रामपुर (कैलाली) ।
गुलयारी फँटुवा । मानववस्ती भन्दा पर, चारैतिर घना जंगलले घेरिएको । बर्खामा धान तथा हिउँदमा गहुँ र मसुरो, तेलहन बालीले ढपक्क ढाकिन्छ । सुन्दर र शान्त लाग्छ । तर गुलयारीको त्यो शान्त स्वरुपभित्र कान थाप्दा मीठो निद्रामा रंगीन सपना सजाइरहेका स्थानीय निर्दोष र भूमिहीन गरीब किसानहरुको चित्कार आउँछ ।
यो परिदृष्य कैलालीको कैलारी गाउँपालिका–७ स्थित त्यही गुलयारी अर्थात् गोलो आकारमा फैलिएको पूर्व प्रधानमन्त्री डा. केआई. सिंह (कुँवर इन्द्र जीत शाही)को विर्तावाल मैदानी ईलाकाको हो ।
कैलारी गाउँपालिका–७ रामपुरका बुद्धिजीवी रामकुमार चौधरी भन्छन्,‘गुलयारीलाई मात्रै होइन, शासकहरुले शोषित पीडित, निमुखा किसानको पसिनालाई आफ्नो विर्ता ठाने । निहत्था, सोझो किसानको ज्यानलाई पनि आफ्नो विर्ता माने, मनलाग्दी मुला काटेझै काटे ।’
रामपुर गाउँ
रामपुरकै फूलराम चौधरीको दिमागमा २०५९ जेठको त्यो रातको घटना आज पनि ताजै छ । तर गते भने थम्याउन उनलाई अलि गाह्रो भयो । भन्छन्, ‘जेठ १५या १७ गते रातीको घटना हो, त्यो मेरो जीवनको मात्रै नभई रामपुर र वसन्तावासीकै कालो रात थियो त्यो ।’
माओवादीको रिस किसानमाथि
२०५९ ताका तत्कालीन माओवादीको जनयुद्ध चरम उत्कर्षमा थियो । जमिनदारहरुका भएभरका जग्गा माओवादीको कब्जामा थियो । माओवादीलाई दमन गर्न तत्कालीन सरकारले शाही नेपाली सेना परिचालन गरेको थियो। गुलयारी फँटुवा पनि माओवादीकै कब्जामा करिब १० वर्षसम्म कब्जा कायमै थियो ।
यस परिस्थितिमा भारतको लखिमपुर जिल्लाको सिङ्हाईमा रहेका विर्तावाल सिंहका छोराहरुको आक्रोशको सीमा रहेन । आफ्नो बुवाले विर्तामा पाएको जग्गा भोगचलन गर्न नपाउनु, उत्पादन भएको फसल माओवादीले किसानलाई बाँड्न थालेपछि उनीहरु आक्रोशित थिए । सिङ्हाईमा बस्दै आएका केआई सिंहका छोराहरु दर्जनौं गुण्डाका साथ हातहतियारसहित नेपाल प्रवेश गरे । राति १२ बजे रामपुर र वसन्ता गाउँमा आतंक मच्चाए ।
रामकुमार चौधरी उक्त रातको घटनाक्रम स्मरण गर्दै भन्छन्, ‘दिउँसो सेनाको डरले त्यो राती केही समय बरघरहरुको नेतृत्वमा भेला चल्यो । भेलापछि सबै आ–आफ्नो घर सुत्न गए । वस्ती पूरै मीठो निद्रामा थियो । पारिबाट हतियारधारी रामपुर र वसन्ता गाउँमा पसे । डाँका अइलै रेउ... भागो...। (डाँका आए भागौ) भन्दैमध्यराति कोलाहल, भागदौड, चित्कार एक्कासी सुरु भयो । मीठो निन्द्रामा रहेको वस्ती क्षणभरमै रोदन र चिच्याहटले त्राहिमाम भयो ।’
को–को मारिए ?
गहिरो निद्रामा रहेका रामपुरका स्थानीय खुशीराम चौधरीको घाँटी तरबारले मुला काटेझैं छिनाइयो । प्रेमलाल चौधरीको छाती र टाउकोमा बन्दुकको छर्राले प्वाल पर्यो । उता, बसन्ता गाउँका फूलरामका साइलो भाइ छुन्नुराम चौधरीको पनि घाँटी छिनाइयो । धेरै घाइते भए, लुटपाट भयो । माओवादीमाथिको भए भरको रिस गाउँलेमाथि खन्याइयो । फुलरामको ट्रेक्टर लगेर उज्यालो नहुँदै सीमा पार गरे । रामपुर र वसन्ता शोकमा डुब्यो ।
झिगिया देवी चौधरी
मृतक प्रेमलाल चौधरीकी श्रीमती लाइकदेवी चौधरी दुइ दशक अघिको सो दर्दनाक घटना आफ्नो परिवारको लागि अभिशाप बनेको बताउँछिन् । श्रीमान गुमाउनुको साथै आफूसहित ५ जना परिवारका सदस्यहरुको शरीरमा कहिलै नमेटिने खाटो बसेको उनको भनाइ छ ।
स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकासमेत रहेकी लाइक देवीले श्रीमानकाे मृत्यु दर्ता प्रमाणपत्र देखाउँदै विगत स्मरण गर्छिन्, ‘हामी जेठो मालिक (केआई सिहंको जेठो छोरा) को भागमा रहेको जग्गामाअधिया÷बटैया लगाउँथ्यो । संकटकालकै बेला थियो । धानको फसल तयार भएपछि माओवादीहरु आएर तिकुर (तीन भाग) भाग लगाउन उर्दी जारी गरे । हामी विवश भएर ३ भाग लगायौं । दुइ भाग हामीलाई राख्न लगाए ।एक भाग मालिकको लागि, तर मालिकको भाग पनि उनीहरु आफूहरुले नै लिएर गए ।
हिउँदको सिजन आयो । माओवादीले धान लगे पनि मालिकले गहुँ लगाउन अह्राए । गहुँ उत्पादन भएपछि मालिकलाई दियौं । बर्खा सिजनको तयारीमा लाग्यौं । धानको बेर्ना राखिसकेका थियौ । तर जेठ १७ गतेको रातीको घटनाले मेरो परिवार नै तहसनहस बनाइदियो ।’
छेदु चाैधरी
विगतको घटनाले भावविह्लल भएकी उनले अगाडिभनिन्, ‘जेठ १७ गते बेरी (बेलुका खाना) खाएर सुतेका थियौ । एक्कासी एक हुल मान्छे आएर मार्न थाले । गोली र खुकुरी जथाभावी प्रहार गर्न थाले । श्रीमानकाे छाती र टाउकोमा गोली चलाए । ओच्छ्यानमै मारिदिए । मेरो तल्लो पेटमा अनि बर्का छावा (जेठो छोरा) छेदु चौधरीको कम्मरमा खुकुरीले काटे । पटोहिया (बुहारी) प्रेमा चौधरीको नितम्व र हातमा गोली चलाए, हात भाँचिदिए । छोरी रीता चौधरीको गोडाको फिलामा खुकुरीले काटे र मेरी बहिनी (सौतेनी)लाई भाटाले हिर्काए ।’
लायकराम चाैधरी
गुलयारीको जग्गा मृतक खुशीराम चौधरीले पनि अधियामा जोत्दै आएका थिए । उनीसहित उनको परिवार पनि त्यो राति निशानामा पर्यो । खुशीराम चौधरीकी श्रीमती झिन्झिया र छोरा लाइकराम चौधरीलाई पनि घाइते बनाए ।
रामकुमार चौधरीका अनुसार ज्यान गुमाएकाहरु राजनीतिबाट बिल्कुलै बेखबर थिए । आफ्नै केही जग्गा र गुलयारीको जग्गा अधियामा खेती किसानी गरी जहान परिवारसँग रमाएका थिए ।
त्यो दिन ज्यान गुमाएका फुलरामका साइलो भाई वसन्ताका छुन्नुराम चौधरी त्यही गुलयारीको जग्गा भाडा लिने शर्तमा जोत्न भनी रामपुर पुगेका थिए । खेत जोतेर उनी त्यो राति रामपुरमै बास बसेका थिए । उनी पनि निशानामा परे र अनाहकमा ज्यान गुमाए । उनको टे«क्टर पनि लुटेर लगे ।
प्रेमा चौधरी
फूलरामको भाइको भर्खर मंगनी भएको थियो । उनको विहे तय हुन बाँकी नै थियो । डाँकाहरुले लुटपाटसँगै भाइको हत्या गरेपछि फूलरामको कान्छो भाइको विहे ज्यान गुमाएका छुन्नुरामको मंगनी भएकी युवतीसँग भयो ।
त्यो रात रामपुर र वसन्ताको लागि कालो राति थियो । जसको एउटै कारण हो, विर्तावाल गुलयारी फँटुवा । स्थानीयहरु न्यायको लागि गुहार गर्ने त्यसताका कुनै निकाय देखेनन् । सबै चुपचाप सहे ।
परिवार गुमाएपछि सबै माओवादी
रामकुमार अगाडि थप्छन्, ‘घटनावारे त्यो द्वन्द्वकालमा प्रहरीलाई खबर गरौं भने कसरी गरौं उतिबेला सेना, प्रहरीबाटै डर लाग्थ्यो । माओवादीको बिल्ला भिडाएर उल्टै कारवाही गर्ने पो हुन् कि भन्ने डर उत्तिकै थियो । माओवादीलाई सुनाउँ भने, माओवादी आफै विद्रोहमा थियो । रामपुर र वसन्ताले चुपचाप सबै अन्याय सहन गर्यो ।’
घटनापछि मुद्धा दर्ता गर्ने पक्षमा भएपनि आफूहरुलाई जबरजस्ती माओवादीको ट्याग लगाएको लाइक देवी दुःखेसो छ ।
‘म त मुद्धा हाल्ने विचारमा थिएँ । तर मुन्ना शाह नै धनगढी गएर आफूले आतंकारीहरुलाई (माओवादी) मारेको भन्ने हल्ला फिजायो । पछि हामीहरु निरीह भयौ । त्यो संकटकालमा सबै अन्याय सहेर बस्यौ ।’
आफूहरु माओवादी नभएपनि सो घटनामा मारिने आफ्नो श्रीमानसहित तीनै जनालाई माओवादी भन्न थालिएको लाइक देवी सुनाउँछिन् ।
त्यतिमात्रै होइन, त्यो घटनापूर्व केआई सिंहका छोराहरुको अत्याचार पटक–पटक पोखिएको स्थानीय बताउँछन् । उनीहरुको अत्याचार, यातनाका सिकार भएका स्थानीयहरु पञ्चायतकालदेखि आजसम्म उनीहरुको नाम सुनेर त्रसिने गरेको कैलारी गाउँपालिका–७ का पूर्व वडाध्यक्ष कमल चौधरी बताउँछन् ।
पूर्व वडाध्यक्ष चौधरी भन्छन्, ‘उनीहरूको अत्याचार यति बढेको थियो कि उनीहरूले जग्गा मात्रै आफ्नो बिर्ता ठानेनन्, किसानको रगत, पसिना र चेलीहरूको इज्जत समेत आफ्नो बिर्ता माने । उनीहरूको नामै सुनेर मानिसहरू तर्सिन्थे । आज पनि भित्री मनमा त्रास उत्तिकै छ ।’
पूर्व सांसद समेत रहेका केआई सिंहका कान्छा छोरा यज्ञजीत शाहले आफू तथा आफ्नो परिवारमाथि मिथ्या र निराधार आरोप लगाएको बताउँछन् । दाजुहरू भारतमा बसे पनि आफू पहिल्यैदेखि भैरहवा बस्दै आएकाले घटनाबारे धेरै कुरा जानकारी नभएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘कुरा दुइ दशक अघिको हो । माओवादीहरू सत्तामा आइसके । म पनि प्रचण्ड अध्यक्ष भएको पार्टीको सदस्य हो । हामीले त्यो बेला धेरै पीडा खेप्यौं । पहिले जे–जस्तो भए पनि पुराना कुरालाई बिर्सेर जानुपर्छ । अबको समय मेलमिलापको हो । विकास र सुशासनको हो । त्यो बेला उसले यस्तो उस्तो गर्यो भनेर कुरा गर्नु उचित छैन । अंग्रेजीमा भन्छन् नि ‘फरगिभ एन्ड फरगेट’ ।
गुलयारीमा डा. केआई सिंहको नजर किन ?
डोटीको डुम्राकोटमा जन्मेका डा. केआई सिंह नेपालको इतिहासमा विद्रोही स्वभावका नेताको रुपमा मानिन्छन् । डोटेली राजाको हिउँदे महिनामा बस्ने ठाउँ भारतको लखिमपुर जिल्लाको सिङ्हाईमा सिंहलाई ८ वर्षको कलिलै उमेरमा लगिएको थियो । सिङ्हाईमै उनले प्राथमिक शिक्षा हासिल गरे भने बलरामपुर, लखनउ र गोन्डामा बसेर माविसम्मको शिक्षा आर्जन गरेका थिए ।
उनी परिवारसँगै बर्मा पुगेका थिए । बर्मामै उनले आयुर्वेदसम्बन्धि अध्ययन गरे । चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले उनलाई डाक्टर भनियो । उनले त्यही आधारमा आफ्नो नाम डा. केआई सिंह लेख्न थालेको विकिपिडियामा उल्लेख छ ।
उनले राजालाई आफ्नो कामबाट खुशी पारेको बताइन्छ । एकताका राजा महेन्द्र स्वदेश बाहिर गएको बेला उनैले देशको कार्यभार सम्हालेको बताइन्छ ।
फर्केपछि राजाले उनको कामबाट खुशी भई ‘तिमी के लिन्छौ ?’ भनेर सोध्दा उनले जग्गा लिन्छु भनेका थिए । राजाले उनलाई हेलिकप्टरमा बसाएर जग्गा हेर्न ल्याएको र उनले कञ्चनपुरको शुक्लाफाँटा, कैलालीको गुलयारीफाँटासहित स्थान देखाएका थिए । जसमध्ये उनलाई गुलयारी फँटुवा मन परेको बताइन्छ ।
गुलयारी फँटुवा र उनको बाल्यकाल बितेको भारतको सिङ्हार्ईबीचको दूरी ३०–३५ किलोमिटर रहेकाले मन पर्नुको मुख्यकारण रहेको स्थानीय बताउँछन् । करीब ४० विघा क्षेत्रफलमा वसन्ता वन क्षेत्रमा फैलिएको गुलयारी फँटुवालाई राजा महेन्द्रले बिर्तामा प्रदान गरे । तर दर्ता भने जम्मा ३० विघा मात्र रहेको पाइएको छ ।
सशस्त्र द्वन्द्वकालमा बिर्तावाल जग्गा माओवादीको नियन्त्रणमा थियो । माओवादी शान्ति प्रक्रिया आएपछि पुनः त्यो जग्गाको भोगचलन केआई सिंहका पुस्ताबाट हुँदै आएको छ । कैलारी गाउँपालिका–७ वडा कार्यालयको तथ्याङ्कअनुसार सो जग्गा हाल ३ जनाको नाममा दर्ता भएको छ ।
केआई सिंहका ३ छोराहरू यज्ञजीत शाह, मुन्ना शाह र चोलाजीत (शिउ कुमार) शाहको नाममा जग्गा दर्ता छ । यज्ञजीत शाह भैरहवाबाट निर्वाचित पूर्व सांसद समेत हुन् । मुन्ना शाह र चोलाजीत शाह भने भारतको सिङ्हार्ईमा बस्दै आएका छन् ।
रामपुर र वसन्ता घटनापछि सो जग्गा भाडामा दिइएको छ । घटनापछि भने शाह दाजुभाइ आउन छोडेको स्थानीय बताउँछन् । जग्गाबापत आउने भाडा रकम कोही सिङ्हार्ई त कोही काठमाडौं पुर्याउँदै आएका छन् । यद्यपि मोलपोत रकम भने सिंहका नाति पुुस्ताले दाखिला गर्दै आएको वडा कार्यालयले जनाएको छ ।
हाल हुलाकी राजमार्ग विस्तार भएकोसो जग्गा धनगढी–टीकापुर खण्डमा पर्छ । कैलालीको हसुलिया बजारदेखि करीब ८ किलोमिटर दक्षिण–पूर्वी दिशामा गुलयारी फँटुवा छ ।
प्रकाशित:
७४४ दिन अगाडि
|
२१ भदौ २०७९
१६ घण्टा अगाडि
|
३ असोज २०८१
१७ घण्टा अगाडि
|
३ असोज २०८१
२ दिन अगाडि
|
१ असोज २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
१२ दिन अगाडि
|
२३ भदौ २०८१
१३ दिन अगाडि
|
२२ भदौ २०८१
७१० दिन अगाडि
|
२५ असोज २०७९
७४४ दिन अगाडि
|
२१ भदौ २०७९
७५४ दिन अगाडि
|
१२ भदौ २०७९
७०९ दिन अगाडि
|
२६ असोज २०७९
६५८ दिन अगाडि
|
१५ मंसिर २०७९
७१४ दिन अगाडि
|
२० असोज २०७९
६४७ दिन अगाडि
|
२७ मंसिर २०७९