरी जन जनमा पुर्याउन सकिन्छ भन्ने नैतिक प्रश्न छ । अविश्वासको माहोल न्यून बनाउन एकताको गाँठो कस्ने ती सम्मानित व्यक्तित्वहरु जब हामीलाई भोट बैंकमा परिणत गर्न हिम्मत गर्दै आए, त्यसबखत सचेत धक्का दिने तागत किन सञ्चय गर्न असफल हुँदैछौं ? यसरी झोले त बनाए बनाए, साथै गुनासो गर्ने ठाउँ पनि बाँकी राखेनन् ।
 

प्रकाशित:

८६ दिन अगाडि

|

५ मंसिर २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८५७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

८९१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९०१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८५६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८०५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८६१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

७९४ दिन अगाडि

|

२७ मंसिर २०७९