रहेनन् गायक योगेश वैद्य

रहेनन् गायक योगेश वैद्य

४४ दिन अगाडि

|

०५ माघ २०८०

मुक्तकमैया जमिन्दार भएको हेर्न मन छ : सांसद आस्मा चौधरी

मुक्तकमैया जमिन्दार भएको हेर्न मन छ : सांसद आस्मा चौधरी

४५ दिन अगाडि

|

०४ माघ २०८०

प्रतिनिधिसभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उनलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका कमैया र कमलरी आफ्नै जमिन भए कति खुसी हुन्थे होला भन्ने लाग्छ ।  “अहिलेसम्म अधिकांश थारुको आफ्नो जमिन छैन, तिनको पनि आफ्नो जमिन, घर भए कति राम्रो हुन्थ्यो होला”, नेकपा (एमाले) का तर्फबाट निर्वाचित सांसद चौधरीले सुनाइन्, “सम्झिँदा पनि आँसु आउँछ, सरकारले कमलरी प्रथा र मुक्तकमैया घोषणा गरे पनि कार्यान्वयन भएको छैन ।” कमलरी प्रथा अन्त्यका लागि भएको आन्दोलनमा दूधे बालक बोकेर धेरै पटक धाउँदा पनि  आजसम्म तिनका पक्षमा नतिजा नआउँदा उनलाई नमज्जा लाग्छ । उनको बाल्यकाल तथा जीवनको पढ्ने–लेख्ने–खेल्ने समय जमिनदारका घरमा काम गरेरै बित्यो । “म कमलरी भएर रहँदाको पीडा कसरी व्यक्त गरूँ, सम्झिँदा पनि मुटु फुट्लाजस्तो भएर आउँछ”,  नेत्री चौधरीले भनिन्, “अहिले पनि दाजुभाइ कमैया भएरै बसेका छन्, दिदीबहिनी कमलरी नै भएर बसेका छन्, दाङमा मात्र नभई देशभरका झन्डै ९५ प्रतिशत चौधरी कमैया–कमलरी भएरै बाँच्नुपर्ने अवस्था छ ।” सरकारले २०५७ साउन २ गते मुक्तकमैया घोषणा गरे पनि उनीहरूको अवस्थामा देखिने गरी परिवर्तन आउन सकेको छैन ।       लुम्बिनी प्रदेश, दाङ जिल्लामा २०२२ साल वैशाख १७ गते जन्मिएकी चौधरीका श्रीमान् पनि मुक्तकमैया हुन् तर उनीहरूको आफ्नो जग्गा छैन । “हाम्रो नाममा एक धुर पनि जमिन छैन, जमिनदारले बाजेकै पालामा २०१७ सालमा लालपुर्जा खोसेर लगेकामा  अहिलेसम्म फिर्ता आएको छैन”, उनले भनिन्,  “मुद्दा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ, न्याय पाउने आशामा छौँ, खै कहिले हाम्रो जमिनको कागजपत्र हाम्रो हातमा पर्छ, कुरिरहेका छौँ ।”      उनलाई पुर्खाकै पालामा गुमेको जमिन  फिर्ता आउने आशा भने छ । “जमिनदारले कागजपत्र खोसेर लगे,   हामीसँग अहिले कागज नभए पनि  त्यही घरमा बस्छौँ”, सांसद चौधरीले थपिन्, “आफ्नो जमिन पनि कहिले आफ्नै हुन्छ, थाहा छैन, कुनै दिन त होला नि ।” दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई थारुका मुहारमा खुसी देख्न मन छ । “सांसद भएर मैले के गरेँ, आफैँलाई कहिलेकाहीँ प्रश्न सोध्न मन लाग्छ, तर जुन अवस्थाबाट माथि उठेर आएँ, म असाध्यै हर्षित छु”, उनले हँसिलो मुद्रामा भनिन्, “जनता खुसी रहुन्, सबैले पढ्न पाऊन्, मुलुकको विकास होस्, थारुको पनि जमिन होस्, तिनका मुहारमा हाँसो छाओस् ।” नेत्री चौधरीलाई आफूले पढ्न नपाएकामा पीडा महसुस हुन्छ । उनी कमलरी हुँदा विद्यालय जान पाइनन्। “मैले पढ्न पाइन, गाउँमा मेरा ससुराले रात्रि स्कुल खोज्नुभएको थियो, पाँच कक्षासम्म त्यहीँ पढ्न पाएँ”, नेत्री चौधरीले थपिन्, “म सानैदेखि तत्कालीन कम्युनिस्ट पार्टीमा लागेँ, पछि एमालेले मलाई विश्वास गरेर यो अवसर दियो ।” रात्रि विद्यालयमा पढ्दादेखि  पञ्चायतविरुद्ध गीत गाएको सम्झँदा उनको मुटु अहिले पनि फुलेर आउँछ ।  पार्टीका टोल, गाउँ र  नगर कमिटीमा सङ्गठित हुँदै हाल अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य चौधरीलाई जीवनमा कल्पना नगरेको अवसर मिलेको अनुभव भए पनि  आफू २०३६ सालदेखि आबद्ध राजनीतिक दल माले हाल एमाले प्रतिपक्षमा हुँदा सोचेअनुरूप काम गर्न नसकेको खिन्नता छ  । “सांसद भएको एक वर्ष पूरा भइसक्यो तर एक वर्षमा जम्मा एउटा कानुन बन्यो, संविधानअनुकूलका कानुन बनाउनुपर्ने त धेरै छ तर सरकारले आवश्यक कानुन ल्याएन”, सांसद चौधरीले भनिन्, “प्रतिपक्षले त कानुन बनाउनुपर्छ भनेर भनिरहेको छ, हाम्रो आवाजलाई सरकारले सुनुवाइ गरेजस्तो लाग्दैन, यस विषयमा त सत्ता पक्षले बढी ध्यान दिनुपर्ने हुन्छ ।” समानुपातिक सांसद चौधरीलाई आफ्ना दङ्गालीका काम केही पनि गर्न नसकेको महसुस हुन्छ । “सांसद त भएँ, कतिले तैले के गरिस् त भन्छन्”, उनले भनिन्, “जनप्रतिनिधि भएपछि जनताको दुःख हेर्नुपर्ने हुन्छ तर केही गर्न सकेको छैन, विकासका काम गर्नुपर्ने धेरै आवश्यकता छ, एक पैसा बजेट परेको छैन, खानेपानी, पुल, स्कुल, स्वास्थका क्षेत्र कहीँ पनि पैसा परेको छैन, सम्झेर दुःख लाग्छ ।” नेत्री चौधरीलाई मुक्तकमैया–कमलरीले अहिले पनि पढ्न नपाएकामा पीडा हुन्छ । “म असाध्यै कठिन परिस्थितिबाट गुज्रिएर आएको हुँ, हाम्रो कुरा सुन्ने कोही थिएन, अहिले पनि थारुको पीडामा सुनुवाइ हुन सकेको छैन”, उनले भनिन्, “तिनको समस्या अहिले पनि ज्यूँका त्यूँ छ, कोही यसबारे बोल्दैनन्, थारुहरू जमिनविहीन अवस्थामा छन्, तिनले कहिले जमिन पाउलान्, कहिले सुखी होलान् ?” प्रतिनिधिसभा सदस्य चौधरीलाई थारुको जीवनस्तरमा सुधार ल्याउन मन छ, ती आफ्नै खुट्टामा उभिएको हेर्न मन छ ।  विकास निर्माणमा पनि अगुवा हुनाका साथै सामाजिक र राजनीतिक सङ्गठनमा रही लामो समयदेखि महिला अधिकारका बारेमा बहस–पैरवी गर्दै आउनुभएका सांसद चौधरीलाई देशमा रोजगारी नहुँदा र युवापुस्ता पलायन भएकामा पनि नरमाइलो लाग्छ । “देशका गाउँ ठाउँमा काम गर्ने वातावरण भएको भए आज युवाले यहीँ काम गर्न पाउने थिए” उनले भनिन्, “राज्यले देशमा उद्योगधन्दा खोलेर काम दिए त तिनलाई विदेश जानुपर्ने नै थिएन ।” 

नेता चुन्दै थारु बस्ती, ‘बरघर’ संस्थागत गर्न सुदूरपश्चिम सरकार अग्रसर

नेता चुन्दै थारु बस्ती, ‘बरघर’ संस्थागत गर्न सुदूरपश्चिम सरकार अग्रसर

४५ दिन अगाडि

|

०४ माघ २०८०

माघ मनाएसँगै पश्चिम नेपालको थारु बस्तीमा बस्ती नायक ( बरघर) हरु चुन्न थालिएको छ । कुनै बस्तीमा माघी डेवानी त कुनै बस्तीमा भुरा खेल तथा खोज्नीबोज्नी कार्यक्रममार्फत बस्ती नायकहरू चुनिन थालेका हुन् । बस्ती नायकका रूपमा बरघर, भलमन्सा, चिराकी, चौकीदार, गुरुवा, कसौकालगायतका गाउँ प्रतिनिधिहरू चुनिँदै आएका हुन् । नेतृत्व चयन कार्य कतै सर्वसम्मत हुन्छ भने कतै चुनावी विधिमार्फत पनि हुन थालेको छ । यसैबिच कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरमा भएको गाउँको खोज्नीबोज्नीबाट गाउँको बरघर-भल्मन्सामा यमबहादुर चौधरी चयन भएका छन् । गाउँको ओर्गान-चौकीदारमा गोपीलाल चौधरी, भल्मन्सा सहयोगीमा छबिलाल चौधरी, धनलाल चौधरी र लाल बहादुर चौधरीलाई चयन गरिएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति माधव थारुले बताए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीमा भएको बोझनीबाट पुनः तेस्रो कार्यकालको लागि गहनु बखरिया बरघरमा छनोट भएका छन् । गाउँको चौकीदारमा महादेव पछलडङ्गिया चयन भएका छन् भने लेखापालमा चेतराज कुरेर्हुवा चयन भएका हुन् । साथै देश बन्धिया गुरुवा (पुजारी)मा फूलराम डंगौरा, केसौका (सहायक पुजारीमा बहिदार पछलडङ्गिया छनोट भएका छन् । साथै गाउँ समाजले सो गाउँमा टोल अनुसार पनि जिम्मेवारी दिएको छ । पछिल्लो समय स्थानीय तहहरूले बरघर प्रणालीलाई संस्थागत गर्नमा अग्रसरता देखाउँदै आएका छन् । स्थानीय पालिकाहले बरघर ऐन नै निर्माण गरेर कानुनी मान्यता दिनमा जुटेको बरघर प्रणालीका अभियानकर्ता एकराज चौधरी बताउँछन् । उत्तर टोलको नेतृत्वको जिम्मेवारी आशाराम कुरेर्हुवा, पछलडङ्गान टोलको नेतृत्व मिना पछलडङ्गिया, जलकोन्टी टोलको नेतृत्व ईन्द्र बहादुर कुश्मी, पश्चिम टोलको नेतृत्व जुगलाल पछलडङ्गिया, कुरेर्हुवा टोलको नेतृत्व श्याम कुरेर्हुवा, बखरिया टोलको नेतृत्व छेदुलाल बखरिया र दक्षिण टोलको नेतृत्व विल बहादुर दहितलाई दिइएको छ । माघ पर्व मनाएयता कैलाली र कञ्चनपुर जिल्लामा मात्रै होइन, दाङ, बाँके र बर्दिया जिल्लामा समेत भइरहेको हो । नयाँ वर्ष तथा आर्थिक वर्षको सुरुवातको रूपमा माघलाई लिने प्रचलन रहेको थारु समुदायमा गएको वर्षको समीक्षा तथा आगामी वर्षको लागि कार्य योजना समेत निर्माण गरिन्छ । स्थानीय तहले कानुन बनाउँदै, भएन कार्यान्वयन पछिल्लो समय स्थानीय तहहरूले बरघर प्रणालीलाई संस्थागत गर्नमा अग्रसरता देखाउँदै आएका छन् । स्थानीय पालिकाहले बरघर ऐन नै निर्माण गरेर कानुनी मान्यता दिनमा जुटेको बरघर प्रणालीका अभियानकर्ता एकराज चौधरी बताउँछन् । अभियानकर्ता चौधरीका अनुसार पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लास्थित थारु बहुल क्षेत्रमा बरघर प्रणालीमार्फत जन्मदेखि मृत्यु संस्कारसम्मको गतिविधि तथा विकास निर्माणको कार्य हुँदै आएको छ । हालसम्म १५ पालिकाले बरघर ऐन ल्याइसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘बरघर प्रणाली प्रथाजनित कानुन हो । आफ्नो नेतृत्व आफै छनोट गरिने, विगतका कार्यहरूको समीक्षा गरिने र आउँदो वर्षको योजना बनाइन्छ । जुन एकदमै लोकतान्त्रिक विधिबाट हुन्छ । यसलाई अन्तर्राष्ट्रिय श्रम महासन्धि १६९ ले मान्यता दिएको छ । नेपाल सरकार पक्ष राष्ट्र पनि हो । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार पनि थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले बरघर प्रणालीलाई संरक्षण र विकास गर्न ऐन निर्माणमा जुटेका छन् ।’ केही पालिकाहरूले ऐन ल्याउने तयारीमा रहेको पनि उनको भनाइ छ । तर ल्याइएका ऐनहरू भने कार्यान्वयनमा देखिएका छैनन् । बरघर प्रथाप्रति सुदूरपश्चिम सरकारको चासो यसैबिच केही समययता सुदूरपश्चिम प्रदेश सभामा बरघर भल्मन्सा प्रणालीलाई संस्थागत गर्नुपर्ने आवाज उठ्दै आएको छ । प्रदेश सरकारले नै ऐन बनाएर संस्थागत गर्नुपर्नेमा प्रदेश सभा सदस्यहरूले जोड दिँदै आएका छन् । प्रदेश सभा सदस्यहरूको जोडले प्रदेश सरकारले बरघर प्रणालीलाई संस्थागत गर्नमा चासो देखाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सो प्रणालीलाई संस्थागत गर्न बजेट समेत विनियोजन भएको बताएका छन् । हालै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को केन्द्रीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले भनेका थिए, ‘बरघर र भलमन्सा प्रथा संस्थागत गर्न हामी अगाडि बढेका छौ । जसको लागि बजेट समेत विनियोजन भएको छ । थप बजेट समेत व्यवस्था गर्न सकिने छ । जसको लागि तपाईहरुको सहयोग पनि जरुरी छ ।’ बरघर संरक्षण अभियानकर्ता एकराज चौधरीले बरघर ऐन आएसँगै लोप हुने क्रममा रहेको बरघर प्रणालीलाई संरक्षण गर्नु राज्यको दायित्व बनेको र स्थानीय सरकारको योजना निर्माणमा सहभागिता सुनिश्चित हुने बताउँछन् । उनले भने, ‘उहिल्यैदेखि आर्थिक, सामाजिक तथा विकास निर्माणमा बरघरहरुको प्रत्यक्ष सहभागिता छ । गाउँघरमा न्याय निसाफको काम पनि बरघरकै नेतृत्वमा हुन्थ्यो । तर राज्यबाट उपेक्षा हुँदैआएको थियो । उनीहरूको कुनै अस्तित्व तथा पहिचान थिएन । अब ऐन आएपछि उनीहरूको सर्वप्रथम पहिचान गरिने काम होला । राज्यको संरचनामा पहुँच बुद्धि हुने देखिन्छ । स्थानीय सरकारको विकास योजना निर्माण प्रक्रियामा सहभागिता भई बजेट बाँडफाँटमा समेत पहुँच पुग्ने देखिन्छ । अन्ततः उपभोक्ता समितिको काम पूर्णतः बरघर प्रणालीमार्फत हुनेछ । बरघर प्रणाली आफैमा भाषा, संस्कृतिको एक पाटो भएको हुँदै जसको संरक्षण पनि सँगैसँगै हुने चौधरीले विश्वास व्यक्त गरे ।

थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

४७ दिन अगाडि

|

०२ माघ २०८०

सरला चौधरी माघ पर्वको तेस्रो दिन थारू समुदायमा छोरीचेलीलाई निसराउ दिन जाने परम्परा रहेको छ । तर, समय परिवर्तनसँगै यो परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ ।  माघ लाहानपछि नदी किनारमा पूजा गरी मटावा वा मान्यजनको हातबाट सेतो टीका लगाई एकापसमा आर्शीवाद लिने गरिन्छ । स्नानपछि घरमा आएर चामल, नुन र मासको दालको निसराउ काहार्ने गरिन्छ ।  लाहानको दिन काह्रेको निसराउ भोलिपल्ट विवाहित छोरीचेलीलाई कोसेलीको रुपमा चामल, मिठो परिकार र दक्षिणासहित निसराउ दिन जाने परम्परा रहेको छ । उता छोरी चेली पनि माइती आउने आसमा मिठा भोजन तयार पारी माइतीको राम्रो सत्कार गर्ने परम्परा छ । माघ पर्व थरू समुदायमा धुमधामको साथ मनाइए ता पनि निसराउ दिन जाने परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ । दाङदेउखुरी लमही–७, सतबरिया उचानिम्वु निवासी देवी चौधरीको अनुसार पहिला छोरी चेलीलाई अनिवार्य रुपमा माघमा निसराउ दिन जाने परम्परा थियो । उनले भनिन्, म पनि पहिला आप्नो नन्दहरुलाई निसराउ दिन गएँ तर अब छोरीहरुको पालोमा निसराउ दिन जाने गरेको छैन । यो परम्परा हराउन लागिसक्यो ।  निसराउ मात्र हैन, अब थारू परम्परागत गीत, बाजागाजा पुराना गरगहना पोशाक पनि हराउँदै छ । वर्तमान अवस्थामा युवायुवतीहरु डीजे लगाएर नाच्ने गरेको देवी चौधरीले बताईन् ।                                                                                             देवी चौधरीसँग कुराकानी गर्दै सञ्चारकर्मी सरला चौधरी । थारू समुदायमा माघको पहिलो साताभित्र प्रत्येक घर तथा गाउँमा विगतको घरायसी तथा सार्वजनिक कामको समीक्षा गरिन्छ । साथै, आउँदो वर्षको लागि नयाँ योजना बनाउने काम पनि गरिन्छ । थारू जातिले माघ पर्वलाई नयाँ वर्षको साथै मुक्ति दिवसको रुपमा पनि मनाउने गर्दछन् । 

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

५१ दिन अगाडि

|

२७ पुष २०८०

कैलालीको टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनमार्फत् रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व सम्हालेका छन् । महाधिवेशनमार्फत् चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।  नवनिर्वाचित अध्यक्ष चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको जनाए । यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी थिइन् । रेशमले आफू कारागारमा रहँदै संरक्षक रहेर पार्टी गठन गरेका थिए ।  नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।  ०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल हो । यसैबीच महाधिवेशनमा सहभागी नरहेका नेता लक्ष्मण थारुले ‘बधाइ बा संघारि अध्यक्ष  रेशम।’ भनेर फेसबुकमा रेशमलाई बधाई दिएका छन् ।

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

५१ दिन अगाडि

|

२७ पुष २०८०

थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले  कञ्चनपुरको बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । “म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,” सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, “थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ ।” थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।  बुढापाकाबाट युवाले संस्कृतिका बारेमा जानकारी पाई परम्परागतकालदेखि चल्दैआएका असल संस्कृतिलाई जीवन्त राख्न मद्दत पुगोस् भनेर प्रत्येक वर्षको यसै बेला म्याला आयोजना गरिँदै आएको उनले बताए । थारू समुदायमा विद्यमान कुरीतिलाई हटाउनका लागि जनचेतना जगाउने कार्यक्रम समेत म्यालामा राखिएको उनको भनाइ छ । बिहीबार पुस २६ देखि सञ्चालन भएको म्याला पुस २८ गतेसम्म सञ्चालन हुनेछ । रासस