विजय कुमार
गएको आइतबारको कुरा हो । हामीले गाडी रोक्यौ । नाम अमृता पुन रहेछ । उनको दोकानको नाम चाही मेरै लागी राखिएको जस्तो लाग्यो - ‘ पर्खाई हजुरको कटेज ’ ।
' के यहा वरिपरि ४० बर्ष अघि देखी बसेको कोही छ ? भेटन चाहन्छु । सडक बनाउने क्याम्प थियो नि यहा ! म बस्थे त्यसमा ! '
' सप्पै मरिसके । म यहा सरेको ३० बर्ष भयो । सुनेको त छु , ठूलो क्याम्पा थियो रे यहा ! तर त्यसमा लोकल मान्छे त धेरै थोरै थिए । पांच सात घर त हो उबेला । सप्पै मरिसके । '
अमृता पुनले भावसुन्य मुद्रामा ‘सप्पै मरिसके’ भनिरहदा म अतितमा फर्किए ।
४ दसक अघि पुल्चोक क्याम्पसमा पढाई सकेर , म यो ठांउ केही महिना बसेको थिए । मसोट खोला । त्यस बखत यहा ५ , ७ झोपडी थिए । गाई भैसीका गोठ थिए । जंगल थियो । अरु केही थिएन ।
लमही- तुल्सीपुर सडक निर्माण गर्न हामीहरु आए पछी , यो अन्कन्टार जंगल गुल्जार भयो ।
मसोट खोलामा मेरो बसाई लम्बाईका हिसाबले छोटै हो । तर मनमा धेरै गहिरो बसेको छ यहा बिताएको ती चार पांच महिनाको छाप ।
हुन त आज पनि त्याहा खासै केही छैन , मसोट खोलाको पुल छेउ दुई चार घर । जंगल । उहिले हामी बसेको ठाउमा क्याम्प थियो रे भन्ने कथा बाहेक केही बाकी छैन आज .. तर पनि म नोस्टाल्जिक हुन्छु .. जीवन भनेको सम्झना नै सम्झनाले बनेको माला बाहेक के पो हो र !
मसोट खोलासंग मेरो सम्बन्ध लामो होइन , जम्मा ४ , ५ महिना हो । तर मान्छेको सम्बन्ध र उस्ले बिताएको समयको महत्वको मापन त्यसको लम्बाईबाट होइन , गहराइबाट हुन्छ । मसोट छोडेको बर्षौ पछी मैले आफ्नो पहिलो किताब 'खुसी' मा यसरी लेखे :
‘ मैले मदिरा पिउन सुरू गरें, दाङको मसोट खोलामा । त्यो खोलाछेउको बसाइ मेरो जीवनमा परिवारबाहिरको पहिलो एक्लो बसाइ थियो । सडक बनाउन त्यहाँ एउटा ठूलै क्याम्प बसेको थियो । उडिसाबाट ल्याइएका आदिवासी मजदुर थिए । बलिष्ठ शरीर, कालो रङ, ज्यादै खट्न सक्ने ।
रोल्पा रूकुमबाट आएका मजदुर, ठेकेदारका मान्छे, सडक विभाग र कन्सल्टैन्टका इन्जिनियर, ओभरसियर । ठूलै मेला थियो मसोट खोलामा । त्यहाँ साँझ पर्नेबित्तिकै प्रायः सबैले मद्यपान थाल्थे ।
मजदुरहरु मादल बजाउँदै, नाच्दै, आफैंले बनाएको ‘लोकल’ तान्थे । जुनेली रातमा निलो आकाशलाई साक्षी राखेर निर्भय, निसङ्कोच र मदमस्त तरिकाले जब उडिया आदिवासीहरु मादलको तालमा बगरको सेतो बालुवामाथि नाच्थे, एक दुर्लभ दृश्य बन्थ्यो ।
सुनसान जङ्गल, जुनेली रात, सेतो बगरको पृष्ठभूमि, घन्किरहेको मादलमा मिश्रित खोलाको आवाज, मदिराले मस्त सुगठित शरीरका कालाकाला महिला र पुरूष आदिवासीको उन्मत्त नृत्य ! वाह, क्या दृश्य थियो ! हलिउड फिल्ममा देखाइने अफ्रिकाको नजाराजस्तो !
मसोट क्याम्पमा प्रायः सबै मापसे गर्थे । पिउने ब्रान्ड र स्थान मात्र फरक थियो । हामी साबहरुचाहिँ प्रायः कोठामै र कहिलेकाहीँ बरन्डामा बसेर छ्याङ वा बियर खान्थ्यौं ।
मसोट खोला गर्मी ठाउँ थियो, बिजुली थिएन । तैपनि हामीसित छ्याङ र बियरलाई चिसो पार्ने जुक्ति थियो ।
हामी छ्याङ वा बियरको सिसीलाई मसोट खोलाको बगरमा खाल्डो खनेर बालुवाले पुरेर छाडिदिन्थ्यौं । बगिरहेको खोलाछेउ बालुवामा पुरिएका ती सिसी दुईतीन दिनपछि झिक्दा पूरै ‘चिल्ड’ भइसक्थे … ‘ ( खुसी , पृ २२ )
अघिल्लो आइतवारको कुरा हो , म मसोट खोला पुल छेउ रोकिए , अमृता पुनलाई भेटे । मसोट खोलामा पानी धेरै घटेको महसुस भयो । तर मेरो मनमा संम्झनाको बाढी आउदै थियो …
त्यो कच्ची बाटो जहा ट्याक्टर वा ‘फोर व्हिल’ बाहेक अरु गाडी चल्न सक्दैनथे , बर्खामा त्यो पनि मुश्किल … आज पिच रोडमा ससाना कार कुदेको देख्दा खुसी लाग्यो । सम्झे ती दिन जब हामी , रोड डिजाइन पेपर बोकेर भीरहरुमा चिनो लगाउथ्यौ …
पहिला गाउमा मान्छे धेरै थिए , बिकास थिएन । अहिले गाउमा थोरबहुत सुविधा छ , तर मान्छे धेरै छैनन । मसोट खोलाबाट ३० मिनेटमा घोराही पुगियो । करिब ४० बर्ष मैले त्यही दुरी , पौने चार घन्टामा पुरा गरेको थिए - ‘११ नम्बर’ को गाडी चढेर ।
केही दिन अघि घोराहीको झिलिमिलि देखेर मैले पत्याउन सकिन – यो त्यही घोराही हो , जहा हामी मसोटबाट हिडेर आउनेजाने गर्थ्यौ । त्यो बेलासम्म नेपालीहरु ट्रेकिङ हाइकिङ गर्दैनथे । काम परे ‘११ नम्बर’ गर्थे ।
घोराही बजारमा युवा लालबहादुर मगरले मसंग ‘सेल्फी’ मागे । उनी त्यही रात , घोराही छोडेर काठमान्डौ जाने नाइट बस समात्ने चटारोमा रहेछन । उनको भिसा लागेको छ रे !
‘ विजय सर म हिजो रोल्पाबाट यहा आए । आज निस्कदैछु यहाबाट । तपाई कहासम्म ? ‘
‘ म चाही ४० बर्ष अघि हिडेका गोरेटा खोज्दैछु । जिवन र जगत कहासम्म पुगेछ भनेर हेर्दैछु , मनमनै सोच्दैछु .. जीवन बुझ्न पछाडी फर्कनु पर्छ । तर जीवन बाच्न अगाडी हेर्नु पर्छ । ‘
‘ विजय सर जीवन बुझ्न बढता जरुरी छ कि जीवन बाच्न जरुरी छ ? ‘
‘ दुबै जरुरी छन , आआफ्नो उमेर र अवस्था अनुसार ! ‘
‘ एउटा छान्नु परे के छान्नु हुन्छ सर ? ‘
‘ अहिले ठ्याक्कै भन्न सकिएन यार ! म भोली स्वर्गद्वारी मंदीर जादैछु । पहिला हिडेर गएको थिए , यस पटक मोटरमा जादैछु । हिडेर जानु र गुडेर जानुबिचको अनुभव गर्न चाहन्छु । तपाईको यात्रा शुभहोस साथी । ‘
‘ विजय सरको यात्रा पनि शुभ होस !'
विजय कुमारको ट्वीटरबाट
https://x.com/Vijaykumarko/status/1880227602335691008
प्रकाशित:
३६ दिन अगाडि
|
१ फागुन २०८१
१ घण्टा अगाडि
|
७ चैत २०८१
८ दिन अगाडि
|
२९ फागुन २०८१
११ दिन अगाडि
|
२६ फागुन २०८१
१२ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९