जब रेशमको गीतमा अभिनय गरिरहेका कलाकारहरु रोए....
९२० दिन अगाडि
|
२७ भदौ २०७९
भदौ २६ गते बिहान ८ बजे हामीले दिनहुँ चिया खाने ठाउँ ‘चाँदके पार’मा चिया खाइरहेका थियौं । धनगढीबाट बुहारीको फोन आयो, ‘बुवा आज माउ (सासुआमा) आउनुहुन्छ कि नाई ?’
मेरो जवाफ थियो, आफ्नो सासुआमासँग सोध न त, म त बाहिर चिया खाइरहेको छु ।
फोन आएपछि म अनुमान लगाइसकेको थिएँ कि अब महेन्द्र राजमार्गसम्म मेडमलाई पुर्याउन जानुपर्ने भैसक्यो, किनकि बिहान ९ बजे बस छुट्छ, ८ बजे फोन आएपछि तयारी सम्भव हुँदैन, ९ बजेको बस समात्न सकिन्न । म ढुक्क भएर चिया खाइरहेको थिएँ ।
मेडमको फोन आयो, ‘अलि चाँडै आउनु होला, मेरो धनगढी जानुपर्ने भैसक्यो !’
हुन्छ, खाना खाएर म मेनरोडसम्म छोडिहाल्छु नि किन चिन्ता गरेको भनेर जवाफ दिएँ ।
खाना खाँदा, तयार हुँदा १२ बजिसकेको थियो, एकछिन आराम गर्दा १ बजिसकेको थियो । मेडमलाई महेन्द्र राजमार्ग पुर्याउँदा झन् २ बजिसकेको थियो ।
बलियामा मेडमलाई किया गाडीमा बसालेपछि नजिकैको भल्कामा (जहाँ लम्कीचुहा नगरपालिकाको कार्यालय छ) नागरिक उन्मुक्ति पार्टीले ‘पार्टी प्रवेश’ कार्यक्रम राखेको समाचार पाइयो ।
अहिले आफू पनि लम्कीचुहा नगरपालिकामै बस्ने भएकोले कस्तो छ चहलपहल भनी उतैतिर हिँडियो । कार्यक्रममा पुग्नु अगावै चिनजानका साथीहरुसँग भेटघाट भयो र उनीहरुसँग फेरी चिया खान बसीहालियो । चिया खाने ठाउँ धेरै टाढा नभएकोले कार्यक्रमको आवाज अलि अलि आइरहेको थियो । आवाज ठम्याईले साथीभाईहरुले उनीहरुका पार्टीका संगठन विभाग प्रमुख लक्ष्मणकिशोर जोगेठ्वाले बोलिरहेको जानकारी गराए ।
चिया खाइरहेको र कुराकानी गरिरहेकोले धेरै कुरा बुझ्न सकिएन । जोगेठ्वाले भनेको एउटा कुरा बुझियो । उनले भनिरहेका थिए, ‘नागरिक उन्मुक्ति पार्टीलाई सानो भन्नेहरु अहिले नागरिक उन्मुक्ति पार्टीसँग डराइरहेका छन्, खुट्टा कमाइरहेका छन्, हिम्मत छ भने चुनावको मैदानमा एक्लै आउनुस्, हामी चुनाव लड्न मैदानमा आइसकेका छौं’ ।
कार्यक्रममा उदघोषकले पार्टी प्रवेश गर्नेहरुको नाम बाचन गरिरहेका थिए । कार्यक्रममा पुग्दा रैथाने मुङ्ग्रहुवा नृत्य भैरहेको थियो । सहभागीहरुलाई सोद्धा धेरै बक्ता बोलिसकेको जानकारी पाइयो ।
नृत्यलगत्तै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव रतन थापाले कार्यक्रमलाई सम्बोधन गरे । उनले सारमा एमाले, काँग्रेस, माओवादीको कथनी र करणीमा धेरै फरक रहेको, आश्वासन प्रतिबद्धता घोषणा भन्दा निकै फरक रहेकोले त्यसको भविष्य राम्रो नरहेको, पहिचानलाई आवश्यक ठान्नेहरु, मान्नेहरु त्यसमा बस्नु भनेको गल्ती गर्नु हो भन्ने कुरा राखेका थिए । लगत्तै बर्दियाको सांस्कृतिक टोलीले नृत्यमा अभिनय गरेको थियो । अनि, पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् ।
नृत्य भनेपछि कार्यक्रमबाट निस्किरहेका सहभागीहरु पनि मञ्चतिरै तानिए । सांस्कृतिक टोलीका कलाकारहरुले रेशम चौधरीले जेलभित्रैबाट लेखेको ‘चार दिवारमा थुनिएर आज भोलि मन्द छु, धेरै भोट पाएर होला, झ्यालखानामा बन्द छु’, ‘थारु हुइलक कारनसे, अधिकार मंग्लक कारनसे इ सरकार जेलम डारल बा, बाबा टुँहार छावा जेलम परल बा, डाई टुँहार छावा जेलम परल बा’ भन्ने बोलको गीतमा अभिनय गरेका थिए ।
धेरै सहभागीहरु मोबाइलले नृत्यको भिडियो खिचिरहेका थिए । कलाकारहरु अभिनय गर्ने क्रममै साँच्चिकै रोएपछि माहौल नै बदलिएको थियो । उपस्थित धेरै जनाले आँशु थाम्न सकेनन्, धेरैजनाको आँखा रसाएको थियो । गीत सकिसकेको थियो तर कलाकारहरु मञ्चमै रोइरहेका थिए । उनीहरुलाई नेताहरुले हात समाई मञ्च बाहिर ल्याएको दृश्यले धेरैलाई भावुक बनाएको थियो ।
गीत सकिसकेको थियो तर कलाकारहरु मञ्चमै रोइरहेका थिए । उनीहरुलाई नेताहरुले हात समाई मञ्च बाहिर ल्याएको दृश्यले धेरैलाई भावुक बनाएको थियो ।
लगत्तै पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले अधिकार मागेकै कारणले सरकारले रेशम चौधरी लगायत टीकापुर घटनाका राजवन्दीहरुलाई जेल हालेको तथा अहिले न्यायका लागि जनता सामु आइरहेको बताइन् । उनले आफूहरुको एफएम, रिसोर्ट लुटपाट भएको, जलाइएको, आफूले लगाउने गरगहना चोरिएको तर सरकारले उल्टै रेशम लगायतका थारुहरुलाई डाँका चोरी मुद्दामा जेल हालेको बताइन् ।
उनले सभामा सहभागी सबैलाई प्रश्न गरिन्, के हामीले मान्छे मारेकै हो ? डाँका चोरी गरेकै हो ? होइन भने किन हामीलाई अनाहकमा जेल सजाय भैरहेको छ ?
उनले के थारु, के पहाडी, सबै नेपाली एक रहेको बताइन् । उनले भनिन्, ‘म पहाडी कि छोरी हूँ, तर थारुकि बुहारी पनि हूँ । म पहाडकि छोरी हूँ, तर तराईकि बुहारी पनि हूँ । त्यसैले हामी सबै एक हौं । त्यसैले बिना संकोच, बिनाभेदभाव आउनुस्, सबै नागरिक उन्मुक्ति पार्टीमा गोलबद्ध होऔं ।’
कार्यक्रममा सहभागी भएकाहरुको अनुहार हेर्दा, उनीहरुको कुरा गराईलाई बिचार गर्दा लाग्थ्यो, उनीहरुमा नयाँ जोश जाँगर छ । परिणाम कस्तो आउँछ, पछि थाहा हुने कुरा भयो तर यतिबेला उनीहरुमा हौसला छ, अनुहारमा चमक छ । त्यसैले त प्रवेश गर्नेहरुको लर्को छ । उक्त दिन पनि ११३५ जनाले पार्टी प्रवेश गरेको कुरा उद्घोषक भक्त चलाउनेले जनाए ।