Above News Title

जातीय स्वशासनको सवालमा थाकसको भूमिका अब के ?

थारु कल्याणकारिणी सभाको अवधारणा, संरचना तथा आर्थिक व्यवस्थापन सम्बन्धि नीति समुदायको लागि भनिए पनि राजकीय सत्तासंग खासै सरोकार नभएको देखिन्छ ।
जातीय स्वशासनको सवालमा थाकसको भूमिका अब के ?

विषय प्रवेशः

थारु जातिको प्रतिनिधि संस्था कुन होला ? यो जातिको भरोसालायक प्रतिनिधि संस्थाबारे कतै बहस छ ? अथवा सबैलाई समेट्न सक्ने थारु जातिकै प्रतिनिधिमुलक संस्था कस्तो हुनुपर्ने देखिन्छ ? यस्तै सवालको सेरोफेरोमा रही यो लेखमार्फत् बहस उठान गर्न प्रयत्न गरिने छ । 

खासमा थारु जातिको प्रतिनिधि संस्था कुन भन्ने सवालको टुंगो नलाग्दै थारु कल्याणकारिणी सभालाई वैधता प्रदान गर्ने कोशिश भयो ।आधुनिकीकरणको लहरसंगै स्थापना गरिएको यो संस्थाले आर्थिक, सामाजिक–साँस्कृतिक लगायत शिक्षामा पहुँच बढाउन वाल विवाहजस्ता कुरीति अन्त्य गर्ने उद्देश्य तय गरे । साथै जाँड दारु खाएर थारु प्रगति गर्न नसकेको भन्दै बुझाईलाई सत्य सावित गर्न लागि  थारु कल्याणकारिणी सभा नामक संस्था जन्माए । हालपर्यन्त यही भाष्यलाई काँखी च्यापेर समाजको मूल प्रवाहीकरणमा सामेल हुने चाहना बोकी रक्षात्मक अवस्था गुजार्न बाध्य छ । यो अवस्थाले गर्दा योजनावद्ध कार्यहरु अगाडि बढाउन सकिराखेको छैन र प्रभाव छोड्न असर्थ छ । तथापि, आधुनिकताको कसीमा त्यसको लहरले ल्याउने प्रगति थारु कल्याणकारिणी सभासंग जोडेर हेर्नु अनुचित होइन । 

आधुनिक राजनीतिले स्वशासनको अवधारणालाई निषेध गरेन । तर मूलप्रवाहिकरण गर्ने नीति, विधि र प्रक्रिया ठीक नभएको जनस्तरबाटै आवाज दिए । त्यसलाई असभ्य र अविवेकी करार गर्दै पन्छिने बाटो तय गरे । फलस्वरुप वहिष्करण, सीमान्तिकरण लगायत नश्लीय चिन्तनमार्फत् देशको राजनीतिक खेलको नियम बनाई विविधतालाई समस्या बुझे । लोकतन्त्रको बाधक ठहर गरी एकल राष्ट्रिय राज्य निर्माणमा राज्यशक्ति लगाए । त्यसका विरुद्ध लामो संघर्ष भयो । जहाँनिया राणा शासनको २००७ सालमा अन्त्य गरियो, निरंकुश पञ्चायती व्यवस्था फालियो र २०६३ सालमा वंश परम्परामा आधारित राजतन्त्रको विदाई भयो । राजनीतिक संघर्ष र जनविद्रोहको दौरान थारु कल्याणकारिणी सभाको भूमिका गौण र पदाधिकारीहरुको कार्यशैली यथास्थितिवादी नै थियो । 

थारु जातिको चाहना परशासनबाट मुक्त हुने नै थियो र छ । आधुनिक राजनीतिबाट निर्देशित राज्यको नीति स्वशासनको अधिकार खोसे । थारुलाई कानुनी तवरबाटै मासिन्या मतवाली करार गर्दै उनीहरुलाई सामाजिक न्यायमा शुद्र वा सो सरह व्यवहार गरे । देशप्रेमलाई केन्द्र ठान्ने थारुलाई यही देशमा परायाकरण गर्दा उनीहरु लामो समय कमैया–कमलरी भएर बँधुवा मजदुरी गर्न बाध्य भए । उनीहरु आफ्नै घरमा बास माग्नु परेको अवस्था कसरी सिर्जना भयो ? यथार्थ बुझ्न नसकिने विषय होइन । तर, आजसम्म थारुहरुले आफ्नै भाग्य/कर्मलाई धिक्कार्नु किन जरुरी ठाने ? कार्य/कारणकै तहमा यसबारे बुझाई स्पष्ट गर्नुपर्छ ताकि हामी को होइनौं भन्ने प्रश्नको सही जवाफ प्राप्त गर्न सक्ने छौं । यही जवाफको आधारमा हामी कसका विरुद्ध छौं भनी आफ्ना प्रतिस्पर्धी किटान गर्न सकिन्छ । बदलिएको राजनीतिक पाराडाइमभित्र प्रतिपक्षी शक्तिको प्रतिनिधित्व थारुको प्रतिनिधि संस्थाले गर्न सक्नुपर्छ ।

सामुहिकताको कसीमा थारुको प्रतिनिधि संस्था ः 

थारुको जीवन र जगत सम्बन्धि बुझाई तुलनात्मक रुपमा कमजोर देखिन्न । अझ थप ज्ञान मिमांशीय दृष्टिकोण बलियो बनाउन जरुरी छ । परिवारजस्ता आधारभूत तहबाट शुरु भई प्रगन्नासम्म गुल्जार गर्ने सामुहिकताको संस्था पूर्णतः लोकतन्त्रमा आधारित छन् । त्यसैले, न्यायको खोजी हुने देखिएको छ । यसभित्र संस्कारगत पक्षहरु पनि  छन् । व्यक्तिको जन्मदेखि मृत्युसम्मका कर्महरु यही प्रतिनिधि संस्थाको क्रियाशिलतामा भइआएका छन् । तर राज्यको सेवा सुविधा वितरण र सुरक्षासम्बन्धि काम उपरोक्त सबै चिजलाई ओझेलमा पार्दै लगेपश्चात थारुको प्रतिनिधि संस्था प्रतिरक्षात्मक भइरहेको छ । आज थप असान्दर्भिक बनाउन राज्यको नीति उद्दत रहेको छ, जसका कारण उपभोक्ता समितिको प्रतिस्पर्धा गर्नसमेत यी संस्थाहरु काविल बन्न सकेको छैनन् । 

हामी प्रतिबद्ध छौं र थारु प्रतिनिधि संस्थाको जगमा संस्कृति र विकासलाई टेवा प्रदान गर्न लालयित छौं । एक दिन हामी संघर्षमा विजयी हुने आधार तयार गर्दैछौं । त्यसका लागि थारुको एक राष्ट्रिय परिषद चाहिएको छ । ग्राम गणतन्त्रलाई मजबुत बनाई स्वराज सञ्चालन गर्नका लागि यसको आवश्यकता पर्न गयो । अर्थात् सत्ता साझेदारीसम्म नीति बनाउन सकिने भयो । तर, सत्तामा समर्पण र मुद्दाको विसर्जन स्वीकार गर्न सकिन्न । थारुको प्रतिनिधि संस्था राज्यको लागि सहमति उत्पादन गर्नका लागि गठन भएकै होइन । त्यसो हो भने  थारुको प्रतिनिधि संस्था स्वाशासन मजबुत पार्न  अत्यावश्यक छ ।

सबैको साझा संस्था थारु कल्याणकारिणी सभा भनि प्रचार गरिन्छ । यसको विधान र कार्यशैली अध्ययन गर्दा थाहा लाग्छ कि साधारण सदस्य, मानार्थ सदस्य अथवा आजीवन सदस्य व्यक्तिगत पहिचानको आधारमा वितरण हुन्छ । अर्को कुरो दलीय प्रभावबाट पदाधिकारी चयन भएर निश्चित अर्हाएका कामहरु गर्न थाल्छन् । यसले थारु कल्याणकारिणी सभा एनजिओ, सिबिओ अथवा आइपीओमध्ये कुन सही हो ?

थाकसका पदाधिकारीहरु आफ्नो मनपर्दी व्यख्या गरी हिँड्छन् । यसरी भ्रम र वास्तविकताबिच अन्तरविरोधी सम्बन्ध खडा गर्दा सबैजना अन्यौलमा रहेका छन् । त्यसैले सामुहिकताको कसीमा थारुको प्रतिनिधि संस्था परिभाषित गर्न सक्नुपर्छ भन्दा अतिशयोक्ति नहोला । सामुहिक नेतृत्वको अनिवार्यतालाई थारुको प्रतिनिधि संस्थाले सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि थारु कल्याणकारिणी सभा आइपीओ परिभाषित हुनुपर्नेछ, कारण आइपीओ सम्बन्धित राष्ट्र(जाति)को रक्तसम्बन्ध अनुसार परिभाषित हुने भएपछि स्वभाविक रुपमा उक्त राष्ट्र(जाति)को आत्मनिर्णयको अधिकार सुनिश्चित गराउन पहलकदमी लिने गर्छ । 

यी सबै गर्न आइपीओले अन्तर्राष्ट्रिय कानुन एवम् विधिशास्त्र अबलम्बन गर्ने र सत्ता साझेदारीलाई कार्यान्वयनमा लैजाने महत्वपूर्ण भूमिका रहन्छ । सत्तासंगको पहुँच अन्ततः हामीलाई नयाँ शक्तिव्यूहमा प्रवेश गराउँछ र राजनीतिको नयाँ खेलको नियम तयार गर्न सघाउँछ । परिवर्तन यी यस्ता कर्महरुबाट सम्भव बनाउँछ । 

थारुको प्रतिनिधि संस्था र तुलनात्मक अध्ययन ः  

वाल्टर डी मिग्नोलोको भनाई छ, “औपनिवेशिकताको अन्त्य भएको छैन बरु यो सर्वत्र व्याप्त छ ।” थारु जातिले अभ्यास गर्र्ने संस्थाहरु विभिन्न नामले चिन्न सकिन्छ । बरघर प्रणालीसमेत ती मध्ये एक हो । त्यस्तै, मुख्या, माइन्जन, गहदार (गच्छदार), गुमस्ता आदि आदि । समाज व्यवस्थित गर्न ती सबै संस्थाहरु अग्रसर रहेका छन् । ग्राम गणतन्त्रको अभ्यास गर्दै स्वराज स्थापनामा यी सबै क्रियाशील हुँदा परम्परागत संस्था भनि बुझाउने आधुनिकतावादी समूह थारु जातिभित्र आधुनिक संस्थाको रुपमा थारु कल्णकारिणी सभा जन्माए । 

कुनै समयका विद्यालय शिक्षा लिएर शिक्षित कहलिएका ती आधुनिकतावादी समूहले जन्माएका थाकस संस्थालाई नेतृत्व गर्नेहरु आज विश्वविद्यालय डिग्री प्राप्त व्यक्ति छन् । तर, आधुनिकताका पक्षधर ती जमात हाल किन औपनिवेशिकताका शिकार भए ? बुझ्नै पर्ने भएको छ । थारु कल्याणकारिणी सभा किन सहमति निर्माण गर्ने संस्थाको रुपमा देखिएन, जसका कारण सामाजिक प्रतिरोधी क्षमतामा ह्रास मात्र हात लाग्यो । राज्यको नीति थारुप्रति अनुदार हुँदासमेत चुपचाप बसे । अझ राज्यका संयन्त्रसंगै गुहार लगाई आफ्ना सामुहिक समस्याबिच व्यक्तिगत लाभ लिने गरी इतिहासमा काम भए । 
संस्कृतिको सम्बन्ध प्रकृतिसंग हुने आम बुझाईलाई माथ गर्दै जब अनियन्त्रित तवरले थारु वस्तीका प्राकृतिक सम्पदाहरु उपर दोहनकारी नीति राज्यले लियो, थारुको अस्तित्व उपर थप संकट बढेर गएको छ । यसलाई हाम्रो संस्कृतिको विनाश बुझ्न हदैसम्म अल्छी भएका छौं । तर के ती आधुनिकतावादी समूह आफु र आफ्ना सदस्यबिच साँस्कृतिक भूमिको संरक्षण र सामुहिक जिम्मेवारीको लागि तयार छन् ? व्यवहारवाद उनीहरुको आदत बन्यो, जसका कारण उनीहरु जता मल्कु, उतै ढल्कु भएका छन् । 

यहाँ तुलनात्मक अध्ययन गर्दा जसलाई परम्परागत संस्था भनि बुझाउने प्रयत्न गरियो र वर्षौंसम्म किनाराकृत गरियो, आज त्यही संस्था मूलधार बुझ्नैपर्ने भयो । अन्तर्राष्ट्रिय सरकार बुझ्न थालेका एजेन्सी युएन स्थायी मञ्चले बरघर प्रणाली चिने तर थारु कल्याणकारिणी सभालाई चिनेनन्, किन होला ? बरघर प्रणालीको सहयात्रा बिना वर्तमान सरकारहरु अपूर्ण घोषणा गर्न भ्याए । यहाँ बरघर प्रणाली लोकतन्त्रको आधार भएको बुझाईसहित अन्य जातीय समूहमा समेत प्रतिस्थापन गर्न सकिने मत अन्तर्राष्ट्रिय सरकारको रह्यो । तसर्थ, थारुको प्रतिनिधि संस्थाको तुलनात्मक अध्ययन जरुरी ठहर भएको छ । 
संस्था भनेका हाम्रा लागि औजार मात्र हुन् । कुन कामका लागि कस्ता हतियार चलाउने भन्ने विषय सम्बन्धित जातिको छनौट हुने र थारुको प्रतिनिधि संस्था औपनिवेशिकता विरुद्ध ठहर भएको हो भने कम्तिमा आफ्नै घरमा आफू बास माग्नुपर्ने अवस्थाको अन्त्य चाहिएको छ । त्यसका लागि आफ्नै पूर्खाको ज्ञानको श्रोत स्वदेशवादलाई अांत्मसात गरी थप विकसित बनाउन सकिन्छ । साथै, आफ्नै संस्कृति, कला, परम्परालगायत अर्थव्यवस्थामा गर्व गर्न सक्नुपर्छ, ताकि हामी उपभोक्तावादी हुनबाट जोगिन सकौं । 

त्यसैले, हाल आफ्नै मूलतिर फर्किने लहर शुरु भएको छ । राना थारुले पनि साँचिक्कै अलग हौं भन्ने मनसाय बनाएको हो भने ज्ञान मिमांशाको कसीमा घोटिनु पर्ने हुन्छ । तात्विक रुपमा कुन अर्थमा अलग छन् भन्ने भाष्य निर्माण अनिवार्य शर्त देखिन्छ, जसले प्रकृति र संस्कृति बिचको अन्तरसम्बन्ध अभिव्यक्त गर्छ । यी शर्तयुक्त अवस्था राना थारुको लागि कसैले योगदान गर्छ भने ऊ त्यही प्राकृतिक मानव समूह नै हुनेछ । त्यो ज्ञानसत्ताले अन्ततः राजकीय सत्ता स्थापनामा समेत बल पुर्याउँछ । किनकी सत्ताको बलमा सत्य स्थापना हुने गर्दछ । 

निष्कर्ष ः

यो आलेख तयार गर्दै गर्दा थारु कल्याणकारिणी सभाको महाधिवेशनको माहोल छ । हुन त त्यो माहोलको आफ्नै अर्थ होला तर यहाँ विमर्श गर्न खोजिएको विषय थारुको प्रतिनिधि संस्था हो । थारुको प्रतिनिधि संस्थाले थारुको जातीय स्वशासन स्थापनामा बल पुर्याउँछ वा पुर्याउन सक्दैन भन्ने तर्क त पक्कै होइन । यहाँ परशासनबाट मुक्त गराउने संस्था चाहिएको छ । राज्यको नीतिको समर्थन र सहमति निर्माणमा भूमिका खेल्नु भनेको परशासनको मतियार बन्नु हो । त्यस्ता संस्थाहरुबाट सजग तथा दुरी कायम गर्न सक्नुपर्छ । अथवा त्यसको विकल्पमा स्वदेशवादले निर्देशित संस्था चाहिएको छ । 

हामीले जोड दिएर भन्न सक्नुपर्छ कि थारु कल्याणकारिणी सभा प्रचार गरेजस्तै थारु जातिको प्रतिनिधि संस्था हुने हो, परिवर्तन यसको अवधारणा र नेतृत्व दुइटै पक्षमा हुनुपर्छ । तर, अहिले नै त्यस्तो सम्भावना देखिन्न ।

थारु जातिको प्राण सामुहिकतामा खोजी गर्नुपर्छ । वैयक्तिक स्वतन्त्रता त्यसैभित्र अभ्यास गर्ने हो । पश्चिमा ज्ञान प्रणाली हाम्रा प्रकृतिलाई उपभोग्य सावित गर्न खोजे र संस्कृति बजारको विक्रीका वस्तु तर स्वदेशवाद प्रकृतिमैत्री जीवन पद्दति व्याख्या गर्न केन्द्रीत छ । यसले कुल ग्राहस्थ खुशी बढाउन योगदान दिन्छ । अर्थात् समुदायका सदस्यहरुको खुशी मापन हुन्छ । यस अर्थमा आर्थिक व्यवस्थापनको अवधारणा नै अलग हुने गर्दछ । 

थारु कल्याणकारिणी सभाको अवधारणा, संरचना तथा आर्थिक व्यवस्थापन सम्बन्धि नीति समुदायको लागि भनिए पनि राजकीय सत्तासंग खासै सरोकार नभएको देखिन्छ । मार्क्सको मत सापटी लिने हो भने शक्ति राजनीतिमा सत्ताबाहेक अन्य सबै भ्रम हुन् । परशासनको जगमा आधुनिक भनिएका थारु कल्याणकारिणी सभा क्रिमी लेयर निर्माण गर्ने र उनीहरुको हित संरक्षण गर्दा समुदायको भन्दै प्रचार गरी बस्छ, जहाँ खासै उपलब्धी समुदायले लिन सकेको देखिन्न ।

प्रकाशित:

९० दिन अगाडि

|

३० कात्तिक २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८५७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

८९१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९०१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८५६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८०५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८६१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

७९४ दिन अगाडि

|

२७ मंसिर २०७९