शिखरमोहन
बनारसमा युवाकवि मोतीराम भट्टले नेपाली भाषाको पत्रिका ‘गोरखा भारत जीवन’ प्रकाशन गरेको विषयले नेपालमा निकै चर्चा पायो । नेपालमा प्रशासनको बागडोर सम्हालेर बसेका तत्कालीन प्रधानमन्त्री वीर शमशेरले त्यो इतिहास रच्न नचाहेको कुरा टुकराज मिश्रले पनि उल्लेख गरेका छन् ।
बनारसमा पहिलो नेपाली भाषाको पत्रिका प्रकाशन भएको करिब १३ वर्षपछि १९५५ मा सुधासागर साहित्यिक पत्रिका प्रकाशन भयो । यो समाचारमूलक नभए पनि नेपालभित्र छापिएको नेपाली भाषाको पहिलो पत्रिका भनेर इतिहासमा दरिन पुग्यो । ‘नेपालमै छापी निस्केका पत्रिकाहरूमध्ये सबैभन्दा अगाडि नेपाली पत्रिकाको जेठो बिरुवा संवत् १९५५ सालको श्रवण महिनामा उम्रियो, यसको नाम सुधासागर थियो र महिना महिनामा निस्कने गर्दथ्यो,’ ग्रीष्मबहादुर देवकोटाले नेपालमा छापाखाना र पत्रपत्रिकाको इतिहासमा लेखेका छन् ।
सुधासागर मासिक पत्रिका निस्केको करिब २ वर्ष १० महिनापछि १९५८ वैशाख २४ गते समाचारमूलक पत्रिका गोर्खापत्र प्रकाशन सुरु भएको थियो । यो नै नेपालभित्र छापिएको प्रथम समाचारमूलक पत्रिका हुन पुग्यो ।
तर वीर शमशेर नेपालको प्रधानमन्त्री रहुञ्जेल गोर्खापत्र प्रकाशन हुन सकेन । विसं १९५७ फागुन २३ गते वीर शमशेरको देहान्त भयो । त्यसपछि नेपालको शासन सत्ता देव शमशेरको हातमा आयो । त्यतिबेला मोतीराम भट्ट पनि नेपालमै आई मोतीकृष्ण कम्पनी (विसं १९४५ मा) खोलेर बसेका थिए । वीर शमशेरको देहान्त भएको ठ्याक्कै २ महिनापछि अर्थात् विसं १९५८ वैशाख २४ गते देव शमशेर र मोतीराम मिलेर गोर्खापत्र प्रकाशनको सुरुवात गरे ।
प्रकाशन गर्ने निर्णय गरेर मात्र पत्रिका प्रकाशनको सम्भावना थिएन । त्यसका लागि देव शमशेरले सनद नै जारी गरेका थिए । सो सनदमा पत्रिकाको सङ्ख्या, सम्पादक तथा कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापन, विज्ञपनको व्यवस्थापन तथा प्रेसहरूको व्यवस्थापन गर्ने आधारहरू समेत उल्लेख थियो ।
तत्कालीन प्रधानमन्त्री देव शमशेरले गोर्खापत्र प्रकाशन गर्न नारायण प्रेससमेत गाभेर नरदेव मातीकृष्ण शर्माद्वारा स्थापित श्री पशुपत प्रेस ठँहिटीमा छाप्ने व्यवस्था मिलाए । सो पत्रिका साप्ताहिक रूपमा प्रकाशन गर्ने तयारी थियो । ‘यिनै व्यवस्था र सहयोगका आधारमा श्री नरदेव मातीकृष्ण शर्माद्वारा श्री पशुपत प्रेस (ठँहिटी अढात, नेपाल)मा छापी नेपाली भाषाको साप्ताहिक पत्रिका ‘गोरखापत्र’ १९५८ साल ज्येष्ठ बादी ३ सोमबारका दिन नेपालीहरूको सामुन्ने निस्कियो,’ ग्रीष्मबहादुर देवकोटाले उल्लेख गरेका छन् ।
पहिलो पटक गोर्खापत्र छापिएको पशुपत प्रेस मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ स्थापना गरेको कम्पनीअन्तर्गत स्थापना भएको थियो । विसं १९५० आषाढ शुक्ल पूर्णिमाको दिन स्थापना भएको निजी क्षेत्रबाट खोलिएको पहिलो छापाखाना थियो ।
१९५८ वैशाख २४ गते नेपालमा पहिलो पटक समाचारमूलक पत्रिका प्रकाशन भयो । देव शमशेर सत्ताच्यूत भएपछि केही समय यो पत्रिका बन्द भएको थियो तर चन्द्र शमशेरले त्यसको महत्त्व बुझेर यसलाई पुनः प्रकाशन गरेको इतिहास पाइन्छ ।
लेखक शिखरमोहन
जे होस् गोर्खापत्रको प्रकाशन सरकारी प्रयासबाट नै भएको थियो । टुकराज मिश्र भन्छन्, ‘तर समाचारपत्र प्रकाशन गराउन सर्वप्रथम चेतना दिने युवक कवि मोतीराम भट्ट हुन् ।’ यसले निरङ्कुश राणा शासनकालमा ज्ञानको प्रकाश छर्ने धिपधिपे दियोको काम मात्र गरे पनि धेरै पाठकको मन तानेको थियो । मिश्र भन्छन्, ‘पहिले गोर्खापत्र जम्यो पं. नरदेव पाण्डेको निवास फसिकेवमा, त्यसपछि बझाङी राजा जयपृथ्वीबहादुर सिंहको निवास नक्साल नारायण चौरदेखि पश्चिम धेरै समयसम्म रह्यो । जय पृथ्वीबहादुर सिंह चन्द्र शमशेरका विश्वसका पात्र थिए । त्यसो हुनाले गोर्खापत्रको व्यवस्थापनको जिम्मा पाण्डेबाट खोसेर जयपृथ्वीबहादुरलाई दिएका थिए ।’
प्रकाशनको सुरुमा हरेक हप्ता हजार प्रति छाप्ने निर्णय भएको र आम नागरिकलाई ग्राहक बन्नका लागि विज्ञापन पनि छापेको देखिन्छ । एक प्रतिको २ आना मूल्य राखिएको यसको वार्षिक ग्राहक मूल्य चाहिँ ४ रुपियाँ निर्धारण गरिएको थियो । नेपाल र नेपालीकै गर्वका रुपमा प्रकाशित यो पत्रिकाको धेरै नागरिक ग्राहक बने । त्यतिबेला गोर्खापत्रको रवाफ मात्र होइन, धनाढ्य र शिक्षितहरूका लागि यो प्रतिष्ठाको विषय थियो ।
१९५८ मा गोर्खापत्र प्रकाशन हुँदा प्रथम पृष्ठमा एडिटर्को राय भनी सम्पादकीय प्रकाशन भएको देखिन्छ । तर एडिटर अर्थात् प्रथम सम्पादक को थियो भन्ने तथ्य अहिलेसम्म थाहा हुन सकेको छैन । प्रथम व्यवस्थापक पं. नरदेव पाण्डे भएको हुनाले कतिपयले उनैलाई सम्पादक मान्नुपर्ने तर्क राख्छन् । विसं १९९१ देखि मात्र गोरखापत्रले सम्पादकको नाम लेख्न सुरु गरेको देखिन्छ । १९९१ जेठ ५ गतेको गोरखापत्रमा पहिलो पटक ‘सम्पादक प्रेमराज’ भनी छापिएको छ । २०१२ भदौ ३० गतेदेखि बालकृष्ण सम प्रधान सम्पादक भनी नाम छापिन सुरु भयो ।
गोर्खापत्र/गोरखापत्रको क्रमिक विकास
विसं १९५८ वैशाख २४ गते मास्टहेडमा यसको नाम गोर्खापत्र भनी छापिएको थियो । पछि १९८३ जेठ ४ गतेदेखि गोरखापत्र भई प्रकाशन भयो । त्यो क्रम २०५९ सम्म कायम रह्यो । ज्ञानेन्द्रको शासनकालमा पुनः गोर्खापत्र भई प्रकाशन भयो । यसपछि २०६३ वैशाख १८ गतेदेखि फेरि गोरखापत्रमा परिवर्तन भई निरन्तर प्रकाशित छ ।
गोरखापत्रले १९८४ वैशाख १३ गते प्रथम तस्बिर छापेको थियो । फोटोपत्रकारिता दिवसका दिन यो तस्बिर चर्चामा आउने गर्छ । यसमा वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको तस्बिर छ । यसैगरी गोरखापत्रले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको ‘स्टप दी प्रेस’को समाचार प्रकाशन गरेको थियो ।
दैनिक, सहायक तथा बहुभाषा प्रकाशनको सुरुवात
साप्ताहिक रूपमा सोमबार प्रकाशित हुने गोरखापत्र १९९१ वैशाख ९ देखि शुक्रबार प्रकाशित हुन थाल्यो । २००० असोज २९ गतेदेखि मङ्गलबार र शुक्रबार गरी दुई पटक प्रकाशन हुन थाल्यो । त्यसपछि २००३ पुस ३ देखि हप्ताको तीन पटक प्रकाशित भयो भने २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुन थाल्यो । २०१९ असार ९ गतेदेखि शनिवारीय परिशिष्टाङ्क प्रकाशन सुरु भयो ।
विसं २०२२ पुस १ गतेदेखि वरुण शमशेर जबराको सम्पादकत्वमा यसको अङ्ग्रेजी संस्करण दी राइजिङ नेपाल प्रकाशन सुरु भयो । आम नेपाली साहित्यिक सर्जक र पाठकलाई मध्यनजर गरी २०२५ जेठदेखि मधुपर्क साहित्यिक मासिक प्रकाशन सुरु गरेको थियो । यसैगरी २०४५ असारदेखि आम युवा पाठकलाई विचार, विज्ञान प्रविधि, खोज र जिज्ञासाको खुराक दिन युवामञ्च मासिक प्रकाशन सुरु भयो ।
यसैगरी २०४७ साल पुसबाट बालबालिकाका लागि ‘मुना’ मासिकको प्रकाशन सुरु भएको हो ।
गोरखापत्रले नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रभाषामा पनि समाचार तथा साहित्यिक सामग्री प्रकाशन गर्दै आएको छ । विसं २०६४ असोज १ गतेबाट राष्ट्र भाषामा प्रकाशन सुरु गरेको गोरखापत्रले हाल ३८ भाषामा सामग्री प्रकाशन गर्दै आएको छ ।
गोरखापत्र ऐन २०१९ सालदेखि सञ्चालित भई २०२० असार २५ देखि गोरखापत्र संस्थानका रूपमा परिणत भएको हो ।
विसंं १९५८ बाट थालेको यात्रा गोरखापत्रले राणा शासनको युग, प्रजातन्त्रको युग, फेरि निर्दलीय पञ्चायती व्यवस्थाको युग, पुनः प्रजातन्त्रको युग हुँदै गणतन्त्रको युगको पनि करिब १७ वर्ष पूरा गरेको छ । यी हरेक युगका शासन सत्ताको अभिलेख गरेको छ । नेपालको शासन प्रणालीको मात्र नभई भाषा, साहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पनि गरेको छ ।
इतिहासको एक साक्षी बनेर विभिन्न आरोह–अवरोह खेप्दै १२२ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्र प्रकाशन भएकै दिनलाई आधार मानेर नेपालले आफ्नै पत्रकारिता दिवस मनाउन थालेको छ । २०७३ चैत ३० गतेको केपी शर्मा ओलीको तत्कालीन मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो ।
सोहीअनुसार २०७४ वैशाख २४ गते पहिलो पटक पत्रकारिता दिवस मनाइयो । यो पनि ६ वर्ष पूरा भई सातौँ वर्षमा प्रवेश गरेको छ । मोतीराम भट्टको प्रयास, देव शमशेरको नेपाली भाषा, साहित्य र सञ्चारप्रतिको मोहले नै नेपाली सञ्चार क्षेत्र यहाँ आइपुगेको हो ।
प्रकाशित:
६४९ दिन अगाडि
|
२४ वैशाख २०८०
९ घण्टा अगाडि
|
१ फागुन २०८१
१८ घण्टा अगाडि
|
१ फागुन २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
१३ दिन अगाडि
|
१८ माघ २०८१
१७ दिन अगाडि
|
१५ माघ २०८१
२१ दिन अगाडि
|
११ माघ २०८१
८५७ दिन अगाडि
|
२५ असोज २०७९
८९१ दिन अगाडि
|
२१ भदौ २०७९
९०१ दिन अगाडि
|
१२ भदौ २०७९
८५६ दिन अगाडि
|
२६ असोज २०७९
८०५ दिन अगाडि
|
१५ मंसिर २०७९
८६१ दिन अगाडि
|
२० असोज २०७९
७९४ दिन अगाडि
|
२७ मंसिर २०७९