थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा कहिलेसम्म ?

थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा कहिलेसम्म ?

५६९ दिन अगाडि

|

१२ भदौ २०८०

ए सरकार, गरी खाने वातावरण खै ?

ए सरकार, गरी खाने वातावरण खै ?

५८८ दिन अगाडि

|

२६ साउन २०८०

मेवाराम चौधरी प्रसंग शुरू गरौं मैले लामो समयसम्म गरेको शिक्षण पेशाको संस्मरणबाट ।  कञ्चनपुरको हालको लक्ष्मी मावि, गोकुलपुर (तत्कालीन लक्ष्मी निमावि) जवदियाबाट २०३७ फागुन ११ गते अस्थायी शिक्षकको रूपमा नियुक्ति पाएर मैले शिक्षण पेशामा प्रवेश गरेको थिएँ। मासिक रू १८५ तलब खान पाउने गरी पाएको त्यस बेलाको नियुक्ति पत्र अझै पनि मसंग सुरक्षित छ। त्यसको केही महिनापछि शिक्षण पेशा छाडेर कैलाली बहुमुखी क्याम्पस अध्ययन गर्न धनगढी गएँ। त्यतिबेला कलेजको बिहानी  कि त सन्ध्याकालीन  पढाई हुने गर्थ्यो । त्यसैले, आफ्नो पढाईको साथसाथै मेरो जन्म गाउँ बंगराको सरकारी विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी लिएर पनि काम गरें।  पछि त्यो विद्यालयको नोकरी पनि छाडेर आफ्नो गाउँ नजिक पर्ने दुर्गा प्राथमिक विद्यालयमा २०४० भाद्र २० गतेदेखि अस्थायी नियुक्ति लिएर पुनः तेश्रो ठाउँमा शिक्षण पेशामा संलग्न भएं।  यसै क्रममा कञ्चनपुर जिल्लाबाट शिक्षा आयोग पास गरेर २०४१ सालदेखि स्थायी  शिक्षक रहेर एक दशक भन्दा बढी शिक्षण गरें। दुर्गा प्राथमिक विद्यालयमा शिक्षक रहेकै बेलादेखि मैले पढाउने विद्यालय नजिक पर्ने बेलौरी बजारमा साइनबोर्ड बनाउने पेन्टरको काम गर्न पनि शुरू गरिएको थियो। यसरी शिक्षण पेशासंगै साइड विजनेशतिर पनि हात हालियो।  यसै क्रममा २०४६ सालमा बेलौरी बजारमा मिठाई पसल पनि सञ्चालन गरेको थिएँ। केही समयपछि मिठाई पसल छाडेर सोही बजारमा स्टेशनरी पसल (कोसेली पुस्तक सदन) खोलेर व्यापार व्यवसायतिर बढी केन्द्रित हुन पुगियो।  व्यापार बढाउने क्रममा २०५४ सालदेखि जुत्ता चप्पलको ब्यापार शुरू गरेपछि २०५४ माघ २ गते स्थायी शिक्षकबाट स्वेच्छिक रूपले राजीनामा दिएँ ।  पेन्सन हुन केही वर्ष मात्रै बाँकी थियो तर मैले उपदान लिएर नोकरी छोडेको थिएं। यस प्रकार व्यापारलाई नै आफ्नो प्रमुख पेशा बनाउने मनसायले नोकरी छोडेको थिएँ । तर, आज आएर यो व्यापार भालुको कन्चट जस्तै भएको छ। छोड्न पनि नमिल्ने, यसैमा टिकीरहन पनि गाह्रो गाह्रो ।  यो मेरो मात्र समस्या होइ, लगभग व्यापार गर्ने अधिक व्यवसायी साथीहरूको साझा समस्या हो।  आखिर यस्तो किन भैरहेको छ त ? राज्यको शासन प्रणाली, नीति र राज्य संयन्त्र संचालन गर्ने नेता सही नभएका कारण यो सबै भैरहेको छ। किनकि देशको सबै क्षेत्रलाई  सही राजनीतिले राम्रो र गलत राजनीतिले नराम्रो प्रभाव पारेको हुन्छ।  आज यहाँ कुनै पनि क्षेत्र राम्रो छैन। देशमा भ्रष्ट र दलालहरूले मात्रै रजगज मोजमस्ती गरिरहेका छन्। देशको राजनीति अत्यन्तै फोहर भयो। नेताहरू अपवाद बाहेकका सबैजसो भ्रष्ट छन्। कार्यकर्ताहरू सबै झोले, गुलाम छन्। हामी जनता एकदमै निरीह बनेर मुकदर्शक भएर बसिरहेका छौं।  हाम्रो देशको दूरावस्था हुनुमा विशेष गरेर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र  मधेशवादी लगायतका सबै दलका नेताहरूको भ्रष्ट आचरण र मिलिभगतले यो देशको अर्थतन्त्र डामाडोल भएको छ।  स्वास्थ्य क्षेत्र, शैक्षिक क्षेत्र, उद्योग धन्दा, कलकारखाना, निर्माण जस्तो क्षेत्रमा सबै ठाउँमा राजनीति गर्ने उच्च तहका नेता, ठूला व्यापारी, माफियाहरूको हालीमुहाली छ। जिन्दगी फर्केर हेर्दा व्यापार भन्दा त नोकरी निकै ठिक थियो भन्ने लाग्छ । तर नोकरी गर्ने पनि निश्चित समय हुन्छ । गर्ने त उद्यम नै हो, विडम्वना वातावरण भएन ।  आज चारैतिर निराशा छाएको छ। देश र जनताको भविष्य अन्यौलपूर्ण छ। सरकार गरी खाने वातावरण बना ।  

किन मनाइन्छ आदिवासी दिवस ?

किन मनाइन्छ आदिवासी दिवस ?

५९० दिन अगाडि

|

२४ साउन २०८०

मणिराज महतो   9 अगस्टलाई प्रत्येक वर्ष आदिवासी दिवसको रुपमा मनाउने गरिन्छ। यस दिन बिश्वभरिका आदिवासी समुदायका मानिसहरू, आदिवासी संगठनहरु तथा संयुक्त राष्ट्र संघका धेरैजसो देशका सरकारी संस्थाहरु द्वारा परिचर्चा, सामूहिक समारोहहरु आयोजना गरिन्छन्।  9 अगस्ट 1995 मा पहिलो पटक बिश्व आदिवासीदिवसको आयोजना गरिएको थियो। यो दिवस संसारभरिका आदिवासीहरु को सबैभन्दा ठूलो दिन हो। यसर्थ 9 अगस्टमा किन बिश्व आदिवासी दिवस मनाइन्छ ? यो दिवसले आदिवासीहरुको लागि के महत्व राख्छ ? आदिवासी दिवस मनाउने परम्परा कहाँबाट शुरु भयो ? संयुक्त राष्ट्र संघले बिश्व आदिवासी दिवसको घोषणा किन गर्यो ? बिश्व आदिवासी दिवस मनाउनुको उद्देश्य के हो ? भन्ने बारेमा केही बुझ्ने कोसिस गरौँ।  संसारभरिका 195 देश मध्येमा 90 देशहरुमा 5000 भन्दा बढि आदिवासी समुदायहरु छन् जसको जनसंख्या करिब 37 करोड भन्दा धेरै रहेको छ। आदिवासीहरु को आफ्नै 7000 भाषाहरु छन् तर आदिवासीहरुकै अधिकार सबैभन्दा बढी हनन् हुने गर्दछ। यसैलाई मध्यनजर गर्दै बिश्व आदिवासी दिवस मनाउने निर्णय लिइयो, जसको मूल उद्देश्य हो- आदिवासी जनजातिहरुको अधिकारको सुरक्षा र प्राप्तीको सुनिश्चितता गर्ने र बिश्वको पर्यावरण संरक्षणमा आदिवासीहरुले पुर्याएको योगदानको प्रचार गर्ने। आदिवासीहरुको अधिकारको लागि आदिवासी दिवस मनाउनुको पछाडी एउटा लामो इतिहास रहेको छ। आदिवासीहरुको साथमा भइरहेको बिभेदको मुद्दालाई अन्तर्राष्ट्रिय श्रम संगठन ( जो लिग अफ नेशन पछि युनाइटेड नेशनको एउटा प्रमुख अंग बन्यो) ले सन् 1920 देखि उठाउन शुरु गर्यो। यस संगठनले सन् 1957 मा ‘ इंडिजिनस एंड ट्राइबल पिपुल्स कन्भेन्शन सं 107’ नामक दस्तावेज पारित गर्यो, जुन आदिवासी जनजातिहरुसंग सम्बन्धित पहिलो अन्तराष्ट्रिय दस्तावेज हो। यो दस्तावेज बिश्वभरिका आदिवासीहरुमाथि हुने गरेका यातना र बिभेदबाट बचाउनको लागि पारित गरिएको थियो। ILO ले पुनः सन् 1989 मा उक्त दस्तावेजको संसोधन गर्दै इंडिजिनस एंड ट्राइबल पिपुल्स कन्भेन्शन 169 ( ILO 169 ) जारी गर्यो। यस दस्तावेजले आदिवासीहरुको आत्मनिर्णयको अधिकारको मान्यता दिदै जल, जंगल, जमिन लगायतका प्राकृतिक संसाधनहरुमाथि आदिवासीहरुको पहिलो हकको स्विकृति प्रदान गरेको छ। यही दस्तावेजले संयुक्त राष्ट्र संघद्वारा 13 Dec 2007 मा जारी गरिएको आदिवासी अधिकार घोषणापत्रमा प्रमुख भूमिका निर्वाह गर्यो। बिश्व आदिवासी दिवस मनाउनुको पछाडी संयुक्त राज्य अमेरिकाका आदिवासीहरुको सबैभन्दा ठुलो भूमिका रहेको छ। अमेरिकी देशहरुमा 12 October मा कोलम्बस दिवस मनाउने प्रचलन थियो, जसको त्यहाँका आदिवासीहरुबाट घोर बिरोध भयो र सोही दिन आदिवासी दिवस मनाउन शुरु गरि दिए। त्यहाँका आदिवासी समुदायले कोलम्बस दिवसको दिन आदिवासी दिवस मनाउनु पर्ने भनेर सरकारसंग माग राखे, किनभने कोलम्बसले त्यो औपनिवेशिक शासन ब्यवस्थाको प्रतिनिधित्व गर्दथ्यो, जसको लागि ठूलो नरसंहार भएको थियो। यो बिबाद बढ्दै गएर संयुक्त राष्ट्र संघ समक्ष पुग्यो। अमेरिकी देशहरुमा आदिवासीहरुमाथि भएको भेदभावको मुद्दाको लागि संयुक्त राष्ट्र संघको सहयोगमा सन् 1977 मा जेनेभामा एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो। यस सम्मेलनमा पनि कोलम्बस दिवस हटाएर त्यस दिन आदिवासी दिवस हुनुपर्ने जोडदार माग उठ्यो। बिस्तारै आदिवासी दिवसको मुद्दा बिश्वभर पेचिलो बन्दै गयो। आदिवासीहरुले सन् 1989 देखि आदिवासी दिवस मनाउन शुरु गरे, जसलाई धेरैले समर्थन गरे। अन्ततः 1992 October 12 मा अमेरिकी देशहरुमा कोलम्बस दिवस हटाएर त्यस दिन आदिवासी दिवस मनाउने परम्पराको शुरुवात भयो। यसको साथसाथै संयुक्त राष्ट्र संघले आदिवासीहरुको अधिकारको बिषयलाई लिएर अन्तर्राष्ट्रिय कार्यदल गठन गर्यो, जसको प्रथम बैठक 9 अगस्ट 1982 मा जेनेभामा भयो। संयुक्त राष्ट्र संघले सन् 1994 लाई आदिवासी बर्ष घोषणा गर्यो। 23 December 1994 मा संयुक्त राष्ट्र संघले 1995-2004 सम्म प्रथम आदिवासी दशक घोषणा गर्यो र आदिवासीहरुको मुद्दाको बारेमा 9 अगस्ट 1982 मा बसेको प्रथम बैठकको स्मरणमा 9 अगस्टलाई प्रति बर्ष आदिवासी दिवस मनाउने घोषणा गर्यो। यसको अलावा संयुक्त राष्ट्र संघले सन् 2005-2014 सम्म द्वितीय आदिवासी दशक घोषणा गर्यो, जसको उद्देश्य आदिवासीहरुको मानवअधिकार, पर्यावरण, शिक्षा, स्वास्थ्य, आर्थिक एवंम् सामाजिक बिकासको मुद्दालाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग जुटाउनु हो। बिश्व आदिवासी दिवस बिश्वभरिका आदिवासीहरुको अधिकार सुनिश्चित गराउने र त्यसको बिकासमा जोड दिने दिन हो।  त्यसैले, प्रत्येक वर्ष 9 अगस्टको दिन सबै आदिवासीहरुले आफ्नो एकता र अधिकारको लागि संघर्ष र प्रतिबद्धताको प्रदर्शन गर्न जरुरी छ। यस दिन आदिवासीहरुले आफ्नो मातृभूमिको पहिलो निवासी आफूहरू भएको घोषणा गर्ने तथा जल, जंगल, जमिन लगायतका प्राकृतिक संसाधनहरुमाथि आफूहरूको पहिलो हक भएको दाबी गर्ने दिन हो। जय आदिवासी दिवस। नवलपरासी , नवलपुर

भगवान भरोसे भगवानपुरे किसानहरू

भगवान भरोसे भगवानपुरे किसानहरू

६०८ दिन अगाडि

|

५ साउन २०८०

भुवन चौधरी पहिले पहिले बर्षात्को समयमा लगातार झरी परेपछि खेतीपातीको समस्या हल भै हाल्थ्यो । यसरी धान रोपेको खेतमा चिरा फाटेको देख्न मिल्दैनथ्यो ।  हालको घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह, उत्तर बगालेदेखि माथि सिरान भएको सेवार खोला फराकिलो थियो । भगवानपुरे कुलोको बाँध हालको घोराही–१४ झिंगौरा र घोराही–१६ तेरौटे गाउँको बिचमा (अटो भिलेजदेखि उत्तर) थियो । त्यस भन्दा माथि राजपुरे कुलोको बाँध, त्यस भन्दा माथि झिंगौरे कुलोको बाँध, त्यस भन्दा माथि रतनपुरे कुलोको बाँध, त्यस भन्दा माथि घोराही कुलोको बाँध, त्यस भन्दा माथि बाहुनडारे कुलोको बाँध लगायतका थुप्रै कुलाका बाँधहरु थिए ।  माथि उल्लेखित सबै कुलोहरुमा सेवार खोलाको पानी पुगेर पनि भगवानपुरे कुलोमा बर्षात्को समय मात्रै नभएर असोज कार्तिक महिना हिउँदमा समेत थोर बहुत पानि बग्ने गर्दथ्यो । याने कि हिउँदे बालीनालीमा समेत पानी सिँचाई गर्न सकिन्थ्यो ।  अर्कोतर्फ बर्षात्को समयमा दुइ तीन पटक झरी गरेपछि घोराही उपमहानगरपालिका–१६ को कार्यालयदेखि पूर्वतर्फ पर्ने खरिच्य सोता हँुदै दक्षिण बघी सोतामा सिम अर्थात् पानीको मूल उठ्ने गर्दथ्यो । सो सिम पानीले पनि भगवानपुर गाउँका डाबरहरुमा धान रोपाई गर्न सहज हुने गर्दथ्यो ।  तर, अहिलेको स्थिति बिलकुल फरक छ । बगालेदेखि दक्षिण आउँदै गर्दा सेवार खोला साँगुरो साँगुरो हँुदै तलतिर बगेको छ । तल अटो भिलेजसम्म आइपुग्दा त सेवार खोलो हो कि सेवार कुलो हो भन्ने छुट्याउन सकिदैन ।  खोलोबाट कुलोमा परिणत भएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलो भनाउँदोमा मूल सुकेपछि कुलोमा पानी कसरी वग्ला ? अर्कोतर्फ जग्गाधनी र जग्गा खरिद बिक्री गर्ने जग्गा कारोबारीहरुले खरिच्यदेखि दक्षिण बघी सोता (सिम उठ्ने सोताहरु) सबै प्लटिङ गरी डोजर र जेसिभीले पुरेर घडेरी बनाएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलाको, सोताको मूल सुकेपछि म जस्ता भगवानपुरे किसानहरु मर्ने नै भए । भगवान भरोसे हुने नै भए ।  

'अभियान २०८४'ले  नाउपालाई देशकै ठूलो पार्टी बनाउने धोको

'अभियान २०८४'ले नाउपालाई देशकै ठूलो पार्टी बनाउने धोको

६८६ दिन अगाडि

|

२२ वैशाख २०८०

रेशम चौधरी धानले भकारी भरिन्छ । पानीले गागरी भरिन्छ। कुराले भरिने मनै त हो । भकारी भरिएपछि धान थन्काउन या त अर्को नयाँ भकारी बन्नुपर्छ, या त त्यतिकै पोखाउनुपर्छ  । यस्तै गाग्री भरिए पानी छछल्किएर जान्छ। तर कुराले भरिने त मन हो। मन भरिए कुरा कता पोखिन्छ होला ? जेलमा हरेक चिज साँघुरो छ। सुत्ने ठाउँ साँघुरो छ। खाने ठाउँ साँघुरो छ। खाएर फाल्ने ठाउँ साँघुरो छ । बाहिरका मान्छेहरूलाई थाहा हुन्छ कि हुन्न, सुन्दा सुन्दा कुरा अटाउने मन पनि साँघुरो भइसकेको हुन्छ हाम्रो। आजभोलि जेलमा यही कुरा महसुस गर्न थालेको छु म ।  भर्खरै जेल पर्दा भेटघाटका लागि आएका भेटालुहरू त्यति बोल्दैनथे।  यस्तै हो रेशम बाबु, यो जुनीको नभए पनि अर्को जुनीको कर्मले पिरोलेको होला। नआतिनुहोला दैवले जरुर न्याय देलान्। तिनको कुरा सुनेर घुटुक्क निल्थें म। तीन वर्षको प्रवास भोगेर आए पनि भर्खरै प्राप्त अपार जनमतले म पूर्ण थिएँ। त्यसैले भेटालुले देखाएको करुणा मलाई त्यति मन पर्दैनथ्यो। साँच्चै भन्ने हो भने ममा एक क्रान्तिकारीको दम्भ थियो। म कल्पिन्थें- चुकचुकाउने त विचारा दिनदुखीलाई पो हो। मैले के विगार गरेको छु र त्यस्तो, दयाको पात्र कहलिने? त्यस्ता भेटालुलाई विदा गरेर म भित्र छिर्थें र उनीहरू गएको जेलको बुईंगलबाट चियाइरहन्थे। सिंहदरवारमा सपथ खाएपछि भेटघाटमा आउने आफन्ति, इष्टमित्र, साथीभाइको संख्या बाक्लिन थाल्यो। तिनको उपस्थिति बाक्लिएकोमा मैले लिएको माननीयको सपथ र लेखेको पुस्तक 'टीकापुर घटनाको चिरफार'कै प्रभाव हो जस्तो लाग्छ मलाई।  जेल बसाइ‌को क्रममा दुई वर्षजति कोरोनाको कारणले भेटघाट बन्द गरायो कारागार प्रशासनले। त्यो २ वर्ष मेरा लागि जीवनकै महत्वपूर्ण भो। त्यो २ वर्षमा ११ वटा पुस्तक लेखें मैले। जेलको रुटिन पनि अस्याध्यै अनुशासित। राति २ बजे उठ्यो। विहान जेलमा कैदीको कल्याङमल्याङ नहुन्जेलसम्म लेख्यो। ९ बजे भात खायो। २ बजेसम्म सुत्यो। ३ बजेदेखि ५ बजेसम्मम लेखेको कुरा सम्पादन गर्‍यो। ६ बजे भात खायो, घुप्लुक्कै खुत्यो। शून्यतामा वितेको त्यो दुई वर्षले मलाई सबकुछ सिकायो । काठमाडौंमै रहेका श्रीमती र बच्चासँगको विछोड़ । घरमा बज्यै बितेको वियोग । साथीभाई इष्टमित्रसँगको भौतिक विछोड । कसैसँग साक्षात नभएपछि तिनीहरूसँग विताएका पलमात्रै झल्झल्ली याद आउने। तिनै भावनामा चुर्लुम्म डुब्यो। लेख्यो। खायो। सुत्यो। सलल नदी बगेजस्तैको जिन्दगी ।  राजनीतिक उतारचढावका कारण जेल परियो। राजनीतिक उछालकुद‌ले मेरो आँखा खोलिदियो। देशका नेतालाई मन लाग्दा सपथ खुवाउने, मन लाग्दा निर्वाचन आयोग लाने। मन लाग्दा जेलमा ल्याएर थुनिदिने। मैले मन बाँधेर निर्णय गरेँ- के म नेताहरूको मन लाग्दो बस्तु हुँ र ?' चल चौधरी चल। अब आफैं चलमलाउने पार्टी खोल । निर्वाचन आयोगको कानुन पनि कस्तो, म अन्य दलको सदस्य भई सनाखत गर्नहुने। तर पार्टी खोल्न नमिल्ने रे! जति दमन गरे पनि उपाय हजार! श्रीमतीको नाममा दल दर्ता गरेँ- 'नागरिक उन्मुक्ति पार्टी ।' २०७८ फागुन ३ गते दल दर्ता भो । वैशाख ३० गते स्थानीय चुनाव छ। जेलमा १/२ जनाबाहेक कसैले टिक‌टै माग्न आएनन्। रञ्जिताले टीकापुरमै भेट्‌या जतिलाई टिकट बाँडिदिइन्। हाम्रो लागि त नतिजा सोचेकै आयो तर अरुका लागि अप्रत्यासित भो। २ नगर, २ गाउँ गरी ४ पालिका र ९९ प्रतिनिधिले बाजी मारे  । असार साउन खेतीपातीमै गयो। दसैंको टीका जेलमै लगाएर रञ्जितालाई विदा गरें, मंसिर ४ को चुनावका लागि। १२ प्रदेश र ४ संघीय गरी १६ सांसद प्राप्त भो नाउपालाई। केही हजारको मतले मात्रै राष्ट्रिय पार्टी हुनबाट वञ्चित भो नाउपा । केही समय प्रदेश र संघीय सरकार निर्माणको झमेला सर्वविदितै छ। अन्ततः कार्यकर्ताको अतिरिक्त दबाब र जनआकांक्षालाई शिरोपर गर्दै पार्टी सरकारमा गयो। रञ्जिता भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन् । आजभोली भेटघाटमा कार्यकर्ता कम अन्य बढी आउँछन् । कसैले जागिर माग्या छन् । कसैको मान्छे कहाँ सरुवा गर्नु छ । कसैको काम गरिदिनै पर्‍यो रे  । कोही कोहीले त यो मन्त्रीले काम गरेन भने फाल्दिने हो सम्म सुन्नुपरेको छ । रञ्जितालाई मन्त्री बनाएर हाम्रो मुद्दा कतै ओझेलमा त परेन ? निकै पिरोलिन्छु म । 'अरु नसके पनि भूमिहीन कमैयालाई त जग्गा बाँडेरै छोडिन्छ' जेलको एकान्तमा दाह्रा किट्‌छु म । त्यसो त हिजोअस्ती नखुलेको धेरैको आँखा खुलेको पाउँछु म। आदिवासी जन‌जातिलगायत नाउपामा जोडिनेको संख्या हजारौंमा छ। सबैलाई हातेमालो गर्दै 'अभियान २०८४'को कार्यपत्र कोर्दैछ् म । 'अभियान २०८४'ले देशकै ठूलो पार्टी बनाउने धोको छ मेरो। आजस‌म्म असफल भएको छैन। पुरा नहुने सपना देखेको छैन। आँटेको कुरा जितेरै लिएको हुँ। हिम्मतका साथ रवाफिलो जवाफ छ मेरो- मिसन २०८४। हात्तीले धेरै खान्छ मुसोले थोरै। ठूलो पार्टी धेरै कार्यकर्ता। हाटबजार मान्छे हजार। फागुमा रंगीविरंगी। कार्यकर्ताका कुरा थरीथरी। थरिथरिका मान्छे थरिथरिका स्वभाव । सबैलाई एउटै डालोमा बोक्न भरियालाई कम्ति सकस हुन्न। र, पनि नाम्लो कसेपछि नबोकी सुख ? चल चौधरी, सबको सुन। सबको गुन। सयथरी कुरा लगाएर कान भर्नेको पनि सुन। तर लक्ष्य एउटै राख- अभियान २०८४ ।  हालः डिल्लीबजार, कारागार 

‘जिम्डारनक लाग ढ्यार कैगिल, आब आपन लाग कर्ना हो’

‘जिम्डारनक लाग ढ्यार कैगिल, आब आपन लाग कर्ना हो’

७१६ दिन अगाडि

|

२२ चैत २०७९

मानबहादुर चौधरी बर्दियक् ठाकुरबाबा नगरपालिकाके नेउलापुर गाउँम इह चैत १९ गते  द्वन्द्व पीडित परिवारहुकन भेटघाट कर्ना क्रमम डगरिम नेङ्गटि रहुँ । बुह्राइल अन्हार, टाङ्ग भरुवा डुनुवर छिट्वा झुलाइल, आपन सुरम नेङ्टि रहल बुह्राइल पुर्खासे से मुटभ्यार हुइल । मै बोल्नु, ‘बुडु कहाँ से आइटि रु कहाँ जाइटि रु’ जवाफ म उहाँ कल ‘सिढ्रा बेच गैल रहुँ । घर जाइटु’ कल ।  अच्चम्मित हुइटि पुछ्नु । ‘कै बरस पुग्ली, का नाउँ ? गाउँ कहाँ हो ?’ उहाँ कल रगविर थारु नाउँ हो । टकिया गाउँ हो । ८० बरस पुग्गिनु ।’   महिहन अच्चम्मित हुइटि डेख्क उहाँ कल, ‘महिहन सब जान अस्ट कठ । उमेर कठु ट झन अचम्म पर्ठ । बुह्राइल मनै घरहँ रना हो । बिसैना हो । घरमन कर्ना मनै पल हुँइहि जे कठ । महिहन ओसिन नि लागट । हाँठ पक्ख्रा चलटसम आपन लाग अपनेहे कर्ना हो । छिट्वा म टाँग भरुवा बोक्ख गाउँ गाउँ घुम्टि सिढ्रा ब्याच भिर्लक आठ बरस हुइल । डिनक २ हजार कमाही हुइट । हुइल कमाही बैंकम ढर्ठु । दुःख बेरामम ओ समस्याम काम लागठ । प्याटिम पट्ठरी परल रह । अप्रेशन ओ बिर्वा कराइ ब्याला डेढ लाख  लागल । कमाही कर्ल रहुँ ट, काम लागल काहुँ, रिन नि लागल, बुह्रागिनु कैख घर परल रटु ट कहाँ पइटु । लर्कापर्कन के आस कर परट ।  कोइ कर्ट कि नाही ? जाँगर चलटसम कर्ना हो । ओस्ट नि रना हो । मै ट मुक्त कमैया हुइटु । जवानी म जिम्डारनक लाग ढ्यार कैगिल । आब आपन लाग कर ब्याला झन जोस जाँगर आइट । लर्कापर्का आपन करट । मै फे स्याकटसम आपन लाग कर्ना हो कना मन कहट ।’ बुडु रगबिरके बाट सुन ब्याला भिट्टरसे मन फुह्वाइल । चार बीस उमेर काट्स्याकल टब फे जंग्रार ‘रगबिर बुडु’ के बाटले मनम बहुट्ट उर्जा आइल ।

 सन्हला वनगैंयासँगै हरायो उनको जडिबुटी ज्ञान पनि

 सन्हला वनगैंयासँगै हरायो उनको जडिबुटी ज्ञान पनि

७२३ दिन अगाडि

|

१४ चैत २०७९

डिल्ली आचार्य  म डंगौरा थारू गाउँमा हुर्केको हुँ। हाम्रो गाउँका एकजना पात्र थिए,  सन्हला वनगैंया अर्थात् साइँला वनगैंया। गाउँतिर व्यक्तिको होइन, घरका नाम हुन्छन्। उनको वास्तविक नाम थाहा भएन। सबैले सन्हला वनगैंया भन्थ्यौँ।  उनी वा उनका पुर्खा वनगै भन्ने गाउँबाट बसाइँ सरी आएकाले उनलाई वनगैंया र साइँला सन्तान भएकाले सन्हला भनिन्थ्यो। उनी निरक्षर थिए। गाउँमा कसैलाई सन्चो भएन भने उनले नाडी छामेर जडिबुटी दिन्थे। सन्चो हुन्थ्यो। विशेष गरी ज्वरो आएका वेला उनले दिएका बुटीले आराम हुन्थ्यो। उनले खेतमा गएर आवश्यकताअनुसार खोजेर तीनवटा बुटी ल्याउँथे।  उनले औषधि खोजेर ल्याई सन्चो बनाउँथे। त्यसबापत उनलाई मान्छेले चुरोट दिन्थे। अलिक समयअघि बिडी पनि दिन्थे। कसैले केही नदिए पनि केही भन्दैनथे। त्यो उनले आफ्नो कर्तव्य ठान्थे। केही समयपछि हाम्रो घरबाट नजिक पर्ने बजार तुलसीपुरमा डाक्टर बस्न थाले। हिँडेर तुल्सीपुर पुग्नुपर्थ्यो। सक्ने मानिस तुलसीपुर जान थाले। बजार पुग्दा डाक्टरको सामान्य फी तिर्नुपर्थ्यो। औषधि पनि किन्नुपर्थ्यो। त्यसबापत गाह्रो मानी भए पनि शुल्क तिर्थे।  कोही टाठा मान्छे गाउँमा नपढेको मान्छेले गरेको उपचारमा विश्वास नगर्ने भयौँ। पैसा तिर्न सक्नेले पनि उनको ज्ञान र सेवालाई उपेक्षा गर्‍यौँ। उनलाई आर्थिक अवस्थाले कहिले साथ दिएन। उनले परम्परागत ज्ञान सिके। त्यसलाई जोगाए। समाजका लागि योगदान पनि दिए। त्यसबापत समाजले उनलाई संरक्षण गरेन। उनको जीवन यसैगरी बित्यो। पुस्तान्तरण भएको एउटा परम्परागत ज्ञान मेरो गाउँबाट सधैँका लागि सकियो।  पछि मैले क्यामेरा किनेँ। यस्ता औषधीय गुण भएका जडिबुटीको नाम लेखेर तस्वीर खिच्न थालेँ। त्यतिखेर रिलवाला क्यामेरा हुन्थ्यो। रिल सकिएपछि धुलाउनुपर्थ्यो। तिनले दिने गरेका बुटीका तस्वीर पनि खिचेको थिएँ।  माओवादी द्वन्द्वका वेला दुवै पक्षबाट कोठा खानतलासी हुन्थे। रिल, तस्वीर, पुस्तकका खात यता उता हुन्थे। दुवै पक्षले ती चिज छरपष्ट पारेर जान्थे। त्यो वेलाका थुप्रै पीडा छन्। कोठा सर्दा तिनको बिजोग भएर कति सामग्री नष्ट भए।   उनले दिने गरेको एउटा बुटी यो पनि थियो। मेरा धेरै मित्रहरू आयुर्वेदका विज्ञ पनि हुनुहुन्छ। उहाँहरूले भन्नुहोला। यो बुटी के कस्तो खालको हो र केमा प्रयोग गरिन्छ ? अहिले ठ्याक्कै म यी घटना सम्झिन्छु। निकै पीडा बोध गर्छु। ग्लानि पनि छ। मैले देख्दा देख्दै त्यो ज्ञान सकियो। नेपाली समाज यस्ता सम्पदाप्रति पटक्कै सजग र सचेत छैन। एउटा तप्का त यस्ता ज्ञानलाई अन्धविश्वासको बिल्ला भिराउन उत्सुक छ। जसरी उनी बिते। हाम्रो समाज, ज्ञान र देश पनि यसै गरी सकिनेछ। जीवनमा ढिलो चिनेका पात्र। हामी नेपाली कसरी सकिन्छौँ भन्ने गतिलो उदाहरण  हुन् सन्हला वनगैंया ।