मदहा गाउँ

मदहा गाउँ

३४ दिन अगाडि

|

२६ चैत २०८१

सहिद टिमाइ माझी थारूलाई सम्झिदा

सहिद टिमाइ माझी थारूलाई सम्झिदा

४६ दिन अगाडि

|

१४ चैत २०८१

सहिद टिमाइ माझी थारूको जन्म बिसं १९९५ मा भएको थियो ।साविक सिमरिया पंचायत–५, बालकुण्ड सिमरियाका स्थायी बासिन्दा उनको परिवार हाल दुहवी नपा–१० मा बसोबास गर्छ । उनको पिताको नाम सुमृत र आमाको तेतेरी थरूनी थियो । टिमाइकी श्रीमति आशोदेवी थरूनी थिइन् भने दाजु उकाइ माझी थिए  । टिमाइका छोराहरु जेठा बेचनलाल माझी, माहिला लघुराम माझी र कान्छा दुखाराम माझी हुन् । लघुराम माझी २०७४ को स्थानीय निर्वाचनमा दुहवी नपा वडा नं १० का वडाध्यक्ष निर्वाचित भएका थिए । यो विवरण उनैसंग लिइएको हो । टिमाइ माझी घरायसी लेखपढ गरेका व्यक्ति थिए । २०२५ सालमा सिमरिया पंचायतका प्रधानपञ्च बुद्धिमान खड्गी र वडा नं ५ का वडाध्यक्ष टिमाइ माझी थिए । गाउँफर्क राष्ट्रिय अभियानले आफ्नो गाउँको विकास आफै गरौं भन्ने नारा थियो ।  बालकुण्ड सिमरिया टोल ढाव (पानी जम्ने खोल्सा) भएकाले सिमरिया ढावीटोलको नामले चिनिन्छ । बाटोघाटोको राम्रो व्यवस्था थिएन ।  दुहवी इनरुवा मुल सडकसम्म पुग्न घुमाउरो बाटो भएर हिँडनु पर्दथ्यो। बर्षात्को बेला ढावखोलामा पानी जमेपछि छिमेकी टोलसम्म सम्पर्क बिच्छेद हुन्थ्यो। मानिस हिँड्न सिधा खेतको आली हुंदै मुल सडकमा निस्किनु पर्दथ्यो। धान काटेर खेत खाली भएको बेला खेतबाट नै मेगर (गोरूगाडा हिँड्ने बाटो) बनाएर सिधा मुल सडकमा निस्किनु पर्ने बाध्यता थियो ।  टिमाइ माझीको ठुलो बिसघरा (बैठक घर) थियो। त्यहाँ दिउँसो खाना पछि र बेलुका खाना पछि हुक्का तमाखु खान र मनोरञ्जनका लागि पासा खेल्न गाउँलेहरु जम्मा हुन्थे । त्यसै क्रममा गाउँका अवस्था र सुधारको छलफल तथा गाउँमा हुने सानातिना झैझगडाका पंचेती, बैठकीहरु हुन्थ्यो ।                                                                                                                                                                         लेखक रामसागर चौधरी बाटोको समस्या भएकाले सबै गाउँले मिलेर बाटो बनाऔं भनेर सुझाव आए । मुल सडकसम्म पुग्न वडा नं ३ र ५ का जग्गा धनीलगायत सबैको सुविधा हुने भएकाले सबैले चौडा (करिब २५, ३० फिट) बाटो खन्ने सहमति भयो । गाउँफर्क अभियानले उत्साहित भएका गाउँलेको अगुवाइ टिमाइले गरे । गाउँलेहरुले मुल सडकदेखि जनश्रमदान गरेर बाटो खन्दै गए । सहमति बमोजिम बाटोका लागि जग्गा पनि छोडी दिए । जनश्रमदान गर्दै जाँदा टोल छेउमा पुग्न लागेकाले अरु गाउँका मानिसहरू भन्दा पनि अब सोही टोलकाले बाटो खन्ने सहमति भयो । थारु समुदायमा हप्तामा एक दिन हलो नजोत्ने बार्ने (छुट्टी) राख्ने चलन छ । त्यस गाउँमा शनिबार बार्ने दिन भएकाले बाटोघाटो मर्मत गर्ने, बाँध पैनी सफा गर्ने, सार्वजिनक काम गर्ने दिन थियो । जेठ महिनाको शनिवार जनश्रमदान गर्न जुटेका मानिसहरुको बाटो खनिरहेका बेला टिमाइका दाजु उकाइ माझीलाई एक्कासी छरू चौधरीले तरवार प्रहार गरे । उनको पाखुरामा लागेकाले ढले । छेउमै रहेका भाइ टिमाइ माझीले दाजुलाई बचाउन, छरु चौधरी लाई रोक्न खोज्दा तरवारले टाउकाकोमा नै हानेकाले उनको प्राण गयो । टिमाइ र छरू चौधरी असल छिमेकी थिए । त्यसो त अहिले पनि दुवै परिवारमा असल सम्बन्ध छ । फुर्सदको समयमा दुबै परिवार टिमाइको बसघरामा आएर हुक्का तमाखु खाने सुखदुखको कुरा गर्ने, पासा खेल्ने गर्दथे । यस दुःखद घटनामा दुवै परिवार दुःखी भए । पक्राउ परेका छरू चौधरीको काराबासमै निधन भयो । पछि सबै गाउँले मिलेर उब्त बाटो टिमाइ मार्ग नामकरण गरे । २०३८ सालमा राजा वीरेन्द्र पूर्वाञ्चल सवारी हुँदा इनरुवाको आमसभामा सहिद पत्नी श्रीमती आशोदेवी थरूनीलाई नगद रू ५००० सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसबखत सुनसरीका होमबहादुर श्रेष्ठ गृहमन्त्री थिए ।  सहिद टिमाइका बारेमा लिखित दस्तावेज भेटिदैन । उनका छोरा लघुराम माझी वडाध्यक्ष हुँदाको समयमा सहिद टिमाइ मार्ग प्रवेशद्वार बनाएका हुन् । यही प्रवेशद्वारले नै सहिद टिमाइ माझीलाई सम्झना गराउँदै छ ।

आत्महत्या गर्नेहरूको पीडा कहिले बुझ्ने सरकार

आत्महत्या गर्नेहरूको पीडा कहिले बुझ्ने सरकार

५१ दिन अगाडि

|

१० चैत २०८१

अनत चौधरी आत्महत्या गरी ज्याउन गुमाउने परिवारको पीडा बुझ्ने प्रयास गर सरकार । मानव प्राणीको जन्मपछि मृत्यू ध्रुसत्य कुरा हो । तर, अकालगतिमा भएको मृत्यूको प्रभाव ती परिवारका लागि कति पीडादायी छ, मापन गर्न गाह्रो छ । सायद यही भएर होला वर्तमान नेपालको संविधानले संविधान प्रदत्त मौलिक हकको रुपमा बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । साथै जानी जानी आफैले आफैलाई मार्ने वा मर्न प्रयास गर्ने वा मर्न दुरुत्साहन गर्ने कुरालाई अपराध घोषित गरेको छ । यद्यपि, हकको सुनिश्चितता र अपराधको रुपमा व्यवस्था गरेर मात्रै पुग्दैन सरकार । मैले यहाँनिर के विषय प्रसङ्गसंग जोड्न चाहन्छु भने बर्षेनी आत्महत्या गरेर अमूल्य जीवन विताएका ती व्यक्तिका परिवारहरुको पीडादायी घटनामा ।  म प्रसङ्गलाई आफ्नै वुवा गुमाउँदाको पीडाबाट शुरु गर्न चाहन्छु । घटना २०६७ साल कार्तिक महिनाको अन्तिम तिरको हो । अकस्मात, घरबाट एकाविहानै दाइको फोन आउँछ, फोन उठाउने वित्तिकै हतारिदै जसरी पनि घर आउनु, तँ घर नआई हुँदैन । मैले जवाफ फर्काउन नपाउँदै फोन राख्नु भयो ।  मनभरि अनेक कुरा खेलाउँदै ३ घण्टाको साईकल यात्रापछि घर नपुग्दै घर नजिक वरिपरि मान्छेको भीड, रुवाबासी आदि । सत्य कुरा त बाबाले आत्महत्या गर्नु भएछ । एकछिन म शुन्य भएँ । यो घट्ना सत्य हो कि होइन, मन दिग्भ्रमित भयो । तर जे नहुनु पर्ने थियो, त्यो भइसकेको थियो । त्यसपछि प्रहरी आए, मुचुल्का उठाए । पोष्टमार्टमका लागि धनगढी पठाए । जिल्ला प्रहरी कार्यालयमा घटना दर्ता गराए । प्रहरीबाट गन्यमान्यको बयान लिए । परिवारको सदस्यको बयान लिए । फाइल खडा गरियो । अन्तमा, मेरो समुदायको धार्मिक परम्पराअनुसार सद्गत गरियो । सरकारी काम सकियो । यसरी बर्षेनी हजारौँको संख्यामा फाइल खडा भईरहेका छन् ।  त्यसपछिका दिनमा म मेरो परिवारमा कहिल्यै खुशीयाली आएको देखिन, महसुस गरिन । अझ मेरी आमाको आँखामा कहिल्यै खुशी देखिन, उल्टै विभिन्न रोगल हुनु परे थला हुनु परेको छ । मैले कहिल्यै कुनै सरकारका प्रतिनिधि आएर मेरो आमाको घाउमा मल्हम पट्टी लगाउन आएको देखिन । म जस्तै हजारौँ संख्यामा अभिभावक गुमाएका छोराछोरीहरु यस्तो पीडाबाट गुज्रिरहेका होलान् । मन भित्र पीडा गुम्साएर राखिरहेका होलान् । तर ती पीडित व्यक्तिका पीडामा मल्हम पट्टी लगाउने खालको नीति, कार्यक्रम कहिले आउँछ सरकार ? मेरो देशमा बर्षेनी हजारौँको संख्यामा आत्महत्याबाट व्यक्तिहरुले ज्यान गुमाई रहेका छन । ती व्यक्तिहरुले आत्महत्या गरेर ज्यान गुमाउँदै गर्दा ती परिवारका सदस्यहरुमा परेको असर बारेमा कहिले सोच्ने सरकार ? मेरो प्रश्न छ ।  विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसन्धानले आत्महत्या गर्ने परिवारको सदस्यहरुमा आत्महत्या गर्ने अरु व्यक्तिको तुलनामा जोखिम बढी हुन्छ अरे । तर खै त सरकार ती परिवारको सदस्यहरुको मनको घाउ मेटाउने खालको नीति, कार्यक्रम ? सरकार, मैले सुनेको छु, तपाईसंग राष्ट्रिय मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना २०७७ छ । विभिन्न प्रदेशमा प्रदेशस्तरीय मानसिक स्वास्थ्य रणनीति तयार भएका छन् र हुँदैछन अरे ।  तीनै तहको सरकारसंग अनुरोध छ, आत्महत्या गरेका व्यक्तिको संख्यालाई मात्रै नहेरौँ । ती आश्रित परिवारका सदस्यहरुको पीडा कम गर्ने खालको कार्ययोजना र कार्यक्रम बनोस् । आत्महत्या गर्ने कुरालाई अपराधको दायराभित्र मात्रै राखेर मात्रै नहेरियोस् । पीडितको कुरा सम्बोधन गर्न शुरुवात गरियोस् ।  अनि मात्र वर्तमान संविधानले व्यवस्था गरेको बाँच्न पाउने हक उपभोग भएको महसुस हुनेछ । पीडितको पीडा कम गर्ने प्रयास गरिए, ती परिवारमा खुशी आउनेछ । यसले आत्महत्याको जोखिम कम गर्न भूमिका खेल्नेछ । साथै ती परिवारको सदस्यहरुको गुणस्तरीय जीवनशैलीले गर्दा उत्पादकत्व बढ्ने छ । जसले समग्रमा राष्ट्रलाई नै फाईदा पुग्नेछ । 

आफ्नै घरमा कहिलेसम्म माग्ने बास ?

आफ्नै घरमा कहिलेसम्म माग्ने बास ?

५१ दिन अगाडि

|

१० चैत २०८१

आफ्नै घरमा बास माग्ने काम अब नहोस् । काठमाण्डौमा महिनौं विताएका दाड.का मोही किसानहरुको कथा कहिसक्नु छैन् । उनीहरुको पूर्खा स्वर्गद्वारी गुठी स्थापना हुनु अगाडिका हुन । खोरिया फाँडेर खेतीयोग्य भूमि तयार गर्ने ती थारु आज कसरी मोहीयानी हक माग्नुपर्ने भयो ? आफ्नै भूमिमा मोही निसाप्रमाण बोकेर हिड्नु पर्दा कुन स्तरको अपमान(हुमिलिएसन) महसुस हुँदो हो । पूर्वका थारु लगायत अन्यले शिरुवा पावैनमा शिराथान पूज्दै शिर उठाउने जो संकल्प गरीआएका छन् अब दाड.का थारु गुर्बाबासंग निरन्तर अपमानको विरुद्ध संघर्ष गर्न अठोट गर्ने बेला भएको बुझ्न सकिन्छ । अर्थात् आफ्नै घरमा बास माग्ने काम अब बन्द गर्नुपर्छ । सप्तरीमै पनि मोहियानी हकको लामो रस्साकसी चल्यो । विगतलाई हेर्दा मोही निसाप्रमाण बनाउने किसानहरु अजनबी (नचिनिएका) जमीनदारको नाममा रहेका मौजा र कामतका जमीन उपर मोही बनाउने गरे । मेरो हजुर बुवा (छविलाल लेखी थारु) त्यो काम गर्नु भएन । उहाँले जमीनदारको जमीन खरिद गरेको देखियो । हाम्रो गाउँ नेपाल एकिकरण हुनु अगाडि वस्ती बसेको इतिहास छ तर त्यहाँ बसेका थारुहरु बस्नेत थरका मौजावालको जमीन जोते । उनीहरु त्यही बस्नेत जमीनदारका जमीन मोही बनाए भने कतिपयले किने पनि । यसरी मोहीको नीति राज्यले जमीनदारी प्रथा हटाउन प्रयोग गरे कि मौजावाललाई थप सुविधा उपलब्ध गराउन अनुसन्धान गर्न सकिन्छ । जमीनमा द्वैध सम्बन्ध स्थपाना गर्न मोही निसाप्रमाण वितरण गर्नु नै राज्यको औपनिवेशिक चरित्र ठहर्छ । त्यसले जमीनदारी प्रथा अन्त्य नगरेर अझ ती जमीनदारलाई मजबुत बनाउने काम गरे । राज्यमा उनीहरुको सम्भ्रान्तीय सुविधा बढोत्तरी गर्न मद्दत गरेका थिए । राजनीतिक रुपमा मोही निसा प्रमाण बोक्ने किसानहरु त्यही जमीनदारको पिछलग्गु बनाइराखे । किसानहरु डर त्रासको भरमा बाँच्नुपर्ने अवस्था कसरी आइपर्यो ? काँग्रेसले व्यवस्था बदलिए पछि लोककल्याणकारी राज्यले सबैको भलो गर्ने बताए । माक्र्सवादी कम्युनिष्ट शक्तिले सत्ता बन्दुकको नालबाट आउने बताए अनि दश वर्ष जनयुद्धको वलमा आर्थिक रुपले कमजोर राज्यसम्भ्रान्तको आर्थिकवृद्धि भई प्रतिस्पर्धात्मक राजनीतिमा साम, दाम, दण्ड र भेद गर्न सघाए । यसरी उदारवादी पूजिवादी शक्ति तथा माक्र्सवादी कम्युनिष्ट शक्ति अबको बदलिएको राजनीतिक पाराडाइममा परिवर्तनकारी शक्ति हुनेछैन् । तसर्थ, पहिचानको आधारमा स्वायत्तता र स्वशासनलाई प्रवद्र्धन गर्ने राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता छ । राष्ट्रिय मुक्ति क्रान्तिको बलमा सामुदायिक सशक्तिकरण तथा आर्थिक सवलीकरण गर्न अधिकतम प्रयत्न गर्ने हो । साथै स्वशासन विधान जारी गरेर आफ्नो भूमि (आधार क्षेत्र)मा स्वशासन लागु गर्न तयारी गर्ने हो । सार्वभौम हामी पहिचानजन्य राष्ट्र आत्मनिर्णका हकदार हौं ।  

सम्झनामा परशुनारायण चौधरी

सम्झनामा परशुनारायण चौधरी

१६५ दिन अगाडि

|

१४ मंसिर २०८१

                                                             देउखुरीको गोबरडिहास्थित परशुनारायण चौधरीको खण्डहर बन्दै गएको भवन । तस्विरः एसएन दहित । खगेन्द्र गिरि ‘कोपिला’  मंसिर ११ गते नेपाली राजनीतिक इतिहासका एक अविस्मरणीय व्यक्तित्व श्री परशुनारायण चौधरीको ९८ औं जन्म जयन्ती थियो । देउखुरीको गोबरडिहामा एक जमिनदार परिवारमा १९८४ साल मंसिर ११ गते जन्मेका श्री चौधरी पढेर डक्टर हुन चाहन्थे तर श्री भरतमणि शर्माको प्रोत्साहनले २००७ सालको आन्दोलनमा लागेर राजनीतितिर ढल्किए। २५ वर्ष नपुग्दै उनी नेपालको अन्तरिम संसद (सल्लाहकार सभा) को सदस्य भइहाले। उनी सानै उमेरमा कांग्रेस पार्टीको केन्द्रिय सदस्य हुने व्यक्ति पनि हुन्। २००९ सालमै २५ वर्षको उमेरमा उनी कांग्रेसको केन्द्रिय सदस्य भैसकेका थिए। ३२ वर्ष नपुग्दै शिक्षामन्त्री भै हाले। तराईको थारु समुदायमा आफ्नो संगठन निर्माण गर्न उनलाई कांग्रेसले निकै प्रयोग गर्‍यो। "नेपालको भावी प्रधानमन्त्री !" भनेर वीपी उनलाई फुर्क्याइरहन्थे। तर चौधरीले बिस्तारै बुझ्दै गए-"कांग्रेसभित्र हामी शोपिस मात्रै हौं, कांग्रेसको खाने र देखाउने दाँत अर्कै छ"। अन्ततः वीपीले आफ्ना भाइ गिरिजालाई कांग्रेसको महामन्त्री बनाएर आफ्नो उतराधिकारीको रुपमा @highlight गरेपछि आफूभन्दा जुनियर मान्छेलाई आफूभन्दा सिनियर बनाएको घटना नै परशुनारायण चौधरीले कांग्रेस छाड्ने turning point बन्न पुग्यो। उनलाई पञ्चायत प्रवेश गर्न अभिप्रेरित गर्ने मुख्य व्यक्ति पनि उनै युवाकालका साथी भरतमणि शर्मा नै हुन्। अन्तत: उनले २०३९ सालमा "कांग्रेसले बोकेको समाजवाद नेपालको निम्ति घातक छ" भन्ने तथ्य बुझेर पञ्चायत प्रवेश गरे। २०४० देखि २०४६ को कालखण्डमा उनी विभिन्न मन्त्रालयमा मन्त्री भए। उनी आफ्ना निकटस्थ मित्रहरूलाई भन्ने गर्थे - "डा.तुल्सी गिरि र विश्वबन्धु थापाको सल्लाह मानेर २०१७ सालमैं पञ्चायत प्रवेश गरेको भए यतिञ्जेल म प्रधानमन्त्री भैसक्थें। २२ वर्ष कांग्रेसमा बसेर समय र उर्जा खेर फालिएछ"। २०४६ सालको परिवर्तनपछि उनी राप्रपामा आबद्ध भए। उमेर बढ्दै गएपछि राजनीतिबाट टाढा हुँदै गए। राजतन्त्र भएको देशमा राजालाई सल्लाह दिने र पारम्परिक मूल्यमान्यता जोगाउने दायित्व भएको एउटा संबैधानिक निकाय हुन्छ royal privy council, नेपालमा त्यसलाई पञ्चायत कालमा राजसभा र २०४६ सालपछि राजपरिषद भनिन्थ्यो। यसको सभापतिको पदमा पाको, अनुभवी, वरिष्ठ र निर्विवाद छवि भएको व्यक्तिलाई नियुक्त गरिन्थ्यो। २०५९ सालमा श्री ५ ज्ञानेन्द्रबाट ७५ वर्षीय श्री परशुनारायण चौधरी राजपरिषद स्थायी समितिको सभापति नियुक्त भएका थिए। २०६३ जेठसम्म उनी सो पदमा कार्यरत रहे। नेपालमा राजसंस्थाको नजिक रहेर काम गरेका प्राय: व्यक्तिहरू पद पाउञ्जेल राजाको जयजयकार गर्ने र पद नपाएपछि राजाका खोट कोट्याएर आफूलाई "महान प्रजातान्त्रिक" देखाउने गर्दछन्। तर परशुनारायण चौधरीले त्यसो कहिल्यै गरेनन्। पञ्चायतमा हुँदा होस् या कांग्रेसमा हुँदा होस् उनले नैतिकताको राजनीति गरिरहे। उनी विचार, जात, क्षेत्र र समुहको संकीर्ण घेरोबाट माथि उठेर राष्ट्रको सर्वोपरि हितको निम्ति राजनीति गर्ने राजनेता थिए।२०६९ साल मंसिर २१ गते ८५ वर्षको उमेरमा श्री चौधरीको देहान्त भएको थियो।  

एक चिम्टी सहयोग, एक मुठी खुसी 

एक चिम्टी सहयोग, एक मुठी खुसी 

२२७ दिन अगाडि

|

१२ असोज २०८१

महेशविक्रम शाह कसैले हामीसंग मद्धत माग्यो भने प्राय: हाम्रो जवाफ हुन्छ- 'काम पर्यो भने मात्र सम्झन्छन् । अघिपछि त वास्तै गर्दैनन् ।' हामीलाई त्यसबेला यो सारा संसार स्वार्थी लाग्छ । उसले भनेको काम गरूँ कि नगरूँ ? मन दोधार हुन्छ । काम गरिदिएको भोलिपल्ट फेरि कहिले एक कल फोन पनि गर्ने होइन । कहिलेकाहीं मन नलागेर पनि बिभिन्न कारणले अरूको काम गरिदिनुपर्ने हुन्छ । तपाईंले पनि अनुभव गर्नु भएको होला । कतिपयले कामकै निहुँले वर्षौंपछि सम्झिन्छन् । सम्झेकोमा खुसी लाग्छ । तर कुरा गर्दागर्दै उ भन्न थाल्छ-'हेर्नु न... मलाई समस्या पर्यो । फलानोलाई भनिदिनु पर्यो । तपाईंले भनिदिएपछि काम भइहाल्छ कि !!' तेतिबेला झनक्क रीस उठ्न सक्छ । कहाँ उसले सम्झ्यो भनेर मन गदगद भएको !! काम परेर पो सम्झेछ है !! मेरो विचारमा उसलाई काम परेर तपाईंलाई सम्झिनु नै ठूलो कुरा हो । भलै तपाईंलाई रीस उठोस् । स्वार्थी भनेर गाली पनि गर्नु होला तर उसले तपाईंलाई सम्झेको त हो नि ! यो स्वार्थी संसारमा काम परेर सम्झिनु पनि त महत्वपूर्ण हो । अझ विशेषगरी समस्यामा पर्दा तपाईंलाई कसैले सम्झिनु झन् विशिष्ट कुरा हो । आफू समस्या तथा सङ्कटमा पर्दा उसले तपाईंलाई समस्याको समाधानकर्ता तथा सङ्कटमोचकका रुपमा सम्झ्यो भने उसले तपाईंलाई अँध्यारोमा बाटो देखाउने टर्च लाइट सम्झ्यो । दृष्टिविहीनलाई मार्ग देखाउने सहारा सम्झ्यो । यो त झन् गजबको कुरा हो । होइन र ?                                                                                                                                                                                महेशविक्रम शाह संसारमा हरेक कुराका विकल्पहरु छन् । तपाईं कहिले यो सोच्ने धृष्टता नगर्नुस् कि उसलाई साथदिने तपाईं मात्र हो । उसका अन्य विकल्पहरु नभएको होइन । खोज्दै गयो भने थुप्रै विकल्पहरु सामुन्ने प्रकट हुन्छन् । बुद्धले भने झैं- दु:ख निर्वाणका मार्गहरु छन् । तर ती वैकल्पिक मार्गहरु हुँदाहुँदै पनि आफ्नो दु:खमा उसले तपाईंलाई सम्झ्यो । मनमा केही स्वार्थ, केही आशा, केही अपेक्षा राखेर भए पनि उसले अरूलाई नसम्झेर तपाईंलाई सम्झ्यो । तपाईंलाई यस अर्थमा सम्झ्योकि उसको मनमा तपाईंप्रति विश्वास जाग्यो । यो मान्छेले पक्कै पनि मेरो समस्या सुनेर केही न केही गरिदेला नै । तपाईंको स्मरण मात्रले पनि समस्याको गाढा अँध्यारोले टाक्सिएका उसका आँखाहरुमा उज्यालोको न्यानो किरण प्रवाहित हुन सक्छ । एक क्षणलाई भए पनि तपाईंको सम्झनाले उसको मन खुसीले दङ्गपर्न सक्छ । कुनै व्यक्तिको हृदयमा तपाईंप्रति यस खालको हार्दिक भावना जागृत हुनु तपाईंका लागि उमङ्ग र उत्साहको कुरा होइन र ? 'उसका लागि यो संसारमा तपाईं बाहेक अरू कोही छैनन् ।' यस्तो सोच्नु मुर्खता हो । कसैको समस्या समाधानमा तपाईंले चासो देखाउनु भएन भने पनि उसको समस्या ज्युँका त्युँ जहाँको त्यहीँ रहँदैन । यो लोकमा परिवर्तन बाहेक अरू सबै परिवर्तनशील छन् । अनित्यता संसारको नियम हो । मान्छेको सुख मात्र होइन, मान्छेको दु:ख पनि क्षणिक हो । सफलता क्षणिक हो भने असफलता पनि क्षणिक हो । तपाईंले कसैको दु:खमा साथ दिनु भएन भने पनि उसले निश्चय नै समाधानको अर्को मार्ग पहिल्याउँछ । र उसको जीवन अघि बढ्छ । अघि बढ्नु नै जीवनको प्राकृतिक स्वभाव हो । चिनेको मान्छेको त कुरै छोडौं तपाईंले नचिनेको मान्छेलाई सहयोग गर्दा पनि तपाईंले के नै गुमाउने हो र ? हिंडेर थाकेको पथिकलाई आफ्नो बाइक वा गाडीमा लिफ्ट दिएर अलि परसम्म पुर्याएर हेर्नुस् त ! यो सानो सहयोग गर्दा पनि तपाईंको मन कति खुसी हुन्छ ? चिनेको मान्छेको त कुरै छोडौं तपाईंले नचिनेको मान्छेलाई सहयोग गर्दा पनि तपाईंले के नै गुमाउने हो र ? हिंडेर थाकेको पथिकलाई आफ्नो बाइक वा गाडीमा लिफ्ट दिएर अलि परसम्म पुर्याएर हेर्नुस् त ! यो सानो सहयोग गर्दा पनि तपाईंको मन कति खुसी हुन्छ ? झन् उसको मन कति गदगद हुन्छ होला ? कहिले यस कुराको अनुमान गर्नुभएको छ ? कतिपयले भनेको सुनिन्छ- 'फटाहा मान्छेलाई जति सहयोग गरे पनि जस दिने होइन ।' जसका लागि गरिने सहयोगबाट खुसी प्राप्त हुँदैन । निरासा र कुण्ठा दिन्छ । सहयोग माग्नेले जेजस्तो सोचे पनि तपाईं भने निस्वार्थ भावले सहयोग गर्नुहोस् । यही भावनाले नै तपाईंलाई सन्तोष दिन्छ । खुसी दिन्छ । सकारात्मक उर्जा दिन्छ । मैले जीवनका विभिन्न मोडमा त्यस्ता धेरै व्यक्तिहरु भेटेको छु, जसलाई आपतमा पर्दा मैले सहयोग गरेको थिएँ, तर मलाई सम्झना थिएन । उनीहरु नै मप्रति कृतज्ञ हुँदै मलाई सम्झना दिलाउँथे कि मैले कहाँ, कहिले उनीहरुलाई सहयोग गरें । त्यो सानो सहयोगका लागि पनि जीवनभर अनुगृहीत ती व्यक्तिका कुरा सम्झेर मन अहिले पनि रोमाञ्चित हुन्छ । सोच्नुहोस् तपाईंले कसैलाई भनिदिंदा मात्र पनि उसको काम बन्छ, समस्या समाधान हुन्छ र उसको उद्धार हुन्छ भने किन सहयोग नगर्ने ? हेक्का राखौं- अरूलाई सहयोग गर्न सक्ने अवसर र हैसियत सधैं रहँदैन । हाम्रा पुर्खाहरू भन्ने गर्थे- आफूले अरूलाई गरेको सहयोग बिर्सिदिनु, अरूले आफूलाई गरेको सहयोग भने सदा सम्झिनु ।एक चिम्टी सहयोग गरेर एक मुठी खुसी मिल्छ भने यो फाइदाकै कुरा होइन र ? कसो ?

तीजले पुरुषको मात्रै आयु बढ्ने, महिलाको घट्ने भन्ने हुन्छ र ?

तीजले पुरुषको मात्रै आयु बढ्ने, महिलाको घट्ने भन्ने हुन्छ र ?

२४९ दिन अगाडि

|

२१ भदौ २०८१

  नारायण गाउँले  विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन् । रमजानको महिनामा अरबका शहरहरूले दिनभर रेस्टुरेन्ट खोल्दैनन् । दुबई लगायतका केही शहरमा शटर आधा झुकाएर, पर्दा लगाएर या व्रत बस्नेहरूलाई अप्ठेरो नपर्ने गरी खाना बेचिने रहेछ । हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ ! व्रत, ध्यान, योग आदि साधना या उपकरणले शारीरिक या मानसिक फाइदा हुने त व्रत जसले गर्छ उसैलाई नै होला तर पनि एक दिनको व्रत श्रीमान् कै दीर्घायु र सुस्वास्थ्यका लागि समर्पण गरियो रे, के त्यो अनुचित हो र ? सुखदुःख र जीवन सँगै बिताउने श्रीमान् को दीर्घायु चाहनु अपराध हो र ? जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? खै पुरुषले बसेको अरे ! के यो व्यापार हो र ? नारी दिवस भन्ने त छ त । जिन्दगी हिसाबमात्रै हो र ? असल र यो संसारबाट तार्न सक्ने पत्नी दिनुहोस् भनेर नवरात्रिभर पुरुषले गर्ने व्रत पनि छ फेरि । जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? औंशी, एकादशी, श्राद्ध, शिवरात्रि जस्ता अन्य थुप्रै व्रत पनि छन् । नभएकै भए पनि एक दिन भगवान् शिवको नाममा कुनै नारी व्रत बस्छिन् र आफ्नो श्रीमान् को आयु लामो होस् भन्ने कामना गर्छिन् भने त्यसमा कुनै दोष छैन । फेरि व्रत बस्नै पर्ने कठोरता पनि छैन । दिनको तीन चार पल्ट पूजा गर्नै पर्ने भन्ने पनि छैन । मन्दिर गए पनि हुन्छ, नगए पनि हुन्छ । व्रत बसे पनि हुन्छ, टन्न खाए पनि हुन्छ । नाचे पनि हुन्छ, घरमैं सुतेर बसे पनि हुन्छ । मानसिक पूजाको त विधान नै छ । बिस्तरामैं बसेर मनैमन पूजा गर्न पनि सकिन्छ । नगरे पनि तपाईंलाई धर्म या समाजबाट निष्काशन गर्न कोही आउने होइन । हरेक हप्ता व्रत बस्ने पनि छन् । ५१ हप्ता त अरू उद्देश्यका लागि पनि बाँकी रहन्छ । फेरि उद्देश्य भनेको कामना न हो । बिरामी हुँदा 'गेट वेल सुन' भन्ने कार्डले उपचार नै गर्ने त होइन । ह्याप्पी बर्थडे, मेनी रिटर्न्स अफ द डे भन्दैमा मान्छे मर्दै नमर्ने भन्ने पनि होइन । एउटा बहाना न हो उत्सव मनाउने, सेलिब्रेट गर्ने । प्रश्न नै गर्ने हो भने त जनयुद्ध दिवस मनाएर के हुन्छ, लेलिन, माओ या मार्क्सको जयन्ती मनाएर के हुन्छ, संविधान दिवस मनाएर के हुन्छ, बर्थडे नै मनाएर पो के हुन्छ ? हुनेलाई हुन्छ, नहुनेलाई हुँदैन । तीजले पुरुषको मात्रै आयु बढ्ने र महिलाको घट्ने भन्ने त नहोला । हो तैंले व्रत बस्नै पर्छ भनेर कुनै पुरुषले तपाईंको इच्छाविपरीत जबरजस्ती गर्यो भने त्यसविरुद्ध बोल्नै पर्छ । तर बौद्धिक र आधुनिक हुने नाममा स्वेच्छाले व्रत बस्ने, रमाउने र आस्था राख्नेहरूलाई प्रश्न गर्ने, दुःखाउने या व्यङ्ग्य गर्ने तुच्छता देखाउन जरूरी छैन । आफैलाई सभ्य ठान्नुहुन्छ र यस्तो गर्नुहुन्छ भने त झन् पाखण्ड हुन्छ । सुधारवादी हुनुहुन्छ भने पनि धेरै चिन्ता गर्न पर्दैन । मनाउनेले नै आफै सुधार गर्छन्, गरेका पनि छन् । मनाउने जतिलाई तीजको हार्दिक शुभकामना ।